फोर आइज न्युज
बिहिबार, साउन २, २०८२

This Week

भारत-पाकिस्तान द्वन्द्व : जम्मुस्थित विमानस्थलमा विस्फोट

काठमाडौँ — भारत प्रशासित कश्मीरको जम्मु सहरमा विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । समाचार संस्था एएफपीले सुरक्षा स्रोतलाई उल्लेख गर्दै जम्मुस्थित विमानस्थलमा विस्फोटहरू भएको जनाएको छ । विस्फोटको क्षतिबारे कुनै विवरण सार्वजनिक भएको छैन ।

‘गोलाबारी वा क्षेप्यास्त्र हमलाको आशंका गरिएको छ,’ जम्मू कश्मीर प्रहरीका पूर्वमहानिर्देशक शेष पल वैदले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘हाल त्यहाँ ब्ल्याकआउट छ ।’

त्यस्तै, भारतको पञ्जाव प्रान्तको पठानकोट सहरमा पनि विस्फोट सुनिएको प्रहरी स्रोतलाई उल्लेख गर्दै हिन्दुस्तान टाइम्सले जनाएको छ ।

भारतद्वारा पाकिस्तानमा मिसाइल हमला

Highlights

  • हमलामा उग्रवादी समूह जैस–ए–मोहम्मदका संस्थापक एवं कमान्डर मसुद अजहरको परिवारका १० सदस्यसहित कम्तीमा ३१ को मृत्यु
  • पाकिस्तानद्वारा पनि जवाफी कारबाहीको चेतावनी, कश्मीरमा गोलाबारी गर्दा १५ भारतीयको मृत्यु

काठमाडौँ — भारत प्रशासित कश्मीरमा पर्यटकमाथि आतंकवादी आक्रमण भएको दुई सातापछि भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न स्थानमा शृंखलाबद्ध हवाई हमला गरेको छ । भारतीय सेनाको हमलाबाट कम्तीमा ३१ जनाको ज्यान गएको छ । लगत्तै पाकिस्तानी सेनाले गरेको गोलाबारीमा १५ जनाको मृत्यु भएको छ ।

पहलगाममा २२ अप्रिलमा २६ पर्यटकको ज्यान लिएका हमलाकारीलाई जवाफदेही बनाउने प्रतिबद्धताको एक हिस्साका रूपमा बुधबार बिहान ‘अपरेसन सिन्दूर’ सुरु गरिएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।

नयाँदिल्लीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा विदेश सचिव विक्रम मिस्री, कर्णेल सोफिया कुरेसी र विङ कमान्डर व्योमिका सिंहले अपरेसनको विवरण सार्वजनिक गरेका थिए । उनीहरूका अनुसार भारतीय सेनाले बुधबार बिहान १ बजेर ५ मिनेटदेखि २५ मिनेटसम्म हमला गरेको हो । पाकिस्तानका ९ स्थानमा रहेका ‘आतंककारी संरचना’ लाई निसाना बनाइएको भारतको दाबी छ ।

लस्कर–ए–तैयबा, जैस–ए–मोहम्मद र हिजबुल मुजाहिद्दिनका मुख्य संरचनालाई लक्ष्य गरिएको थियो । भारतीय सेनाकी विङ कमान्डर सिंहका अनुसार मुजफ्फराबादस्थित सवाई नल्लाह र सेधना बिलाल क्याम्प, कोटलीस्थित मर्काज अब्बास र मस्कर राहिल शाहिद गुलपुर क्याम्प तथा भिम्बेरस्थित मर्काज अहल हादिथमा हवाई हमला गरिएको थियो । सियालकोटस्थित सरिजल र मेहमुना जोया क्याम्प, बहावलपुरस्थित मर्काज सुबहन अल्लाह र मुरिदकेस्थित क्याम्पलाई पनि भारतीय सेनाले निसाना बनाएको थियो ।

मुजफ्फराबाद पाकिस्तान प्रशासित कश्मीरको राजधानी हो । कोटली र भिम्बेर भारत र पाकिस्तानबीचको नियन्त्रित सीमारेखा ‘एलओसी’ नजिकै पर्छन् । कश्मीरबाट ४८ किलोमिटरमा पर्ने सियालकोट र १ सय १५ किलोमिटरमा पर्ने शकरगढ पञ्जाब प्रान्तका सहर हुन् ।

पञ्जाब प्रान्तकै बहावलपुर र मुरिदके क्रमशः ५ सय ५७ र १ सय ९२ किलोमिटरको दूरीमा छन् । ‘पहलगाम हमलाको प्रत्यक्ष बदलामा आतंकवादीका ९ क्याम्पलाई लक्ष्य गरी हमला गरिएको हो र ती सबै ध्वस्त भएका छन्,’ सिंहले भनिन् । पाकिस्तानका सैन्य प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरिफ चौधरीले भारतीय सेनाको हमलाबाट कम्तीमा ३१ जना मारिएको र ५७ जना घाइते भएको पुष्टि गरेका छन् ।

भारतीय हमलालगत्तै पाकिस्तानी सेनाले गोलीबारी गर्दा कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै ३२ जना घाइते भएको बीबीसी हिन्दीलगायत भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय सेनाका अनुसार ज्यान गुमाउनेहरू सबै भारत प्रशासित कश्मीरको पुँछ जिल्लाका हुन् । पुँछ ‘एलओसी’ नजिकै पर्छ ।

पाकिस्तानी सेनाले पाँच भारतीय विमान र एक ड्रोन खसालेको दाबी गरेको छ । तर यसको पुष्टि हुन सकेको छैन । पाकिस्तानको दाबीबारे भारतले कुनै प्रतिक्रिया जनाएको छैन ।

भारतीय हमलामा उग्रवादी समूह जैस–ए–मोहम्मदका संस्थापक तथा कमान्डर मसुद अजहरको परिवारका १० सदस्यसहित १४ जना मारिएका छन् । पाकिस्तानको बहावलपुरस्थित सुभान अल्लाह मस्जिदमा भारतले गरेको हमलामा उनीहरूको ज्यान गएको हो ।

Missile attack by India on Pakistan

जैस–ए–मोहम्मदका तर्फबाट बुधबार जारी विज्ञप्तिअनुसार अजहरका दिदी र भिनाजु, भतिजा र उनकी श्रीमती, एक भतिजी र उनको परिवारका पाँच बच्चाको ज्यान गएको छ । हमलामा उनीहरूका तीन सहयोगी र एक सहयोगीकी आमाको पनि ज्यान गएको जैस–ए–मोहम्मदले जनाएको छ । जैस–ए–मोहम्मदले फेब्रुअरी २०१९ मा भारत प्रशासित कश्मीरमा गरेको आत्मघाती बम विस्फोटमा ४० सैनिकको ज्यान गएको थियो ।

विश्वसनीय गुप्तचर जानकारीका आधारमा सर्वसाधारणको ज्यान र पूर्वाधारलाई क्षति नपुग्ने गरी ‘अपरेसन सिन्दूर’ चलाइएको भारतीय सेनाका विङ कमान्डर सिंहको भनाइ छ । ती स्थानमा पाकिस्तानी सेना र आईएसआईले ‘आतंककारी’लाई तालिम दिन विशेष सेवा समूह परिचालन गरेको भारतीय अधिकारीहरूले दाबी गर्दै आएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘अपरेसन सिन्दूर’ सञ्चालन गरिएकामा भारतीय सशस्त्र बलहरूको प्रशंसा गरेका छन् । पहलगाम घटनापछि मोदीले हमलाकारीलाई पृथ्वीको कुनै पनि स्थानमा गए पनि नछाड्ने चेतावनी दिएका थिए । ‘अपरेसन सिन्दूर’ सुरु गरिएको केही घण्टापछि बसेको मन्त्रिपरिषद् बैठकमा रक्षामन्त्री राजनाथ सिंहले हमलाबारे जानकारी गराएका थिए । त्यसपछि मन्त्रिपरिषद्का सबै सदस्यले हमलाको स्वागत गरेका थिए ।

रक्षामन्त्री सिंहले हवाई हमलाका विषयमा स्थल, जल तथ वायुसेनाका प्रमुखहरूसँग छलफलसमेत गरेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय गृहमन्त्री अमित शाहले पनि सीमावर्ती राज्यका मुख्यमन्त्री, मुख्य सचिव र शीर्ष प्रहरी अधिकारीसँग बैठक गरेका छन् । बैठकमा पञ्जाब, राजस्थान, गुजरात, उत्तराखण्ड, उत्तर प्रदेश, बिहार, सिक्किम, पश्चिम बंगालका मुख्यमन्त्री तथा संघ प्रशासित लद्दाख, जम्मु र कश्मीरका उपराज्यपाल उपस्थित थिए ।

पत्रकार सम्मेलनमा भारतका विदेश सचिव विक्रम मिस्रीले ‘सीमापारिबाट हुने हमलाको जवाफ दिने र त्यसको प्रतिरोध गर्ने आफ्नो अधिकार प्रयोग गर्दै’ पाकिस्तान र पाकिस्तानका ‘आतंकवादी अखडा’ मा हमला गरेको बताए । ‘दुई साताअघिको आतंकवादी हमला भारत प्रशासित कश्मीरमा सामान्य जनजीवन प्रभावित तुल्याउने उद्देश्यबाट प्रेरित थियो,’ उनले भने ।

भारत प्रशासित कश्मीरको भ्रमणमा गत वर्ष २ करोड २५ लाखभन्दा बढी पर्यटक पुगेको उल्लेख गर्दै मिस्रीले स्थानीय अर्थतन्त्रको मुख्य आधार रहेको पर्यटन क्षेत्रलाई धराशायी बनाउन पहलगाममा दुई साताअघि आतंकवादी हमला गरिएको दाबी गरे । पाकिस्तानले ‘आतंकवादी पूर्वाधार’ नष्ट गर्न कुनै कदम नचालेको आरोप पनि उनले लगाए । पहलगाम हमलामा ‘द रेसिस्टेन्स फ्रन्ट’ (टीआरएफ) संलग्न रहेको र त्यो पाकिस्तानमा आधारित आतंकवादी समूह लस्कर–ए–तैयबाको एउटा मोर्चा भएको मिस्रीले बताए ।

पहलगाम घटनामा दुई हमलाकारी पाकिस्तानी नागरिक रहेको र पाकिस्तानले उनीहरूलाई समर्थन गरेको भारतीय प्रहरीको आरोप छ । पाकिस्तानले भने पहलगामको आतंकवादी हमलामा आफ्नो कुनै संलग्नता नभएको बताउँदै आएको छ ।

Missile attack by India on Pakistan

भारतको प्रमुख विपक्षी दल कंग्रेसका प्रमुख मल्लिकार्जुन खड्गेले पनि ‘अपरेसन सिन्दूर’ लाई समर्थन गरेका छन् । ‘राष्ट्रिय एकता र ऐक्यबद्धता समयको आवश्यकता हो,’ उनले भनेका छन्, ‘गत महिना भारत प्रशासित कश्मीरमा भएको हमलापछि कंग्रेस पार्टी सीमापार आतंकवादविरुद्ध कुनै पनि निर्णायक कारबाहीमा सशस्त्र सेना र सरकारको साथमा स्पष्ट रूपमा उभिएको छ ।’ अल इन्डिया मजलिस–ए–इत्तेहादुल मुस्लिमिन (एआईएमआईएम) का प्रमुख असदुद्दीन ओवैसीले पनि ‘पाकिस्तानी आतंकवादी शिविर’ मा भारतले गरेको हमलाको स्वागत गरेका छन् ।

जम्मु र कश्मीरका मुख्यमन्त्री ओमर अब्दुल्लाहले उक्त क्षेत्रका कसैले पनि दुई मुलुकबीच युद्ध नचाहेको प्रतिक्रिया दिएका छन् । ‘तर बन्दुक कम गर्ने जिम्मेवारी इस्लामाबादको हो,’ उनले भनेका छन् । पहलगाममा भएको आतंकवादी हमलाको उपयुक्त जवाफ दिन भारत सरकारले सही विधि रोजेको उनको भनाइ छ । ‘पाकिस्तानको आतंकवादी स्थलमा मात्र प्रहार गरिएको हो, सैन्य क्षेत्र वा नागरिक पूर्वाधारमा होइन । तर पाकिस्तानले केही क्षेत्रमा बमबारी गरेको छ र त्यहाँ हाम्रा नागरिकलाई लक्ष्य गरिएको छ,’ उनले भने । कश्मीरका बासिन्दालाई नआत्तिन उनले आश्वासनसमेत दिएका छन् ।

भारतका प्रमुख विमान सेवा कम्पनीहरूले बुधबारबाट उत्तरी भारतका विमानस्थलमा सेवा बन्द गरेका छन् । एयर इन्डियाले भारत प्रशासित कश्मीरको जम्मु र श्रीनगर, संघीय प्रशासित लद्दाखको लेह, राजस्थान राज्यको जोधपुर, पञ्जाब राज्यको चण्डीगढ र अमृतसर तथा गुजरात राज्यको भुज, जामनगर र राजकोटका उडान १० मे (शनिबार) बिहानसम्म रद्द गरिएको जनाएको छ ।

इन्डिगोले पनि उत्तरी सहरका धेरै उडान रद्द गरेको छ । एयर इन्डियाद्वारा सूचीबद्ध विमानस्थलमा बाहेक इन्डिगोले हिमाचल प्रदेशको धर्मशाला, राजस्थानको बिकानेर र किसनगढ तथा मध्य प्रदेशको ग्वालियरमा हुँदै आएका उडान पनि रद्द गरेको छ । स्पाइसजेटले ती विमानस्थलमा हुने उडान प्रभावित भएको जनाएको छ ।

पाकिस्तानका प्रधानमन्त्री सहबाज शरिफले बुधबारको हमलालाई ‘कायरतापूर्ण’ भनी टिप्पणी गरेका छन् । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले आतंकवादी शिविरलाई लक्ष्य गर्ने भारतको दाबी गलत भएको बताएका छन् । भारतले सर्वसाधारण नागरिकमाथि हमला गरेको उनको भनाइ छ ।

पाकिस्तानी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भारतले गरेको हमलामा सर्वसाधारणको मृत्यु भएको र त्यसमा महिला एवं बालबालिका पनि परेको जनाएको छ । ‘त्यस्तो दुस्साहसपूर्ण व्यवहारले क्षेत्रीय शान्ति र स्थिरतामाथि गम्भीर खतरा पुग्छ,’ विज्ञप्तिमा भनिएको छ । पाकिस्तानले इस्लामाबादस्थित भारतीय कूटनीतिक नियोगका उपप्रमुखलाई बोलाएरै असन्तुष्टि व्यक्त गरेको छ ।

पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिले भारतीय हवाई हमलालाई ‘जघन्य अपराध’ भन्दै निन्दा गरेको छ । भारतले पाकिस्तानी सार्वभौमसत्तामाथि धावा बोलेको समितिको निष्कर्ष छ । संयुक्त राष्ट्रसंघीय बडापत्रको धारा ५१ उद्धृत गर्दै पाकिस्तानले आफ्नो प्रतिरक्षा गर्न पाउने अधिकार आफूसँग रहेको चेतावनी दिएको छ ।

प्रधानमन्त्री शरिफको अध्यक्षतामा बसेको समितिको बैठकले पाकिस्तानका सैन्य बललाई जवाफी कारबाही गर्ने अधिकार दिइएको जनाएको छ । पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले पनि सशस्त्र बललाई सम्बन्धित कारबाहीको अधिकार प्रदान गरेको जनाएको छ ।

पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) ले भारतबाट भएको हमलाको निन्दा गरेको छ । पाकिस्तानका तीन प्रमुख राजनीतिक दलमध्येको एक पीपीपीका प्रमुख पाकिस्तानी राष्ट्रपति आसिफ अली जरदारीका छोरा बिलावल भुट्टो हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि हमलामा सरोकार व्यक्त गरेका छन् । ‘मलाई लाग्छ, विगतका घटनाक्रमका आधारमा केही हुँदै छ भन्ने मानिसलाई थाहा थियो । तिनीहरू लामो समयदेखि लडिरहेका छन्,’ उनले भनेका छन्, ‘मलाई आशा छ कि यो चाँडै समाप्त हुनेछ ।’

भारतको कारबाहीलाई ‘खेदजनक’ भनी टिप्पणी गर्दै चीनले दुवै पक्षलाई संयमताका लागि आह्वान गरेको छ । ‘चीन आज (बुधबार) बिहानको भारतको सैन्य कारबाहीप्रति खेद व्यक्त गर्छ र वर्तमान विकसित अवस्थाबारे चिन्तित छ । चीनले सबै प्रकारका आतंकवादको विरोध गर्छ,’ चिनियाँ विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘हामी भारत र पाकिस्तान दुवैलाई शान्ति र स्थिरतालाई प्राथमिकता दिन, शान्त र संयमित रहन र परिस्थितिलाई अझ जटिल बनाउने कार्य गर्नबाट बच्न आह्वान गर्छौं ।’

चीन पाकिस्तानमा अहिलेसम्मको सबैभन्दा ठूलो लगानीकर्ता हो । चिनियाँ लगानी रहेको ६५ अर्ब डलरको चीन–पाकिस्तान आर्थिक करिडोर परियोजना देशभर फैलिएको छ । चीन र भारतबीच भने धेरै स्थानमा सीमा विवाद छ । तीमध्ये एक कश्मीर क्षेत्रको उत्तरपूर्वी भागमा पर्छ । बेलायतले पाकिस्तान र भारतलाई एकअर्कासँग वार्ता गर्न आग्रह गरेको छ ।

प्रधानमन्त्री केयर स्टार्मरले तनाव कम गर्न र नागरिकको सुरक्षाका लागि बेलायत दुवै देशसँग सम्पर्कमा रहेको जनाएका छन् । भारत र पाकिस्तानलाई संयम देखाउन र द्रुत कूटनीतिक मार्ग खोज्नका लागि प्रत्यक्ष वार्तामा संलग्न हुन आग्रह गरिएको विदेशमन्त्री डेभिड ल्यामीले जनाएका छन् । बेलायतमा भारतीय वा पाकिस्तानी मूलका नागरिक लाखौं रहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘भारत र पाकिस्तानमा मेरा समकक्षीलाई मैले स्पष्ट पारेको छु कि यो अझ बढ्यो भने कसैले पनि जित्दैन ।’

रुसले पनि भारत र पाकिस्तान दुवैलाई संयम अपनाउन आह्वान गरेको समाचार संस्था एएफपीले जनाएको छ । फ्रान्सका विदेशमन्त्री जीन–नोएल ब्यारोटले पनि दिल्ली र इस्लामाबादलाई संयम अपनाउन आह्वान गरेका छन् ।

पहलगाम हमलायता भारत र पाकिस्तान दुवैले एकअर्काविरुद्ध बदला लिने विभिन्न उपायको घोषणा गरिसकेका छन् । उनीहरूले सीमा बन्द गर्ने, भिसा रद्द गर्ने, कूटनीतिज्ञलाई निष्कासन गर्ने तथा सिन्धु नदी सन्धि निलम्बनलगायतका कदम चालेका छन् । सीमा क्षेत्रमा दुवै पक्षका सेनाले गोली हानाहानसमेत गरेका छन् ।

ब्रिटिस उपनिवेशबाट सन् १९४७ मा स्वतन्त्र भएसँगै विभाजित भारत र पाकिस्तानले पटक–पटक युद्ध लडेका छन् । तीमध्ये धेरैजसो कश्मीरमा केन्द्रित थिए । दुई देशबीच विभाजनको केही महिनामै पहिलो युद्ध सुरु भएको थियो, जुन संयुक्त राष्ट्रसंघको मध्यस्थतामा सन् १९४९ मा अन्त्य भएको थियो । त्यसले कश्मीर क्षेत्र विभाजन गर्‍यो तर दुवै मुलुकले कश्मीरमाथिको पूर्ण दाबी छाडेनन् ।

सन् १९६५ मा पाकिस्तानी सेना भारत प्रशासित कश्मीरमा प्रवेश गरेपछि दुई देशबीच पुनः युद्ध भयो । त्यतिबेला स्थल तथा हवाई हमला भएका थिए । सन् १९७१ मा पूर्वी पाकिस्तानमा युद्ध भड्कियो । भारतले त्यहाँका स्वतन्त्रता सेनालाई समर्थन गर्‍यो र अन्ततः बंगलादेश स्थापना भयो । सन् १९९९ को कारगिल युद्धमा पाकिस्तानी सेनाले भारत प्रशासित कश्मीरमा घुसपैठ गर्‍यो ।

पछिल्ला वर्षहरूमा आतंकवादी हमलाका कारण तनाव बढ्दो छ । सन् २०१६ को उरी हमलापछि भारतले ‘सर्जिकल स्ट्राइक’ सुरु गरेको थियो । सन् २०१९ मा पुलवामामा गरिएको बम विस्फोटपछि भारतले बालाकोटनजिकै हवाई हमला गरेको थियो । पाकिस्तानले पनि जवाफी हवाई हमला गरेपछि दुई देशबीचको तनाव कारगिलपछिकै खतरनाक अवस्थामा पुगेको थियो ।

महिलाको प्रगतिको मार्गमा स्वीकृति नै सबैभन्दा ठूलो चुनौती हो : पूर्वराजदूत शेर्पा

काठमाडौँ — स्पेनका लागि पूर्वराजदूत दावा फुटी शेर्पाले महिलाले भोग्नुपर्ने सामाजिक दबाब र दोहोरो भूमिकाप्रति गहिरो चिन्ता व्यक्त गरेकी छन् ।

 

निर्भिक नारीको पाँचौं संस्करणको पहिलो सत्र ‘अदृश्य अवरोध’ शीर्षकको बहसमा बोल्दै उनले भनिन्, ‘महिलाको प्रगतिको मार्गमा सबैभन्दा ठूलो अवरोध भनेकै समाजबाट प्राप्त हुने स्वीकृति हो । हामी महिलाको स्वीकृति नै सबैभन्दा ठूलो बाधा हो ।’

‘एक असल छोरी, बुहारी र श्रीमतीको रूपमा काम गर्दै जाँदा महिलाहरूले धेरै दबाब महसुस गर्छन्,’ उनले भनिन्, ‘उनीहरूले घरभित्र र बाहिर दुवै जिम्मेवारी सम्हाल्नुपर्ने हुन्छ।’

शेर्पाले नेपाली समाजमा गहिरो गरी जरा गाडेर बसेको संस्कृतिप्रति जनताको गहिरो विश्वास रहेको उल्लेख गर्दै भनिन्, ‘समाजमा अनेपेक्षित अपेक्षाहरू हुन्छन्, जसले महिलालाई अझ धेरै चुनौतीपूर्ण बनाउँछ ।’

उनले यस्ता सामाजिक संरचनाहरूमा परिवर्तन आवश्यक रहेको धारणा राखिन् ।

कर्मचारी र व्यवसायीलाई हातपात गर्ने वडाध्यक्ष पक्राउ

कास्की — कर्मचारी र व्यवसायीलाई हातपात गर्ने पोखरा महानगरपालिका-४ का वडाध्यक्ष देवकृष्ण पराजुली पक्राउ परेका छन् ।

 

अभद्र व्यवहारसम्बन्धी कसुरमा परेको जाहेरीको आधारमा वडाध्यक्ष पराजुलीलाई बुधबार पोखरा-१६ ढिकीडाँडाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । पराजुलीविरुद्ध पोखरा-४ को सर्वेश्वर मार्ग (पन्थी गल्ली)का व्यवसायी लेखनाथ सुवेदीले मंगलबार जाहेरी दिएका थिए । सोही जाहेरीको आधारमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट अनुमति लिएर वडाध्यक्ष पराजुलीलाई पक्राउ गरिएको हो । उनलाई बिहीबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराइने डीएसपी बस्नेतले बताए ।

पराजुलीले मंगलबार दिउँसो कस्मेटिक व्यवसायी सुवेदीमाथि उनकै पसलअगाडि हातपात गरेका थिए । पसल बाहिर राखेको सामान महानगर प्रहरी बलले जफत गरेपछि त्यहाँ विवाद भएको थियो । महानगर प्रहरीसँग आफूले सामान फिर्ता गर्ने क्रममा वडाध्यक्ष पराजुलीले एक्कासी गालामा हानेर धकेलेको व्यवसायी सुवेदीले बताए । `पसल बाहिर ग्राहकलाई पठाउन राखेको सामान प्रहरीले गाडीमा हाल्यो । मैले ग्राहकको सामान हो भनेर फिर्ता मागें,´ उनले भने, `यता बोल्दै थिएँ, उहाँले आएर मलाई हान्नुभयो ।´

घटनापछि स्थानीय व्यवसायीले वडा कार्यालय पुगेर वडाध्यक्षविरुद्ध नाराबाजी गरेका थिए । वडाध्यक्ष पराजुलीले मंगलबार नै पोखरा महानगरपालिकाका प्रशासन महाशाखामा कार्यरत कर्मचारी ईश्वरीप्रसाद पोख्रेलमाथि प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै हातपात गरेका थिए । कर्मचारीको तालिम राख्दा समन्वय नगरेको भन्दै वडाध्यक्ष पराजुलीले पोख्रेलमाथि हातपात गरेका थिए । यसपछि वडाध्यक्ष पराजुलीलाई कारबाही गर्न माग गर्दै कर्मचारीले बुधबार महानगरपालिकाको कामकारबाही ठप्प पारेका थिए ।

हुण्डी कारोबारमा संलग्न ४० लाख ३२ हजारसहित दुई जना पक्राउ

काठमाडौँ — प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा मंगलबार पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२३ ओमबहाल बस्ने भारत कोलकाताका सुरज दत्त र चन्द्रागिरि नगरपालिका–१५ तिनथाना बस्ने रूपन्देही देवदह नगरपालिका घर भएका धर्मप्रसाद ढकाल रहेका छन् ।

प्रहरीका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं–२४ स्थित विशाल बजार कम्पनी लिमिटेडको भूइँ तलाबाट ४० लाख ३२ हजार ५ सय रूपैयाँ र चेक २१ थानसहित फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

आर्मी राष्ट्रिय पुरुष हक्की च्याम्पियन

काठमाडौँ — विभागीय टोली त्रिभुवन आर्मी क्लबले राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि जितेको छ । ललितपुरको च्यासल रंगशालामा बुधबार फाइनलमा आर्मीले गण्डकी प्रदेशलाई साँघुरो अन्तरमा २–० गोलले हराएको थियो ।

आर्मीबाट राजेन्द्र कार्की र अम्बरबहादुर गुरुङले गोल गरेका थिए । दुवै हाफमा १–१ गोल गर्नेक्रममा आर्मीले २२ औं मिनेटमा राजेन्द्रको गोलबाट अग्रता लिएको हो । दोस्रो हाफको ४३ औं मिनेटमा अम्बरले गोल गरेर अग्रता दोब्बर बनाए । राजेन्द्र प्लेयर अफ द म्याच भए ।

इमर्जिङ प्लेयर एपीएफका पवन मावो, बेस्ट डिफेन्डर रन्जित राउत र बेस्ट किपर गण्डकीका जोसन राई चुनिए भए । सर्वाधिक गोलकर्ता आर्मीका काशिराज राई र राजेन्द्र कार्की भए । दुवैले ६ गोल गरेका थिए । आर्मीका देवसिंह धामी प्लेयर अफ द टुर्नामेन्ट भए ।

नेपाल पुलिस क्लब तेस्रो भयो । विभागीय डर्बीमा पुलिसले एपीएफलाई ३–० गोलले हराएको हो । शंकर घर्तीमगरले २ गोल र मिलन तामाङले एक गोल गरे । गण्डकीका प्रेम बिक प्लेयर अफ म्याच भए ।

शीर्ष तीन स्थानका विजेता टिमले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ पुरस्कार पाए । विधागत उत्कृष्ट खेलाडीले जनही ५ हजार पाए । राष्ट्रिय महिला हक्कीमा पनि आर्मी टिम नै विजेता बनेको थियो ।

विजेता खेलाडीलाई सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले पुरस्कृत गरेका थिए ।

Army National Men's Hockey Champion

बाल मन्दिर जग्गा हिनामिना प्रकरण : रीता सिंह वैद्यसहित १७ जनाविरुद्ध ठगी मुद्दा दायर

Highlights

  • बाल संगठनलाई ठगी गरी हानि पुर्‍याएकाले ६० करोड ३९ लाख रुपैयाँ बिगो माग

काठमाडौँ — नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिनामा प्रकरणमा नेपाल बाल संगठनका अध्यक्ष रीता वैद्यसहित १७ जनाविरुद्ध ठगीमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले वैद्यसहित संगठनका तत्कालीन पदाधिकारी र बृहस्पति विद्या सदनका पदाधिकारीहरूलाई विपक्षी बनाई बुधबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

त्यस्तै नेपाल बाल संगठनका तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ, तत्कालीन महासचिवहरू गणेशभक्त श्रेष्ठ, श्यामकुमार आले, सुवासकुमार पोख्रेल, प्रचण्डराज प्रधान र रामकाजी गुरुङ कोनेविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

त्यस्तै तत्कालीन सञ्चालक समिति सदस्य कृष्णशंकर साह, तत्कालीन उपाध्यक्ष योगेन्द्रबहादुर शाही, उप-कोषाध्यक्ष दीपकदास श्रेष्ठ, बृहस्पति विद्या सदनका सञ्चालक प्रविणराज जोशी, बृहस्तपतिकै तत्कालीन सञ्चालक मुरारीनिधि तिवारी, बृहस्पतिकै तत्कालीन अध्यक्ष पुरुषोत्तमराज जोशी, बृहस्पतिका व्यवस्थापक श्रद्धा संघाईखविरुद्ध पनि मुद्दा दर्ता भएको छ । त्यसैगरी बृहस्पतिका तत्काली सञ्चालकत्रय अभिनव सिंघानिया, सिद्धार्थ केडिया र कीर्तिप्रसाद पाण्डेयविरुद्ध मुद्दा दायर गरिएको छ । सिंघानिया, केडिया र पाण्डेय भने भारतीय नागरिक हुन् ।

प्रहरीले साविक मुलुकी ऐनको ठगी महल, मुलुकी अपराध संहिता-२०७४ को ठगीसम्बन्धी कसुर लगाएको छ । मुलुकी ऐनको ठगीसम्बन्धी महल नम्बर ४ मा ठगी गर्नेलाई ठगीलिएको बिगो कायम भएमा हक पुग्नेलाई बिगो भराई बिगोबमोजिम र बिगो कायम नभएमा ५ हजार रुपैयाँ जरिवाना र ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । त्यस्तै मुलुकी अपराध संहिताको दफा २४९ मा ठगी गर्न नहुने प्रावधान रहेको छ । अभियुक्तहरूविरुद्ध मुलुकी अपराध संहिताको दफा २४९ अनुसार नै ७ वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँसम्म जरिवाना माग गरिएको छ ।

त्यस्तै अभियोगपत्रमा नेपाल बाल संगठनलाई ठगी गरी हानि नोक्सानी पुऱ्याएको बिगो साठी करोड उनन्चालीस लाख सतहत्तर हजार दुई सय एकतीस रुपैयाँ पाँच पैसा साविक मुलुकी ऐन ठगीको महलको ४ नं तथा हाल प्रचलित मुलुकी अपराध संहिता, २०७४ को दफा २५४ बमोजिम निज प्रतिवादीहरू रीता सिंह , तुलसीनारायण श्रेष्ठ, गणेशभक्त श्रेष्ठ, कृष्णशंकर साह, श्यामकुमार आले, सुवासकुमार पोखरेल, प्रचण्डराज प्रधान, रामकाजी गुरुङ (कोने), योगेन्द्रबहादुर शाही, दीपकदास श्रेष्ठ, प्रविणराज जोशी, मुरारीनिधि तिवारी, पुरुषोत्तमराज जोशी, श्रद्धा संघाई, अभिनव सिंघानिया, सिद्धार्थ केडिया, कीर्तिप्रसाद पाण्डेबाट पीडित नेपाल बाल संगठनलाई दिलाई भराई पाउन मागदाबी लिइएको उल्लेख छ ।

बाल मन्दिर जग्गा हिनामिना प्रकरणमा तानिएका बृहस्पतिका तत्कालीन अध्यक्ष चिरन्जीवी तिवारी, बाल संगठनका तत्कालीन कोषाध्यक्ष मनोहरगोपाल श्रेष्ठ र तत्कालीन उपमहासचिव सुमन शाक्यको मृत्यु भइसकेकाले उनीहरूको हकमा मुद्दा नचलाउने निर्णय भएकाले कसुरको दाबी लिइएको छैन ।

अनाथ बालबालिकाको हेरचाह र रेखदेखका लागि पञ्चायतकालमै सरकारले बाल मन्दिरका नाममा कायम गरेको जग्गा बाल संगठनले २०४९ सालमा बृहस्पतिलाई भाडामा दिएको थियो । सम्झौताको म्याद पटक–पटक थप्ने क्रममा २०७२ मा पूरक सम्झौता गरेर २१३१ सालसम्म ‘लिज’ अवधि लम्ब्याइएको थियो । जग्गा हिनामिनाका विषयमा कान्तिपुरले २०७८ फागुनमै विस्तृतमा समाचार बाहिर ल्याएको थियो । तर अनुसन्धान रोक्न चलखेल हुँदै आएको थियो ।

बाल संगठनकै निवेदनअनुरूप प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हिनामिनासम्बन्धी अनुसन्धान सकेर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा केही महिनाअघि बुझाएको थियो । त्यही प्रतिवेदनअनुसार ठगीमा मुद्दा चलाउन महान्यायाधिवक्ता कार्यालयले निर्णय गरेको हो ।

के हो बाल मन्दिर जग्गा हिनामिना प्रकरण ?

राणा प्रधानमन्त्री भीमशमशेरको खलकलाई मुआब्जा दिई २०२१ सालमा अधिग्रहण गरी बाल संगठनका नाममा राखिएको १ सय १९ रोपनी जग्गामध्ये २९ रोपनी ४ आना लिजमा दिने क्रममा अनियमितता भएको थियो । बाल संगठनमा २०४९ सालमा रीता सिंह वैद्य अध्यक्ष भएपछि बृहस्पतिलाई जग्गा लिज दिन थालिएको थियो । वैद्य कांग्रेसका तत्कालीन नेता गणेशमान सिंहकी छोरी एवं हालका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी हुन् ।

बाल संगठनले बिनाप्रतिस्पर्धा बृहस्पतिलाई २०४९ वैशाख २६ मा पहिलो पटक कित्ता नम्बर ७६० को ९ रोपनी जग्गा र घर/टहरा २०५३ माघ १० सम्म भाडामा दिने सम्झौता गरेको थियो । त्यति बेला वार्षिक भाडा दर ४२ लाख १६ हजार ६ सय ८ रुपैयाँ तोकिएको थियो ।

अग्रिम भुक्तानी दिए भाडा रकममा २० प्रतिशत छुट दिने सम्झौतामा उल्लेख थियो । सम्झौताअनुसार बृहस्पतिले भाडा तिरेको विवरण संस्थाको अभिलेखमा नदेखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । बाल संगठनले पछि सम्झौताको म्याद ५ वर्ष थपिदिएको थियो ।

बाल संगठनले २०५८ जेठ ८ मा पूरक सम्झौता गरेर थप ५ रोपनी २ आना जग्गा पहिले तोकिएको वार्षिक भाडामा १० प्रतिशतले बढाएर बृहस्पतिलाई दिएको थियो । त्यसअघि २०५७ माघ ६ मा बाल संगठनलाई पत्र पठाउँदै बृहस्पतिले थप २ रोपनी मात्र जग्गा मागेको थियो । पूरक सम्झौतामा संगठनका तर्फबाट तत्कालीन निर्देशक राजेश्वर निरौलाले हस्ताक्षर गरेका थिए । त्यति बेला बृहस्पतिले भोगचलन गरिरहेको जग्गाको वार्षिक भाडा ३० लाख रुपैयाँ थियो ।

बृहस्पतिले २०५९ साउन २१ मा थप १३ रोपनी जग्गाका लागि भाडा अवधि ३० वर्ष र मासिक भाडा दर ४ लाख ८० हजार रुपैयाँ हुने गरी प्रस्ताव राख्यो । साउन ३० मै बसेको बाल संगठनको केन्द्रीय समिति बैठकले महासचिव रामकाजी कोनेलाई कित्ता नम्बर ७६० अन्तर्गतको १३ रोपनी १२ आना १ पैसा अर्थात् मागेभन्दा १२ आना १ पैसा जग्गा २०८८ सम्म भाडामा दिने गरी सम्झौता गर्न अधिकार दियो ।

बृहस्पतिको प्रस्तावअनुसार नै २ वर्षमा ५ प्रतिशतका दरले भाडा वृद्धि गर्ने, पहिलो र अन्तिम ५ वर्षमा भाडा वृद्धि नगर्ने र १५ वर्षभित्रमा ५ करोडको सम्पत्ति अभिवृद्धि गर्ने गरी सम्झौताका लागि अख्तियारी दिइएको थियो ।

त्यसकै आधारमा २०५९ भदौ ११ मा संगठन र बृहस्पतिबीच ३० वर्षका लागि सम्झौता भयो । सम्झौता २०५९ वैशाख १ देखि लागू हुने भनिएको थियो । सम्झौतामा संगठनका तत्कालीन उपाध्यक्ष योगेन्द्रबहादुर शाही, महासचिव रामकाजी कोने र प्रशासन तथा खरिद शाखा प्रमुख टीकामणि न्यौपानेले हस्ताक्षर गरेका थिए ।

सस्तोमा जग्गा भाडामा दिइएको भन्दै संगठनका सञ्चालकबीच विवाद सुरु भएसँगै अख्तियारमा उजुरीसमेत पर्‍यो । अख्तियारले भाडा पुनरावलोकन गर्न निर्देशन दिएकामा त्यसो गर्न नसक्ने भनेर बृहस्पतिका तर्फबाट प्रमुख प्रशासक मुरारीनिधि तिवारीले २०६६ मंसिर ७ मा पत्र पठाए । त्यसपछि बाल संगठनको केन्द्रीय कार्यसमितिले २०६६ पुस १४ मा बृहस्पतिसँग १३ रोपनी १२ आना १ पैसा जग्गाको लिज सम्झौता भंग गर्ने निर्णय गर्‍यो । संगठनका महासचिव कृष्णशंकर साहले २०६६ पुस ३० मा त्यही दिनबाटै लागू हुने गरी बृहस्पतिलाई बैठकको निर्णय जानकारी गराएका थिए ।

सुवासकुमार पोखरेल संयोजक तथा राजेश्वर निरौला, सन्तोष भट्टराई, कृष्णशंकर साह र मनोहर गोपाल श्रेष्ठ सदस्य रहेको बाल संगठनको स्रोत व्यवस्थापन समितिले २०६६ माघ २८ मा बैठक गरेर बृहस्पतिबाट फिर्ता गरिएको जग्गा तरुण निर्माण सेवालाई रजिस्ट्रेसन पास गरी दिने निर्णय गर्‍यो । तरुणका सञ्चालक मनोजकुमार मिश्र थिए । जग्गा रजिस्ट्रेसनको अख्तियारी बाल संगठनका महासचिव साहलाई दिइएको थियो । जग्गा पासका लागि सरकारको सहमति लिइएको थिएन भने सम्झौता खारेज भए पनि बृहस्पतिले जग्गा छाडेको थिएन ।

संगठनकी तत्कालीन अध्यक्ष वैद्यले तरुणसँग ७५ लाख रुपैयाँ लिएको खुलेको थियो । पूर्वन्यायाधीश मोहनरमण भट्टराई नेतृत्वको जाँचबुझ आयोगलाई बयान दिने क्रममा वैद्यले ‘संगठनको खर्च चलाउन’ भनेर उक्त रकम लिएको स्वीकार गरेकी थिइन् । तर त्यो रकम संगठनको कोषमा दाखिला गरिएको थिएन । यता, भोगचलन गरिरहेको जग्गाको सम्झौता एकतर्फी भंग गरिएको भन्दै बृहस्पति सर्वोच्च अदालत पुगेको थियो ।

दुवै पक्षबीच २०७२ जेठ २१ मा अदालतमा मेलमिलाप भयो र पुनः सस्तो भाडामा जग्गा बृहस्पतिलाई नै दिने निर्णय गरियो । त्यस क्रममा अघिल्लो सम्झौता सकिने म्याद २०८८ बाट ४३ वर्ष अवधि थप गर्ने, अन्तिम ८ वर्षको भाडा नबढ्ने, यस अवधिमा बृहस्पतिले ५२ करोडको सम्पत्ति अभिवृद्धि गर्ने, जग्गा लियन र ‘सबलिज’ मा दिन सक्ने र ६ महिनाभित्र बाल संगठनलाई २ कोठे भवन बनाइदिने गरी मिलापत्र गरिएको थियो । बृहस्पतिले बाल मन्दिरको मूलद्वारभित्रबाट पर्खालसमेत भत्काएर बाटो विस्तार गरेको छ ।

बृहस्पतिले जग्गा धितो राखी २०७५ भदौ २६ मा ३० करोड रुपैयाँ १० वर्षभित्र चुक्ता गर्ने गरी र असोज १ मा १ करोड ३३ लाख रुपैयाँ १ वर्षका लागि नवीकरणीय ऋण लिएको विवरण बैंक अफ काठमान्डुले अख्तियार र त्यसअघि जाँचबुझ आयोगलाई पठाएको थियो ।

करिब तीन दशक लगातार अध्यक्ष रहेकी वैद्यलाई केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ मा पदमुक्त गरेर विद्या न्यौपानेलाई नियुक्ति गरेको थियो । संगठनले जग्गा हिनामिनामा अनुसन्धान गर्न माग गर्दै गत वर्ष वैशाख १४ मा सीआईबीमा पत्र पठाएको थियो । त्यही दिन संगठनले बृहस्पतिसँगको लिज सम्झौता खारेज गरेको थियो । त्यसविरुद्ध बृहस्पति उच्च अदालत पाटन गएकामा दुवै पक्षलाई ‘आर्बिटेसन’ बाट विवाद सुल्झाउन र मुद्दामा नलैजान चलखेल हुँदै आएको थियो ।

बाल संगठनको स्वामित्वमा रहेको जग्गामध्ये ५ रोपनीको भोगाधिकार केन्द्रीय बहिरा माध्यमिक विद्यालयलाई दिइएको छ । २ रोपनी अख्तियारले सवारी पार्किङका लागि प्रयोग गरिरहेको छानबिनबाट खुलेको छ ।

महानगरीय प्रहरी वृत्त कमलपोखरीको संरचनामा पोखरी विस्तार भएपछि वृत्तलाई बाल मन्दिर परिसरको ५ रोपनी क्षेत्रफलमा स्थानान्तरण गरियो । ५० रोपनीभन्दा बढी जग्गा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानलाई भोगाधिकार दिइएको छ । प्रतिष्ठानको कार्यालय त्यहींभित्र छ । कित्ता नम्बर ७६० अन्तर्गतको ४ रोपनी २ आना जग्गा शिक्षा मन्त्रालयद्वारा सञ्चालित पौष्टिक आहार कार्यक्रमले निःशुल्क प्रयोग गरिरहेको छ ।

क्रिकेटर उत्पादनमा रूपन्देही एकेडेमी

लुम्बिनी — रूपन्देहीको मर्चबारी–२ का करण केवट उमेरले २० वर्षका भए । यहाँ १० कक्षासम्म पढेपछि उनी क्रिकेट सिक्न भारत पुगे । त्यहाँ तीन वर्षसम्म क्रिकेट सिकेर फर्किए पनि खेलमा निखार ल्याउने उनको सपना पूरा भएन ।

 

थप क्रिकेट सिक्न कहाँ जाने ? उनको मनमा यस्तै प्रश्न उब्जिएका बेला स्थानीय साथीले रूपन्देही क्रिकेट एकेडेमीमा भर्ना हुन सुझाए । त्यसपछि अहिले उनी भैरहवामा कोठा भाडा लिएर क्रिकेट प्रशिक्षण गरिरहेका छन् । रूपन्देही क्रिकेट एकेडेमीमा प्रशिक्षण लिइरहेका उनले सुनाए, ‘खाना आफैं पकाएर खान्छु, मासिक कोठाभाडा ३ हजार तिर्छु र क्रिकेटमै भविष्य देखेकाले मिहिनेत गरिरहेको छु ।’

करणले यसपालि एनपीएलमा नेट बलरका रूपमा मैदान प्रवेश पाएका थिए । जिल्लामै राम्रो वातावरणमा क्रिकेट सिक्न पाइएकाले राष्ट्रिय स्तरमा खेल्न सक्ने सपना छिट्टै पूरा हुने उनको विश्वास छ । उनी सिद्धार्थ रंगशालामा दिनहुँ बलिङमा आफूलाई अभ्यस्त गरिरहेका हुन्छन् ।

सिद्धार्थनगर–१३ का सुगम पोखरेलको आदर्श खेलाडी हुन्, सोमपाल कामी । सोमपालजस्तै बन्ने लक्ष्यसाथ १४ वर्षीय सुगम पनि एक वर्षयता एकेडेमीमा अभ्यासरत छन् । रूपन्देही जिल्ला क्रिकेट संघले घर नजिकै एकेडेमी सञ्चालनमा ल्याएपछि सिक्न र खेल्ने समय मिलाउन सहज भएको सुगमले बताए ।

‘टाढा–टाढा गएर खेल्न पाइन्थ्यो,’ उनले भने, ‘अहिले घरनजिकै सिकिरहेको छु, बुवा–आमाले एकेडेमीमा ल्याउने–लैजाने गर्नुहुन्छ ।’ क्रिकेटमा लगाव भएकाले काठमाडौंको मूलपानी रंगशालामा पुगेर सोमपालको खेल हेरेको उनले सुनाए । अहिले उनी आफू अलराउन्डरको रूपमा सिकिरहेको बताउँछन् । ।

‘हामीलाई एकेडेमीमा राम्रो सुविधा छ,’ उनले भने, ‘किट नभएकालाई किटसमेत दिएर प्रशिक्षण दिइन्छ, यसले हामीलाई सिक्ने हौसला मिलिरहेको छ ।’

सिद्धार्थ रंगशालामै रहेको एकेडेमीमा महिला खेलाडीलाई निःशुल्क सिक्ने व्यवस्था छ । यस्तो सुविधा सदुपयोग गर्दै भारतबाट १३ वर्षकी इक्रा खान भैरहवा आएकी छन् । भाडामा कोठामा बसेर आफूले क्रिकेट सिकिरहेको उनले बताइन् ।

‘भारतमा हुर्केको भए पनि मेरा अभिभावक नेपाली हुनुहुन्छ,’ उनले भनिन्, ‘क्रिकेट खेल्नकै लागि उता पढ्दै गरेको स्कुल छाडेर आएकी हुँ ।’ क्रिकेटमा भविष्य देखेकी उनले स्थानीय स्तरमा एकेडेमी हुँदा आफू जस्तो खेलमा रुचि भएकाहरूले राम्रो मौका पाएको बताइन् ।

एकेडेमीमा भर्ना भएका बालबालिकालाई क्रिकेटर दुर्गा सेन र मानबहादुर थापाले प्रशिक्षण दिइरहेका छन् । प्रशिक्षण लिएका खेलाडीले जुनियर लेभलका प्रतियोगिताहरू खेलिसकेका छन् । प्रशिक्षक थापा एकेडेमीका खेलाडीले यू–१२, यू–१६, यू–१९ मा खेलिसकेको र कोही सिनियर टिममा प्रवेश पाउने प्रतीक्षामा रहेको बताउँछन् ।

एकेडेमीले महिला खेलाडीलाई प्रोत्साहन गर्न विनाशुल्क प्रशिक्षण गर्ने व्यवस्था मिलाएको छ । खेलाडीको रुचि र चाहनाअनुसार अभिभावकले मैदानसम्म ल्याइदिने गरेको प्रशिक्षक थापाले बताए । उनका अनुसार रूपन्देहीसहित कपिलवस्तु, पश्चिम नवलपरासी, पाल्पा जिल्लाका खेलाडी प्रशिक्षणमा छन् ।

रूपन्देही जिल्ला क्रिकेट संघका अध्यक्ष हरि थापाले गत वर्षदेखि सुरु रूपन्देही क्रिकेट एकेडेमीमा १ सय ५० बढी प्रशिक्षार्थी रहेको बताए । लुम्बिनी प्रदेश सरकार, स्थानीय पालिका र व्यावसायिक प्रतिष्ठानको सहयोगमा ५० लाख रुपैयाँ खर्चेर बनाइएको एकेडेमीमा इन्डोरतर्फ ६ सिमेन्ट कार्पेट पिच तथा आउटडोरतर्फ २ वटा ग्रास टर्फ पिच छन् ।

‘दुई प्रशिक्षकले बालबालिकाको क्रिकेटप्रतिको रुचिलाई क्रिकेटर बन्न सघाइरहेका छन्,’ उनले भने, ‘हामी रूपन्देहीलाई क्रिकेटको हब मान्छौं, यहाँ खेल्ने जुनियरलाई भोलिको राष्ट्रिय खेलाडी बनाउने हाम्रो लक्ष्य हो ।’ अध्यक्ष थापाले एकेडेमीमा प्रशिक्षण लिइरहेकाले अम्पारिङ, प्राविधिक ज्ञानसमेत हासिल गर्ने भएकाले क्रिकेटभित्र जुन विधामा पनि जान सक्ने गरी सक्षम बनाइने जानकारी गराए ।

यस क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको खेल खेल्न योग्य मानिएको र एकदिवसीय क्रिकेट खेलाउने पहल भइरहेकाले यहाँ सिक्न पाउनु जुनियकार लागि ठूलो उपलब्धि रहने उनको भनाइ छ । एकेडेमीलाई राष्ट्रियस्तरकै नमुना एकेडेमी बनाइने योजना छ ।

सिने सिर्जनामा कैंची चलाउने सरकारी लहड

सिनेमा कल्पना शक्ति, अभिव्यक्ति स्वतन्त्रता, कला र आधुनिक प्रविधिको उच्चतम सम्मिश्रण हो । यही सबल पक्षकै कारण आज विश्वभरका सिनेमाले आफ्ना दर्शकलाई विस्मयकारी विगतदेखि कल्पनातीत भविष्यसम्मको यात्रा गराउन सकेका छन् । सामान्यतया सिनेमाको उद्देश्यमा मनोरञ्जनलाई नै अग्रपंक्तिमा राख्ने गरिए पनि यसको दायरा चिन्तन, चेतना र चेतावनीसम्मै फैलिएको छ ।

 

विशुद्ध व्यावसायिकतादेखि कलाको प्रचुरता भेटिने सिनेमासम्मको आ–आफ्नै धार निर्माण भएको छ । सिनेमा हेर्न पाइने प्लाटफर्ममा पनि व्यापक विस्तार भइसकेको छ । यद्यपि सिनेमा उद्योग जति फैलिएको छ, बिनाअवरोध नै फैलिएको भने होइन, अनुदारवादी शासक र शक्तिकेन्द्रका कैंचीका चोट सहेर फैलिएको हो । आफ्ना हित र स्वार्थको सेवा नगर्ने सिनेमालाई विभिन्न बहानामा अवरोध गर्ने प्रवृत्ति अद्यापि छ । सरकारले वैशाख १४ मा राष्ट्रिय सभामा दर्ता गराएको ‘चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ त्यस्तै प्रवृत्तिको पछिल्लो सन्दर्भ हो । विधेयकका कैयौं प्रावधानले ऐनमा पनि निरन्तरता पाएमा सिनेमा क्षेत्र प्रतिबन्ध र प्रतिशोधले आहत हुनेछ । तसर्थ विधेयकका विवादित प्रावधानमाथि पुनर्विचार गर्न सरकार तयार हुनुपर्छ । सांसद र सिनेमा उद्योगका सरोकारवालाले त्यसका निम्ति पहल गरिराख्नुपर्छ ।

विधेयकमा केही दफा छन्, जो विवादमा परेका छन् र सरकारको नियन्त्रणकारी मनस्थिति पनि प्रतिबिम्बित गर्छन् । विधेयकको दफा ५ (४) मा केही सर्तसहित चलचित्र विकास बोर्डका ‘अध्यक्षलाई नेपाल सरकारले र सदस्यलाई मन्त्रालयले जुनसुकै बखत पदबाट हटाउन सक्ने’ उल्लेख छ । त्यस्तै, ६ (२) मा ‘बोर्डले दीर्घकालीन योजना, वार्षिक कार्यक्रम तथा बजेट स्वीकृत गर्नुभन्दा पहिले मन्त्रालयको सहमति लिनुपर्नेछ’ भनिएको छ । यस्तो बोर्डले चलचित्र क्षेत्रको विकास, विस्तार, प्रवर्द्धन र नियमन गर्नेभन्दा पनि सञ्चार मन्त्रालयको शाखाका रूपमा आदेश पालक बन्ने सम्भावना ज्यादा छ । विधेयकको दफा १७ को उपदफा १ मा ‘डिजिटल प्लाटफर्ममार्फत चलचित्र वा चलचित्रजन्य सामग्रीको प्रदर्शन गर्न चाहे त्यस्तो प्लाटफर्म, व्यक्ति वा निकायले चलचित्र विकास बोर्डमा इजाजत लिनुपर्ने’ व्यवस्था गरिएको छ । दफा ४३ को उपदफा ३ मा इजाजतपत्र नलिई डिजिटल प्लाटफर्ममार्फत चलचित्र वा चलचित्रजन्य सामग्री प्रदर्शन गरे १० लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ । सरकार चलचित्रमा मात्रै होइन, प्रविधिको विकाससँगै उपलब्ध विश्वव्यापी प्लाटफर्ममा समेत नियन्त्रण गर्न खोज्दै छ भन्ने प्रस्ट हुन्छ ।

फिल्मकर्मीहरूले नेपालमा अभ्यास हुँदै आएको सेन्सरप्रति असन्तुष्टि जनाइरहेको पृष्ठभूमिमा विधेयकले पनि सेन्सरलाई अनिवार्य गरेको छ । दफा २७ मा चलचित्रको प्रदर्शनअघि जाँच समितिबाट जाँच गराउनुपर्ने व्यवस्था गरिएको छ । दफा २८ मा जाँचबुझ समितिको व्यवस्था गरिएको छ । समितिमा सञ्चार मन्त्रालयका सहसचिव अध्यक्ष हुनेछन् । त्यस्तै सदस्यहरूमा गृह मन्त्रालयका प्रतिनिधि, चलचित्र क्षेत्रका अनुभवी व्यक्ति (दुई जना), बोर्डका प्रतिनिधि हुनेछन् । सञ्चार मन्त्रालयका प्रतिनिधि सदस्य सचिव हुनेछन् । यसरी सरकारी हाकिमहरूको अड्डाले विधेयकको दफा ३० (४) अनुसार कुनै चलचित्रलाई प्रदर्शन अनुमति नदिन सक्ने अधिकार पाउनेछन् । संघ वा प्रदेश सरकारले समेत चलचित्र प्रदर्शनमा रोक लगाउन सक्ने व्यवस्था विधेयकमा छ ।

विधेयकमा सिनेमालाई सिर्जनात्मक शक्ति मान्ने स्वाभाविक उदारता देखाइएको छैन । बरु शान्ति सुरक्षामा खलल पुर्‍याउने, सदाचार वा नैतिकताको प्रतिकूल हुने, मानहानि गर्ने, अदालतको अवहेलना गर्ने, हिंसालाई प्रोत्साहन गर्ने, अपराध गर्न दुरुत्साहन गर्ने भय बोकेको पाइन्छ । अर्कोतर्फ दर्शकको विवेकको सम्मान गरिएको पाइँदैन । बरु ‘सिनेमा हेरे बिग्रिन्छन्’ मानसिकताबाट बन्देजका प्रावधान रचिएको देखिन्छ । कोही पनि व्यक्ति सिनेमा निर्माताप्रतिको विश्वास, मन पर्ने कलाकारको अभिनय, सिनेमाका कथा तथा समीक्षा जस्ता अनेकौं पक्ष केलाएर सिनेमा हेर्न तयार हुन्छन् । सिनेमा हेर्ने उपक्रम व्यक्ति स्वयंको छनोट हो । आफ्नो छनोटप्रति वयस्क व्यक्ति स्वयं नै जिम्मेवार हुन्छन् । यहाँ सरकारले आफ्नो निर्णायक भूमिका खोज्ने काम नै असान्दर्भिक छ । सिर्जना गर्ने पक्ष र त्यसबाट लाभान्वित हुने पक्षबीचको दोहोरो सम्बन्धलाई सहजीकरण गर्नुको सट्टा अवरोध र अविश्वास गर्ने कामबाट सरकार बाहिरिनुपर्छ ।

फिल्मकर्मीको सबैभन्दा ठूलो डर नै सेन्सर बोर्डप्रति हुने गरेको छ । किनकि, सेन्सर बोर्डले आफ्नो शक्ति देखाउने गर्दा कैयौं सिनेमाका अति महत्त्वपूर्ण दृश्य वा संवाद झिक्न बाध्य पारिएका छन् । यसो गर्नका लागि सार्वजनिक ढंगबाट औचित्य स्थापित हुने तर्क पनि दिने गरेको पाइँदैन । बरु सेन्सर बोर्डका सदस्यहरूका राजनीतिक झुकाव र सिनेमाको विश्वव्यापी प्रचलनप्रतिको कमजोर बुझाइ अभिव्यक्त हुने गरेको छ । यसैकारण सेन्सर खेपेका कैयौं सिनेमाको लय भत्किने गरेका छन् । विकल्पमा, सिनेमा प्रदर्शन भइसकेपछि बहस गर्न सकिन्छ । खराब भए आलोचना गर्न सकिन्छ । ठूलो संख्याका दर्शकले गर्ने मूल्यांकन वस्तुनिष्ठ हुन्छ । दायरा पनि फराकिलो हुन्छ । तर कर्मचारी वृत्त वा राजनीतिक निकटताका आधारमा सेन्सर बोर्डमा पुगेको सानो समूहले गर्ने विश्लेषण साँघुरो र पूर्वाग्रही हुन सक्छ, हुँदै आएको छ । त्यसैले सेन्सर बोर्डलाई फिल्म बुझेका वा यस क्षेत्रमा आबद्धहरूको संस्था बनाउने हो भने पनि धेरै हदसम्म सुधार हुन सक्छ । अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्ने कैयौं मुलुकमा उमेरका आधारमा फिल्मको वर्गीकरण गरेको पाइन्छ । नेपालमा पनि त्यस्तो अभ्यास अपनाउन सकिन्छ ।

अनावश्यक सेन्सरले फिल्म निर्माताले फिल्ममार्फत आफूलाई जसरी अभिव्यक्त गर्न चाहेको हो, जुन विषय जसरी भन्न चाहेको हो, त्यसरी भन्न पाउँदैनन् । विभिन्न जात, धर्म वा समुदायमा प्रचलित भाषा वा दृश्यको सौन्दर्य कटौतीमा पर्न सक्छन् । मुख्यतः सेन्सरलाई कठोर बनाउने हो भने सिनेमा निर्माण गर्दै गर्दा संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रताको उपयोगभन्दा पनि कानुनले निर्धारण गरेका बन्देजबाट स्व–नियन्त्रित हुनुपर्ने बाध्यता सिर्जना गर्छ । लोकतन्त्रले व्यक्ति र समूहको सिर्जनात्मक क्षमतामा विश्वास गर्नुपर्छ । त्यसका निम्ति सहजीकरण र उत्प्रेरित गर्नुपर्छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ — नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३४ रूपैयाँ ८० पैसा र बिक्रीदर १३५ रूपैयाँ ४० पैसा कायम भएको छ ।

 

यस्तै, युरोपियन युरो एकको खरिददर १५२ रूपैयाँ ७० पैसा र बिक्रीदर १५३ रूपैयाँ ३८ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८० रूपैयाँ १४ पैसा र बिक्रीदर १८० रूपैयाँ ९४ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६३ रूपैयाँ ४० पैसा र बिक्रीदर १६४ रूपैयाँ १३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ०५ पैसा र बिक्रीदर ८७ रूपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ५८ पैसा र बिक्रीदर ९८ रूपैयाँ ०१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ ५६ पैसा र बिक्रीदर १०५ रूपैयाँ ०२ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रूपैयाँ ४३ पैसा र बिक्रीदर नौ रूपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६८ पैसा र बिक्रीदर १८ रूपैयाँ ७६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ९४ पैसा र बिक्रीदर ३६ रूपैयाँ १० पैसा, कतारी रियाल एकको खरिददर ३६ रूपैयाँ ९८ पैसा र बिक्रीदर ३७ रूपैयाँ १५ पैसा तोकेको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १३ पैसा र बिक्रीदर चार रूपैयाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ७० पैसा र बिक्रीदर ३६ रूपैयाँ ८६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ८५ पैसा र बिक्रीदर ३१ रूपैयाँ ९९ पैसा निर्धारण भएको छ ।

यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ७६ पैसा र बिक्रीदर नौ रूपैयाँ ८१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ ०१ पैसा र बिक्रीदर १४ रूपैयाँ ०७ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ४६ पैसा र बिक्रीदर २० रूपैयाँ ५५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ३९ पैसा र बिक्रीदर १७ रूपैयाँ ४७ पैसा, कुवेती दिनार एकको खरिददर ४३९ रूपैयाँ ६९ पैसा र बिक्रीदर ४४१ रूपैयाँ ६५ पैसा, बहराइन दिनार एकको खरिददर ३५७ रूपैयाँ ५५ पैसा र बिक्रीदर ३५९ रूपैयाँ १४ पैसा, ओमनी रियाल एकको खरिददर ३५० रूपैयाँ १३ पैसा र बिक्रीदर ३५१ रूपैयाँ ६९ पैसा रहेको छ ।

यस्तै, भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

सामान्य अंकले बढ्यो नेप्से

काठमाडौँ — पछिल्ला पाँच कारोबार दिन निरन्तर घटिरहेको सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार १.०३ अंकले बढेको छ । सोमबारको तुलनामा नेप्से शून्य दशमलव शून्य तीन बिन्दुले बढेर २६११.४३ बिन्दुमा उक्लिएको हो । वैशाख १५ यता नेप्से निरन्तर घटिरहेको छ ।

 

मंगलबार १२० कम्पनीको सेयर मूल्य बढ्यो भने १२६ कम्पनीको मूल्य घट्यो । उक्त दिन ८० हजार ५४ पटकको सेयर किनबेचबाट ८ अर्ब ७४ करोड ७६ लाख ६८ हजार रुपैयाँको कारोबार भएको छ ।

कुल २ करोड ५ लाख ४२ हजार ७ सय ६४ कित्ता सेयर किनबेच भए । व्यापार, निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन, जीवन बिमा र जलविद्युत्बाहेक सबै उपसमूह घटे । व्यापार ९०.६७, निर्जीवन बिमा ७०.१६, जलविद्युत् ४८.७५, उत्पादन तथा प्रशोधन २१.०७ र जीवन बिमा १६.९४ अंकले बढे ।

घट्ने उपसमूहमा फाइनान्स, विकास बैंक, बैंकिङ, होटल तथा पर्यटन, लघुवित्त, लगानी, सामूहिक लगानी कोष र अन्य उपसमूह छन् । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेक लाग्यो । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको ९.९९, ओम मेगाश्री फर्मासिटिकल्सको ९.९८, रिडी पावर कम्पनीको ९.६० र बुटवल पावर कम्पनीको सेयर मूल्य ७.१९ प्रतिशतले बढ्यो ।

विन नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेर सर्किट ब्रेक लाग्यो । हिमालयन पावर पार्टनरको ५.१८, सप्तकोशी विकास बैंकको ५.१५, लक्ष्मी भ्यालु फन्ड–२ को ४.३३ र सनराइज बैंक डेबेन्चर २०८३ (१०.२५ प्रतिशत) को सेयर मूल्य ४.१६ प्रतिशतले घट्यो ।

कारोबार रकमका आधारमा सानिमा माई हाइड्रोपावर, ङादी ग्रुप पावर, राधी विद्युत् कम्पनी, युनिभर्सल पावर कम्पनी र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट अघि रहे ।

सानिमा माई हाइड्रोपावरको ९२ करोड ८९ लाख ६२ हजार, ङादी ग्रुप पावरको ६७ करोड ३२ लाख ३ हजार, राधी विद्युत् कम्पनीको ३८ करोड २२ लाख, युनिभर्सल पावर कम्पनीको ३६ करोड ११ लाख र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टको ३२ करोड ७० लाख ६० हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

युवा संघको दसौं महाधिवेशन जेठ दोस्रो साता पोखरामा

कास्की — एमालेको जनसंगठन राष्ट्रिय युवा संघ नेपालको दसौं महाधिवेशन जेठ दोस्रो साता पोखरामा हुने भएको छ ।

जेठ ९ देखि ११ गतेसम्म पोखरा सभागृहमा आगामी महाधिवेशन हुने संघले मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । देशभरबाट करिब २ हजार जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने अध्यक्ष क्षितिज थेबेले जानकारी दिए ।

महाधिवेशनबाट अध्यक्ष, २ जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र ४ जना सचिवसहित १ सय ५१ सदस्यीय कमिटी निर्वाचित हुनेछन् । वर्तमान अध्यक्ष थेबेले अध्यक्षमा नदोहोरिने र पार्टी राजनीतिमा सक्रिय हुने आन्तरिक तयारी गरेका छन् । भावी अध्यक्षमा उपाध्यक्षद्वय मीनराज गुरुङ, प्रवक्तासमेत रहेका अर्का उपाध्यक्ष कृष्णहरि केसी, महासचिव सुमन पुरी प्रमुख दाबेदार छन् ।

महाधिवेशनको पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तयारी छ ।

लोकप्रिय