काठमाडौँ — आगामी आर्थिक वर्षमा राजस्वमार्फत १३ खर्ब १५ अर्ब संकलन गर्ने लक्ष्य लिएको सरकारले विभिन्न वस्तु तथा सेवाका करका दर हेरफेर गरेको छ । संघीय संसद्मा बिहीबार पेस भएको ‘नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक (आर्थिक विधेयक) २०८२’ मार्फत सरकारले करका दर हेरफेर गरेको हो ।
चासोका रूपमा हेरिएको विद्युतीय सवारीमा भन्सार दर र व्यक्तिगत आयकरको सीमा यथावत् राखिएको छ । राजस्व प्रणालीलाई लगानीमैत्री तथा उत्पादनमुखी बनाउन र बढ्दो सार्वजनिक खर्चका लागि स्रोत व्यवस्थापन गर्न कर प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्ड एवं अभ्यासअनुकूल बनाउँदै बाह्य पुँजी र प्रविधि आकर्षित गर्न जरुरी रहेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए ।
‘सूचना प्रविधिमा आधारित उद्योग र होटल तथा रिसोर्टलाई विशेष उद्योगसरह आयकर र विद्युत् महसुल छुट दिने व्यवस्था मिलाएको छु,’ पौडेलले भने, ‘सूचना प्रविधि सेवा निर्यातबाट प्राप्त हुने आयमा लाग्ने करमा ७५ प्रतिशत छुट हुने व्यवस्था मिलाएको छु ।’ नेपालमा बसी विदेशमा सूचना प्रविधि सेवा निर्यात गर्ने व्यक्तिको आम्दानीमा ५ प्रतिशत मात्र आयकर लाग्ने र उक्त कर अन्तिम हुने व्यवस्था सरकारले गरेको छ ।
‘विद्युतीय सवारीसाधनको चार्जिङ मेसिन उत्पादन तथा एसेम्बलिङ गर्ने उद्योग स्थापनाका लागि आवश्यक उपकरण पैठारीमा १ प्रतिशत भन्सार महसुल लिई अन्य कर महसुल नलाग्ने र यस्ता उद्योगलाई ५ वर्षसम्म आयकर छुट दिने व्यवस्था मिलाएको छु,’ अर्थमन्त्री पौडेलले भने ।
‘२० वर्षभन्दा पुराना वा सञ्चालनमा आउन नसक्ने सार्वजनिक तथा निजी सवारीसाधनको लगत कट्टा गर्ने प्रयोजनका लागि अन्तिम २ वर्षको आयकर बुझाए बाँकी आयकर छुट दिने व्यवस्था गरिएको छ,’ उनले भने ।
सरकारले इलेक्ट्रोनिक चुरोट/भेपको आयातमा बन्देज लगाएको छ । यद्यपि आगामी आर्थिक वर्षको बजेटमा सरकारले स्वास्थ्य जोखिम करका रूपमा प्रतिगोटा भेपमा ३० रुपैयाँ लगाएको छ । भन्सारतर्फ सुकाएको अंगुर (किसमिस) सार्क मुलुकका लागि प्रतिकिलो ७.२५ प्रतिशत र अन्य मुलुकबाट आयात गर्दा १५ प्रतिशत लाग्ने गरेकामा घटाएर सार्क मुलुकका लागि प्रतिकिलो ६ प्रतिशत र अन्य मुलुकका लागि १० प्रतिशत बनाइएको छ ।
चुकुन्दरको चिनी सार्क मुलुकका लागि ६ प्रतिशत र अन्य मुलुकका लागि २० प्रतिशतबाट भन्सार लाग्ने गरेकामा सार्क मुलुकका लागि लाग्ने भन्सार यथावत् राखिएको छ । अन्य मुलुकका लागि १५ प्रतिशत भन्सार लाग्ने व्यवस्था गरिएको छ ।
सक्खर–गुड, भेली, खाँडसारी चिनी, उखुको अन्य चिनी र मिस्रीको भन्सार प्रतिकिलो ३० प्रतिशत लाग्ने गरेकामा त्यसलाई घटाएर १५ प्रतिशत बनाइएको छ । ‘फ्रुटपल्स’ भन्सार बढाएर १० प्रतिशतबाट १५ प्रतिशत बनाइएको छ । सुप, ब्रोथ र त्यसका लागि चाहिने वस्तुको भन्सार महसुल २० प्रतिशत रहेकामा त्यसलाई बढाएर ३० प्रतिशत बनाइएको छ । सुर्तीरहित सुगन्धित सुपारीको प्रतिकिलो १ सय रुपैयाँ भन्सार लाग्ने गरेकामा त्यसलाई परिमार्जन गरेर ४० प्रतिशत कायम गरिएको छ ।
सरकारले इनर्जी ड्रिङस, जौबाट बनेको बियर आयातलगायतमा प्रतिकिलो निश्चित रुपैयाँ भन्सार लगाउँदै आएकामा परिमार्जन गरेर प्रतिशतमा दर कायम गरिएको छ ।
यसअनुसार इनर्जी ड्रिङसको भन्सार प्रतिलिटर १ सय रुपैयाँ भन्सार लाग्दै आएकामा घटाएर मूल्यको ४० प्रतिशत कायम गरिएको छ । हल्का पेय र बास्नायुक्त दूधका पेय पदार्थको भन्सार पनि प्रतिलिटर ४० प्रतिशत कायम गरिएको छ । जौबाट बनेको बियर आयातमा प्रतिलिटर २ सय भन्सार लाग्ने गरेकामा परिमार्जन गरेर ८० प्रतिशत बनाइएको छ । ताजा अंगुरको वाइन र अल्कोहल हाली सुरक्षित गरिएको फोर्टिफाइड र स्पार्किङ वाइनको भन्सार प्रतिलिटर ३ सय रुपैयाँ रहेकामा परिमार्जन गरेर ८० प्रतिशत कायम गरिएको छ । छ्याङ (कन्ट्री बियर), स्याम्पेन, सेरी, मिड, पेरी र साइडरको भन्सार प्रतिलिटर ४० प्रतिशतबाट बढाएर ८० प्रतिशत बनाइएको छ ।
८० प्रतिशत मात्रा रहेको अल्कोहल वा त्यसभन्दा माथि अल्कोहल भएको अन्डिनेचर्ड इथाइल अल्कोहल, जुनसुकै अल्कोहल भएको डिनेचर्ड इथाइल अल्कोहल र अन्य स्प्रिटको भन्सार प्रतिलिटर ६० रुपैयाँबाट परिमार्जन गरेर ३० प्रतिशत कायम गरिएको छ । ब्रान्डीको कच्चा पदार्थमा लिइँदै आएको भन्सार दर प्रतिलिटर १५ सयबाट परिमार्जन गरेर ८० प्रतिशत बनाइएको छ ।
सिँगार र चुरोटको प्रतिहजार खिल्लीको भन्सार नौ हजार रुपैयाँ रहेकामा बढाएर ११ हजार पुर्याइएको छ । तयारी बिँडी, फिल्टर भएको विभिन्न लम्बाइका चुरोट र सिँगारमा प्रतिहजार खिल्ली ४ हजार ५ सय रुपैयाँ भन्सार लाग्दै आएकामा बढाएर प्रतिहजार खिल्ली ५ हजार ५ सय बनाइएको छ । चुरोट तथा बिँडीका लागि प्रशोधित सुर्तीको प्रतिकिलो ३० प्रतिशतबाट भन्सार बढाएर ६० प्रतिशत पुर्याइएको छ ।
काठको धूलो, सिमेन्ट र विभिन्न बाइन्डिङ केमिकल्स मिश्रण गरी बनेको संघार, र्याक, झिँगटी तथा बोर्डहरू सार्कबाहेक मुलुकबाट आयात गर्दा २० प्रतिशत भन्सार लाग्ने गरेकामा घटाएर १५ प्रतिशत बनाइएको छ । सिमेन्ट क्रंक्रिट वा कृत्रिम ढुंगाका सामान प्रतिकिलो सार्क मुलुकका लागि ७ दशमलव २५ बाट घटाएर ६ प्रतिशत र सार्कबाहेकका मुलुकका लागि १५ प्रतिशतबाट घटाएर १० प्रतिशत बनाइएको छ ।
डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न क्लियरिङ सेवाको मूल्य अभिवृद्धि कर र खाद्यान्न, गेडागुडी, फलफूललगायत वनस्पतिजन्य, पशुजन्य तथा दूधजन्य पदार्थमा भन्सार बिन्दुमा लाग्दै आएको अग्रिम आयकर खारेज गरिएको छ । श्रवणशक्ति कमजोर भएका व्यक्तिका लागि आवश्यक पर्ने श्रवणयन्त्रमा लाग्ने मूल्य अभिवृद्धि कर खारेज भएको छ ।
राजस्व छुट सुविधामा पैठारी गर्न पाइने बिरामी बोक्ने एम्बुलेन्समा विद्यमान १६ लाखको मूल्य सीमा सरकारले हटाएको छ । ‘मदिरा, बियर, सुर्ती र चुरोट आयातमा लाग्दै आएको भन्सार महसुल दरमा वृद्धि, भन्सार महसुलका केही दरमा समायोजन, विद्यमान अन्तःशुल्क दरमा सामान्य वृद्धि र स्वास्थ्य जोखिम करको दायरा विस्तार गरेको छु,’ पौडेलले भने, ‘सबै किसिमका डिजिटल कारोबारलाई करको दायरामा ल्याउन डिजिटल सर्भिस ट्याक्सको आधार विस्तार र निकासी पैठारी गर्ने उद्योगी व्यवसायीले एक्जिम कोड लिँदा राख्नुपर्ने ३ लाख बैंक ग्यारेन्टीको व्यवस्था खारेज गरेको छु ।’