फोर आइज न्युज
बिहिबार, साउन २, २०८२

This Week

मोरङका उद्यमी भन्छन्- ‘निजी क्षेत्रको मनोबल अझै उकासिन सकेन’

Highlights

  • विद्युत् आपूर्ति अनियमित र अपर्याप्त हुँदा धेरै उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको गुनासो

काठमाडौँ — नेपालमा उद्योग र व्यवसाय क्षेत्र अझै पनि संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको मोरङका उद्योगी व्यवसायीले बताएका छन् । पछिल्लो समय निजी क्षेत्रको मनोबल अझै बढ्न नसकेको र राजनीतिक अस्थिरता तथा अनिश्चित नीतिले आर्थिक वृद्धिमा बाधा पुर्‍याएको उनीहरूको भनाइ छ ।

विराटनगरकै पुरानो मोरङ उद्योग व्यापार संघको ६८औं वार्षिक साधारणसभाका अवसरमा शुक्रबार उद्योगी व्यवसायीले बारम्बार सरकार परिवर्तन भइरहने उपक्रमले नीतिगत निरन्तरता कायम हुन सकेको बताए ।

‘एउटा सरकारले बजेट विनियोजन गरे पनि कार्यान्वयनको समयमा अर्को सरकारले पदभार सम्हाल्ने परिपाटीले नीति कार्यान्वयन प्रभावकारी हुन सकेको छैन,’ संघका अध्यक्ष अनुपम राठीले भने ।

पछिल्ला तीन दशकमा सुशासनको अभाव मुलुकको प्रमुख समस्याका रूपमा देखा परेको छ । ‘नेपालमा आजकाल जलवायुभन्दा बढी ‘भ्रष्टवायु’ को अनुभूति हुन्छ,’ उनले भने । विद्युत् आपूर्ति अनियमित र अपर्याप्त हुँदा धेरै उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको उनीहरूको भनाइ छ ।

‘यसले उत्पादन लागतलाई उच्च बनाएको छ, जसका कारण नेपाली उद्योग अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेका छन्,’ राठीले भने, ‘उद्योग मन्त्रालयसँग विद्युत् आपूर्ति सुनिश्चित गर्न आग्रह गर्दछौं ।’

Hope IVF
Global IME Updated May 12
Sunrise bank

खुला सिमानाबाट भइरहेको अवैध कारोबारले पनि नेपालको अर्थतन्त्र कमजोर बनाएको उद्योगीहरूको भनाइ छ । भारतको सीमावर्ती बजारमा दैनिक उपभोग्य वस्तुहरूमा शून्यदेखि १२ प्रतिशतसम्म मात्र कर लाग्ने भए पनि नेपालमा त्यस्ता वस्तुमा भ्याटसहित ३० प्रतिशतभन्दा बढी कर लाग्ने गरेको व्यवसायीको गुनासो छ । नेपाल सरकारलाई कर दर पुनरावलोकन गरी अवैध कारोबार निरुत्साहित गर्ने नीति ल्याउन उनीहरूको आग्रह छ ।

‘सीमापारिको बजार गुल्जार र नेपाली बजार सुनसान हुनु राज्यको असफलता हो,’ नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवनकुमार शारडाले भने । विद्युत् आपूर्ति अभावले उद्योग चलाउन मुस्किल भएको उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले बताए । ‘विद्युत्को समस्या सुधार नभए आन्दोलनमा उत्रन बाध्य हुनेछौं,’ उनले भने ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठ, नेपाल उद्योग परिसंघका उपाध्यक्ष भीम घिमिरे, उद्योगी नवीन रिजाललगायत उद्योगी व्यवसायीले पनि निर्यात प्रवर्द्धन, कर प्रणाली सुधार, स्वदेशी पुँजी लगानीको वातावरण निर्माणलगायत विषयमा सुझाव प्रस्तुत गरे ।

नेपाली महिला टोली ‘सुपर थ्री’ मा

काठमाडौँ — हङकङ र बहराइनबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपाल नाटकीय हिसाबमा महिला ट्वान्टी–२० क्रिकेट विश्वकपको एसिया क्षेत्रीय छनोटको ‘सुपर थ्री’ मा पुगेको छ । थाइल्यान्डमा भइरहेको प्रतियोगितामा शुक्रबार हङकङले तुलनात्मक रूपमा कमजोर मानिएको बहराइनविरुद्धको खेल जितेको भए नेपाल प्रतियोगिताबाटै बाहिरिने थियो ।

तर बैंककस्थित एआईटी मैदानमा वर्षाले अवरुद्ध पारेपछि हङकङ र बहराइनबीचको खेल टस पनि नभई रद्द भएको थियो । समूह ‘सी’ मा नेपाल र हङकङको समान ५ अंक हुन पुग्यो । रनरेटमा नेपालभन्दा

हङकङ नै अगाडि थियो । प्रतियोगिताको नियमावलीअनुसार २ टोलीबीचको अंक बराबरी भएमा सर्वाधिक खेलमा जित हात पार्ने टोली अगाडि रहने प्रावधान थियो ।

नेपालले २ खेल जितेको छ भने हङकङले १ खेलमात्र जितेको छ । संयोगले हङकङले नेपाललाई नै पराजित गरेको थियो । तर त्यसपछि उसको नेपालसँगको १ खेल तथा बहराइनसँगको २ खेल वर्षाले हुन दिएन । नेपालले बहराइनसँग वर्षाले प्रभावित दुवै खेल जितेको थियो र त्यही नै नेपाललाई ‘सुपर थ्री’ मा पुर्‍याउने आधार बन्यो । कप्तान इन्दु बर्माले ७ बलमै अविजित २४ रन बनाएपछि नेपालले बिहीबार डबल राउन्ड रोबिनको दोस्रो खेलमा बहराइनलाई ६ विकेटले पराजित गरेको थियो ।

नेपालले ‘सुपर थ्री’ मा समूह ‘ए’ को विजेता थाइल्यान्ड र समूह ‘बी’ को विजेता यूएईसँग खेल्नेछ । तीनै टोलीले एकआपसमा खेलेपछि शीर्ष दुई टोली ट्वान्टी–२० विश्वकप छनोटमा पुग्नेछन् । नेपालले आइतबार यूएई र सोमबार थाइल्यान्डसँग खेल्नेछ ।

नेपाल पराजित

काठमाडौँ — यू–१९ साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेश र भारत भिड्ने भएका छन् । नेपाल शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगलादेशसँग २–१ ले पराजित भएको हो ।

अर्को सेमिफाइनलमा आयोजक भारतले माल्दिभ्सलाई ३–० ले पराजित गर्‍यो । अब उपाधिका लागि बंगलादेश र भारत भिड्नेछन् ।

अरुणाञ्चलको गोल्डेन जुब्ली रंगशालामा भएको खेलमा बंगलादेशका लागि आशहिकुर रहमान र नज्मुल फैसलले गोल गरे । नेपालका तर्फबाट सुजन डंगोलले एक गोल फर्काए । गोलरहित पहिलो हाफपछि बंगलादेशले ७४ औं मिनेटमा अशहिकुरको गोलले अग्रता लिएको थियो । त्यसको सात मिनेटपछि नै नज्मुलले दोस्रो गोल थपे । खेल सकिन तीन मिनेट बाँकी छँदा सुजनले नेपालका तर्फबाट एक गोल फर्काए । फाइनल आइतबार हुनेछ ।

मिर्गौला प्रत्यारोपित पेम्बा सगरमाथाको शिखरमा

काठमाडौँ — मिर्गौला प्रत्यारोपण गरेका ३७ वर्षीय पेम्बा शेर्पाले सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएका छन् । सोलुखुम्बुको माप्या दूधकोशी गाउँपालिकाका उनले बुधबार बिहान ९:३० बजे सगरमाथाको चुचुरोमा पाइला राखेका थिए ।

पेम्बालाई सगरमाथा आरोहण गराउने एक्सपिडिसन हाई माउन्टेन ट्रेक्सका प्रबन्ध निर्देशक पेम्बा ग्याल्जे शेर्पाका अनुसार मिर्गौला प्रत्यारोपण गरेको व्यक्तिले यसअघि सगरमाथा आरोहण गरेको अभिलेख छैन । ‘पेम्बा सगरमाथा आरोहण गर्ने पहिलो मिर्गौला प्रत्यारोपित व्यक्ति हुन्,’ उनले भने ।

रेकर्ड होल्डर पेम्बाले आरोहणअघि नै ‘गिनिज वर्ल्ड रेकर्ड’ मा फाराम बुझाइसकेको पनि प्रबन्ध निर्देशक ग्याल्जेले जानकारी दिए । आरोही पेम्बा शुक्रबार ५२ सय मिटर उचाइमा रहेको आधार शिविरमा ओर्लिइसकेका छन् ।

पेम्बा शेर्पा पर्यटन व्यवसायी होइनन् । उनले गुम्बामा लामा अध्ययन गरेका थिए । ‘सानामा पेम्बा र म सँगै लामा अध्ययन गर्थ्यौं । पछि हामी दुवैले अध्ययनलाई निरन्तरता दिन सकेनौं,’ एक्सपिडिसन हाई माउन्टेनका प्रबन्ध निर्देशक ग्याल्जेले भने, ‘पछि म पर्यटन व्यवसायमा आएँ । पेम्बा दुबई गएछन् । त्यहाँ ५ वर्ष बिताएछन् । फेरि जापानमा ५ वर्ष बिताएछन् । कोभिडको समयमा नेपाल आएपछि उनले दुवै मिर्गौला फेल भएको थाहा पाएका थिए ।’

पेम्बालाई उनकै बुवा आङ ग्याल्जेन शेर्पाले दिएको मिर्गौला प्रत्यारोपण गरिएको थियो । दुई सन्तान र पत्नीसहित काठमाडौंको गोकर्णमा बस्दै आएका पेम्बा जापानी भाषाका प्रशिक्षक हुन् ।

Hope IVF
Global IME Updated May 12
Sunrise bank

पेम्बाको रेकर्डबारे औपचारिक जानकारी प्राप्त नभएको पर्यटन विभागले जनाएको छ । ‘रेकर्डका लागि सगरमाथा आरोहण गर्नेले विभागलाई औपचारिक जानकारी दिन्छन् तर उनका बारेमा जानकारी प्राप्त भइसकेको छैन,’ खुम्बु क्षेत्रमा रहेका विभागका एक अधिकारीले कान्तिपुरसँग भने ।

पर्यटन विभागले यसपटक वसन्तकालीन हिमाल आरोहणका लागि ७३ देशका १ हजार १ सय ६८ जनालाई अनुमति दिएको छ । सगरमाथा आरोहणका लागि अनुमति पाउने ४ सय ६८ जना छन् ।

सहकारी ठगीमा चार पटक सुनुवाइ सारियो, पाँचौं पटक सार्न खोज्दा अदालतबाट अस्वीकार

Highlights

  • सुनुवाइ भइरहेको जानकारी लामिछाने र जोशीलाई छिटो माध्यमबाट सम्बन्धित कारागारमार्फत पठाउन उच्च अदालतको आदेश, आइतबारका लागि अर्को पेसी
  • बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि रूपन्देही कारागारमा रहेका लामिछाने र जोशीलाई उच्च अदालत पोखराले सूचना नपठाउनुमा उनीहरूकै कानुन व्यवसायीको कमजोरी देखिएको अदालतले जनाएको छ

पोखरा — सहकारी ठगीमा पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई धरौटीमा छाड्न कास्की जिल्ला अदालतले दिएको आदेशविरुद्ध परेको निवेदनको सुनुवाइ थप सार्न उच्च अदालत पोखराको इजलासले अस्वीकार गरेको छ ।

लामिछाने र जोशी पक्षका अधिवक्ताले पेसीबारे कुनै जानकारी नभएको भन्दै निवेदन दिए पनि उच्च अदालतले ‘यसअघि नै पटकपटक सारिएको’ जनाउँदै सुनुवाइ सार्न अस्वीकार गरेको हो ।

गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वसञ्चालकद्वय लामिछाने र जोशी पक्षका कानुन व्यवसायी सुशीलराज पन्त र रमण श्रेष्ठले सुनुवाइबारे आफ्नो पक्षलाई थाहा नदिइएको भन्दै शुक्रबार इजलासमा आपत्ति जनाएका थिए । त्यसपछि मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द र न्यायाधीश मिलन राईले उनीहरू कारागारमा रहेको आधिकारिक सूचना मिसिलमा संलग्न नरहेको बताएका थिए । ‘कारागारमा रहेको अवस्थामा अदालतले सुनुवाइको सूचना पुर्‍याउनुपर्थ्यो,’ उच्च अदालतका उपरजिस्ट्रार नील पनेरुले भने, ‘तर कारागारमा रहेको आधिकारिक जानकारी नै नआएपछि कसरी सूचना पुर्‍याउने ?’

बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि रूपन्देही कारागारमा रहेका लामिछाने र जोशीलाई उच्च अदालत पोखराले सूचना नपठाउनुमा उनीहरूकै कानुन व्यवसायीको कमजोरी देखिएको अदालतले जनाएको छ ।

उच्च अदालत पोखराका उपरजिस्ट्रार पनेरुका अनुसार लामिछाने र जोशीलाई अर्को मुद्दामा कारागारमा राखिएको सूचना आधिकारिक माध्यमबाट आउनुपर्थ्यो । ‘उहाँहरू कारागारमा हुनुहुन्छ भन्ने विषयमा सरकारी निकाय वा कानुन व्यवसायीले आधिकारिक पत्र बुझाउनुपर्छ, समाचारमा आएको सूचना अदालतले मान्दैन,’ उनले भने, ‘थुनामा परिसकेपछि पनि उहाँहरूबाटै पेसी स्थगन भएको छ । त्यसैले थाहा थिएन भन्न मिल्दैन ।’

Hope IVF
Global IME Updated May 12
Sunrise bank

पनेरुका अनुसार अधिकतम दुईपटक पेसी सार्न सकिने भए पनि चारपल्ट पेसी सरिसकेको छ । पहिलोपल्ट २१ चैतका लागि तोकिएको पेसी सरकारी वकिलका तर्फबाट, दोस्रोपल्ट ४ वैशाखका लागि तोकिएको पेसी नेचर हर्ब्स इन्टरनेसनलका सञ्चालक रामप्रसाद खनालका तर्फबाट सारिएको थियो ।

लामिछाने कारागार चलान भएपछि उनका कानुन व्यवसायी नारायणदत्त कँडेलले ११ वैशाखलाई तोकिएको पेसी सार्न निवेदन दिएका थिए । चौथोपल्ट २५ वैशाखलाई तोकिएको पेसी पूर्वडीआईजी जोशीका कानुन व्यवसायीका तर्फबाट सारिएको थियो ।

इजलासले कारागारमा रहेको जानकारी आउनुपर्ने बताएपछि शुक्रबार मात्रै लामिछाने र जोशीका कानुन व्यवसायी पन्त र श्रेष्ठले अदालतमा पत्र बुझाएका छन् । उक्त मुद्दाको सुनुवाइ शुक्रबार हेर्दाहेर्दैमा परेको छ । इजलासले आगामी आइतबारका लागि अर्को पेसी तोकेको छ ।

अदालतले लामिछाने र जोशीलाई सुनुवाइ भइरहेको जानकारी छिटो माध्यमबाट सम्बन्धित कारागारमार्फत पठाउन आदेश गरेको छ । सहकारी ठगीमै प्रतिवादी बनाइएका आरती गुरुङ, मीना गुरुङ, रामबहादुर खनाल, लीला पछाईं र कृष्णबहादुर गुरुङका हकमा पनि सुनुवाइलाई निरन्तरता दिने गरी आइतबारका लागि पेसी तोकिएको छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम संगठित रूपमा ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा लामिछानेसहित ७ जनालाई धरौटीमा छाड्न कास्की अदालतले गत २५ पुसमा आदेश गरेको थियो । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले पूर्वडीआईजी तथा गोर्खा मिडियाका तत्कालीन सञ्चालक जोशीसँग ८८ लाख, लामिछानेसँग ६५ लाख, पछाईंसँग ३७ लाख, खनालसँग १५ लाख, कृष्णबहादुर गुरुङसँग १ लाख, मीना गुरुङसँग ५ लाख र आरती गुरुङसँग ५ लाख धरौटी मागेको थियो । तोकिएको धरौटी बुझाएर सातै जना हिरासतमुक्त भएका थिए ।

जिल्ला अदालतको आदेश बदरको माग गर्दै उच्च सरकारी वकिल कार्यालयले ७ माघमा उच्च अदालतमा निवेदन दर्ता गराएको थियो । भोलिपल्टै उच्च अदालतले कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको थियो । धरौटीमा छुटेका लामिछानेले पनि जिल्ला अदालतको आदेशविरुद्ध १४ माघमा आफैं उपस्थित भएर साधारण तारिखमा छाड्नुपर्ने माग गर्दै निवेदन दिएका थिए ।

पूर्वडीआईजी छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल र जीबी राईकी सहयोगी लीला पछाईंले २५ माघमा, आरती गुरुङ र मीना गुरुङले २१ माघमा उच्च अदालतमा निवेदन दिएका थिए । सुरु जिल्ला अदालतको आदेशउपर पेस हुने निवेदनमा एक महिनाभित्र कारबाही टुंग्याउनुपर्ने भए पनि चारपल्टसम्म सुनुवाइ सर्दै आएको हो ।

संसदीय समितिको प्रतिवेदनअनुसार सूर्यदर्शन, सुप्रिमसहित पाँच सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा सारेर अपचलन गरिएको थियो । त्यति बेला लामिछाने गोर्खा मिडियामा सञ्चालक तथा प्रबन्धक निर्देशक थिए ।

विपन्न राष्ट्रलाई जलवायु न्याय दिन वित्तीय सहायता माग

Highlights

  • सबैभन्दा बढी प्रदूषण गर्नेहरूले नै संवेदनशील राष्ट्रहरूलाई वित्त, प्रविधि, क्षमता अभिवृद्धिमार्फत सबैभन्दा बढी सहयोग गर्नुपर्छ। – केपी शर्मा ओली, प्रधानमन्त्री

काठमाडौँ — ‘जलवायु परिवर्तन : हिमाल र मानवताको भविष्य’ मूल विषयसहित ‘सगरमाथा संवाद २०२५’ काठमाडौंमा सुरु भएको छ । संवादमा जलवायुको खतरा बढ्न नदिन पर्वतदेखि टापु राष्ट्रलाई जोड्ने, हरित अर्थतन्त्रलाई प्राथमिकता दिने, जलवायु परिवर्तनको हानिनोक्सानीबाट बच्ने, न्यूनीकरण र सम्बोधन गर्ने उपाय खोज्ने, जलवायु न्याय तथा मानवताको भविष्यका लागि आवाज उठाउने, विश्वव्यापी तथा क्षेत्रीय साझेदारी बढाउने एजेन्डामा छलफल हुनेछ ।

नेपाल सरकारको आयोजनामा शुक्रबारबाट सुरु भएको तीनदिने संवादको उद्घाटनमा मुख्य वक्ताहरूले जलवायु परिवर्तनमा धनी राष्ट्रहरूको भूमिका बढी रहेको औंल्याएका छन् । जलवायु परिवर्तनका कारण गरिब राष्ट्रहरूले बढी मार खेप्नुपरेकाले वित्तीय न्याय प्रदान गर्नुपर्नेमा जोड दिएका छन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बढी वायु प्रदूषण गर्ने मुलुकहरूले नै वित्त, प्रविधि र क्षमता अभिवृद्धिमार्फत सबैभन्दा बढी योगदान गर्नुपर्ने बताए । ‘जसले सबैभन्दा बढी प्रदूषण गर्छ, उनीहरूले नै सबैभन्दा बढी योगदान दिनुपर्छ,’ ओलीले भने, ‘उनीहरूले संवेदनशील राष्ट्रहरूलाई वित्तमार्फत, प्रविधिमार्फत, क्षमता अभिवृद्धिमार्फत सहयोग गर्नुपर्छ ।’

जलवायु परिवर्तनको विषयमा छलफल गर्दा हिमाललाई बिर्सन नहुने प्रधानमन्त्री ओलीको भनाइ थियो । जलवायु परिवर्तन अहिलेको सबैभन्दा ठूलो चुनौती रहेको र यसको असरबाट कुनै पनि राष्ट्र अछुतो नरहेकाले सबैको सहकार्यमा उनले जोड दिए । ‘तर हामी यी काम एक्लै गर्न सक्दैनौं । कुनै देशले पनि एक्लै गर्न सक्दैन,’ उनले भने, ‘जलवायु परिवर्तन एक विश्वकै लागि आपत् हो र यसको समाधान पनि विश्वबाटै हुनुपर्छ ।’

कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा परराष्ट्रमन्त्री आरजु राणा देउवाले जलवायु परिवर्तन कुनै एक देशको मात्र नभएर विश्वव्यापी समस्या रहेकाले त्यसैबमोजिमको प्रतिबद्धता, सहकार्य र समन्वय आवश्यक हुने बताइन् । उनले ‘सगरमाथा संवाद २०२५’ मा जलवायु परिवर्तनको वर्तमान अवस्था र यसले निम्त्याइरहेका चुनौतीबारे बृहत् छलफल हुने बताइन् ।

Hope IVF
Global IME Updated May 12
Sunrise bank

‘यो साझा समस्यासँग जुध्नका लागि हाम्रा मात्र प्रयास पर्याप्त छैनन् । त्यसैले सबैको सामूहिक सहकार्य र समन्वयका लागि साझा प्लाटफर्म निर्माण गर्न नेपालले सगरमाथा संवादको आयोजना गरेको हो,’ उनले भनिन्, ‘नेपालले जलवायु परिवर्तनको अकल्पनीय क्षति व्यहोरिरहेको वर्तमान अवस्थाको सामूहिक वकालत गर्न तथा नेपालले विश्व मञ्चहरूमा उठाउँदै आएको जलवायु न्यायको आवाजलाई थप बुलन्द पार्न यो सम्मेलन महत्त्वपूर्ण हुनेछ ।’

विभिन्न मुलुकका प्रतिनिधिले जलवायु परिवर्तनको असर विश्वव्यापी रूपमा देखा परिरहेको र यसको न्यूनीकरणका लागि नेपालसँग सहकार्य गर्ने मौखिक प्रतिबद्धता जनाएका छन् । भारतका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भूपेन्दर यादवले जलवायु परिवर्तनजस्तो गम्भीर विषयमा नेपालले दूरदर्शी संवाद सुरु गरेकामा धन्यवाद दिँदै हिमालले खतराको संकेत देखाइरहेको र यसमा सबैबीच सहकार्य आवश्यकता रहेको बताए ।

‘विज्ञानले स्पष्ट रूपमा भनेको छ, हाम्रा हिमालहरूले खतराका संकेत गरिरहेका छन्,’ उनले भने, ‘मानव क्रियाकलापका कारण उत्पन्न विश्व तापमानकै परिणामस्वरूप हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन् । त्यसैले यो संवाद केवल छलफलका लागि होइन, साझा र ठोस कदम चाल्नका लागि आह्वान हो ।’ जलवायु परिवर्तनका कारण सिर्जित संकटमा भारतको भूमिका न्यून भए पनि जलवायु कार्यका लागि भारत गम्भीर रहेको र तत्कालीन आवश्यकताअनुसार योगदानसमेत दिइरहेको समेत उनले दाबी गरे ।

चिनियाँ राष्ट्रिय जनकंग्रेसका स्थायी समिति उपाध्यक्ष सियाओ जिएले सगरमाथासँग सम्बन्धित क्षेत्रहरूमा नेपालसँग सहकार्य गर्नु चीनको प्राथमिकता रहेको र चीन यस संवादमा सहभागी हुनु दुई देशबीचको मित्रताको प्रतीक रहेको उल्लेख गरे ।

‘यो संवाद चीन–नेपाल मित्रताको प्रतीक हो । चीन र नेपालले सगरमाथाको सीमा साझा गरेका छन्,’ उनले भने, ‘यो कार्यक्रम क्षेत्रीय र अन्तर्राष्ट्रिय सरोकारवालाहरूलाई जलवायु परिवर्तनसम्बन्धी चिन्ता साझा गर्न र साझा कार्यका लागि एक महत्त्वपूर्ण नयाँ मञ्च प्रदान गर्दछ ।’

यसैगरी कोप–२९ का अध्यक्ष एवं अजरबैजानका पारिस्थितिकीय तथा प्राकृतिक स्रोतमन्त्री मुख्तार बाबायेभले जलवायु समस्या तीव्र रूपमा बढिरहेको र यी समस्या आफूले गम्भीर रूपमा लिएको टिप्पणी गरे । ‘विश्वका धेरै भागका मानिसहरू हिमाल र हिमाली समुदायलाई टाढाको र बेग्लै रूपमा हेर्छन्,’ उनले भने, ‘उनीहरूले यी समस्याहरूले आफूलाई पनि असर गर्छ भन्ने महसुस गरेका छैनन् । तर म बुझ्दछु कि जलवायु समस्याहरू तीव्र रूपमा बढिरहेका छन् ।’

साथै उनले जलवायु परिवर्तनमा साझा कदमको समर्थन गर्नेसमेत उनले बताए । ‘हिमनदीहरू पग्लनु र समुद्री सतहको स्तर बढ्नु गम्भीर चेतावनी हुन्,’ उनले थप भने, ‘यसले दक्षिण एसियादेखि सहारा अफ्रिकासम्मका करिब १० प्रतिशत तटीय क्षेत्रहरूलाई खतरा उत्पन्न गराएको छ ।’

उद्घाटन कार्यक्रमलाई संयुक्त राष्ट्र महासंघका महासचिव एन्टोनियो गुटेरेसले भिडियो कन्फरेन्समार्फत सम्बोधन गरेका थिए । गुटेरेसले जलवायु परिवर्तनको वैश्विक चुनौतीको समाधानका लागि सबैको पहल आवश्यक रहेको बताए । ‘हिमालय क्षेत्रमा परेको असरका कारण म जानकार छु । जब हिउँ पग्लिन्छन् तब नदीमा बाढी आउँछ । यसले धेरै जनजीवन प्रभावित बनाउनेछ । जलवायु बसाइँसराइ निम्त्याउनेछ,’ उनले भने, ‘त्यही भएर आज यहाँ भेला भएका हौं । नेपालको जलवायु परिवर्तनका लागि नेपालले गरेको पहलबाट हामीले धेरैभन्दा धेरै कुरा सिक्नुपर्छ ।

संवादको पहिलो दिन उद्घाटनसत्र अतिरिक्त ‘पवर्तभन्दा पर : पवर्तलाई समुद्रसँग जोड्दै (बियोन्ड माउन्टेन्स : लिंकिङ माउन्टेन्स टु ओसन)’ विषय सत्रमा जलवायु परिवर्तनका असरका बारेमा छलफल गरिएको थियो । उक्त सत्रमा हिमनदी संरक्षणका लागि १.५ डिग्री लक्ष्यको आवश्यकता, पवर्तलाई टापुहरूसँग जोड्दै, खाद्य सुरक्षा र जलवायु प्रतिरोधी कृषि र पर्वतीय क्षेत्रमा समुदाय नेतृत्वमा आधारित जलवायु पहलहरू विषयमा विज्ञहरूले छलफल गरेका थिए । कार्यक्रमको दोस्रो दिन भने हरित अर्थतन्त्रलगायत विषयमा छलफल हुनेछ ।

सरकारले नेपालमा जलवायु परिवर्तनले पारेको असरका बारेमा विश्व समुदायको ध्यान आकृष्ट गर्ने उद्देश्यसहित करिब ६ वर्षअघि नै सगरमाथा संवादको गर्ने निर्णय गरेको थियो । तर, कोभिड महामारी र सत्ता परिवर्तनलगायतका कारणले संवाद निर्धारित मितिमा हुन सकेन ।

सरकारले संवादलाई अन्तर्राष्ट्रिय मञ्चका रूपमा विकास गर्दै हरेक दुई वर्षमा गर्ने लक्ष्य राखेको छ । शुक्रवारबाट सुरु संवादको पहिलो संस्करणमा विभिन्न मुलुकका डेढ सयभन्दा बढी विदेशी अतिथि सहभागी रहेको सरकारले जनाएको छ ।

‘कर्मचारीलाई कुलिङ पिरियड : अवकाशको २ वर्षसम्म सार्वजनिक नियुक्तिमा रोक’

Highlights

  • कर्मचारीको अवकाशको उमेर ५८ बाट बढाएर ६० वर्ष हुने व्यवस्था

काठमाडौँ — संघीय निजामती सेवासम्बन्धी विधेयक प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिबाट शुक्रबार पारित भएको छ । दफावार छलफलका लागि समितिमा पुगेको एक वर्षपछि विधेयकलाई परिमार्जनसहित टुंगो लगाइएको हो ।

संसदीय समितिबाट पारित विधेयकमा कर्मचारीले अवकाशपछि दुई वर्ष सार्वजनिक नियुक्ति लिन नपाउने गरी ‘कुलिङ पिरियड’ को व्यवस्था राखिएको छ । निजामती सेवाबाट अवकाश भएलगत्तै संवैधानिक, राजनीतिक, कूटनीतिकलगायत पदमा नियुक्ति खाने प्रवृत्ति रोक्न ‘कुलिङ पिरियड’ राखिएको हो । कर्मचारीको अवकाशको उमेर ५८ बाट बढाएर ६० वर्ष हुने व्यवस्था गरिएको छ । निजामती सेवामा अतिरिक्त सचिव रहने प्रबन्ध पनि छ ।

समितिको शुक्रबारको बैठकमा गृहमन्त्री रमेश लेखकले दुई वर्षका लागि ‘कुलिङ पिरियड’ मान्ने सरकारको निर्णय सुनाएका थिए । ‘कुलिङ पिरियड’ दुई वर्ष राख्ने समितिको निर्णयमा कानुन मन्त्रालयका सचिव उदयराज सापकोटाले भने असन्तुष्टि व्यक्त गरे । संवैधानिक परिषद्सम्बन्धी कानुनमा ‘कुलिङ पिरियड’ को व्यवस्था राख्नुपर्ने उनको तर्क थियो ।

‘सुरक्षा निकाय र विश्वविद्यालयका प्राध्यापकलाई कुलिङ पिरियड छैन, निजामती कर्मचारीलाई मात्र नियुक्तिमा रोक्न खोजियो,’ उनले भनेका थिए । सांसदहरूले भने संवैधानिक परिषद्सम्बन्धी कानुनमा ‘कुलिङ पिरियड’ को व्यवस्था गर्दा संवैधानिक परिषद्ले सिफारिस गर्ने पदमा मात्रै लाग्ने हुनाले निजामती सेवासम्बन्धी कानुनमै राख्नुपरेको तर्क गरेका थिए ।

Cooling period for employees: Prohibition on public appointments for 2 years after retirement

Hope IVF
Global IME Updated May 12
Sunrise bank

कर्मचारीको अवकाश हुने उमेर २ वर्ष बढाउने निर्णय कार्यान्वयन विधिमा भने समिति आगामी आर्थिक वर्षमा अनिवार्य अवकाशमा जान लागेका मुख्यसचिव, सचिव र सहसचिवको दबाबमा परेको छ । लोक सेवा आयोगले ‘यो ऐन प्रारम्भ भएको मितिले निजामती कर्मचारीको अनिवार्य अवकाश हुने उमेर चालु आर्थिक वर्षसम्म ५८ वर्ष, त्यसपछिको पहिलो ६ महिनासम्मका लागि ५८ वर्ष ६ महिना, त्यसपछिको दोस्रो १ वर्षसम्मका लागि ५९ वर्ष र त्यसको १ वर्षपछि सबै कर्मचारीको उमेर ६० वर्ष कायम हुनेछ,’ भन्ने व्यवस्था गर्न लिखित सुझाव दिएको थियो ।

उच्चपदस्थ कर्मचारीले भने आफ्नो कार्यकाल कम्तीमा १ वर्ष बढाउन समितिलाई विभिन्न राजनीतिक शक्तिकेन्द्रमार्फत दबाब दिँदै आएका थिए । कांग्रेस सांसद सरिता प्रसाईं, ईश्वरी न्यौपाने र अम्बिका बस्नेतले लोक सेवाको सुझावअनुसार अवकाशको उमेर हद कार्यान्वयन गर्नुपर्ने माग गरेका थिए । लोक सेवा आयोगको सुझाव सरकारले नमान्दा गलत सन्देश जाने उनीहरूको भनाइ थियो ।

तर कर्मचारीकै दबाबअनुरूप ऐन जारीपछि एक वर्षभित्र अवकाश हुन लागेका कर्मचारीको थप एक वर्ष र अर्को एक वर्षमा अवकाश हुने कर्मचारीको पनि थप एक वर्ष सेवा अवधि लम्बिने व्यवस्था विधेयकमा गरिएको छ । निजामती सेवामा ट्रेड युनियनको व्यवस्था यथावत् राखिएको छ ।

रास्वपा सांसद चन्दा कार्की, राप्रपा सांसद बुद्धिमान तामाङ, जसपा सांसद अशोककुमार राईलगायतले ट्रेड युनियन खारेज गर्नुपर्ने वा त्यसलाई नायब सुब्बासम्म मात्रै सीमित राख्नुपर्ने माग गरेका थिए । तर कांग्रेस, एमाले र माओवादीलगायतका सांसदले त्यसमा चासो नदिएपछि ट्रेड युनियनसम्बन्धी हालको व्यवस्था कायमै राखेर विधेयक पारित गरिएको छ ।

कर्मचारीका राजनीतिक दलपिच्छेका संगठनको दबाबका कारण ट्रेड युनियनलाई कानुनद्वारा व्यवस्थित गर्ने गरी विधेयकमा व्यवस्था नगरिएको हो । ट्रेड युनियनलाई खारेज गर्ने वा कमजोर पार्ने कानुन ल्याउन आफूहरूमा हिम्मत नभएको समितिका सांसदहरूले बताएका छन् । एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले समितिको बैठकमै ट्रेड युनियन हटाउन खुट्टा कापेको बताएका थिए । ‘एक मात्र आधिकारिक ट्रेड युनियन राख्नेमा सबै एकै ठाउँमा थियौं तर हामीले आँट गर्न सकेनौं, खुट्टा कमायौं,’ उनले भने ।

राजनीतिक दलगत ट्रेड युनियनमा रहेका कर्मचारीले काम नगर्ने तर शक्ति दुरुपयोग गर्ने समस्या रहेको जसपाका सांसद राईले बताएका थिए । ‘एउटा खरिदारले सहसचिवलाई सचिव बनाउन नेताहरूको घर–घर डोर्‍याउँदै हिँडेको देखेको छु,’ उनले भनेका थिए, ‘त्यसैले एउटा आधिकारिक ट्रेड युनियन मात्र राख्नुपर्छ ।’

राज्यव्यवस्था समितिले गरेको विधेयक संशोधनमा संघीयता कार्यान्वयनका लागि भन्दै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरू प्रदेश सरकारअन्तर्गत रहने व्यवस्था गरिएको छ । प्रदेश सरकारका मन्त्रालयका सचिवहरू प्रदेश निजामती सेवाकै हुने प्रावधान पनि राखिएको छ । तर त्यो पद प्रदेश लोक सेवाबाट पूर्ति नहुन्जेलसम्म संघीय निजामती सेवाबाट नै पठाइने व्यवस्था राखिएको छ ।

निजामती सेवामा एक व्यक्तिले दुई पटक मात्रै आरक्षणको सुविधा पाउने व्यवस्था पनि विधेयकमा गरिएको छ । त्यो सुविधा रापत्रांकित र राजपत्र अनंकित पदमा एक–एकपटक मात्रै हुनेछ । निजामती सेवामा प्रवेशको उमेर पुरुषको यथावत् राख्दा महिलाको भने एक वर्ष घटाइएको छ । यसअघि पुरुषले ३५ वर्ष र महिलाले ४० वर्षसम्म प्रवेशका लागि परीक्षा दिन पाउनेमा महिलाको अब ३९ वर्ष हुने व्यवस्था विधेयकमा गरिएको हो ।

निजामती सेवामा प्रवेशका लागि पद पनि घटाइएको छ । यो विधेयक सदनबाट जस्ताको तस्तै पारित भए नायब सुब्बामा खुला प्रतिस्पर्धा हुने छैन । खुला प्रतिस्पर्धाबाट निजामती सेवाको उपसचिवसम्म मात्रै प्रवेश पाइनेछ । अतिरिक्त सचिवको व्यवस्था गरेको विधेयकमा मुख्यसचिव र सचिवको कार्यकाल घट्ने व्यवस्था गरिएको छ ।

अतिरिक्त सचिवको कार्यकालको सीमा नराखिएको विधेयकमा मुख्यसिचवको हालको भन्दा १ वर्ष घटाएर २ वर्ष र सचिवको ५ वर्षबाट घटाएर ४ वर्ष पदावधि हुने व्यवस्था गरिएको छ । त्यस्तो प्रावधान हाल पदमा रहेकाहरूका हकमा भने लागू नहुने व्यवस्था पनि विधेयकमा छ ।

एक प्रदेश लोक सेवाबाट जागिर खाइरहेको कर्मचारी अर्को प्रदेश लोकसेवाको पदमा सरुवा हुन पाउने व्यवस्था पनि विधेयकमा गरिएको छ । सुरुमा कम्तीमा १० वर्ष एक प्रदेश सेवाअन्तर्गत काम गरेको हुनुपर्ने व्यवस्था राखिएकामा त्यसलाई बढीमा १० वर्ष सेवा गरेको हुनुपर्ने व्यवस्था राखिएको छ । एक प्रदेशको लोक सेवामा जागिर खाएको व्यक्तिलाई अर्को प्रदेशको लोक सेवाअन्तर्गत सरुवा हुन पाउने कानुन संघीयता विरोधी हुने तर्क समितिमा उठेको थियो ।

मुलुकको प्रशासनिक प्रणालीलाई शासन व्यवस्थाअनुरूप सुव्यवस्थित, कार्यात्मक र नतिजामुखी बनाउनुका साथै प्रशासनिक संघीयता प्रभावकारी बनाउने भन्दै सरकारले २१ फागुन २०८० मा संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा दर्ता गरेको थियो । त्यसलाई प्रतिनिधिसभाले दफावार छलफलका लागि ५ जेठ २०८१ मा राज्यव्यवस्था समितिमा पठाएको थियो ।

समिति सभापति रामहरि खतिवडाले शुक्रबारको बैठकमा विधेयक परिमार्जनसहित सर्वसम्मत पारित भएको घोषणा गरेका थिए । राप्रपाका सांसद बुद्धिमान तामाङले भने विधेयकमाथि लिखित फरक मत सभापति खतिवडालाई बुझाएका छन् । स्थायी सरकार भनिएको निजामती कर्मचारीमा राजनीतिक दलसँग सम्बन्धित ट्रेड युनियन हुन नहुने भन्दै उनले फरकमत बुझाएको समिति सचिवालयले जनाएको छ ।

समितिबाट पारित विधेयक प्रतिवेदनसहित प्रतिनिधिसभामा पेस गरिनेछ । त्यहाँबाट अनुमोदन भएपछि राष्ट्रिय सभामा पठाइनेछ । दफावार छलफल गर्दै राष्ट्रिय सभाले पारित गरेपछि प्रतिनिधिसभामा फर्काइनेछ । त्यसपछि सभामुखले प्रमाणीकरणका लागि विधेयक राष्ट्रपति कार्यालय पठाउनेछन् । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनका रूपमा लागू हुनेछ ।

विधेयकका मुख्य प्रावधान

– सेवा प्रवेशको उमेर हद पुरुषमा ३५ वर्ष, महिलामा ३९ वर्ष

– खुला प्रतिस्पर्धा नायब सुब्बामा नहुने, उपसचिव माथिका पदमा पनि नहुने

ट्रेड युनियनको व्यवस्था यथावत्

– मुख्यसिचवको कार्यकाल २ वर्ष, सचिवको ४ वर्ष

– आरक्षण सुविधा राजपत्रांकित र राजपत्र अनंकित पदमा एक–एक पटक

– एक प्रदेश लोक सेवाबाट जागिर खाइरहेको कर्मचारी अर्को प्रदेश लोक सेवाको पदमा सरुवा हुन पाउने

– स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश सरकारअन्तर्गत

इन्दुको कप्तानी इनिङ्स, नेपालको झिनो आशा कायमै

Highlights

  • हङकङले शुक्रबार बहराइनविरुद्ध जित हात पार्न नसके नेपाल अगाडि बढ्ने

काठमाडौँ — कप्तान इन्दु बर्माको आक्रामक ब्याटिङमा नेपालले महिला ट्वान्टी–२० क्रिकेट विश्वकपको एसिया छनोटमा बिहीबार बहराइनलाई ६ विकेटले पराजित गरी दोस्रो चरणमा पुग्ने झिनो आशालाई कायमै राखेको छ ।

प्रतियोगितामा नेपालको यो दोस्रो विजय हो । नेपालले समूह चरणको सबै ४ खेल खेली ५ अंक बटुलेको छ । हङकङको ३ खेलमा ४ र बहराइनको ३ खेलमा १ अंक छ । हङकङ र बहराइन शुक्रबार खेल्दै छन् । हङकङले खेल जितेमा टोली नै दोस्रो चरणमा पुग्नेछ । अन्यथा नेपाल दोस्रो चरणमा पुग्नेछ ।

हङकङको खेल वर्षाले बिथोलेर जितको नतिजा आउन नसकेकामा टोलीको पनि ५ अंक हुनेछ । हङकङ नेट रन रेटमा नेपालभन्दा अगाडि रहे पनि प्रतियोगिताको नियामावलीअनुसार सर्वाधिक खेलमा विजय हात पार्ने टोली अगाडि जानेछ । नेपालले २ खेल जितेको छ भने हङकङले १ खेल मात्र जितेको छ । यस्तोमा हङकङले स्पष्ट विजय हात पार्न नसकेको खण्डमा नेपाल दोस्रो चरणमा पुग्नेछ ।

डबल राउन्ड रोबिनमा आयोजित प्रतियोगितामा सहभागी ९ टोलीलाई ३ समूहमा विभाजन गरिएको छ र प्रत्येक समूहका शीर्ष टोली दोस्रो चरणमा पुग्नेछन् । त्यसपछि ३ टोलीले एक आपसमा प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली ट्वान्टी–२० विश्वकप छनोटमा पुग्नेछन् ।

Indu's captaincy innings, Nepal's faint hope remains

Hope IVF
Global IME Updated May 12
Sunrise bank

थाइल्यान्डमा भइरहेको प्रतियोगिता वर्षाका कारण पुनः प्रभावित हुन पुग्यो । टस जितेर ब्याटिङ रोजेको बहराइनले बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा १२.४ ओभरमा ७६ रन बनाइरहेको समयमा वर्षाले लामो सयम खेल रोकिएको थियो । त्यसपछि डकवर्थ पद्धतिका आधारमा नेपाललाई ७ ओभरमा ५६ रनको लक्ष्य दिइएको थियो ।

इन्दुले ७ बलमै अविजित २४ रन बनाएपछि नेपालले ५.४ ओभरमै लक्ष्य पूरा गरेको थियो । पहिलो २ ओभरभित्र ८ रन बनाउँदा सम्झना खड्का (५), रुबी पोदार (१) र कविता कुँवर (०) लाई गुमाइसकेको अवस्थामा प्लेयर अफ द म्याच इन्दुले ४ चौका र १ छक्का प्रहार गरिन् । पूजा महतोले ११ बल खेलि २ चौकासहित १३ रन बनाइन् । पूर्वकप्तान रुविना क्षेत्री ५ बलमा ४ रन बनाई अविजित रहिन् । सम्झना पहिलो ओभरमै रनआउट भएकी थिइन् । बहराइनबाट बाँकी ३ विकेट पभित्रा शेट्टीले २ ओभरमा १० रन मात्र खर्चेर लिएकी थिइन् ।

यसअघि बहराइनबाट थाराङ्गा गजानायके १२, रसिका रोड्रिगो २९ बलमा ३ चौकासहित २४ र कप्तान दीपिका रसनगिका २७ बलमा २ चौका प्रहार गरी २३ रनमा आउट भएका थिए । तीनै खेलाडी रनआउट भएका थिए ।

सुत्केरी बिदामा ‘सट्टा शिक्षक’

Highlights

  • सुत्केरी हुनुअघि र भएपछि तीन महिनासम्म बिदामा बस्दा सामुदायिक विद्यालयको पढाइ प्रभावित हुन नदिन पालुङटार नगरपालिकाद्वारा तीन जना घुम्ती शिक्षकको व्यवस्था

गोरखा — शिक्षक सुत्केरी बिदामा बस्दा पढाइ प्रभावित हुन नदिन पालुङटार नगरपालिकाले ‘सट्टा शिक्षक’ राखेको छ । तीन सहयोगी शिक्षक नियुक्त गरी सामुदायिक विद्यालयमा सुत्केरी बिदामा रहेका शिक्षकका सट्टामा उनीहरूलाई खटाउने गरिएको हो ।

शिक्षक सुत्केरी हुनुअघि वा पछि बिदा बसेको अवस्थामा पठनपाठन नियमित गर्नर् करार शिक्षक छनोट गरी परिचालन गरिएको नगरपालिकाका शिक्षा अधिकृत माधव पोखरेल बताउँछन् ।

‘पालिकामा महिला शिक्षक धेरै हुनुहुन्छ, सुत्केरी हुँदाको बखत उहाँहरूले तीन महिना बिदा पाउने प्रावधान छ,’ पोखरेल भन्छन्, ‘तीन महिनासम्म शिक्षक नहुँदा पढाइ प्रभावित वन्ने भयो, त्यसैले यस्तो व्यवस्था गरिएको हो ।’

बिदाका लागि महिला शिक्षकले विद्यालयलाई जानकारी गराएपछि विद्यालयले नगरपालिकाको शिक्षा शाखालाई शिक्षक माग गर्ने व्यवस्था मिलाइएको छ । ‘विद्यालयले शिक्षक सुत्केरी बिदामा बसेको जानकारी गराएपछि सट्टामा शिक्षक खटाउँछौं,’ उनी भन्छन्, ‘कहिलेकाहीं सुत्केरी बिदा सकिएर शिक्षक हाजिरी हुने र सट्टामा पठाएका शिक्षकलाई अर्को विद्यालय पठाउनुपर्ने अवस्था नआए पढाइरहेको विद्यालय वा धेरै विद्यार्थी संख्या भएको विद्यालयमा आवश्यकताका आधारमा खटाउँछौं ।’

Hope IVF
Global IME Updated May 12
Sunrise bank

हाल नगरपालिकाको अनुदानमा अर्चना घिमिरे, बिना दुवाडी र सरिता देवकोटालाई करारमा नियुक्त गरी नगर क्षेत्रका सामुदायिक विद्यालयमा आवश्यकताका आधारमा खटाइएको छ । करारमा शिक्षक राख्न नगरपालिकाले नगर अनुदानमा सहयोगी शिक्षक व्यवस्थापन कार्यविधि २०८१ पनि बनाएको छ ।

करारमा नियुक्त शिक्षकलाई प्रसूति बिदा बसेको विद्यालय, शिक्षक विद्यार्थी अनुपात बढी भएको विद्यालय, कक्षागत तथा तहगत शिक्षक दरबन्दी नभएको विद्यालय र आन्तरिक आयस्रोत नभएको विद्यालयमा खटाइने कार्यविधिमा उल्लेख छ ।

विद्यालयको पठनपाठनलाई निरन्तरता दिन आवश्यक जनशक्ति व्यवस्थापन गर्ने, सामुदायिक विद्यालयको अंग्रेजी, गणित, विज्ञान, कम्प्युटर र नेपाली विषयमा शिक्षक अभावलाई आंशिक परिपूर्ति गर्न, विद्यालयको शैक्षिक व्यवस्थालाई सुधार ल्याउन तथा शैक्षिक गुणस्तर अभिवृद्धिमा सघाउ पुर्‍याउन सहयोगी शिक्षक राखिएको नगरपालिकाले जनाएको छ ।

प्रत्येक आर्थिक वर्ष नगर सभाबाट विनियोजित बजेटका आधारमा नगरपालिकाको अनुदान रकमबाट तलबभक्ता खाने गरी सहयोगी शिक्षक नियुक्ति गर्न नगर शिक्षा समितिले गरेको सिफारिसका आधारमा कार्यपालिकाले तह र विषय खुलाई कोटा निर्धारण गर्छ ।

पालुङटार नगरपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन २०७५ को दफा ४ ले दिएको अधिकार प्रयोग गरी कार्यपालिकाले कार्यविधि बनाएको हो । सहयोगी शिक्षक राखेपछि सामुदायिक विद्यालयको पढाइ प्रभावित हुने समस्या टरेको नगरप्रमुख विवश चिन्तन बताउँछन् ।

आजदेखि सगरमाथा संवाद : जलवायु परिवर्तनको जोखिम रोक्नेदेखि न्याय मागसम्मका एजेन्डा

काठमाडौँ — काठमाडौंमा शुक्रबार ‘सगरमाथा संवाद २०२५’ सुरु हुँदै छ । तीन दिनसम्म चल्ने संवादमा १७५ जना विदेशी पाहुना सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । पहिलो संस्करणको यो संवाद ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ अवधारणामा केन्द्रित छ ।

सगरमाथा संवाद सचिवालयका सदस्य सचिव महेश्वर ढकालले मुख्यगरी पाँचवटा मुद्दा उठाउन लागिएको जानकारी दिए ।

उनका अनुसार जलवायु परिवर्तनको खतरा बढ्न नदिन पर्वतदेखि टापु राष्ट्रलाई जोड्ने, हरित अर्थतन्त्रलाई प्राथमिकता दिने, जलवायु परिवर्तनको हानिनोक्सानीबाट बच्ने, न्यूनीकरण र सम्बोधन गर्ने उपाय खोज्ने, जलवायु न्याय तथा मानव भविष्यको लागि आवाज उठाउने, विश्वव्यापी तथा क्षेत्रीय साझेदारी बढाउने संवादका मुख्य एजेन्डा छन् ।

ढकालका अनुसार सगरमाथासमेत पर्ने नेपालको उच्च हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरबारे छलफल हुनेछ । त्यसबाट तल्लो क्षेत्रमा परिरहेको असर गहिरिन नदिन तत्काल आवश्यक कदम उठाउने विषयमा बहस हुनेछ । ‘अस्वाभाविक र अत्यधिक हिउँ पग्लिनु, पहाडमा पहिरो जानु र तराई डुबानमा पर्नु जलवायु परिवर्तनले देखिएका समस्या हुन्,’ उनले भने, ‘यसका लागि नेपालले जलवायु वित्त र जलवायु न्यायका लागि पहल गर्ने नै हो ।’

नेपालले एक्लै जोखिम कम गर्न नसक्ने भएकाले साझा सम्बोधन गर्ने लक्ष्य लिएको ढकालले बताए । ‘हरित अर्थतन्त्रका उपाय के हुन सक्छन् ? त्यसको खोजी गरिनेछ,’ उनले भने, ‘साथै जलवायु अनुकूलनका विषयमा पनि बहस हुनेछ ।’

Hope IVF
Global IME Updated May 12
Sunrise bank

नेपालले हिमनदी संरक्षणका लागि ‘पृथ्वीको तापक्रम १.५ डिग्रीभन्दा कम’ हुनुपर्ने लक्ष्यको आवश्यकतामाथि छलफल गर्नेछ । विश्व मौसम संगठन (डब्लूएमओ) का अनुसार सन् २०२४ हालसम्मकै सबैभन्दा तातो वर्ष थियो । त्यतिबेला पृथ्वीको तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो ।

इन्टरगभरमेन्टल प्यानल अन क्लाइमेट चेन्ज (आईपीसीसी) को सन् २०१९ को प्रतिवेदनअनुसार पृथ्वीको तापमान १.५ डिग्री सेल्सियसमाथि पुग्दाको असर हिमनदी र मूल नदी प्रणालीमा आश्रित राष्ट्रमा असमान रूपमा पर्न जान्छ ।

नेपालले आफ्ना हिमनदीको विनाश रोक्न पनि पर्वतीय मुलुकदेखि टापु राष्ट्रलाई यस संवादमार्फत जोड्न खोजिरहेको सदस्य सचिव ढकालको भनाइ छ । संवादमा नेपालले जलवायु परिवर्तनका कारण भोगेको असर प्रमाणसहित प्रस्तुत गर्दै छ ।

जसका लागि नेपालले ‘जलवायु परिवर्तनको बुझाइ, नेपालमा प्रभाव र जोखिम’ विषयमा तथ्य पत्रसमेत तयार गरेको छ । तथ्य पत्रमा सन् २०२३ र २०२४ मा भारी वर्षाको कारणले पूर्वीय क्षेत्रमा जलविद्युत् आयोजनामा ६३ मिलियन अमेरिकन डलरबराबरको क्षति पुगेको उल्लेख छ । यसैगरी पछिल्लो पाँच वर्षमा नेपालमा जलवायु परिवर्तनले बाढी, पहिरो र हिमताल फुटिरहेको उक्त पत्रमा उल्लेख छ ।

सन् २०२१ मा भारी वर्षाका कारण मेलम्चीमा आएको बाढीले ४९६ मिलियन अमेरिकी डलरबराबर र सन् २०२४ मा हिमाली क्षेत्र थामेमा आएको बाढीले ६.१७ मिलियन अमेरिकी डलरबराबर क्षति पुगेको सोही तथ्यमा छ । यी तथ्यमार्फत नेपालले जलवायु वित्तका लागि धनी राष्ट्रसँग माग गर्ने र पर्वतीय मुलुकका तर्फबाट सहजीकरण एवं नेतृत्वदायी भूमिका खेल्ने लक्ष्य राखेको छ ।

पूर्वपरराष्ट्रमन्त्री विमला राई पौड्यालले जलवायु परिवर्तनको विषयमा पर्वतीय मुलुकका तर्फबाट नेपालले नेतृत्वदायी भूमिका निर्वाह गर्नु आवश्यक भएको बताएकी छन् ।

‘पर्वतसँग हाम्रो जीविकोपार्जन जोडिएको छ । हाम्रो सबैभन्दा ठूलो पर्यटनको हिस्सा पर्वत र पानीसँग जोडिएको छ,’ उनले भनिन्, ‘हिमाल रहेन भने पहाड र तराई रहँदैन । यसमा नेपालले नै पहल गर्ने हो ।’ नेपाल एक्लैले गर्न नसक्ने र सबैको सामूहिक ऐक्यबद्धता खोजेको उनको भनाइ छ ।

विभिन्न १२ देशबाट सम्बन्धित मन्त्री तथा उच्च प्रतिनिधि संवादमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । संवादमा चीनबाट राष्ट्रिय जनकंग्रेसका स्थायी समिति उपाध्यक्ष सियाओ जिए र भारतबाट वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भूपेन्दर यादवले प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । कोप–२९ का अध्यक्ष एवं अजरबैजानका पारिस्थितिकी तथा प्राकृतिक स्रोतमन्त्री मुख्तार बाबायेभ पनि संवादमा सहभागी हुनेछन् ।

जापानबाट संसदीय उपविदेशमन्त्री इकुइना अकिको, भुटानबाट ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री जेम छिरिङ, माल्दिभ्सबाट पर्यटन तथा वातावरणमन्त्री थोरिक इब्राहिम र बेलायतबाट उपविदेशमन्त्री ब्यारोनेस सुसान हेमन पनि संवादका लागि आउनेछन् ।

कतारबाट राजदूत एवं जलवायु परिवर्तनका लागि विदेश मन्त्रालयका विशेष दूत एवं उपमन्त्री बादर ओमल अल डफा र युनाइटेड अरब इमिरेट्सबाट ऊर्जा तथा दिगोपन मामिलाका सहायक विदेशमन्त्री अब्दुल्ला बलाला संवादमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

पाकिस्तान र बहराइनबाट एक–एक मन्त्री र बंगलादेशबाट समाज कल्याण र महिला तथा बालबालिका मन्त्रालयका सल्लाहकार संवादमा सहभागी हुनेछन् । किर्गिस्तान, ओमन, ब्राजिल र इजिप्टले पनि प्रतिनिधित्व गराउनेछन् ।

यसबाहेक सार्क, बिमस्टेक, लस एन्ड ड्यामेज फन्ड, विकास साझेदार गरी ६१ संघसंस्थाका प्रतिनिधि पनि संवादमा सहभागी हुनेछन् ।

नेपालका ५ एजेन्डा

  • जलवायु परिवर्तनको जोखिम बढ्न नदिन हिमालदेखि टापु राष्ट्रसम्मलाई जोड्ने
  • हरित अर्थतन्त्रलाई प्राथमिकता दिने
  • जलवायु परिवर्तनको नोक्सानीबाट बच्ने र सम्बोधन गर्ने उपाय खोज्ने
  • जलवायुसम्बन्धी विश्वव्यापी तथा क्षेत्रीय साझेदारी बढाउने
  • जलवायु न्याय तथा मानव भविष्यका लागि आवाज उठाउने

टेरामक्स भ्रष्टाचारमा सवा ३ अर्बको बिगो, पूर्वमन्त्री बस्नेत र पूर्वसचिव ज्ञवालीसहित १८ विरुद्ध मुद्दा

Highlights

  • तत्कालीन सञ्चारमन्त्रीद्वय ज्ञानेन्द्रबहादुर कार्की र गोकुल बाँस्कोटा, तत्कालीन सञ्चार सचिवद्वय महेन्द्रमान गुरुङ र वैकुण्ठ अर्याल, तत्कालीन सञ्चार सहसचिव विनोद सिंहलगायतलाई भने उन्मुक्ति

काठमाडौँ — नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्सका उपकरण खरिदका क्रममा अनियमितता गरेको अभियोगमा पूर्वमन्त्री एवं कांग्रेस सांसद मोहनबहादुर बस्नेतसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपकरण खरिद कार्यमा संलग्नविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १ सय ८२ रुपैयाँ बिगो कायम गरेर कैद सजाय मागदाबीसहित बिहीबार विशेष अदालतमा मुद्दा चलाएको हो ।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार तत्कालीन सञ्चारमन्त्री एवं सिन्धुपाल्चोक–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बस्नेत, दूरसञ्चार प्राधिकरणका तत्कालीन सदस्य धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेती, प्राधिकरणका पूर्वअध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनालविरुद्ध मुद्दा दायर गरिएको छ ।

अख्तियारले प्राधिकरणका तत्कालीन निर्देशक विजयकुमार राय, सुरेन्द्रलाल हाडा र दीपेश आचार्य तथा उपनिर्देशक रेवतीराम पन्थ, सुरेश बस्नेत, हिरण्यप्रसाद बस्ताकोटी, अच्युतानन्द मिश्र र सन्दीप अधिकारीविरुद्ध पनि आरोपपत्र दायर गरेको छ ।

Case against 18 including former minister Basnet and ex-secretary Gyawali in Teramox corruption of 3.5 billion

Hope IVF
Global IME Updated May 12
Sunrise bank

प्राधिकरणलाई हानिनोक्सानी गर्ने गराउने कार्यमा संलग्न देखिएको भन्दै अख्तियारले परामर्शदाता भेनराइज सोलुसन्स र त्यसका सीईओ जमल अनौती, भेनराइजका स्थानीय एजेन्ट कनेक्सन ट्रेड लिंक प्रालि र त्यसका अध्यक्ष दिलीपकुमार गुरुङ तथा निर्देशक तेजप्रसाद खरेललाई पनि प्रतिवादी बनाएको छ ।

टेरामक्स प्रकरणमा मुछिएका तत्कालीन सञ्चारमन्त्रीद्वय ज्ञानेन्द्रबहादुर कार्की र गोकुल बाँस्कोटा, तत्कालीन सञ्चार सचिवद्वय महेन्द्रमान गुरुङ र वैकुण्ठ अर्याल (मुख्य सचिवबाट अवकाश) र सञ्चार मन्त्रालयका तत्कालीन सहसचिव (हाल सचिवबाट अवकाश) विनोद सिंहसहितलाई भने अख्तियारले मुद्दा चलाएको छैन । उनीहरूले अपराध पुष्टि हुने गरी कसुर गरेको प्रमाणित नभएकाले प्रतिवादी नबनाइएको अनुसन्धानमा संलग्न एक अधिकारीले दाबी गरे ।

अख्तियारले पूर्वमन्त्री बस्नेत तथा दूरसञ्चार प्राधिकरणका तत्कालीन पदाधिकारीविरुद्ध समान १० वर्षदेखि १४ वर्षसम्म कैदसजाय मागदाबी गरेको छ । तत्कालीन मन्त्री बस्नेतविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १ सय ८२ रुपैयाँ बिगो असुल, मन्त्रिपरिषद्को अधिकारक्षेत्र नाघेर आफैंले गैरकानुनी रूपमा प्राधिकरणलाई निर्देशन दिएकामा थप १ वर्षसम्म कैद वा ५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनुपर्ने आरोपपत्रमा उल्लेख छ । उच्च ओहदामा रहेर कसुर गरेकामा बस्नेतविरुद्ध थप ३ वर्ष कैद सजाय पनि माग गरिएको छ ।

प्राधिकरणका तत्कालीन अध्यक्षद्वय झा र खनाललाई पनि समान ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १ सय ८२ रुपैयाँ बिगो असुल र उच्च ओहदामा कसेर कसुर गरेकामा थप ३ वर्ष कैदसजाय हुनुपर्ने आरोपपत्रमा उल्लेख छ । कानुन मन्त्रालयबाट प्राधिकरणमा विज्ञ सदस्यका रूपमा खटाइएका तत्कालीन सहसचिव (पछि सचिवबाट अवकाश) ज्ञवाली र अर्का सदस्य टीकाप्रसाद उप्रेतीबाट संयुक्त रूपमा ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १ सय ८२ रुपैयाँ बिगो असुल हुनुपर्नेर् अख्तियारको मागदाबी छ ।

Case against 18 including former minister Basnet and ex-secretary Gyawali in Teramox corruption of 3.5 billion

प्राधिकरणका निर्देशक विजयकुमार राय, उपनिर्देशकहरू रेवतीराम पन्थ, सुरेश बस्नेत, हिरण्यप्रसाद बस्ताकोटी र अच्युतानन्द मिश्रविरुद्ध एकमुष्ट ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १ सय ८२ रुपैयाँ बिगो असुल, गलत प्रतिवेदन दिएकामा थप ३ महिनादेखि १ वर्षसम्म कैद र १० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुनुपर्ने अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

यस्तै, प्राधिकरणका निर्देशकद्वय सुरेन्द्रलाल हाडा र दिपेश आचार्य तथा उपनिर्देशक सन्दीप अधिकारीविरुद्ध पनि एकमुष्ट ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो असुल मागदाबी गरिएको छ ।

भेनराइज सोलुसन्स र त्यसमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जमल अनौतीलाई मतियारका रूपमा कसुरदार बनाएर एकमुष्ट ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १ सय ८२ रुपैयाँ बिगो असुल र १० वर्षदेखि १४ वर्षसम्म कैद सजाय हुनुपर्ने अख्तियारको माग छ । यस्तै भेनराइज सोलुसन्सको स्थानीय एजेन्ट कनेक्सन ट्रेड लिंक, त्यसका अध्यक्ष दिलीपकुमार गुरुङ र निर्देशक तेजप्रसाद खरेललाई पनि मतियारकै रूपमा भेनराइज सोलुसन्स र अनौतीलाई जति नै बिगो असुल, कैद र जरिवाना दाबी गरेर मुद्दा चलाइएको छ ।

विदेशबाट आउने कल नियमन तथा अवैध कल बाइपासबाट हुने राजस्व छली रोक्ने भन्दै सरकारले ‘टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स)’ जडान गर्ने निर्णय लिएको थियो । आर्थिक वर्ष २०७४/७५ को वार्षिक कार्यक्रम सहमतिका लागि प्राधिकरणले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पठाएकामा मन्त्रालयले बजेटमा समावेश नभएको टेरामक्स उपकरण खरिदसमेतलाई समेटेर २३ भदौ २०७४ मा स्वीकृत गरेको थियो ।

त्यस क्रममा ‘यसका साथै इन्टरनेसनल कल मनिटरिङ र भीओआईपी कल नियन्त्रणका लागि उपयुक्त उपकरण–प्रणालीहरू खरिद गर्ने’ भन्ने बुँदा थपिएको थियो । त्यसपछि १ असोज २०७४ मा प्राधिकरण बोर्ड बैठकले ३ अर्ब २५ करोड लागत स्वीकृत गरेर खरिद प्रक्रिया अघि बढाएको थियो ।

वार्षिक कार्यक्रम स्वीकृत गर्ने सञ्चारमन्त्री बस्नेत थिए भने त्यति बेला प्राधिकरण अध्यक्षमा झा थिए । जबकि व्यक्तिको फोनकल ‘ट्यापिङ’ गर्ने कानुन नबनाई त्यस्ता उपकरण जडान गर्न नहुने भनी तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठको इजलासले २१ माघ २०७२ मै आदेश गरिसकेको थियो ।

उपकरण खरिदका लागि प्राधिकरणले २० असोज २०७४ मा परामर्शदाता छनोट प्रक्रिया अघि बढाएको थियो । त्यसअघि असोज १७ मा तत्कालीन सचिव महेन्द्रमान गुरुङ र मन्त्री बस्नेतले चरणबद्ध रूपमा फाइल स्वीकृत गराएका थिए । आम निर्वाचनपछि शेरबहादुर देउवा नेतृत्वको सरकार हटेसँगै र यो विषय मुद्दा मामिलामा गएपछि प्रक्रिया अवरुद्ध बन्यो ।

आम निर्वाचनपछि माओवादीको साथमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भए । ओली मन्त्रिपरिषद्मा सञ्चारमन्त्री रहेका गोकुल बाँस्कोटाले टेरामक्सको उपकरण खरिद प्रक्रियालाई अगाडि बढाए । दूरसञ्चार प्राधिकरणले उपकरण खरिदका लागि २५ करोड रुपैयाँ मागेर पत्र पठाएकामा तत्कालीन मन्त्री बाँस्कोटाले ७० करोड रुपैयाँको बजेट कात्तिक २०७५ मा स्वीकृत गराए । त्यसपछि पनि यो विषय मुद्दामामिला र विवादमा परेपछि फाइल अघि बढेन ।

त्यसको डेढ वर्षपछि फागुन २०७६ मा सेक्युरिटी प्रिन्टिङका उपकरण खरिदमा ७० करोडको ‘घूस डिल’ मा मुछिएपछि बाँस्कोटाले पदबाट राजीनामा दिए । त्यसपछि युवराज खतिवडा सञ्चारमन्त्री भए । उनका पालामा टेरामक्स उपकरण खरिद प्रक्रिया अघि बढेन । सर्वोच्च अदालतको परमादेशबाट ओली पदमुक्त भएर २८ असार २०७८ मा कांग्रेस सभापति शेरबहादुर देउवा पुनः प्रधानमन्त्री बने । त्यसलगत्तै टेरामक्स खरिद प्रक्रिया पुनः अघि बढाइयो ।

त्यति बेला कांग्रेस नेता कार्की सञ्चारमन्त्री थिए भने अर्याल सचिव थिए । त्यही अवधिमा साइप्रसमा दर्ता र लेबनानमा कार्यालय रहेको भेनराइज सोलुसन्समार्फत सवा ३ अर्ब रुपैयाँ बराबरको उपकरण किन्न ठेक्का लगाइएको थियो । मन्त्री र सचिवबाट अघि बढाइएको फाइलमा ‘सर्वोच्च अदालतको आदेशअनुसार’ भनी लेखेका कारण उनीहरूलाई प्रतिवादी नबनाइएको अख्तियारले जिकिर गरेको छ । उपकरण खरिदसम्बन्धी टेन्डर आह्वान हुँदा प्राधिकरणमा दिगम्बर झा नै अध्यक्ष थिए ।

टेन्डरमा सामेल १६ कम्पनीमा भेनराइज सोलुसन्स, एसजीएस एसएस जेनेभा, टीकेसी टेलिकम इन्क क्यानडा, एनसफ्ट लिमिटेड हङकङलगायत थिए । सुरुमै निश्चित कम्पनीका लागि अनुकूल हुने गरी मिलेमतोमा टेन्डरका प्रावधान राखिएकाले सर्ट–लिस्टमा परेकामध्ये भेनराइजलाई छानेर २ करोड ३७ लाख ७० हजार अमेरिकी डलर (३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँं) को ठेक्का दिलाइएको थियो । त्यति बेला टीकेसीले १ करोड १५ लाख डलरमै उपकरण उपलब्ध गराउने प्रस्ताव गरेको थियो । यी प्रक्रियादेखि खरिदसम्मका कार्य मिलेमतोमै काम भएको अनुसन्धानमा देखिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

भेनराइज सोलुसन्सले पहिलो चरणमा अस्वाभाविक मूल्य राखेर उपकरण ल्याएपछि अनियमितता खुलासा भएको थियो । त्यति बेला सामानको मूल्य अस्वाभाविक देखेर विमानस्थल भन्सारले रोकिदिएको थियो । टेरामक्स खरिदमा सिलसिलेबार रूपमा गरिएको ‘सेटिङ’ र अनियमितताका विषयमा कान्तिपुरले ४ माघ २०७९ मा समाचार प्रकाशन गरेको थियो ।

उपकरण खरिदको ठेक्का लगाउने बेला कम्पनी विशेषका लागि मापदण्ड परिवर्तन गरिदिएको समेत तथ्य पाइएको थियो । विमानस्थल भन्सारले गोदाममै सामान रोकेर जाँच गर्दा कानुनविपरीत उपकरण ल्याउने मात्रै होइन, चीनमा बनेका उपकरण साइप्रसमा दर्ता भएको कम्पनीले लेबनानको कम्पनीबाट कारोबार गर्ने गरी ल्याउने सम्झौता भएको खुलेको थियो । त्यसपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

प्राधिकरणबाट खरिद प्रक्रिया थाल्दै अनियमितता भएको उजुरी परेपछि छानबिन गर्दा कैफियत भेटिएको भन्दै अख्तियारले भेनराइजसँगको सम्झौता रद्द गर्न निर्देशन दिएको थियो । अख्तियारले २०७५ पुस र चैतमा पत्र लेख्दै टेरामक्स सेवा खरिदका सबै प्रक्रिया रद्द गर्न निर्देशन दिएको थियो ।

अख्तियारले तेस्रो पटक चेतावनीसहित प्राधिकरणलाई पत्र पठाएपछि २९ वैशाख २०७६ मा भेनराइजलाई ठेक्का दिने प्रक्रिया रद्द गरिएको थियो । अख्तियारको निर्देशन छलेर खरिद गर्नलाई जोडबल भने चलिरहेको थियो । ठेक्का रद्दपछि ठेकेदार कम्पनी ठेक्का खारेज गर्ने निर्णयविरुद्ध पुनरावलोकन समितिमा नगई सिधै सर्वोच्च अदालत पुगेको थियो ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश कुमार चुडालको इजलासले १४ वैशाख २०७८ मा रिटमाथि सुनुवाइ गर्दै भेनराइजबाटै ठेक्का अघि बढाउन आदेश गर्‍यो । त्यसको साढे २ महिनापछि देउवा प्रधानमन्त्री र कार्की सञ्चारमन्त्री बनेका थिए । त्यसपछि खरिद प्रक्रिया अघि बढेको थियो । कार्कीले ग्रामीण दूरसञ्चार कोषबाट पूरक बजेट खर्च गर्न पाउने गरी ठेक्का सम्झौतालाई सहमति दिएका थिए ।

टेरामक्स खरिदका लागि सञ्चार मन्त्रालयका तत्कालीन सहसचिव सिंहले पूरक बजेट स्वीकृतिका लागि १७ कात्तिक २०७८ मा टिप्पणी आदेश उठाएका थिए । ५ दिनपछि २२ कात्तिकमा सचिव अर्यालले ‘माथि प्रस्तुत विषय नेपालका लागि आवश्यक भएको, अदालतबाट आदेश भएको र यसका लागि प्राधिकरणको चालु आवमा बजेट विनियोजन नभएको हुँदा पूरक बजेटको व्यवस्था गरी टेरामक्सका लागि आवश्यक उपकरण खरिद गर्न सहमति दिने निर्णयका लागि पेस गरेको छु’ भन्ने व्यहोरासहित पेस गरेका थिए । सचिवबाट पेस भएको फाइल तत्कालीन मन्त्री कार्कीले २५ कात्तिकमा सदर गरेका थिए ।

पहिलो चरणमा २१ भदौ २०७९ मा १ सय ९ थान सर्भर, २ वटा ल्यापटप र ८ वटा मोबाइल सेट ल्याइएको थियो । ती सामानको खरिद मूल्य ८८ लाख १२ हजार ८ सय ८६ अमेरिकी डलर देखाइएको थियो । ५० हजार डलरका दरले दुईवटा ल्यापटपको मूल्य देखाइएको थियो । सर्भर भनिएको उपकरणको मूल्य प्रतिथान ७९ हजार ९ सय २० अमेरिकी डलर भनिएको थियो । पहिलो चरणका सामान ल्याउन भेनराइजलाई प्राधिकरणले १ अर्ब ११ करोड २५ लाख ५२ हजार १ सय ४३ रुपैयाँ भुक्तानी गरेको थियो ।

अस्वाभाविक मूल्य देखिएपछि भन्साले सामान जाँचपास नगरी रोकिदिएको थियो । पछि प्राधिकरणका अधिकारीले ‘सेटिङ’ मा सामान छुटाउन जोडबल गरेका थिए । त्यसपछि ३२ करोड रुपैयाँ जमानत राखेर भन्सारले सामान जाँचपास गरिदिएको थियो । भन्सारमा थन्किएका उपकरण छुटाउन प्राधिकरण आफैंले २ कात्तिक २०७९ मा लिखित दबाब दिएको थियो । खरिद गर्ने कम्पनीले सामान जिम्मा लगाएपछि मात्र स्वामित्व प्राधिकरणको हुने भनिएकामा पहिले नै सामान छुटाउन प्राधिकरणका अधिकारीले ‘बिचौलिया’ भूमिकामा दौडधुप गरेका थिए ।

जमानत राखेर सामान पास गराएकै दिन भन्सारले १० माघ २०७९ मा अख्तियार, राजस्व विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग तथा राष्ट्र बैंकलाई पत्र पठाएर टेरामक्स उपकरण खरिद तथा भुक्तानीमाथि छानबिन गर्न भनेको थियो । त्यही पत्रका आधारमा अख्तियारले अनुसन्धान टुंग्याएर बिहीबार मुद्दा दायर गरेको हो ।

टेरामक्स उपकरण ठेक्का हत्याउन प्राधिकरणका पदाधिकारी/कर्मचारीसमेतको मिलेमतोमा कम्पनी स्थापना भएको पनि देखिएको छ । भेनराइजले २३ पुस २०७८ मा नेपालमा शाखा कार्यालय दर्ता गरेको थियो । त्यसअघि २७ मंसिर २०७८ मा भ्याट/प्यान तथा २५ पसमा अर्को भ्याट/प्यान दर्ता गराइएको थियो । त्यसपछि माछापुच्छ्रे र कुमारी बैंकमा खाता खोलिएको थियो ।

भेनराइज र प्राधिकरणबीच १४ मार्च २०२२ (३० फागुन २०७८) मा खरिद सम्झौता भएपछि ३० मार्च (१६ चैत) मा भेनराइजको स्थानीय एजेन्टका रूपमा कनेक्सन ट्रेड लिंकलाई नियुक्ति गरिएको थियो । त्यसका लागि कमिसनको २ प्रतिशत दिने सम्झौता गराइयो । बोलपत्र अगावै एजेन्ट टुंगो लगाउनुपर्नेमा पछि गराएकाले यो प्रक्रिया खरिद सिद्धान्त र कानुनविपरीत रहेको अख्तियारले निष्कर्ष छ ।

जनकपुरधाम मेयर कप ट्वान्टी-२० : पर्सा र लखनऊको जित

जनकपुरधाम — जनकपुरधाममा जारी तेस्रो जनकपुरधाम मेयर कप ट्वान्टी–२० प्रतियोगितामा पर्साले भारतको दिल्लीलाई र भारतको लखनऊले सिरहालाई पराजित गरेको छ ।

जनकपुरधामको रजौलस्थित निर्माणाधीन रामजानकी बहुउद्देश्यीय रंगशालामा मंगलबार भएको पहिलो खेलमा लखनऊले सिरहालाई ९ विकेटले र दोस्रो खेलमा पर्साले दिल्लीलाई ८ विकेटले पराजित गरेको हो ।

लखनऊले १२३ रनको लक्ष्य १४.२ ओभरमा एक विकेट गुमाउँदै पूरा गरेको हो । लखनऊका तर्फबाट प्रिथुल मेहताले अविजित रहँदै ५१ बलमा ६२ र सोमेन मोहेन्टीले ३० बलमा ५० रन बनाए । यस्तै, सुमित पाठकले ५ बलमा ५ रन बनाएर दिनेश अधिकारीको बलमा आउट भएका थिए ।

टस हारेर पहिले ब्याटिङ गरेको सिरहाले निर्धारित २० ओभरमा १२२ रन बनाउँदा सबै विकेट गुमाएको थियो । सिरहाको ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसक्दा लखनऊले लो स्कोर पाएको थियो । सिरहाबाट दिपेश दासले ३१ बलमा ३३ रन बनाएर रन आउट हुँदा दिनेश बुढा मगरले २०, अशोक यादवले १६, कृश अयरले १४, अशोक पौडेल १३, राकेश कामतले १०, प्रदीप पासवानले ५ रन बनाए ।

लखनऊका शैलेन्द्र सिंहले ३ विकेट लिँदा अशमित मिश्र, शिव सिंह र मनिश सिंहले समान १/१ विकेट लिए । ३० बलमा ५० रन बनाएर अविजित रहेका मोहेन्टी म्यान अफ द म्याच बने ।

Hope IVF
Global IME Updated May 12
Sunrise bank

यस्तै, दोस्रो खेलमा दिल्लीबाट ६० रनको लक्ष्य पाएको पर्साले ६.४ ओभरमा २ विकेट गुमाउँदै म्याच जितेको हो । पर्साको तर्फबाट इमरान शेखले २२ बलमा ३६ रन बनाएर आउट हुँदा सफवान अलीले १७ र सज्जद मन्सुरीले १ रन बनाएर अविजित रहे । पर्साबाट ओपनिङ ब्याटिङ गरेका मोहमद समीर शून्यमा आउट भएका थिए ।

दिल्लीबाट राहुल मौर्यले २.४ ओभरमा २५ रन दिएर २ विकेट लिँदा अन्य बलरले विकेट लिन सकेनन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरको दिल्लीले १५.३ ओभर मात्र खेल्न सके । दिल्लीबाट राहुल मौर्यले ३० बलमा १२ रन र राज सहनीले ३१ बलमा ११ रन बनाउँदा बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा पर्साको तर्फबाट रञ्जित कुमारले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा ५ रन दिएर ३ विकेट लिए । यस्तै चन्दन रामले ३ ओभरमा ४ रन दिएर २ विकेट लिँदा राजा मन्सुरीले ३ ओभरमा ८ रन दिएर २ विकेट लिए । इमराश शेख र वसीम मन्सुरीले समान १।१ विकेट लिए । उत्कृष्ट बलिङ गरेका पर्साका रञ्जित म्यान अफ द म्याच भए ।

लोकप्रिय