फोर आइज न्युज
आइतवार, असार २९, २०८२

This Week

तीनकुने घटनामा ६१ जनाविरुद्ध मुद्दा

Highlights

  • घटनामा संलग्न देखिएका चार नाबालकविरुद्ध सोमबार भक्तपुर बाल अदालतमा मुद्दा दर्ता गराउने तयारी, अभियोगपत्रमा नाम उल्लेख नभएकाहरू आइतबारै हिरासतमुक्त

काठमाडौँ — काठमाडौंको तीनकुने क्षेत्रमा १५ चैतमा भएको हिंसात्मक घटनामा संलग्न भएको अभियोगमा ६१ जनाविरुद्ध आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा चलाइएको छ । १ सय ८ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने राय प्रहरीले दिएकामा जिल्ला सरकारी वकिलको कार्यालयले ६१ जनाविरुद्ध अभियोगपत्र दायर गरेको हो । अन्य चार नाबालकविरुद्ध भने सोमबार भक्तपुर बाल अदालतमा मुद्दा दर्ता गराउने तयारी छ ।

सरकारी वकिलको कार्यालयले राजावादी प्रदर्शनका ‘कमान्डर’ दुर्गाप्रसाद प्रसाईंलाई पाँच तथा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री एवं सांसद धवलशमशेर जबराविरुद्ध चार–चार कसुरमा सजाय मागदाबी गरेको छ ।

जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका प्रसाईंलाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रवतर्फ, कर्तव्य ज्यानतर्फ, ज्यान मार्ने उद्योग, संगठित अपराध र एकीकृत कसुरमा सजायको माग गरिएको छ । मिश्र र जबरामाथि भने राज्यविरुद्ध, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा अभियोग लगाइएको छ ।

सरकारी वकिलको कार्यालयले प्रसाईंसहित ५० र ११ जनाको छुट्टाछुट्टै अभियोगपत्र बनाएर मुलुकी फौजदारी कार्यविधि सहिता, २०७४ को दफा ३२ बमोजिम मुद्दा दायर गरेको छ । ११ जनालाई आपराधिक उपद्रवअन्तर्गत र अन्यलाई व्यक्तिविशेष मुद्दा दर्ता गरिएको कार्यालयले जनाएको छ । हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोप लागेका चार बालकविरुद्ध भने भक्तपुर बाल अदालतमा सोमबार मुद्दा दायर हुने सरकारी वकिलको कार्यालयका प्रमुख सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले जानकारी दिए । उनका अनुसार एक बालकलाई राज्यविरुद्ध र अन्य ३ जनाविरुद्ध आपराधिक उपद्रवमा मुद्दा दर्ता हुनेछ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले करिब दुई महिना लगाएर तीनकुने घटनाको अनुसन्धान गरेको थियो । त्यस क्रममा ९० जनालाई पक्राउ गरेर अनुसन्धान गरिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । १८ जना अहिले पनि प्रहरीको फरार सूचीमा छन् । प्रवक्ता बोहराका अनुसार तीनकुने घटनामा मुद्दा दायर भएका ४९ जना हिरासतमा छन् । ‘आपराधिक उपद्रव र संगठित अपराधमा ६१ र राज्यविरुद्धको कसुरमा २९ जनामाथि अनुसन्धान गरिएको थियो,’ बोहराले भने, ‘त्यसमध्ये आपराधिक उपद्रव र संगठित अपराधमा अनुसन्धानमा रहेका ३४ र राज्यविरुद्धको कसुरमा रहेका ३ जना यसअघि नै हाजिरी जमानीमा छुटेका थिए ।’

Hope IVF
Global IME Updated May 12
Sunrise bank

अदालतमा दायर अभियोगपत्रमा नाम उल्लेख नभएकाहरूलाई प्रहरीले आइतबार नै हिरासतमुक्त गरेको छ । अभियोग लगाइएका राप्रपाका वरिष्ठ उपाध्य मिश्र र महामन्त्री एवं सांसद जबरा यसअघि नै हाजिरी जमानीमा छुटेका थिए । ‘कमान्डर’ प्रसाईं भने हिरासतमै छन् ।

राजावादीले १५ चैतमा गरेको प्रदर्शन हिंसात्मक बन्दा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक र कीर्तिपुर–४ का सविन महर्जनको मृत्यु भएको थियो । प्रहरीको गोली लागेर २० जना घाइते भएका थिए । गोली लागेर घाइते भएका ३ जना अझै पनि उपचारका क्रममा छन् ।

तिघ्रामा गोली लागेकी उदयपुरकी रेविका खत्रीको महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ । सिभिल अस्पतालको सघन उपचार कक्षमा लामो समय राखेर रेविकालाई प्लास्टिक सर्जरी गर्न महाराजगन्ज लगिएको हो । गोली लागेको ठाउँबाट अत्यधिक रगत बगेकाले सीटीभीएस आईसीयूमा उपचार हुँदै छ ।

पेटमा गोली लागेका भोजपुरका डिल्लीप्रसाद लुइँटेलको ट्रमा सेन्टरमा उपचार चलिरहेको छ । पाखुरामा गोली लागेका काभ्रेका रामहरि (रिदम) श्रेष्ठ बीएन्डबी अस्पतालमा नियमित फलोअपमा छन् । घाइते भएपछि पाखुरामा स्टिल राखिएका उनको पाखुराको नसाको अपरेसन बाँकी छ ।

तीनकुनेको प्रदर्शनमा १५ निजी घर, ३७ निजी संस्था (दुई सञ्चार गृह, एउटा सुपर मार्केट, दुई अस्पताल, चार बैंक, दुई सहकारी, २० व्यवसाय, एक विद्यालय, दुई पार्टी कार्यालय र तीन कार्यालय), एक उद्योग, दुई प्रहरी कार्यालय र ट्राफिक आइल्यान्डमा क्षति पुगेको प्रहरीको तथ्यांक छ । आगजनी र तोडफोडबाट ६९ सवारीसाधनमा क्षति पुगेको थियो ।

टिकेन नेप्सेको वृद्धि साढे ८ अंकले घट्यो

Highlights

  • शून्य दशमलव ३१ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ६ सय ७९.९८ बिन्दुमा ओर्लियो

काठमाडौँ — साप्ताहिक कारोबारको पहिलो दिन नै सेयर कारोबार मापक नेप्से परिसूचक ८‍.५७ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा शून्य दशमलव ३१ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ६ सय ७९.९८ बिन्दुमा ओर्लिएको छ ।

यस दिन कारोबारमा आएकामध्ये ९९ वटा कम्पनीको सेयर मूल्य बढ्यो, १४८ वटाको घट्यो भने बाँकी १ वटा कम्पनीको स्थिर रह्यो । कुल ७० हजार ६ सय १० पटकको कारोबारमा १ करोड ८५ लाख ५ हजार ७ सय ७१ कित्ता सेयर किनबेच भए । ती किनबेचमा करिब ७ अर्ब ६० करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

नेप्से घटेसँगै कुल बजार पुँजीकरण १४ अर्ब २६ करोड ५९ लाख रुपैयाँले घटेको छ  । गत बिहीबार ४३ खर्ब ७३ अर्ब ७३ करोड रुपैयाँ रहेको कुल बजार पुँजीकरण आइतबार ४३ खर्ब ५९ अर्ब ४७ करोड कायम भएको छ  ।

यसले एकै दिनमा नेप्से १४ अर्ब २६ करोड ५९ लाख रुपैयाँले खुम्चिएको देखाउँछ । कुल सूचीकृत सेयरलाई सोही दिनको सेयर मूल्यले गुणा गरेर कुल बजार पुँजीकरण गणना गरिन्छ । पुँजीकरण घट्नुको अर्थ सूचीकृत सेयरको बजार मूल्यमा कमी आउनु हो । यही आधारमा पुँजीकरण घट्दा लगानीकर्ताको सम्पत्तिको मूल्य घटेको रूपमा विश्लेषण गरिन्छ ।

आइतबार लघुवित्त ११२‍.९९ र व्यापार ५.५९ अंकले बढेको छ । बाँकी सबै उपसमूह घटे । होटल तथा पर्यटन १२१.२७, विकास बैंक ८०.८७, जीवन बिमा ४५.३७ अंकले घटेका छन् ।

Hope IVF
Global IME Updated May 12
Sunrise bank

ओम मेगाश्री फार्मास्युटिकल्सको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेक लाग्यो । रिभर फल्स पावर लिमिटेडको ७.५६, लक्ष्मी लघुवित्तको ६.२८, उन्नति सहकार्य लघुवित्तको ६.१७६ र नेरुडे मिर्मिरे लघुवित्तको ५.८५ प्रतिशतले सेयर मूल्य बढ्यो । सिन्धु विकास बैंकको ८.२८, बाराही हाइड्रोपावरको ६.७६, सप्तकोशी विकास बैंकको ५.०७, ग्रिन डेभलपमेन्ट बैंकको ३.९२ र दोर्दी खोला जलविद्युत् कम्पनीको ३.३० प्रतिशतले सेयर मूल्य घटेको छ ।

कारोबार रकमका आधारमा राधी विद्युत् कम्पनी, युनिभर्सल पावर कम्पनी, ङादी ग्रुप पावर, युनाइटेड मोदी हाइड्रोपावर र हिमालयन पावर पार्टनर अघि रहे । यसअनुसार राधी विद्युत् कम्पनीको ७१ करोड ४९ लाख, युनिभर्सल पावर कम्पनीको ३० करोड ३१ लाख, ङादी ग्रुप पावरको २९ करोड ५१ लाख, युनाइटेड मोदी हाइड्रोपावरको २८ करोड ८३ लाख र हिमालयन पावर पार्टनरको २१ करोड २३ लाख रुपैयाँको कारोबार भएको छ ।

राष्ट्र बैंक सेयर कर्जामा लचिलो, जोखिम भार घट्यो

Highlights

  • सेयर धितो कर्जामा १ सय प्रतिशत मात्र जोखिम भार, अनिवार्य नगद मौज्दात गणनाविधि कसिलो, नीतिगत दर यथावत्
  • २०७८ सालमा सेयर कर्जाको जोखिम भार बढाइएको थियो, अहिले त्यसलाई घटाएर १ सय प्रतिशत बनाइएको हो : रामु पौडेल, प्रवक्ता, नेपाल राष्ट्र बैंक
  • सेयर कर्जा यस क्षेत्रमै लगानी गर्नुपर्छ भन्ने छैन, त्यसैले यस्तो कर्जा अन्यन्त्र उपयोग भएको हुन सक्छ : भरत रानाभाट, पूर्वअध्यक्ष, नेपाल स्टक ब्रोकर्स एसोसिएसन

काठमाडौँ — नयाँ गभर्नरको नियुक्तिसँगै नेपाल राष्ट्र बैंक सेयर कर्जामा थप लचिलो देखिएको छ । गभर्नरमा विश्व पौडेल नियुक्त भएको चार दिनपछि आइतबार राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा जारी गरेको छ । समीक्षामा राष्ट्र बैंकले सेयर कर्जाको जोखिम भार घटाएर १ सय प्रतिशत कायम गरेको हो ।

बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्ने क्षेत्रका लागि राष्ट्र बैंकले जोखिम भार तोकिदिएको हुन्छ । जोखिम भार बढी जोखिम भएका क्षेत्रमा धेरै र कम भएका क्षेत्रमा थोरै तोकिन्छ । जोखिम भार बढी रहेका क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले थोरै र कम जोखिम भार रहेका क्षेत्रमा बढी कर्जा प्रवाह गर्छन् । यसकारण राष्ट्र बैंकले जोखिम भार बढाउँदा सम्बन्धित क्षेत्रमा कर्जा विस्तारमा कडाइ गरेको र कम हुँदा लचिलो बनेको विश्लेषण गरिन्छ ।

सेयर कर्जाका विषयमा राष्ट्र बैंकको स्थिर नीति देखिँदैन । कहिले लचिलो त कहिले खुकुलो नीति अवलम्बन गर्दै आएको राष्ट्र बैंक चार वर्षअघिको अवस्थामा पुगेको हो । नेपाल राष्ट्र बैंकले २०६७ देखि एकीकृत निर्देशन जारी गर्न थालेको हो । त्यति बेला सेयर धितोमा प्रवाह हुने सबै कर्जाको जोखिम भार १ सय ५० प्रतिशत थियो । २०७५ पुस ११ मा उक्त व्यवस्था परिमार्जन गरेर सेयर कर्जाको जोखिम भार १ सय प्रतिशत बनाइयो । कोभिड संक्रमणपछि आक्रामक कर्जा विस्तार भएको भन्दै २०७८ फागुन ११ मा जोखिम भार बढाएर १ सय ५० प्रतिशत पुर्‍याइयो । २०७९ मा २५ लाख रुपैयाँसम्मको सेयर कर्जाको जोखिमभार १ सय प्रतिशत र बाँकी सबैमा १ सय ५० प्रतिशत बनाइएको थियो । २०८० मा ५० लाख रुपैयाँसम्मको सेयर कर्जामा १ सय प्रतिशत र बाँकी सबैमा १ सय २५ प्रतिशत जोखिम भार पुर्‍याइयो । अहिले यो व्यवस्था परिमार्जन गरी सेयर कर्जाको जोखिम भार १ सय प्रतिशत कायम गरिएको हो ।

‘विद्यमान सेयर धितो कर्जाको जोखिम भार १ सय २५ प्रतिशतबाट घटाई १ सय प्रतिशत कायम गरिनेछ,’ समीक्षामा भनिएको छ । वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेका बेला सेयर कर्जालाई प्रोत्साहन गर्न जोखिम भार घटाइएको राष्ट्र बैंकले जनाएको छ । ‘२०७८ सालमा सेयर कर्जाको जोखिम भार बढाइएको थियो, नीतिको सन्तुलित अवधारणाअनुसार अहिले त्यसलाई घटाएर १ सय प्रतिशत बनाइएको हो,’ राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले भने ।

Rashtra Bank's share lending is flexible, risk burden reduced

Hope IVF
Global IME Updated May 12
Sunrise bank

चालु आर्थिक वर्षको सुरुदेखि नै सेयर कर्जा बढिरहेको छ । तर सेयर कर्जा बढेको अनुपातमा सेयर बजारमा सकारात्मक प्रभाव परेको छैन । यसकारण सेयर धितोमा लिएको कर्जा अन्यत्र उपयोग भएको विज्ञहरूको आशंका छ । चालु आर्थिक वर्षको नौ महिनामा मात्र बैंक तथा वित्तीय संस्थाले थप ३४ अर्ब २ करोड ८३ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्षको नौ महिनामा यस क्षेत्रमा प्रवाह भएको सेयर कर्जा ३७.८. प्रतिशतले बढी हो । गत आर्थिक वर्षको नौ महिनामा सेयर कर्जाको वृद्धिदर १३ प्रतिशतले बढेको थियो । सेयर धितोमा प्रवाह भएको कर्जा अन्यन्त्र क्षेत्रमा उपयोग हुने सम्भावना धेरै रहेकाले पनि सेयर बजारमा प्रत्यक्ष प्रवाह नदेखिएको हुन सक्ने नेपाल स्टक ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष भरत रानाभाटले बताए । ‘हाल बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा मार्जिन प्रकृतिको कर्जा दिन्छन् । चलनचल्तीमा त्यसलाई मार्जिन लेन्डिङ भनिए पनि त्यो कर्जा फरक प्रकृतिको हो,’ उनले भने, ‘यो कर्जा लिएर सेयरमै लगानी गर्नुपर्छ भन्ने बाध्यात्मक व्यवस्था छैन । यसकारण सेयर धितोमा लिएको कर्जा अन्यन्त्र उपयोग भएको हुन सक्छ ।’

मौद्रिक नीतिको समीक्षामार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको अनिवार्य नगद मौज्दात (सीआरआर) गणनासम्बन्धी व्यवस्थामा थोरै कडाइ गरेको छ । हाल बैंक तथा वित्तीय संस्थाले चार प्रतिशत सीआरआर कायम गर्नुपर्छ । यो व्यवस्था यथावत् छ । तर बैंकहरूले सीआरआर कायम गरे कि गरेनन् भनेर राष्ट्र बैंकले हरेक १४ दिनमा परीक्षण गर्छ, त्यति बेला बैंकहरूले निर्देशित ४ प्रतिशतको कम्तीमा ७० प्रतिशत रकम कायम गर्नुपर्छ ।

समीक्षामार्फत राष्ट्र बैंकले ७० प्रतिशतको सीमा बढाएर ९० प्रतिशत पुर्‍याएको हो । यसअघि बैंकहरूले हरेक १४ दिनमा निर्देशित चार प्रतिशत सीआरआरको ७० प्रतिशत मात्र कायम गरे पुग्ने ठाउँमा अब ९० प्रतिशत कायम गर्नुपर्छ । नयाँ व्यवस्था बैंकहरूका लागि कसिलो हो भने राष्ट्र बैंकका लागि सजिलो हो । किनकि हालसम्म बैंकहरूले ७० प्रतिशत नगद देखाउँथे भने बाँकी ३० प्रतिशत अधिक तरलता भन्दै राष्ट्र बैंकमा अल्पकालीन निक्षेप (एसडीएफ) राखेर त्यसको ब्याज लिँदै आएका थिए । नयाँ व्यवस्थाले यसरी प्राप्त आम्दानीमा अंकुश लगाइदिएको छ ।

‘अनुमतिप्राप्त क, ख र ग वर्गका संस्थाले २०७९ भदौ १२ देखि कुल निक्षेप दायित्वको चार प्रतिशत अनिवार्य नगद मौज्दातबापत राष्ट्र बैंकमा राख्नुपर्नेछ,’ समीक्षामा भनिएको छ, ‘यस व्यवस्थाबमोजिम कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दातको न्यूनतम ७० प्रतिशत रकम दैनिक रूपमा राष्ट्र बैंकमा राख्नुपर्नेछ ।’

नयाँ व्यवस्थाले वित्तीय प्रणाली तरलता व्यवस्थापनमा केही सहज हुने प्रवक्ता पौडेलले जनाए । वित्तीय प्रणालीमा लामो समयदेखि अधिक तरलता रहेकाले यो निर्णय गरिएको उनको भनाइ छ । समीक्षामा आन्तरिक आर्थिक तथा वित्तीय स्थिति र परिदृश्यका आधारमा मौद्रिक नीतिको कार्यदिशालाई सजगतापूर्वक सन्तुलित राखिएको छ । ‘नीतिगत दरलाई विद्यमान ५ प्रतिशत, तल्लो सीमाका रूपमा रहेको निक्षेप संकलन दरलाई ३ प्रतिशत र ब्याजदर करिडोरअन्तर्गतको माथिल्लो सीमाका रूपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत् राखिएको छ,’ समीक्षामा भनिएको छ ।

लगानी वातावरण सुधार गर्ने उद्देश्यले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ मा भएको पछिल्लो संशोधनका व्यवस्थाहरूलाई समावेश गरी ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ जारी गर्ने राष्ट्र बैंकको तयारी छ । बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को संशोधनबमोजिम चेक अनादरसम्बन्धी व्यहोरा प्रमाणित गर्ने कार्यविधि तर्जुमा गरी जारी गरिने पनि समीक्षामा उल्लेख छ ।

पछिल्लो आन्तरिक एवम् बाह्य आर्थिक स्थिति र परिदृश्यका आधारमा मौद्रिक नीतिको कार्यदिशालाई सन्तुलित बनाइएको राष्ट्र बैंकको दाबी छ । आन्तरिक आर्थिक गतिविधि, विदेशी विनिमय सञ्चितिले आयात धान्ने क्षमता एवम् मुद्रास्फीतिको अवस्थालाई दृष्टिगत गरी मौद्रिक उपायहरूमा आवश्यकतानुसार परिमार्जन गरिने राष्ट्र बैंकले जनाएको छ ।

मस्तिष्क मृत्यु भएका व्यक्तिको मिर्गौला र कलेजो पहिलो पटक एकै व्यक्तिमा प्रत्यारोपण

Highlights

  • सवारी दुर्घटनापछि उपचारका क्रममा ‘मस्तिष्क मृत्यु’ घोषणा गरिएका १८ वर्षे दोर्जेमान तामाङको एउटा मिर्गौला र कलेजो एक पुरुषमा र अर्को मिर्गौला ४२ वर्षीया महिलामा प्रत्यारोपण

काठमाडौँ — मस्तिष्क मृत्यु भएका व्यक्तिको मिर्गौला र कलेजो पहिलोपटक एकै व्यक्तिमा प्रत्यारोपण गरिएको छ । यस किसिमको प्रत्यारोपण नेपालमै पहिलो पटक भएको हो । सवारी दुर्घटनापछि उपचारका क्रममा ‘ब्रेन डेथ’ (मस्तिष्क मृत्यु) घोषणा गरिएका १८ वर्षका दोर्जेमान तामाङका अंग झिकेर प्रत्यारोपण गरिएको हो । उनको एउटा मिर्गौला र कलेजो एक पुरुषमा र अर्को मिर्गौला ४२ वर्षीया महिलामा प्रत्यारोपण गरिएको राष्ट्रिय प्रत्यारोपण केन्द्रले जनाएको छ ।

काठमाडौंको नारायणगोपाल चोकमा सवारी दुर्घटनापछि दोर्जेमानलाई उपचारका लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) लगिएको थियो । जेठ १ मा उनको ‘मस्तिष्क मृत्यु’ भएको घोषणा अस्पतालले गरेको थियो । त्यसपछि दोर्जेमानका बुवा र दाइको सहमतिमा अंग झिकेर प्रत्यारोपण गरिएको हो ।

केएमसीका वरिष्ठ सर्जन डा. रोशन घिमिरे नेतृत्वको टोलीले दोर्जेमानको शरीरबाट अंग झिकेको थियो । त्यसपछि सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा डा. पुकारचन्द्र श्रेष्ठ नेतृत्वको टोलीले प्रत्यारोपण गरेको हो । अंग प्राप्त गरेका दुवै बिरामीको स्वास्थ्य सुधारोन्मुख रहेको डा. श्रेष्ठले जानकारी दिए ।

परिवारको सदस्य गुमाए पनि उसको अंगले अरू कसैको ज्यान बच्ने भएकाले दान गर्न तयार भएको युवकको परिवारले जनाएको छ । दोर्जेमानको कलेजो र मिर्गौला पाएका शिव महर्जनले युवकका परिवारको ‘महादान’ ले आफ्नो ज्यान बच्न सफल भएको टेलिकन्फ्रेन्समार्फत बताए । ‘सबैको सहयोगले मैले अर्को जीवन पाएँ । अंग दिने र प्रत्यारोपण गर्ने डाक्टर, नर्स सबैलाई धन्यवाद,’ आईसीयू बेडबाटै उनले भने ।

राष्ट्रिय प्रत्यारोपण केन्द्रले आइतबार गरेको पत्रकार सम्मेलनमा डा. श्रेष्ठले नेपाली टोलीबाट मस्तिष्क मृत्यु भएका व्यक्तिको मिर्गौला र कलेजो पहिलोपटक एकै व्यक्तिमा प्रत्यारोपण सफल भएको बताए । नेपालमा सडक दुर्घटनाबाट प्रत्येक दिन चारदेखि ६ जनाको मृत्यु हुने गरेको र काठमाडौं उपत्यकामा मात्रै वार्षिक करिब एक हजार जनाको मस्तिष्क मृत्यु हुने गरेकामा उनीहरूको अंग झिकेर प्रत्यारोपण गर्न सके नेपाल अंग प्रत्यारोपणमा आत्मनिर्भर हुन सक्ने उनको भनाइ छ । एक जना मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला दुई, फोक्सो दुई जनामा, कलेजो, मुटु, प्याङ्क्रियाज, सानो आन्द्रा एक–एक गरी आठ जनामा अंग प्रत्यारोपण गर्न सकिने चिकित्सक बताउँछन् ।

Hope IVF
Global IME Updated May 12
Sunrise bank

वरिष्ठ शल्यचिकित्सक डा. श्रेष्ठ नेतृत्वको प्रत्यारोपण टोलीमा कलेजोतर्फ डा. रोशन घिमिरे र डा. प्रवीण महर्जनले सघाएका थिए भने मिर्गौला प्रत्यारोपणका लागि भने डा. दीपेश श्रेष्ठ, डा. रूपेशकुमार झा, डा. हरिप्रसाद बराल, डा. रोजन अधिकारी र डा. विकास खड्का संलग्न थिए । यस्तै एनेस्थेसिया तथा क्रिटिकल केयर विभागबाट डा. आरती राई, डा. निभा श्रेष्ठ, डा. शोभित थापा, डा. रेखा श्रेष्ठलगायतले सहयोग गरेका थिए ।

यसैगरी नेफ्रोलोजी विभागबाट डा. कल्पनाकुमारी श्रेष्ठ, डा. लुसन सिंह, डा. सुमित आचार्य, डा. सन्तोष सुवेदी र डा. वीक्रमवीर वज्राचार्य सहभागी थिए । यस्तै रेडियोलोजी विभागबाट डा. कृष्ण बुढाथोकी, डा. जस्मिन जोशी, डा. हितेश रायमाझी, डा. सुधीर जोशी र डा. जी एलिन सहभागी थिए । प्याथोलोजी विभागबाट डा. सविना श्रेष्ठ, डा. सुस्मिता घिमिरे सहभागी थिए । यसैगरी ट्रान्सप्लान्ट कोर्डिनेटर विभागबाट डा. बादल महर्जन, तारा साँध, सरु कोजू, बन्दना खत्रीले समन्वय गरेका थिए ।

केन्द्रले २०७३ मंसिर २२ मा पहिलो पटक दक्षिण कोरियाली विज्ञको सहयोगमा कलेजो प्रत्यारोपण गरेको थियो । नेपाली टोली २०७५ कात्तिक १२ मा पहिलो पटक कलेजो प्रत्यारोपण गर्न सफल भएको थियो । केन्द्रले हालसम्म तीन वर्षको बालकदेखि ६८ वर्षका व्यक्तिसम्म गरी ३४ जनाको कलेजो प्रत्यारोपण गरिसकेको छ । केन्द्रमा १५ देखि २० लाख रुपैयाँमा कलेजो प्रत्यारोपण हुँदै आएको छ । केन्द्रले हालसम्म मस्तिष्क मृत्यु भएका छ जना व्यक्तिबाट प्राप्त गरी १२ जनाको मिर्गौला र चार जनाको कलेजो प्रत्यारोपण गरेको डा. श्रेष्ठले जानकारी दिए ।

अझै सहज भएन बीआईएस, मुख्य वस्तुकै निर्यात घट्यो

Highlights

  • गत वर्ष १० महिनामा ३ अर्ब ३३ करोड ५५ लाखको सिमेन्ट र क्लिंकर निर्यात भएकामा चालु आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ४१ करोड ८८ लाखमा सीमित
  • गत पुसमा भएको आईजीसी बैठकमा पनि बीआईएस दिन सहजीकरण गरिदिन आग्रह गरेका थियौं, अहिले केही उद्योगले भने बीआईएस पाएका छन् : जितेन्द्र बस्नेत प्रवक्ता, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय
  • गत वर्ष १० महिनामा ३५ करोड ९४ लाखको सेनिटरी प्याड निर्यात भएकामा चालु आर्थिक वर्षको सोही अवधिमा ११ करोड ७५ लाखको मात्र

काठमाडौँ — भारतको ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड (बीआईएस) वितरणमा ढिलाइ हुँदा नेपालबाट हुने मुख्य वस्तुको निर्यात घटेको छ । निर्यातका लागि बीआईएस अनिवार्य चाहिन्छ । तर बिनाकारण भारतले नवीकरण र नयाँ वितरणमा कडाइ गर्दै आएको छ । भारतले नवीकरण र नयाँलाई बीआईएस प्रमाणपत्र समयमै जारी नगर्दा सिमेन्ट, स्टिल तथा जस्तापाता, सेनिटरी प्याड, प्लाइउडलगायतको निर्यात घटेको हो ।

चालु आर्थिक वर्षको १० महिनामा सिमेन्ट, क्लिंकर, स्टिल तथा जस्तापाता र सेनिटरी प्याडको निर्यात घटेको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा निर्यात घटेको भन्सार विभागको तथ्यांकले देखाउँछ । चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म २ अर्ब ४१ करोड ८८ लाख ८६ हजार रुपैयाँको सिमेन्ट र क्लिंकर निर्यात भएको विभागको तथ्यांक छ । जब कि गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ३३ करोड ५५ लाख ६१ हजारको सिमेन्ट र क्लिंकर निर्यात भएको थियो ।

चालु आर्थिक वर्षको १० महिनामा ६४ करोड ९२ लाख रुपैयाँको क्लिंकर र १ अर्ब ७६ करोड रुपैयाँको सिमेन्ट निर्यात भएको विभागले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ६६ करोड रुपैयाँको सिमेन्ट र १ अर्ब ६६ करोड रुपैयाँको क्लिंकर निर्यात भएको थियो । अहिले सिमेन्ट, सेनिटरी प्याड, प्लाइउड र जुत्ता उत्पादन गर्ने केही उद्योगले मात्रै गुणस्तर प्रमाणपत्र पाएको उद्योगी बताउँछन् । गुणस्तर प्रमाणपत्र अनिवार्य गर्दा निर्यात घटेको उनीहरूको भनाइ छ ।

बीआईएसको समस्या अझै सुल्झिन नसकेको नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्द मारुले बताए । ‘बीआईएसको समस्या ८ महिनाभन्दा बढी समयदेखिको हो । दुई–तीन सिमेन्ट उद्योगबाहेक अन्यले बीआईएस पाएका छैनन्,’ उनले भने, ‘उद्योग वाणिज्य मन्त्रालयले आफ्नोतर्फबाट प्रयास गरेको देखिन्छ । तर नयाँ र नवीकरणमा भारतले बीआईएस दिएको छैन । यसले निर्यातमा धेरै असर गरेको छ ।’

BIS is still not easy, the export of the main commodity has decreased

Hope IVF
Global IME Updated May 12
Sunrise bank

अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारकाले पनि भारतले बीआईएस प्रमाणपत्र नवीकरण नगर्दा झन्डै ६ महिना निर्यात रोकिएको जनाए । ‘अर्घाखाँची सिमेन्टले मात्र पोहोर १ अर्बको सिमेन्ट निर्यात गरेको थियो । यसपालि १ अर्ब २० करोडको निर्यात गर्ते लक्ष्य थियो । तर नसकिने भयो,’ उनले भने, ‘पहिला भारतले दुई वर्षको नवीकरण गर्थ्यो । यसपालि १ वर्षको मात्रै नवीकरण गरिदियो । त्यो पनि निवेदन दिएको समयदेखिको ५/६ महिनाभन्दा बढी निर्यात गर्न मिल्दैन ।’

यस अवधिमा सेनिटरी प्याडको निर्यात पनि घटेको छ । गत आर्थिक वर्षको साउनदेखि वैशाखसम्म ३५ करोड ९४ लाख रुपैयाँको सेनिटरी प्याड निर्यात भएको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा ११ करोड ७५ लाख रुपैयाँको मात्रै सेनिटरी प्याड निर्यात भएको छ । सेनिटरी प्याडको मात्रै बीआईएस प्रमाणपत्र पाएको हेल्थ एन्ड हाइजिन प्रोडक्टका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत राकेश लाहोटीले जनाए । ‘सेनिटरी प्याडका लागि गुणस्तर प्रमाणपत्र पायौं । तर बेबी डाइपरको पाएका छैनौं,’ उनले भने, ‘एडल्ट डाइपरमा बीआईएस अनिवार्य छैन । तर भारतको भन्सारले रोकेको छ । बेबी डाइपरमा गुणस्तर प्रमाणपत्र अनिवार्य गरेको छ ।’

भारत–पाकिस्तान युद्धका कारण भारतीय कर्मचारी फ्याक्ट्री अडिटका लागि नआउँदा बीआईएस प्रमाणपत्रका लागि धेरै समय लाग्ने गरेको लाहोटीको भनाइ छ । भारतले आफ्ना उद्योगलाई संरक्षण गर्न बीआईएस अनिवार्य गरेजस्तै नेपाल सरकारले पनि सोही नीति अपनाउनुपर्ने उनी बताउँछन् । ‘बीआईएस प्रमाणपत्र नहुँदा वर्ष दिनदेखि निर्यात गर्न सकिएको छैन, तर भारतकै सामान आइरहेको छ,’ उनले भने, ‘भारतले जस्तै नेपालले पनि आयात हुने सामानमा नेपालको गुणस्तर प्रमाणपत्र अनिवार्य गर्न सक्नुपर्छ ।’

गत आर्थिक वर्षको १० महिनामा १४ अर्ब ६ करोड ८२ लाख रुपैयाँको स्टिल तथा जस्तापाता निर्यात भएकामा चालु आर्थिक वर्षको सोही अवधिमा १३ अर्ब ८४ करोड १३ लाख रुपैयाँको मात्रै भएको भन्सार विभागको तथ्यांक छ । सरकारले दूध तथा दुग्ध पदार्थ आयात स्थगन गरेसँगै भारतले आयात खोल्न अनौपचारिक दबाब दिएको जानकारको भनाइ छ । त्यसपछि बीआईएस वितरणमा रोक लगाउँदै आएको थियो ।

स्थानीय उत्पादन मौज्दात रहेपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले २०८० फागुनमा दुग्ध पदार्थ आयात स्थगन गर्ने निर्णय गरेको थियो ।

त्यति बेला खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागलाई पत्र पठाएर अर्को निर्णय नभएसम्म आयात परमिट जारी नगर्न भनेको थियो । त्यसपछि भारतले बीआईएसमा कडाइ गर्न थालेको हो । अहिले दुग्ध पदार्थ आयातमा पनि केही खुकुलो बनाइएको स्रोतको भनाइ छ । औपचारिक निर्णय नगरिए पनि वैध–अवैध रूपमा आयात भएकै छ । त्यसपछि भारतले पनि बीआईएस वितरणमा केही खुकुलो गरेको छ ।

प्रक्रियामा समस्या भए पनि अहिले केही उद्योगीले बीआईएस पाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जनाए । ‘बीआईएस नवीकरणको म्याद सकिएपछि आवेदन दिँदा ढिलाइ भएको थियो । नयाँका लागि पनि ढिलाइ भइरहेको थियो । गत पुस अन्तिम साता नेपाल–भारत वाणिज्य सचिवस्तरीय संयन्त्र (आईजीसी) बैठकमा पनि सहजीकरण गरिदिन आग्रह गरेका थियौं,’ उनले भने, ‘बैठकपछि केही सुधार भएको छ, अहिले त्यति समस्या आएको छैन ।’

प्लाइउड उद्योगीहरूले आंशिक रूपमा मात्रै बीआईएस पाएको नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरेले बताए । ‘आवेदन दिएकामध्ये करिब २५ प्रतिशतले मात्रै बीआईएस पाएका छन्,’ उनले भने, ‘यद्यपि चार महिनायता केहीले मात्र बीआईएस पाएका छन् । तर जुन हिसाबले निर्यात हुनुपर्थ्यो, त्यो हुन सकेन ।’

जुत्ता उत्पादक संघ नेपालका अध्यक्ष रुद्र न्यौपानेले पनि जुत्ता क्षेत्रमा गत कात्तिकदेखि बीआईएस वितरण भइरहेको जनाए । ‘बीआईएस प्रत्येक वर्ष नवीकरण हुनुपर्नेमा ४ महिना रोकियो । साउनदेखि हुनुपर्नेमा कात्तिकमा मात्रै भयो । तर रोक्नुपर्ने कारण केही खुलाइएन,’ अध्यक्ष न्यौपानेले भने, ‘अहिले त्यति समस्या छैन ।’

‘सेटिङ’मा नपरेपछि ४१ महिनामा २० हजार यात्रु अध्यागमनबाटै फिर्ता

Highlights

  • अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘बोर्डिङ पास’ लिएर सुरुवाती सुरक्षा जाँच पार गरिसकेका यात्रु अध्यागमनबाटै फिर्ता गरिएका हुन्

काठमाडौँ — भिजिट भिसाको आवरणमा मौलाएको मानव तस्करीको सेटिङमा नपर्दा पछिल्लो साढे तीन वर्षमा २० हजारभन्दा बढी यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएका छन् । बालकृष्ण खाण, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने र रमेश लेखकले गृह मन्त्रालयको नेतृत्व सम्हालेका बेला अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘बोर्डिङ पास’ लिएर सुरुवाती सुरक्षा जाँच पार गरिसकेका २० हजार ४ सय ९६ जना यात्रु अध्यागमनबाटै फिर्ता गरिएका हुन् ।

गन्तव्य मुलुक प्रवेश गर्न अनुमति भएर पनि उनीहरू ‘गिरोहको सेटिङ’ मा नपर्दा विमानस्थलबाटै फर्काइएको अनुसन्धानबाट खुलेको हो । गृह प्रशासनका कर्मचारीसहित ट्राभल एजेन्सी, म्यानपावर कम्पनी, एयरलाइन्स र यो नेटवर्कमा रहेर बिचौलियाको काम गर्ने गिरोहको सक्रियतामा भिजिट भिसाको आवरणमा मानव तस्करी मौलाएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । अनुसन्धानकै क्रममा विमानस्थलका प्रमुख अध्यागमन अधिकृत र बिचौलियाको भूमिकामा काम गर्ने अरू तीन जना पक्राउ परिसकेका छन् । भट्टराईसहित चारै जनालाई अख्तियारले तारिखमा राखेर अनुसन्धान गरिरहेको छ ।

विमानस्थल अध्यागमनका अनुसार ‘तोकिइएका कागजात’ पूरा नभएको बहानामा साढे तीन वर्षमा हजारौं यात्रु अध्यागमनबाट फर्काइएको भेटिएको हो । युरोप, एसिया, अफ्रिकालगायत देशमा भिजिट भिसामा यात्रा तय गरेका व्यक्तिहरूलाई अध्यागमन कक्षबाटै फिर्ता गरिँदा टिकटलगायतमा उनीहरूले ठूलो आर्थिक नोक्सानी पनि व्यहोर्न पुगेका छन् ।

नेपालबाट एसियाका यूएई, मलेसिया, कतार, ओमान, कुवेत, इराक तथा युरोप र अफ्रिकाका विभिन्न मुलुकमा भिजिट भिसामा जाने र त्यहाँ पुगेपछि ‘वर्किङ भिसा’ मा परिवर्तन गर्ने प्रवृत्ति मौलाएको दाबी गर्दै गृह मन्त्रालयले आफ्नो ‘तजबिज’ चल्ने गरी भिजिट भिसामा यात्रा गर्न कठोर सर्तसहितका मापदण्ड/निर्देशिका ल्याउने गरेको छ ।

कठोर सर्तले यात्रा गर्न नपाउनेसम्मको अवस्था निम्तिँदा गिरोहको सेटिङमा छिरेर रकम बुझाउनुपर्ने बाध्यतामा यात्रु छन् । सेटिङमा छिरेकालाई सहजै पार गराउने तर त्यस बाहेककाको हकमा ‘कागजात नमिलेको बहाना’ मा अध्यागमनबाटै फिर्ता गरिदिँदा हजारौं मानिस यात्राबाट वञ्चित हुने गरेका नेपाल प्रहरीले यसअघि नै गरेको अनुसन्धानबाट पुष्टि भइसकेको छ ।

Hope IVF
Global IME Updated May 12
Sunrise bank

अध्यागमन विभागको २०२२ देखि २१ मे २०२५ सम्मको अभिलेखअनुसार यो अवधिमा विभिन्न मुलुकमा भिजिट भिसामा जानेको संख्या ७ लाख ५५ हजार ७ जना छ । यीमध्ये २०२२ मा १ लाख ७७ हजार ३ सय १०, २०२३ मा २ लाख ४ हजार ५ सय ३५, २०२४ मा २ लाख ७६ हजार ६ सय २४ र २०२५ को मे २१ सम्ममा ९६ हजार ५ सय ३८ जना भिजिट भिसामा विदेश उडेका छन् । यो आँकडाअनुसार २०२२ मा दैनिक सरदर साढे ७ सय, २०२३ मा दैनिक सरदर साढे ५ सय, २०२४ मा दैनिक सरदर ५ सय नेपाली भिजिट भिसामा जाने गरेको देखिन्छ ।

20,000 passengers returned from immigration in 41 months after not getting into the 'setting'

गिरोहको ‘सेटिङ’ बाट भिजिट भिसामा जानेले युरोपका लागि ३ लाखसम्म र खाडीसहित एसियाका विभिन्न मुलुकका लागि प्रतिव्यक्ति ५० हजार रुपैयाँसम्म तिर्ने गरेको अनुसन्धानमा संलग्न अधिकारीहरूको भनाइ छ ।

गिरोहलाई बुझाइएको रकमको हिस्सा अध्यागमनदेखि गृह मन्त्रालयको उच्च पदस्थसम्मै जाने गरेको पक्राउ परेका केही आरोपितले खुलाएका छन् । भिजिट भिसामा विदेश उड्नेमध्ये ७० प्रतिशतभन्दा बढी यात्रु गिरोहको नेटवर्कबाट जाने गरेको अनुसन्धानमा संलग्न अख्तियार र प्रहरीका अधिकारी बताउँछन् ।

रकम नबुझाई यात्रा तय गर्नेहरू कर्मचारी तथा ‘गिरोह’ कै केरकारमा परेर विमानस्थलबाटै फर्काइएका छन् । अध्यागमनको आँकडाअनुसार २०२२ मा ४ हजार २ सय ९३, २०२३ मा ४ हजार ८ सय ८३, २०२४ मा ९ हजार ५ र २०२५ को मे २१ सम्म २ हजार ३ सय १७ जना भिजिट भिसावाहक अध्यागमनबाटै फर्काइएका हुन् ।

भिजिट भिसामा लगाइएको कठोर प्रावधानपछि गिरोहको योजनामा जानेहरू बढेको र अब यस्ता विवादित प्रावधान नहटाएसम्म यो समस्या नरोकिने अवस्था रहेको अनुसन्धानरत स्रोतको भनाइ छ । कडा प्रावधानका कारण ट्राभल एजेन्सी, एयरलाइन्स, कर्मचारी, प्रहरी र बिचौलियाबीच रकम लेनदेन हुने र त्यही सेटिङमा जानेको सूची तय हुने गरेको अनुसन्धानबाटै खुलिसकेको छ ।

पछिल्लो पटक भिजिट भिसामा मौलाएको तस्करी नियन्त्रण गर्न यस्ता विवादास्पद र अव्यावहारिक मापदण्ड खारेज गर्नुपर्ने जानकार बताउँछन् । पूर्वसचिव जयमुकुन्द खनाल मुलुकको शासन–प्रशासन ऐन–कानुन र विधि–पद्धतिबाट भन्दा पनि ‘तजबिज’ का कार्यविधि–मापदण्ड तथा परिपत्रले चल्दा समस्या निम्तिएको बताउँछन् । अध्यागमन प्रशासनसँग जोडिएको भिजिट भिसा प्रकरण पनि यसकै एउटा पाटो रहेको उनको भनाइ छ ।

‘ऐन/नियमभन्दा पनि परिपत्र र निर्देशनबाट शासन गर्ने प्रवृत्ति हाबी भएको देखिन्छ,’ खनालले कान्तिपुरसँग भने, ‘सरकार र मन्त्रीपिच्छे आउने आदेश/मापदण्ड र कार्यविधिमा राखिएका झन्झटिला अनि अनावश्यक प्रबन्धले भिजिट भिसामा गिरोहको धन्दा फस्टाएको हो ।’

नेपाल प्रहरीका पूर्वएआईजी बमबहादुर भण्डारी भिजिट भिसासम्बन्धी मापदण्ड र निर्देशिकाको नियतमा प्रश्न उठाउनुभन्दा पनि यसलाई टेकेर बदनियतपूर्ण रूपमा लाभ उठाउने र ठगी खानेका कारण समस्या निम्तिएको बताउँछन् । ‘भिजिट भिसामा गएर शारीरिक शोषणमा परेका विषयलाई पनि हामीले नजरअन्दाज गर्न मिल्दैन, यसका लागि जानेका कागजात विमानस्थलको अन्तिम प्रस्थान कक्षमा परीक्षण गर्ने होइन, जानुभन्दा अगावै सम्बद्ध निकायबाट दोहोरो परीक्षण हुनुपर्छ, जानेका तत्तत् कागजात सही छन् भनेर पहिल्यै प्रमाणीकरण गरिदिनुपर्छ, त्यसो भयो भने विमानस्थलबाट व्यक्ति फिर्ता हुनु पर्दैन,’ भण्डारी भन्छन्, ‘तर यहाँ अन्तिम बिन्दुमा पुगेपछि कागज खोज्ने र ट्र्यापमा पारेर रकम असुली गर्ने काम भइरहेको छ, यो रोकिनुपर्छ ।’

विधिविज्ञानको प्रतिवेदन नआएकाले बयान अझै सुरु भएन

विधिविज्ञान प्रयोगशालाको प्रतिवेदन नआएकाले विमानस्थल अध्यागमन प्रमुख तीर्थराज भट्टराईलगायतको बयान अहिलेसम्म सुरू हुन सकेको छैन । मानव तस्करको सेटिङमा भिजिट भिसामा असुली धन्दा चलाएको प्रकरणमा विमानस्थल अध्यागमन प्रमुख भट्टराईसहित गिरोहमा काम गर्ने तीन जनालाई अख्तियारले बुधबार पक्राउ गरेको थियो । चारै जनाबाट अख्तियारले मोबाइल, ल्यापटप तथा अन्य कागजात पनि नियन्त्रणमा लिएको छ । उनीहरूलाई सोही दिन कागज गराएर छाडिएकामा बरामद उपकरण विधिविज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ ।

राजावादी प्रदर्शनको नेता भेटिएन

Highlights

  • रवीन्द्र मिश्र र धवलशमशेरले दुर्गा प्रसाईंको आयोजनामा आफूहरू अतिथिका रूपमा मात्र तीनकुनेको प्रदर्शनमा सहभागी भएको दाबी गरेका छन् भने प्रसाईंले धवल र रवीन्द्रसहितका राप्रपाका नेताहरूले ‘संसद् घेर्न जाने भन्दै भीड उत्तेजित बनाएको र ढुंगामुढा गर्न लगाएको’ बयान दिएका छन्

काठमाडौँ — तीनकुने क्षेत्रको हिंसात्मक घटनापछि पक्राउ परेका राजावादी नेताहरूले प्रहरीसँगको बयानमा अपजस अरूतिर पन्छाएर आफू जोगिने प्रयास गरेको पाइएको छ । राजावादी प्रदर्शनका ‘जनकमान्डर’ दुर्गा प्रसाईं, राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री एवं सांसद धवलशमशेर जबराले घटनामा एकअर्कालाई दोषारोपण गरेका हुन् । तोडफोड र आगजनीमा संलग्नले पनि नेताहरूको उक्साहटमा आफूहरू परेको बयान प्रहरीलाई दिएका छन् ।

‘जनकमान्डर’ प्रसाईंले तीनकुने प्रदर्शनको मुख्य जिम्मेवार ‘राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदीलगायत रहेको बयान प्रहरीलाई दिएका छन् । समितिको सदस्य तथा आन्दोलनको जनकमान्डर भई कार्यविभाजनको काम मात्र आफूले गरेको उनको जिकिर छ । ‘यसको मुख्य काम सबै संगठनलाई मिलाउने, विभिन्न संगठनलाई एक ठाउँमा व्यवस्थित बनाउने काम नवराज सुवेदी, जगमान गुरुङ, अस्मिता भण्डारी, रमा सिंह, कमल थापा, पशुपतिशमशेर राणालगायतका व्यक्तिहरूले गर्ने हुन्,’ उनले भनेका छन् ।

प्रसाईंले आन्दोलन परिचालन समितिका संयोजक जबराको मातहत रहेर जनआन्दोलन परिचालन गर्ने सहयोगी भूमिकामा मात्र आफू रहेको बयान दिएका छन् । ‘मेरो भूमिका आन्दोलनलाई अघि बढाउने हो । अरू मिलाउने भूमिका धवलशमशेर जबराको हो,’ उनको बयान छ ।

नेताका घरमा आगो लगाउनुपर्छ भनेर अभिव्यक्ति दिने व्यक्ति राप्रपाकै रहेको प्रसाईंको बयान छ । ‘संयुक्त जनआन्दोलन समितिसमेतले आयोजना गरेको तीनकुनेको कार्यक्रममा कार्यक्रम सञ्चालन हुनुपूर्व ‘नेताको घरदैलोमा आगो लगाउने हो अब, हामी यहाँ देउसीभैलो खेल्न आएको होइन’ भनी स्टेजमा दिएको मन्तव्यसहितको मिसिल संलग्न भिडियो क्लिप देख्न पाएँ । यस्तो मन्तव्य दिने व्यक्ति राप्रपाका हुन्,’ उनले भनेका छन् ।

‘जनकमान्डर’ प्रसाईंले प्रदर्शनमा प्रहरीमाथि ढुंगा प्रहार भएपछि बल प्रयोग गरिएको बयान प्रहरीलाई दिएका छन् । कार्यक्रम सुरु गर्न नपाई जनआन्दोलन परिचालन संयोजक जबरा, सोही संगठनका सदस्यसचिव रवीन्द्र मिश्र र राप्रपाका कार्यकर्ता तथा सन्तोष राजावादीको टिमले कार्यक्रमस्थलभन्दा ३ सय मिटर टाढा रहेका प्रहरीमाथि ढुंगा हानेको आरोप उनले बयानमा लगाएका छन् । ढुंगा प्रहार गरिएका कारण प्रहरीले घरका छत तथा भुइँबाट अश्रुग्यास र गोली प्रहार गरी घोषणासभामा भेला भएका सर्वसाधारण मानिस बसेको ठाउँ रणभूमि बनाइदिएको प्रसाईंको भनाइ छ ।

Hope IVF
Global IME Updated May 12
Sunrise bank

१५ चैतका दिन संसद् भवन घेराउ गर्न जाने आफ्नो योजना नरहेको पनि प्रसाईंले प्रहरीलाई बताएका छन् । आवेगमा आएर संसद् भवन कब्जा गरौं भन्ने अभिव्यक्ति आफूले दिएको उनको भनाइ छ । घटनाका दिनको भिडियो हेर्दा मिश्र र जबराले संसद् कब्जा गर्ने भनी हूललाई बानेश्वरतर्फ लैजाँदा प्रहरीसँग झडप भएको आफूले पाएको उनले बताएका छन् । राज्य सत्ता पल्टाउन आफूले आपराधिक उपद्रव नगरेको पनि उनको दाबी छ ।

प्रसाईं तीनकुने घटनालगत्तै भागेर भारत पुगेका थिए । दुई सातापछि भारतबाटै प्रहरी नियन्त्रणमा परेका उनी हाल हिरासतमा छन् । सरकारी वकिलको कार्यालय काठमाडौंले उनीविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रवतर्फ, कर्तव्य ज्यानतर्फ, ज्यान मार्ने उद्योग, संगठित अपराध र एकीकृत कसुरमा आइतबार जिल्ला अदालतमा मुद्दा चलाएको छ ।

The leader of the royalist demonstration was not found

राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रले १५ चैतको कार्यक्रम प्रसाईंको समूहले नै आयोजना गरेको बयान दिएका छन् । ‘दुर्गाजीकै अनुरोधमा १४ चैतमा पत्रकार सम्मेलन गरी समितिका संयोजक नवराज सुवेदीले प्रसाईंलाई जनकमान्डर घोषणा गर्नुभएको हो,’ उनले प्रहरीलाई भनेका छन्, ‘१५ चैतको कार्यक्रम मैले नेतृत्व गरेको होइन । सामाजिक सञ्जालमा मैले गरेको विश्लेषण र त्यस दिनको हिंसाको कुनै सम्बन्ध छैन । मेरो भूमिका अतिथिको थियो । कार्यक्रमको आयोजना, सञ्चालन र व्यवस्थापनमा मेरो कुनै भूमिका थिएन ।’ उनले कुनै पनि हिंसाजन्य कार्यमा आफ्नो संलग्नता नरहेको बताएका छन् ।

मिश्रले कार्यक्रममा राप्रपाको ब्यानर रहेको भने स्वीकार गरेका छन् । ‘राप्रपा सो कार्यक्रमको आयोजक रहेको भन्ने ब्यानर उहाँहरूले आग्रह गरेपछि पठाइएको हो । ब्यानर लगाइएको स्टेज कसरी बनाइयो, ब्यानर कसरी राखियो, त्यसबारे मलाई जानकारी थिएन,’ उनको बयान छ ।

जबराले भने आफू संयोजक रहेको समितिको कार्य शान्तिपूर्ण आन्दोलनको संयोजन र परिचालन गर्ने रहेको बयान दिएका छन् । १५ चैतको कार्यक्रमको मूल आयोजक प्रसाईं नै भएको उनको पनि बयान छ । ‘म अतिथिको हैसियतमा सभामा मन्तव्य राख्ने उद्देश्यले सहभागी भएको हुँ । म र मेरो पार्टी हिंसात्मक प्रदर्शनको पक्षमा छैन,’ उनले भनेका छन् ।

प्रसाईं नेतृत्वको संगठनका प्रेमदिप लिम्बूले भीडलाई उत्तेजित बनाउने अभिव्यक्ति मञ्चबाट दिएको जबराले बयानमा खुलाएका छन् । उनले सन्तोष सिलवाल, सतिश न्यौपाने, शिशिर जीसी, कुमार बस्नेतलगायत व्यक्ति राजावादी समर्थक रहेकाले आफ्नो कुराकानी हुनु स्वाभाविक रहेको बयान दिएका छन् । तीनकुने घटनाको अनुसन्धानमा राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र र महामन्त्री जबरा पक्राउ परेर हाजिरी जमानीमा छुटेका थिए । जिल्ला अदालत काठमाडौंमा आइतबार उनीहरू दुवैविरुद्ध राज्यविरुद्ध, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ ।

अनवरत तत्पर फौज (एटीएफ) का अनुप राजावादी भनिने गोकर्ण शाहीले तीनकुने क्षेत्रमा तोडफोड र आगजनी गर्न आदेश दिने व्यक्ति ‘जनकमान्डर’ प्रसाईं, नेताहरू रवीन्द्र मिश्र, धवलशमशेर जबरालगायत रहेको बताएका छन् । ‘हामीले निज व्यक्तिहरूको आदेशमा सनातन हिन्दु राष्ट्रसहितको राजसंस्थाको पुनःस्थापना गर्ने उद्देश्य प्राप्तिका लागि तोडफोड र आगजनी गरेका हौं,’ उनले बयानमा भनेका छन् ।

पूर्वराजा शाहको सचिवालयसँग प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरूको निर्देशनमा आफूहरू १५ चैतको प्रदर्शनमा सहभागी भएको शाहीको भनाइ छ । ‘हामीलाई निर्देशन दिने सन्तोष राजावादी भन्ने सन्तोष सिलवालसमेतका व्यक्तिहरूको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संस्थापक दुर्गा प्रसाईं, राप्रपाका वरिष्ठ नेताहरू रवीन्द्र मिश्र, धवलशमशेर जबरा, पूर्वराजा ज्ञानेन्द्र शाहको निजी सचिवालयसमेतसँग प्रत्यक्ष रूपमा भेटघाट, कुराकानी हुँदै आएको थियो,’ उनको बयान छ ।

तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका रमेश राईले पनि पूर्वराजा शाहको सचिवालयसँग विभिन्न कार्यक्रमका सम्बन्धमा सिधै कुराकानी हुने गरेको बयान दिएका छन् । ‘राजावादीबाट आयोजना हुने कार्यक्रममा हाम्रो प्रत्यक्ष कुराकानी सन्तोष सिलवाल, विष्णु रिमाल र सतिश न्यौपानेसँग मात्र हुने गरेको थियो । निजहरूको दुर्गा प्रसाईं, राप्रपाका वरिष्ठ नेताहरू, पूर्वाराजा ज्ञानेन्द्रको निजी सचिवालयसँग के–कस्तो कार्यक्रम सञ्चालन गर्ने भन्नेसम्बन्धी कुराकानी हुने गर्थ्यो,’ उनले भनेका छन् ।

तारा राजावादी भनिने सरोज गौतमले तीनकुनेको घरमा आफूलगायतले आगो लगाएको स्वीकार गरेका छन् । आफूभन्दा अगाडि नै घरमा प्रवेश गरी कोठाभित्र आगो लगाउँदै गरेका हेम भन्ने भीमराम थारू, दण्डपाणि रेग्मी, सतिश न्यौपाने, गोकर्ण शाहीलगायतसँग मिलेर गोकर्णकै हातमा रहेको लाइटर लिई आगो लगाएको उनको बयान छ । घरमा आगो दनदनी बल्न थालेपछि तल ओर्लेर डेरातर्फ भागेको समेत उनले प्रहरीलाई बताएका छन् । त्यस घटनाको जिम्मेवारी सन्तोष राजावादी, प्रसाईं, जबरा र मिश्रले लिनुपर्ने उनको बयान छ ।

प्रसाईं, मिश्र, जबरासमेतका नेताहरूले माइकिङ गरी उग्र अभिव्यक्ति दिएपछि आफूलगायतले प्रहरीमाथि ढुंगा प्रहार गरेको पनि गौतमले प्रहरीलाई बताएका छन् । छातीमा ज्ञानेन्द्र र कोमल शाहको ट्याटु खोपेका उनी ‘एटीएफ’ मा आबद्ध थिए ।

‘एटीएफ’ संयोजक रहेका सन्तोष सिलवालले घरमा आगो लगाउने सरोज गौतम, गोकर्ण शाहीलगायतलाई आफूले चिन्ने बयान दिएका छन् । दुई वर्षअघि पूर्वराजा झापा गएका बेला प्रसाईंलाई आफूले चिनेको उनको भनाइ छ । उनले २०६४ देखि आफू राजावादी रहेको पनि बताएका छन् ।

‘जनकमान्डर’ प्रसाईंले तीनकुने प्रदर्शनको अघिल्लो दिन पूर्वराजा ज्ञानेन्द्रलाई निर्मल निवासमा भेटेको प्रहरीलाई बताएका छन् । पूर्वराजा भेटेर फर्किएकै दिन सुवेदी नेतृत्वको समितिले प्रसाईंलाई ‘जनकमान्डर’ घोषणा गरेको थियो । पूर्वराजा शाहसँग सम्बन्धित बयानमा प्रसाईंले भनेका छन्, ‘यी नेताहरूबाट देश चल्दैन, तपाईं आफैं आएर देश चलाउनुपर्छ, हामी नेपालीको अभिभावक हुनुपर्छ किनकि यो देश तपार्इंको जिजु बडामहाराजाधिराज पृथ्वीनारायण शाहले आर्जेको देश भएकाले तपाईं पुनः आउनुपर्‍यो भनेर म पटक–पटक भेट्न गएको हुँ ।’

पूर्वराजासँग आफ्नो राम्रो चिनजान रहेको पनि प्रसाईंले बयानमा उल्लेख गरेका छन् । ‘निजसँग मेरो राजा र जनताबीचको सम्बन्ध हो । निजसँग मेरो विगत ५ वर्षदेखि पटक–पटक भेट भइरहेको छ । निजसँग निजी सचिवमार्फत भेटघाट हुने गरेको थियो,’ प्रसाईंले भनेका छन् ।

तीनकुने घटनामा ६१ जनाविरुद्ध मुद्दा

घटनामा संलग्न देखिएका चार नाबालकविरुद्ध सोमबार भक्तपुर बाल अदालतमा मुद्दा दर्ता गराउने तयारी, अभियोगपत्रमा नाम उल्लेख नभएकाहरू आइतबारै हिरासतमुक्त

काठमाडौंको तीनकुने क्षेत्रमा १५ चैतमा भएको हिंसात्मक घटनामा संलग्न भएको अभियोगमा ६१ जनाविरुद्ध आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा चलाइएको छ । १ सय ८ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने राय प्रहरीले दिएकामा जिल्ला सरकारी वकिलको कार्यालयले ६१ जनाविरुद्ध अभियोगपत्र दायर गरेको हो । अन्य चार नाबालकविरुद्ध भने सोमबार भक्तपुर बाल अदालतमा मुद्दा दर्ता गराउने तयारी छ ।

सरकारी वकिलको कार्यालयले राजावादी प्रदर्शनका ‘कमान्डर’ दुर्गाप्रसाद प्रसाईंलाई पाँच तथा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री एवं सांसद धवलशमशेर जबराविरुद्ध चार–चार कसुरमा सजाय मागदाबी गरेको छ ।

जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका प्रसाईंलाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रवतर्फ, कर्तव्य ज्यानतर्फ, ज्यान मार्ने उद्योग, संगठित अपराध र एकीकृत कसुरमा सजायको माग गरिएको छ । मिश्र र जबरामाथि भने राज्यविरुद्ध, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा अभियोग लगाइएको छ ।

सरकारी वकिलको कार्यालयले प्रसाईंसहित ५० र ११ जनाको छुट्टाछुट्टै अभियोगपत्र बनाएर मुलुकी फौजदारी कार्यविधि सहिता, २०७४ को दफा ३२ बमोजिम मुद्दा दायर गरेको छ । ११ जनालाई आपराधिक उपद्रवअन्तर्गत र अन्यलाई व्यक्तिविशेष मुद्दा दर्ता गरिएको कार्यालयले जनाएको छ । हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोप लागेका चार बालकविरुद्ध भने भक्तपुर बाल अदालतमा सोमबार मुद्दा दायर हुने सरकारी वकिलको कार्यालयका प्रमुख सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले जानकारी दिए । उनका अनुसार एक बालकलाई राज्यविरुद्ध र अन्य ३ जनाविरुद्ध आपराधिक उपद्रवमा मुद्दा दर्ता हुनेछ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले करिब दुई महिना लगाएर तीनकुने घटनाको अनुसन्धान गरेको थियो । त्यस क्रममा ९० जनालाई पक्राउ गरेर अनुसन्धान गरिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । १८ जना अहिले पनि प्रहरीको फरार सूचीमा छन् । प्रवक्ता बोहराका अनुसार तीनकुने घटनामा मुद्दा दायर भएका ४९ जना हिरासतमा छन् । ‘आपराधिक उपद्रव र संगठित अपराधमा ६१ र राज्यविरुद्धको कसुरमा २९ जनामाथि अनुसन्धान गरिएको थियो,’ बोहराले भने, ‘त्यसमध्ये आपराधिक उपद्रव र संगठित अपराधमा अनुसन्धानमा रहेका ३४ र राज्यविरुद्धको कसुरमा रहेका ३ जना यसअघि नै हाजिरी जमानीमा छुटेका थिए ।’

अदालतमा दायर अभियोगपत्रमा नाम उल्लेख नभएकाहरूलाई प्रहरीले आइतबार नै हिरासतमुक्त गरेको छ । अभियोग लगाइएका राप्रपाका वरिष्ठ उपाध्य मिश्र र महामन्त्री एवं सांसद जबरा यसअघि नै हाजिरी जमानीमा छुटेका थिए । ‘कमान्डर’ प्रसाईं भने हिरासतमै छन् ।

राजावादीले १५ चैतमा गरेको प्रदर्शन हिंसात्मक बन्दा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक र कीर्तिपुर–४ का सविन महर्जनको मृत्यु भएको थियो । प्रहरीको गोली लागेर २० जना घाइते भएका थिए । गोली लागेर घाइते भएका ३ जना अझै पनि उपचारका क्रममा छन् ।

तिघ्रामा गोली लागेकी उदयपुरकी रेविका खत्रीको महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ । सिभिल अस्पतालको सघन उपचार कक्षमा लामो समय राखेर रेविकालाई प्लास्टिक सर्जरी गर्न महाराजगन्ज लगिएको हो । गोली लागेको ठाउँबाट अत्यधिक रगत बगेकाले सीटीभीएस आईसीयूमा उपचार हुँदै छ ।

पेटमा गोली लागेका भोजपुरका डिल्लीप्रसाद लुइँटेलको ट्रमा सेन्टरमा उपचार चलिरहेको छ । पाखुरामा गोली लागेका काभ्रेका रामहरि (रिदम) श्रेष्ठ बीएन्डबी अस्पतालमा नियमित फलोअपमा छन् । घाइते भएपछि पाखुरामा स्टिल राखिएका उनको पाखुराको नसाको अपरेसन बाँकी छ ।

तीनकुनेको प्रदर्शनमा १५ निजी घर, ३७ निजी संस्था (दुई सञ्चार गृह, एउटा सुपर मार्केट, दुई अस्पताल, चार बैंक, दुई सहकारी, २० व्यवसाय, एक विद्यालय, दुई पार्टी कार्यालय र तीन कार्यालय), एक उद्योग, दुई प्रहरी कार्यालय र ट्राफिक आइल्यान्डमा क्षति पुगेको प्रहरीको तथ्यांक छ । आगजनी र तोडफोडबाट ६९ सवारीसाधनमा क्षति पुगेको थियो ।

फ्रेन्ड्स क्लबको वार्षिकोत्सव

काठमाडौँ — सहिद स्मारक ‘ए’ डिभिजन लिगको टोली फ्रेन्ड्स क्लब कुपन्डोल शनिबार आफ्नो स्थापनाको ५३ औं वार्षिकोत्सव मनाएको छ ।

क्लबले वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरू घोषणा गरेको छ । क्लबका सस्थापक एवं संरक्षक ओमकारप्रसाद श्रेष्ठ, अध्यक्ष विश्वासविक्रम शाह, सल्लाहकार उदयशम्सेर राणा र अखिल नेपाल फुटबल संघका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पालगायतको उपस्थितिमा क्लबले वार्षिकोत्सव मनाएको हो ।

नेपोली इटालियन सिरी ‘ए’ च्याम्पियन

नेपल्स — नेपोलीले सिजनको अन्तिम खेलमा इटालियन सिरी ‘ए’ को उपाधि जितेको छ । स्कट म्याकटोमिनी र रोमेलु लुकाकुले गोल गरेपछि नेपोली शुक्रबार राति क्याग्लियरीलाई २–० ले पराजित गर्दै चौथो पटक सिरी ‘ए’ च्याम्पियन बनेको हो । पछिल्ला तीन वर्षमा टोली दोस्रो पटक लिग च्याम्पियन बन्न सफल भयो ।

नेपोलीको विजयसँगै डिएगो अर्मान्डो म्याराडोना रंगशालामा दर्शक उत्साही हुन पुगेका थिए । नेपोली नजिकको प्रतिद्वन्द्वी इन्टर मिलानभन्दा १ अंकले मात्र अगाडि रह्यो । इन्टरले कोमोमा २–० को जित हात पारेको थियो । मध्यान्तर हुनु ठिक अगाडि गोलरक्षक पेपे रैनाले रातो कार्ड सामना गरेपछि डिफेन्डिङ च्याम्पियन इन्टरले १० खेलाडीमा सीमित कोमाविरुद्ध खेल्न पाएको थियो । रैनाको आफ्नो खेलजीवनमा यो अन्तिम खेल पनि थियो ।

गत सिजन इन्टरले लिगको उपाधि जित्दा नेपोली १० औं स्थानमा थियो । ‘फेरि यो सम्भव भएको छ र यो उत्कृष्ट पनि रह्यो । यो सिजन हाम्रो निकै नै उत्कृष्ट रह्यो । यसका लागि सबै खेलाडीलाई धन्यबाद दिनुपर्छ । उनीहरूले निकै मिहिनेत गरेका छन् । विशेष गरी दुई वर्षअगाडि पनि लिग जित्ने खेलाडीहरूले निकै राम्रो खेले,’ नेपोलीका प्रशिक्षक एन्टोनियो कोन्टेले भने ।

उपाधि जिताए पनि कोन्टेले नेपोली छाड्न लागेको हल्ला चलिरहेको छ । क्लबका मालिक अउरेलियो डी लाउरेन्टिजले दिल खोलेर लगानी नगरेका कारण कोन्टेको गुनासो रहेको विभिन्न सञ्चारमाध्यममा जनाइएको छ । तर कोन्टे यसको खण्डन गर्छन् । ‘क्लबका मालिक र उनको परिवारसँग मेरो राम्रो सम्बन्ध छ,’ कोन्टेले भनेका छन्, ‘मैले उनलाई र उनले मलाई चिन्ने मौका पाएका छौं । हामी लिग उपाधि जितेको खुसी सँगै मनाउँदै छौं र हामी अलिक फरक भए पनि दुवै विजेता हौं ।’

म्याकटोमिनी र लुकाकु नेपोलीको नयाँ हिरो बनेर आए । स्कटल्यान्डका मिडफिल्डर म्याकटोमिनी प्लेयर अफ द सिजनमा चुनिए । मध्यान्तर हुनु उनले एक्रोब्याटिक भलीमा गरेको गोल यस सिजनको १२ औं थियो । कोमोमा स्टेफन डी भर्जले २१ औं मिनेटमा गरेको गोलमा इन्टरले अग्रता लिएको समयमा म्याकटोमिनीले नेपल्समा नेपोलीलाई अग्रता दिलाउँदै अंक तालिकामा शीर्षस्थानमा ल्याएका थिए ।

Hope IVF
Global IME Updated May 12
Sunrise bank

इन्टरको ध्यान अब शनिबार पेरिस सेन्ट जर्मेनविरुद्ध हुने च्याम्पियन्स लिग फाइनलमा रहनेछ ।

आईपीएलको क्वालिफायर अब रोमाञ्चक

जयपुर — पन्जाब किंग्सले शनिबार दिल्ली क्यापिटल्ससँग ६ विकेटको हार बेहारेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको क्वालिफायर १ को दौड झनै रोमाञ्चक भएको छ । लगातार तेस्रो दिन प्लेअफमा स्थान सुरक्षित गरेका तीन टोली पराजित भएका छन् ।

एक खेलमात्र खेल्न बाँकी रहेको अवस्थामा गुजरात टाइटन्स १८ अंकसहित शीर्षस्थानमा छ । पन्जाब र रोयल च्यालेन्जर्स बेंगलुरुको सामान १७ र मुम्बई इन्डियन्सको १६ अंक छ ।

शीर्ष दुई टोली क्वालिफायरमा पुग्ने प्रावधान छ ।

टस हारेपछि पहिला ब्याटिङमा निम्त्याइएको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाई २ सय ६ रन बनायो । दिल्लीले ३ बलअगाडि नै २ सय ८ रन बनाएर पञ्जाबलाई नराम्रो झट्का दियो । समीर रिज्भीले २५ बलमा अविजित ५८ र करुण नैरले २७ बलमा ४४ रन बनाई दिल्लीलाई जिताएका थिए । रिज्भीले ३ चौका र ५ छक्का तथा नैरले ५ चौका र २ छक्का प्रहार गरेका थिए ।

ट्रिस्टन स्टब्स १४ बल खेल्दै २ चौका प्रहार गरी १८ रनमा अविजित रहे । ओपनरद्वय केएल राहुल २१ बलमा ६ चौका र १ छक्का प्रहार गरि ३५ र कप्तान फाफ डु प्लेसिस १५ बलमा २ चौका र १ छक्का प्रहार गरि ३३ रनमा अविजित रहे । दिल्लीले १४ खेलमा १५ अंक जोड्दै सिजनको अन्त्य गरेको हो ।

Hope IVF
Global IME Updated May 12
Sunrise bank

त्यसअघि पन्जाबका लागि श्रेयस ऐरले ५३ र मार्कस स्टोइनिसले अविजित ४४ रनको योगदान दिएका थिए । दिल्लीका मुस्ताफिजुर रहमानले २ विकेट लिएका थिए ।

साफ महिला क्लब च्याम्पियनसिप हुने

काठमाडौँ — पहिलो संस्करणको साफ महिला क्लब च्याम्पियनसिप फुटबलको आयोजना नेपालमै हुने भएको छ । प्रतियोगिताबारे अन्तिम निर्णय हुन बाँकी रहेको छ । तर यो प्रतियोगिता सम्भवतः नोभेम्बरमा हुनेछ । ‘प्रतियोगिताको स्वरूपबारे पछि निर्णय गर्नेछौं, तर प्रतियोगिता भने हुने निश्चित भएको छ,’ दक्षिण एसियाली फुटबल महासंघका महासचिव पुरुषोत्तम कट्टेलले शनिबार जानकारी गराएका हुन् ।

महासंघको काठमाडौंमा बसेको कंग्रेसका अवसरमा केही महत्त्वाकांक्षी योजना अगाडि सारिएको छ । महासंघले दक्षिण एसियाली फुटबलको स्तर बढाउन कम्तीमा ११ प्रतियोगिता प्रस्ताव गरेको छ । त्यसमा पुरुष र महिलाको फुटसलदेखि स्कुल प्रतियोगितासम्मको योजना छ । कंग्रेसमा दक्षिण एसियाका सातै देशको सहभागिता रहेको थियो ।

महासचिव कट्टेलले दक्षिण एसियाली क्षेत्रमा प्रो–लाइसेन्सप्राप्त प्रशिक्षक अभाव रहेको हुनाले त्यस्तो जनशक्ति निर्माणका लागि पनि विशेष कार्यक्रम अगाडि ल्याउने बताए । उनका अनुसार भारत र भुटानलाई छाडेर अन्य देशमा प्रो–लाइसेन्स भएका प्रशिक्षक छैनन् र यस्ता प्रशिक्षकको उत्पादन पनि निकै खर्चिलो छ ।

‘हामीले प्रो–लाइसेन्सप्राप्त प्रशिक्षकको उत्पादनका लागि सम्बन्धित देशको फुटबल संघसँगै एसियाली फुटबल महासंघसँग पनि छलफल अगाडि बढाउने छौं । प्रो–लाइसेन्सका लागि निकै खर्च लाग्ने हुनाले पनि यस्तो कार्यक्रम आवश्यक छ । यस्तो कार्यक्रमले नेपाली फुटबललाई पनि निश्चित रूपमा मदत गर्नेछ,’ उनले भने ।

कंग्रेसमा पहिलो पटक पत्रकारलाई प्रवेश दिइएको थियो । दक्षिण एसियाली स्तरमा अहिलेसम्म फुटसलका प्रतियोगिता आयोजना नभएको स्थितिमा यो नयाँ सुरुआत हुनेछ । उनले अबको साफ च्याम्पियनसिप ‘होम अर अवे’ को आधारमा हुने बताउँदै आयोजना स्थलको समस्या भए तटस्थ भूमि रोजिने पनि बताए ।

ग्वार्को ओभरपास जेठभित्रै बनिसक्ने

Highlights

  • सडक सुरक्षासम्बन्धी थप काम सकेर असार पहिलो सातादेखि सवारीसाधन सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ — दुई वर्षभित्रै काम सक्ने गरी २०७८ फागुनमा निर्माण थालिएको ग्वार्को ओभरपास त्योभन्दा १५ महिना बढी अवधि लगाएर यही जेठभित्र सक्ने गरी अन्तिम चरणको काम भइरहेको छ । ओभरपास बनिसकेपछि त्यसमा सडक सुरक्षासम्बन्धी काम सकेर असार पहिलो सातादेखि सवारीसाधन सञ्चालनमा ल्याउने सडक विभागको तयारी छ ।

चार लेनको यो ओभरपास ग्वार्को चोकबाट कोटेश्वरतर्फ ३ सय २० मिटर र सातदोबाटोतर्फ १ सय ८५ मिटर लामो छ, जहाँ यतिखेर धमाधम कालोपत्र भइरहेको छ । शनिबार कोटेश्वरतर्फ पहिलो तहको कालोपत्र सुरु भएको छ । यस खण्डमा चार तहको कालोपत्र गरिनेछ ।

सातदोबाटोतर्फ पनि एक साताभित्रै कालोपत्र थाल्ने गरी बेस राख्ने काम भइरहेको निर्माणमा संलग्न आशिष–समानान्तर–रेलिगेर जेभीका प्रोजेक्ट म्यानेजर विशाल कार्की बताउँछन् ।

सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक दीप बाराहीका अनुसार यही महिनाभित्र निर्माणका सबै काम सकिनेछ । ‘अब धेरै काम बाँकी छैन,’ उनले भने, ‘सकिएलगत्तै ओभरपासबाट सवारी सञ्चालन गर्छौं ।’ अहिलेसम्म निर्माण प्रगति ८५ प्रतिशत छ । आशिष–समानान्तर–रेलिगेर जेभीले १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा यसको ठेक्का लिएको हो ।

Gwarko overpass to be completed by May

Hope IVF
Global IME Updated May 12
Sunrise bank

सुरु सम्झौताअनुसार २०८० फागुन १२ भित्र ओभरपास निर्माण सकिनुपर्ने थियो । नसकिएपछि दोस्रो पटक २०८१ असारसम्मका लागि म्याद थपियो, तर पनि काम सकिएन । फेरि काम नसकिएपछि गत पुस ९ सम्मको म्याद थियो, तैपनि कामको रफ्तार बढेन । ठेक्का लिने कम्पनीले काम नसकेपछि गत पुस १० बाट जरिवाना लगाएर काम गराइराखिएको छ ।

प्रतिदिन ०.०५ प्रतिशतका दरले जरिवाना लगाएर काम गराइएको केन्द्रले जनायो ।

ओभरपासको र्‍याम्प १०.२ मिटरसम्म अग्लो बनाइएको छ । ठेक्का भएको १३ महिनामा डिजाइनमा समस्या आएपछि काम रोकिएको थियो । इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलअन्तर्गत यसको ठेक्का गरिएको हो । त्यसैले यसमा डिजाइनदेखि निर्माणसम्मको काम ठेक्का लिने कम्पनीले नै गर्नॅपर्छ । निर्माणका क्रममा प्राविधिक समस्या देखिएपछि मुख्य काम रोकेर व्यवसायीले ‘डिजाइन रिभाइज’ गरेका थिए ।

Gwarko overpass to be completed by Mayतस्बिरहरु : दीपक केसी/कान्तिपुर

निर्माण थालेयता कोटेश्वर–ग्वार्को–सातदोबाटो–कलंकी खण्डमा ट्राफिक जाम नभएको दिन छैन । चालक–यात्रुसमक्ष लामो समयसम्म ट्राफिक जाम छिचोलेपछि मात्र गन्तव्यमा पुग्नुको विकल्प छैन । अझै ट्राफिक जामको समस्या उस्तै छ ।

जेठभित्र निर्माणको काम सकिए पनि असार पहिलो साताबाट मात्र ओभरपासमा सवारीसाधन सञ्चालन हुने सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता अर्जुनप्रसाद अर्यालले बताए । ‘कालोपत्रको काम सकेर सडक सुरक्षासम्बन्धी काम गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘रेलिङ लगाउनुपर्ने हुन्छ, यो सबै काम सकिएपछि निर्माण कम्पनीले विभागलाई हस्तान्तरण गर्छ ।’ जरिवाना लगाएर काम गराइराखिएकाले निर्माण व्यवसायीले अब काममा ढिला नगर्ने उनको भनाइ छ । निर्माण सम्पन्न भएको पाँच वर्षसम्म यसको मर्मतसम्भारको काम पनि निर्माण व्यवसायीले नै गर्नुपर्ने अर्यालको भनाइ छ । ‘ग्वार्कोबाट लुभुतिर जाने गाडी ओभरपासमुनिबाटै वारपार गर्छन्,’ उनले भने, ‘कोटेश्वर, कलंकी जाने सवारीसाधनले ओभरपास प्रयोग गर्ने भएकाले यस खण्डमा हुने ट्राफिक जाम हुनेछैन ।’