काठमाडौँ — जिब्रोको नियमित सरसफाइ नगर्दा गम्भीर स्वास्थ्य समस्या उत्पन्न हुनसक्छ । ओम समाज डेन्टलका चिकित्सक सुवास घिमिरेले जिब्रो सफा नगर्दा मुखमा दुर्गन्ध, ब्याक्टेरियाको संक्रमण, घाउखटिरा र दीर्घकालीन रूपमा क्यान्सरसम्मको जोखिम हुनसक्ने चेतावनी दिएका छन् ।
जिब्रो सफा नगर्दा हुने असर
जिब्रो सफा नगर्दा ब्याक्टेरिया जम्ने, मुख गन्हाउने र ती ब्याक्टेरिया पेटमार्फत शरीरका अन्य अंगमा फैलन सक्ने खतरा रहन्छ । डा. घिमिरे भन्छन्, ‘कम्तीमा हप्तामा एकपटक ऐनामा हेरेर वा छामेर जिब्रोको अवस्था जाँच गर्नुपर्छ । यदि सेतो, रातो वा कालो रङको घाउ देखियो र त्यो ७–१४ दिनसम्म पनि निको भएन भने तुरुन्तै चिकित्सककहाँ जानुपर्छ ।’
जीवनशैली र खानपानको असर
मद्यपान, धूम्रपान, सुर्तीजन्य पदार्थको सेवन र अत्यधिक जंक फुडको प्रयोगले पनि जिब्रोमा नकारात्मक असर पार्छ । सम्भव भएसम्म प्राकृतिक र स्वस्थ खानेकुराको सेवन गर्न चिकित्सकहरूको सुझाव छ । साथै जिब्रोको व्यायाम पनि त्यसलाई स्वस्थ राख्नका लागि उपयोगी हुन्छ ।
ब्रस गर्ने सही तरिका
धेरैले बिहान र बेलुका खानेकुरापछि ब्रस गर्ने अभ्यास गर्छन्, तर डा. घिमिरेको अनुसार त्यो गलत हो । ‘खाना आफैमा ब्रसजस्तै हो,’ उनी थप्छन्, ‘तर रातभर जमेको ब्याक्टेरियालाई हटाउन बिहान उठ्नेबित्तिकै ब्रस गर्नु अनिवार्य हुन्छ ।’ व्रत बस्नेहरूले दिनको तीनपटक ब्रस गर्नुपर्ने उनको सुझाव छ ।
जिब्रोमा लाग्न सक्ने रोगहरू
जिब्रोमा जन्मजात र पछि लाग्ने थुप्रै रोग देखिन्छन् । यीमध्ये जिब्रो सुन्निने, फंगल इन्फेक्सन, सिस्ट, ट्युमर, साना अल्सर आदिका समस्या प्रमुख छन् । उनी भन्छन्, ‘जिब्रोमा देखिने सामान्य घाउ पनि बेवास्ता गर्न नहुने र समयमा जाँच नगरेमा गम्भीर रोगमा परिणत हुन सक्छ ।’