फोर आइज न्युज
शुक्रबार, बैशाख २६, २०८२
  • होमपेज
  • क्रिकेटर उत्पादनमा रूपन्देही एकेडेमी

क्रिकेटर उत्पादनमा रूपन्देही एकेडेमी

  • Arjun Rai
  • बुधबार, बैशाख २४, २०८२
क्रिकेटर उत्पादनमा रूपन्देही एकेडेमी

लुम्बिनी — रूपन्देहीको मर्चबारी–२ का करण केवट उमेरले २० वर्षका भए । यहाँ १० कक्षासम्म पढेपछि उनी क्रिकेट सिक्न भारत पुगे । त्यहाँ तीन वर्षसम्म क्रिकेट सिकेर फर्किए पनि खेलमा निखार ल्याउने उनको सपना पूरा भएन ।

 

थप क्रिकेट सिक्न कहाँ जाने ? उनको मनमा यस्तै प्रश्न उब्जिएका बेला स्थानीय साथीले रूपन्देही क्रिकेट एकेडेमीमा भर्ना हुन सुझाए । त्यसपछि अहिले उनी भैरहवामा कोठा भाडा लिएर क्रिकेट प्रशिक्षण गरिरहेका छन् । रूपन्देही क्रिकेट एकेडेमीमा प्रशिक्षण लिइरहेका उनले सुनाए, ‘खाना आफैं पकाएर खान्छु, मासिक कोठाभाडा ३ हजार तिर्छु र क्रिकेटमै भविष्य देखेकाले मिहिनेत गरिरहेको छु ।’

करणले यसपालि एनपीएलमा नेट बलरका रूपमा मैदान प्रवेश पाएका थिए । जिल्लामै राम्रो वातावरणमा क्रिकेट सिक्न पाइएकाले राष्ट्रिय स्तरमा खेल्न सक्ने सपना छिट्टै पूरा हुने उनको विश्वास छ । उनी सिद्धार्थ रंगशालामा दिनहुँ बलिङमा आफूलाई अभ्यस्त गरिरहेका हुन्छन् ।

सिद्धार्थनगर–१३ का सुगम पोखरेलको आदर्श खेलाडी हुन्, सोमपाल कामी । सोमपालजस्तै बन्ने लक्ष्यसाथ १४ वर्षीय सुगम पनि एक वर्षयता एकेडेमीमा अभ्यासरत छन् । रूपन्देही जिल्ला क्रिकेट संघले घर नजिकै एकेडेमी सञ्चालनमा ल्याएपछि सिक्न र खेल्ने समय मिलाउन सहज भएको सुगमले बताए ।

‘टाढा–टाढा गएर खेल्न पाइन्थ्यो,’ उनले भने, ‘अहिले घरनजिकै सिकिरहेको छु, बुवा–आमाले एकेडेमीमा ल्याउने–लैजाने गर्नुहुन्छ ।’ क्रिकेटमा लगाव भएकाले काठमाडौंको मूलपानी रंगशालामा पुगेर सोमपालको खेल हेरेको उनले सुनाए । अहिले उनी आफू अलराउन्डरको रूपमा सिकिरहेको बताउँछन् । ।

‘हामीलाई एकेडेमीमा राम्रो सुविधा छ,’ उनले भने, ‘किट नभएकालाई किटसमेत दिएर प्रशिक्षण दिइन्छ, यसले हामीलाई सिक्ने हौसला मिलिरहेको छ ।’

सिद्धार्थ रंगशालामै रहेको एकेडेमीमा महिला खेलाडीलाई निःशुल्क सिक्ने व्यवस्था छ । यस्तो सुविधा सदुपयोग गर्दै भारतबाट १३ वर्षकी इक्रा खान भैरहवा आएकी छन् । भाडामा कोठामा बसेर आफूले क्रिकेट सिकिरहेको उनले बताइन् ।

‘भारतमा हुर्केको भए पनि मेरा अभिभावक नेपाली हुनुहुन्छ,’ उनले भनिन्, ‘क्रिकेट खेल्नकै लागि उता पढ्दै गरेको स्कुल छाडेर आएकी हुँ ।’ क्रिकेटमा भविष्य देखेकी उनले स्थानीय स्तरमा एकेडेमी हुँदा आफू जस्तो खेलमा रुचि भएकाहरूले राम्रो मौका पाएको बताइन् ।

एकेडेमीमा भर्ना भएका बालबालिकालाई क्रिकेटर दुर्गा सेन र मानबहादुर थापाले प्रशिक्षण दिइरहेका छन् । प्रशिक्षण लिएका खेलाडीले जुनियर लेभलका प्रतियोगिताहरू खेलिसकेका छन् । प्रशिक्षक थापा एकेडेमीका खेलाडीले यू–१२, यू–१६, यू–१९ मा खेलिसकेको र कोही सिनियर टिममा प्रवेश पाउने प्रतीक्षामा रहेको बताउँछन् ।

एकेडेमीले महिला खेलाडीलाई प्रोत्साहन गर्न विनाशुल्क प्रशिक्षण गर्ने व्यवस्था मिलाएको छ । खेलाडीको रुचि र चाहनाअनुसार अभिभावकले मैदानसम्म ल्याइदिने गरेको प्रशिक्षक थापाले बताए । उनका अनुसार रूपन्देहीसहित कपिलवस्तु, पश्चिम नवलपरासी, पाल्पा जिल्लाका खेलाडी प्रशिक्षणमा छन् ।

रूपन्देही जिल्ला क्रिकेट संघका अध्यक्ष हरि थापाले गत वर्षदेखि सुरु रूपन्देही क्रिकेट एकेडेमीमा १ सय ५० बढी प्रशिक्षार्थी रहेको बताए । लुम्बिनी प्रदेश सरकार, स्थानीय पालिका र व्यावसायिक प्रतिष्ठानको सहयोगमा ५० लाख रुपैयाँ खर्चेर बनाइएको एकेडेमीमा इन्डोरतर्फ ६ सिमेन्ट कार्पेट पिच तथा आउटडोरतर्फ २ वटा ग्रास टर्फ पिच छन् ।

‘दुई प्रशिक्षकले बालबालिकाको क्रिकेटप्रतिको रुचिलाई क्रिकेटर बन्न सघाइरहेका छन्,’ उनले भने, ‘हामी रूपन्देहीलाई क्रिकेटको हब मान्छौं, यहाँ खेल्ने जुनियरलाई भोलिको राष्ट्रिय खेलाडी बनाउने हाम्रो लक्ष्य हो ।’ अध्यक्ष थापाले एकेडेमीमा प्रशिक्षण लिइरहेकाले अम्पारिङ, प्राविधिक ज्ञानसमेत हासिल गर्ने भएकाले क्रिकेटभित्र जुन विधामा पनि जान सक्ने गरी सक्षम बनाइने जानकारी गराए ।

यस क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको खेल खेल्न योग्य मानिएको र एकदिवसीय क्रिकेट खेलाउने पहल भइरहेकाले यहाँ सिक्न पाउनु जुनियकार लागि ठूलो उपलब्धि रहने उनको भनाइ छ । एकेडेमीलाई राष्ट्रियस्तरकै नमुना एकेडेमी बनाइने योजना छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका