फोर आइज न्युज
आइतवार, असार २९, २०८२

This Week

न्युजिल्यान्डका उपप्रधान तथा विदेशमन्त्री आज नेपाल आउने

Highlights

  • न्युजिल्यान्डका एडमन्ड हिलारी र नेपालका तेन्जिङ शेर्पाले सन् १९५३ मा सर्वोच्च शिखर सगरमाथा चढेदेखि विशेष सम्बन्ध रहँदै आएको छ

काठमाडौँ — न्युजिल्यान्डका उपप्रधान तथा विदेशमन्त्री विन्स्टन पिटर्स नेपालको औपचारिक भ्रमणका लागि बुधबार काठमाडौं आउँदै छन् । परराष्ट्र मन्त्रालयका अनुसार जेठ १४ र १५ दुई दिन उनी काठमाडौंमा रहनेछन् ।

न्युजिल्यान्डबाट उपल्लो तहको राजनीतिक भ्रमण यो पहिलो भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता सहसचिव कृष्ण ढकालले न्युजिल्यान्डका उपप्रधान तथा विदेशमन्त्रीको मैत्रीपूर्ण औपचारिक भ्रमण हुन लागेको बताए ।

श्रीलंकाको भ्रमण सकेर पिटर्स नेपाल आउन लागेका हुन् । उनी बुधबार अपराह्न काठमाडौं आउने र राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ । प्रतिपक्षी दल माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई पनि उनले बुधबार नै भेट्ने कार्यक्रम छ । साँझ परराष्ट्रमन्त्री आरजु राणा देउवासँग द्विपक्षीय बैठक हुने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता ढकालका अनुसार गत वर्ष तत्कालीन परराष्ट्रमन्त्री एनपी साउदले न्युजिल्यान्डको भ्रमण गरेका थिए । ‘दुई देशबीच मित्रवत् र ऐतिहासिक सम्बन्ध छ । सम्बन्ध र सहकार्यलाई बढाउन द्विपक्षीय भ्रमणको आदानप्रदान भएको हो,’ उनले भने, ‘यस्ता भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास लिइएको छ ।’ पछिल्लो समय दुई देशबीचको ‘इन्गेजमेन्ट’ बढ्दै गएको छ । न्युजिल्यान्डमा नेपालका १२ सय विद्यार्थी अध्ययनरत छन् । त्यस्तै, त्यहाँ पेसा व्यवसाय गरेर बसेका तथा रोजगारीका लागि जाने नेपालीको संख्या पनि बढ्दो छ ।

न्युजिल्यान्ड सरकारले हिमाली क्षेत्रको विकास त्यहाँको शिक्षा, स्वास्थ्यको क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको छ । न्युजिल्यान्डका एडमन्ड हिलारी र नेपालका तेन्जिङ शेर्पाले सन् १९५३ मा पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथा चढेदेखि नेपाल–न्युजिल्यान्डबीच विशेष सम्बन्ध रहँदै आएको छ । त्यस्तै, २०७२ को विनाशकारी भूकम्पपछि राहत कार्यमा पनि न्युजिल्यान्डले सहयोग गरेको थियो । दुवै देशमा एकअर्काको दूतावास भने छैन । दिल्लीमा रहेको न्युजिल्यान्डको दूतावासले नै नेपाल हेर्दै आएको छ ।

Hope IVF
Global IME Updated May 12
Sunrise bank

बिहीबार बिहान उपप्रधान तथा विदेश मन्त्री पिटर्स लुक्ला जाने र फर्केपछि काठमाडौंका विश्व सम्पदा स्थलको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ । पिटर्स बिहीबार साँझ दिल्लीका लागि उड्ने छन् ।

गृहमन्त्रीको राजीनामा माग्दै प्रतिपक्षीले गरे संसद् अवरुद्ध

काठमाडौँ — भिजिट भिसाको आवरणमा मानव तस्करीसम्बन्धी अनुसन्धान निष्पक्ष रूपमा हुने वातावरण निर्माणका लागि गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले संसद् बैठक अवरुद्ध गरेका छन् । भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । विपक्षी दलले भने यस प्रकरणमा उच्चस्तरीय छानबिनको माग पनि गरेका छन् ।

भिजिट भिसा प्रकरणमा मुछिएका सहसचिव तीर्थराज भट्टराईलाई गृहमन्त्रीले रोजेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख अध्यागमन अधिकृत बनाएको, गिरोहसँगको सेटिङमा गृहमन्त्रीकै सचिवालय जोडिएको आरोप लगाउँदै विपक्षी दलहरूले लेखकको राजीनामा माग गरेका हुन् । सत्तापक्षका सांसदले भने कर्मचारीमाथि अनुसन्धान सुरु हुँदैमा मन्त्रीले राजीनामा दिन जरुरी नरहेको तर्क गरेका छन् ।

प्रतिनिधिसभा बैठक मंगलबार बिहान ११ बजे सुरु हुनासाथ माओवादी, रास्वपा, राप्रपा र एकीकृत समाजवादीका सांसदहरूले उठेर विरोध गरेका थिए । त्यसपछि बोल्न समय पाएका प्रमुख प्रतिपक्षी माओवादीका सांसद वर्षमान पुनले भिजिट भिसाका नाममा भएको करोडौंको अवैध असुलीमा गृहमन्त्रीको सचिवालयको प्रत्यक्ष संलग्नता देखिएका सूचना सार्वजनिक भइरहेको उल्लेख गर्दै राजीनामा दिन लेखकलाई सुझाव दिए ।

‘यो कुनै सामान्य भ्रष्टाचारको घटना होइन, वैदेशिक रोजगारीमा जान खोजेका युवा र संगठित मानव तस्करसँग जोडिएको विषय हो । भिजिट भिसामा जानेमध्ये ४० प्रतिशत व्यक्तिसँग पैसा असुल गर्ने गरेको सूचना बाहिरिएको छ र यो राजनीतिक संरक्षणबिना सम्भव छैन,’ उनले भने ।

नेता पुनले यसअघि नै अनियमिततामा जोडिएका सहसचिव तीर्थ भट्टराईलाई ‘मालदार’ भनी चिनिएको अड्डामा गृहमन्त्री लेखकले पठाउनुको कारण पनि सोधेका थिए । ‘के साँच्चै मन्त्रीलाई ती सहसचिव सक्षम, स्वच्छ छन् भनेर हो कि अन्य स्वार्थ थियो ? यो अनुसन्धानको विषय हो,’ उनले भने ।

Hope IVF
Global IME Updated May 12
Sunrise bank

प्रतिपक्षी बेन्चमा हुँदा कांग्रेसको प्रमुख सचेतकको हैसियतले विगतमा लेखकले मन्त्रीहरूमाथि उठाएका प्रश्न स्मरण गराउँदै पुनले भने, ‘अख्तियारले छापा मारेको छ । अख्तियारले पक्राउ गरिएको मान्छे सामान्य हो, सानो माछा हो भनिरहेको छ, ठूलो माछो को हो ? अनुसन्धान गर्ने निकाय गृहमन्त्रीको मातहतमा छन् । गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धानलाई मार्गप्रशस्त गर्नुस् । निष्पक्ष छानबिनको वातावरण नबनाउँदासम्म संसद्को नियमित प्रक्रिया अगाडि बढ्न सक्दैन ।’

रास्वपाका सांसद शिशिर खनालले पनि कांग्रेस प्रतिपक्षमा रहँदा लेखकको भनाइ उद्धृत गरेका थिए । ‘कुनै माननीय मन्त्रीमाथि प्रश्न उठ्यो, राज्यको कुनै सक्षम निकायले अनुसन्धान गर्नॅपर्‍यो भने त्यस्ता माननीय मन्त्री पदमा रहन पाउनु हुन्न । त्यसकारण उहाँले राजीनामा गर्नॅपर्छ,’ तत्कालीन गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै लेखकले विगतमा भनेका थिए । यही प्रसंग निकाल्दै संसद्मा खनालले भने, ‘आज उहाँले कोरेको त्यही लक्ष्मणरेखा, उहाँले स्थापित गरेको त्यही नैतिक धरातलमाथि गम्भीर प्रश्न खडा भएको छ । प्रश्न स्वयं गृहमन्त्रीमाथि उठेको छ । के उहाँले त्यति बेला प्रतिपादन गरेको सिद्धान्त उहाँलाई लागू हुन्छ कि हुँदैन ?’

सांसद खनालले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको सचिवालयमा रहेका कर्मचारी जोडिएको विषयमा अनुसन्धान हुनुपर्नेमा जोड दिए । संगठित अपराध र सम्पत्ति शुद्धीकरणसँग पनि जोडेर छानबिन गर्नॅपर्ने उनको माग थियो । निष्पक्ष छानबिनका लागि गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने उनले जिकिर गरे ।

कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले पनि आफ्नो धारणा राख्न सभामुखबाट समय पाएका थिए । तर प्रतिपक्षी दलहरूले नाराबाजी गरेकाले बैठक अघि बढ्न सकेन । सदन सञ्चालनका लागि राजनीतिक दलका नेताहरूले सभामुख देवराज घिमिरेको कार्यकक्षमा दिनभर छलफल गरे पनि सहमति जुट्न सकेन । कांग्रेसले संसद्मा गृहमन्त्री लेखकले धारणा राख्न पाउनुपर्ने, त्यसपछि संसद् चल्न दिनुपर्ने माग राखेको थियो । तर विपक्षी दलहरूले राजीनामा नगरेसम्म संसद् चल्न नदिने अडान राखे । मत मिल्न नसकेपछि सूचना टाँस गरेर बुधबार ११ बजेसम्मका लागि बैठक स्थगन गरिएको छ ।

आगामी आर्थिक वर्षको बजेट १५ जेठमा ल्याउनैपर्ने संवैधानिक प्रावधान छ । त्यसका लागि वातावरण बनाउने जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीको रहेको विपक्षी दलहरूको भनाइ छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/०८२ को आर्थिक सर्वेेक्षण प्रस्तुत गर्ने कार्यक्रम थियो । बैठक अवरुद्ध भएपछि आर्थिक सर्वेक्षण प्रस्तुत हुन सकेन ।

पूर्वअर्थमन्त्रीसमेत रहेका सांसद पुनले गृहमन्त्री लेखकको राजीनामा र भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनपछि मात्र संसद् चल्ने बताए । ‘उच्चस्तरीय छानबिन समिति गठन र गृहमन्त्रीको राजीनामा विपक्षी दलको बटमलाइन हो । बजेट ल्याउने दिनसम्म विपक्षीका माग पूरा हुनुपर्छ,’ उनले कान्तिपुरसित भने ।

विपक्षी एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले बजेट सहज रूपमा ल्याउने वातावरण सरकारले नै बनाउनुपर्ने बताए । ‘बजेट सहज रूपमा ल्याउन सरकारले नै निकास निकाल्नुपर्छ । प्रधानमन्त्री गम्भीर हुनुपर्‍यो,’ उनले कान्तिपुरसित भने, ‘भिजिट भिसा प्रकरणको छानबिन, अनुसन्धानमा सहयोग पुर्‍याउन, प्रमाण नष्ट नहोस् भनेर गृहमन्त्रीले राजीनामा दिनुपर्छ भनेका हौं । गृहमन्त्रीमाथि पनि छानबिन हुनुपर्छ । छानबिनबाट सफाइ पाएपछि फेरि उहाँ गृहमन्त्री हुन सक्नुहुन्छ ।’

कांग्रेस सांसद उदयशमशेर जबराले बजेटबारे संविधानमा नै व्यवस्था भएकाले प्रतिपक्षी दलहरूले संसद् चल्न दिनुपर्ने बताए । ‘बजेट हामी वा अरू कुनै सांसद वा पार्टीले चाहेर रोकिँदैन । बजेट आउँछ, त्यसमा दुईमत भएन,’ उनले भने ।

एमालेका मुख्य सचेतक महेश बर्तौलाले भने कर्मचारीमाथि अनुसन्धान हुँदा गृहमन्त्रीको राजीनामा माग्नु उपयुक्त नहुने बताए । ‘एउटा कुनै कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिन वा अनुसन्धानको प्रक्रियासँग जोडेर गृहमन्त्रीकै राजीनामा माग्ने र त्यसका लागि संसद् अवरोध गर्ने जे खालको व्यवहार प्रमुख प्रतिपक्षी दलबाट प्रदर्शन भयो, यो असाध्यै असंसदीय, अराजनीतिक प्रक्रियाको पुनरावृत्ति भयो,’ उनले सञ्चारकर्मीसँग भने ।

कांग्रेस सांसद रामहरि खतिवडाले पनि कर्मचारीमाथि अनुसन्धान सुरु भएकै आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने माग उचित नभएको बताए । ‘कर्मचारीमाथि निष्पक्ष छानबिन हुन दिनुपर्छ । गल्ती भए जुनसुकै तहको मान्छे पनि कारबाहीको दायरामा आउनुपर्छ । तर कसैमाथि अनुसन्धान गर्दैमा गृहमन्त्रीले नै राजीनामा दिनुपर्छ भन्नु पूर्वाग्रह हुन्छ,’ सञ्चारकर्मीसँग उनले भने, ‘मातहतका कर्मचारीमाथि उजुरी पर्दैमा मन्त्रीहरूले राजीनामा दिँदै जाने ?’

अध्यागमनमा निरन्तर ‘सेटिङ’ : अनुसन्धान रोकिन्छ, असुली रोकिँदैन

Highlights

  • प्रहरीको अनुसन्धानका आधारमा डेढ वर्षअघि १० माघ २०८० मा विमानस्थल अध्यागमनका ९ अधिकृतसहित २२ जनाविरुद्ध संगठित अपराध र किर्ते अभियोगमा मुद्दा दायर गरिएको थियो, एक वर्षपछि १४ मंसिर २०८१ मा जिल्ला न्यायाधीश रामप्रसाद शर्माको इजलासले बिचौलिया र ट्राभल एजेन्सी सञ्चालकलाई मात्रै दोषी ठहर गरेको थियो

काठमाडौँ — भिजिट भिसामा विदेश जाने सर्वसाधारण नेपालीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका अधिकारीहरूले पैसा असुल्ने धन्दा लामो समयदेखि चल्दै आएको छ । अहिले अनुसन्धानको दायरामा तानिएका गृह मन्त्रालयका अधिकारीहरूविरुद्ध डेढ वर्षअघि पनि मुद्दा चलेको थियो ।

सफाइ पाएर पुरानै गतिविधिमा सक्रिय भएको पाइएपछि उनीहरूमाथि अख्तियारले अनुसन्धान अघि बढाएको हो ।

प्रहरीको अनुसन्धानका आधारमा १० माघ २०८० मा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले विमानस्थल अध्यागमनका ९ अधिकृतसहित २२ जनाविरुद्ध संगठित अपराध र किर्ते अभियोगमा मुद्दा दायर गरेको थियो । मुद्दा दायरअघि नरवीर खड्काबाहेक आठ अध्यागमन अधिकृत फरार थिए । मुद्दा दायरका बेला पनि उनीहरूलाई फरार सूचीमै राखिएकामा पछि अदालतमा उपस्थित भएर धरौटीमा छुटेका थिए । एक वर्षपछि, १४ मंसिर २०८१ मा जिल्ला न्यायाधीश रामप्रसाद शर्माको इजलासले प्रहरीसमक्ष संगठित गिरोहबाट नौ जना अधिकृतलाई सफाइ दिएर बिचौलिया र ट्राभल एजेन्सी सञ्चालकलाई दोषी ठहर गरेको थियो ।

१४ कात्तिक २०८० मा भिजिट भिसामा कुवेत उड्न लागेका कौशिला मगर र लक्ष्मी राईलाई विमानस्थल प्रहरीले नियन्त्रणमा लिएर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पठाएको थियो ।

अनुसन्धानका क्रममा बिचौलिया भूमिकामा रहेका गीता शाह र अरुण दाहालसहितको समूहको ‘सेटिङ’ मा श्रम स्वीकृति, पुलिस रिपोर्टलगायत नक्कली कागजात बनाइएको तथ्य खुल्यो । महिलाबाट ५० हजार रुपैयाँ लिएर भिजिट भिसामा खाडीलगायतका मुलुकमा पठाउने गरेको र ‘सेटिङ’ मा अध्यागमनका कर्मचारी पनि संलग्न रहेको तथ्य खुलेको थियो ।

Hope IVF
Global IME Updated May 12
Sunrise bank

एक महिनापछि, १७ मंसिरमा शाह र दाहाल पक्राउ परेका थिए । त्यस्तै भोलिपल्ट १८ मंसिरमा ट्राभल एजेन्सी सञ्चालक सरोजकुमार यादव पक्राउ परेका थिए । २६ मंसिरमा अध्यागमन अधिकृत नरवीर खड्का २ लाखसहित सिनामंगलको एक होटलबाट पक्राउ परेका थिए ।

२७ मंसिरमा ट्राभल एजेन्सी सञ्चालक/कर्मचारी पदम लामा र मनोज तामाङ, पुस ५ मा विनोद कार्की समातिए । यसरी एकपछि अर्को तथ्य खुल्दै जाँदा नौ अधिकृतसहित २२ जना तानिएका थिए । यसमध्ये अधिकृत नरवीर खड्का अनुसन्धानका क्रममा पक्राउ परे भने ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पीताम्बर रिमाल र सुजन फागो फरार थिए ।

त्यस क्रममा बिचौलियाको भूमिकामा रहेकी शाहले नक्कली पुलिस रिपोर्ट र श्रम स्वीकृति बनाएर दाहाललाई दिएको, दाहालले ती कागजात ट्राभलका सरोज यादवलाई बुझाएको र यादवले अध्यागमन अधिकृत खड्कालाई त्यसरी जानेको सूची दिएपछि सोहीअनुसार ‘सेटिङ’ मा अध्यागमनबाटै भिजिट भिसाको लाइन खुलाउने गरेको पाइएको थियो ।

अध्यागमनका अधिकृत खड्काले अध्यागमनमा कसरी ‘सेटिङ’ चल्छ र रकम कसरी असुलिन्छ भन्ने रहस्य प्रहरी बयानमा खुलाएका थिए । ‘सरोज यादवलगायतसँग २०८० असारदेखि मिलेमतो गरी पुरुषको प्रतिव्यक्ति १० देखि १५ हजार र महिलाको ४० हजारदेखि ५० हजारसम्म लिई एक पटकमा १० देखि २० जना, कहिले १ सयदेखि १ सय ५० जनासम्मको रकम भिजिट भिसामा सेटिङ मिलाउने एजेन्टमार्फत लिने गरेको’ खड्काले प्रहरीसमक्ष स्वीकार गरेका थिए । खड्काले हस्ताक्षर गरेको बयान कागजसहित खुलेका तथ्य र प्रमाण अभियोगपत्रमा समेटिएको थियो ।

अनुसन्धानका क्रममा खड्काले अरू आठ जना अधिकृत पनि यसैगरी ‘सेटिङ’ मा काम गर्ने गरेको बयान दिएका थिए । आफूसहित नौ जना अधिकृतले त्यसबेला अध्यागमन डेस्कमा ‘भिजिट भिसा सहजीकरण समिति’ बनाएर रकम असुल्ने गरेको तथ्य पनि खड्काले स्विकारेका थिए । यसरी सहजीकरण गरिदिएबापत दैनिक औसतमा एक कर्मचारीको भागमा ५० हजार रुपैयाँसम्म हात लाग्ने गरेको उनले खुलाएका थिए ।

सहजीकरण गरिदिएबापत आफूले मनोज तामाङबाट २ लाख रुपैयाँ लिएको बयान उनैले दिएका थिए । पक्राउ परेका ट्राभल एजेन्सी सञ्चालक यादवले पनि अध्यागमनका कर्मचारीले मागेको रकम दिने गरी ‘सेटिङ’ मिलाइएको स्विकारेका थिए । यसरी मानिस पठाउँदा सबैको भाग कटाएर बिचौलियाले प्रतिव्यक्ति ४ हजार कमिसन खाने गरेको तथ्य पनि त्यही बेला खुलेको थियो ।

खड्काले पोलेका आठसहित संलग्न २२ विरुद्ध नै मुद्दा अदालत पुगेको थियो । तर, पछि खड्काले अदालतमा इन्कारी बयान दिए, अदालतले त्यही बयानका आधारमा प्रतिवादी कर्मचारीलाई सफाइ दिएको थियो । उनले बयान फेर्दै ‘गिरोहका सदस्यबाट २ लाख सापटी लिएको’ दाबी गरेका थिए । त्यसैका आधारमा उनले सफाइ पाए ।

ट्राभल एजेन्सी सञ्चालक मनोज तामाङले बयानमा अध्यागमनका अर्का अधिकृत तारा कुँवरलाई २० लाख जति रकम बुझाएको उल्लेख गरेका छन् । कुँवर सरुवा भएर गएपछि नरवीर त्यो जिम्मेवारीमा आएका र उनीमार्फत भिजिट भिसामा ३ सय जना पठाएको तामाङको बयानमा उल्लेख छ । ३ सय व्यक्ति पठाउँदा १ करोड रुपैयाँ कुँवरलाई नै बुझाएको पनि ट्राभल एजेन्सी सञ्चालक तामाङले खुलाएका छन् ।

काठमाडौं अदालतबाट सफाइ पाएलगत्तै त्यसमध्येका एक बिमल पौडेल गृहमन्त्री रमेश लेखकको सचिवालयमा सरुवा भएका थिए । गत बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थल अध्यागमन प्रमुख तीर्थराज भट्टराई र गिरोहको ‘सेटिङ’ मा काम गर्ने तीन जनालाई नियन्त्रणमा लिएपछि यसअघि अदालतबाट सफाइ पाएका कर्मचारीमाथि पनि अनुसन्धान अघि बढेको छ । पौडेलसहित विगतमा मुद्दा खेपेका र अहिले ‘सन्दिग्ध भूमिका’ मा देखिएका आरोपित कर्मचारीकै मिलेमतोमा पछिल्लो तस्करी ‘सेटिङ’ चलेको आरोपमा अख्तियारले अनुसन्धान थालेको हो ।

लुम्बिनीमा आजदेखि प्रि–बजेट छलफल सुरु हुँदै

दाङ — लुम्बिनी प्रदेश सभा छैटौँ अधिवेशनको दसौँ बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।

बैठकमा आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित ‘प्रदेश विनियोजन विधेयक, २०८२’ का सिद्धान्त र प्राथमिकताहरू सम्बन्धी प्रि–बजेट छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।

सो छलफल अन्तर्गत प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि तय गर्न लागेको बजेटको प्राथमिकता, नीति तथा कार्यक्रमका आधारहरूबारे विचार विमर्श गरिनेछ ।

यसअघिको बैठकमा प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए ।

प्रदेश सभाका सदस्यहरूले आजबाट उक्त प्रस्तावमाथि आ–आफ्ना सुझाव र धारणा राख्ने अवसर पाउनेछन् । प्रदेश सरकारले आगामी बजेटमा सामाजिक क्षेत्रको सुदृढीकरण, कृषि र पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास, रोजगारी सृजना, शिक्षा तथा स्वास्थ्यमा लगानी, जलवायु परिवर्तनको सामना तथा समावेशी विकासजस्ता विषयलाई प्राथमिकता दिने तयारी गरेको छ ।

आजको सम्भावित मौसम : मेघगर्जन र चट्याङसहित हल्का वर्षा

काठमाडौँ — हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफादेखि आंशिक बदली रहने छ । देशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति मधेस, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफादेखि आंशिक बदली रहने छ । मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागका केही स्थान र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्चपहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

थाहा बस दुर्घटना : घाइते थप एकको मृत्यु, मृतकको संख्या ३ जना पुग्यो

Highlights

  • तीन जना घाइते

हेटौंडा — त्रिभुवन राजपथको थाहा नगरपालिका–३ मा भएको बस दुर्घटनामा थप एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सिराहा औराही नगरपालिका ३३ वर्ष रघुनन्दन यादव रहेका छन् । उनको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचारको क्रममा सोमबार राति मृत्यु भएको हो ।

उनको मृत्यु भएसँगै बस ब्रेक फेल भएर मृत्यु हुनेको संख्या तीन पुगेको छ । तीन जना घाइते भएका छन् । एक घाइतेको काठमाडौंमा उपचार भइरहेको छ । दुई जनाको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बसको टक्करबाट मृत्यु हुनेमा थाहा नगरपालिका—९ का ३४ वर्षीय कृष्ण बलामी, सप्तरी विष्णुपुर—५ लोकेन्द्रकुमार ठाकुर र सिराहा औराही नगरपालिकाका ३३ वर्ष रघुनन्दन यादव रहेका छन् । ठाकुर र यादव थाहा नगरपालिका झम्केश्वरी माविका शिक्षक हुन् । बलामी र ठाकुरको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचारका क्रममा मृत्यु भएको थियो ।

घाइते कमलेश कुमार साहको काठमाडौंमा उपचार भइरहेको छ । बारा जितपुर सिमराका ३२ वर्षीय छेयाङ दोर्ज लामा र बारा कोल्बिका ३० वर्षीय रामगुलाम चौधरी घाइते भएका छन् । चौधरी र लामाको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचार भइरहेको छ । मृतक तीन जना र घाइते तीन जना पैदलयात्री हुन् ।

थाहा नगरपालिका—३ शिखरकोट बजारबाट थानाबजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नम्बरको बसको ब्रेक फेल हुँदा सडकमा हिँडिरहेका ६ जनालाई ठक्कर दिई थाहा नगरपालिकाको उप–मेयर भरत गोपालीको घरभित्र बस पसेको थियो । बस चालक मकवानपुर थाहा नगरपालिका—५ बसन्त २९ वर्षीय राजेश कार्की प्रहरी नियन्त्रणमा रहेका छन् ।

यस वर्ष पनि गण्डकीको आर्थिक वृद्धिदर उच्च

Highlights

  • गण्डकी प्रदेशको सबैभन्दा बढी आर्थिक वृद्धिदर ४.६१ प्रतिशत, सुदूरपश्चिमको सबैभन्दा कम ३.३२ प्रतिशत
  • बढ्दो सहरीकरण र जनसंख्या, ठूला व्यापारिक कारोबार आदिका कारण बागमतीमा थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान सबैभन्दा बढी छ : ढुण्डीराज लामिछाने प्रवक्ता, राष्ट्रिय तथ्यांक कार्यालय

काठमाडौँ — नेपालका सात प्रदेशमध्ये आर्थिक वृद्धिदरका हिसाबले सबैभन्दा अगाडि गण्डकी देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको प्रादेशिक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) प्रतिवेदनले चालु आर्थिक वर्षमा आधारभूत मूल्यमा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा धेरै ४.६१ प्रतिशत रहने प्रारम्भिक अनुमान गरेको हो । उपभोक्ता मूल्यमा भने यस प्रदेशको आर्थिक वृद्धिदर ५.५१ प्रतिशत हुने अनुमान छ ।

चालु आर्थिक वर्षमा गण्डकीपछि धेरै आर्थिक वृद्धिदर हुने प्रदेश बागमती छ । यस वर्ष आधारभूत मूल्यमा यस प्रदेशको आर्थिक वृद्धिदर ५.१८ प्रतिशत हुने देखिएको छ ।

प्रतिवेदनअनुसार चालु आर्थिक वर्षमा आधारभूत मूल्यमा कोशीको आर्थिक वृद्धिदर ३.३४, मधेशको ४.५०, लुम्बिनीको ४.७०, कर्णालीको ४.७४ र सुदूरपश्चिमको ३.३२ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । चालु आर्थिक वर्षको ९ महिना (गत चैत) सम्मको वास्तविक तथ्यांक र आगामी तीन महिना (वैशाखदेखि असारसम्म) को अनुमानित तथ्यांकका आधारमा कार्यालयले प्रादेशिक लेखा तथ्यांक सार्वजनिक गरेको हो ।

यस आर्थिक वर्षको अन्त्यसम्म अर्थतन्त्रको आकार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ६१ खर्ब ७ अर्ब पुग्ने प्रारम्भिक अनुमान छ । गत वर्षको तुलनामा यस वर्ष जीडीपीको आकार करिब ४ खर्ब रुपैयाँले बढ्ने अनुमान छ । गत वर्ष जीडीपीको आकार ५७ खर्ब ४ अर्ब रुपैयाँ कायम रहनेछ ।

यस वर्षको कुल जीडीपीमध्ये सबैभन्दा धेरै बागमतीले ३६.५२ र सबैभन्दा कम कर्णालीले ४.१९ प्रतिशत योगदान पुर्‍याउने कार्यालयको अनुमान छ । राष्ट्रिय जीडीपीमा कोशीको हिस्सा १५.९०, लुम्बिनीको १४.२३, मधेशको १३.१६, गण्डकीको ८.९८ र सुदूरपश्चिम प्रदेशको हिस्सा ७.०३ प्रतिशत छ । ‘गत आर्थिक वर्ष २०८०/८१ को संशोधित अनुमानबमोजिम जीडीपीमा प्रादेशिक योगदान सीमान्त रूपमा मात्र परिवर्तन भएको छ,’ कार्यालयको प्रतिवेदनमा भनिएको छ, ‘गत वर्षको तुलनामा जीडीपीमा कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिको योगदान सीमान्त रूपमा घटेको छ भने मधेश र बागमतीको योगदान सीमान्त रूपमा बढेको छ । यस आर्थिक वर्षमा बागमतीको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब २२ खर्ब ३० अर्ब हुने अनुमान छ भने गत आर्थिक वर्षको संशोधित अनुमान करिब २० खर्ब ६९ अर्ब छ ।’

Hope IVF
Global IME Updated May 12
Sunrise bank

गत आर्थिक वर्षमा राष्ट्रिय तहमा कुल गार्हस्थ्य उत्पादनको ३६.२० प्रतिशत हिस्सा ओगटेको यस प्रदेशले चालु वर्षमा ३६.५२ प्रतिशत योगदान पुर्‍याउने अनुमान छ । ‘गत आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर ३.७० प्रतिशत थियो भने यस वर्ष विस्तार भई ५.१८ प्रतिशत कायम रहने अनुमान छ,’ प्रतिवेदनमा भनिएको छ, ‘कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान २२.५५ प्रतिशत कृषि क्षेत्रको छ भने सबैभन्दा कम ०.२७ प्रतिशत योगदान आपूर्ति, ढल, फोहोर व्यवस्थापन क्षेत्रको रहने प्रारम्भिक अनुमान छ ।’

प्रदेशमध्ये बागमती सबैभन्दा धनी रहेको राष्ट्रिय तथ्यांक कार्यालयको प्रतिवेदनले देखाएको छ । प्रतिवेदनका अनुसार बागमतीको प्रतिव्यक्ति जीडीपी २ हजार ६ सय २ अमेरिकी डलर छ । दोस्रो धनी प्रदेश गण्डकी हो । यस प्रदेशको प्रतिव्यक्ति जीडीपी १ हजार ६ सय १९ डलर छ । कोशीको प्रतिव्यक्ति जीडीपी १ हजार ४ सय १ अमेरिकी डलर, लुम्बिनीको १ हजार २ सय १ डलर, सुदूरपश्चिमको १ हजार १ सय ५३ डलर, कर्णालीको १ हजार ८९ डलर र मधेशको प्रतिव्यक्ति जीडीपी ९ सय ३२ डलर छ । यसअनुसार समग्र नेपालको प्रतिव्यक्ति जीडीपी १ हजार ४ सय ३४ अमेरिकी डलर छ ।

यस वर्ष नेपालीको प्रतिव्यक्ति आय १ हजार ५ सय १७ अमेरिकी डलर पुग्ने कार्यालयको अनुमान छ । गत आर्थिक वर्ष प्रतिव्यक्ति राष्ट्रिय कुल आय १ हजार ४ सय ६७ डलर रहने संशोधित अनुमान छ । आर्थिक वर्ष २०७९/८० मा प्रतिव्यक्ति आय १ हजार ४ सय १० अमेरिकी डलर रहेको कार्यालयले जनाएको छ ।

औद्योगिक वर्गीकरणअनुसार आर्थिक क्रियाकलाप हेर्दा गत आर्थिक वर्ष र यस आर्थिक वर्षमा बागमतीबाहेक सबै प्रदेशमा कृषि क्षेत्रको योगदान सबैभन्दा बढी छ । तर बागमतीमा थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान सबैभन्दा बढी देखिन्छ । यसो हुनुमा बागमतीमा बढ्दो सहरीकरण, बढ्दो जनसंख्या, राष्ट्रिय तहका ठूला व्यापारिक कारोबार आदि कारण रहेको राष्ट्रिय तथ्यांक कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेले जनाए ।

‘राष्ट्रिय तहमा दोस्रो हिस्सा ओगटेको व्यापार क्षेत्र कोशी तथा मधेशमा पनि दोस्रो हिस्सामै कायम छ भने बागमतीमा घरजग्गासम्बन्धी कारोबार तथा आफ्नै आवास सेवाको हिस्सा दोस्रो छ,’ भट्टराईले भने, ‘गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सार्वजनिक प्रशासन र रक्षा क्षेत्रको योगदान दोस्रो स्थानमा देखिन्छ । बागमती, मधेश र कर्णालीबाहेक सबै प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा प्रशासनिक सहयोगी सेवा क्रियाकलापको योगदान सबैभन्दा न्यून छ ।’

अर्थतन्त्रका सबै क्षेत्रमा सकारात्मक वृद्धि भए पनि चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर लक्ष्यभन्दा कम हुने भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको वार्षिक राष्ट्रिय लेखा अनुमान प्रतिवेदनले आर्थिक वर्ष २०८१/८२ मा आधारभूत मूल्यमा मुलुकको आर्थिक वृद्धिदर ३.९९ प्रतिशत हुने प्रारम्भिक अनुमान गरेको छ । चालु आर्थिक वर्षमा सरकारले ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य तोकेको छ ।

गत आर्थिक वर्षमा ऋणात्मक वृद्धिदर रहेका उद्योग, निर्माण, व्यापार क्षेत्रमा यस वर्ष सकारात्मक वृद्धि रहे पनि मुलुकको समग्र आर्थिक वृद्धिदर करिब ४ प्रतिशत हाराहारीमा मात्र हुने कार्यालयले बताएको छ ।

गत आर्थिक वर्षमा आधारभूत मूल्यमा नेपालको आर्थिक वृद्धिदर ३.५४ प्रतिशत हुने प्ररम्भिक अनुमान रहेकामा त्यसमा संशोधन भएर ३.३६ प्रतिशत कायम भएको जनाइएको छ । कार्यालयको यो प्रक्षेपण यस वर्षका लागि सरकार र दातृ निकाय विश्व बैंक, एसियाली विकास बैंकलगायतले प्रक्षेपण गरेभन्दा कम हो । सन् २०२५ का लागि विश्व बैंकले ४.५ र एडीबीले ४.४ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरिसकेका छन् ।

उपभोक्ता मूल्यमा भने यस वर्ष नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने कार्यालयको अनुमान छ । उपभोक्ताको मूल्यमा गत आर्थिक वर्ष २०८०/८१ मा आर्थिक वृद्धिदर ३.६७ प्रतिशत हुने कार्यालयको संशोधित अनुमान छ ।

३ अर्बभन्दा बढीको रक्तचन्दन अलपत्र

Highlights

  • २ लाख ६७ हजार ९६१ केजी रक्तचन्दन वन विभागका विभिन्न शाखामा मक्किँदै

काठमाडौँ — विभिन्न समयमा तस्करबाट जफत गरिएका तथा बेवारिसे फेला परेका २ लाख ११ हजार ५४ केजी रक्तचन्दन अलपत्र अवस्थामा छन् । वन अधिकारीका अनुसार अनुमानित बजार मूल्य प्रतिकेजी करिब १५ हजार ४ सय १० रुपैयाँका हिसाबले करिब ३ अर्ब २५ करोड २३ लाख ४२ हजार १ सय ४० पर्ने रक्तचन्दनका ती काठ वन तथा भू–संरक्षण विभागका देशभरका विभिन्न शाखा अलपत्र छन् ।

दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार (साइटिस) महासन्धिअनुसार ओसारपसार र बेचबिखनमा प्रतिबन्धित रक्तचन्दन बरामद भएमा सम्बन्धित मुलुकलाई नै फिर्ता गर्नुपर्ने हुन्छ । बरामद रक्तचन्दनमध्ये अदालती प्रक्रियाबाट अन्तिम किनारा लागिसकेका करिब १ लाख ६८ हजार ५ सय ७२ केजी रक्तचन्दन भारत नै पठाउने पहल विभागले अघि बढाएको छ । यसअघि विभिन्न समयमा गरी ३६ हजार ९ सय २८ किलो रक्तचन्दनको काठ भारतलाई बुझाइएको छ ।

विभिन्न मितिमा बरामद गरिएका मध्ये कुल १९ हजार ३ सय २४ केजी काठ भने हराएको विभागको दाबी छ । विभागले उपलब्ध गराएको तथ्यांकअनुसार करिब ६ सय ५५ केजी काठ अन्तिम संस्कारका लागि पनि प्रयोग गरिएका छन् । तीमध्ये काठमाडौंमा ६ सय १९ केजी काठ अन्तिम संस्कारका लागि प्रयोग गरिएको छ भने नवलपरासीमा ११ केजी र सिन्धुपाल्चोकमा २४ केजी प्रयोग गरिएको छ ।

विभागका अनुसार हाल मुद्दा कारबाहीमा रहेको रक्तचन्दनको परिमाण १६ हजार ४ सय ८७ केजी, अदालतबाट फैसला भइसकेको १ लाख ८९ हजार ३ सय ७६ केजी, अदालती प्रक्रियामा रहेको २ लाख ५ हजार ८ सय ६३ केजी, बेवारिसे अवस्थामा रहेको ६२ हजार ९७ केजी छ भने अदालती प्रक्रियामा तथा बेवारिसे रक्तचन्दको परिमाण २ लाख ६७ हजार ९ सय ६१ केजी छ ।

चितवन, सर्लाही, दोलखा, झापा, नवलपारसी, ताप्लेजुङ, कपिलवस्तु, धादिङ, तेह्रथुम, रसुवा, रूपन्देही, बझाङ, काभ्रेपलाञ्चोक, भक्तपुर, सिन्धुपाल्चोक, ललितपुर, काठमाडौं, गोरखा, संखुवासभा, सप्तरीलगायत जिल्लामा यसको कारोबार बढी हुने गरेको देखिएको छ ।

Hope IVF
Global IME Updated May 12
Sunrise bank

प्रहरी प्रधान कार्यालय नक्सालको तथ्यांकअनुसार नेपालमा पछिल्लो ५ वर्षमा ११ सय ६ किलो रक्तचन्दन बरामद भएको छ, जसको मूल्य १ करोड ७० लाख ४४ हजार २ सय ४८ रुपैयाँ पर्छ ।

प्रहरीका अनुसार २०७७ मा ३ लाख ३८ हजार ९५१ रुपैयाँ बराबरको २२.६६ केजी रक्तचन्दन ललितपुरबाट बरामद भएको

थियो । २०७८ र २०७९ मा भने रक्तचन्दन तस्करी प्रहरीले फेला पारेको थिएन । २०८० मा मात्र १ करोड ६ लाख ३ हजार रुपैयाँ बराबरको ६५३.१५ केजी रक्तचन्दन बरामद भएको थियो ।

गत वर्ष २०८१ मा ६६ लाख ३९ हजार ९८६ रुपैयाँ बराबरको ४ सय ३१ किलो रक्तचन्दन बरामद भएको छ । रक्तचन्दन तस्करीमा संलग्न भएको आरोपमा प्रहरीले २०७७ मा ४ जनालाई व्यक्ति पक्राउ गरेकोमा २०८० मा ८ जना पक्राउ परेका थिए । २०८१ मा २ जना पक्राउ परे । गत वर्ष १ माघमा पेप्सीकोलाबाट उपत्यका अपराध अनुसन्धान कार्यालयले ४ क्विन्टल ३१ केजी रक्तचन्दन बरामद गरेको थियो । अन्दाजी बजार मूल्य ६६ लाख ३९ हजार, ९८६ रुपैयाँ पर्ने उक्त रक्तचन्दन एकै पटक बरामद भएको थियो ।

प्रहरी प्रवक्ता रमेश थापाका अनुसार रक्तचन्दनको मूल्य महँगो हुने भएकाले छिटो पैसा कमाउने प्रलोभनमा यसको तस्करी हुने गरेको हो । ‘मुख्यतः नेपालको खुल्ला सिमानाका कारण सजिलै बिभिन्न राजमार्ग हुँदै रक्तचन्दन भारतबाट तस्कर गरी चीन लगिने गरेको देखिन्छ,’ उनी भन्छन् ।

वन तथा संरक्षण विभागकी अधिकृत सबनम पाठकका अनुसार तस्कर गरिएको रक्तचन्दन जुन देशबाट आयो त्यही देशमा फिर्ता पठाउनुपर्ने नियम छ । भारतबाट तस्करी गरेर नेपाल ल्याइएका ठूलो परिमाणका काठको मुद्दा किनारा लागिसकेको अवस्थामा भारतलाई फिर्ता पठाउन स्वीकृत दिँदा पनि लगेको छैन ।

‘क्याबिनेट बैठकले स्वीकृति दिएपछि निर्णय भएको मितिबाट ९० दिनभित्र रक्तचन्दन लैजान मिल्छ तर भारतले ३ पटक म्याद कटिसक्यो, लगेको छैन,’ उनी भन्छिन् । खासगरी, रक्तचन्दन विश्वका महँगा काठमध्ये एक मानिन्छ । भारतका राज्यहरू आन्ध्रप्रदेश, तमिलनाडु, कर्नाटक र तेलंगामा रक्तचन्दन उल्लेख्य मात्रामा पाइन्छ ।

कामीरिता शेर्पा ३१ औं पटक सगरमाथामा

काठमाडौँ — नेपालका कामीरिता शेर्पाले आफ्नो रेकर्ड ब्रेक गर्दै मंगलबार बिहान ३१ औं पटक सगरमाथा आरोहण गरेका छन् । यो उनको विश्व रेकर्ड हो ।

गत वर्ष कामीरिताले ०८१ वैशाख ३० गते २९ औं पटक अनि दस दिनपछि ०८१ जेठ ९ गते ३० औं पटक आरोहण गर्दै सगरमाथामा सबैभन्दा धेरै पटक पाइला राख्ने संसारकै एक्लो आरोहीको विश्व कीर्तिमान कायम गरेका थिए ।

‘एभरेष्ट म्यानले फेरि गर्‍यो चमत्कार ! ३१ औं पटक सगरमाथा आरोहण,’ सेभेन समिट ट्रेक्सका सञ्चालक छाङ दावा शेर्पाले फेसबुकमा लेखेका छन्, ‘इतिहासमै सबैभन्दा धेरै पटक सगरमाथा आरोहणको कीर्तिमानी ५५ वर्षीय कामीरिता शेर्पालाई ३१ औं पटकको सफल आरोहणका लागि बधाई । सेभेन समिटसँगको यात्रामा ।’ कामीरिताले मंगलबार बिहान ४ बजे सगरमाथा आरोहण गरेका थिए । उनी २२ जना भारतीय सैनिकहरूको आरोहण दलको मुख्य गाइडका रूपमा सगरमाथा आरोहण गर्न गएका थिए । उनी भोली बिहानसम्म ५२ सय मिटर उचाइको सगरमाथा आधार शिविरसम्म फर्किने छन् । त्यहाँबाट हेलिकोप्टर उडानबाट काठमाडौं फर्किने तालिका छ ।

दुई सन्तान र पत्नीसहित काठमाडौंमा बस्दै आएका कामीरिता १२ वर्षको उमेरदेखि हिमाल आरोहण क्षेत्रमा लागेका थिए । सोलुखुम्बुको थामेका कामीरिताले २४ वर्षको उमेरमा २०५१ सालमा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए ।

त्यसयता उनी सगरमाथा केटू, मनास्लु, ल्होत्से लगायतका ८ हजार अग्ला हिमालहरू ४५ पटक उक्लिसकेका छन् । उनले एकै सिजनमा दोहोर्‍याएर पाँच पटक सगरमाथा आरोहण गरिसकेका छन् ।

Hope IVF
Global IME Updated May 12
Sunrise bank

उनीपछि सर्वाधिक सगरमाथा आरोहण गर्ने अर्का आरोही खुम्बु पाङबोचेका पासाङ दावा (पादावा) शेर्पा छन् । उनले २७ पटकसम्म सगरमाथा आरोहण गरेका छन् ।

कागजात ‘शंकास्पद’ भएपछि बिमा प्राधिकरण अध्यक्ष ओझा अख्तियारको छानबिनमा

Highlights

  • विदेशमा पीएचडी पढ्न जान भनी विभिन्न संस्थाबाट सिफारिस पत्र बनाएर बिमा प्राधिकरणमा नियुक्तिका लागि प्रयोग गरेको आरोप
  • अर्थ मन्त्रालयमा ओझाले नियुक्तिका लागि पेस गरेका कागजात अख्तियारले झिकाएको छ

काठमाडौँ — तीन महिनाअघि मात्र नेपाल बिमा प्राधिकरणको अध्यक्ष नियुक्त भएका शरद ओझाको योग्यता र अनुभवसम्बन्धी कागजात शंकास्पद देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ । दोहोरो परीक्षण नगरी उनले पेस गरेका कागजातकै आधारमा नियुक्ति गरिएको भन्दै अख्तियारले अर्थ मन्त्रालयबाट कागजात झिकाएको छ ।

ओझा १२ फागुन २०८१ को मन्त्रिपरिषद् बैठकबाट ४ वर्षका लागि प्राधिकरणको अध्यक्षमा नियुक्त भएका हुन् । ‘उनलाई नियुक्ति गर्दाका कागजात अनुसन्धानका लागि पेस गर्न अख्तियारबाट विभिन्न मितिमा पत्र आएको छ,’ अर्थका एक अधिकारी भन्छन्, ‘नियुक्ति पत्र, ओझाले पेस गरेका कागजात, विभिन्न संस्थाहरूबाट प्राप्त सिफारिस पत्रसहितका विवरण अख्तियारलाई बुझाएका छौं ।’

ओझाको नियुक्ति गैरकानुनी भन्दै बदरको मागसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ मन्त्रालय, सिफारिस समिति र ओझालाई विपक्षी बनाई गत १७ चैतमा इन्दिरा धमलाका तर्फबाट सर्वोच्च अदालतमा समेत रिट दायर भएको थियो । त्यसको तीन दिनपछि २० चैतमा न्यायाधीश नहकुल सुवेदीको इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारीसहित दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । पछिल्लो पटक ५ जेठ २०८२ मा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले ओझालाई अध्यक्षमा नियुक्ति गर्नुका आधारसम्बन्धी कागजात पेस गर्न आदेश दिएको छ ।

अख्तियारमा पनि ओझाको नियुक्तिविरुद्ध उजुरी परेको थियो । त्यसपछि प्रारम्भिक छानबिनमा ओझाले पेस गरेका कागजातमा कैफियत देखिएपछि अख्तियारले विस्तृत अनुसन्धान अघि बढाएको हो ।

विभिन्न कार्यालय/कम्पनीमा काम गरेको भनी पेस गरिएका कागजातको वैधताबारे अख्तियारले सम्बन्धित कार्यालय/कम्पनीलाई पनि ‘यसबारे खुलाइदिन’ पत्र पठाइसकेको छ । ‘पत्र पठाइएकामा सम्बन्धित कार्यालय/कम्पनीबाट पनि विवरण आउने क्रम जारी छ, यसमाथि विस्तृत रूपमा अनुसन्धान भइरहेको छ,’ अख्तियारका अधिकारी बताउँछन् ।

Hope IVF
Global IME Updated May 12
Sunrise bank

‘उनका नाममा योग्यता तथा अनुभवसम्बन्धी कागजात बनाइदिने निकायका प्रतिनिधिसमेतलाई बोलाएर सोधपुछ गरिसकिएको छ,’ अख्तियारका एक अधिकारी भन्छन्, ‘ती संस्थाका प्रतिनिधिहरूले ओझाले विदेशमा पीएचडी अध्ययनका लागि सिफारिस चाहिएको भन्दै आग्रह गरेपछि बनाइदिएको जानकारी दिएका छन् । तर धेरैजसो संस्थामा काम भने नगरेको देखिन्छ ।’

उनले सामरिक तथा सुरक्षा सामग्री खरिद गर्ने विदेशी कम्पनीको स्थानीय एजेन्टका रूपमा समेत काम गर्ने ट्रिनिटी एक्जिम प्रालिमा १८ अक्टोबर २०१९ देखि १६ नोभेम्बर २०२१ सम्म सिनियर म्यानेजर, नेपाल सरकार मातहतको लगानी बोर्डमा १५ जनवरी २०२४ देखि २३ मे २०२४ सम्म ‘पार्टटाइम’ कन्सल्टेन्ट, नेपाल उद्योग परिसंघ (सीएनआई) मा ११ मे २०२४ देखि पोलिसी एक्सपर्टका रूपमा, नेपाल उद्योग वाणिज्य महासंघमा काम गरेको पनि अनुभव पेस गरेका छन् ।

अख्तियारले आफ्नो योग्यताको प्रमाणपत्र छानबिन गरिरहेको सम्बन्धमा जानकारी नभएको अध्यक्ष ओझाले बताए ।

‘आजका दिनसम्म मलाई कुनै जानकारी छैन । प्राधिकरणको अध्यक्षको प्रतिस्पर्धामा रहँदा मेरो योग्यता र अनुभवका कागजात मात्र पेस गरेको छु । कुनै संस्था वा निकायमा पूर्णकालीन रूपमा काम गरेको छु भने केहीमा परामर्शदाताका रूपमा अल्पकालीन रूपमा काम गरेको छु । जहाँ जे जति काम गरेको छु सोही अनुसारकै कागजात पेस गरेको छु,’ उनले भने । उनले वरुण बेभरेज प्रालिमा फेब्रुअरी २०१६ देखि जुनसम्म ४ महिना उपभोक्ता अधिकृत (कन्जुमर एक्जिक्युटिभ) भएर काम गरेको पनि पेस गरेका छन् ।

ओझाले नेपाल एकेडेमी अफ टुरिज्म एन्ड होटल म्यानेजमेन्ट (नाथम कलेज) मा जनवरी २०१७ देखि नियुक्ति हुँदाका बखत (२०२५) सम्म रिसोर्स फ्याकल्टीमा तथा डिसेम्बर २०२२ देखि २०२४ सम्म एसएआईएम (सायम) कलेजमा अध्यापन गराएको अनुभवसहितको कागजात पेस गरेको देखिन्छ ।

उनले चाणक्य मिडिया प्रालिमा १६ डिसेम्बर २०२१ देखि २२ जनवरी २०२५ सम्म सिनियर म्यानेजर भएको अनुभवको कागजपत्र पनि पेस गरेका छन् । यस्तै २७ वैशाख २०८० देखि नियुक्ति हुँदाका बखतसम्म सूचना तथा प्रसारण विभागबाट प्रेस प्रतिनिधि रहनुका साथै देशसञ्चार मिडियामा १७ नोभेम्बर २०१७ देखि १६ अगस्ट २०१८ सम्म काम गरेको उल्लेख छ ।

ओझाले प्रशासनिक मिडियामा १ माघ २०७३ देखि कात्तिक २०७४ सम्म प्रबन्धक र १ कात्तिक २०७० देखि २०७२ को कात्तिकसम्म व्यवस्थापन अधिकृतमा काम गरेको पनि प्रमाणपत्र पेस गरेका छन् ।

राजधानी कलेजमा २०१८ देखि २७ डिसेम्बर २०२४ सम्म, एपेक्स कलेजमा जनवरी २०१७ देखि २३ सेप्टेम्बर २०२४ सम्म र इम्पेरियल कलेजमा अप्रिल २०१८ देखि सेप्टेम्बर २०२४ सम्म अध्यापन गरेको अनुभव पत्र पनि ओझाले प्राधिकरण अध्यक्षका लागि योग्यताका कागजातअन्तर्गत पेस गरेका थिए ।

यसरी पेस गरिएका कागजातको दोहोरो परीक्षण नभएको, ती अनुभवहरू बिमासँग सम्बन्धित नरहेको र यी कागजातको प्रमाणीकरण पनि एक सदस्यीय समितिबाट भएकाले अनुसन्धान आवश्यक रहेको अख्तियारमा दायर उजुरीमा उल्लेख छ ।

बिमा ऐन, २०७९ को दफा ८ मा बिमा प्राधिकरणको अध्यक्ष वा सदस्यका लागि बिमा, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानुनमा कम्तीमा स्नातकोत्तर वा सोसरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हासिल गरेको लगायत योग्यताका आधार निर्धारण गरिएको छ । तर ऐनविपरीत ओझालाई अध्यक्ष नियुक्ति गरिएको दाबीसहित अख्तियारमा उजुरी र अदालतमा रिट दायर भएको हो ।

नागरिकतामा गैरकानुनी रूपमा जन्ममिति सच्याएको, नागरिकता र राहदानीमा जन्ममिति सच्याउनकै लागि केरमेट र जालझेल गरेको तथा त्यसकै आधारमा सरकारी सेवामा रहेर लाभ लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वगृह सचिवसमेत रहेका प्राधिकरण अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध २४ मंसिर २०८१ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

मुद्दा दायर भएपछि उनी निलम्बनमा परेका थिए । निलम्बनकै बीच सिलवालको कार्यकाल सकिएको थियो । मुद्दा दायरको तीन महिनापछि सिलवालले १८ फागुनमा अभियोगबाट सफाइ पाएका थिए । त्यसपछि प्राधिकरणको रिक्त अध्यक्ष पदमा ओझालाई सरकारले नियुक्त गरेको हो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय तथा विज्ञका रूपमा ज्योतिचन्द्र ओझा सम्मिलित तीन सदस्यीय समिति गठन भएको थियो । सोही समितिको सिफारिसका आधारमा कञ्चनपुरका ओझालाई मन्त्रिपरिषद्ले अध्यक्षमा नियुक्त गरेको थियो ।

च्याम्पियन्स लिगमा सिटी, चेल्सी र न्युकासल

लन्डन — म्यानचेस्टर सिटी, चेल्सी र न्युकासल युनाइटेडले अर्को सिजनको युरोपेली च्याम्पियन्स लिग फुटबल खेल्ने भएका छन् । यस सिजनको इंग्लिस प्रिमियर लिगमा आइतबार अन्तिम दिनका खेलमा यी टोलीहरूले शीर्ष पाँचमा रहेर यो उपलब्धि हासिल गरेका हुन् ।

लिभरपुल र आर्सनलको यसअघि नै युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता खेल्ने निश्चित भइसकेको थियो ।

च्याम्पियन लिभरपुलले क्रिस्टल प्यालेससँग १–१ को बराबरी खेल्यो । त्यसमा एफए कप विजेताका लागि इस्माइल सारले सुरुआती गोल गरे । त्यसपछि लिभरपुलका मोहम्मद सलाहले दोस्रो हाफमा बराबरी गोल फर्काए । यससँगै लिभरपुल ८४ अंकसहित एनफिल्डमा ट्रफी उचाल्न सफल रह्यो । दोस्रो स्थानको आर्सनलले भने साउथह्याम्पटनलाई २–१ ले पराजित गर्‍यो । आर्सनल ७४ अंकसहित दोस्रोमा रह्यो ।

म्यानचेस्टर सिटीले फुलहमलाई २–० र चेल्सीले नटिङ्घम फरेस्टलाई १–० ले हराए । न्युकासल भने एभरटनको हातबाट १–० ले पराजित रह्यो, तर फरेस्टको हारले टोलीलाई फाइदा पुगेको हो । अन्तिम दिन सबैभन्दा अभाग्यशाली टिम एस्टन भिल्ला रह्यो । भिल्ला म्यानचेस्टर युनाइटेडसँग २–० ले पराजित भयो र छैटौं स्थानमा रह्यो ।

सिटीको ७१, चेल्सीको ६९ र न्युकासल ६६ अंक भएको थियो । भिल्लाको पनि समान ६६ अंक रहे पनि गोल अन्तरले पछाडि परेको हो । फरेस्ट भने ६५ अंकसहित सातौं स्थानमा रह्यो । अन्य खेलमा बर्नमाउथले लेस्टर सिटीलाई २–०, वेस्ट ह्यामले इप्विच टाउनलाई ३–१ र ब्राइटनले टोटनहमलाई ४–१ ले हराए । उल्भस र ब्रेन्टफोर्डले भने १–१ को बराबरी खेले ।

आईपीएल : गुजरातलाई अर्को धक्का

Highlights

  • शीर्ष टोली गुजरातमाथि सानदार जित निकाल्दै यस सिजनको आईपीएलबाट चेन्नईको सुखद बिदाइ

अहमदाबाद — इन्डियन प्रिमियर लिग (आईपीएल) को शीर्षस्थानमा रहेको गुजरात टाइटन्सले आइतबार चेन्नई सुपर किंग्सको हातबाट गम्भीर धक्का बेहोरेको छ । अंकतालिकाको पुछारमा रहेको चेन्नईले प्रतियोगिताबाट कम्तीमा सुखद बिदाइ लिनेक्रममा गुजरातलाई ८३ रनले सजिलै पराजित गरेको छ ।

युवा खेलाडीले भरिएको चेन्नईले रचेको यो उत्कृष्ट जितबाट गुजरातको शीर्ष दुईको सम्भावना भने कमजोर बनेको छ । गुजरातको ब्याटिङ र बलिङ दुवै फितलो रह्यो । गुजरातको यो लगातार दोस्रो हार हो । यससँगै टिम १४ खेलबाट १८ अंकमा सीमित रह्यो । आ–आफ्नो अन्तिम खेल अगाडि पन्जाब किंग्स र रोयल च्यालेन्जर्स बेंगलुरुको समान १७ अंक छ भने मुम्बई इन्डियन्स १६ अंकमा छ ।

अब तीनै टिमसामु गुजरातलाई उछिन्ने अवसर हुनेछ । यी चारै टिम प्लेअफका लागि छनोट भइसकेको भएता पनि अहिलेसम्म तिनीहरूको वरीयता तय भएको छैन । त्यसैले पहिलो क्वालिफायर र इलिमिनेटर खेल्ने समीकरण्का लागि अन्त्यसम्म कुर्नुपर्नेछ । भर्खरै मात्र भारतीय टेस्ट टिमको कप्तान घोषित भएका शुवमन गिलको प्रदर्शन ब्याट मात्र खराब रहेन, उनको नेतृत्व शैलीमाथि पनि प्रश्न उठेको छ । चेन्नईले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको थियो ।

त्यस क्रममा ५ विकेट गुमाएर चेन्नईले २ सय ३० रनको बलियो स्कोर खडा गरेको थियो । त्यसमा सबैभन्दा ठूलो योगदान डेवाल्ड ब्रेभिसको रह्यो । उनले २३ बलमा ५७ रन बनाए । उनले ४ चौका र ५ छक्का प्रहार गरे । ब्रेभिस नै प्लेयर अफ द म्याच र हे । उनलाई ओपनर डेभोन कन्वेले पनि ३५ बलमा ५२ रन जोडे । उनले ६ चौका र २ छक्का प्रहार गरे । चेन्नईका ब्याटरहरूले गुजरातको बलिङ आक्रमण कमजोर साबित गर्दै चारैतर्फ खुलेर प्रहार गरेका थिए । अर्का ओपनर १७ वर्षे आयुष म्हात्रेले ३४, उर्विल पटेलले ३७, रवीन्द्र जडेजाले अविजित २० रन बनाए । गुजरातका लागि प्रसिद्ध कृष्णले २ विकेट लिए ।

त्यसको जवाफमा गुजरात १८.३ ओभरमात्र टिक्न सक्यो । टोली मात्र १ सय ४७ रन बनाएर अलआउट भयो । ओपनर साई सुदर्शनले २८ बलमा ४१ रन बनाए । यो नै सबैभन्दा ठूलो व्यक्तिगत स्कोर रह्यो । उनलाई छाडेर अरू ब्याटरले गतिलो योगदान दिन सकेनन् । कप्तान गिल १३ रनमात्र जोडेर आउट भए । मसूद शाहरूख खानले १९ र अर्शद खानले २० रन बनाए । शाहरूखले ३ र अर्शदले ३ छक्का प्रहार गरे ।

Hope IVF
Global IME Updated May 12
Sunrise bank

चेन्नईका बलरमध्ये अंशुल कम्बोज र नूर अहमदले समान ३ तथा रवीन्द्र जडेजाले २ विकेट लिए ।

अब सोमबार मुम्बईले पन्जाब र मंगलबार बेंगलुरुले लखनउ सुपर जायन्ट्सको सामना गर्नेछ ।

चेन्नईले १४ खेलमा ४ जितसहित यात्रा टुंग्यायो । नियमित कप्तान ऋतुराज गायकवाड घाइते भएपछि ४२ वर्षे भेट्रान तथा पूर्वकप्तान महेन्द्रसिंह धोनीले नै बीचमै चेन्नईको कप्तानी सम्हालेका थिए ।