फोर आइज न्युज
शुक्रबार, जेष्ठ १७, २०८२
  • होमपेज
  • मस्तिष्क मृत्यु भएका व्यक्तिको मिर्गौला र कलेजो पहिलो पटक एकै व्यक्तिमा प्रत्यारोपण

मस्तिष्क मृत्यु भएका व्यक्तिको मिर्गौला र कलेजो पहिलो पटक एकै व्यक्तिमा प्रत्यारोपण

अंग प्रत्यारोपणबारे जानकारी दिन आइतबार आयोजना गरिएको पत्रकार सम्मेलन ।

  • Arjun Rai
  • सोमवार, जेष्ठ १३, २०८२
मस्तिष्क मृत्यु भएका व्यक्तिको मिर्गौला र कलेजो पहिलो पटक एकै व्यक्तिमा प्रत्यारोपण

Highlights

  • सवारी दुर्घटनापछि उपचारका क्रममा ‘मस्तिष्क मृत्यु’ घोषणा गरिएका १८ वर्षे दोर्जेमान तामाङको एउटा मिर्गौला र कलेजो एक पुरुषमा र अर्को मिर्गौला ४२ वर्षीया महिलामा प्रत्यारोपण

काठमाडौँ — मस्तिष्क मृत्यु भएका व्यक्तिको मिर्गौला र कलेजो पहिलोपटक एकै व्यक्तिमा प्रत्यारोपण गरिएको छ । यस किसिमको प्रत्यारोपण नेपालमै पहिलो पटक भएको हो । सवारी दुर्घटनापछि उपचारका क्रममा ‘ब्रेन डेथ’ (मस्तिष्क मृत्यु) घोषणा गरिएका १८ वर्षका दोर्जेमान तामाङका अंग झिकेर प्रत्यारोपण गरिएको हो । उनको एउटा मिर्गौला र कलेजो एक पुरुषमा र अर्को मिर्गौला ४२ वर्षीया महिलामा प्रत्यारोपण गरिएको राष्ट्रिय प्रत्यारोपण केन्द्रले जनाएको छ ।

काठमाडौंको नारायणगोपाल चोकमा सवारी दुर्घटनापछि दोर्जेमानलाई उपचारका लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) लगिएको थियो । जेठ १ मा उनको ‘मस्तिष्क मृत्यु’ भएको घोषणा अस्पतालले गरेको थियो । त्यसपछि दोर्जेमानका बुवा र दाइको सहमतिमा अंग झिकेर प्रत्यारोपण गरिएको हो ।

केएमसीका वरिष्ठ सर्जन डा. रोशन घिमिरे नेतृत्वको टोलीले दोर्जेमानको शरीरबाट अंग झिकेको थियो । त्यसपछि सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा डा. पुकारचन्द्र श्रेष्ठ नेतृत्वको टोलीले प्रत्यारोपण गरेको हो । अंग प्राप्त गरेका दुवै बिरामीको स्वास्थ्य सुधारोन्मुख रहेको डा. श्रेष्ठले जानकारी दिए ।

परिवारको सदस्य गुमाए पनि उसको अंगले अरू कसैको ज्यान बच्ने भएकाले दान गर्न तयार भएको युवकको परिवारले जनाएको छ । दोर्जेमानको कलेजो र मिर्गौला पाएका शिव महर्जनले युवकका परिवारको ‘महादान’ ले आफ्नो ज्यान बच्न सफल भएको टेलिकन्फ्रेन्समार्फत बताए । ‘सबैको सहयोगले मैले अर्को जीवन पाएँ । अंग दिने र प्रत्यारोपण गर्ने डाक्टर, नर्स सबैलाई धन्यवाद,’ आईसीयू बेडबाटै उनले भने ।

राष्ट्रिय प्रत्यारोपण केन्द्रले आइतबार गरेको पत्रकार सम्मेलनमा डा. श्रेष्ठले नेपाली टोलीबाट मस्तिष्क मृत्यु भएका व्यक्तिको मिर्गौला र कलेजो पहिलोपटक एकै व्यक्तिमा प्रत्यारोपण सफल भएको बताए । नेपालमा सडक दुर्घटनाबाट प्रत्येक दिन चारदेखि ६ जनाको मृत्यु हुने गरेको र काठमाडौं उपत्यकामा मात्रै वार्षिक करिब एक हजार जनाको मस्तिष्क मृत्यु हुने गरेकामा उनीहरूको अंग झिकेर प्रत्यारोपण गर्न सके नेपाल अंग प्रत्यारोपणमा आत्मनिर्भर हुन सक्ने उनको भनाइ छ । एक जना मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला दुई, फोक्सो दुई जनामा, कलेजो, मुटु, प्याङ्क्रियाज, सानो आन्द्रा एक–एक गरी आठ जनामा अंग प्रत्यारोपण गर्न सकिने चिकित्सक बताउँछन् ।

Hope IVF
Global IME Updated May 12
Sunrise bank

वरिष्ठ शल्यचिकित्सक डा. श्रेष्ठ नेतृत्वको प्रत्यारोपण टोलीमा कलेजोतर्फ डा. रोशन घिमिरे र डा. प्रवीण महर्जनले सघाएका थिए भने मिर्गौला प्रत्यारोपणका लागि भने डा. दीपेश श्रेष्ठ, डा. रूपेशकुमार झा, डा. हरिप्रसाद बराल, डा. रोजन अधिकारी र डा. विकास खड्का संलग्न थिए । यस्तै एनेस्थेसिया तथा क्रिटिकल केयर विभागबाट डा. आरती राई, डा. निभा श्रेष्ठ, डा. शोभित थापा, डा. रेखा श्रेष्ठलगायतले सहयोग गरेका थिए ।

यसैगरी नेफ्रोलोजी विभागबाट डा. कल्पनाकुमारी श्रेष्ठ, डा. लुसन सिंह, डा. सुमित आचार्य, डा. सन्तोष सुवेदी र डा. वीक्रमवीर वज्राचार्य सहभागी थिए । यस्तै रेडियोलोजी विभागबाट डा. कृष्ण बुढाथोकी, डा. जस्मिन जोशी, डा. हितेश रायमाझी, डा. सुधीर जोशी र डा. जी एलिन सहभागी थिए । प्याथोलोजी विभागबाट डा. सविना श्रेष्ठ, डा. सुस्मिता घिमिरे सहभागी थिए । यसैगरी ट्रान्सप्लान्ट कोर्डिनेटर विभागबाट डा. बादल महर्जन, तारा साँध, सरु कोजू, बन्दना खत्रीले समन्वय गरेका थिए ।

केन्द्रले २०७३ मंसिर २२ मा पहिलो पटक दक्षिण कोरियाली विज्ञको सहयोगमा कलेजो प्रत्यारोपण गरेको थियो । नेपाली टोली २०७५ कात्तिक १२ मा पहिलो पटक कलेजो प्रत्यारोपण गर्न सफल भएको थियो । केन्द्रले हालसम्म तीन वर्षको बालकदेखि ६८ वर्षका व्यक्तिसम्म गरी ३४ जनाको कलेजो प्रत्यारोपण गरिसकेको छ । केन्द्रमा १५ देखि २० लाख रुपैयाँमा कलेजो प्रत्यारोपण हुँदै आएको छ । केन्द्रले हालसम्म मस्तिष्क मृत्यु भएका छ जना व्यक्तिबाट प्राप्त गरी १२ जनाको मिर्गौला र चार जनाको कलेजो प्रत्यारोपण गरेको डा. श्रेष्ठले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका