यो फिल्मको प्रमुख पात्र फिल बाहिर देखिएजति शक्तिशाली छैन ।
ऊ बलियो देखिन चाहन्छ । नेतृत्व गर्न चाहन्छ । अरुलाई डराउने बनाउँछ । क्रूर लाग्ने काम गर्छ । काउब्वाई ह्याटमा सजिएर छालाका लुगा लगाउँदै घोडा चढ्छ । आफ्नो विश्वासमा टसमस गर्दैन ।
तर यो सबै ऊ बाहिरबाट देखिँदा मात्र छ ।
एक्लै हुँदा ऊ नितान्त एक्लो छ । अरुजस्तै कमजोर छ । रुन्छ । तर, त्यो एक्लोपना र कमजोरी ऊ अरुको सामुन्ने देखाउन खोज्दैन । आफूलाई अनेकौँ तहमा लुकाएको कुरा ऊ कसैगरी आफूलाई खोल्दै खोल्दैन ।
त्यसरी आफूलाई जस्तो हो, त्यस्तै देखाउन नखोज्दाको भारीले ऊ आफैँ थिचिएको छ ।
टोमस स्यावेजले सन् १९६७ मा लेखेको उपन्यास ‘द पावर अफ डग’लाई सोही नामको फिल्ममा रूपान्तर गरेकी लेखिका तथा निर्देशक जेन क्याम्पेनले फिललाई मर्दाङ्गी पुरुषको प्रतिनिधि देखाएर हाम्रो समाजमा व्याप्त त्यो देखावटीपनालाई उजागर गरेकी छन्, जसभित्र सम्भवत: हाम्रो समाजका धेरै पुरुष पात्रहरू सर्लक्कै अटाउँछन् । सँगै उनले उक्त पात्रलाई पुरुषबाहेक हेर्दा पनि मानवीय र सामाजिक चरित्रको समग्र रूप प्रस्तुत गरेकी छन्, जसमा आफ्नो अहङ्कार र विगतको नोस्टाल्जियामा बसिरहेर अगाडि बढ्न नसकेका धेरै प्रतिनिधि पात्रहरू अटाउँछन् ।
फिलले बोकेको भारी पुरुषले बलियो पुरुष भइराख्न बोकिरहेको भारी मात्र हैन, माथिल्लो वर्गले माथिल्लो वर्गको भइराख्न बोकिरहेको भारी हो । (फिल आफ्नो दाइले बिहे गरेकी तल्लो वर्गकी महिला रोजलाई कहिल्यै पनि स्वीकार्दैन । उसले पैसाका लागि बिहे गरेकी हो भनेर सधैँ भनिरहन्छ ।) कमजोरलाई शासन गरेर आफू लिडर भइराख्न र आफूले देखेको कुरा अरुलाई नभनेर शासन गरिराख्न अभ्यस्त भएका नेतृत्वहरूले भोगेको भारी हो । (ऊ रोजको छोरा पिटरलाई युवतीजस्तो भन्छ, उसको दुब्लो शरीर भएकै कारण हेप्छ । त्यतिबेलासम्म हेप्छ, जतिबेलासम्म पिटर पनि कोही हो भन्ने थाहा पाउँदैन ।)
समग्रमा उसले बोकेको भारी सामान्य संवेदनशीलता मात्र पनि बोक्न नसकेर गह्रौँ भइरहेका मानिसहरूको भारी हो । (ऊ फिल्ममा कसैलाई पनि उनीहरूको खबर सोध्दैन । आफ्ना वरपर भइरहेका युवकहरूसँग ऊ कुनै हिसाबले नजिक छैन । ऊ केवल तिनको मालिक मात्र भएको छ ।)
उसले बोकेको त्यो भारी हामी सबैले कुनै न कुनै रूपमा बोकिरहेका छौँ । जेन क्याम्पियन फिलको चरित्रमार्फत हामीमा भएको त्यो भारीको बोझ सम्झाउँछिन् । अनि त्यस भारीबाट मुक्त हुन संकेत पनि गर्छिन् ।
उनी हामीलाई हाम्रो मनको त्यो झ्याल र ढोका खोलाउन चाहन्छिन्, जसलाई हामीले विभिन्न संरचनाका नाममा सदियौँदेखि बन्द गरेका छौँ । त्यसैले पनि फिल्ममा घरभित्र र घरभित्रका लगभग धेरैजसो दृश्यहरूमा कुनै न कुनै रूपमा झ्याल र ढोका आइरहन्छन् । उनी एकपल्ट बाहिरबाट आफूतिर फर्किएर मात्र होइन, आफूबाट बाहिरतिर फर्किन पनि भनिरहन्छिन् । भनिरहन्छिन् ।
०००
फिल्म सुरु हुँदा बन्जो बाजाको उदास सङ्गीत बजिरहेको सुनिन्छ ।
फिल बाहिरबाट घर आउँदै हुन्छ । घरको ढोकातिर पुग्नुभन्दा पहिला आउने झ्यालहरूमा एउटा झ्याल कटेर अर्को झ्यालमा देखिँदै । काउब्वाई ह्याट लगाएको पुरुषत्व झल्किने लुकमा ।
ऊ हिँडेको गति झ्यालभित्रबाट क्यामेराले ऊ हिँडेजसरी नै पछ्याउँछ । उसलाई बाहिरबाट अलग्गै खिच्न सकिन्थ्यो । क्यामेरालाई लो एंगलबाट ऊतिर फर्काएर उसलाई भव्य देखाउन सकिन्थ्यो । तर, निर्देशक त्यसो गर्दिनन् । उनी फिललाई पहिलो पल्ट देखाउन सटमा नै भन्न चाहन्छिन् कि ऊ बाहिरबाट देखिएको जति हो, भित्रबाट देखिएभन्दा फरक हो । त्यसैले पनि झ्यालभित्रबाट ऊ आएको देखिँदा परको पहाड पनि देखिन्छ । त्यहाँ ऊ मात्र छैन भन्ने देखिन्छ ।
तर, यही कुरा ऊ स्वीकार्दैन । आफूबाहेक अरु पनि छन् भन्ने कुरा सोच्दैन ।
ऊ घरभित्र छिर्छ । भर्याङ उक्लिन्छ । खाना खान सोध्ने महिलालाई नखाने भन्छ । अब उसको खुट्टाले काठको भुईंमा बजाएको आवाज ठूलोठूलो सुनिन्छ । ऊ कोठामा छिर्छ । भित्तामा झुण्ड्याइएको बन्जो बाजा निकाल्छ र त्यसको स्ट्रिङ थोरै बजाउँछ । त्यो फ्रेममा पनि झ्याल देखिन्छ । बाहिरको थोरै दृश्य देखिन्छ ।
ऊ अर्को कोठामा नुहाइरहेको दाइलाई बोलाउँछ । भोलि हिँड्नेबारेको तयारी सुनाउँछ । त्यो तयारीबारे बोल्दा पनि उसको बोल्डनेस देखिन्छ । उसको दाइ उसलाई ननुहाएको कति भयो भनेर सुनाउँछ । त्यसले ऊ बलियो देखिने र अलग देखिने धुनमा कतिसम्म असामाजिक भइसकेको छ भन्ने बुझाउँछ ।
भोलिपल्ट उनीहरू निस्किन्छन् । र, त्यो यात्राले ती दाजुभाइबीचको सम्बन्धको नयाँ–नयाँ पोयोहरू खोलिदिन्छ । उनीहरूले भेट्ने चरित्र र तीसँग विस्तारित हुने तिनको सम्बन्धले उनीहरूको चरित्रका नयाँनयाँ छायाहरू उजागर गरिदिन्छ । त्यसमा उसको दाइ आफूलाई क्रमशः आफ्नो पुरुषत्वबाट गलाउँदै जान्छ, प्रेममा पर्छ । त्यसमा फिल आफूलाई क्रमशः आफ्नो पुरुषत्वले थिच्दै लान्छ, कसैलाई प्रेम गर्न सक्दैन ।
यो फिल्मको सफल पक्ष नै यही हो । ढिलो गतिमा अगाडि बढे पनि कथाले दुई दाजुभाइको सम्बन्ध र तीसँग जोडिएका अरु सम्बन्धमा अडिएर विवेचना गर्ने यति धेरै ठाउँ छोड्दै जान्छ कि त्यसले धेरैपल्ट आफूले बिताइरहेको समग्र जीवनलाई नै प्रश्न सोध्ने बनाउँछ ।
०००
जर्ज र फिल फरक छन् ।
उनीहरूको हुर्काइ लगभग उस्तै थियो । सम्भ्रान्त वर्गमा । हामीले नै केही गरेर देखाउनुपर्छ भन्ने बोझसहित । (त्यो बोझ उनीहरूलाई परिवारबाट नै आएको छ । खासमा परिवारबाट आएको बोझले धेरै कुरा बिगार्छ । उनीहरूका बाबु फिल्मको पछिल्तिरको एउटा दृश्यमा फिलका बारेमा बताउँदा उसले गरेका साहसको नै कुरा गर्छन् । कमजोरीको कुरा गर्न कहिल्यै नपाएर नै सायद फिल त्यस्तो भएको हो ।)
तर, समान हुर्काई र समान गुरुबाट शिक्षित भए पनि उनीहरूको चरित्र फरक छ । फिल ब्रन्को हेनरीले २५ वर्षपहिला सिकाए जसरी पहाडमा गएर फेरि सिकार गर्नुपर्छ भन्छ तर जर्ज खासै वास्ता गर्दैन । फिलमा ब्रन्को हेनरीले गरेका साहसिक काम प्रेतजसरी बसेको छ । त्यो प्रेत पनि हाम्रोवरपर धेरैपल्ट देखिइरहेको हुन्छ ।
उनीहरू एक/एकवटा घोडा चढेर गाईको ताँतीसँगै गइरहेको बेला जर्जको चाल फिलको भन्दा ढिलो छ । ऊ हतारमा छैन । उसलाई घोडचढीमा खासै रुचि पनि छैन । उसले सुट लगाएको छ । फिलले काउब्वाई स्टाइलको लुगा । लुगाबाट नै उनीहरूको चरित्रविपरीत ध्रुवमा छ भन्ने देखिन्छ ।
त्यतिञ्जेल उनीहरू सँगै कतै जाँदै छन् । एउटै डिरेक्सनमा । त्यसैले क्यामेराले उनीहरूको डोमिनेसनलाई खासै प्रस्तुत गर्दैन । तर, ब्रन्को हेनरीको कुरामा रुचि नदिएपछि फिल उसलाई जितेर अगाडि लाग्छ । त्यहाँबाट उनीहरूको चरित्रको डिपार्चर सुरु हुन्छ । ऊ अगाडि लाग्दै गर्दा अलिक माथि पुगेर जर्जतिर फर्किएर हेर्छ । लो एंगलबाट माथि खिचिएको त्यो दृश्यले जर्जमाथि फिलको डोमिनेसन देखाउँछ । त्यो डोमिनेसन फिलको पक्षबाट थियो । उसको लोकेसनमा थियो ।
त्यहाँ फिल जर्जभन्दा बलियो देखिन्छ । ऊ वरपर केटाहरू लिएर हिँड्छ । उनीहरूलाई ब्रन्को हेनरीको कथा सुनाउँछ । उनीहरूले नबुझेर प्रश्न गर्दा खुसी हुन्छ । जर्जसँग बेलाबेला झर्किएर बोल्छ । दाजुसँग नमिल्ने हैन तर मिल्दा पनि ऊ आफूभन्दा कमजोर छ भन्ने थाहा भएर पेल्नलाई मिलेको जस्तो मात्र लाग्छ ।
एउटै परिवारका दुई भाइको चरित्रलाई यति स्थापित गरेपछि जेन क्याम्पियन उनीहरूलाई दुई साझा चरित्रसँगको सङ्घर्षमा मिसाउँछिन् । सङ्घर्ष वा प्रेम । दुवै । त्यसपछि यी दुईमा आएको परिवर्तन नै सारा फिल्मभर फैलिरहन्छ ।
अनि सँगै बढिरहन्छ ब्याकग्राउण्ड म्युजिक अनि झ्यालको बिम्ब पनि ।
०००
उनीहरू खाना खान जाने ठाउँमा रोज नामकी महिला छिन् । उनको पिटर नामको छोरो छ । पहिलोपल्ट देखिँदा पिटर पियानोको नोट लेखिएका कागज काटेर फूल बनाइरहेको छ । उसले काटेको पियानोको नोटले पियानोबारेमा केही कथा छ भन्ने संकेत छोड्छ । काटेको कुराले त्यसमा भएको कुनै क्रमभंगता संकेत गर्छ ।
पछि थाहा हुन्छ– उसकी आमा कुनै बेला पियानो बजाउँथिन् । पछि छोडिन् । उनी तल्लो वर्गकी हुन् । तल्लो वर्गका धेरै थोक छुट्छन् ।
फिल र जर्ज आउँदै गरेको कुरा थाहा पाएपछि खानाको तयारी गर्नुभन्दा पहिला उनी छोराको कोठामा छिर्छिन् । छोराले बनाएको कागजको फूल देख्छिन् । खुसी हुन्छिन् । उसले बनाइरहेको एल्बम पल्टाउँछिन् । एल्बममा दरबार देख्दा भन्छिन्, ‘राम्रो छ तर धेरै सफा गर्नुपर्छ होला ।’
फिल भन्छ, ‘दरबारमा सफा गर्ने मान्छेहरू हुन्छन् ।’
यो संवादबाट दरबार पनि स्थापित हुन्छ । सँगै रोजको वर्ग पनि स्पष्ट हुन्छ । उनको दरबारसँग जोडिएको सपना पनि सफाइसँग मात्र जोडिन्छ । उनी केही पहिला देखिँदा भुईं पुछिरहेकी नै देखिएकी थिइन् ।
उनी छोराले बनाएको फूल लिएर जान्छिन् र खाना खाने टेबुलमा राख्छिन् ।
उनीहरूलाई स्थापित गर्न लेखिएको त्यो सानो दृश्य र त्यसमा प्रयोग भएका सामान बिम्ब फिल्मको बाँकी भागका लागि महत्त्वपूर्ण छन् ।
फिल र उसका साथीहरू आइपुग्छन् । खाना खान बस्छन् । फिल त्यो फूल उठाउँछ । चलाउँछ । र, पिटरलाई महिलाले बनाएको जस्तो भनेर नीच गाली दिन्छ । अनि फूललाई जलाइदिन्छ । ऊ आफ्नो श्रेष्ठता कमजोर लाग्ने पात्रहरूलाई देखाउन झन् मन पराउँछ ।
उसले पिटरलाई गरेको गाली सुनेर रोज रुन्छिन् । रोज रोएको जर्जले सुन्छ । बुझ्छ । उनीहरू सबै फर्किसक्दा पनि जर्ज फर्किंदैन । उनलाई नजिकैबाट सुन्छ ।
अनि बेलुका आफूलाई सुत्ने खाटमा पर्खिरहेको फिललाई जुत्ता खोज्दै गर्दा भन्छ, ‘तैँले आज उसलाई जे भनिस्, त्यसले उनलाई रुने बनायो ।’
उसले यो भन्दै गर्दा लो क्यामेरा एंगल जर्जतिर देखिन्छ । ऊ यहाँ बलियो बन्छ । त्यसको विपरीत फिलको अनुहार फुङ्ग उड्छ । यो फिलको क्षेत्र हो । उसले प्राप्त गरेको संवेदनशीलताको क्षेत्र हो ।
जर्ज यहाँ कसैलाई सुनेको भरमा बलियो बन्छ । कसैको संवेदनशीलतालाई बुझेको भरमा अर्कै मान्छे बन्छ । अर्कै मान्छे बन्नैपरे पनि बि लाइक जर्ज ।
०००
फिल समस्याग्रस्त पुरुष हो । तर, त्यो समस्या सधैँ शक्तिशाली भइरहने चक्करमा आफूलाई आएको हो भन्ने उसलाई थाहा छैन । आफू मात्र एक्लै भइरहने इच्छाले निम्त्याएको हो भन्ने उसलाई थाहा छैन । ऊ अरुलाई आफूजस्तै होऊन् र आफूजस्तै विश्वास गरून् र बुझून् भन्ने चाहन्छ । त्यो पूरा नभएर दु:खी हुन्छ । तर, त्यो दु:खलाई कुनै गतिलो रिसमा बदलिहाल्न पनि सक्दैन ।
शक्तिमान मान्छेहरूलाई खासमा धेरै कुरा थाहा हुँदैन ।
उसले फिल्ममा कुनै पनि कुरा प्राप्त गर्दैन । उसले बलियो देखाएको कुरा क्रमशः फुस्किँदै जान्छ । ऊ एकान्तमा भएको बेलामा देखिने अँध्यारो कोठा र बन्जोको शोकाकुल धुनले निर्देशक त्यस्ता खाले चरित्रको नियति बनाइदिन्छिन् । भन्दिन्छिन, ‘दुनियाँका अगाडि जति नै ठूलो कुरा गरे पनि आफूसँग आफूलाई लुकाउन सक्दैनौँ । फिल रातबाट भाग्न नसकेजस्तै तिमीहरू पनि सक्दैनौ । तिमीहरू उसले जस्तै प्रेम गर्न पनि सक्दैनौँ । उसको दाइको प्रेमलाई टुक्र्याउन खोज्दा नसकेजस्तै तिमीहरू पनि सक्दैनौँ ।
एउटा दृश्यमा ऊ दाजुलाई रोजसँग प्रेम नगर्न भन्छ । उसलाई घरमा ल्याए समस्या हुन्छ भनेर बुझाउन खोज्छ तर सक्दैन । त्यो बेलाको उनीहरूको कुराकानी खिचिएको ब्लकिङ शक्तिशाली छ । त्यो विषयमा अन्तिम पल्ट त्यसरी कुरा गरिरहेको बेलामा उनीहरू एकअर्काको विपरीत फर्किएका छन् । सुरुवातको दृश्यमा एकैतिर फर्किएका उनीहरूको चरित्र अब एकअर्काको विरुद्धमा जाँदैछ भन्ने कुरा त्यो ब्लकिङले देखाएको छ ।
फिल आमाबुबालाई उसको अफेयरका बारेमा बताएर चिट्ठी लेखिदिन्छ । उसले चिट्ठी लेखिरहेको बेलामा पनि फ्रेममा परेको झ्यालमा पर डाँडाको थोरै टुप्पो देखिइरहेको छ ।
त्यसपछि क्यामेरा अर्को झ्यालमा जान्छ । झ्यालभित्रबाट बाहिरको डाँडा देखाउँछ । बाहिरको डाँडामा हिउँ परिरहेको छ । अर्थात् उनीहरूको सम्बन्धमा चिसो थपिइसकेको छ ।
पहिलोपल्ट एक्लै रोजलाई भेटेर फर्किएपछि जर्ज आउनासाथ फिलले ‘कति पर गइस्’ भनेर सोधेको हुन्छ । त्यो सोधाइमा पनि ऊभित्रको कमजोर पुरुष डराएको थियो ।
दाजुले केही नभनी उसलाई ‘गुडनाइट’ भन्दै हिँडेपछि उसका आँखाका नानी जोडले घुम्छन् । हुन सक्छ, उसलाई दाजु टाढा भएको मन पर्दैन । हुन सक्छ, उसलाई आफूले सजिलै हेप्न सकेको दाजु टाढा भएको मन पर्दैन । हुन सक्छ, ऊ सधैँ आफ्नो भावुकतासँग डराएर प्रेमबाट भागिरहेको छ । हुन सक्छ, उसलाई आफ्नो दाजु प्रेममा परेर आफूभन्दा बलियो भएको देख्न मन पर्दैन । हुनसक्छ, ऊ दाजुलाई कहिल्यै टाढा नहोस् भन्ने चाहन्छ ।
यी सबै कुरा सम्भव छन् किनकि ऊ ब्रन्को हेनरीसँग निकट थियो । कुनै पुरुष युवतीसँग निकट भएजस्तै निकट । त्यसपछि उसले त्यो निकटता कतैबाट पनि पाउन सकेन । सायद ऊ त्यो निकटता आफ्नो भाइसँग पाउँथ्यो । त्यसैले पनि उसलाई रोजसँग नजिक हुन रोकिरहेको थियो ।
तर, यो सबै कुरा ऊ बताउँदैन । नबताएपछि धेरै कुरा बिग्रिन्छ ।
०००
तर, उसको विपरीत जर्ज भने आफूलाई थोरैथोरै खोतल्छ । खुलाउँछ । उसमा पनि समस्या नभएका हैनन् । ऊ पनि आफूले बिहे गरेकी युवती तल्लो वर्गकी भए पनि पियानो बजाउन जान्ने हुन् भन्ने स्थापित गर्न खोजिरहन्छ । (उनले बजाउन आउँदैन भन्दा पनि कर गर्छ । मायाले पियानो किनेर ल्याए पनि ऊ उनलाई अरुका लागि पियानो बजाउन तयार पार्छ । पियानो सुन्न उच्चपदस्थ गभर्नर आउँदैछन् भन्ने कुरा दोहोर्याइरहन्छ ।)
यी सबै कुराले उसमा निहित वर्गीय कमजोरी त देखिन्छ तर त्यति भए पनि उसले रोजलाई प्रेम भने गर्छ ।
रोजलाई लिएर घर आउँदै गर्दा एक ठाउँमा उनीहरू रोकिन्छन् । रोज जर्जलाई डान्स सिकाउँछिन् । जर्ज रुन्छ । त्यतिञ्जेलसम्म बोस बन्ने चाहना बोकिरहेको र आफ्नो भाइसँग प्रतिस्पर्धा गरिरहेको उसको चरित्रले नयाँ कर्भ भेट्छ । ऊ रोएर सबैलाई सरप्राइज गर्छ । ऊ कसैको सामुन्ने रुन्छ । ऊ भन्छ, ‘म एक्लो छैन भन्ने थाहा पाउनु पनि कति सुन्दर कुरा हो ।’
ऊ पहिला रोज रोएको सुनेर बलियो हुन्छ । पछि आफू उनको सामुन्ने रोएर बलियो हुन्छ । रुनु भनेको बलियो हुनु हो ।
सँगै यो संवादले ती दाजुभाइको नै एक्लोपनलाई संकेत गर्छ । उनीहरूको हुर्काइमा भएको एक्लोपनलाई संकेत गर्छ । समग्रमा चेष्टा गरेर शक्तिमा रहनेहरूको एक्लोपनलाई संकेत गर्छ । त्यसलाई रोएर दाजुले त पखाल्छ तर फिल त्यस्तो गर्दैन । ऊ रुन त रुन्छ तर कसैको सामुन्ने देखाउँदैन ।
जर्ज र रोज जर्जको घरमा पुग्छन् । जर्जको घर दरबारजस्तै हुन्छ । उनी त्यहाँ पुगेर असहज मान्छिन् । जर्ज उनलाई ‘मेक योरसेल्फ कम्फर्टेबल’ भनेर ऊ जान्छ । तर, त्यहाँको झ्याल उताको जति कम्फर्टेबल छैन ।
फिल्मको सुरुवातमा उनको छोराको एल्बममा देखेको दरबार यहाँ कनेक्ट हुन्छ । जर्ज उनका लागि पियानो लिएर आउँछ । सुरुमा पिटरले पियानोको नोट काटेर बनाएको फूल यहाँ कनेक्ट हुन्छ । तर, पियानो ल्याउँदै गरेकाहरू पियानो बोकेर भित्र छिर्न खोज्दै गर्दा हिलोमा टेक्छन् । त्यसले पनि पियानो आएपछि आउने समस्याहरूलाई संकेत गरिरहन्छ ।
फिल्मले यस्तै सानासाना सङ्केतहरूमा पहिला छोडेका बिम्बहरूलाई पछि फैलाएर अब के हुने हो के हुने हो पारिरहन्छ ।
०००
एउटा दृश्यमा फिल र उसका साथीहरू परको डाँडातिर हेरिरहेका छन् । उनीहरू फिललाई त्यहाँ केही छ हो भनेर सोध्छन् । तर ऊ के छ भनेर जवाफ दिँदैन ।
मात्र यति भन्छ, ‘यदि तैँले केही देख्दैनस् भने त्यहाँ केही छैन ।’ तर पछि आमालाई भेट्न आएको पिटरलाई ऊ त्यही प्रश्न सोध्दा पिटरले भन्छ, ‘मुख बाइरहेको एउटा कुकुर ।’
यो डायलगले समग्र फिल्मको कुरा एकैपल्ट भनिदिन्छ । ऊ जुन कुरालाई ब्रन्को हेनरी र आफूले मात्र देखिरहेको भन्ने सोचिरहेको थियो र त्यसैका आधारमा आफूलाई शक्तिमान मानिरहेको थियो, त्यो कुरा पिटरले एकैपल्ट देखिदियो ।
शक्तिमा हुनेहरूले यस्तै गर्छन् । उनीहरू आफूभन्दा कमजोरहरूले घेरिन चाहन्छन् ताकि तिनले उनीहरूले सुन्न चाहेको कुरा मात्र भनून् । सुन्न चाहेको कुरा मात्र सोधून् । तर, त्यो भ्रम हो भनेर पत्तो लगाउन जति ढिलो हुन्छ, त्यसको नियति फिलको जस्तो नै हुन्छ ।
हामी पनि आफूलाई थाहा भएको कुरा अरु कसैलाई थाहा छैन भनेर बसिरहेका हुन्छौँ । कतै हामी फिलजस्तै सधैँ आफूलाई सबै कुरा थाहा छ भन्ने भ्रममा मात्र बसिरहेका त छैनौँ ?