फोर आइज न्युज
आइतवार, साउन ५, २०८२

This Week

सिर्सिया सुक्खा बन्दरगाह सञ्चालन जिम्मा प्रिस्टिन मेगालाई

Highlights

  • प्रिस्टिनले आउँदो साउनदेखि पाँच वर्षका लागि बन्दरगाह व्यवस्थापन जिम्मेवारी सम्हाल्ने

पर्सा — वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह (इन्ल्यान्ड कन्टेनर डिपो) को आगामी ५ वर्षका लागि व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिस्टिक पार्क प्रालिले पाएको छ । प्रिस्टिन मेगा लजिस्टिक पार्क प्रालि ४ अर्ब ७१ करोड रुपैयाँ लागतमा बन्दरगाह सञ्चालनका लागि छनोट भएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जनाए ।

सुक्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालनका लागि आह्वान गरिएको बोलपत्रको प्राविधिक मूल्यांकनमा कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेड (कोंकर) र प्रिस्टिन मेगा लजिस्टिक पार्क प्रालि मात्र छानिएका थिए । गत मंगलबार टेन्डर खोल्दा कोंकरले प्रिस्टिनभन्दा करिब २० करोड रुपैयाँ कम अर्थात् ४ अर्ब ५० करोड ९० लाख रकमको बोलकबोल गरेको थियो ।

सम्झौता सकिएपछि प्रिस्टिनले आउँदो साउनदेखि पाँच वर्षका लागि बन्दरगाह व्यवस्थापनको जिम्मेवारी सम्हाल्नेछ । हाल पनि सोही कम्पनीले नेपाली कम्पनी भ्यालीसँग ज्वाइन्ट भेन्चरमा ३ अर्ब ३३ करोड लागतमा पाँच वर्षका लागि सुक्खा बन्दरगाह व्यवस्थापन र सञ्चालन गरिरहेको छ । दोस्रो कार्यकालका लागि प्रिस्टिन एक्लैले प्रतिस्पर्धा गरेको हो ।

प्रिस्टिनले पछि कुनै नेपाली कम्पनीसँग साझेदारी गर्न सक्छ । पाँच वर्षअघि पनि कोंकर र प्रिस्टिनकै बीच सुक्खा बन्दरगाह सन्चालनमा कडा प्रतिस्पर्धा भएको थियो । त्यसअघि दुई कार्यकाल अर्थात् एक दशक उक्त बन्दरगाहको सञ्चालन हिमालयन टर्मिनल प्रालिले गरेको थियो, जसमा मुख्य साझेदार कोंकर नै थियो । कोंकर भारतीय रेलवेको भगिनी संस्था हो ।

इन्टरमोडल यातायात विकास समितिको कानुनमै प्रतिस्पर्धात्मक प्रणालीबाट बन्दरगाह सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी निजी क्षेत्रलाई दिने व्यवस्था रहेको गजुरेलले बताए । ‘विश्वव्यापी रूपमा यही चलन छ,’ उनले भने, ‘छिमेकी मुलुक भारत र युरोपेली मुलुकमा पनि यही शैली अपनाइएको र त्यो सफल पनि छ ।’

प्रतिस्पर्धाले निजी क्षेत्रले बन्दरगाहमा प्रभावकारी सेवा दिने र नेपाल सरकारलाई पनि ठूलो रकम प्राप्त हुने गरेको गजुरेलको भनाइ छ । ‘विगतमा ५ वर्षका लागि एक अर्बभन्दा पनि कममा बन्दरगाह ठेक्का लाग्ने गरेकामा हाल झन्डै ५ अर्बमा लाग्न थालेको छ,’ उनले भने, ‘यसले राज्यको आम्दानी त बढ्छ नै, सेवाग्राहीले पनि स्तरीय सेवा पाउँछन् ।’

दुई दशकदेखि सञ्चालनमा रहेको सिर्सिया सुक्खा बन्दरगाह करिब ५७ बिघा क्षेत्रफलमा फैलिएको छ । भारतको रेलवे सञ्जालसँग जोडिएको यो बन्दरगाह नेपाली आयात तथा निर्यातकर्ताले तेस्रो मुलुकमा वस्तु आयात तथा ती निर्यातमा उयपोगी छ । तुलनात्मक रूपमा रेलबाट मालवस्तु ढुवानी गर्दा सस्तो र भरपर्दो हुने भएकाले आयात–निर्यातकर्ताको रोजाइमा यो बन्दरगाह पर्ने गरेको छ ।

भारतको कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाहसँग यो बन्दरगाह जोडिएको छ । भातरबाटै पनि फलामजन्य वस्तु, रासायनिक मल, चिनी आदि आयात गर्न यो बन्दरगाह उपयोगी सावित भइरहेको छ ।

रास्वपाको पहिलो महाधिवेशन आगामी वैशाखमै हुने

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको पहिलो महाधिवेशन आगामी वैशाखमा हुने बताएका छन् । सभापति रवि लामिछानेको अध्यक्षतामा आज बसेको केन्द्रीय समितिको बैठकले पार्टीको राष्ट्रिय भेलाबाट घोषणा गरेकै समय अर्थात वैशाखमा पहिलो महाधिवेशन आयोजना गर्ने निर्णय गरेको हो ।

 

महाधिवेशन आयोजना गर्ने सन्दर्भमा केन्द्रीय समितिका सदस्य र प्रदेश समितिबाट आगामी तीन दिनभित्र लिखित राय र कार्यविवरण पार्टीमा पेश गर्न उहाँले निर्देशन दिनुभएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

त्यसैगरी बैठकले ‘जनताको कुरा सुन्ने यात्रा, जनयात्रा’ यही चैत २३ गते चितवनबाट सुरु गर्ने निर्णय गरेको छ । पार्टीका तर्फबाट राष्ट्र निर्माणसम्बन्धी खाका तयार गर्न उपसभापति डोलप्रसाद अर्याल र स्वर्णिम वाग्लेको संयोजकत्वमा पूर्वमन्त्री सुमना श्रेष्ठ, शिशिर खनाल, विराजभक्त श्रेष्ठ र डा तोसिमा कार्कीसहितको ‘मिसन ब्लुप्रिन्ट’ कार्यदल गठन गरिएको छ ।

लिडरसिप एकेडेमी र उम्मेदवार क्लबको कार्यान्वयनका लागि सहमहामन्त्री सुमना श्रेष्ठ र विपिनकुमार आचार्यलाई जिम्मेवारी तोकिएको छ । पार्टीको जनयात्रा कार्यक्रमको कार्यविधिलगायतको संयोजन जिम्मेवारी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई तोकिएको छ ।

आजको बैठकले गण्डकी प्रदेश समितिको सिफारिसमा गण्डकी प्रदेश सहमहामन्त्रीमा कृष्णप्रसाद लम्साल र कृष्णकुमारी अधिकारीलाई मनोनयनसमेत गरेको छ । करिब साढे पाँच महिनापछि सभापतिको जिम्मेवारीमा फर्किएका लामिछानेले वर्तमान राजनीतिक परिस्थितिमा अहिलेको पार्टी संरचना अझै सबल र सशक्त हुन आवश्यक रहेको बताएका छन् । त्यस्तै संगठनमा फेरबदल र पुनःसंरचनाका लागि तयार रहन सभापति लामिछानेले पार्टी सदस्यलाई आह्वान गरे ।

पुटिनसँग किन चिढिए ट्रम्प ?

Highlights

  • ट्रम्पले पुटिन युद्धविरामका लागि सहमत नभएमा रुसी तेल किन्ने देशहरूमा अतिरिक्त कर लगाउने धम्की पनि दिएका छन् ।

काठमाडौँ — अमेरिकी राष्ट्रपतिको कार्यकाल सम्हालेको तीन सातामा नै डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग टेलिफोन कुराकानी गरे । दुई नेताबीच युक्रेन युद्ध अन्त्य गर्ने विषयमा मात्रै कुराकानी भएन, एक अर्कालाई आ-आफ्नो देश भ्रमणका लागि निम्ता पनि दिए ।

ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता भएको एक सातापछि दुवै देशबीच विदेशमन्त्रीस्तरीय वार्तासमेत भयो । साउदी अरबमा भएको वार्तामा रुस-युक्रेन युद्ध अन्त्य गर्न उच्चस्तरीय टोलीबीच कुराकानी हुने सहमति जुट्यो । त्यसमाथि फेब्रुअरी २५ मा राष्ट्रसंघीय महासभामा भएको मतदातमा अमेरिकाले अप्रत्यासित रूपमा रुसको पक्षमा मद दियो । युक्रेनमाथि आक्रमणका लागि पूर्ण मात्रामा रुस जिम्मेवार भएको प्रस्तावविरुद्ध मतदान गरेको हो ।

अर्कोतर्फ, रुसी राष्ट्रपति पुटिनले अमेरिकालाई अप्रत्याशित प्रस्ताव गरे । उनले रुसले कब्जामा गरेको युक्रेनी भूभागसहित रुसका दुर्लभ खनिज भण्डारको विकासका लागि अमेरिकासँग सहकार्यको प्रस्ताव राखे । ट्रम्पको पुनरागमनसँगैका यी घटनाक्रमले अमेरिका र रुसबीचको सम्बन्ध इतिहासकै सुमधुर बनेको देखिएको थियो ।

तर पछिल्लो समय दुई नेताबीचको सम्बन्धमा केही दरार आएको अनुमान गरिएको छ । हुन त अमेरिकी राष्ट्रपति ट्रम्प अनिश्चित नेताका रूपमा परिचित छन् । तर पछिल्ला अभिव्यक्तिले भने ट्रम्प पुटिनसँग रुष्ट भएको देखिन्छ ।

शुक्रबार रुसी राष्ट्रपति पुटिनले युद्ध अन्त्यका लागि ‘युक्रेनमा संक्रमणकालीन प्रशासन स्थापना गर्नुपर्ने’ बताएका थिए । युक्रेनमा संयुक्त राष्ट्रसंघको निरीक्षणमा अस्थायी प्रशासन लागू गर्नुपर्ने पुटिनको सुझाव छ । तर उक्त प्रस्तावलाई राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले भने अस्वीकार गरिसकेका छन् ।

रुसी अधिकारीहरूले कार्यकाल सकिएपछि पनि कुनै चुनाव नगराएको र पदमा रहिरहेको भन्दै बारम्बार राष्ट्रपतिको रूपमा जेलेन्स्कीको वैधतामाथि प्रश्न उठाउँदै आएका छन् । युक्रेनी राष्ट्रपति जेलेन्स्की ३१ मार्च २०१९ मा भएको चुनावबाट राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

२० मे २०१९ मा पद सम्हालेका जेलेन्स्कीको पाँच वर्षे कार्यकाल दश महिनाअघि नै सकिइसकेको छ । तर युक्रेनमा नयाँ मतदानको मिति तय गरिएको छैन । युक्रेनी संविधानअनुसार मार्सल ल अन्तर्गत देशमा चुनाव गराउन मिल्दैन । रुसले २४ फेब्रुअरी २०२२ मा पूर्ण-स्तरीय आक्रमण सुरू गरेयता युक्रेनमा मासल ल लागू छ ।

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले पनि जेलेन्स्कीलाई ‘तानाशाह’ को संज्ञा दिँदै सत्तामा आएदेखि ‘चुनाव नगराएको’ आरोप लगाएका थिए । अमेरिकी दबाबपछि खनिज सम्झौताका लागि जेलेन्स्की ह्वाइहाउस पुगेका थिए । तर अमेरिकी राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भेन्ससँगको चर्काचर्कीपछि जेलेन्स्की सम्झौताबिना नै बाहिरिएका थिए ।

तर ट्रम्प प्रशासनले युक्रेनलाई दिँदै आएको सैन्य तथा गुप्तचर सहयोग रद्द गरिदिएको थियो । जसका कारण जेलेन्स्की अमेरिकी योजनाअनुसार युद्धविराम अन्त्य गर्न र युक्रेनी दुर्लभ खनिजको स्वामित्व अमेरिकालाई दिन तयार भएका थिए । त्यसपछि भने जेलेन्स्कीप्रति ट्रम्प उदार देखिएका छन् ।

अमेरिकासँगको वार्तामा युक्रेन तत्काल एकमहिने युद्धविराममा जान सहमत भएको थियो । तर रुस भने त्यसका लागि तयार भएन । एकमहिने युद्धविरामले युक्रेनलाई पुनः संगठित हुने मौका दिने भन्दै रुसले प्रस्ताव अस्वीकार गर्‍यो । लगत्तै ट्रम्प र पुटिनबीच पुन: टेलिफोन वार्ता भयो ।

वार्ताका क्रममा पुटिन एक महिनाका लागि युक्रेनी ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न सहमत भएका थिए । तर उनले ३० दिने युद्धविरामको अवधिमा युक्रेनबाट थप सैन्य परिचालन वा हतियारको व्यवस्था गर्न नपाउने बताएका थिए । तर उक्त युद्धविराम लामो समय भने कायम रहेन । दुवै पक्ष आक्रमणमा उत्रिए र त्यसका लागि एक-अर्कामाथि आरोप लगाए ।

टेलिफोन वार्तामा ट्रम्प र पुटिनबीच ‘ब्ल्याक सी’मा सामान ढुवानीको सुरक्षाका विषयमा चाँडै वार्ता गर्ने सहमति भएको थियो । तर रुसले त्यसका लागि पश्चिमा देशले लगाउँदै आएका केही प्रतिबन्ध हटाउनुपर्ने माग अघि सार्‍यो ।

अमेरिकाले ब्ल्याक सीमा युद्धविरामका लागि रुस र युक्रेन सहमत भएको बताएको केही घण्टामा नै रुसले आफ्ना देशका बैंकमाथिको प्रतिबन्ध हट्नुपर्ने बताएको हो । रुसले सरकारी कृषि बैंक रोसेलखोजमाथिका प्रतिबन्ध खारेज गर्ने र स्विफ्ट अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीमा फर्महरूको पहुँच पुनर्स्थापित गर्ने लगायतका माग अघि सारेको हो ।

रुसले युक्रेनमा आक्रमण सुरू गरेसँगै युरोपेली संघ र यसका सहयोगीले रुसी वित्तीय संस्थाको स्विफ्टमाथिको पहुँच निलम्बन गरिदिएका थिए । सोसाइटी फर वर्ल्डवाइड इन्टरबैंक फाइनान्सियल टेलिकम्युनिकेसन (स्विफ्ट) ले सीमापार पैसाको सहज र द्रुत स्थानान्तरणलाई अनुमति दिन्छ ।

रुसी कम्पनीले स्विफ्टद्वारा प्रदान गरिएको सामान्य सहज र तत्काल लेनदेनमा पहुँच गुमाएपछि बहुमूल्य ऊर्जा र कृषि निर्यातको भुक्तानीमा बाधा पुगेको छ । यो निर्णय उल्टाउन युरोपेली संघको अनुमोदन आवश्यक पर्नेछ । तर पछिल्लो समय युरोपेली देशहरू किभको समर्थनमा देखिएकाले यो तत्काल सम्भव छैन ।

रुस एक महिने युद्धविरामसम्बन्धी अमेरिकी प्रस्ताव नमान्नु, युक्रेनी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्ने वाचा उल्लंघन गर्नु र ‘ब्ल्याक सी’मा युद्धविरामका लागि माग अघि सार्ने रुसी कदमपछि ट्रम्प पुटिनप्रति चिढिएका थिए । त्यसमाथि पुटिनले युक्रेनमा लोकतान्त्रिक चुनाव गराउन जनताले विश्वास गर्ने सक्षम सरकार ल्याउनुपर्ने र राष्ट्रसंघले पर्यवेक्षण गर्नुपर्ने बताए ।

त्यसपछि मात्र रुसले नयाँ सरकारसँग शान्ति वार्ता गर्ने र वैध कागजातमा हस्ताक्षर गर्ने पुटिनको भनाइ छ । त्यस्ता सम्झौताले विश्वव्यापी मान्यता पाउने भएकाले त्यो भरपर्दो र स्थिर हुने पुटिनको दाबी छ । उनले पूर्वी टिमोर, न्यु गिनी र पूर्व युगोस्लाभियाका केही भागमा राष्ट्रसंघको संलग्नताको उदाहरण दिँदै पुटिनले त्यस्तो अभ्यास रहेको उल्लेख गरे ।

तर पुटिनको नयाँ प्रस्तावले ट्रम्प भने थप रिसाए । जसका कारण ट्रम्पले पुटिनले जेलेन्स्कीको विश्वसनीयतामा प्रवेश गर्न थाले पछि आफूलाई रिस उठेको प्रतिक्रिया दिए । ‘नयाँ नेतृत्वको अर्थ तपाईंसँग लामो समयसम्म सम्झौता हुने छैन,’ ट्रम्पले भनेका छन् ।

ट्रम्पले पुटिन युद्धविरामका लागि सहमत नभएमा रुसी तेल किन्ने देशहरूमा अतिरिक्त कर लगाउने धम्की पनि दिएका छन् । ‘यदि रुस र म युक्रेनमा रक्तपात रोक्ने सम्झौता गर्न असमर्थ छौं र मलाई लाग्छ यो रुसका कारण भएको हो (जुन नहुन पनि सक्छ) । म रूसबाट निस्कने सबै तेलमा थप कर लगाउनेछु,’ ट्रम्पको भनाइ उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

पुटिनसँगको सम्बन्ध राम्रो भएको र उनी आफ्नो वचनबाट पछि हट्नेछन् भन्ने आफूलाई नलागेको पनि ट्रम्पको भनाइ छ । ‘मलाई लाग्छ कि उनी राम्रो हुनेछन्,’ उनले भनेका छन् । केही सातायता युरोपेली नेताहरूले ट्रम्प पुटिनसँग धेरै मैत्रीपूर्ण व्यवहार गरिरहेकोमा चिन्तित थिए । तर आइतबार भने त्यसमा परिवर्तन देखिएको छ ।

यसबारे रुसी राष्ट्रपति पुटिनले भने कुनै प्रतिक्रिया जनाइसकेका छैनन् । तर पत्रकारसँग नियमित भेटका क्रममा रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसले अमेरिकासँग द्विपक्षीय सम्बन्ध सुदृढ पार्न क्रियाशिल रहेको बताएका छन् । त्यस्तै युक्रेन युद्ध अन्त्यका विषयमा पनि काम गरिरहेको उनको भनाइ छ ।

‘दुई देशबीच काम जारी छ । अहिलेसम्म केही ठोस निर्णय भएको छैन जुन हामी तपाईंलाई भन्न सक्छौं । रुसी राष्ट्रपति अमेरिकी समकक्षीसँग सम्पर्क गर्न खुला हुनुहुन्छ । आवश्यक परेको खण्डमा दुई राष्ट्रपतिबीच टेलिफोन वार्ता आयोजना गर्न सकिन्छ,’ पेस्कोभले भने ।

अध्यादेश प्रतिस्थापन गर्ने ५ विधेयक प्रमाणीकरण

Highlights

  • प्रधानमन्त्री ओलीले दुवै सदनमा सम्बोधन गरेपछि अवरोध हट्नुका साथै विधेयक पनि पारित
  • दुवै सदनबाट पारित विधेयकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार नै प्रमाणीकरण गरेका छन्

काठमाडौँ — संघीय संसद्का दुवै सदनबाट पारित ५ विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् । अध्यादेश प्रतिस्थापन गर्न ल्याइएका ती विधेयकलाई सोमबार राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् । सरकारले अध्यादेशमार्फत दर्जनौं कानुन संशोधन गरेको थियो ।

प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभा पुगेका ती विधेयक प्रतिपक्षी दलको अवरोधका कारण पारित हुन सकेका थिएनन् । विपक्षी दलले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गरिएको भन्दै चैत १३ देखि संसद् अवरुद्ध गर्दै आएका थिए । यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा आएर जवाफ दिनुपर्ने उनीहरूको माग थियो । सोमबार प्रधानमन्त्री ओलीले दुवै सदनमा सम्बोधन गरेपछि अवरोध हट्नुका साथै विधेयक पनि पारित भएका हुन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा सम्बोधन गरेपछि विधेयकमाथि दफावार र संशोधनमाथि छलफल भएको थियो । तर, कुनै संशोधन नगरी ती विधेयक राष्ट्रिय सभाको बहुमतले पारित भएको थियो । सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, निजीकरण (पहिलो संशोधन) विधेयक र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित भएका हुन् ।

दुवै सदनबाट पारित भएका विधेयकलाई सभामुख देवराज घिमिरेले प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएका थिए । ती अध्यादेश प्रतिस्थापन विधेयक सोमबार राति १२ बजेभित्र प्रमाणीकरण भइसक्नुपर्ने अवस्था थियो । संविधानको व्यवस्थाअनुसार अध्यादेश जारी भएपछिको संघीय संसद्को बैठक सुरु भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक पारित नभएमा स्वतः निष्क्रिय हुने व्यवस्था छ ।

सरकारले ६ वटा अध्यादेश संसद् अधिवेशन सुरु हुनु केही पहिले मात्रै ल्याएको थियो । जसमध्ये भूमिसम्बन्धी अध्यादेश संसद्मा स्वीकार गरियोस् भन्ने प्रस्ताव नै राखिएको थिएन । राष्ट्रिय सभामा निर्णायक रहेको जसपा नेपालले उक्त अध्यादेश अगाडि बढाए अन्य अध्यादेश पनि स्वीकार नगर्ने अडान लिएपछि भूमि अध्यादेशबाहेकका ५ अध्यादेश मात्रै सरकारले अगाडि बढाएको थियो ।

पूर्वराजा शाहले उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री ओली

Highlights

  • पूर्वराजा शाहले चैत १४ मा दुर्गा प्रसाईंलाई निर्मल निवासमा डाकेको र त्यसपछि हिंस्रक घटनाहरू भएको प्रधानमन्त्रीको भनाइ

काठमाडौँ — प्रतिनिधिसभा र राष्ट्रिय सभामा सोमबार अलग–अलग सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीको प्रदर्शनका क्रममा भएका आपराधिक कार्य गर्ने/गराउने कसैलाई पनि उन्मुक्ति नदिइने बताएका छन् । उनले पूर्वराजा ज्ञानेन्द्र शाहले पनि उक्त घटनामा उन्मुक्ति नपाउने बताए । तीनकुनेमा भएको तोडफोड र आगजनीमा शाह पनि जिम्मेवार रहेको उनको भनाइ थियो ।

पूर्वराजा शाहले चैत १४ मा दुर्गा प्रसाईंलाई निर्मल निवासमा डाकेको र त्यसपछि हिंस्रक घटनाहरू भएको प्रधानमन्त्री ओलीले बताए । ‘समाज बिथोल्न लागिपरेका एक जना अवाञ्छित व्यक्तिलाई आफ्नै निवासमा डाकेर कथित जनकमान्डर तोक्नुभयो र हिंसात्मक वारदातका लागि खटाउनुभयो,’ उनले भने, ‘प्रारम्भिक अध्ययनमा यी सबै घटनाले स्पष्ट पार्छ । पूर्वराजा शाहले संविधानसभाको ऐतिहासिक निर्णयपछि भएको सम्झौता उल्लंघन गर्नुभएको छ ।’

त्यही दिन विपक्षी दलहरूको समाजवादी मोर्चाले काठमाडौंको भृकुटीमण्डपमा गरेको भव्य सभा शालीन भएको भन्दै प्रधानमन्त्रीले धन्यवादसमेत दिए । प्रधानमन्त्री ओलीले राप्रपाका सांसदहरूको पनि आलोचना गरेका छन् । संसदभित्र गणतान्त्रिक प्रणाली र संघीय लोकतन्त्रको विरोध गर्ने कुरा स्विकार्य विषय नभएको उनको भनाइ थियो । प्रधानमन्त्रीले प्रतिनिधिसभामा बोल्दै गर्दा तीनकुने घटनाका सन्दर्भमा पूर्वराजा शाह जिम्मेवार रहेको भनेपछि राप्रपाका सांसदहरूले विरोध जनाएका थिए । त्यसपछि राष्ट्रिय सभामा बोल्न आएका ओली राप्रपा सांसदप्रति खनिएका थिए ।

प्रधानमन्त्री ओलीले बैठकमा एउटा कर्मचारीलाई हटाइएको र उक्त विषय अदालतमा विचाराधीन रहेकाले संसद्मा छलफल गर्न नमिल्ने जवाफ दिएका थिए । राष्ट्रसेवक कर्मचारीको गुण/दोष टिप्पणी गर्ने स्थल संसद् नभएको उनको भनाइ थियो । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएको विषयमा संसद्मा जवाफ दिनुपर्ने बाध्यकारी स्थिति बनेपछि प्रधानमन्त्री ओलीले संसद्प्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

व्यक्ति–व्यक्तिको नियुक्ति वा कारबाहीका विषयमा संसद्ले हात हाल्यो भने संसद्ले आफ्नो मुख्य काम गर्न नपाउने उनको भनाइ थियो । उनले लोक सेवाबाट नियुक्ति हुनेबाहेक अन्य प्रक्रियाबाट सरकारले गर्ने नियुक्ति सरकार फेरिँदा स्वतः पदमुक्त विधि अपनाएर जान सकिने सुझाए । माओवादी प्रवक्ता अग्नि सापकोटाले घिसिङका विषयमा प्रधानमन्त्रीले जवाफ दिएपछि अवरोध हटाएको बताए ।

कांग्रेस सांसद विश्वप्रकाश शर्माले तीनकुने घटनाबारे निर्मल निवासको मौनताप्रति प्रश्न उठाएका छन् । सोमबार प्रतिनिधिसभामा बोल्दै उनले तीनकुनेमा हिंसात्मक गतिविधि हुँदै गर्दा सबैलाई दुखेको तर निर्मल निवासलाई नदुखेको उल्लेख गरे । ‘सविन महर्जन नाम गरेका एक जना श्रमजीवी युवा, सुरेश रजक नाम गरेका एक श्रमजीवी पत्रकारको दुःखद निधनमा सबैले दुःख व्यक्त गरेका छन् । सबै दलको वक्तव्य आएको छ,’ पूर्वराजा शाहलाई लक्षित गर्दै उनले भने, ‘राजा चाहिएको छ भन्ने युवकलाई प्रश्न गर्न चाहन्छु, तीनकुने घटनाले तपाईंको हृदय दुख्दै गर्दा, हृदय नदुख्ने कस्तो राजा परिकल्पना गर्नुभएको छ, कस्तो राजा चाहनुभएको छ ।’ उनले समाजमा देखिएका असन्तुष्टिको हल राजा नभएको बताए । ‘मल नपाएको एउटा किसानलाई मल चाहियो कि राजा ? भनेर सोध्दा उसले भन्छ– मल । बाटो बन्न ढिलाइ भएर बसेको असन्तुष्ट नागरिकलाई गएर सोधौं– तिमीलाई बाटो चाहिएको हो कि राजा ? उसले भन्छ– बाटो,’ शर्माले भने, ‘चढिरहेको मोटर बिग्रियो भने मोटर मर्मत गर्ने कि गोरुगाडा खोजीतर्फ लाग्ने ?’

एमाले सांसद योगेशकुमार भट्टराईले छिनोफानो भइसकेको इतिहासलाई फेरि फर्काउन खोजेर बचेको साख पनि नसकाउन पूर्वराजालाई सुझाए । उनले जनताले फालिसकेको राजतन्त्र अब फर्किने सम्भावना नरहेकाले देशमा अराजक गतिविधि नगराउन चेतावनी दिए ।

माओवादी सांसद रेखा शर्माले राजावादीद्वारा तीनकुनेमा अराजकताको पराकाष्ठा देखाइएको बताइन् । त्यस घटनामा पूर्वराजा शाहको हात रहेको उनको भनाइ छ । ‘काठमाडौंको संवेदनशील ठाउँ तीनकुनेमा कार्यक्रम गर्ने अनुमति दिँदै गर्दा सरकारले आवश्यक तयारी गर्न सकेन,’ उनले भनिन्, ‘प्रदर्शनकारीबाट त्यहाँ जसरी घटनाहरू गराइए, त्यो निन्दनीय छ । त्यो घटनाका पछाडि कसको हात छ, त्यो दिनको घाम जति नै छर्लङ्ग छ । पर्दा पछाडि पूर्वराजा ज्ञानेन्द्र शाह छन् । उनको उक्साहटमा घटना गराइएको छ ।’

संविधान र कानुनमाथि कोही नरहेकाले पूर्वराजा शाह वा जो कोही भए पनि कानुनी कारबाही गर्नुपर्ने उनले सरकारसँग माग गरिन् । उनले सुशासन कायम गर्न नसक्दा विरोधका स्वरहरू उठेको बताए । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाएको सन्दर्भमा प्रधानमन्त्रीले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै उनले खेदसमेत व्यक्त गरिन् ।

२७ सय नजिक पुग्यो नेप्से परिसूचक

Highlights

  • गत बुधबार ३९ र बिहीबार ४१ अंकले बढेको नेप्से आइतबार २९.८२ अंकले वृद्धि हुादा २ हजार ६ सय ९३.१२ पुग्यो

काठमाडौँ — साप्ताहिक कारोबारमा पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक झन्डै ३० अंकले बढेर बन्द भएको छ । यससँगै पछिल्ला दिनमा सेयर बजारमा उत्साह देखिन थालेको छ । यही चैत पहिलो साता निरन्तर ओरालो लागेको नेप्से पछिल्लो तीन कारोबारयता लगातार बढिरहेको छ ।

गत बुधबार र बिहीबार क्रमशः ३९.१३ र ४१.४३ अंकले नेप्से बढेको थियो । आइतबार पनि अघिल्ला दुई कारोबार दिनकै जस्तो प्रवृद्धि पछ्याउँदा आइतबार नेप्से परिसूचक २ हजार ६ सय ९३.१२ बिन्दुमा पुगेको छ ।

यो यही चैत ५ यताकै उच्च हो । चैत पाँचमा नेप्से २ हजार ६ सय ९७.०४ अंकमा थियो । त्यसयता नेप्से घटेर गत मंगलबार २ हजार ५ सय ८२.८७ बिन्दुमा ओर्लिएको थियो । पछिल्ला दिनमा नेप्से लगातार बढ्न थालेपछि फेरि उकालो लाग्न थालेको हो ।

आइतबार ७ अर्ब ५६ करोड ८२ लाख २६ हजार रुपैयाँको सेयर कारोबार भएको छ । गत बुधबार ४ अर्ब २० करोड ४४ लाख र बिहीबार ५ अर्ब २२ करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको थियो । गत बुधबार र बिहीबारको तुलनामा आइतबार कारोबार रकम पनि बढेको हो ।

आइतबार २२२ कम्पनीको सेयर मूल्य बढ्यो भने २२ कम्पनीको मूल्य घट्यो । कुल ७६ हजार ३ सय ५४ पटकको सेयर किनबेचबाट ७ अर्ब ५६ करोड ८२ लाख २६ हजार रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार १ करोड ५५ लाख ७२ हजार ८ सय ६२ कित्ता सेयर किनबेच भएको छ ।

कुल १३ उपसमूहमध्ये व्यापार र म्युचअल फन्डको मात्रै घट्यो । व्यापार ११.३३ अंक र म्युचअल फन्ड शून्य दशमलव १५ प्रतिशतले घटेको हो । आइतबार जीवन बिमा ११४.३३, निर्जीवन बिमा ९६.६५, होटल तथा पर्यटन ९१.०८, जलविद्युत् ५३.४५, फाइनान्स ५१.४३, अन्य ५०.३२, विकास बैंक ४५.४९, उत्पादन तथा प्रशोधन ४१.९९ अंकले बढ्यो । लघुवित्त ३०.५९, बैंकिङ ११.१९ र लगानी २.३३ अंकले बढेको छ ।

जोशी हाइड्रोपावरको ९.९४, दोर्दीखोला जलविद्युत्को ६.५९, कुमारी सबल योजनाको ६.३९, गुराँस लघुवित्तको ५.९५ र तेह्रथुम पावर कम्पनीको ५.८७ प्रतिशतले सेयर मूल्य बढेको हो । प्रभु स्मार्ट फन्ड, सयपत्री हाइड्रोपावर, सामुदायिक लघुवित्त, बोटलर्स नेपाल (बालाजु) र १० प्रतिशत नेपाल एसबीआई बैंक डेबेञ्चर २०८६ का लगानीकर्ताले आफ्नो सम्पत्तिको मूल्य गुमाए ।

कारोबार रकमका आधारमा हिमालयन रि–इन्स्योरेन्स, नेपाल रि–इन्स्योरेन्स कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंक, सीईडीबी होल्डिङस, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स अघि रहे ।

नेप्सेका अनुसार हिमालयन रि–इन्स्योरेन्सको ६९ करोड १९ लाख ७७ हजार, नेपाल रि–इन्स्योरेन्स कम्पनीको ४७ करोड ८४ लाख ८२ हजार, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंकको ३९ करोड ६८ लाख ८५ हजार, सीईडीबी होल्डिङ्सको २४ करोड १० लाख ३४ हजार र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको १७ करोड ९४ लाख ११ हजार रुपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

पाँच अध्यादेशमार्फत ल्याइएका कानुन संकटमा

Highlights

  • प्रतिस्थापन विधेयक सोमबार राति १२ बजेभित्र राष्ट्रपतिबाट प्रमाणीकरण नभए पाँच अध्यादेशमार्फत ल्याइएका कानुन निष्क्रिय हुने
  • अध्यक्ष दाहालले नियमावलीअनुसार बैठक अगाडि बढाउनुको सट्टा राजनीतिक सहमति खोज्दा झन् समस्या उत्पन्न भएको छ : भगवती न्यौपाने, राष्ट्रिय सभा सदस्य, एमाले
  • प्रधानमन्त्रीले जवाफ दिएपछि समस्या समाधान भइहाल्छ, निकास खोजौं भनेका थियौं तर सत्तापक्षले कुरा गर्नै चाहनुभएन : मायाप्रसाद शर्मा, राष्ट्रिय सभा सदस्य, माओवादी
  • प्रतिपक्षको अवरोधबीच राष्ट्रिय सभाको बैठक नचलाउने र विधेयक अगाडि नबढाउने अडान अध्यक्ष नारायणप्रसाद दाहालले राखेपछि कानुन संकटमा परेको सत्तापक्षको आरोप छ

काठमाडौँ — सरकारले पाँच अध्यादेशमार्फत ल्याएका कानुन सोमबारदेखि निष्क्रिय हुने जोखिम बढेको छ । राष्ट्रिय सभामा विपक्षी दलहरूले विभिन्न माग राखी अवरोध गरेकाले अध्यादेश प्रतिस्थापन विधेयक पारित हुन नसक्दा ती कानुन संकटमा परेका हुन् ।

अध्यादेश प्रतिस्थापन विधेयक सोमबार राति १२ बजेभित्र राष्ट्रपतिबाट प्रमाणीकरण गरिसक्नुपर्ने बाध्यता छ । संविधानमा अध्यादेश जारी भएपछिको संघीय संसद्को अधिवेशन सुरु भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक पारित भइसक्नुपर्ने व्यवस्था छ । गत माघ १८ देखि संसद्को हिउँदे अधिवेशन सुरु भएको थियो । चैत १८ सोमबारसम्म विधेयक पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण नभए ती कानुन स्वतः निष्क्रिय हुनेछन् ।

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, निजीकरण (पहिलो संशोधन) विधेयक र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेका छन् । राष्ट्रिय सभामा संशोधनसहित दफावार छलफल गरी निर्णयार्थ प्रस्तुत गर्ने चरण बाँकी छन् ।

यी पाँच वटै अध्यादेशमा परेका संशोधन र दफामाथि छलफल गरेर निर्णयार्थ प्रस्तुत गर्ने तयारी चलिरहेको थियो । यही बेला सरकारले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएपछि प्रतिपक्षले प्रधानमन्त्रीको जवाफ माग्दै चैत १३ देखि संघीय संसद्का दुवै सदन अवरुद्ध गर्दै आएको छ ।

घिसिङलाई बर्खास्त गरेको सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा जवाफ दिनुपर्ने र अध्यादेशमा आफूहरूले राखेका कतिपय संशोधन स्वीकार गर्नुपर्ने प्रतिपक्षी दलहरूको माग छ ।

प्रतिपक्षको अवरोधबीच राष्ट्रिय सभाको बैठक नचलाउने र विधेयक अगाडि नबढाउने अडान अध्यक्ष नारायणप्रसाद दाहालले राखेपछि कानुन संकटमा परेको सत्तापक्षको आरोप छ । राष्ट्रिय सभामा एमाले दलकी नेता भगवती न्यौपानेले अध्यक्ष दाहालले नियमावलीअनुसार बैठक चलाउन नमान्दा समस्या आएको बताइन् । विपक्षीले उठाएका विषयमा प्रधानमन्त्रीले संघीय संसद्मा जवाफ दिने भनिए पनि सदनको बैठक अगाडि नबढाइएको उनको भनाइ छ । ‘प्रधानमन्त्रीले सोमबार दुवै सदनमा सम्बोधन गर्ने जानकारी कार्य व्यवस्थामा गराए,’ उनले भनिन्, ‘सुरुमा माओवादी नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको सम्बोधनको मिति तोक्नुपर्ने र अध्यक्षले रुलिङ गरेर बैठक चलाउने भन्नुभयो । प्रधानमन्त्रीले सम्बोधन गर्नु हुन्छ भने पनि अध्यक्ष दाहाल र श्रेष्ठबीच कुरा भएपछि बैठक चलाइएन ।’

राष्ट्रिय सभामा माओवादी सांसद मायाप्रसाद शर्माले सत्तापक्षले मिल्ने कुरा नै नगरेको बताए । ‘प्रधानमन्त्रीले जवाफ दिएपछि समस्या समाधान भइहाल्छ, निकास खोजौं भनेका थियौं तर सत्तापक्षले कुरा गर्नै चाहनुभएन । भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालले प्रधानमन्त्रीले प्रतिनिधिसभामा बोलेपछि पुग्छ, राष्ट्रिय सभामा सम्बोधन गर्नुको औचित्य छैन भन्नुभयो । सत्तापक्षले विवाद समाधान गर्नेभन्दा पनि गिजोल्ने काम गर्‍यो,’ शर्माले भने, ‘कुलमानलाई हटाउने विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ र अध्यादेश प्रतिस्थापन विधेयकमा प्रतिपक्षले राखेका केही संशोधन स्वीकार्न अर्थमन्त्री तयार हुने कुरा भएकोलाई कार्यान्वयन गर्नुपर्छ भनेका थियौं । तर, सत्तापक्ष गम्भीर भएन ।’

राष्ट्रिय सभामा कांग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकायले संविधान र नियमावलीअनुसार बैठक नचल्दा समस्या आएको बताए । ‘संसद् संविधान र नियमावलीअनुसार चल्ने हो । कार्य व्यवस्था समिति, अध्यक्ष, सत्तापक्ष र प्रतिपक्षको बैठकमा संसद् संविधान र नियमावलीअनुसार चल्नुपर्छ भन्यौं । सरकारले विधेयक ल्याएपछि अध्यक्षले प्रक्रियामा लैजाने हो भन्यौं तर भएन,’ रोकायले भने, ‘विधेयकका कतिपय कुरामा असहमति भए प्रतिपक्ष र सत्तापक्षका सांसदले नै संशोधन हाल्ने हो, ती निर्णयार्थ प्रस्तुत गर्दा जे हुन्छ, त्यो नै निर्णय हो तर यहाँ त प्रक्रियामै अवरोध भयो ।’

अध्यक्ष दाहालले नियमावलीअनुसार बैठक अगाडि बढाउनुको सट्टा राजनीतिक सहमति खोज्दा झन् समस्या उत्पन्न भएको एमाले दल नेता न्यौपानेले बताइन् । ‘अध्यक्षले राजनीतिक सहमति नभईकन विधेयक अगाडि बढाउन सक्दैन भन्नुभयो । नियमावलीले सहमति नभएको कुरा अगाडि बढाउन हुन्न भनेको छैन । अध्यक्षता गर्नेले प्रक्रिया अगाडि बढाउने हो,’ उनले थपिन्, ‘सहमति नै भएन भने पनि अध्यक्षले बैठक चलाउने हो र बहुमतले जे गर्छ, त्यो निर्णय हुने हो ।’

संसद्मा आउने हरेक विषयमा अध्यक्षले सत्ता र प्रतिपक्षबीच सहमति खोज्न थाले अल्पमत र बहुमतका लागि निर्णयार्थ किन गर्ने भन्ने प्रश्न उठ्ने पनि न्यौपानेको भनाइ थियो । ‘राष्ट्रिय सभा अध्यक्ष पार्टीको आदेशपालक बन्नुभयो । त्यसैले विधेयक अगाडि बढाउन सकिएन । अध्यादेश प्रतिस्थापन विधेयकलाई लक्षित गरेर माग गरेको कुरा पूरा गरिदिन्छौं भन्दा पनि प्रक्रियामा अगाडि नबढाएपछि अध्यक्षको र प्रमुख प्रतिपक्षको नियतमा प्रश्न उठ्यो । सरकारले ल्याएको एजेन्डा असफल पार्न मिल्नुभयो । प्रतिपक्षले अध्यक्ष आफ्नो पक्षको भएको कुराको दुरुपयोग गर्नुभएको छ । कानुन निर्माणमा अवरोध गर्दै हुनुहुन्छ ।’

आइतबारको बैठक स्थगित गर्ने विषयमा सत्तापक्षको समर्थन नलिइएको पनि रोकायको भनाइ छ । प्रतिपक्षले विधेयकमाथि राखेको संशोधन सरकारले स्वीकार नगरेमा बैठक चल्न नदिने र अध्यक्षले सोही कुराका आधारमा प्रक्रियामा नजानु संविधानसम्मत नरहेको पनि उनको भनाइ छ । ‘अध्यादेश प्रतिस्थापन विधेयक पारित भएन भने त्यसको जिम्मेवार अध्यक्ष र प्रतिपक्ष हुनुपर्छ,’ रोकायले भने ।

राष्ट्रिय सभा सचिव सुरेन्द्र अर्यालले अध्यादेश प्रतिस्थापन विधेयक संवैधानिक व्यवस्थाअनुसार सोमबार राति १२ बजेभित्र राष्ट्रपतिबाट प्रमाणीकरण भइसक्नुपर्ने अवस्था रहेको बताए । ‘राष्ट्रिय सभाबाट सोमबार पारित भए प्रतिनिधिसभामा फिर्ता पठाइन्छ । संशोधन भए प्रतिनिधिसभाले पनि त्यो पारित गर्नुपर्छ नभए सन्देश सुनाएर प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाउनुपर्छ,’ उनले भने । विधेयकहरूमा दर्ता गरिएका संशोधनका आधारमा राष्ट्रिय सभाबाट पाँच वटा अध्यादेश प्रतिस्थापन विधेयक पारित गर्नका लागि बढीमा ५ घण्टासम्म लाग्ने उनको अनुमान छ । सबै अध्यादेशमा संशोधन परेको र ती संशोधन प्रस्तुत भई छलफल भएमा उक्त समय लाग्ने उनले बताए । सांसदहरूले संशोधन फिर्ता लिएमा वा प्रस्ताव नराखेमा भने छोटो समयमा नै पारित गर्न सकिने उनले जानकारी दिए । राष्ट्रिय सभाबाट पारित भएपछि प्रतिनिधिसभा बैठक बस्नुपर्छ र बाँकी प्रक्रिया अगाडि बढाउनुपर्छ ।

सरकारले ६ वटा अध्यादेश संसद् अधिवेशन सुरु हुनु केही पहिले मात्रै ल्याएको थियो । जसमध्ये भूमिसम्बन्धी अध्यादेश संसद्मा स्वीकार गरियोस् भन्ने प्रस्ताव नै राखिएको थिएन । राष्ट्रिय सभामा निर्णायक रहेको जसपा नेपालले उक्त अध्यादेश अगाडि बढाए अन्य अध्यादेश पनि स्वीकार नगर्ने अडान लिएपछि भूमि अध्यादेशबाहेकका पाँच अध्यादेश मात्रै सरकारले अगाडि बढाएको थियो ।

टीआरसी आयोग : पदाधिकारी सिफारिस समितिले थाल्यो काम

काठमाडौँ — संक्रमणकालीन न्यायसँग जोडिएका आयोगका पदाधिकारी छनोटका लागि गठित सिफारिस समितिले काम थालेको छ । समितिको आइतबारको पूर्ण बैठक बसी काम सुरु गरेको सिफारिस समितिका सदस्य एवं प्रवक्ता डा लीली थापाले जानकारी दिइन्।

मन्त्रिपरिषद्को यही चैत ११ को बैठकले सिफारिस समिति गठन गरेको थियो । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ३ को उपदफा ३ बमोजिम सिफारिस समिति गठन भएको हो ।

सिफारिस समितिको पहिलो बैठक बसी समितिले आफ्नो कार्य प्रारम्भ गरेको र तोकिएको दुई महिनाभित्र आवश्यक काम पूरा गरिने जनाएको छ ।

सिफारिस समितिले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष र सदस्य नियुक्तिका लागि सिफारिस गर्ने जिम्मेवारी प्राप्त गरेको छ । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा सिफारिस समिति गठन गरिएको थियो ।

समितिमा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, अर्जुन कार्की र स्टेला तामाङ सदस्य छन् । त्यसैगरी राष्ट्रिय मानवअधिकार आयोगका तर्फबाट डा लीली थापालाई सदस्यका रुपमा जिम्मेवारी दिइएको छ ।

आज ईद मनाइँदै, सार्वजनिक बिदा

काठमाडौँ — आज इस्लाम धर्मावलम्बले ईद मनाउँदै छन् । ईद पर्वका अवसरमा सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीका अनुसार, २०८० माघ २९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आज सार्वजनिक बिदा दिइएको हो ।

इस्लाम धर्मावलम्बीको महान पर्व ‘ईद–उल–फित्र’ हर्षोल्लासका साथ मनाउने परम्परा रही आएको छ ।

अराजक राजावादी, अस्तव्यस्त सुरक्षा प्रणाली

Highlights

  • दिउँसो साढे २ बजेतिर आफैंले सवारी चलाएर प्रहरीलाई सामूहिक रूपमा कुल्चने गरी सडक आतंक मच्चाएका दुर्गा प्रसाईंलाई पक्राउ गर्न राति साढे ७ बजेतिर मात्रै प्रहरी परिचालन गरिएको थियो

काठमाडौँ — काठमाडौंको तीनकुने क्षेत्रमा शुक्रबार राजावादीको हिंसात्मक हर्कतबाट धनजन क्षति हुनुको कारण राज्यको कमजोर सुरक्षा प्रणाली देखिएको छ । राजावादीले आयोजना गरेको प्रदर्शनको वस्तुस्थिति आकलन गर्न र पर्याप्त सतर्कता अपनाउन नसकिएको आन्तरिक समीक्षा गृह मन्त्रालय स्वयंले पनि गरेको छ ।

तीनकुनेको घटनामा गुप्तचर प्रणाली अत्यन्तै कमजोर देखिएको र आन्दोलनकारीको कमान्ड सम्हाल्ने पात्रको प्रवृत्ति एवं रणनीति बुझेर गृह प्रशासनले समयमै निगरानी गर्न नसकेको सुरक्षाविद्हरू बताउँछन् । अराजनीतिक र उद्दण्ड स्वभावका दुर्गा प्रसाईंको कमान्डमा प्रदर्शन हुँदा हिंसात्मक बन्न सक्ने अनुमान सरकारले गर्न नसकेको राजनीतिक दलका नेताहरूको पनि भनाइ छ ।

दुई जनाको ज्यान जानुका साथै निजी तथा सार्वजनिक संरचना तथा सवारीसाधनमा तोडफोड, लुटपाट र आगजनी गरिएको विषयमा छानबिन गर्न अधिकारसम्पन्न आयोग बनाउन सरकारले तत्परता भने देखाएको छैन । हिंसात्मक घटना गराउने शक्तिको मुख्य स्रोत र क्षति यकिन गर्न न्यायिक छानबिन आयोग बनाउनुपर्ने आवाज मानवअधिकार आयोग र नागरिक तहबाट उठिरहेको छ ।

मूलधारका राजनीतिक दलहरूले आयोग गठनमा भन्दा पनि फौजदारी न्याय प्रशासनअनुसार दोषीमाथि कारबाहीको माग मात्रै उठाएका छन् । संसद्मा पनि आयोग गठनको मागले प्राथमिकता पाएको छैन । कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएपछि प्रतिपक्षी दलले प्रधानमन्त्रीको जवाफ माग्दै संसद् अवरोध गरिरहेका छन् ।

सरकारका एक मन्त्रीले पनि आयोग गठन गर्नु उचित हुने बताए । ‘दुर्गा प्रसाईंको अराजक व्यक्तिले मच्चाएको हिंसात्मक घटनाको मुख्य स्रोत पूर्वराजा हुन् भन्ने कुरा सरकारले गठन गर्ने आयोग वा समितिबाट निर्क्योल गर्दा जति वैधानिक हैसियत प्राप्त हुन्छ, त्यति राजनीतिक दल बसेर गरेको निर्णयमा हुँदैन ।’

सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ भने मन्त्रिपरिषद्ले नै शुक्रबारको घटनालाई आपराधिक भनेर निचोड निकालेर गृह प्रशासनलाई छानबिन र दोषीउपर कारबाहीको जिम्मेवारी दिएकाले छुट्टै आयोग गठन नगरिएको बताउँछन् । ‘आयोग गठन गर्ने कुरा भएको छैन । आवश्यक भयो भने अब बस्ने मन्त्रिपरिषद्ले निर्णय लिन सक्छ,’ उनले भने । नेपाल प्रहरीका पूर्वडीआईजी केशव अधिकारी सरकार, सुरक्षा संयन्त्र र गुप्तचरको कमीकमजोरीसमेत औंल्याउने गरी आयोग बन्नु उचित हुने बताउँछन् । आयोगले दिने सुझाव पछिका लागि उपयोगी हुन सक्ने उनको भनाइ छ ।

गृहमन्त्री लेखकले भने आयोग वा समिति आवश्यक नरहेको बताए । ‘गृह प्रशासनले शुक्रबारको घटनालाई राम्रोसँग छानबिन गरेको छ । सम्पूर्ण तस्बिर र भिडियो संकलन भएका छन् । सीसीटीभी फुटेज प्राप्त भइसकेका छन् । प्रहरीले तिनको स्क्रिनिङ गरिरहेको छ । अराजक र हिंसात्मक घटनामा जो–जो संलग्न छन्, ज–जसले अपराध गरेका छन्, ज–जसले उक्साएका छन्, तिनलाई पक्राउ गरिँदै छ,’ उनले भने, ‘त्यसैले आयोग वा समिति आवश्यक पर्ने देखिँदैन ।’

राजावादीले भवनमा आगो लगाउँदा भित्र रहेका सञ्चारकर्मी सुरेश रजकको मृत्यु भएको थियो भने प्रहरीको गोली लागेर सविन महर्जनले ज्यान गुमाएका थिए । नेपाल प्रहरीका ५५, सशस्त्र प्रहरीका २२ र प्रदर्शनकारी ५१ गरी १ सय २८ जना घाइते भएका थिए । तीनकुने, कोटेश्वर, नरेफाँट, सुविधानगर, जडीबुटी, आलोकनगर र गैरीगाउँ क्षेत्रमा साढे तीन दर्जनभन्दा बढी पसल, संघसंस्था र कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ । प्रदर्शनकारीले कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा तोडफोड तथा लुटपाट गरेका थिए । उनीहरूले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी, एकीकृत समाजवादीको पार्टी कार्यालयसहित १२ स्थानमा आगजनी गरेका थिए । निजी तथा सरकारी गरी १८ भवन तोडफोड गरिएको प्रहरीको तथ्यांक छ ।

गृह मन्त्रालयका एक अधिकारीका अनुसार संयुक्त जनआन्दोलनका संयोजक नवराज सुवेदीले शान्तिपूर्ण आन्दोलन गर्ने भनी निवेदन दिएको र कार्यक्रमका लागि तोकिएको स्थान तीनकुनेमा राजनीतिक भाषणका लागि मञ्चसमेत खडा भएकाले अराजक गतिविधि हुने आकलन गरिएको थिएन ।

‘पार्टी कार्यालय, नेताका निजी निवास, संसद् भवन, सिंहदरबार उनीहरूका मुख्य निसाना हुन सक्छन् तर सार्वजनिक सम्पत्ति, व्यक्तिको घर तोडफोड, लुटपाट आगजनी नहोला भन्ने हाम्रो अनुमान थियो,’ गृहका ती अधिकारीले भने, ‘त्यहीअनुसार नेताहरूको घर, पार्टी कार्यालयमा बढी सुरक्षाकर्मी तैनाथ गरिएको थियो । त्यसैले त्यता बढी क्षति हुन पाएन । तर जहाँ सोचिएको थिएन, त्यहाँ नै बढी क्षति हुन पुग्यो ।’

प्रहरीका पूर्वडीआईजी केशव अधिकारीले सरकारको गुप्तचर प्रणाली अत्यन्तै कमजोर देखिएको बताए । ‘आन्दोलनका बेला पलपल विभिन्न घटना विकसित हुन्छन् । त्यसबारे विभिन्न स्रोतमार्फत सुरक्षा निकायले जानकारी लिनुपर्छ । अनि मात्रै सुरक्षा व्यवस्थापन राम्रो बनाउन सकिन्छ,’ उनी भन्छन्, ‘फिल्डमा हजारौंको संख्यामा प्रहरी खटाइयो, प्रशस्त साधनस्रोत पनि छ तर सूचना शून्य छ भने हुने घटना भनेको तीनकुनेकै जस्तो हो ।’

राष्ट्रिय अनुसन्धान विभागका पूर्वएआईजी देवराज भट्ट प्रधानमन्त्री कार्यालय र गृह प्रशासनले नजरअन्दाज गर्दा धनजन क्षति भएको बताउँछन् । ‘दुर्गा प्रसार्इंबाट राजनीतिक व्यवहार अपेक्षा गर्नु व्यर्थ हुन्छ । उनले कुनै न कुनै हिंसा फैलाउँछन् भनेर सम्भावित घटनाको विश्लेषणसहित अनुसन्धान विभागले समयमै प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयलाई लिखित जानकारी दिएको मलाई थाहा छ,’ उनले भने, ‘तर, त्यसलाई नजरअन्दाज गरियो ।’

आन्दोलनको कमान्ड नै अराजनीतिक व्यक्तिको हातमा पुग्दा राज्यले शान्तिको कामना गरेर बस्नु ठूलो कमजोरी भएको पनि भट्टको टिप्पणी छ । अराजनीतिक व्यक्तिमाथि सुरक्षाकर्मीको निगरानी नबढाउनु तर निजी घरको छतमा बसेर सुरक्षाकर्मीले बल प्रयोग गर्नु पनि गलत भएको उनको भनाइ छ ।

घटनाको तीन दिन बितिसक्दा पनि तोडफोड, लुटपाट र आगजनीका मुख्य सूत्रधार प्रसाईं अझै पक्राउ परेका छैनन् । दिउँसो साढे २ बजेतिर आफैंले सवारी चलाएर प्रहरीलाई पेल्दै उनले निषेधाज्ञा तोडेका थिए । प्रहरीलाई गाडीले धकेल्दै अघि बढेर ढुक्कले गाडीबाट निस्कँदासमेत उनलाई पक्राउ गरिएन । प्रहरीका एक अधिकारीका अनुसार तीनकुनेमा हिंसात्मक गतिविधि हुँदासमेत उनलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिइएको थिएन । प्रसाईं साढे ४ बजेतिर नरेफाँट हुँदै भागेर लुभु र इमाडोलको बीचमा रहेको धर्मगुरु पुष्कर खतिवडाको घर पुगेका थिए । उनलाई पक्राउ गर्न राति साढे ७ बजेतिर प्रहरी खटिँदा उनी फरार भइसकेका थिए ।

प्रसाईंलाई अझै पक्राउ गर्न नसक्नु लज्जास्पद भएको पूर्वडीआईजी अधिकारी बताउँछन् । ‘दुर्गा प्रसार्इंलाई बटुवाले समेत चिन्छन् । त्यस्तो व्यक्तिलाई पक्राउ गर्न नसक्नु सुरक्षा निकायको लाचारी हो, राज्यको गुप्तचरी निकाय नै असफल हुनु हो,’ उनले भने । गृह स्रोतले भने प्रसाईं भारत पुगेको अनुमान गरेको छ ।

सातामा २५ अर्ब ४१ करोडको सेयर कारोबार

Highlights

  • सातामा तीन दिनमा १०६.६६ अंकले बढेको नेप्से दुई दिनमा ११२.६७ अंकले घट्यो

काठमाडौँ — गत साता पाँच दिनमा सेयर कारोबार मापक नेप्से परिसूचक औसत ६.०१ अंकले घटेको छ । अघिल्लो साताको बिहीबार २ हजार ६ सय ६९.३१ बिन्दुमा बन्द भएको नेप्से गत बिहीबार २ सय ६ सय ६३.३० बिन्दुमा ओर्लेर बन्द भएको नेप्सेले जनाएको छ । गएको साता आइतबार र मंगलबार मात्रै नेप्से घटेको थियो, सोमबार, बुधबार र बिहीबार समग्र नेप्से बिन्दु बढ्यो ।

गत आइतबार ५४.६२ अंकले घटेर समग्र नेप्से २६१४.६८ बिन्दुमा ओर्लिएको थियो । सोमबार २६.१० अंकले बढेको समग्र नेप्से बिन्दु मंगलबार ५८.०५ अंकले घटेर २५८२.७३ मा ओर्लिएको थियो । बुधबार ३९.१३ र बिहीबार ४१.४३ अंकले बढेर नेप्से २६६३.३० बिन्दुमा बन्द भएको हो ।

गएको साता कुल २५ अर्ब ४१ करोड १९ लाख ५१ हजार रुपैयाँको सेयर कारोबार भयो ।

अघिल्लो साताको तुलनामा गएको साता सेयर कारोबार रकम ३.३७ प्रतिशतले घटेको हो । अघिल्लो साता २६ अर्ब २९ करोड ६८ लाख ९५ हजार रुपैयाँको सेयर कारोबार भएको थियो ।

गत साता २ लाख ९६ हजार ७४८ पटकको कारोबारबाट ५ करोड २१ लाख ८२ हजार ११० कित्ता सेयर किनबेच भयो । अघिल्लो साता २ लाख ९७ हजार ५४८ पटकको कारोबारबाट ५ करोड १३ लाख ३१ हजार ३९८ कित्ता सेयर किनबेच भएको थियो । अघिल्लो साताको तुलनामा गत साता सेयर कित्ता किनबेच १.६६ प्रतिशतले बढेको हो ।

नेप्सेका अनुसार गत साता लगानी, जीवन बिमा, म्युचअल फन्ड, अन्य र व्यापार उपसमूह बढ्यो ।

व्यापार १३६.७१, जीवन बिमा, १२९.९३, अन्य ४०.९६, लगानी शून्य दशमलव ४४ र म्युचअल फन्ड शून्य दशमलव १० अंकले बढेको छ । निर्जीवन बिमा १७६.८४, विकास बैंक १३२.०७, होटल तथा पर्यटन ११९.९३, जलविद्युत् ७६.३४, लघुवित्त ३०.९०, उत्पादन तथा प्रशोधन २०.३३ र बैकिङ ३.२६ अंकले घटेको नेप्सेले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

गएको साता कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टलगायत १० वटा कम्पनी अघि रहे । हिमालयन रिइन्स्योरेन्सले १ अर्ब ९१ करोड १ लाख १५ हजार, नेपाल रिइन्योरेन्स कम्पनीले १ अर्ब २७ करोड ८९ लाख ५ हजार, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टले ९६ करोड २२ लाख ४ हजार र सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ७२ करोड ७० लाख २० हजार रुपैयाँको कारोबार गरेका छन् ।

यसैगरी युटाइटेड मोदी हाइड्रोपावर कम्पनीको ६९ करोड ३९ लाख ७४ हजार, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको ६३ करोड ८३ लाख ८४ हजार, नारायणी डेभलपमेन्ट बैंकको ६३ करोड ३६ लाख ५४ हजार, घलेम्दी हाइड्रोपावरको ५६ करोड ५९ हजार, सिन्धु विकास बैंकको ४९ करोड ८४ लाख ८० हजार र ग्रिन डेभलपमेन्ट बैंकको ३८ करोड १४ लाख ३५ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

गत साता श्वेतगंगा हाइड्रोपावर, प्रभु क्यापिटल लिमिटेडलगायत १० कम्पनीका लगानीकर्ताको सम्पत्तिको मूल्य बढ्यो । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको १२.८६, प्रभु क्यापिटल लिमिटेडको ८.५४, श्वेतगंगा हाइड्रोपावर एन्ड कस्ट्रक्सन कम्पनीको ७.७१, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ६.२६, हिमालय रिइन्स्योरेन्सको ५.७७, स्वरोजगार लघुवित्त वित्तीय संस्थाको ४.५२, कुमारी बैंक ८९ को ४.२२, एनआईसी एसिया ८२/८३ को ४.१७, एनएमबी माइक्रो फाइनान्सको ३.७५ र विशाल बजार कम्पनीको ३.६७ प्रतिशतले बढेको छ ।

मिथिला लघुवित्त, भूगोल इनर्जी डेभलपमेन्टलगायत १० कम्पनीका लगानीकर्ताले आफ्नो सम्पत्तिको मूल्य गुमाए । माथिल्लो हेवाखोला हाइड्रोपावरको १५.३८, नारायणी विकास बैंकको १४.२१, मिथिला लघुवित्तको १२.३५, इस्टर्न हाइड्रोपावरको १०.७०, भूगोल इनर्जी डेभलपमेन्टको ८.३७, सप्तकोशी विकास बैंकको ८.१५, सुपरी मादी हाइड्रोपावरको ८, सुपरमाई हाइड्रोपावरको ६.६२, कर्पोरेट विकास बैंकको ६.५० र चिरख्वा हाइड्रोपावरको मूल्य ६.२१ प्रतिशतले मूल्य घटेको हो ।

नेपाललाई जनसांख्यिक लाभांश २१०८ सालसम्म मात्र

Highlights

  • २०७८ सालदेखि लाभांश पाउन सुरु, २१०८ सालदेखि नेपालको जनसंख्यामा बुढ्यौली लाग्ने
  • १५ वर्षभन्दा कम र ६५ वा सोभन्दा बढीको जनसंख्यालाई निष्क्रिय र १५ देखि ६४ वर्षसम्मको जनसंख्यालाई सक्रिय मानिएको छ

काठमाडौँ — नेपाललाई उपलब्ध जनसांख्यिक लाभांश (बच्चा र वृद्धभन्दा क्रियाशील उमेर समूह धेरै) को सुविधा २७ वर्ष मात्र बाँकी रहेको एक सरकारी प्रतिवेदनले देखाएको छ । अहिले नेपाल जनसांख्यिक लाभांश प्राप्त अवधिको करिब मध्यावधिमा रहेको र २१०८ सालपछि पूर्ण रूपमा बुढ्यौलीमा प्रवेश गर्ने राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको जनसांख्यिक लाभांश प्रतिवेदनले औंल्याएको छ ।

‘जनसांख्यिक लाभांश’ भन्नाले जनसंख्याको उमेर—संरचनामा आउने परिवर्तनका कारण प्राप्त हुने आर्थिक वृद्धिको सम्भावनालाई जनाउने प्रतिवेदनले प्रस्ट्याएको छ । प्रतिवेदनमा १५ वर्षभन्दा कम र ६५ वा सोभन्दा बढीको जनसंख्यालाई निष्क्रिय र १५ देखि ६४ वर्षसम्मको जनसंख्यालाई सक्रिय मानिएको छ ।

‘कुनै मुलुक जहाँ जन्मदरमा कमी आएको छ र काम गर्ने उमेरको जनसंख्यामा वृद्धि भएको छ भने त्यहाँ जनसांख्यिक लाभांशयोग्य स्थितिको सम्भावना हुन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘त्यसबाट प्राप्त हुने परिणाम भनेको समग्र आर्थिक वृद्धि र जनताको जीवनस्तरमा हुने गुणात्मक सुधार हो ।’

नेपालका जनगणनाबाट प्राप्त तथ्यांकलाई विश्लेषण गर्दा २००९/११ देखि २०७८ सम्म नै काम गर्ने उमेरको जनसंख्या आश्रित जनसंख्याभन्दा अधिक अनुपातमा रहेको देखिएको छ । जुन २०७८ मा ६५.२ छ । यस अवधिमा १५ वर्षमुनिका जनसंख्या २७.८ र ६५ वर्षमाथिका ६.९ प्रतिशत थियो । ‘यसअनुसार नेपाल जनसांख्यिक लाभांशको चरणमा २०७६ सालमा प्रवेश गरेको र २१०८ सालमा बाहिरिने देखिन्छ,’ राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी एवं प्रवक्ता ढुण्डीराज लामिछानेले भने, ‘अर्को परिदृश्य अर्थात् कुल जनसंख्याको वृद्धिदर ०.९२ प्रतिशत रहेको बेला काम गर्ने उमेरको जनसंख्याको वृद्धिदर १.७५ प्रतिशत छ ।’

Demographic dividend to Nepal only for 2108 years

आर्थिक रूपले सक्षम जनसंख्याको ऋणात्मक वृद्धिदर (–१.२५) को विश्लेषणका आधारमा मुलुक २०४८–२०५८ को मध्यतिर जनसांख्यिक लाभांशको चरणमा प्रवेश गरिसकेको र उक्त स्थिति २१०८ सालसम्म रहने प्रतिवेदनमा उल्लेख छ । ‘आश्रित जनसंख्याको अनुपात जुन २०७८ मा ५३.३ थियो, त्यसका आधारमा नेपाल २०७४ सालतिरै जनसांख्यिक लाभांशको चरणमा प्रवेश गरेको र २१०८ सालभन्दा केही परसम्म सो स्थिति रहनेछ, जतिखेर उक्त अनुपात ६० को नजिक रहनेछ,’ प्रतिवेदनले औंल्याएको छ ।

नेपालको जनसांख्यिक संरचनामा अपूर्व परिवर्तन आएको र यसले राज्यले अघि सारको दूरदृष्टि र आत्मसात् गरेका संकल्पलाई साकार पार्ने दिशामा असिम अवसरका रूपमा उपलब्ध रहेको प्रवक्ता लामिछानेले बताए । ‘आर्थिक उत्पादकत्व वृद्धि, मानव पुँजी विकासमा अग्रगामी कदम, राष्ट्रिय आयमा दिगो वृद्धि र राष्ट्रिय बचतमा वृद्धि उन्मुख प्रवृत्तिसहित नागरिकहरूको समग्र जीवनस्तर सुधार गर्ने रूपान्तरणकारी हस्तक्षेप गर्ने अवसर पनि प्राप्त भएको छ,’ उनले भने, ‘यसका लागि बेरोजगारी, अर्धबेरोजगारी, शैक्षिक असमानता, सीपको विसंगति, पूर्वाधार र संसाधनका दृष्टिले विद्यमान प्रदेशगत विषमता, अव्यवस्थित सहरीकरण, पूर्वाधारको अपर्याप्तता, वातावरणीय चुनौती तथा वित्तीय र प्रविधिजन्य स्रोतको अपर्याप्तता आदि अझै पनि विशेष चुनौतीका रूपमा छन् ।’ यी समस्यासँग जुध्दै जनसांख्यिक लाभांशको प्रतिफल अनुभूत गर्न राज्यको समग्र नीतिगत प्रतिबद्धता तथा प्रभावकारी कार्यान्वयन महत्त्वपूर्ण रहने लामिछानेको भनाइ छ ।

काम गर्न नसक्ने (निष्क्रिय) को तुलनामा काम गर्न सक्ने (सक्रिय) जनसंख्या धेरै भएको, जनसंख्या वृद्धिदर घट्दो क्रममा रहेका बेला यो अवसरलाई राष्ट्रले भरपूर उपयोग गर्न सक्नुपर्ने उनले बताए ।

मुलुकले अहिले अपूर्व रूपमा युवा जनशक्ति प्राप्त गरेको अवस्था र आश्रित जनसंख्याको भार न्यून रहेको प्रतिवेदनले औंल्याएको छ ।

यो उर्वर मानवीय शक्तिलाई प्रयोग गर्न सकेको खण्डमा प्रतिव्यक्ति गार्हस्थ्य उत्पादनमा तीव्र वृद्धि गर्न सकिने सम्भावना छ ।

निःसन्देह, मुलुकसामु गरिबी, बेरोजगारी, राष्ट्रिय आयको विषम वितरण, व्यापार घाटा आदि चुनौती विद्यमान रहेको प्रतिवेदनमा उल्लेख छ । यसले वस्तुतः रूपान्तरणकारी नीति जसले लगानीमैत्री उत्साहप्रद स्थिति, मानव–पुँजीको गुणस्तर वृद्धिको वातावरण र समावेशी आर्थिक प्रवर्द्धन आदिको पक्षमा तत्काल कार्यान्वयन योग्य नीति तथा कार्यक्रमको आवश्यकता उजागर गरेको छ ।

२०७८ को जनगणनाअनुसार नेपालको जनसंख्या वृद्धिदर ०.९२ प्रतिशत छ । उक्त अवधिमा शून्यदेखि १४ वर्षसम्मको जनसंख्या वृद्धिदर १.२५ प्रतिशतले ऋणात्मक छ भने ६५ वा त्यसभन्दा बढीको जनसंख्या वृद्धिदर ३.५४ प्रतिशत छ । उक्त अवधिमा १५ देखि ६४ वर्ष उमेर समूहका जनसंख्याको वृद्धिदर १.७५ प्रतिशत छ ।

‘सन् २०५१ सम्म नेपालमा ६५ वा सोभन्दा बढी उमेरका नागरिक कुल जनसंख्याको १५ प्रतिशत पुग्ने देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।

यसरी बच्चाको वृद्धिदर ऋणात्मक, वृद्धको वृद्धिदर तीव्र रूपमा बढेको र युवाको वृद्धिदर घट्दो अवस्थामा हुनुले नेपाललाई प्राप्त जनसांख्यिक लाभको अवस्था बिस्तारै खुम्चिँदै गएको पुष्टि हुने जानकार बताउँछन् ।

जिल्लागत रूपमा हेर्दा सबैभन्दा बढी सक्रिय जनसंख्या मनाङमा ७५.४ र अछाममा सबैभन्दा कम ५५.१ प्रतिशत छ । प्रादेशिक रूपमा हेर्दा बागमतीमा सबैभन्दा बढी ७०.६ र मधेशमा सबैभन्दा कम ६०.५ प्रतिशत छ । यसअनुसार कोशीमा ६६.५, गण्डकीमा ६६.९, लुम्बिनीमा ६५, कर्णालीमा ६१.८ र सुदूरपश्चिममा ६२.४ प्रतिशत आर्थिक रूपमा सक्रिय जनसंख्या रहेको प्रतिवेदनले देखाएको छ ।

प्रादेशिक रूपमा हेर्दा मधेशमा सबैभन्दा बढी ३३.२ र बागमतीमा सबैभन्दा कम २२.२ प्रतिशत बालबालिका (१५ वर्षभन्दा कम) छन् । यसअनुसार कोशीमा २६, गण्डकीमा २३.९, लुम्बिनीमा २८.५, कर्णालीमा ३३.१ र सुदूरपश्चिम प्रदेशमा ३१ प्रतिशत बालबालिका छन् । ६५ वर्षभन्दा बढी उमेरका नागरिक भने गण्डकीमा सबैभन्दा धेरै ९.२ र सबैभन्दा कम कर्णालीमा ५.१ प्रतिशत छन् । सुदूरपश्चिममा ६.६, लुम्बिनीमा ६.५, मधेशमा ६.३, बागमतीमा ७.२ र कोशीमा ७.५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

२०७८ सालमा नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ थियो । उक्त अवधिमा जनसंख्या वृद्धिदर ०.९२ प्रतिशत छ । प्रादेशिक रूपमा लुम्बिनी र मधेशमा जनसंख्या वृद्धिदर १.२ प्रतिशत छ । यस्तो वृद्धिदर बागमतीमा १, कोशीमा ०.९, गण्डकीमा ०.३, कर्णालीमा ०.७ र सुदूरपश्चिममा ०.५ प्रतिशत छ । काम गर्ने सक्रिय युवाको वृद्धिदर भने लुम्बिनीमा धेरै छ । लुम्बिनीमा २.२, कर्णाली र मधेशमा १.८, बागमतीमा १.७, कोशीमा १.६, गण्डकीमा १.३ र सुदूरपश्चिममा १.६ प्रतिशत आर्थिक रूपमा सक्रिय जनसंख्या वृद्धिदर रहेको प्रतिवेदनमा उल्लेख छ ।

जनसंख्याको उमेर संरचनामा आएको परिवर्तनलाई जनसंख्या वृद्धिदर, उमेर संरचना, आश्रित जनसंख्याको अनुपात, काम गर्ने उमेरको जनसंख्या आदिका आधारमा मापन गरिएको कार्यालयले जनाएको छ ।

लोकप्रिय