फोर आइज न्युज
शुक्रबार, जेष्ठ ३, २०८२
  • होमपेज
  • आजदेखि सगरमाथा संवाद : जलवायु परिवर्तनको जोखिम रोक्नेदेखि न्याय मागसम्मका एजेन्डा

आजदेखि सगरमाथा संवाद : जलवायु परिवर्तनको जोखिम रोक्नेदेखि न्याय मागसम्मका एजेन्डा

  • Arjun Rai
  • शुक्रबार, जेष्ठ ३, २०८२
आजदेखि सगरमाथा संवाद : जलवायु परिवर्तनको जोखिम रोक्नेदेखि न्याय मागसम्मका एजेन्डा

काठमाडौँ — काठमाडौंमा शुक्रबार ‘सगरमाथा संवाद २०२५’ सुरु हुँदै छ । तीन दिनसम्म चल्ने संवादमा १७५ जना विदेशी पाहुना सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । पहिलो संस्करणको यो संवाद ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ अवधारणामा केन्द्रित छ ।

सगरमाथा संवाद सचिवालयका सदस्य सचिव महेश्वर ढकालले मुख्यगरी पाँचवटा मुद्दा उठाउन लागिएको जानकारी दिए ।

उनका अनुसार जलवायु परिवर्तनको खतरा बढ्न नदिन पर्वतदेखि टापु राष्ट्रलाई जोड्ने, हरित अर्थतन्त्रलाई प्राथमिकता दिने, जलवायु परिवर्तनको हानिनोक्सानीबाट बच्ने, न्यूनीकरण र सम्बोधन गर्ने उपाय खोज्ने, जलवायु न्याय तथा मानव भविष्यको लागि आवाज उठाउने, विश्वव्यापी तथा क्षेत्रीय साझेदारी बढाउने संवादका मुख्य एजेन्डा छन् ।

ढकालका अनुसार सगरमाथासमेत पर्ने नेपालको उच्च हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरबारे छलफल हुनेछ । त्यसबाट तल्लो क्षेत्रमा परिरहेको असर गहिरिन नदिन तत्काल आवश्यक कदम उठाउने विषयमा बहस हुनेछ । ‘अस्वाभाविक र अत्यधिक हिउँ पग्लिनु, पहाडमा पहिरो जानु र तराई डुबानमा पर्नु जलवायु परिवर्तनले देखिएका समस्या हुन्,’ उनले भने, ‘यसका लागि नेपालले जलवायु वित्त र जलवायु न्यायका लागि पहल गर्ने नै हो ।’

नेपालले एक्लै जोखिम कम गर्न नसक्ने भएकाले साझा सम्बोधन गर्ने लक्ष्य लिएको ढकालले बताए । ‘हरित अर्थतन्त्रका उपाय के हुन सक्छन् ? त्यसको खोजी गरिनेछ,’ उनले भने, ‘साथै जलवायु अनुकूलनका विषयमा पनि बहस हुनेछ ।’

Hope IVF
Global IME Updated May 12
Sunrise bank

नेपालले हिमनदी संरक्षणका लागि ‘पृथ्वीको तापक्रम १.५ डिग्रीभन्दा कम’ हुनुपर्ने लक्ष्यको आवश्यकतामाथि छलफल गर्नेछ । विश्व मौसम संगठन (डब्लूएमओ) का अनुसार सन् २०२४ हालसम्मकै सबैभन्दा तातो वर्ष थियो । त्यतिबेला पृथ्वीको तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो ।

इन्टरगभरमेन्टल प्यानल अन क्लाइमेट चेन्ज (आईपीसीसी) को सन् २०१९ को प्रतिवेदनअनुसार पृथ्वीको तापमान १.५ डिग्री सेल्सियसमाथि पुग्दाको असर हिमनदी र मूल नदी प्रणालीमा आश्रित राष्ट्रमा असमान रूपमा पर्न जान्छ ।

नेपालले आफ्ना हिमनदीको विनाश रोक्न पनि पर्वतीय मुलुकदेखि टापु राष्ट्रलाई यस संवादमार्फत जोड्न खोजिरहेको सदस्य सचिव ढकालको भनाइ छ । संवादमा नेपालले जलवायु परिवर्तनका कारण भोगेको असर प्रमाणसहित प्रस्तुत गर्दै छ ।

जसका लागि नेपालले ‘जलवायु परिवर्तनको बुझाइ, नेपालमा प्रभाव र जोखिम’ विषयमा तथ्य पत्रसमेत तयार गरेको छ । तथ्य पत्रमा सन् २०२३ र २०२४ मा भारी वर्षाको कारणले पूर्वीय क्षेत्रमा जलविद्युत् आयोजनामा ६३ मिलियन अमेरिकन डलरबराबरको क्षति पुगेको उल्लेख छ । यसैगरी पछिल्लो पाँच वर्षमा नेपालमा जलवायु परिवर्तनले बाढी, पहिरो र हिमताल फुटिरहेको उक्त पत्रमा उल्लेख छ ।

सन् २०२१ मा भारी वर्षाका कारण मेलम्चीमा आएको बाढीले ४९६ मिलियन अमेरिकी डलरबराबर र सन् २०२४ मा हिमाली क्षेत्र थामेमा आएको बाढीले ६.१७ मिलियन अमेरिकी डलरबराबर क्षति पुगेको सोही तथ्यमा छ । यी तथ्यमार्फत नेपालले जलवायु वित्तका लागि धनी राष्ट्रसँग माग गर्ने र पर्वतीय मुलुकका तर्फबाट सहजीकरण एवं नेतृत्वदायी भूमिका खेल्ने लक्ष्य राखेको छ ।

पूर्वपरराष्ट्रमन्त्री विमला राई पौड्यालले जलवायु परिवर्तनको विषयमा पर्वतीय मुलुकका तर्फबाट नेपालले नेतृत्वदायी भूमिका निर्वाह गर्नु आवश्यक भएको बताएकी छन् ।

‘पर्वतसँग हाम्रो जीविकोपार्जन जोडिएको छ । हाम्रो सबैभन्दा ठूलो पर्यटनको हिस्सा पर्वत र पानीसँग जोडिएको छ,’ उनले भनिन्, ‘हिमाल रहेन भने पहाड र तराई रहँदैन । यसमा नेपालले नै पहल गर्ने हो ।’ नेपाल एक्लैले गर्न नसक्ने र सबैको सामूहिक ऐक्यबद्धता खोजेको उनको भनाइ छ ।

विभिन्न १२ देशबाट सम्बन्धित मन्त्री तथा उच्च प्रतिनिधि संवादमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । संवादमा चीनबाट राष्ट्रिय जनकंग्रेसका स्थायी समिति उपाध्यक्ष सियाओ जिए र भारतबाट वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भूपेन्दर यादवले प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । कोप–२९ का अध्यक्ष एवं अजरबैजानका पारिस्थितिकी तथा प्राकृतिक स्रोतमन्त्री मुख्तार बाबायेभ पनि संवादमा सहभागी हुनेछन् ।

जापानबाट संसदीय उपविदेशमन्त्री इकुइना अकिको, भुटानबाट ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री जेम छिरिङ, माल्दिभ्सबाट पर्यटन तथा वातावरणमन्त्री थोरिक इब्राहिम र बेलायतबाट उपविदेशमन्त्री ब्यारोनेस सुसान हेमन पनि संवादका लागि आउनेछन् ।

कतारबाट राजदूत एवं जलवायु परिवर्तनका लागि विदेश मन्त्रालयका विशेष दूत एवं उपमन्त्री बादर ओमल अल डफा र युनाइटेड अरब इमिरेट्सबाट ऊर्जा तथा दिगोपन मामिलाका सहायक विदेशमन्त्री अब्दुल्ला बलाला संवादमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

पाकिस्तान र बहराइनबाट एक–एक मन्त्री र बंगलादेशबाट समाज कल्याण र महिला तथा बालबालिका मन्त्रालयका सल्लाहकार संवादमा सहभागी हुनेछन् । किर्गिस्तान, ओमन, ब्राजिल र इजिप्टले पनि प्रतिनिधित्व गराउनेछन् ।

यसबाहेक सार्क, बिमस्टेक, लस एन्ड ड्यामेज फन्ड, विकास साझेदार गरी ६१ संघसंस्थाका प्रतिनिधि पनि संवादमा सहभागी हुनेछन् ।

नेपालका ५ एजेन्डा

  • जलवायु परिवर्तनको जोखिम बढ्न नदिन हिमालदेखि टापु राष्ट्रसम्मलाई जोड्ने
  • हरित अर्थतन्त्रलाई प्राथमिकता दिने
  • जलवायु परिवर्तनको नोक्सानीबाट बच्ने र सम्बोधन गर्ने उपाय खोज्ने
  • जलवायुसम्बन्धी विश्वव्यापी तथा क्षेत्रीय साझेदारी बढाउने
  • जलवायु न्याय तथा मानव भविष्यका लागि आवाज उठाउने

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका