Highlights
काठमाडौँ — भिजिट भिसामा विदेश जाने सर्वसाधारण नेपालीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका अधिकारीहरूले पैसा असुल्ने धन्दा लामो समयदेखि चल्दै आएको छ । अहिले अनुसन्धानको दायरामा तानिएका गृह मन्त्रालयका अधिकारीहरूविरुद्ध डेढ वर्षअघि पनि मुद्दा चलेको थियो ।
सफाइ पाएर पुरानै गतिविधिमा सक्रिय भएको पाइएपछि उनीहरूमाथि अख्तियारले अनुसन्धान अघि बढाएको हो ।
प्रहरीको अनुसन्धानका आधारमा १० माघ २०८० मा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले विमानस्थल अध्यागमनका ९ अधिकृतसहित २२ जनाविरुद्ध संगठित अपराध र किर्ते अभियोगमा मुद्दा दायर गरेको थियो । मुद्दा दायरअघि नरवीर खड्काबाहेक आठ अध्यागमन अधिकृत फरार थिए । मुद्दा दायरका बेला पनि उनीहरूलाई फरार सूचीमै राखिएकामा पछि अदालतमा उपस्थित भएर धरौटीमा छुटेका थिए । एक वर्षपछि, १४ मंसिर २०८१ मा जिल्ला न्यायाधीश रामप्रसाद शर्माको इजलासले प्रहरीसमक्ष संगठित गिरोहबाट नौ जना अधिकृतलाई सफाइ दिएर बिचौलिया र ट्राभल एजेन्सी सञ्चालकलाई दोषी ठहर गरेको थियो ।
१४ कात्तिक २०८० मा भिजिट भिसामा कुवेत उड्न लागेका कौशिला मगर र लक्ष्मी राईलाई विमानस्थल प्रहरीले नियन्त्रणमा लिएर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पठाएको थियो ।
अनुसन्धानका क्रममा बिचौलिया भूमिकामा रहेका गीता शाह र अरुण दाहालसहितको समूहको ‘सेटिङ’ मा श्रम स्वीकृति, पुलिस रिपोर्टलगायत नक्कली कागजात बनाइएको तथ्य खुल्यो । महिलाबाट ५० हजार रुपैयाँ लिएर भिजिट भिसामा खाडीलगायतका मुलुकमा पठाउने गरेको र ‘सेटिङ’ मा अध्यागमनका कर्मचारी पनि संलग्न रहेको तथ्य खुलेको थियो ।
एक महिनापछि, १७ मंसिरमा शाह र दाहाल पक्राउ परेका थिए । त्यस्तै भोलिपल्ट १८ मंसिरमा ट्राभल एजेन्सी सञ्चालक सरोजकुमार यादव पक्राउ परेका थिए । २६ मंसिरमा अध्यागमन अधिकृत नरवीर खड्का २ लाखसहित सिनामंगलको एक होटलबाट पक्राउ परेका थिए ।
२७ मंसिरमा ट्राभल एजेन्सी सञ्चालक/कर्मचारी पदम लामा र मनोज तामाङ, पुस ५ मा विनोद कार्की समातिए । यसरी एकपछि अर्को तथ्य खुल्दै जाँदा नौ अधिकृतसहित २२ जना तानिएका थिए । यसमध्ये अधिकृत नरवीर खड्का अनुसन्धानका क्रममा पक्राउ परे भने ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पीताम्बर रिमाल र सुजन फागो फरार थिए ।
त्यस क्रममा बिचौलियाको भूमिकामा रहेकी शाहले नक्कली पुलिस रिपोर्ट र श्रम स्वीकृति बनाएर दाहाललाई दिएको, दाहालले ती कागजात ट्राभलका सरोज यादवलाई बुझाएको र यादवले अध्यागमन अधिकृत खड्कालाई त्यसरी जानेको सूची दिएपछि सोहीअनुसार ‘सेटिङ’ मा अध्यागमनबाटै भिजिट भिसाको लाइन खुलाउने गरेको पाइएको थियो ।
अध्यागमनका अधिकृत खड्काले अध्यागमनमा कसरी ‘सेटिङ’ चल्छ र रकम कसरी असुलिन्छ भन्ने रहस्य प्रहरी बयानमा खुलाएका थिए । ‘सरोज यादवलगायतसँग २०८० असारदेखि मिलेमतो गरी पुरुषको प्रतिव्यक्ति १० देखि १५ हजार र महिलाको ४० हजारदेखि ५० हजारसम्म लिई एक पटकमा १० देखि २० जना, कहिले १ सयदेखि १ सय ५० जनासम्मको रकम भिजिट भिसामा सेटिङ मिलाउने एजेन्टमार्फत लिने गरेको’ खड्काले प्रहरीसमक्ष स्वीकार गरेका थिए । खड्काले हस्ताक्षर गरेको बयान कागजसहित खुलेका तथ्य र प्रमाण अभियोगपत्रमा समेटिएको थियो ।
अनुसन्धानका क्रममा खड्काले अरू आठ जना अधिकृत पनि यसैगरी ‘सेटिङ’ मा काम गर्ने गरेको बयान दिएका थिए । आफूसहित नौ जना अधिकृतले त्यसबेला अध्यागमन डेस्कमा ‘भिजिट भिसा सहजीकरण समिति’ बनाएर रकम असुल्ने गरेको तथ्य पनि खड्काले स्विकारेका थिए । यसरी सहजीकरण गरिदिएबापत दैनिक औसतमा एक कर्मचारीको भागमा ५० हजार रुपैयाँसम्म हात लाग्ने गरेको उनले खुलाएका थिए ।
सहजीकरण गरिदिएबापत आफूले मनोज तामाङबाट २ लाख रुपैयाँ लिएको बयान उनैले दिएका थिए । पक्राउ परेका ट्राभल एजेन्सी सञ्चालक यादवले पनि अध्यागमनका कर्मचारीले मागेको रकम दिने गरी ‘सेटिङ’ मिलाइएको स्विकारेका थिए । यसरी मानिस पठाउँदा सबैको भाग कटाएर बिचौलियाले प्रतिव्यक्ति ४ हजार कमिसन खाने गरेको तथ्य पनि त्यही बेला खुलेको थियो ।
खड्काले पोलेका आठसहित संलग्न २२ विरुद्ध नै मुद्दा अदालत पुगेको थियो । तर, पछि खड्काले अदालतमा इन्कारी बयान दिए, अदालतले त्यही बयानका आधारमा प्रतिवादी कर्मचारीलाई सफाइ दिएको थियो । उनले बयान फेर्दै ‘गिरोहका सदस्यबाट २ लाख सापटी लिएको’ दाबी गरेका थिए । त्यसैका आधारमा उनले सफाइ पाए ।
ट्राभल एजेन्सी सञ्चालक मनोज तामाङले बयानमा अध्यागमनका अर्का अधिकृत तारा कुँवरलाई २० लाख जति रकम बुझाएको उल्लेख गरेका छन् । कुँवर सरुवा भएर गएपछि नरवीर त्यो जिम्मेवारीमा आएका र उनीमार्फत भिजिट भिसामा ३ सय जना पठाएको तामाङको बयानमा उल्लेख छ । ३ सय व्यक्ति पठाउँदा १ करोड रुपैयाँ कुँवरलाई नै बुझाएको पनि ट्राभल एजेन्सी सञ्चालक तामाङले खुलाएका छन् ।
काठमाडौं अदालतबाट सफाइ पाएलगत्तै त्यसमध्येका एक बिमल पौडेल गृहमन्त्री रमेश लेखकको सचिवालयमा सरुवा भएका थिए । गत बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थल अध्यागमन प्रमुख तीर्थराज भट्टराई र गिरोहको ‘सेटिङ’ मा काम गर्ने तीन जनालाई नियन्त्रणमा लिएपछि यसअघि अदालतबाट सफाइ पाएका कर्मचारीमाथि पनि अनुसन्धान अघि बढेको छ । पौडेलसहित विगतमा मुद्दा खेपेका र अहिले ‘सन्दिग्ध भूमिका’ मा देखिएका आरोपित कर्मचारीकै मिलेमतोमा पछिल्लो तस्करी ‘सेटिङ’ चलेको आरोपमा अख्तियारले अनुसन्धान थालेको हो ।