फोर आइज न्युज
सोमवार, असार ३०, २०८२

This Week

हार्वर्डमा विदेशी विद्यार्थीमाथि प्रतिबन्ध लगाउने ट्रम्पको निर्णयलाई अदालतको रोक

न्युयोर्क — हार्वर्ड विश्व विद्यालयमा विदेशी विद्यार्थीको भर्नालाई रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो प्रयासलाई बिहीबार एक अदालतले अस्थायी रोक लगाएको छ । अमेरिकी जिल्ला न्यायाधीश एलिसन बरोजले बिहीबार सरकारले ट्रम्पको घोषणालाई लागू गर्न नसक्ने फैसला गरिदिएका हुन् ।

यसअघि पनि बरोजले नै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भर्नालाई रोक्ने ट्रम्पको पहिलेको प्रयासलाई पनि रोक्न आदेश दिएका थिए । विदेशी विद्यार्थीलाई लिएर पछिल्लो समय राष्ट्रपति ट्रम्प र हार्वर्डबीच सम्बन्ध चिसिएको छ ।

ह्वाइटहाउसले बुधबार राति जारी गरेको घोषणाले हार्वर्डमा धेरैजसो नयाँ अन्तर्राष्ट्रिय विद्यार्थीलाई अमेरिकामा प्रवेश गर्न रोकेको थियो भने भर्ना भइसकेका विद्यमान विदेशी विद्यार्थीका भिसा पनि रद्द हुने जोखिम रहेको बताइएको थियो । ‘हार्वर्डको आचरणले यसलाई विदेशी विद्यार्थी र शोधकर्ताका लागि अनुपयुक्त गन्तव्य बनाएको छ,’ ह्वाइटहाउसको आदेशमा भनिएको थियो ।

तर हार्वर्डले पनि ह्वाइटहाउसको पछिल्लो कदमलाई ‘सरकारले लिएको प्रतिशोधको अभियानको एउटा हिस्सा भएको’ टिप्पणी गरेको छ । भनेको छ, ‘हार्वर्डलाई यसका अन्तर्राष्ट्रिय विद्यार्थीबाट अलग गर्ने यो नै पहिलो प्रयास होइन ।’

त्यसपछि हार्वर्डले संघीय अदालतमा दायर गरेको उजुरीमा थप व्याख्या गर्दै भनेको छ, ‘ट्रम्प प्रशासनको पछिल्ला कदम सरकारको मागलाई अस्वीकार गर्ने हार्वर्डको प्रशासन, पाठ्यक्रम र यसका प्राध्यापक र विद्यार्थीको विचारधारालाई नियन्त्रण गर्न सरकारद्वारा बदलाको भावमा बढ्दो प्रतिशोधको अभियानको हिस्सा हो ।’

Hope IVF
Global IME Updated May 12
Sunrise bank

सरकारले पहिले नै हार्वर्डलाई फाइदा पुर्‍याउने संघीय अनुदान र सम्झौताको करिब ३ अर्ब २० करोड डलर कटौती गर्दै क्याम्ब्रिज, म्यासाचुसेट्सलगायत संस्थालाई भविष्यको कुनै पनि संघीय कोषबाट बाहिर राख्ने घोषणा गरेको थियो । हार्वर्डको पाठ्यक्रम, कर्मचारी, विद्यार्थी भर्तीको तथ्यांक र दृष्टिकोण पेस गर्न सरकारले गरेको आह्वानलाई उक्त विश्वविद्यालयले अस्वीकार गरिदिएपछि राष्ट्रपति ट्रम्प हार्वर्डप्रति रुष्ट बनेका हुन् ।

सन् २०२४–०२५ को शैक्षिक सत्रमा कुल भर्नाको २७ प्रतिशत हिस्सा ओगट्ने र आम्दानीको प्रमुख स्रोत रहेका हार्वर्डका अन्तर्राष्ट्रिय विद्यार्थीलाई पनि ट्रम्पले निसाना बनाएका हुन् । विश्वविद्यालयहरूलाई ट्रम्प र उनका सहयोगीले यहुदीविरोधी, उदार पूर्वाग्रह र ‘जागृत’ विचारधाराको केन्द्र भएको आरोप लगाएका छन् । अमेरिकी शिक्षामन्त्रीले बुधबार कोलम्बिया विश्वविद्यालयको मान्यता रद्द गर्ने धम्की पनि दिएका छन् । तर कोलम्बियासहित धेरै शीर्ष संस्थानहरू भने ट्रम्प प्रशासनको मागसामु झुकेका छन् ।

आज बकर ईद पर्व मनाइँदै

काठमाडौँ — मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ ।

यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको घुइँचो लाग्छ । हिजरी संवत्अनुसार १४४० वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो ।

मुस्लिम धर्म गुरु (मौलाना) रहमत अली ऐतिहासिक बकर ईद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिई निरन्तरता दिएको बताउँछन् । जसले यो पर्व एवम् धर्मलाई पुस्तान्तर गर्न महत्वपूर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गरेका थिए।

‘यस ग्रन्थलाई अहिले मुस्लिम धार्मिक विद्यालय (मदरसा)मा समेत अध्ययन अध्यापन गराइन्छ, मक्कामा जन्मिनुभएका सलल्ला ५३ वर्षको उमेरपछि मदिनामा सर्नुभएको थियो, यही सम्झनामा अहिले पनि साउदी अरबमा पर्ने यी दुवै तीर्थस्थलमा ठूलो मेला लाग्छ,’ उनले भने।

यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ । मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हज यात्रा गराउने गरेको छ । यसका लागि गृह मन्त्रालयअन्तर्गत हज समितिको सचिवालय स्थापना गरिएको छ । मक्का मदिना जान नपाउने हजयात्रीसमेतले घर घरमै बकर ईद मनाउँछन् । यो पर्वको मुख्य उद्देश्य नै हज यात्रा हो । यस पर्वमा अल्लालाई खुशी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिन्छन् ।

Hope IVF
Global IME Updated May 12
Sunrise bank

धार्मिक मान्यताअनुसार अल्लाहका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माईललाई कुर्बानी गर्नुपर्ने आदेश प्राप्त भयो । जसलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माईलको कुर्बानी नभएर स्वर्ग (जन्नत)मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यता छ । यसैकारण अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको मुस्लिम धर्मावलम्बीको भनाइ छ ।

निसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लाहसँग मनन्नत मागेका थिए । अल्लाहले मलाई सन्तानको सुख दियो भने म कुर्बानी गर्छु भन्ने इब्राहिमको प्रतिबद्धता थियो । सोहीअनुरुप अल्लाहले निजको परीक्षणस्वरूप सपनामा कुर्बानी गर्न पर्छ भनेका थिए भन्ने मुस्लिम धर्मावलम्बीको विश्वास छ ।

धेरै जनावर कुर्बानी गरे तर अल्लााह खुशी भएका थिएनन् । अन्तिममा आफ्ना सबैभन्दा प्यारा छोरालाई नै कुर्बानी गरी अल्लाहलाई राजी गर्न चाहेका थिए । यस घडीमा उहाँको परीक्षण सफल सावित भएपछि कुर्बानी गर्ने स्थानमा मानिसको होइन त्यही जन्नतमा पालिएर आएका दुम्बाको कुर्बान (बलि) भएको थियो ।

कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ । एक भाग गरिब एवम् विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता छ । यसैअनुसार आज पहिलो दिनको बकर ईद मनाइँदै छ । मुस्लिम धर्मावलम्बीले सोमबारसम्म तीन दिन यो पर्व मनाउने गर्छन् ।

यो पर्व मनाउने तीनै दिन कुर्बानी गर्नुपर्ने मुस्लिम धर्मावलम्बीको विधि रहेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिनुभयो । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

जीआई तारको कच्चा पदार्थमा बढी भन्सारले असन्तुष्ट व्यवसायी

Highlights

  • ५ प्रतिशत भन्सार शुल्कलाई २०८२/८३ को बजेटमार्फत १० प्रतिशत पुर्‍याइएपछि सम्बन्धित उद्योग संकटमा, कतिपय बन्द हुने अवस्थामा

विराटनगर,पर्सा — सरकारले जीआई तार उत्पादनका लागि आवश्यक कच्चा पदार्थ आयातमा आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत १० प्रतिशत भन्सार शुल्क लागू गरेको थियो । त्यति बेला घरेलु उत्पादनमाथि प्रतिकूल असर पर्ने भन्दै उद्योगी व्यवसायीले उक्त शुल्क घटाई १ प्रतिशत कायम गर्न माग गरेका थिए ।

तर उद्योगीहरूका उक्त मागप्रति सरकारले बेवास्ता गर्दै आएको थियो । दुई वर्षअघि देखिएको यही समस्या अहिले पुनः दोहोरिएको छ । हालै सार्वजनिक बजेटमार्फत बाइन्डिङ र जीआई तारका लागि आवश्यक कच्चा पदार्थ आयातमा पुनः भन्सार शुल्क वृद्धि गरिएको छ । जसले पुरानै समस्या उल्टाएर उद्योगी व्यवसायीको थाप्लोमा फेरि सास्ती दिने काम भएको छ ।

उद्योगीहरूका अनुसार यस्तो नीति घरेलु उद्योगलाई धराशायी बनाउने खालको छ । यसले उत्पादन लागत बढाउनुका साथै विकास निर्माणका परियोजनाहरूमा समेत प्रतिकूल असर पार्ने उनीहरूको भनाइ छ । पर्साको वीरगन्जस्थित उद्योगी व्यवसायीले बिहीबार संघीय सरकारका अर्थमन्त्री विष्णु पौडेललाई पत्राचार गर्दै कच्चा पदार्थमा बढाइएको भन्सार शुल्कप्रति औपचारिक रूपमा विरोध जनाएका छन् ।

वीरगन्ज उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष माधव राजपालद्वारा हस्ताक्षरित उक्त पत्रमा विगतमा लाग्दै आएको ५ प्रतिशत भन्सार शुल्कलाई आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत १० प्रतिशत पुर्‍याइएपछि सम्बन्धित उद्योगहरू संकटमा परेको र कतिपय बन्द हुने अवस्थामा पुगेको उल्लेख गरिएको छ ।

तयारी वस्तुको तुलनामा कच्चा पदार्थमा भन्सार महसुल कम हुनु स्वाभाविक हुँदाहुँदै पनि त्यसविपरीत बाइन्डिङ तार तथा जीआई तारमा ६ प्रतिशत (साफ्टा छुटसहित) र कच्चा पदार्थ तारको डन्डीमा १० प्रतिशत भन्सार शुल्क कायम गरिएकाले आयातमुखी अर्थतन्त्रलाई प्रोत्साहन दिने संकेत मिलेको पत्रमा उल्लेख गरिएको छ ।

Hope IVF
Global IME Updated May 12
Sunrise bank

नेपालभर दुई दर्जनभन्दा बढी उद्योगहरूले फलामे डन्डी आयात गरेर बाइन्डिङ तार उत्पादन गरी आन्तरिक बजारमा आपूर्ति गर्दै आएका छन् ।

यस्तो प्रावधानले सञ्चालनमा रहेका यी उद्योगको अर्बौं रुपैयाँ लगानी र हजारौं रोजगारी संकटमा पार्ने खतरा रहेको पत्रमा चेतावनी दिइएको छ ।

पत्रमार्फत तारको डन्डीमा पूर्ववत् ५ प्रतिशत भन्सार शुल्क कायम गरी बाइन्डिङ तार तथा जीआई तार उत्पादन गर्ने स्वदेशी उद्योगलाई संरक्षण गर्न माग गरिएको छ ।

उता, विराटनगरका उद्योगी व्यवसायीहरूले पनि सरकारको उक्त कदमको विरोध गरेका छन् । आर्थिक वर्ष २०७९/८० मा तोकिएको करलाई पुनः वृद्धि गरेर सरकारले उद्योगीहरूलाई समस्यामाथि समस्या थोपर्न खोजेको मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीको आरोप छ ।

देशभर जीआई तारका दर्जनभन्दा बढी उद्योग छन् । वायर र रड उद्योग एउटा मात्रै छ, जगदम्बा स्टिल । ‘एउटा उद्योगलाई पोस्ने र अरू धेरै उद्योगलाई मास्ने सरकारको नियत देखिएको छ,’ राठीले थपे, ‘यो कदापि मान्य हुँदैन ।’ सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा प्रिमियम, पायोनियर, कमला रोलिङ मिल, हुलास र अरियन्त गरी ५ वटा जीआर तार उद्योग सञ्चालनमा छन् । सरकारको उक्त नीतिपछि ती उद्योगमा समस्या बढ्न सक्ने उद्योगी व्यवसायीहरूको चेतावनी छ ।

नेपाली क्रिकेटमा स्टुवार्ट युगको सुरुआत

Highlights

  • मोन्टी देशाइको ‘ह्याप्पी ड्रेसिङ रुम’ बाट नेपाली क्रिकेट टोली ‘शान्त ड्रेसिङ रुम’ मा रूपान्तरित हुँदै

डन्डी, स्कटल्यान्ड — भारतमा सन् १९९६ को विश्वकप क्रिकेट चलिरहेको थियो । न्युजिल्यान्डविरुद्धको क्वाटरफाइनलमा स्टिभ वा सँगै फ्रेन्चकट दाह्रीका साथ स्टुवार्ट ल ब्याटिङमा आएर अस्ट्रेलियालाई सेमिफाइनलमा डोर्‍याएका थिए । उनै स्टुवार्ट अहिले नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक हुन् ।

स्कटल्यान्डमा नेपाली समुदायमा क्रियाशील समाजसेवी काशीराम भण्डारीले बिहीबार आमन्त्रण गरेको नेपाली टोलीको सम्मानमा स्टुवार्ट मुस्कुराउँदै भन्दै थिए, ‘अहिले त त्यस्तो स्टाइल केही बाँकी छैन, दाह्री सफाचट छ ।’

उनकै प्रशिक्षणमा खेलिहरेको नेपालले स्कटल्यान्डमा विश्वकप क्रिकेट लिग–२ को पहिलो दुई खेलमा सनसनीपूर्ण नतिजा निकालेको छ । डन्डीस्थित फोर्थहिलमा नेपालले पहिलो खेलमा स्कटल्यान्डमाथि १ विकेटको अविश्वसनीय जित निकालेको थियो भने अर्को खेलमा नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको थियो । स्कटल्यान्ड र नेदरल्यान्ड्सका लागि यो स्तब्धपूर्ण नतिजा जस्तै रह्यो ।

धेरैले यसलाई नेपाली क्रिकेटमा स्टुवार्ट ल युगको सुरुआत भनेका छन् । नहोस् पनि कसरी । स्कटल्यान्डको यात्रा नेपाली क्रिकेटको सबैभन्दा कठिन मानिएको थियो । कन्डिसन, विकेट र प्रतिद्वन्द्वी हेर्ने हो भने नेपाललाई निकै कठिन हुने अड्कल काटिएको थियो । तर, पहिलो दुई खेल जितेर नेपाल लिग २ को पुछार अर्थात् आठौंबाट सातौं स्थानमा उक्लिसकेको छ । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने आशालाई कायमै राखेको छ ।

The beginning of the Stuart era in Nepali cricket

Hope IVF
Global IME Updated May 12
Sunrise bank

‘नेपालले अहिलेसम्मकै सबैभन्दा कठिन शृंखला खेलिरहेको छ, तर त्यसमा अहिलेसम्म राम्रो भइरहेको छ । हाम्रो लक्ष्य उच्च छ, हामी उच्च नतिजासाथ यात्रा टुंग्याउन चाहन्छौं,’ एक महिनाअघि नेपालको मुख्य प्रशिक्षक बनेका स्टुवार्टले भने । उनको प्रशिक्षणमा नेपाली क्रिकेट टोली पुनः ब्युँतिएको छ र पुनः उच्च लयमा फर्किने विश्वासको वातावरण बन्दै गएको छ ।

उनका लागि एसोसिएट क्षेत्रको क्रिकेटमा यसखाले नतिजा निकाल्नु कुनै नौलो होइन । उनकै प्रशिक्षणमा अमेरिका गत वर्ष घरेलु भूमिमा भएको ट्वान्टी–२० विश्वकपमा पाकिस्तान र आयरल्यान्डलाई उछिन्दै समूह चरणबाट सुपर ‘एट’ मा पुगेको थियो । अमेरिकाले पाकिस्तानलाई समूह चरणको खेलमा सुपर ओभरमा पराजित गरेको थियो । स्कटल्यान्डमा नेपाललाई राम्रो खेल्न मैदानमा आएर हौस्याइरहेका दर्शकबाट उनी अझ प्रभावित छन् । गत वर्ष विश्वकपमा नेपालले अमेरिकामा नेदरल्यान्ड्सविरुद्ध डालासमा खेल्दा ८ हजार दर्शकमध्ये ७ हजारभन्दा बढी दर्शक नेपाली देखेका थिए, जुन उनलाई अविश्वसनीय लागेको थियो । उनीसँग इंग्लिस कन्डिसनको पनि अनुभव छ । उनी एक समय इंग्लिस काउन्टी टोली मिडलसेक्सको पनि प्रशिक्षक थिए । नेपालले यस यात्राको लिग २ मा स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग १–१ खेल खेल्न बाँकी छ । यी दुई खेल आइतबार र मंगलबार हुनेछ । सन् २०२३ मा नेपालको प्रशिक्षक भएर मोन्टी देसाइ आएपछि नेपालले १२ मध्ये ११ खेल जितेको थियो । स्टुवार्ट पनि यही पथमा लम्किरहेका छन् ।

The beginning of the Stuart era in Nepali cricket

‘अहिलेसम्म राम्रै भइरहेको छ, २ खेलमा राम्रो नतिजा आएको छ । तर यो यात्रा यहीं सकिएको छैन । अब हामी अर्को दुई खेलको तयारी गरिरहेका छौं, त्यसमा पनि हामी लक्ष्यमा पुग्न सक्छौं र पहिलो दुई खेलकै नतिजालाई दोहोर्‍याउन सक्छौं,’ उनी भन्छन्, ‘हाम्रो खेलाडीहरूले राम्रो खेलिरहेका छन् । स्कटल्यान्ड र नेदरल्यान्ड्सले पनि नतिजा आफ्नो पक्षमा ल्याउन अवश्य निकै मिहिनेत गर्नेछन् ।’

सन् २००९ मा स्टुवार्ट श्रीलंका राष्ट्रिय टोलीको सहायक प्रशिक्षक थिए । त्यसपछि उनी २०११–१२ मा बंगलादेशको मुख्य प्रशिक्षक भए । २०१८ देखि उनी वेस्ट इन्डिजको मुख्य प्रशिक्षक थिए । एउटा शृंखलाका लागि उनी २०२२ मा अफगानिस्तानको पनि प्रशिक्षक बनेका थिए ।

The beginning of the Stuart era in Nepali cricket

स्टुवार्ट ल र मोन्टी देशाइ दबाबमा नआत्तिने लगभग एउटै स्वभावको भएको कप्तान रोहित पौडेल जनाउँछन् । उनले भने, ‘लले डगआउटलाई शान्त राख्नुभएको छ, प्रायः सवै प्रशिक्षकको सायद यही नै मन्त्र हुन्छ होला । नतिजा आउँदा सवैले राम्रो भन्ने गर्छन् । तर डगआउटमा कसरी शान्त राख्ने उहाँको भिजन फरकखाले छ । नतिजा कहिले आउँछ कहिले आउँदैन, तर आफ्नो कर्म कायम राख्न उहाँ प्रेरित गर्नुहुन्छ ।’

स्टुवार्टले वर्तमान टोलीमा रहेका कुनै पनि खेलाडीको शैलीमा कुनै परिवर्तन नगरेको रोहित बताउँछन् । ‘हामीले कसरी क्रिकेट खेल्छौं, त्यहीअनुसार खेल भन्नुहुन्छ । त्यसमा मेरो सहयोग हुनेछ, त्यो गर्छु भनेर भन्नुहुन्छ । उहाँको सामान्य योजना नै त्यही हो, केही पनि जटिल बनाउनुभएको छैन,’ कप्तान रोहितले भने, ‘मेरो ब्याटिङ यो एक सातामा केही परिवर्तन हुदैंन । किनभने म पछिल्लो ७–८ वर्ष देखि यसरी नै खेलिरहेको छु । उहाँले पनि त्यही भन्नु हुन्छ, जसरी खेलिरहेको छ, त्यसै गरि नै खेल भनेर ।’

The beginning of the Stuart era in Nepali cricket

नेदरल्यान्ड्समाथिको विजयमा मध्यपंक्तिका ब्याटर आरिफले ७८ रन बनाएका थिए । उनी प्रशिक्षकले दिएको भूमिकाअनुसार खेल्दै आएको जनाउँछन् । ‘जुन खेल्ने शैली हाम्रो छ, त्यसलाई उहाँ सहयोग गर्नुहुन्छ । हाम्रो गेम परिवर्तन गर्ने उहाँको केही उद्देश्य छैन,’ आरिफले भने, ‘यसले हामीलाई निकै सहयोग भइरहेको छ । प्रशिक्षकले हामीले प्रोत्साहित गरिरहनुभएको छ, त्यसले हाम्रो टिमको मनोबल पनि उच्च छ ।’

जगदुल्लाको ठेक्कामा प्रस्ट नभई सम्झौता नगर्न लेखा समितिको निर्देशन

Highlights

  • विवादित जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्कामा उच्च अदालत, पाटनमा मुद्दा चलिरहेका बेला सर्वोच्चमा पनि रिट दायर

काठमाडौँ — प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले जगदुल्ला हाइड्रोपावर कम्पनीसँग जोडिएर केही निर्माता कम्पनी नक्कली कागजात पेस गरी बोलपत्रमा समावेश भएको भनी आएका गुनासाका विषयमा प्रस्ट नभई सम्झौता अघि नबढाउन निर्देशन दिएको छ ।

‘समितिमा प्राप्त जगदुल्ला हाइड्रोपावर निर्माणका लागि आशयपत्र माग तथा छनोटमा भएको अनियमितता सम्बन्धमा आशयपत्र प्रस्तुत गर्ने/प्रस्ताव गर्ने निर्माण कम्पनीले नक्कली वा धोकाधडीयुक्त कागजात–प्रमाण पेस गरेको भन्ने विषय सार्वजनिक कानुनको परिपालना तथा पूर्वाधार निर्माणका दृष्टिले गम्भीर देखिएकाले यस प्रक्रियालाई अविलम्ब रोक्न तथा उक्त कागजातको विषयमा शीघ्र यकिन तथा छानबिन गरी निष्कर्षमा पुग्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, सार्वजनिक खरिद अनुगमन कार्यालय र जगदुल्ला हाइड्रोपावर कम्पनी समेतलाई निर्देश गर्दछ,’ समितिको निर्णयमा उल्लेख छ । राष्ट्रिय महत्त्वको आयोजनामा अनियमितता भएको भन्दै डोल्पाका लाप्पा शेर्पाले उजुरी दिएका थिए ।

सरकारले नै डोल्पामा बनाउन लागेको १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्काको विषयमा सिनो हाइड्रोले गरेको उजुरीमा अख्तियार अनुसन्धान दुरुपयोग आयोग र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले समेत अनुसन्धान गरिरहेका छन् । सिउ इन्फ्रास्ट्रक्चर र हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन जेभीले दायर गरेको रिटमाथि जेठ २१ को पेसी सरेर असार १० मा तोकिएको छ । यसअघि नै सिउ इन्फ्रास्ट्रक्चर र हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन जेभीको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरिसकेको छ ।

अधिवक्ता सन्तोष आचार्यसहितको समूहले जेठ २२ मा जगदुल्ला हाइड्रोपावरको ठेक्काविरुद्ध जगदुल्ला हाइड्रोपावर कम्पनी, एएनके कन्स्ट्रक्सन कम्पनी, जियाङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन, ऊर्जा मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालयाई विपक्षी बनाएर रिट दायर गरेका छन् । उक्त रिटमा सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको इजलासले कारण देखाऊ आदेश जारी गरेको छ ।

जेठ १३ मा जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले सिभिल र हाइड्रो मेकानिकलअन्तर्गत इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन (ईपीसी) तर्फ आह्वान गरेको ठेक्काको आशयपत्र जारी गरेको छ । आर्थिक प्रस्तावमा कररहित १२ अर्ब १५ करोड रुपैयाँ कबोल गरेको जियाङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ (ग्रुप) कर्पोरेसन (चीन) र एएनके कन्स्ट्रक्सन नेपाल जेभी योग्य रहेको भन्दै कम्पनीले आशयपत्र जारी गरेको हो ।

Hope IVF
Global IME Updated May 12
Sunrise bank

चित्त नबुझेको खण्डमा आशयपत्रमाथि सिनो हाइड्रो कर्पोरेसनले १५ दिनभित्र सार्वजनिक खरिद पुनरावलोकन समितिमा उजुरी दिन सक्नेछ । आशयपत्रमाथि कुनै उजुरी आएन भने जियाङ्सी र एएनके जेभीसँग ठेक्का सम्झौता गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ । चीनको हेझाउ साङ्चेङ इलेक्ट्रिक पावर कम्पनीले साङ्चेङ जलविद्युत् आयोजना सकिएको पुष्टि गर्ने कुनै पनि प्रमाणपत्र जारी नगरेको र जियाङ्सी कन्स्ट्रक्सनले आफ्नो कम्पनीको नाम अनधिकृत प्रयोग गरेको भन्दै यही जेठ ७ मा ‘इमेल’ मार्फत जगदुल्ला कम्पनीलाई जानकारी गराएको छ ।

९० मेगावाटको साङ्चेङ जलविद्युत् आयोजना बनाउने भनिए पनि आर्थिक कारणले रद्द भएको र निर्माण नभएको इमेलमा उल्लेख छ ।

‘साङ्चेङ इलेक्ट्रिक पावर कम्पनी’ वा ‘साङ्चेङ जलविद्युत् स्टेसन’ को नाम वा झूटो दाबी गरी सम्झौता गर्ने वा फन्ड लिने काम गरिन्छ भने हाम्रो कम्पनी त्यसमा संलग्न छैन,’ इमेलमा भनिएको छ, ‘त्यस किसिमका कुनै गतिविधिका जिम्मेवारी लिँदैनौं ।’

जगदुल्ला हाइड्रोपावर कम्पनीले वैशाख ९ मा जियाङ्सी र एएनके जेभी र सिनो हाइड्रो योग्य रहेको भन्दै आर्थिक प्रस्ताव खोल्ने सूचना जारी गरेको थियो । २०८१ वैशाख २४ मा खोलेको आर्थिक प्रस्तावबाट सबैभन्दा कम मूल्य कबोल गरेपछि ठेक्का जियाङ्सी र एएनके जेभीले पाउने भएका छन् । कम्पनीले गत माघ ६ मा पुनः आयोजनाको ठेक्का प्रक्रिया आह्वान गरेको थियो । सिनो हाइड्रो, सिउ इन्फ्रास्ट्रक्चर र हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन जेभी, जियाङ्सी र एएनके जेभी, फेवा कन्स्ट्रक्सन र टूएमजी इनसाट मेडिनक्लाक जेभीले आवेदन दिएका थिए ।

जगदुल्ला कम्पनीले गत जेठ २० मा सिभिल र हाइड्रो मेकानिकलतर्फको ठेक्का आह्वान गरेको थियो । उक्त ठेक्काका लागि हाई हिमालयन हाइड्रो र एजीई कम्पनीे जेभी, शर्मा र झोङदिङ इन्टरनेसनल जेभी, रेल विकास निगम, पटेल इन्जिनियरिङ र लामा कन्स्ट्रक्सन जेभी, रामेछाप शेर्पा कन्स्ट्रक्स र सोमा इन्टरप्राइजेज जेभी, सिनो हाइड्रो, ओम इन्फ्रा र फेवा कन्स्ट्रक्सन जेभी गरी सात कम्पनीले आवेदन दिएका थिए । तर प्राविधिक प्रस्तावमा कुनै पनि कम्पनी पास नभएपछि गत पुस २२ मा ठेक्का रद्द गरिएको जगदुल्ला कम्पनीको दाबी थियो ।

सस्तो बन्दै मोबाइल ब्रोडब्यान्ड, फिक्स्ड ब्रोडब्यान्ड अझै पनि महँगो

Highlights

  • सन् २०१८ यता फिक्स्ड ब्रोडब्यान्ड सेवाको तुलनामा मोबाइल ब्रोडब्यान्ड सेवा तीन गुणाले पहुँचयोग्य

काठमाडौँ — पछिल्लो समय प्रायः देशमा मोबाइल ब्रोडब्यान्ड सेवा सस्तो बन्दै गएको तर फिक्स्ड ब्रोडब्यान्ड सेवा अझै पनि कैयौं मानिसको पहुँचभन्दा बाहिर रहेको पाइएको छ । संयुक्त राष्ट्रसंघअन्तर्गतको इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आईटीयू) ले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०१८ यता फिक्स्ड ब्रोडब्यान्ड सेवाको तुलनामा मोबाइल ब्रोडब्यान्ड सेवा तीन गुणाले पहुँचयोग्य (एफोर्डेबल) बनेको छ ।

विश्वभर मोबाइल इन्टरनेट सेवाको मूल्य सन् २०२२ मा प्रतिव्यक्ति कुल राष्ट्रिय आयको १४.१ र सन् २०२४ मा १७.९ प्रतिशतले घटेको ‘द एफोर्डाबिलिटी अफ आईसीटी सर्भिसेज’ प्रतिवेदनमा उल्लेख छ । यही अवधिमा फिक्स्ड ब्रोडब्यान्ड सेवाको मूल्य भने वार्षिक रूपमा प्रतिव्यक्ति कुल राष्ट्रिय आयको ९.४ प्रतिशतले मात्रै घटेको थियो । अफ्रिकामा मोबाइल सेवाको मूल्य प्रतिव्यक्ति कुल राष्ट्रिय आयको ३ देखि ७ प्रतिशत पर्ने र फ्रिक्स्ड ब्रोडब्यान्ड सेवा भने सबैभन्दा महँगो प्रतिव्यक्ति कुल राष्ट्रिय आयको १४ प्रतिशत बराबर रहेको प्रतिवेदनमा उल्लेख छ ।

स्मार्टफोन, ट्याब्लेट वा वाईफाई डिभाइस प्रयोग गरेर थ्रीजी, फोरजी, फाइजीजस्ता मोबाइल नेटवर्कमार्फत प्रदान गरिने इन्टरनेट सेवा मोबाइल ब्रोडब्यान्ड हो । यसका लागि सिमकार्ड वा मोबाइल डेटा प्याक आवश्यक पर्छ । फिक्स्ड ब्रोडब्यान्ड भनेको चाहिँ अप्टिकल फाइबर, एडसीएल वा केबलमार्फत घर वा कार्यालयहरूमा जडान गरिने इन्टरनेट सेवा हो । यसमा राउटरले विभिन्न उपकरणमा इन्टरनेट वितरण गर्छ ।

एसिया प्यासिफिक क्षेत्रमा मोबाइल ब्रोडब्यान्ड सेवाको मूल्य प्रतिव्यक्ति कुल राष्ट्रिय आयको २ प्रतिशतभन्दा कममा झरे पनि फिक्स्ड ब्रोडब्यान्ड अझै २ प्रतिशतभन्दा माथि रहेको देखिन्छ । अमेरिकामा भने फिक्स्ड ब्रोडब्यान्डको समेत उल्लेखनीय रूपमा मूल्य घटेको छ । प्रतिव्यक्ति कुल राष्ट्रिय आयको २ प्रतिशतभन्दा माथिलाई महँगो मानिन्छ । यस हिसाबले युरोपमा मोबाइल र फिक्स्ड दुवै इन्टरनेट सेवा सर्वसुलभ र राम्रो स्थितिमा देखिएका छन् । त्यहाँ मोबाइल सेवा र फिक्स्ड ब्रोडब्यान्डको शुल्क प्रतिव्यक्ति कुल राष्ट्रिय आयको क्रमशः ०.५ प्रतिशत र १.१ प्रतिशत छन् ।

आईटीयू र युनेस्कोको संयुक्त ब्रोडब्यान्ड आयोगले सन् २०२५ सम्म विकासोन्मुख देशहरूमा सुरुवाती चरणको ब्रोडब्यान्ड सेवाको मूल्य प्रतिव्यक्ति मासिक कुल राष्ट्रिय आयको २ प्रतिशतभन्दा कममा उपलब्ध गराउने लक्ष्य लिएको थियो । उक्त लक्ष्य मोबाइल सेवाको हकमा धेरै देशले पूरा गरिरहे पनि फिक्स्ड ब्रोडब्यान्ड सेवाको हकमा अझै धेरै देश पछि परेको आईटीयूको दूरसञ्चार विकास ब्युरोका निर्देशक कसमस लकिसन जाभाजाभाले औंल्याएका छन् ।

Hope IVF
Global IME Updated May 12
Sunrise bank

नेपालले मोबाइल ब्रोडब्यान्ड सेवाको हकमा लक्ष्य पूरा गरिसकेको प्रतिवेदनमा देखिन्छ । यहाँ कम्तीमा २ जीबी डेटा हुने मोबाइल इन्टरनेट सेवा मासिक कुल राष्ट्रिय आयको २ प्रतिशतभन्दा कम शुल्कमा उपलब्ध छ । यसले मोबाइल इन्टरनेटको पहुँच बढ्दो क्रममा रहेको र प्रयोगकर्ताले अपेक्षाकृत सस्तो दरमा सेवा पाउन थालेको देखाउँछ । तर मोबाइल सेवाको मूल्य राष्ट्रिय औसतभन्दा सस्तो भए पनि न्यून आय हुने प्रयोगकर्ताका लागि अझै पनि महँगो मानिएको छ ।

प्रतिवेदनअनुसार नेपाल ती देशहरूमध्ये पर्छ, जहाँ असमान आयका कारण सेवा सस्तो देखिए पनि अधिकांश प्रयोगकर्ताका लागि महँगो छ । तुलनात्मक रूपमा मूल्य सस्तो रहे पनि इन्टरनेट प्रयोग नै कम रहेको देशमा नेपाललाई राखिएको छ । विश्वभर फिक्स्ड ब्रोडब्यान्डको गुणस्तर सुधारिएको भए पनि न्यून आय भएका देशहरूमा स्पिड अझै पनि १० एमबीपीएसभन्दा कम रहेको पाइएको छ । सन् २०२४ मा नेपालजस्ता देशमा औसत स्पिडमा खासै सुधार देखिएको छैन ।

प्रतिवेदनमा उल्लेख भएअनुसार उच्च आय भएका देशमा भने फिक्स्ड ब्रोडब्यान्डको मासिक शुल्क राष्ट्रिय कुल आयको १ प्रतिशत बराबरमा झरेको छ । निम्न आय भएका देशहरूमा यो दर अझै पनि २९ प्रतिशतभन्दा बढी छ । नेपालजस्ता तल्लो–मध्यम आय भएका देशमा यो समस्या अझै गम्भीर मानिएको छ । किनभने यहाँ धेरै उपभोक्ताले फिक्स्ड ब्रोडब्यान्ड सेवा खरिद गर्न सक्दैनन् ।

फिक्स्ड ब्रोडब्यान्ड सेवाको गुणस्तरमा भने पछिल्ला वर्षमा सुधार देखिएको छ । ‘औसत डाउनलोड स्पिड उल्लेखनीय रूपमा बढेको र सेवा प्रवाह फाइबर वा हाइब्रिड केबलमार्फत हुने क्रम पनि विस्तार भएको पाइन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘तर, यस्तो प्रविधिको विस्तार सबै देशमा समान रूपमा भएको छैन ।’ नेपालमा पनि कपर तार हटाएर सेवा प्रदायकहरूले अप्टिकल फाइबर प्रयोगलाई बढाएका छन् । नेपाल टेलिकमले कपर बेस्ड नेटवर्कलाई फाइबर टु द होम प्रविधिमा रूपान्तरण गर्ने कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । कम्पनीले गत माघमा आफ्नो २१ औं वार्षिकोत्सवमा कर्णालीलाई कपर नेटवर्करहित प्रदेश घोषणासमेत गरेको थियो ।

आईटीयूले इन्टरनेट सेवाको मूल्य मात्र नभएर, त्यसको गुणस्तर, सेवा पहुँच र आम्दानीको सापेक्ष लागतलाई समेत ध्यानमा राखेर मूल्यांकन गरिएको जनाएको छ । डिजिटल पहुँचका लागि मूल्य मात्रै सस्तो भएर नहुने बरु सेवा गुणस्तरीय, सुलभ र सर्वसुलभ हुनुपर्नेमा जोड दिएको छ ।

घरजग्गा कारोबारमा बैंक स्टेटमेन्टको प्रावधान एकै सातामा हट्यो

Highlights

  • घरजग्गा कारोबारमा खरिद–बिक्रीकर्ताको बैंक स्टेटमेन्ट अनिवार्य पेस गर्ने, राजस्व खातामा जम्मा गर्नुपर्ने र बैनाबट्टाको कागजमा खुलाउनुपर्नेलगायत प्रावधान प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको हस्तक्षेपपछि हटाइयो

काठमाडौँ — प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको चासो र व्यवसायीहरूको विरोधपछि सम्पत्ति शुद्धीकरण तथा आतंकवाद क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा जारी भएको निर्देशन २०८२ संशोधन गरिएको छ । उक्त निर्देशनबाट घरजग्गा किनबेचमा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटमेन्ट अनिवार्य पेस गर्नुपर्ने, केवाईसी भर्नुपर्नेलगायत ५ वटा प्रावधान हटाइएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले यही जेठ १३ मा स्वीकृत गर्दै जेठ १४ मा देशभरका भूमिसुधार तथा मालपोत कार्यालय र मालपोत कार्यालयहरूलाई यस सम्बन्धमा ‘सर्कुलर’ गरेको थियो । केवाईसी दोहोरो हुने भन्दै सरलीकरण गर्न हटाइएको भूमि मन्त्रालयका सचिव केदारनाथ शर्माले जनाए । ‘केवाईसी भर्नुपर्ने प्रावधान तत्काललाई हटाइएको छ,’ उनले भने ।

घरजग्गा कारोबारमा खरिद–बिक्रीकर्ताको बैंक स्टेटमेन्ट अनिवार्य पेस गर्ने, राजस्व खातामा जम्मा गर्नुपर्ने र बैनाबट्टाको कागजमा खुलाउनुपर्नेलगायत प्रावधान हटाइएको विभाग स्रोतको भनाइ छ ।

यसअघि ‘घरजग्गा खरिद–बिक्रीको कारोबार गर्दा सूचक संस्थाले खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको बैंक खातामा कारोबार बराबरको रकम जम्मा भएको प्रमाण लिखतसाथ संलग्न गर्नुपर्नेछ,’ निर्देशनमा भनिएको थियो । कारोबार रकमको प्रमाण भनिए पनि आममानिसले सम्पूर्ण बैंक स्टेटमेन्ट बुझ्दा हटाउन बाध्य भएको विभाग स्रोतले बताएको छ ।

Hope IVF
Global IME Updated May 12
Sunrise bank

‘सूचक संस्थाले घरजग्गा खरिद–बिक्रीको कारोबार गर्दा क्रेता तथा विक्रेता दुवैको केवाईसी फाराम भर्न लगाई लिखतसाथ सिस्टममा अपलोड गर्नुपर्नेछ । त्यस्ता केवाईसी फाराम भू–सेवा केन्द्र लागू भएका कार्यालयमा भू–सेवा केन्द्रले र भू–सेवा केन्द्र लागू नभएका कार्यालयमा कार्यालयको सर्भिस डेस्कले भर्न लगाई लिखतसाथ सिस्टममा अपलोड गर्नुपर्नेछ,’ निर्देशनमा भनिएको थियो । यसले दोहोरोपना हुने भन्दै हटाइएको विभागको दाबी छ ।

अब घरजग्गा खरिद–बिक्रीको कारोबार गर्दा १० लाखभन्दा माथि ५० लाख रुपैयाँसम्मको कारोबार बैंकिङ प्रणाली वा विद्युतीय भुक्तानी प्रणालीमार्फत गर्नुपर्नेछ । तर ५० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार विद्युतीय भुक्तानी प्रणालीमार्फत सोझै र चेकमार्फत गर्दा बिक्रीकर्ताका नाममा तयार गरिएको ‘गुड फर पेमेन्ट’ चेकमार्फत गर्नुपर्नेछ । उक्त व्यवस्थामा भने केही परिमार्जन गरिएको विभागले जनाएको छ ।

घरजग्गा कारोबारमा पालिकाले प्रमाणित गरेको बैनाबट्टाको कागज पेस गरे १० लाख रुपैयाँभन्दा बढीको बैनाबट्टा भए त्यस्तो रकम खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको खातामा बैंकिङ वा विद्युतीय प्रणालीमार्फत लेनदेन भएको विवरण बैनाबट्टाको कागजातसाथ पेस गर्न विभागले भनेको थियो । उक्त व्यवस्था पनि हटाइएको हो ।

‘बैंकमार्फत राजस्व दाखिला गर्ने व्यवस्था भएका कार्यालयको हकमा १० लाखभन्दा बढीको घरजग्गा कारोबार गर्दा लाग्ने रजिस्ट्रेसनबापतको शुल्क र दस्तुर खरिदकर्ताको खाताबाट र लाभकरबापतको राजस्व बिक्रीकर्ताको खाताबाट सम्बन्धित कार्यालयले तोकिदिएको राजस्व खातामा जम्मा गर्नुपर्नेछ,’ निर्देशनमा भनिएको थियो । उक्त प्रावधान पनि विभागले हटाएको हो ।

नेपाल फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ग्रे लिस्टमा परेको छ । उक्त सूचीबाट मुलुकलाई बाहिर निकाल्न नेपालले दुई वर्षको समय पाएको छ । यसका लागि कार्ययोजना पनि बनाएको छ । सोही कार्ययोजनाबमोजिम विभागले घरजग्गा कारोबार सम्बन्धमा सम्पत्ति शुद्धीकरण निर्देशन जारी गरेको हो । तर चौतर्फी दबाब आएपछि विभागको निर्देशन एक साता पनि टिक्न सकेन ।

मालपोत ऐन, २०३४ संशोधन गरेर घरजग्गासम्बन्धी कारोबार गर्न अनुमतिपत्र लिनुपर्नेलगायत व्यवस्था गरिसकेको छ । तर मालपोत नियमावली संशोधन भइसकेको छैन । विभागले नियमावली संशोधनका लागि पठाए पनि मन्त्रालयमै छ । अब यी विषयलाई मालपोत नियमावलीमा समावेश गरी कार्यान्वयनमा लगिने विभागले जनाएको छ ।

पतञ्जलि जग्गा प्रकरण : मन्त्रिपरिषद्को स्वीकृतिअघि नै किनिएको थियो हदबन्दीभन्दा बढी जग्गा

Highlights

  • गुठीको २५२ रोपनीसहित ५५४ रोपनी जग्गा पतञ्जलिले २८ कात्तिक २०६५ मै खरिद गरिसकेको थियो, हदबन्दीभन्दा बढी जग्गा किन्न मन्त्रिपरिषद्ले १८ माघ २०६६ मा मात्रै स्वीकृति दिएको थियो

काठमाडौँ — पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीले गुठी संस्थानको स्वामित्वमा रहेको साढे २ सय रोपनीसहित ५ सय ५४ रोपनी जग्गा गैरकानुनी रूपमा आफ्नो नाममा ल्याइसकेपछि मात्र मन्त्रिपरिषद्बाट हदबन्दी छुटमा जग्गा खरिद गर्न स्वीकृति लिएको पाइएको छ ।

पतञ्जलिले २४ मंसिर २०६४ देखि २८ कात्तिक २०६५ सम्ममा हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा खुलेको हो । मन्त्रिपरिषद्ले भने पतञ्जलिलाई हदबन्दी छुटमा जग्गा खरिद गर्ने अनुमति १८ माघ २०६६ मा मात्रै दिएको थियो ।

मालपोत, नापी, भूमिसुधार विभाग, मन्त्रालयलगायतको मिलेमतोमा पतञ्जलिले गरेको खरिद–बिक्रीलाई तत्कालीन मन्त्रिपरिषद्ले वैधता दिएको अख्तियारको अनुसन्धानमा भेटिएको हो । मुनाफा वितरण नगर्ने कम्पनीका रूपमा २० असोज २०६४ मा पतञ्जलि नेपालमा दर्ता भएको थियो । त्यसपछि ९ पुस २०६४ मा काभ्रेमा उद्योग खोल्न भनेर पतञ्जलिले ७ सय रोपनी जग्गा हदबन्दी छुटमा किन्न भूमिसुधार मन्त्रालयलाई निवेदन दिएको थियो ।

११ फागुन २०६४ मा मन्त्रालयले यो पत्र भूमिसुधार विभागलाई पठाएको थियो । त्यसपछि पत्र काभ्रे मालपोतमा पुगेको थियो ।२५ असार २०६५ मा तीन ठाउँमा ७ सय रोपनी जग्गा खरिद गरे कुनै विवाद नहुने भनी मालपोत काभ्रेले सरजमिन मुचुल्का उठाएर भूमिसुधार विभागलाई पठाएको थियो ।

Hope IVF
Global IME Updated May 12
Sunrise bank

त्यसपछि २८ कात्तिक २०६५ सम्ममा हाल बनेपा नगरपालिकाअन्तर्गत पर्ने साविकका साँगा, महेन्द्रज्योति र चलाल गणेशस्थान गाविसअन्तर्गत ५ सय ५४ रोपनी ५ आना १ पैसा जग्गा पतञ्जलिले खरिद गरिसकेको थियो । पतञ्जलिले खरिद गरेको जग्गामध्ये २ सय ५२ रोपनी ३ आना १ पैसा गुठी संस्थान ‘हिटीचोक गुठी’ को थियो । तर मालपोत र गुठी कार्यालय काभ्रेका कर्मचारीको मिलेमतोमा त्यो जग्गा कम्पनीका नाममा लगिएको थियो ।

जग्गा किनिसकेपछि १९ माघ २०६५ मा काभ्रे मालपोतले पतञ्जलिले हदबन्दी छुटमा जग्गा पाउने गरी भूमिसुधार विभागलाई पत्र पठाएको थियो । यसका लागि भूमिसुधार मन्त्रालय, भूमिसुधार विभाग, मालपोत कार्यालय काभ्रे र गुठी संस्थान शाखा कार्यालय काभ्रेका कर्मचारीहरूको मिलेमतो भएको अनुसन्धानबाट खुलेको छ ।

पतञ्जलिमा नामसारी गरिसकेको जग्गा कर्जा निकाल्ने प्रयोजनका लागि रोक्का राख्न १३ फागुन २०६५ मा सनराइज बैंकले मालपोतलाई पत्र पठाएको थियो । त्यसपछि १५ फागुनमा पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीका नाममा रहेको हदबन्दीभन्दा बढी जग्गा सुरक्षणबापत धितोमा राखी कर्जा निकालिएको थियो ।

पतञ्जलिले भने ११ मंसिर २०६६ मा मात्र हदबन्दी छुटमा जग्गा किन्न अनुमति मागेर निवेदन दिएको थियो । त्यहीबमोजिम विभागले ३० मंसिर २०६६ मा प्रक्रिया अघि बढाएको थियो । २२ पुस २०६६ मा भूमिसुधार मन्त्रालयले हदबन्दी छुटमा जग्गा खरिद गर्न स्वीकृति दिने प्रस्तावको टिप्पणी उठाएको थियो ।

दुई दिनपछि २४ पुसमा काभ्रेमा ८ सय १५ रोपनीसहित दाङमा ७५ बिघा, लमजुङमा ३ सय रोपनी, स्याङ्जामा २५० रोपनी, चितवनमा १५ बिघा, धनुषामा २५ बिघा, काठमाडौं उपत्यकामा १२५ रोपनी, बारा र पर्सामा ४० बिघा जमिन ५ वर्षभित्र खरिद गर्न स्वीकृति दिने प्रस्ताव मन्त्रिपरिषद्मा लगिएको थियो ।

मन्त्रिपरिषद्ले २९ पुसमा प्रस्ताव विधेयक समितिमा पठाएको थियो । तत्कालीन कानुनमन्त्री प्रेमबहादुर सिंह अध्यक्ष रहेको समितिबाट अनुमोदन भएपछि मन्त्रिपरिषद्ले १८ माघमा हदबन्दी छुटमा जग्गा किन्न दिने निर्णय गरेको थियो । विधेयक समितिको निर्णय भूमिसम्बन्धी ऐन २०२१ विपरीत रहेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।

हदबन्दी छुटमा जग्गा किन्ने निर्णय भएको महिना दिन नबित्दै १७ फागुन २०६६ मा हदबन्दीभन्दा बढी जग्गा बिक्री/सट्टापट्टा गर्न पाऊँ भनी पतञ्जलि नेपाल प्रमुख शालिग्राम सिंहले भूमिसुधार मन्त्रालयमा निवेदन दिएका थिए ।

निवेदनबमोजिम तत्कालीन भूमिसुधारमन्त्री डम्बर श्रेष्ठले १ चैत २०६६ मा ‘प्रधानमन्त्रीको मौखिक आदेशअनुसार’ भनी जग्गा बिक्री प्रस्तावको टिप्पणी सदर गरेर मन्त्रिपरिषद्मा पेस गरेका थिए । त्यहीअनुसार ६ चैत २०६६ मा माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले जग्गा बिक्री गर्न स्वीकृति दिएको थियो ।

अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार मन्त्रिपरिषद्को निर्णय जतिसक्दो छिटो कार्यान्वयन गर्न तत्कालीन मुख्यसचिव माधव घिमिरेले ताकेता गरेका थिए । सोही ताकेताअनुसार १७ चैतमा तत्कालीन सचिव छविराज पन्तले मन्त्रिपरिषद्को व्यहोरासहितको पत्र विभागलाई पठाएका थिए ।

मन्त्रिपरिषद्को निर्णय कानुनअनुसार नभएको भनी विभागका तत्कालीन महानिर्देशक केशरबहादुर बानियाँले इन्कार गरे । मन्त्रिपरिषद्ले २६ चैतमा बानियाँलाई स्पष्टीकरण सोध्यो । भोलिपल्ट २७ चैतमा मन्त्रालयबाट जितबहादुर थापालाई विभाग महानिर्देशक बनाएर पठाइयो । त्यसपछि मन्त्रिपरिषद् निर्णय कार्यान्वयन गरिएको थियो ।

‘पतञ्जलि, भूमि प्रशासन र मन्त्रिपरिषद्का पदाधिकारीको मिलेमतोमा सिलसिलेवार रूपमा हदबन्दी छुट जग्गा किनबेचसम्बन्धी निर्णय भएको देखिन्छ,’ अनुसन्धानमा संलग्न अख्तियारका एक अधिकारीले भने, ‘खासमा सबै कारोबारको टुंगो मन्त्रिपरिषद्बाट निर्णय गर्नुअगावै टुंग्याइसकेको देखिन्छ ।’

भूमिसम्बन्धी ऐन (२०५८ मा संशोधित) २०२१ अनुसार व्यक्तिले तराई क्षेत्रमा ११ बिघा, काठमाडौंमा २५ रोपनी र पहाडी क्षेत्रमा ७५ रोपनी जग्गा राख्न पाउँथ्यो । आठौं संशोधन (२०७६) मा भने व्यक्तिले तराई र भित्री मधेशमा १० बिघा, काठमाडौं उपत्यकामा २५ रोपनी र पहाडी क्षेत्रमा ७० रोपनीसम्म राख्न पाउने व्यवस्था गरेको छ । कुनै व्यक्ति वा निजको परिवारले घरबारीका निम्ति आवश्यक भए तराई र भित्री मधेशमा १ बिघा, काठमाडौं उपत्यकामा ५ रोपनी र उपत्यकाबाहेक पहाडी क्षेत्रमा ५ रोपनी जग्गा थप राख्न सक्छ ।

उद्योग/व्यवसाय/संस्थालगायत निश्चित प्रयोजनका लागि भने सरकारबाट अनुमति लिएर हदबन्दी छुटमा जग्गा राख्न पाइने कानुनी व्यवस्था छ । हदबन्दी छुटमा राखिएको जग्गा बिक्री गर्न पाइँदैन । पहिले तोकिएको प्रयोजनविपरीत रहे जग्गा सरकारकै नाममा फिर्ता हुनुपर्छ । पतञ्जलिको भने हदबन्दी छुटको जग्गा कानुन मिचेर सरकारी संयन्त्रकै आडमा हाउजिङ कम्पनी तथा विभिन्न व्यक्तिलाई बिक्री गरेको थियो ।

पतञ्जलिको जग्गा हिनामिना प्रकरणमा बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, तत्कालीन मन्त्रीद्वय डम्बर श्रेष्ठ र प्रेमबहादुर सिंह, तत्कालीन मुख्यसचिव माधव घिमिरे, तत्कालीन भूमिसुधार सचिव छविराज पन्त, भूमिसुधार विभागका तत्कालीन महानिर्देशकद्वय जितबहादुर थापा र केशरबहादुर बानियाँ तथा पतञ्जलि नेपालका प्रमुख शालिग्राम सिंहसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ ।

हदबन्दी छुटको जग्गा अपचलन अभियोगमा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना तथा बिगोबापतको रकम असुलउपर गर्न अख्तियारले मागदाबी गरेको छ । जग्गा जफत प्रयोजनका लागि २८ व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाइएको छ ।

पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीमा सुरुमा भारतीय योगगुरु रामदेव, आचार्य बालकृष्ण, राधेश्याम सर्राफ, राजेन्द्र सिंह र शालिग्राम सिंह सञ्चालक थिए । पछि कम्पनी सञ्चालक हेरफेर गरी राधेश्याम सर्राफको ठाउँमा उमेश सर्राफलाई समेटिएको थियो ।

नेपालमाथि राजनीतिक प्रतिशोध र षड्यन्त्र : एकीकृत समाजवादी

Highlights

  • प्रमाण जुटाएर कानुनी रूपमा अघि बढ्ने र राजनीतिक रूपमा प्रतिवाद गर्ने पदाधिकारी बैठकको निर्णय

काठमाडौँ — एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि भ्रष्टाचार मुद्दा चलाउनु राजनीतिक प्रतिशोध र षड्यन्त्र भएको बताएको छ । अख्तियारले बिहीबार नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि बसेको सचिवालय बैठकले पार्टी र अध्यक्षमाथि राजनीतिक प्रतिशोध एवं षड्यन्त्र भएको उल्लेख गर्दै राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ ।

समाजवादीले प्रधानमन्त्री केपी शर्मा ओलीको इसारामा प्रतिशोध साधेको आरोप लगाएको छ । भदौ २०७८ मा एमाले विभाजन भई एकीकृत समाजवादी गठन भएको थियो । ‘अध्यक्षमाथि मुद्दा लगाउनु राजनीतिक प्रतिशोध लिँदै षड्यन्त्रमूलक प्रहार भएको हाम्रो निष्कर्ष छ,’ उपाध्यक्ष प्रकाश ज्वाला भन्छन्, ‘हामी यसलाई राजनीतिक रूपमा प्रतिवाद गर्छौं ।’

नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भइसकेकाले तथ्य प्रमाण जुटाएर कानुनी रूपमा अघि बढ्ने निर्णय पदाधिकारी बैठकले गरेको छ । उनले मन्त्रिपरिषद्का नीतिगत निर्णय हालसम्म अख्तियारको क्षेत्राधिकारमा नरहेको उल्लेख गर्दै नेपालमाथि मुद्दा लगाउनुमा सरकारको छाया अख्तियारमा परेको दाबी गरेका छन् । ‘सरकारको छाया अख्तियारमा परेको हुनाले यो राजनीतिक प्रतिशोध र षड्यन्त्र भयो,’ ज्वाला भन्छन् ।

बैठकपछि महासचिव घनश्याम भुसालले विज्ञप्ति जारी गर्दै अध्यक्ष नेपालमाथि मुद्दा दायर गर्नु षड्यन्त्रकै निरन्तरता भएको आरोप लगाएका छन् । ‘वर्तमान सरकारले राजनीतिक बदलाको भावनाबाट प्रेरित रही हाम्रो पार्टीविरुद्ध विगतदेखि नै षड्यन्त्र गर्दै आएको विभिन्न बेलामा देखिएको र तिनलाई हामीले सार्वजनिक गर्दै आएका थियौं,’ उनले भनेका छन्, ‘यो हाम्राविरुद्ध षड्यन्त्रको अर्को घटना हो भन्ने हाम्रो ठहर छ । त्यस्तो कुनै पनि षड्यन्त्रको प्रतिवाद गरिनेछ ।’

मन्त्रिपरिषद्ले गरेको निर्णयमाथि अख्तियारले अनुसन्धान गर्नु गम्भीर विषय भएको समाजवादीको भनाइ छ ।

Hope IVF
Global IME Updated May 12
Sunrise bank

एकीकृतका नेता झलनाथ खनालले मन्त्रिपरिषद्को निर्णयमाथि अख्तियारले हात हाल्नु गम्भीर विषय भएको बताए । ‘अहिलेसम्म मन्त्रिपरिषद्का निर्णयलाई अख्तियारले यसरी मुद्दा चलाएको थिएन,’ खनालले भने । वरिष्ठ उपाध्यक्ष एवं पूर्वमुख्यमन्त्री राजेन्द्र पाण्डेले पार्टी अध्यक्ष नेपालमाथि राज्यले प्रतिशोध साधेको आरोप लगाएका छन् । ‘विगतमा भएका क्याबिनेट बैठकका निर्णय सबै भ्रष्टाचारजन्य केस बन्न सक्छन्, त्यसो हुनाले कोही पनि प्रधानमन्त्रीहरू बच्नेवाला छैनन् र अर्को कुरा कुनै पनि प्रधानमन्त्री वा क्याबिनेटले अब महत्त्वपूर्ण निर्णय गर्दैन,’ उनले भने ।

मुद्दा दायरपछि गृह जिल्ला रौतहटबाट काठमाडौं फर्केका पूर्वप्रधानमन्त्री नेपालले आफूमाथि लागेको मुद्दाबारे कानुनविद्सँग परामर्श गरेका थिए । उनले वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा र गोविन्द बन्दीसँग परामर्श गरेका थिए ।

पतञ्जलिजस्तो संस्थामा यस्तो होला भन्ने कल्पना थिएन

Political Vengeance and Conspiracy against Nepal: Integrated Socialists– माधवकुमार नेपाल, अध्यक्ष, एकीकृत समाजवादी

पतञ्जलि जग्गा प्रकरणमा तपाईंमाथि भ्रष्टाचारको आरोप लाग्यो नि ?

मैले कुनै किसिमको भ्रष्टाचार गरेको छैन, कसैसित अनुचित लाभ लिएको छैन । कुनै पनि मन्त्रीलाई अनुचित कार्य गर्न निर्देशन दिएको छैन । त्यसो गरेको भए प्रमाण पेस गरियोस् । जहाँसम्म पतञ्जलिजस्तो संस्थाको कुरा छ, स्वामी रामदेव र आचार्य बालकृष्णजस्ता व्यक्ति भएको ठाउँमा अनुचित काम त कसैले कल्पना पनि गर्न सक्दैन । मैले अनुचित हुने कुनै काम गरेको छैन । सबै कानुनले हेर्ने कुरा हो ।

एउटा टुक्रा पनि सरकारी जग्गा दिइएको छैन । हदबन्दीभन्दा माथिको कुरा भएको हो भने, उचित भएको छैन भने सबै जग्गा फिर्ता लिन सकिन्छ । त्यसैका आधारमा कुनै अपराध गरेको, नियत खराब भएको मान्न मिल्दैन । मन्त्रिपरिषद्बाट निर्णय भएको छ भने विभिन्न प्रक्रियाबाट सबै मन्त्रीले हेरेर त्यसलाई पास गरिएको होला, अघि बढाइएको होला । राष्ट्रलाई नोक्सानी हुने काम भएको छ/छैन मलाई थाहा छैन, त्यो भएको छ भने पनि त्यस्तो अनुचित कुरालाई छुट दिन सकिँदैन ।

अख्तियारले बयान लिँदा यो/त्यो कागज पुगेन भनेन र ?

मैले आफ्नोतर्फबाट कुनै बेठीक काम गरेको छैन । पतञ्जलिजस्तो संस्थामा यस्तो भएको होला भन्ने कल्पना पनि गरेको थिइनँ ।

यदि पूर्वाग्रही ढंगले मुद्दा दर्ता भएको हो भने फेरि ललिता निवास प्रकरण ब्युँतिन सक्ने सम्भावना कत्तिको छ ?

मैले बदमासी गरेको हुनुपर्‍यो नि ।

बदमासी नगर्दा पनि मुद्दा कसरी लाग्यो त ?

अब हेरौं के हुन्छ ।

मैले कुनै अपराध गरेको छैन भन्नुहुन्छ ? अनि अख्तियारले के अभियोग लगाएर मुद्दा दर्ता गर्‍यो ?

अब त्यो त के भएको हो, के छ, मलाई त्यति जानकारी छैन । म पनि कानुन व्यवसायीसित परामर्श गर्छु । कानुनमा के छ, त्यो बेला विभिन्न मन्त्रालयबाट के–के कागजपत्र आए, कसले के–के सिफारिस गरे, कसले लुपहोल्स राखे, त्यसमा ध्यान पुग्यो/पुगेन, यावत् कुरा नबुझी म केही भन्न सक्दिनँ ।

असल कामका लागि निर्णय गरेको भन्नुभयो, त्यसो भए यो मुद्दा पूर्वाग्रही ढंगबाट दर्ता भएको हो ?

म कसैलाई आरोप लगाउन चाहन्नँ । कुनै खराब नियतबाट भ्रष्टाचारका लागि आदेश दिने काम मबाट भएको छैन, हुँदैन पनि । यस्तो कुराको म विरोध गर्छु ।

तपाईंकै पार्टीका नेता राजेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मुद्दा दर्ता भएको भन्नुभएको छ, तपाईंको भनाइ के छ ?

यो त सिधा कुरा हो । मेरो राजनीतिक करियर समाप्त पार्न उहाँ (केपी शर्मा ओली) सुरुदेखि नै लाग्नुभएको हो । पटकपटक प्रयास गरेकै हो । उहाँ (ओली) बदलाको भावनाबाट चल्नुभएको छ ।

पतञ्जलिमा तपाईंमाथि मुद्दा चल्यो, गिरीबन्धु र शेरा दरबारको विषयमा तपाईंको धारणा के छ ?

अहिले केही बोले बदलाको भावनाले भन्छन् । आफूमाथि पर्दा यस्ता कुरा उठायो भन्छन् । हेरौं अब के हुन्छ । तर सबै हेर्ने न्यायालय छ । न्यायभन्दा ठूलो कुरा केही हुन सक्दैन । सत्यभन्दा ठूलो कुरा केही हुँदैन । नबिराउनु, नडराउनु भन्ने मान्यतामा म अडिग छु ।

अब तपाईंको सांसद पद निलम्बन भयो । पार्टी अध्यक्ष हुनुहुन्छ, आगामी यात्रा कस्तो हुन्छ ?

अब हेरौं । त्यसका निम्ति जे प्रक्रिया हुन्छ, म सामना गर्छु ।

पतञ्जलिको योगमा गडबडीले भ्रष्टाचारको अभियोग

Highlights

  • पतञ्जलि जग्गा प्रकरणमा १८ करोड ५८ लाख ५० हजार बिगो, बिगोबमोजिमकै जरिवाना र १० देखि १४ वर्षसम्म कैद सजाय माग
  • पतञ्जलिका नेपाल प्रमुख शालिग्राम सिंह, पूर्वमन्त्रीहरू : प्रेमबहादुर सिंह र डम्बर श्रेष्ठ, पूर्वमुख्यसचिव माधव घिमिरे, पूर्वभूमिसुधार सचिव छविराज पन्त, पूर्वसहसचिव जितबहादुर थापा, केशरबहादुर बानियाँ र लालमणि जोशीसहित ९३ जना प्रतिवादी
  • नीतिगत आवरणमा राज्य दोहन गर्नेहरू कुनै न कुनै दिन कानुनी फन्दामा पर्छन् भन्ने यो दरिलो उदाहरण हो, ज–जसले भ्रष्टाचार गरेका छन्,  क्रमशः सबैको पालो आउने पतञ्जलिको मुद्दाले स्पष्ट संकेत दिएको छ : शारदाप्रसाद त्रिताल, पूर्वसचिव
  • बनेपा र धुलिखेलमा रहेको ६ सय ३९ रोपनी ८ आना जग्गा जफत गर्न माग

काठमाडौँ — पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीले सरकारबाट पाएको हदबन्दी छुटको जग्गा हिनामिना अभियोगमा तत्कालीन प्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा दायर गरेको मुद्दामा पूर्वप्रधानमन्त्री नेपालमाथि १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो असुलउपर, बिगोबमोजिमकै जरिवाना र १० देखि १४ वर्षसम्म कैद सजाय मागदाबी गरिएको छ ।

अभियोगपत्रमा उच्च पदस्थ पदाधिकारीका हैसियतमा भ्रष्टाचार गरेकाले उनीमाथि थप ३ वर्ष कैद सजायको मागसमेत गरिएको छ । मुद्दा दायर भएसँगै पूर्वप्रधानमन्त्री नेपाल प्रतिनिधिसभा सदस्यबाट समेत निलम्बित भएका छन् ।

मुद्दाका अन्य प्रतिवादीमा तत्कालीन मन्त्रीद्वय प्रेमबहादुर सिंह र डम्बर श्रेष्ठ, तत्कालीन मुख्यसचिव माधव घिमिरे, तत्कालीन भूमिसुधार सचिव छविराज पन्त, पतञ्जलि नेपालका प्रमुख शालिग्राम सिंहलगायत छन् । अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले अनुसन्धानबाट खुलेका तथ्य र प्रमाणका आधारमा कसुरदार देखिएका विरुद्ध मुद्दा दायर गरिएको बताए ।

अख्तियारले प्रतिवादीविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी भूमिका र जिम्मेवारीअनुसार कसैलाई एकल र कतिपयलाई संयुक्त बिगो कायम गरी असुलउपर, बिगोबमोजिम जरिवाना र कैद सजाय मागदाबी गरेको छ ।

Hope IVF
Global IME Updated May 12
Sunrise bank

पतञ्जलि तथा विभिन्न व्यक्तिका नाममा रहेको बनेपाको ५ सय ५४ रोपनी ५ आना १ पैसा तथा धुलिखेलको ८५ रोपनी ३ आना २ दाम जग्गा जफत गर्न पनि अभियोगपत्रमा माग गरिएको छ ।

नेता नेपाल ११ जेठ २०६६ देखि २२ माघ २०६७ सम्म प्रधानमन्त्री भएका थिए । तत्कालीन प्रधानमन्त्रीसहितको संलग्नतामा हदबन्दी छुट जग्गा हिनामिना गरेको सम्बन्धी ‘पतञ्जलि जग्गा अपचलन प्रकरण’ बारे कान्तिपुरमा ६ असार २०८१ मा समाचार छापिएको थियो ।

समाचार सार्वजनिक भएपछि प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति, अख्तियार र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलगायत संयन्त्रबाट विस्तृतमा छानबिन अघि बढेकामा बिहीबार अख्तियारले पूर्वप्रधानमन्त्री नेपालसहितका प्रतिवादीविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो । केही साताअघि मात्र लेखा समितिले पनि यसमा अनुसन्धान गर्न अख्तियारलाई पत्र पठाएको थियो ।

२०४६ को राजनीतिक परिवर्तनपछि अदालतमा भ्रष्टाचार मुद्दा खेप्ने पूर्वप्रधानमन्त्रीमा नेपाल पहिलो हुन् । माघ २०६१ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन सत्ता हातमा लिएपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई मेलम्ची खानेपानी प्रकरणमा ‘भ्रष्टाचार निवारण शाही आयोग’ लगाएर पक्राउ गरे पनि पछि शाही आयोग खारेजसँगै उक्त आयोगबाट भएका कारबाहीको वैधता पनि खारेज भएको थियो ।

पञ्चायतकालमा भने तत्कालीन प्रधानमन्त्री तुल्सी गिरीविरुद्ध ‘गलैंचा निर्यात’ मा अनियमितता गरेको अभियोगमा भ्रष्टाचार मुद्दा लागेको थियो । पछि अदालतले गिरीविरुद्धको दाबी नपुग्ने फैसला गरेपछि उनले सफाइ पाएका थिए । बहुदल आएपछि भने पूर्वप्रधानमन्त्रीका रूपमा भ्रष्टाचार मुद्दा खेप्नेमा नेपाल पहिलो पूर्वप्रधानमन्त्री भएका छन् ।

पूर्वप्रधानमन्त्री नेपाल ललिता निवासको जग्गा हिनामिना प्रकरणमा समेत मुछिएका थिए । यसमा अर्का पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईमाथि पनि संलग्नताको आरोप लागेको थियो । तर अख्तियारले २२ माघ २०७६ मा विशेष अदालतमा मुद्दा दायर गर्दा उनीहरूलाई प्रतिवादी बनाएको थिएन । उनीहरूविरुद्ध मुद्दा नचाइएको विषयमा सर्वोच्च अदालतमा दायर रिट अझै विचाराधीन छ ।

विशेषले फागुन २०८० मा ललिता निवासको मुद्दा किनारा लगाउँदै १ सय ३४ जनालाई ठहर गरेको थियो । त्यस क्रममा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध मुद्दा नचलाइएकामा विशेषले प्रश्न उठाएको थियो । ‘प्रधानमन्त्रीको ओहदाको कर्तव्यको परिधिभित्र नपरेका कार्यका सम्बन्धमा यस्तो उन्मुक्ति हुन सक्दैन । ओहदाको कार्य गरेउपर मुद्दा खेप्नुपर्ने खतराबाट निर्णय प्रक्रिया प्रभावित हुन बाट रोक्न कार्यकारिणी उन्मुक्ति आवश्यक रहे पनि ओहदा बाहिरको कामका लागि उन्मुक्ति प्राप्त हुँदैन । शक्ति पृथकीकरणको सिद्धान्तले प्रधानमन्त्रीको ओहदा बाहिरको कार्यउपर अभियोजन गर्न रोकछेक गर्दैन,’ विशेषले फैसलामा भनेको थियो ।

पतञ्जलिको जग्गा विवादमा उजुरी परेपछि २०६८ मा पनि अख्तियारमा उजुरी परेको थियो । प्रारम्भिक छानबिन गरेर अख्तियारले २५ माघ २०६९ मा तामेलीमा राखेकामा पछिल्लो पटक भारतबाट पतञ्जलिकै नाममा डेढ अर्ब रुपैयाँ ल्याएर दुरुपयोग गरेको उजुरी परेपछि अख्तियारले पुनः पुरानो फाइल खोलेको थियो । पार्टी काममा रौतहटमा रहेका नेपालले मुद्दा दायरपछि बिहीबारै काठमाडौं फर्केर पार्टी कार्यालयमा कानुनविद्हरूसहित आकस्मिक बैठक राखेका थिए ।

पतञ्जलिलाई हदबन्दीभन्दा बढी सरकारी जग्गा किन्न दिन र उक्त हदबन्दीको जग्गा गैरकानुनी रूपमा हाउजिङ कम्पनीलाई बेच्न दिन माधवकुमार नेपाल सरकारले तत्कालीन मन्त्रिपरिषद्बाट निर्णय गरेको थियो । ‘राष्ट्रसेवकले आफ्नो ओहदाको दुरुपयोग गरी पतञ्जलिलाई गैरकानुनी र बदनियतपूर्ण रूपमा हदबन्दीभन्दा बढी सरकारी सार्वजनिक कायम हुने जग्गा व्यक्ति तथा कम्पनीमा हस्तान्तरण गरी निजी प्रयोग/प्रचलनमा लैजान निर्णय गराएकामा’ पूर्वप्रधानमन्त्री नेपालसहितका उच्च पदस्थ पदाधिकारीलाई अभियोगपत्रमा मुख्य कसुरदार बनाइएको छ ।

तत्कालीन प्रधानमन्त्री नेपाल, तत्कालीन कानुनमन्त्री सिंह, तत्कालीन भूमिसुधारमन्त्री श्रेष्ठ (निधन भइसकेकाले छोरा सन्तोष), तत्कालीन मुख्यसचिव घिमिरे (निधन भएकाले पत्नी कमला घिमिरे) लाई छुट्टाछुट्टै बिगो कायम गरी मुद्दा दायर गरिएको छ । मृत्यु भएका बाहेकको हकमा प्रत्येकलाई १८ करोड ५८ लाख ५० हजार रुपैयाँका दरले छुट्टाछुट्टै बिगो असुलउपर, बिगोबमोजिम नै जरिवाना र १० वर्षदेखि १४ वर्षसम्म कैद सजाय माग गरिएको छ ।

तत्कालीन भूमिसुधार सचिव पन्त, सहसचिवहरू जितबहादुर थापा र लालमणि जोशीविरुद्ध एकमुष्ट बिगो तथा बिगोबमोजिम जरिवाना र १० देखि १४ वर्षसम्म कैद सजाय माग गरिएको छ । यस कसुरमा नेपाल सरकारका संवैधानिक अंग, निकाय, राष्ट्रपतिबाट मनोनीत, नियुक्ति, संस्थान प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीको ओहदामा रहेर कसुर गरेकामा भ्रष्टाचार निवारण ऐनको दफा २४ अनुसार थप ३ वर्ष कैद सजाय गर्न पनि अख्तियारको माग छ ।

यसैगरी भूमिसुधार मन्त्रालयका तत्कालीन उपसचिव कलानिधि पौडेल, गान्धीप्रसाद सुवेदी र हुपेन्द्रमणि केसीविरुद्ध एकमुष्ट बिगो, बिगोबमोजिम जरिवाना र १४ वर्षसम्म कैद हुनुपर्ने माग छ । भूमिसुधार विभागका तत्कालीन महानिर्देशक केशरबहादुर बानियाँविरुद्ध १० देखि १४ वर्षसम्म कैद, बिगो असुल, बिगोबमोजिम जरिवाना र थप ३ वर्ष कैद सजाय माग गरिएको छ ।

भूमिसुधार विभागका तत्कालीन उपसचिव राजाराम थापा, अधिकृत सीताराम पोखरेल र नासु बुद्धिबहादुर कार्कीविरुद्ध एकमुष्ट बिगो, त्यसैबमोजिम जरिवाना, कैद सजाय हुनुपर्ने अभियोगपत्रमा उल्लेख छ ।

मालपोत कार्यालय काभ्रेका तत्कालीन अधिकृत प्रेमबहादुर देसारविरुद्ध एकल तथा तत्कालीन नासु केदारप्रसाद भट्टराई र मोहनराम शर्माविरुद्ध एकमुष्ट बिगो, त्यसबमोजिम जरिवाना र कैद सजाय मागदाबी छ । काभ्रेका तत्कालीन प्रमुख मालपोत अधिकृत जनार्दन गुरागाईं, अधिकृत वेदप्रसाद अर्याल र शिवहरि शर्मा सुवेदी, नासुहरू विनोद कोइराला, तुलामणि राजभण्डारी, कृष्णप्रसाद सापकोटा र हरिप्रसाद हुमागाईंविरुद्ध एकमुष्ट बिगो कायम गरिएको छ । उनीहरूविरुद्ध बिगो, त्यसबमोजिम जरिवाना र कैद सजाय माग छ ।

गुठी संस्थान काभ्रेका तत्कालीन कामु प्रमुख कृष्णहरि भट्टराई, वरिष्ठ सहायक पवन आचार्य र फाँटवाला माधवप्रसाद होमागाईंविरुद्ध १३ करोड १२ लाख ६० हजार रुपैयाँ बिगो, बिगोबमोजिम जरिवाना र कैद सजाय माग छ ।

हदबन्दी छुट जग्गा गैरकानुनी रूपमा धितो राखी कर्जा दिलाएको अभियोगमा तत्कालीन सनराइज बैंक लिमिटेडका जुनियर म्यानेजमेन्ट ट्रेनी एसु मैनाली, उपप्रबन्धक मनोज न्यौपाने, वरिष्ठ सहायक विक्रान्त कोइराला, प्रमुख व्यवस्थापक रवीनकुमार नेपाल, सहायक महाप्रबन्धक आशा राणा अधिकारी, जोखिम व्यवस्थापन विभाग प्रमुख सञ्जयकुमार सिद्धि, अनुपालन विभागका सुनीलरत्न स्थापित र नायब महाप्रबन्धक बलराम विष्टविरुद्ध पनि अख्तियारले मुख्य कसुरदारसरह बिगो, त्यसबमोजिम जरिवाना र कैद सजाय माग गरेको छ ।

हदबन्दी छुट जग्गा हिनामिनामा मतियार भएर काम गरेकामा पतञ्जलि योगपीठ नेपालका प्रमुख शालिग्राम सिंहलाई मुख्य कसुरदारसरह १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो, कैद र बिगोबमोजिमकै जरिवाना माग गरिएको छ ।

प्रतिवादीहरू भोजराज शर्मा वाग्लेलाई ६ करोड ७० लाख, जीवराज कँडेललाई ६५ लाख, ध्रुवराज थापालाई ५ करोड ९४ लाख ५० हजार, मनु घिमिरेलाई २ करोड ६० लाख, ओमप्रकाश वंशललाई ८७ लाख, भीमदत्त जोशीलाई ९० लाख, वीरेन्द्रलाल श्रेष्ठलाई ७८ लाख र लक्ष्मण कार्कीविरुद्ध १४ लाख रुपैयाँ बिगो कायम गरी बिगो असुली, बिगोअनुसारकै जरिवाना र कैद सजाय मागिएको छ ।

पतञ्जलिको जग्गा गैरकानुनी किनबेच प्रक्रियामा संलग्न गुठी संस्थान शाखा कार्यालयका तत्कालीन प्रमुख वैकुण्ठप्रसाद रेग्मी, फाँटवाला माधवप्रसाद होमागाईं र कार्यालय सहायक राजकुमार सिग्देलविरुद्ध पनि भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ९ को ‘गलत लिखत’ तयार पारेको कसुरमा कैद र जरिवाना मागदाबी छ । उनीहरूविरुद्ध ३ महिनादेखि १ वर्षसम्म कैद र १० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना मागिएको छ ।

बिगो खुलेको बाहेक पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालका शालिग्राम सिंहविरुद्ध गलत लिखत तयार पार्न कर्मचारीसँगै मतियारका रूपमा काम गरेकामा पनि मुख्य प्रतिवादीसरह नै कैद र जरिवाना मागदाबी छ ।

हदबन्दीभन्दा बढी जग्गा धितो राखी तत्कालीन सनराइज बैंकबाट कर्जा प्रवाह गरेकामा काभ्रे मालपोतका विनोद कोइराला, रामकृष्ण खत्री, हरिशरण श्रेष्ठ, रामकाजी श्रेष्ठ र बद्रीप्रसाद हुमागाईं तथा गुठी संस्थान काभ्रेका पवन आचार्य र मतियारका रूपमा काम गरेकामा सनराइज बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत किशोर महर्जन, सहायक महाप्रबन्धक नीता प्रधान, जोखिम विभागका अधिकृत सुजित पोखरेल, शाखा प्रबन्धक राजीव सापकोटा, अधिकृत ममता पराजुलीलाई पनि कैद र जरिवानाको माग गरिएको छ ।

काभ्रे मालपोतका अरू १३ कर्मचारीलाई पनि लिखत किर्तेमा प्रतिवादी बनाइएको छ । मालपोत कार्यालयका तत्कालीन अधिकृत प्रेमबहादुर देसार, शाखा अधिकृत नवराज बस्नेत, नासुहरू रामकृष्ण खत्री, केदारनाथ भट्टराई, विनोद कोइराला, विष्णुप्रसाद होमागाईं, रामकाजी श्रेष्ठ, हरिशरण श्रेष्ठ, रामप्रसाद सत्याल र कृष्णप्रसाद सापकोटा तथा खरिदारहरू बद्रीप्रसाद हुमागाईं, पुष्पकुमार पौडेल र रोसकाजी जस्पाउविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ९ को ‘गलत लिखत’ तयार पारेको कसुरमा ३ महिनादेखि १ वर्षसम्म कैद र १० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना माग गरिएको छ ।

५५४ रोपनी जफत गर्न दुई कम्पनी र २८ व्यक्तिविरुद्ध मुद्दा

बनेपामा रहेको हदबन्दी छुट जग्गा गैरकानुनी रूपमा किनबेच गरी आफ्नो नाममा राखेका दुई कम्पनी र २८ व्यक्तिविरुद्ध जग्गा जफत प्रयोजनका लागि अख्तियारले मुद्दा दायर गरेको छ । पतञ्जलिमार्फत किनबेच भएको बनेपाको ५ सय ५४ रोपनी ५ आना १ पैसा जग्गा जफत गर्न उनीहरूलाई प्रतिवादी बनाएको हो ।

अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रअनुसार हदबन्दी छुट जग्गा हाल आफ्ना नाममा राखेकाहरू पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपाल र सुसम्पन्न हाउजिङलाई प्रतिवादी बनाइएको छ ।

यस्तै, भोजराज शर्मा वाग्ले, जीवनराज कँडेल, ओमप्रकाश वंशल, लक्ष्मण कार्की, गुप्तराज कोइराला, दामोदर अधिकारी, म्लाङ दोङ तामाङ, नमिता भण्डारी, निर्मला पौडेलविरुद्ध पनि जग्गा जफत प्रयोजनका लागि मुद्दा चलाइएको छ ।

अख्तियारले बद्रीभक्त नाऐभा, वासुदेव थापा, यादवप्रसाद जोशी, राकेश सुवाल, राजेश त्वायना, राजेश साँद, रोशनी लक्ष्मी तुइतुई, लक्ष्मीकेशरी जाकीबञ्जार र सुरेन्द्रकुमार कोइरालालाई सोही प्रयोजनका लागि मुद्दा दायर गरेको छ । यसैगरी शिवहरि थापा, अमित श्रेष्ठ, तुल्सीराम सुवाल, नारायणकृष्ण जोशी, न्हुछेरत्न खाइतु, प्रकाश खाइजु, मीनु सुवाल, विक्रम प्रजापति, शिवनाथ त्वाना बासु र मञ्जु कवाँलाई अख्तियारले प्रतिवादी बनाएको छ ।

धुलिखेलमा जग्गा किनबेच गर्नेविरुद्ध पनि मुद्दा

बनेपाको हदबन्दी छुट जग्गा गैरकानुनी रूपमा बिक्री गरेर धुलिखेलमा खरिद गर्ने कार्यमा संलग्न २ कम्पनी र मालपोत कार्यालय धुलिखेलका कर्मचारीविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ । ‘चौतारामा प्रालि’ का नामबाट हदबन्दीभन्दा बढी ८५ रोपनी ३ आना २ दाम जग्गा खरिद गरी पतञ्जलिका नाममा गैरकानुनी रूपमा ल्याइएको देखिएको भन्दै चौतारामा, पतञ्जलि र मालपोतका कर्मचारीलाई थप सजाय मागदाबी गरिएको छ ।

अख्तियारले उक्त कसुरमा तत्कालीन जिल्ला मालपोत प्रमुख वेदप्रसाद अर्याल, अधिकृत उमेशराज दाहाल, नायब सुब्बाहरू तुलामणि राजभण्डारी, जीवरमण उप्रेती र मोहनप्रसाद पराजुलीलाई एकमुष्ट ५१ लाख रुपैयाँ बिगो, बिगोबमोजिम जरिवाना र कैद सजाय मागदाबी गरेको छ ।

चौतारामा प्रालि र यसका संस्थापक सदस्यद्वय विश्वरत्न शाक्य र शेखरकुमार राणाविरुद्ध पनि सोही बिगो मागदाबी गरिएको छ । जग्गा हिनामिनामा मतियारका रूपमा काम गरेको भन्दै पतञ्जलि नेपालका संस्थापक राधेश्याम सर्राफलाई प्रतिवादी बनाई ५१ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ । उनको निधन भइसकेका कारण अख्तियारले बिगोबमोजिम जरिवाना र बिगो बराबरको रकम असुलउपर गर्न उनका छोरा अरुणकुमारलाई प्रतिवादी बनाएको छ ।

भारतीय योगगुरु रामदेवको पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीले उद्योग खोल्न २०६६ सालमा काभ्रेको बनेपा नगरपालिकाअन्तर्गत नासिकास्थान, साँगा, महेन्द्रज्योति र चलाल गणेशस्थान क्षेत्रमा गरी ५ सय ९३ रोपनी ५ आना ३ पैसा जग्गा खरिद गरेको थियो । जग्गा किन्न १८ माघ २०६६ को मन्त्रिपरिषद् बैठकले पतञ्जलिलाई स्वीकृति दिएको थियो । तर त्यसको दुई महिना नबित्दै ६ चैत २०६६ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले मन्त्रिपरिषद्बाट अर्को निर्णय गराएर जग्गा बिक्रीको बाटो खोलिदिएका थिए ।

त्यसपछि पतञ्जलिले विभिन्न व्यक्ति तथा हाउजिङ कम्पनीलाई जग्गा बिक्री गरेको थियो । हदबन्दी छुट जग्गा गैरकानुनी रूपमा खरिद–बिक्री अनुमति दिँदा नेपाल नेतृत्वको मन्त्रिपरिषद्मा श्रेष्ठ भूमिसुधारमन्त्री, सिंह कानुनमन्त्री, घिमिरे मुख्यसचिव र पन्त भूमिसुधार सचिव थिए । यस प्रकरणमा उनीहरूको सिलसिलेवार संलग्नता देखिएको छ ।

हदबन्दी छुटमा किनेको जग्गा बेच्ने अनुमति माग्दै पतञ्जलि नेपाल प्रमुख सिंहले १७ फागुन २०६६ मा मन्त्री श्रेष्ठलाई सम्बोधन गरी निवेदन दिएका थिए । त्यसपछि चरणबद्ध प्रक्रियाबाट फाइल खडा गरी मन्त्रिपरिषद्मा प्रस्ताव लगिएको थियो । पतञ्जलिले किनेको हदबन्दी छुट जग्गा बिक्रीको बाटो खोल्न तत्कालीन मन्त्री श्रेष्ठलाई तत्कालीन प्रधानमन्त्री नेपालले नै निर्देशन दिएका थिए, जसलाई मन्त्री श्रेष्ठले ‘मन्त्रिपरिषद्मा पेस गर्ने प्रस्ताव’ मै उल्लेख गरेका थिए, यस तथ्यलाई अख्तियारले प्रधानमन्त्रीका रूपमा नेपालले गरेको गैरकानुनी कार्य भनी समावेश गरेको छ ।

१ चैत २०६६ मा मन्त्रालयबाट पठाइएको प्रस्ताव सदर गर्दै तत्कालीन मन्त्री श्रेष्ठले ‘निवेदकको मागबमोजिम जग्गा बेचबिखन गरी सट्टापट्टा गर्न स्वीकृतिका लागि सम्माननीय प्रधानमन्त्रीज्यूबाट प्रस्ताव ल्याउन मौखिक रूपमा निर्देशन दिएको हुँदा सोअनुसार मन्त्रिपरिषद्मा पेस गर्न स्वीकृत’ भनेर रायसहित टिप्पणी लेखेका थिए ।

त्यसपछि मन्त्रिपरिषद्ले ६ चैतमा ‘पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपाललाई हदबन्दीभन्दा बढी जग्गाको बेचबिखन गरी सट्टाभर्ना गर्न स्वीकृति दिने’ निर्णय गरेको थियो । त्यसको १२ दिनपछि १८ चैत २०६६ मा तत्कालीन प्रधानमन्त्री नेपालले धुलिखेलमा ८८ रोपनी जग्गा किनेर पतञ्जलिले बनाउन लागेको संरचनाको शिलान्यास गरेका थिए ।

भूमिसुधार विभागका तत्कालीन महानिर्देशक केशरबहादुर बानियाँले भने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनमा ‘असहयोग’ गरी फाइल मन्त्रालयमै फर्काइदिएका थिए । पछि २६ चैतमा मन्त्रिपरिषद्ले पुनः अघिल्लो निर्णय कार्यान्वयन गर्न ताकेता गरे पनि अघि बढ्न सकेन । मन्त्रिपरिषद्को निर्णयमा चुनौती दिएको आरोपमा बानियाँलाई २७ चैतमा जिम्मेवारीबाट हटाइएको थियो । त्यसपछि मन्त्रालयबाट सहसचिव जितबहादुर थापालाई महानिर्देशकको जिम्मेवारी दिएर योजनाबद्ध रूपमा जग्गा बिक्री प्रक्रिया अघि बढाइएको थियो ।

आरोपितसँग बयानसहित विस्तृत अनुसन्धान गरेको अख्तियारले गत चैत पहिलो साता पूर्वप्रधानमन्त्री नेपालसँग बयान लिएको थियो । यस प्रकरणमा प्रतिवादी बनाइएका तत्कालीन भूमिसुधारमन्त्री श्रेष्ठको ३० असोज २०८१ मा निधन भइसकेको छ ।

यसमा प्रतिवादी बनाइएका पूर्वमुख्यसचिव घिमिरे २०७३ मा सवारी दुर्घटनामा त्रिशूली नदीमा खसेर बेपत्ता छन् । पतञ्जलि प्रकरणमै प्रतिवादी बनाइएका राधेश्याम सर्राफको निधन भइसकेको छ । निधन भएकाको हकमा कैद सजाय मिनाहा हुने भए पनि बिगोको हकमा निजका नजिकका तीन जना हकदारलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ ।

पूर्वसचिव शारदाप्रसाद त्रिताल पतञ्जलि जग्गा हिनामिनामा मुख्य निर्णयाधिकारी तत्कालीन प्रधानमन्त्री नेपालसमेतलाई प्रतिवादी बनाएर मुद्दा दायर हुनु भ्रष्टाचार नियन्त्रण र सुशासन कायमका लागि ‘ऐतिहासिक’ र अख्तियारको ‘साहसिक’ निर्णय भएको बताउँछन् ।

‘विगतमा कर्मचारी तहलाई देखाएर मुख्य निर्णयाधिकारी उम्किन्थे, मुख्यकर्तालाई चोख्याएर बाँकीलाई मुद्दा लैजाँदा अख्तियारको विश्वसनीयतामाथि प्रश्न उठ्ने गरेको थियो तर यस पटक त्यस्तो नियति दोहोरिएन, मुख्यकर्ता प्रतिवादी बनेका छन्,’ पूर्वसचिव त्रिताल भन्छन्, ‘नीतिगत आवरणमा राज्य दोहन गर्नेहरू कुनै न कुनै दिन कानुनी फन्दामा पर्छन् भन्ने यो दरिलो उदाहरण हो, ज–जसले भ्रष्टाचार गरेका छन्, क्रमशः सबैको पालो आउने पतञ्जलिको मुद्दाले स्पष्ट संकेत दिएको छ ।

चिनीमा भन्सार घट्यो, सुर्ती र मदिरामा बढ्यो

काठमाडौँ — आगामी आर्थिक वर्षमा राजस्वमार्फत १३ खर्ब १५ अर्ब संकलन गर्ने लक्ष्य लिएको सरकारले विभिन्न वस्तु तथा सेवाका करका दर हेरफेर गरेको छ । संघीय संसद्मा बिहीबार पेस भएको ‘नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक (आर्थिक विधेयक) २०८२’ मार्फत सरकारले करका दर हेरफेर गरेको हो ।

चासोका रूपमा हेरिएको विद्युतीय सवारीमा भन्सार दर र व्यक्तिगत आयकरको सीमा यथावत् राखिएको छ । राजस्व प्रणालीलाई लगानीमैत्री तथा उत्पादनमुखी बनाउन र बढ्दो सार्वजनिक खर्चका लागि स्रोत व्यवस्थापन गर्न कर प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्ड एवं अभ्यासअनुकूल बनाउँदै बाह्य पुँजी र प्रविधि आकर्षित गर्न जरुरी रहेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए ।

‘सूचना प्रविधिमा आधारित उद्योग र होटल तथा रिसोर्टलाई विशेष उद्योगसरह आयकर र विद्युत् महसुल छुट दिने व्यवस्था मिलाएको छु,’ पौडेलले भने, ‘सूचना प्रविधि सेवा निर्यातबाट प्राप्त हुने आयमा लाग्ने करमा ७५ प्रतिशत छुट हुने व्यवस्था मिलाएको छु ।’ नेपालमा बसी विदेशमा सूचना प्रविधि सेवा निर्यात गर्ने व्यक्तिको आम्दानीमा ५ प्रतिशत मात्र आयकर लाग्ने र उक्त कर अन्तिम हुने व्यवस्था सरकारले गरेको छ ।

‘विद्युतीय सवारीसाधनको चार्जिङ मेसिन उत्पादन तथा एसेम्बलिङ गर्ने उद्योग स्थापनाका लागि आवश्यक उपकरण पैठारीमा १ प्रतिशत भन्सार महसुल लिई अन्य कर महसुल नलाग्ने र यस्ता उद्योगलाई ५ वर्षसम्म आयकर छुट दिने व्यवस्था मिलाएको छु,’ अर्थमन्त्री पौडेलले भने ।

‘२० वर्षभन्दा पुराना वा सञ्चालनमा आउन नसक्ने सार्वजनिक तथा निजी सवारीसाधनको लगत कट्टा गर्ने प्रयोजनका लागि अन्तिम २ वर्षको आयकर बुझाए बाँकी आयकर छुट दिने व्यवस्था गरिएको छ,’ उनले भने ।

Hope IVF
Global IME Updated May 12
Sunrise bank

Customs duty on sugar decreased, tobacco and alcohol increased

सरकारले इलेक्ट्रोनिक चुरोट/भेपको आयातमा बन्देज लगाएको छ । यद्यपि आगामी आर्थिक वर्षको बजेटमा सरकारले स्वास्थ्य जोखिम करका रूपमा प्रतिगोटा भेपमा ३० रुपैयाँ लगाएको छ । भन्सारतर्फ सुकाएको अंगुर (किसमिस) सार्क मुलुकका लागि प्रतिकिलो ७.२५ प्रतिशत र अन्य मुलुकबाट आयात गर्दा १५ प्रतिशत लाग्ने गरेकामा घटाएर सार्क मुलुकका लागि प्रतिकिलो ६ प्रतिशत र अन्य मुलुकका लागि १० प्रतिशत बनाइएको छ ।

चुकुन्दरको चिनी सार्क मुलुकका लागि ६ प्रतिशत र अन्य मुलुकका लागि २० प्रतिशतबाट भन्सार लाग्ने गरेकामा सार्क मुलुकका लागि लाग्ने भन्सार यथावत् राखिएको छ । अन्य मुलुकका लागि १५ प्रतिशत भन्सार लाग्ने व्यवस्था गरिएको छ ।

सक्खर–गुड, भेली, खाँडसारी चिनी, उखुको अन्य चिनी र मिस्रीको भन्सार प्रतिकिलो ३० प्रतिशत लाग्ने गरेकामा त्यसलाई घटाएर १५ प्रतिशत बनाइएको छ । ‘फ्रुटपल्स’ भन्सार बढाएर १० प्रतिशतबाट १५ प्रतिशत बनाइएको छ । सुप, ब्रोथ र त्यसका लागि चाहिने वस्तुको भन्सार महसुल २० प्रतिशत रहेकामा त्यसलाई बढाएर ३० प्रतिशत बनाइएको छ । सुर्तीरहित सुगन्धित सुपारीको प्रतिकिलो १ सय रुपैयाँ भन्सार लाग्ने गरेकामा त्यसलाई परिमार्जन गरेर ४० प्रतिशत कायम गरिएको छ ।

सरकारले इनर्जी ड्रिङस, जौबाट बनेको बियर आयातलगायतमा प्रतिकिलो निश्चित रुपैयाँ भन्सार लगाउँदै आएकामा परिमार्जन गरेर प्रतिशतमा दर कायम गरिएको छ ।

यसअनुसार इनर्जी ड्रिङसको भन्सार प्रतिलिटर १ सय रुपैयाँ भन्सार लाग्दै आएकामा घटाएर मूल्यको ४० प्रतिशत कायम गरिएको छ । हल्का पेय र बास्नायुक्त दूधका पेय पदार्थको भन्सार पनि प्रतिलिटर ४० प्रतिशत कायम गरिएको छ । जौबाट बनेको बियर आयातमा प्रतिलिटर २ सय भन्सार लाग्ने गरेकामा परिमार्जन गरेर ८० प्रतिशत बनाइएको छ । ताजा अंगुरको वाइन र अल्कोहल हाली सुरक्षित गरिएको फोर्टिफाइड र स्पार्किङ वाइनको भन्सार प्रतिलिटर ३ सय रुपैयाँ रहेकामा परिमार्जन गरेर ८० प्रतिशत कायम गरिएको छ । छ्याङ (कन्ट्री बियर), स्याम्पेन, सेरी, मिड, पेरी र साइडरको भन्सार प्रतिलिटर ४० प्रतिशतबाट बढाएर ८० प्रतिशत बनाइएको छ ।

८० प्रतिशत मात्रा रहेको अल्कोहल वा त्यसभन्दा माथि अल्कोहल भएको अन्डिनेचर्ड इथाइल अल्कोहल, जुनसुकै अल्कोहल भएको डिनेचर्ड इथाइल अल्कोहल र अन्य स्प्रिटको भन्सार प्रतिलिटर ६० रुपैयाँबाट परिमार्जन गरेर ३० प्रतिशत कायम गरिएको छ । ब्रान्डीको कच्चा पदार्थमा लिइँदै आएको भन्सार दर प्रतिलिटर १५ सयबाट परिमार्जन गरेर ८० प्रतिशत बनाइएको छ ।

सिँगार र चुरोटको प्रतिहजार खिल्लीको भन्सार नौ हजार रुपैयाँ रहेकामा बढाएर ११ हजार पुर्‍याइएको छ । तयारी बिँडी, फिल्टर भएको विभिन्न लम्बाइका चुरोट र सिँगारमा प्रतिहजार खिल्ली ४ हजार ५ सय रुपैयाँ भन्सार लाग्दै आएकामा बढाएर प्रतिहजार खिल्ली ५ हजार ५ सय बनाइएको छ । चुरोट तथा बिँडीका लागि प्रशोधित सुर्तीको प्रतिकिलो ३० प्रतिशतबाट भन्सार बढाएर ६० प्रतिशत पुर्‍याइएको छ ।

काठको धूलो, सिमेन्ट र विभिन्न बाइन्डिङ केमिकल्स मिश्रण गरी बनेको संघार, र्‍याक, झिँगटी तथा बोर्डहरू सार्कबाहेक मुलुकबाट आयात गर्दा २० प्रतिशत भन्सार लाग्ने गरेकामा घटाएर १५ प्रतिशत बनाइएको छ । सिमेन्ट क्रंक्रिट वा कृत्रिम ढुंगाका सामान प्रतिकिलो सार्क मुलुकका लागि ७ दशमलव २५ बाट घटाएर ६ प्रतिशत र सार्कबाहेकका मुलुकका लागि १५ प्रतिशतबाट घटाएर १० प्रतिशत बनाइएको छ ।

डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न क्लियरिङ सेवाको मूल्य अभिवृद्धि कर र खाद्यान्न, गेडागुडी, फलफूललगायत वनस्पतिजन्य, पशुजन्य तथा दूधजन्य पदार्थमा भन्सार बिन्दुमा लाग्दै आएको अग्रिम आयकर खारेज गरिएको छ । श्रवणशक्ति कमजोर भएका व्यक्तिका लागि आवश्यक पर्ने श्रवणयन्त्रमा लाग्ने मूल्य अभिवृद्धि कर खारेज भएको छ ।

राजस्व छुट सुविधामा पैठारी गर्न पाइने बिरामी बोक्ने एम्बुलेन्समा विद्यमान १६ लाखको मूल्य सीमा सरकारले हटाएको छ । ‘मदिरा, बियर, सुर्ती र चुरोट आयातमा लाग्दै आएको भन्सार महसुल दरमा वृद्धि, भन्सार महसुलका केही दरमा समायोजन, विद्यमान अन्तःशुल्क दरमा सामान्य वृद्धि र स्वास्थ्य जोखिम करको दायरा विस्तार गरेको छु,’ पौडेलले भने, ‘सबै किसिमका डिजिटल कारोबारलाई करको दायरामा ल्याउन डिजिटल सर्भिस ट्याक्सको आधार विस्तार र निकासी पैठारी गर्ने उद्योगी व्यवसायीले एक्जिम कोड लिँदा राख्नुपर्ने ३ लाख बैंक ग्यारेन्टीको व्यवस्था खारेज गरेको छु ।’

वीरगन्जका उद्योगी भन्छन् : ‘दुईतिहाइको सरकारले ल्याएको बजेट टालटुलेमात्रै’

पर्सा — संघीय सरकारले बिहीबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटबारे मुलुकको आर्थिक राजधानी वीरगन्जका उद्योगी व्यवसायीले मिश्रित प्रतिक्रिया दिएका छन्। वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले दुई तिहाइ बहुमतको सरकारले ल्याएको बजेट सन्तोषजनक नभई टालटुले मात्र रहेको प्रतिक्रिया दिएका छन्।

‘दुई तिहाइ बहुमतको सरकारले बलियो बजेट ल्याउन सक्थ्यो, यो मुलुकलाई आर्थिक संकटबाट बाहिर निकाल्ने मौका पनि थियो,’ उनले भने, ‘मुलुकलाई आर्थिक दुष्चक्रबाट निकाल्ने मौकाको सदुपयोग गर्न सकेन, समस्याहरूलाई थाती राखेर टालटुले बजेट ल्याउने काम भयो ।’ बजेटमा जे जसो भनिए पनि पुँजीगत खर्च हुन नसक्ने र चालु खर्च व्यवस्थापनका लागि ६ खर्ब ६५ अर्ब ऋण लिनुपर्ने अवस्था हुनु दुःखद रहेको बताए ।

संघका वरिष्ठ उपाध्यक्ष माधव राजपालले खाद्यान्न, गेडागुडी, फलफूललगायत वनस्पति, पशु तथा दूधजन्य पदार्थमा भन्सार बिन्दुमा लाग्दै आएको अग्रिम कर खारेज गरिनु स्वागतयोग्य रहेको बताए । उधारो कानुनको योजना तर्जुमा गर्ने घोषणा, भन्सार मूल्यांकनलाई यथार्थपरक बनाउन अन्तर्राष्ट्रिय मूल्य प्रविधिको स्वचालित डाटाबेस तयार गरी सन्दर्भ मूल्यलाई स्वचालित मूल्य प्रणालीमा लग्ने घोषणा पनि स्वागत योग्य रहेको उनले बताए ।

निजगढ–काठमाडौँ द्रुत मार्गलाई २०८४ सम्म सम्पन्न गर्ने घोषणा स्वागत योग्य भए पनि वीरगन्ज–पथलैया करिडोरलाई बजेटले सम्बोधन नगरेको उनको गुनासो छ । संघका द्वितीय उपाध्यक्ष मनोजकुमार दास द्रुत मार्गलाई सञ्चालन गर्ने तर्फ ध्यान दिनु उचित हुने बताए । निकासी, पैठारी गर्ने उद्योगी व्यवसायीले एक्जिम कोड लिँदा राख्नुपर्ने ३ लाख रुपैयाँ बैंक ग्यारेन्टीको व्यवस्था खारेज गर्नु स्वागतयोग्य रहेको उनले बताए ।

युवा उद्योगी आशिष लाठले पुँजीगत खर्च बढाउने तर्फ बजेटले ठोस उपाय दिन नसकेकाले कार्यान्वयन चुनौतीपूर्ण रहेको बताए । १० करोडसम्मको आर्थिक कारोबार गर्ने स्टार्टअप व्यवसायलाई ५ वर्षसम्म आयकर नलाग्ने व्यवस्था, डिजिटल भुक्तानीलाई प्रोत्साहित गरिनु स्वागतयोग्य रहेको उनले बताए ।

Hope IVF
Global IME Updated May 12
Sunrise bank

विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापना गर्ने अनुमति प्राप्त उद्योगलाई सुरुका ३ वर्षको भाडा छुट दिइनु र विशेष आर्थिक क्षेत्रको मासिक भाडादार प्रति बर्गमिटर २० रुपैयाँबाट ५ रुपैयाँमा घटाउनु पनि स्वागत योग्य कदम रहेको उनले बताए ।