फोर आइज न्युज
शुक्रबार, बैशाख २६, २०८२
  • होमपेज
  • भारतद्वारा पाकिस्तानमा मिसाइल हमला

भारतद्वारा पाकिस्तानमा मिसाइल हमला

भारतीय सेनाले बुधबार बिहान गरेको मिसाइल आक्रमणमा ध्वस्त भएको पाकिस्तान नियन्त्रित कश्मीरको एक भवन । तस्बिर : एएफपी/रासस

  • Arjun Rai
  • बिहिबार, बैशाख २५, २०८२
भारतद्वारा पाकिस्तानमा मिसाइल हमला

Highlights

  • हमलामा उग्रवादी समूह जैस–ए–मोहम्मदका संस्थापक एवं कमान्डर मसुद अजहरको परिवारका १० सदस्यसहित कम्तीमा ३१ को मृत्यु
  • पाकिस्तानद्वारा पनि जवाफी कारबाहीको चेतावनी, कश्मीरमा गोलाबारी गर्दा १५ भारतीयको मृत्यु

काठमाडौँ — भारत प्रशासित कश्मीरमा पर्यटकमाथि आतंकवादी आक्रमण भएको दुई सातापछि भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न स्थानमा शृंखलाबद्ध हवाई हमला गरेको छ । भारतीय सेनाको हमलाबाट कम्तीमा ३१ जनाको ज्यान गएको छ । लगत्तै पाकिस्तानी सेनाले गरेको गोलाबारीमा १५ जनाको मृत्यु भएको छ ।

पहलगाममा २२ अप्रिलमा २६ पर्यटकको ज्यान लिएका हमलाकारीलाई जवाफदेही बनाउने प्रतिबद्धताको एक हिस्साका रूपमा बुधबार बिहान ‘अपरेसन सिन्दूर’ सुरु गरिएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।

नयाँदिल्लीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा विदेश सचिव विक्रम मिस्री, कर्णेल सोफिया कुरेसी र विङ कमान्डर व्योमिका सिंहले अपरेसनको विवरण सार्वजनिक गरेका थिए । उनीहरूका अनुसार भारतीय सेनाले बुधबार बिहान १ बजेर ५ मिनेटदेखि २५ मिनेटसम्म हमला गरेको हो । पाकिस्तानका ९ स्थानमा रहेका ‘आतंककारी संरचना’ लाई निसाना बनाइएको भारतको दाबी छ ।

लस्कर–ए–तैयबा, जैस–ए–मोहम्मद र हिजबुल मुजाहिद्दिनका मुख्य संरचनालाई लक्ष्य गरिएको थियो । भारतीय सेनाकी विङ कमान्डर सिंहका अनुसार मुजफ्फराबादस्थित सवाई नल्लाह र सेधना बिलाल क्याम्प, कोटलीस्थित मर्काज अब्बास र मस्कर राहिल शाहिद गुलपुर क्याम्प तथा भिम्बेरस्थित मर्काज अहल हादिथमा हवाई हमला गरिएको थियो । सियालकोटस्थित सरिजल र मेहमुना जोया क्याम्प, बहावलपुरस्थित मर्काज सुबहन अल्लाह र मुरिदकेस्थित क्याम्पलाई पनि भारतीय सेनाले निसाना बनाएको थियो ।

मुजफ्फराबाद पाकिस्तान प्रशासित कश्मीरको राजधानी हो । कोटली र भिम्बेर भारत र पाकिस्तानबीचको नियन्त्रित सीमारेखा ‘एलओसी’ नजिकै पर्छन् । कश्मीरबाट ४८ किलोमिटरमा पर्ने सियालकोट र १ सय १५ किलोमिटरमा पर्ने शकरगढ पञ्जाब प्रान्तका सहर हुन् ।

पञ्जाब प्रान्तकै बहावलपुर र मुरिदके क्रमशः ५ सय ५७ र १ सय ९२ किलोमिटरको दूरीमा छन् । ‘पहलगाम हमलाको प्रत्यक्ष बदलामा आतंकवादीका ९ क्याम्पलाई लक्ष्य गरी हमला गरिएको हो र ती सबै ध्वस्त भएका छन्,’ सिंहले भनिन् । पाकिस्तानका सैन्य प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरिफ चौधरीले भारतीय सेनाको हमलाबाट कम्तीमा ३१ जना मारिएको र ५७ जना घाइते भएको पुष्टि गरेका छन् ।

भारतीय हमलालगत्तै पाकिस्तानी सेनाले गोलीबारी गर्दा कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै ३२ जना घाइते भएको बीबीसी हिन्दीलगायत भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय सेनाका अनुसार ज्यान गुमाउनेहरू सबै भारत प्रशासित कश्मीरको पुँछ जिल्लाका हुन् । पुँछ ‘एलओसी’ नजिकै पर्छ ।

पाकिस्तानी सेनाले पाँच भारतीय विमान र एक ड्रोन खसालेको दाबी गरेको छ । तर यसको पुष्टि हुन सकेको छैन । पाकिस्तानको दाबीबारे भारतले कुनै प्रतिक्रिया जनाएको छैन ।

भारतीय हमलामा उग्रवादी समूह जैस–ए–मोहम्मदका संस्थापक तथा कमान्डर मसुद अजहरको परिवारका १० सदस्यसहित १४ जना मारिएका छन् । पाकिस्तानको बहावलपुरस्थित सुभान अल्लाह मस्जिदमा भारतले गरेको हमलामा उनीहरूको ज्यान गएको हो ।

Missile attack by India on Pakistan

जैस–ए–मोहम्मदका तर्फबाट बुधबार जारी विज्ञप्तिअनुसार अजहरका दिदी र भिनाजु, भतिजा र उनकी श्रीमती, एक भतिजी र उनको परिवारका पाँच बच्चाको ज्यान गएको छ । हमलामा उनीहरूका तीन सहयोगी र एक सहयोगीकी आमाको पनि ज्यान गएको जैस–ए–मोहम्मदले जनाएको छ । जैस–ए–मोहम्मदले फेब्रुअरी २०१९ मा भारत प्रशासित कश्मीरमा गरेको आत्मघाती बम विस्फोटमा ४० सैनिकको ज्यान गएको थियो ।

विश्वसनीय गुप्तचर जानकारीका आधारमा सर्वसाधारणको ज्यान र पूर्वाधारलाई क्षति नपुग्ने गरी ‘अपरेसन सिन्दूर’ चलाइएको भारतीय सेनाका विङ कमान्डर सिंहको भनाइ छ । ती स्थानमा पाकिस्तानी सेना र आईएसआईले ‘आतंककारी’लाई तालिम दिन विशेष सेवा समूह परिचालन गरेको भारतीय अधिकारीहरूले दाबी गर्दै आएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘अपरेसन सिन्दूर’ सञ्चालन गरिएकामा भारतीय सशस्त्र बलहरूको प्रशंसा गरेका छन् । पहलगाम घटनापछि मोदीले हमलाकारीलाई पृथ्वीको कुनै पनि स्थानमा गए पनि नछाड्ने चेतावनी दिएका थिए । ‘अपरेसन सिन्दूर’ सुरु गरिएको केही घण्टापछि बसेको मन्त्रिपरिषद् बैठकमा रक्षामन्त्री राजनाथ सिंहले हमलाबारे जानकारी गराएका थिए । त्यसपछि मन्त्रिपरिषद्का सबै सदस्यले हमलाको स्वागत गरेका थिए ।

रक्षामन्त्री सिंहले हवाई हमलाका विषयमा स्थल, जल तथ वायुसेनाका प्रमुखहरूसँग छलफलसमेत गरेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय गृहमन्त्री अमित शाहले पनि सीमावर्ती राज्यका मुख्यमन्त्री, मुख्य सचिव र शीर्ष प्रहरी अधिकारीसँग बैठक गरेका छन् । बैठकमा पञ्जाब, राजस्थान, गुजरात, उत्तराखण्ड, उत्तर प्रदेश, बिहार, सिक्किम, पश्चिम बंगालका मुख्यमन्त्री तथा संघ प्रशासित लद्दाख, जम्मु र कश्मीरका उपराज्यपाल उपस्थित थिए ।

पत्रकार सम्मेलनमा भारतका विदेश सचिव विक्रम मिस्रीले ‘सीमापारिबाट हुने हमलाको जवाफ दिने र त्यसको प्रतिरोध गर्ने आफ्नो अधिकार प्रयोग गर्दै’ पाकिस्तान र पाकिस्तानका ‘आतंकवादी अखडा’ मा हमला गरेको बताए । ‘दुई साताअघिको आतंकवादी हमला भारत प्रशासित कश्मीरमा सामान्य जनजीवन प्रभावित तुल्याउने उद्देश्यबाट प्रेरित थियो,’ उनले भने ।

भारत प्रशासित कश्मीरको भ्रमणमा गत वर्ष २ करोड २५ लाखभन्दा बढी पर्यटक पुगेको उल्लेख गर्दै मिस्रीले स्थानीय अर्थतन्त्रको मुख्य आधार रहेको पर्यटन क्षेत्रलाई धराशायी बनाउन पहलगाममा दुई साताअघि आतंकवादी हमला गरिएको दाबी गरे । पाकिस्तानले ‘आतंकवादी पूर्वाधार’ नष्ट गर्न कुनै कदम नचालेको आरोप पनि उनले लगाए । पहलगाम हमलामा ‘द रेसिस्टेन्स फ्रन्ट’ (टीआरएफ) संलग्न रहेको र त्यो पाकिस्तानमा आधारित आतंकवादी समूह लस्कर–ए–तैयबाको एउटा मोर्चा भएको मिस्रीले बताए ।

पहलगाम घटनामा दुई हमलाकारी पाकिस्तानी नागरिक रहेको र पाकिस्तानले उनीहरूलाई समर्थन गरेको भारतीय प्रहरीको आरोप छ । पाकिस्तानले भने पहलगामको आतंकवादी हमलामा आफ्नो कुनै संलग्नता नभएको बताउँदै आएको छ ।

Missile attack by India on Pakistan

भारतको प्रमुख विपक्षी दल कंग्रेसका प्रमुख मल्लिकार्जुन खड्गेले पनि ‘अपरेसन सिन्दूर’ लाई समर्थन गरेका छन् । ‘राष्ट्रिय एकता र ऐक्यबद्धता समयको आवश्यकता हो,’ उनले भनेका छन्, ‘गत महिना भारत प्रशासित कश्मीरमा भएको हमलापछि कंग्रेस पार्टी सीमापार आतंकवादविरुद्ध कुनै पनि निर्णायक कारबाहीमा सशस्त्र सेना र सरकारको साथमा स्पष्ट रूपमा उभिएको छ ।’ अल इन्डिया मजलिस–ए–इत्तेहादुल मुस्लिमिन (एआईएमआईएम) का प्रमुख असदुद्दीन ओवैसीले पनि ‘पाकिस्तानी आतंकवादी शिविर’ मा भारतले गरेको हमलाको स्वागत गरेका छन् ।

जम्मु र कश्मीरका मुख्यमन्त्री ओमर अब्दुल्लाहले उक्त क्षेत्रका कसैले पनि दुई मुलुकबीच युद्ध नचाहेको प्रतिक्रिया दिएका छन् । ‘तर बन्दुक कम गर्ने जिम्मेवारी इस्लामाबादको हो,’ उनले भनेका छन् । पहलगाममा भएको आतंकवादी हमलाको उपयुक्त जवाफ दिन भारत सरकारले सही विधि रोजेको उनको भनाइ छ । ‘पाकिस्तानको आतंकवादी स्थलमा मात्र प्रहार गरिएको हो, सैन्य क्षेत्र वा नागरिक पूर्वाधारमा होइन । तर पाकिस्तानले केही क्षेत्रमा बमबारी गरेको छ र त्यहाँ हाम्रा नागरिकलाई लक्ष्य गरिएको छ,’ उनले भने । कश्मीरका बासिन्दालाई नआत्तिन उनले आश्वासनसमेत दिएका छन् ।

भारतका प्रमुख विमान सेवा कम्पनीहरूले बुधबारबाट उत्तरी भारतका विमानस्थलमा सेवा बन्द गरेका छन् । एयर इन्डियाले भारत प्रशासित कश्मीरको जम्मु र श्रीनगर, संघीय प्रशासित लद्दाखको लेह, राजस्थान राज्यको जोधपुर, पञ्जाब राज्यको चण्डीगढ र अमृतसर तथा गुजरात राज्यको भुज, जामनगर र राजकोटका उडान १० मे (शनिबार) बिहानसम्म रद्द गरिएको जनाएको छ ।

इन्डिगोले पनि उत्तरी सहरका धेरै उडान रद्द गरेको छ । एयर इन्डियाद्वारा सूचीबद्ध विमानस्थलमा बाहेक इन्डिगोले हिमाचल प्रदेशको धर्मशाला, राजस्थानको बिकानेर र किसनगढ तथा मध्य प्रदेशको ग्वालियरमा हुँदै आएका उडान पनि रद्द गरेको छ । स्पाइसजेटले ती विमानस्थलमा हुने उडान प्रभावित भएको जनाएको छ ।

पाकिस्तानका प्रधानमन्त्री सहबाज शरिफले बुधबारको हमलालाई ‘कायरतापूर्ण’ भनी टिप्पणी गरेका छन् । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले आतंकवादी शिविरलाई लक्ष्य गर्ने भारतको दाबी गलत भएको बताएका छन् । भारतले सर्वसाधारण नागरिकमाथि हमला गरेको उनको भनाइ छ ।

पाकिस्तानी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भारतले गरेको हमलामा सर्वसाधारणको मृत्यु भएको र त्यसमा महिला एवं बालबालिका पनि परेको जनाएको छ । ‘त्यस्तो दुस्साहसपूर्ण व्यवहारले क्षेत्रीय शान्ति र स्थिरतामाथि गम्भीर खतरा पुग्छ,’ विज्ञप्तिमा भनिएको छ । पाकिस्तानले इस्लामाबादस्थित भारतीय कूटनीतिक नियोगका उपप्रमुखलाई बोलाएरै असन्तुष्टि व्यक्त गरेको छ ।

पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिले भारतीय हवाई हमलालाई ‘जघन्य अपराध’ भन्दै निन्दा गरेको छ । भारतले पाकिस्तानी सार्वभौमसत्तामाथि धावा बोलेको समितिको निष्कर्ष छ । संयुक्त राष्ट्रसंघीय बडापत्रको धारा ५१ उद्धृत गर्दै पाकिस्तानले आफ्नो प्रतिरक्षा गर्न पाउने अधिकार आफूसँग रहेको चेतावनी दिएको छ ।

प्रधानमन्त्री शरिफको अध्यक्षतामा बसेको समितिको बैठकले पाकिस्तानका सैन्य बललाई जवाफी कारबाही गर्ने अधिकार दिइएको जनाएको छ । पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले पनि सशस्त्र बललाई सम्बन्धित कारबाहीको अधिकार प्रदान गरेको जनाएको छ ।

पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) ले भारतबाट भएको हमलाको निन्दा गरेको छ । पाकिस्तानका तीन प्रमुख राजनीतिक दलमध्येको एक पीपीपीका प्रमुख पाकिस्तानी राष्ट्रपति आसिफ अली जरदारीका छोरा बिलावल भुट्टो हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि हमलामा सरोकार व्यक्त गरेका छन् । ‘मलाई लाग्छ, विगतका घटनाक्रमका आधारमा केही हुँदै छ भन्ने मानिसलाई थाहा थियो । तिनीहरू लामो समयदेखि लडिरहेका छन्,’ उनले भनेका छन्, ‘मलाई आशा छ कि यो चाँडै समाप्त हुनेछ ।’

भारतको कारबाहीलाई ‘खेदजनक’ भनी टिप्पणी गर्दै चीनले दुवै पक्षलाई संयमताका लागि आह्वान गरेको छ । ‘चीन आज (बुधबार) बिहानको भारतको सैन्य कारबाहीप्रति खेद व्यक्त गर्छ र वर्तमान विकसित अवस्थाबारे चिन्तित छ । चीनले सबै प्रकारका आतंकवादको विरोध गर्छ,’ चिनियाँ विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘हामी भारत र पाकिस्तान दुवैलाई शान्ति र स्थिरतालाई प्राथमिकता दिन, शान्त र संयमित रहन र परिस्थितिलाई अझ जटिल बनाउने कार्य गर्नबाट बच्न आह्वान गर्छौं ।’

चीन पाकिस्तानमा अहिलेसम्मको सबैभन्दा ठूलो लगानीकर्ता हो । चिनियाँ लगानी रहेको ६५ अर्ब डलरको चीन–पाकिस्तान आर्थिक करिडोर परियोजना देशभर फैलिएको छ । चीन र भारतबीच भने धेरै स्थानमा सीमा विवाद छ । तीमध्ये एक कश्मीर क्षेत्रको उत्तरपूर्वी भागमा पर्छ । बेलायतले पाकिस्तान र भारतलाई एकअर्कासँग वार्ता गर्न आग्रह गरेको छ ।

प्रधानमन्त्री केयर स्टार्मरले तनाव कम गर्न र नागरिकको सुरक्षाका लागि बेलायत दुवै देशसँग सम्पर्कमा रहेको जनाएका छन् । भारत र पाकिस्तानलाई संयम देखाउन र द्रुत कूटनीतिक मार्ग खोज्नका लागि प्रत्यक्ष वार्तामा संलग्न हुन आग्रह गरिएको विदेशमन्त्री डेभिड ल्यामीले जनाएका छन् । बेलायतमा भारतीय वा पाकिस्तानी मूलका नागरिक लाखौं रहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘भारत र पाकिस्तानमा मेरा समकक्षीलाई मैले स्पष्ट पारेको छु कि यो अझ बढ्यो भने कसैले पनि जित्दैन ।’

रुसले पनि भारत र पाकिस्तान दुवैलाई संयम अपनाउन आह्वान गरेको समाचार संस्था एएफपीले जनाएको छ । फ्रान्सका विदेशमन्त्री जीन–नोएल ब्यारोटले पनि दिल्ली र इस्लामाबादलाई संयम अपनाउन आह्वान गरेका छन् ।

पहलगाम हमलायता भारत र पाकिस्तान दुवैले एकअर्काविरुद्ध बदला लिने विभिन्न उपायको घोषणा गरिसकेका छन् । उनीहरूले सीमा बन्द गर्ने, भिसा रद्द गर्ने, कूटनीतिज्ञलाई निष्कासन गर्ने तथा सिन्धु नदी सन्धि निलम्बनलगायतका कदम चालेका छन् । सीमा क्षेत्रमा दुवै पक्षका सेनाले गोली हानाहानसमेत गरेका छन् ।

ब्रिटिस उपनिवेशबाट सन् १९४७ मा स्वतन्त्र भएसँगै विभाजित भारत र पाकिस्तानले पटक–पटक युद्ध लडेका छन् । तीमध्ये धेरैजसो कश्मीरमा केन्द्रित थिए । दुई देशबीच विभाजनको केही महिनामै पहिलो युद्ध सुरु भएको थियो, जुन संयुक्त राष्ट्रसंघको मध्यस्थतामा सन् १९४९ मा अन्त्य भएको थियो । त्यसले कश्मीर क्षेत्र विभाजन गर्‍यो तर दुवै मुलुकले कश्मीरमाथिको पूर्ण दाबी छाडेनन् ।

सन् १९६५ मा पाकिस्तानी सेना भारत प्रशासित कश्मीरमा प्रवेश गरेपछि दुई देशबीच पुनः युद्ध भयो । त्यतिबेला स्थल तथा हवाई हमला भएका थिए । सन् १९७१ मा पूर्वी पाकिस्तानमा युद्ध भड्कियो । भारतले त्यहाँका स्वतन्त्रता सेनालाई समर्थन गर्‍यो र अन्ततः बंगलादेश स्थापना भयो । सन् १९९९ को कारगिल युद्धमा पाकिस्तानी सेनाले भारत प्रशासित कश्मीरमा घुसपैठ गर्‍यो ।

पछिल्ला वर्षहरूमा आतंकवादी हमलाका कारण तनाव बढ्दो छ । सन् २०१६ को उरी हमलापछि भारतले ‘सर्जिकल स्ट्राइक’ सुरु गरेको थियो । सन् २०१९ मा पुलवामामा गरिएको बम विस्फोटपछि भारतले बालाकोटनजिकै हवाई हमला गरेको थियो । पाकिस्तानले पनि जवाफी हवाई हमला गरेपछि दुई देशबीचको तनाव कारगिलपछिकै खतरनाक अवस्थामा पुगेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका