काठमाडौँ — पछिल्ला पाँच कारोबार दिन निरन्तर घटिरहेको सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार १.०३ अंकले बढेको छ । सोमबारको तुलनामा नेप्से शून्य दशमलव शून्य तीन बिन्दुले बढेर २६११.४३ बिन्दुमा उक्लिएको हो । वैशाख १५ यता नेप्से निरन्तर घटिरहेको छ ।
मंगलबार १२० कम्पनीको सेयर मूल्य बढ्यो भने १२६ कम्पनीको मूल्य घट्यो । उक्त दिन ८० हजार ५४ पटकको सेयर किनबेचबाट ८ अर्ब ७४ करोड ७६ लाख ६८ हजार रुपैयाँको कारोबार भएको छ ।
कुल २ करोड ५ लाख ४२ हजार ७ सय ६४ कित्ता सेयर किनबेच भए । व्यापार, निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन, जीवन बिमा र जलविद्युत्बाहेक सबै उपसमूह घटे । व्यापार ९०.६७, निर्जीवन बिमा ७०.१६, जलविद्युत् ४८.७५, उत्पादन तथा प्रशोधन २१.०७ र जीवन बिमा १६.९४ अंकले बढे ।
घट्ने उपसमूहमा फाइनान्स, विकास बैंक, बैंकिङ, होटल तथा पर्यटन, लघुवित्त, लगानी, सामूहिक लगानी कोष र अन्य उपसमूह छन् । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेक लाग्यो । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको ९.९९, ओम मेगाश्री फर्मासिटिकल्सको ९.९८, रिडी पावर कम्पनीको ९.६० र बुटवल पावर कम्पनीको सेयर मूल्य ७.१९ प्रतिशतले बढ्यो ।
विन नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेर सर्किट ब्रेक लाग्यो । हिमालयन पावर पार्टनरको ५.१८, सप्तकोशी विकास बैंकको ५.१५, लक्ष्मी भ्यालु फन्ड–२ को ४.३३ र सनराइज बैंक डेबेन्चर २०८३ (१०.२५ प्रतिशत) को सेयर मूल्य ४.१६ प्रतिशतले घट्यो ।
कारोबार रकमका आधारमा सानिमा माई हाइड्रोपावर, ङादी ग्रुप पावर, राधी विद्युत् कम्पनी, युनिभर्सल पावर कम्पनी र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट अघि रहे ।
सानिमा माई हाइड्रोपावरको ९२ करोड ८९ लाख ६२ हजार, ङादी ग्रुप पावरको ६७ करोड ३२ लाख ३ हजार, राधी विद्युत् कम्पनीको ३८ करोड २२ लाख, युनिभर्सल पावर कम्पनीको ३६ करोड ११ लाख र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टको ३२ करोड ७० लाख ६० हजार रुपैयाँको सेयर कारोबार भएको छ ।