Highlights
अहमदाबाद — इन्डियन प्रिमियर लिग (आईपीएल) को शीर्षस्थानमा रहेको गुजरात टाइटन्सले आइतबार चेन्नई सुपर किंग्सको हातबाट गम्भीर धक्का बेहोरेको छ । अंकतालिकाको पुछारमा रहेको चेन्नईले प्रतियोगिताबाट कम्तीमा सुखद बिदाइ लिनेक्रममा गुजरातलाई ८३ रनले सजिलै पराजित गरेको छ ।
युवा खेलाडीले भरिएको चेन्नईले रचेको यो उत्कृष्ट जितबाट गुजरातको शीर्ष दुईको सम्भावना भने कमजोर बनेको छ । गुजरातको ब्याटिङ र बलिङ दुवै फितलो रह्यो । गुजरातको यो लगातार दोस्रो हार हो । यससँगै टिम १४ खेलबाट १८ अंकमा सीमित रह्यो । आ–आफ्नो अन्तिम खेल अगाडि पन्जाब किंग्स र रोयल च्यालेन्जर्स बेंगलुरुको समान १७ अंक छ भने मुम्बई इन्डियन्स १६ अंकमा छ ।
अब तीनै टिमसामु गुजरातलाई उछिन्ने अवसर हुनेछ । यी चारै टिम प्लेअफका लागि छनोट भइसकेको भएता पनि अहिलेसम्म तिनीहरूको वरीयता तय भएको छैन । त्यसैले पहिलो क्वालिफायर र इलिमिनेटर खेल्ने समीकरण्का लागि अन्त्यसम्म कुर्नुपर्नेछ । भर्खरै मात्र भारतीय टेस्ट टिमको कप्तान घोषित भएका शुवमन गिलको प्रदर्शन ब्याट मात्र खराब रहेन, उनको नेतृत्व शैलीमाथि पनि प्रश्न उठेको छ । चेन्नईले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको थियो ।
त्यस क्रममा ५ विकेट गुमाएर चेन्नईले २ सय ३० रनको बलियो स्कोर खडा गरेको थियो । त्यसमा सबैभन्दा ठूलो योगदान डेवाल्ड ब्रेभिसको रह्यो । उनले २३ बलमा ५७ रन बनाए । उनले ४ चौका र ५ छक्का प्रहार गरे । ब्रेभिस नै प्लेयर अफ द म्याच र हे । उनलाई ओपनर डेभोन कन्वेले पनि ३५ बलमा ५२ रन जोडे । उनले ६ चौका र २ छक्का प्रहार गरे । चेन्नईका ब्याटरहरूले गुजरातको बलिङ आक्रमण कमजोर साबित गर्दै चारैतर्फ खुलेर प्रहार गरेका थिए । अर्का ओपनर १७ वर्षे आयुष म्हात्रेले ३४, उर्विल पटेलले ३७, रवीन्द्र जडेजाले अविजित २० रन बनाए । गुजरातका लागि प्रसिद्ध कृष्णले २ विकेट लिए ।
त्यसको जवाफमा गुजरात १८.३ ओभरमात्र टिक्न सक्यो । टोली मात्र १ सय ४७ रन बनाएर अलआउट भयो । ओपनर साई सुदर्शनले २८ बलमा ४१ रन बनाए । यो नै सबैभन्दा ठूलो व्यक्तिगत स्कोर रह्यो । उनलाई छाडेर अरू ब्याटरले गतिलो योगदान दिन सकेनन् । कप्तान गिल १३ रनमात्र जोडेर आउट भए । मसूद शाहरूख खानले १९ र अर्शद खानले २० रन बनाए । शाहरूखले ३ र अर्शदले ३ छक्का प्रहार गरे ।
चेन्नईका बलरमध्ये अंशुल कम्बोज र नूर अहमदले समान ३ तथा रवीन्द्र जडेजाले २ विकेट लिए ।
अब सोमबार मुम्बईले पन्जाब र मंगलबार बेंगलुरुले लखनउ सुपर जायन्ट्सको सामना गर्नेछ ।
चेन्नईले १४ खेलमा ४ जितसहित यात्रा टुंग्यायो । नियमित कप्तान ऋतुराज गायकवाड घाइते भएपछि ४२ वर्षे भेट्रान तथा पूर्वकप्तान महेन्द्रसिंह धोनीले नै बीचमै चेन्नईको कप्तानी सम्हालेका थिए ।