काठमाडौँ — हङकङ र बहराइनबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपाल नाटकीय हिसाबमा महिला ट्वान्टी–२० क्रिकेट विश्वकपको एसिया क्षेत्रीय छनोटको ‘सुपर थ्री’ मा पुगेको छ । थाइल्यान्डमा भइरहेको प्रतियोगितामा शुक्रबार हङकङले तुलनात्मक रूपमा कमजोर मानिएको बहराइनविरुद्धको खेल जितेको भए नेपाल प्रतियोगिताबाटै बाहिरिने थियो ।
तर बैंककस्थित एआईटी मैदानमा वर्षाले अवरुद्ध पारेपछि हङकङ र बहराइनबीचको खेल टस पनि नभई रद्द भएको थियो । समूह ‘सी’ मा नेपाल र हङकङको समान ५ अंक हुन पुग्यो । रनरेटमा नेपालभन्दा
हङकङ नै अगाडि थियो । प्रतियोगिताको नियमावलीअनुसार २ टोलीबीचको अंक बराबरी भएमा सर्वाधिक खेलमा जित हात पार्ने टोली अगाडि रहने प्रावधान थियो ।
नेपालले २ खेल जितेको छ भने हङकङले १ खेलमात्र जितेको छ । संयोगले हङकङले नेपाललाई नै पराजित गरेको थियो । तर त्यसपछि उसको नेपालसँगको १ खेल तथा बहराइनसँगको २ खेल वर्षाले हुन दिएन । नेपालले बहराइनसँग वर्षाले प्रभावित दुवै खेल जितेको थियो र त्यही नै नेपाललाई ‘सुपर थ्री’ मा पुर्याउने आधार बन्यो । कप्तान इन्दु बर्माले ७ बलमै अविजित २४ रन बनाएपछि नेपालले बिहीबार डबल राउन्ड रोबिनको दोस्रो खेलमा बहराइनलाई ६ विकेटले पराजित गरेको थियो ।
नेपालले ‘सुपर थ्री’ मा समूह ‘ए’ को विजेता थाइल्यान्ड र समूह ‘बी’ को विजेता यूएईसँग खेल्नेछ । तीनै टोलीले एकआपसमा खेलेपछि शीर्ष दुई टोली ट्वान्टी–२० विश्वकप छनोटमा पुग्नेछन् । नेपालले आइतबार यूएई र सोमबार थाइल्यान्डसँग खेल्नेछ ।