कास्की — कर्मचारी र व्यवसायीलाई हातपात गर्ने पोखरा महानगरपालिका-४ का वडाध्यक्ष देवकृष्ण पराजुली पक्राउ परेका छन् ।
अभद्र व्यवहारसम्बन्धी कसुरमा परेको जाहेरीको आधारमा वडाध्यक्ष पराजुलीलाई बुधबार पोखरा-१६ ढिकीडाँडाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । पराजुलीविरुद्ध पोखरा-४ को सर्वेश्वर मार्ग (पन्थी गल्ली)का व्यवसायी लेखनाथ सुवेदीले मंगलबार जाहेरी दिएका थिए । सोही जाहेरीको आधारमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट अनुमति लिएर वडाध्यक्ष पराजुलीलाई पक्राउ गरिएको हो । उनलाई बिहीबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराइने डीएसपी बस्नेतले बताए ।
पराजुलीले मंगलबार दिउँसो कस्मेटिक व्यवसायी सुवेदीमाथि उनकै पसलअगाडि हातपात गरेका थिए । पसल बाहिर राखेको सामान महानगर प्रहरी बलले जफत गरेपछि त्यहाँ विवाद भएको थियो । महानगर प्रहरीसँग आफूले सामान फिर्ता गर्ने क्रममा वडाध्यक्ष पराजुलीले एक्कासी गालामा हानेर धकेलेको व्यवसायी सुवेदीले बताए । `पसल बाहिर ग्राहकलाई पठाउन राखेको सामान प्रहरीले गाडीमा हाल्यो । मैले ग्राहकको सामान हो भनेर फिर्ता मागें,´ उनले भने, `यता बोल्दै थिएँ, उहाँले आएर मलाई हान्नुभयो ।´
घटनापछि स्थानीय व्यवसायीले वडा कार्यालय पुगेर वडाध्यक्षविरुद्ध नाराबाजी गरेका थिए । वडाध्यक्ष पराजुलीले मंगलबार नै पोखरा महानगरपालिकाका प्रशासन महाशाखामा कार्यरत कर्मचारी ईश्वरीप्रसाद पोख्रेलमाथि प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै हातपात गरेका थिए । कर्मचारीको तालिम राख्दा समन्वय नगरेको भन्दै वडाध्यक्ष पराजुलीले पोख्रेलमाथि हातपात गरेका थिए । यसपछि वडाध्यक्ष पराजुलीलाई कारबाही गर्न माग गर्दै कर्मचारीले बुधबार महानगरपालिकाको कामकारबाही ठप्प पारेका थिए ।