फोर आइज न्युज
आइतवार, साउन ५, २०८२

This Week

भाल किल्मरको निधन

काठमाडौँ — अभिनेता भाल किल्मरको निधन भएको छ । ‘टप गन’, ‘द डोर्स’, ‘ब्याटम्यान’जस्ता फिल्ममा गरेको अभिनयका लागि चिनिने अभिनेता भालको ६५ वर्षको उमेरमा निमोनियाका कारण निधन भएको हो ।

सन् २०१५ उनलाई गलाको क्यान्सर भएको थियो । उनको जीवनमा आधारित डकुमेन्ट्री त सन् २०२१ मा कान्स फिल्म फेस्टिभलमा प्रिमियर भएको थियो, जहाँ उनको श्वासप्रश्वासको समस्या देखाइएको थियो ।

भाल मेथड एक्टिङमा प्रख्यात थिए । अभिनय गरिरहेको चरित्रमा उनी यति डुब्थे कि भालको निधनसँगै उनले अपनाएको यो मेथडको अहिले चर्चा भइरहेको छ । सन् १९९३ को ‘टम्बस्टोन’ भन्ने फिल्मको अन्तिम दृश्यका लागि त उनले आफ्नो सुत्ने पलङमै आइस राखेका थिए, जहाँ उनले अभिनय गरे ।

रुसले १ लाख ६० हजार सैनिक भर्ती गर्ने

मस्को — रुसले १ लाख ६० हजार नयाँ सैनिक भर्ती गर्ने भएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले देशको सेनामा थप १ लाख ६० हजार सैनिक भर्ती गरिने घोषणा गरेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

 

सीएनएनका अनुसार राष्ट्रपति पुटिनले सैन्य भर्तीसम्बन्धी एक आदेशमा हस्ताक्षर गरेका हुन् । उक्त आदेशअनुसार मंगलबारदेखि सुरू हुने सैनिक भर्ना प्रक्रिया १५ जुलाईसम्म चल्ने जनाइएको छ । आदेशअनुसार १८ देखि ३० वर्षसम्मका १ लाख ६० हजार रुसीलाई सैनिक सेवामा सामेल गराइनेछ ।

रुसी सरकारी समाचार संस्था तासका अनुसार गत वर्ष रुसले १० हजार नयाँ सैनिक भर्ना गरेको थियो । रुसी सेनाको आकार बढाउने राष्ट्रपति पुटिनको योजना अनुसार थप सैनिक भर्ना गर्न लागिएको तासले जनाएको छ । रुसमा तीन वर्ष अघि करिब १० लाख सैनिक थिए । हाल यो संख्या करिब ५ लाखले बढेको छ ।

रुसले तीन वर्षभन्दा लामो समयदेखि युक्रेनसँग युद्ध लडिरहेका बेला ठूलो संख्यामा सैनिक भर्ती गर्न लागिएको हो । पछिल्लो समय रुसले कुर्स्क क्षेत्रमा युक्रेनी फौजलाई विस्थापित गर्न उत्तर कोरियाली सैनिकहरूको भर परेको छ । दक्षिण कोरिया तथा अमेरिकाका अधिकारीका अनुसार उक्त क्षेत्रमा उत्तर कोरियाले पटकपटक गरी करिब १५ हजार सैनिक परिचालन गरिसकेको छ । तर तीमध्ये करिब ४ हजार उत्तर कोरियाली सैनिक मारिएका दक्षिण कोरियाली अधिकारीको दाबी छ ।

रुसी कानूनले अनिवार्य सेवाका लागि भर्ना गरिएका सैनिकलाई उचित तालिमबिना लडाइँ जारी रहेका क्षेत्रमा पठाउन निषेध गर्दछ । नयाँ भर्ना गरिएका सैनिकहरूलाई भने युक्रेनसँगको युद्धमा नखटाइने रुसी अधिकारीको दाबी छ । तर युक्रेन युद्धपछि भर्ना गरिएका सैनिकलाई हस्ताक्षर गर्न दबाब दिइएको वा भ्रमित गरिएको रिपोर्टहरू बाहिर आएका सीएनएनले जनाएको छ ।

पछिल्लो समय युक्रेन युद्ध अन्त्यका लागि अमेरिकी अधिकारीहरूले रुससँग छलफल गरिरहेका छन् । तर रुसी सेनाले दोनेत्स्क क्षेत्रको पोकरोभस्कमा निरन्तर आक्रमण जारी राखेका छन् । केही दिनयता भने रुसी फौजले युक्रेनी सहरमा हवाई आक्रमणसमेत तीव्र पारेका छन् ।

यसैबीच, वरिष्ठ रुसी वार्ताकार किरिल दिमित्रीभले यसै साता ट्रम्पका विशेषदूत स्टिभ विटकफसँग भेटवार्ता गर्न अमेरिका भ्रमण गर्ने अपेक्षा गरिएको छ । उनको भ्रमण सन् २०२२ मा रूसले युक्रेनमा आक्रमण गरेपछि वार्ताका लागि हुने लागेको पहिलो हो । यसअघि मस्को भ्रमण गरेका विटकफले रुसी राष्ट्रपति पुटिनसँग भेटवार्ता गरेका थिए ।

गत जनवरीमा अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपति पद सम्हालेसँगै दुई देशबीचको सम्बन्धमा सुधार आएको ठानिएको छ । तर पछिल्लो समय भने युक्रेन युद्धमा युद्धविरामका लागि अमेरिकाले अघि सारेको प्रस्तावमा रुसको असहमति र ब्ल्याक सीमा युद्धविरामका लागि रुसले सर्त अघि सारेपछि भने ट्रम्प केही रुष्ट देखिएका छन् ।

महिलाले सम्हालेको सिक्लेस संग्रहालय

Highlights

  • महिलाले नेतृत्व गरेर व्यवस्थापन गरिरहेको यो संग्रहालयमा गुरुङ समुदायबारे मसिनो गरेर बुझ्न पाइन्छ

कास्की — सिक्लेसकी हुमकुमारी गुरुङ गाउँकै अन्नपूर्ण माविमा पढाउँछिन् । यसबाहेक गाउँमा उनको अर्को परिचय छ– ‘म्युजियमकी अध्यक्ष’ । सिक्लेसमा गुरुङ समुदायको रहनसहन, संस्कृति र परम्परागत सामानले संग्रहालय भरिएको छ । हुमकुमारी यही संग्रहालय व्यवस्थापन उपसमितिकी अध्यक्ष हुन् ।

मादी गाउँपालिका–१ स्थित ‘इको म्युजियम सिक्लेस’ का दुई विशेषता छन् । पहिलो, यहाँ गुरुङ समुदायबारे मसिनो गरेर बुझ्न सकिन्छ । दोस्रो, यो म्युजियम व्यवस्थापनको जिम्मा महिलालाई सुम्पिइएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को सहयोगमा ०७१ वैशाख १ मा म्युजियम स्थापना भएको हो । स्थापनायता हुमकुमारीको नेतृत्वमा गाउँका १५ महिलाले यसको व्यवस्थापनको जिम्मेवारी सम्हाल्दै आएका छन् । संग्रहालय एक्यापअन्तर्गतको संरक्षण क्षेत्र व्यवस्थापन समिति सिक्लेस मातहत छ ।

गाउँका अन्य संस्थाको नेतृत्वमा प्रायः पुरुष बाहुल्य भएकाले संग्रहालयको जिम्मा महिलालाई दिइएको समितिका सचिव गेहेन्द्र गुरुङ बताउँछन् । ‘सिक्लेसका सबै संघसंस्था, समितिमा पुरुषको नेतृत्व, बाहुल्य रह्यो । नयाँ ढंगले जाऔं, महिला वा आमा समूहलाई सञ्चालन गर्न दिऊँ भनेर उपसमिति बनायौं,’ उनी भन्छन्, ‘महिलालाई राखेर व्यवस्थापनमा अगाडि सार्‍यौं ।’

उपसमितिमा हुमकुमारी, अध्यक्ष, जमुना गुरुङ, उपाध्यक्ष, कृष्टि गुरुङ, सचिव र गेसुबा गुरुङ, कोषाध्यक्ष छन् । यस्तै नन्दकला गुरुङ, हेमादेवी गुरुङ, रूपा गुरुङ, औसुबा गुरुङ, कुस्मा गुरुङ, मेनसुबा गुरुङ, सन्तोषी गुरुङ, मुना गुरुङ, इन्द्रकुमारी गुरुङ, सीता परियार र लिलिमा गुरुङ सदस्यमा छन् ।

१५ जनामध्ये अध्यक्ष हुमकुमारी, उपाध्यक्ष जमुना, कोषाध्यक्ष गेसुबा, सदस्य हेमा, औसुबा, रूपा, नन्दकला, मेनसुबा, कुस्मा त्यतिबेला अन्नपूर्ण माविमा पढाउँथे । शिक्षण पेसामा लागेकाहरू जान्ने–बुझ्ने हुन्छन् भनेर त्यतिबेला संरक्षण क्षेत्र विकास समिति अध्यक्ष मनबहादुर गुरुङ (हालका प्रतिनिधिसभा सदस्य) र गाउँका अगुवाले शिक्षकलाई व्यवस्थापनको जिम्मा दिएका थिए ।

‘सुरुमा समितिमा ८/९ जना शिक्षिका थियौं, अहिले कोही गाउँ बाहिर जानुभयो, समितिमा अब ६ जना शिक्षिका नै छौं,’ अध्यक्ष हुमकुमारी भन्छिन् । समितिको बैठक दुई महिनामा एकपल्ट बस्ने गरेको उनले सुनाइन् । १० वर्षदेखि काम गरेकाले नयाँ समिति बनाउन तीन महिनाअघि एक्यापलाई उनले आग्रह गरेकी थिइन् । तर एक्यापले शिक्षिकाहरू नै समितिमा रहँदा राम्रो भएको भनेर नयाँ नेतृत्व ल्याउन नमानेको उनले सुनाइन् ।

समितिमा रहेका सबै ३० देखि ५० वर्ष उमेर समूहका छन् । संग्रहालयमा परम्परागत नापतौलका सामान तामे माना, तामे पाथी, आने आने (डुङ्ग्रो), धार्नी, तराजु, वाद्यवादनका सामग्री मुरली, बाँसुरी, सारङ्गी, नरसिङ्गा, ढोल पनि राखिएका छन् । रेती (औजारलाई धारिलो बनाउन प्रयोग हुने औजार), स्याँइ (ऊन काट्ने औजार), खुर्पिटो, घन, गुरुङ भान्सा, लामा गुरु पच्यु, घ्याब्री, झ्याम्टा, ढोल, ढ्यांग्रो पहिलो तलामा राखिएको छ ।

गुरुङ समुदायसँग सम्बन्धित करिब ३ सय प्रकारका सामान संग्रहालयमा राखिएको उपसमिति सचिवसमेत रहेकी संग्रहालयकी व्यवस्थापक कृष्टि गुरुङले बताइन् । एक्याप र संरक्षण क्षेत्र व्यवस्थापन समिति सिक्लेसको पहलमा सबै सामग्री गाउँलेबाटै संकलन गरिएको उनले सुनाइन् ।

सिक्लेसका संरक्षणकर्मी डा.चन्द्र गुरुङसहित सवार हेलिकोप्टर ०६३ असोज ७ मा ताप्लेजुङको घुन्सामा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा ज्यान गुमाएका गुरुङ र मिङ्मा नोर्बु शेर्पाको स्मृतिमा संग्रहालयको दोस्रो तलामा छुट्टै कक्ष बनाइएको छ ।

त्यहाँ उनीहरूले देशविदेशका मञ्चमा सम्बोधन गर्दाका, घुमफिर, उच्चपदस्थ अधिकारीसँग भेटघाट गर्दाका तस्बिर र राहदानी राखिएका छन् । गुरुङको परिवारसँग समन्वय गरेर उनले प्रयोग गरेका कपडा, क्यामरा, उनका कविता र गीत, पाएका अवार्ड पनि संग्रहालयमा राखिएको छ ।

मादी गाउँपालिकाभर पाइने पुतली पनि संग्रह गरिएका छन् । सिक्लेस भ्रमणमा आउनेमध्ये संग्रहालय अवलोकन गर्न धेरैजसो विद्यार्थी पुग्ने गरेको व्यवस्थापक गुरुङले बताइन् । ‘नयाँ पुस्ताले पुरानो सामान देखेको छैन, म्युजियममा हामीले ती सामान जोगाएर राखेका छौं,’ उनले भनिन् ।

संग्रहालय भएको घर २३ वर्षअघि एक्यापले बनाएको हो । त्यहाँ एक्यापको बैठक, फोटो प्रदर्शनी, वृत्तचित्र र फिल्म प्रदर्शनी हुन्थ्यो । संरक्षण क्षेत्र व्यवस्थापन समितिको योजनाअनुसार त्यही घरलाई ०७१ मा संग्रहालयको स्वरूप दिइएको हो ।

एक्यापले वार्षिक मर्मत सम्भारका लागि बजेट विनियोजन गर्छ । त्यसबाहेक संग्रहालय प्रवेशबापत संकलन हुने शुल्कबाट अन्य खर्च गरिने व्यवस्थापक कृष्टिले सुनाइन् । चालु आर्थिक वर्षमा एक्यापले रङरोगनका लागि १ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ । उक्त बजेटबाट संग्रहालय भवन रङरोगनको काम भइरहेको उनले बताइन् ।

संग्रहालय अवलोकन गर्न विदेशीलाई १५०, नेपालीलाई ५० र विद्यार्थीलाई ३० रुपैयाँ शुल्क लिइन्छ । गुरुङ पोसाक पहिरिएर तस्बिर खिच्न पर्यटक संग्रहालयसम्म पुग्छन् । गुरुङ पहिरन लगाएबापत १५० रुपैयाँ लिइन्छ । चालु आर्थिक वर्षको फागुसम्म २ हजार ३९ जनाले संग्रहालय अवलोकन गरेको गुरुङले जानकारी दिइन् । उनका अनुसार यो संख्या संग्रहालय स्थापना भएदेखि हालसम्मकै धेरै हो ।

‘१० वर्षमा अहिलेसम्म वर्षभर २ हजार जना आएका थिएनन् । यो वर्ष ८ महिनामै २ हजार जना यहाँ आएका छन्,’ उनले सुनाइन् । गत वर्ष १ हजार ७ सय जनाले संग्रहालय अवलोकन गरेका थिए ।

अत्यधिक प्रदूषणले अस्पतालमा बढे बिरामी

Highlights

  • बालबालिका, वृद्धवृद्धासागै सुगर, प्रेसर, मिर्गौला र मुटुसम्बन्धी दीर्घरोगीलाई बढी समस्या
  • बुधबार पनि काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीमा पहिलो स्थानमा छ

काठमाडौँ — एक सातायता काठमाडौं उपत्यकाको हावा निकै प्रदूषित बनेको छ । हावामा प्रदूषणको मात्रा बढेसँगै अस्पतालमा छाती, आँखा, नाक, कान र घाँटीका बिरामीको चाप पनि ५० प्रतिशतले बढेको सम्बन्धित चिकित्सकले बताएका छन् ।

चार दिनदेखि काठमाडौं उपत्यकाको वायु प्रदूषण २०१ देखि ३०० एक्यूआई (एयर क्वालिटी इन्डेक्स) को बीचमा छ । यो भनेको वायु प्रदूषणको ‘निकै अस्वस्थ’ तह हो । मंगलबार बिहान १०ः४५ देखि ११ः४५ मा काठमाडौंको वायु गुणस्तर ३०० एक्यूआई पुगेको थियो ।

३०१ देखि माथिलाई खतरनाक तह मानिन्छ । बुधबार पनि काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीमा पहिलो स्थानमा छ । बुधबार राति ८ बजे काठमाडौंको वायु प्रदूषण २८७ एक्यूआई पुग्दा विश्वकै प्रदूषित सहर बनेको हो । चैत १७ (आइतबार) मा काठमाडौंको वायु गुणस्तर २११ र चैत १८ (सोमबार) मा २३२ एक्यूआई पुगेको थियो ।

ह्याम्स अस्पतालका छातीरोग विशेषज्ञ डा. राजु पँगेनीका अनुसार प्रदूषणका कारण वृद्ध, श्वासप्रश्वासको समस्या भएका दीर्घरोगी र बालबालिकामा अहिले छातीको समस्या बढेको छ । ‘छाती घ्यार–घ्यार गर्ने समस्या विशेषगरी बालबालिका, वृद्धसँगै सुगर, प्रेसर, मिर्गौला, मुटुसम्बन्धी दीर्घरोगीमा बढिरहेको छ । रोगसँग लड्ने क्षमता कम हुने बिरामीमा प्रदूषणले निमोनिया, सास फेर्न गाह्रो हुने र दम देखिने गरेको छ,’ उनले भने, ‘हाम्रो ओपीडीमा आउने, वार्डमा भर्ना हुने र आईसीयू तथा भेन्टिलेटरमा भएका बिरामीमा पनि वायु प्रदूषणकै कारणले समस्या बढेको जस्तो देखिएको छ ।’

ह्याम्स अस्पतालको २० आईसीयू बेडमध्ये ५० प्रतिशत बिरामीमा छातीसम्बन्धी समस्या देखिएको उनको भनाइ छ । ‘प्रदूषणले हरेक दिन कम्तीमा पनि १५ देखि २० जना छाती रोगसँग सम्बन्धित समस्या भएर आउने गरेका छन्,’ डा. पँगेनीले भने, ‘यसमा अरू समस्या बल्झेर आउने बिरामी छन् । कसैलाई सुगर हुने र त्यसपछि छातीमा संक्रमण भएर भर्ना भएको देखिन्छ । केही निमोनियाका लक्षण देखिएर भर्ना छन् ।’

वायु प्रदूषणले गरेर बिरामी भएको हो या होइन भन्ने ठोस रूपमा मापन गर्ने कुनै आधार नभए पनि अहिले भाइरल इन्फ्लुएन्जासँगै प्रदूषण मुख्य कारकका रूपमा देखिएको उनको दाबी छ । ‘वायु प्रदूषणले शरीरमा के समस्या भयो भनेर हामीले सुगर जाँच गरेजस्तो गरी मापन गर्न सक्दैनौं । यही कारणले हो भनेर खुट्याउन सक्दैनौं । तर अहिले आएका बिरामीमा वायु प्रदूषणको असर पनि छ भनेर दाबी गर्न भने सकिन्छ,’ उनले भने । गत वर्ष जाडो सकिएपछि फागुन र चैत लाग्दा दम, मुटु र मिर्गौलासम्बन्धी बिरामी कम थिए ।

तर यसपालि प्रदूषण बढेकाले बिरामीमा संक्रमण बढेको र चाप पनि उस्तै रहेको उनको भनाइ छ । ‘जाडो मौसममा भाइरल ज्वरोसँगै रुघाखोकी, निमोनिया र दम समस्या देखिन्थे,’ उनले भने, ‘तर, यसपालि जाडो सकेर भाइरल ज्वरो घट्ने बेलामा पनि अझैसम्म संक्रमणको संख्या घटेको देखिँदैन ।’

प्रदूषणले छातीसँग सम्बन्धित मात्र नभई नाक, कान, घाँटी र आँखाका समेत बिरामी बढेको चिकित्सकले बताएका छन् । ‘रुघाखोकी, नाक बन्द हुने, घाँटी खस–खस गर्ने, नाक पोल्ने, नाक सुक्खा हुने, एलर्जी र पिनासको समस्या भएका बिरामी बढिरहेका छन्,’ नाक, कान, घाँटी रोग विशेषज्ञ डा. तुलिका दुबेले भनिन्, ‘वायु प्रदूषणले यस्तो संक्रमण बढ्ने सम्भावना अझ रहन्छ ।’ उनको भनाइमा अहिले सय जनामा ६०–७० प्रतिशत बिरामीमा प्रदूषणकै कारण नाक, कान र घाँटीको समस्या देखिन थालेको छ । ‘नाकसँग कान पनि जोडिएकाले कान कम सुन्ने, दुख्ने समस्या अहिले बढेको देखिन्छ,’ उनले भनिन्, ‘यसले पहिलेदेखि समस्या भएका बिरामीलाई पनि असर गरिरहेको छ ।’

मातृका आई सेन्टरका आँखारोग विशेषज्ञ डा. शाश्वत ढुंगेलले पनि पछिल्लो एक सातादेखि उपचारका लागि आउने ५० प्रतिशत बिरामीमा प्रदूषणसँग सम्बन्धित समस्या देखिएको दाबी गरे । ‘अहिले आँखा रातो भएर पोल्ने समस्या बढेको छ । आँखा पोल्ने र थाक्यो भन्नेहरूमा प्रदूषणले गरेर झन् गाह्रो बनाएको देखिन्छ,’ उनले भने, ‘अहिले एकदमै छिटो आँखा थाक्ने, आँसु बग्ने, धूलोले गर्दा हेर्न नसक्ने, टाउको दुख्ने भइरहेको छ । यस बेला धूवाँ र धूलोका कणमा नानीमा बस्यो भने आँखा कोतरेर संक्रमण हुन सक्छ । जटिल अवस्थामा आँखाको दृष्टि पनि जान सक्छ ।’

यसरी समस्या लिएर आउनेमा बालबच्चा र वयस्क छन् । यी समस्याबाट बच्न बिहान सफा पानी लिएर आँखालाई हलुकासँग सफा गर्ने र आई ड्रप लगाउन उनी सुझाउँछन् । ‘अहिले सबै जना स्क्रिनमा बसेर काम गर्ने हुन्छन् । बिहानदेखि बेलुकासम्म काम र घरमा स्क्रिन हेरिने भएकाले प्रदूषणका बेला आँखालाई गाह्रो हुन्छ,’ उनले भने । यस्तो बेला आँखालाई जोगाउने, राम्रो हावा भएको ठाउँमा बस्ने, बाहिर निस्कँदा चस्मा लगाउने, धूलो–धूवाँबाट सकेसम्म बच्ने, राम्रो भेन्टिलेसन भएको र एयर प्युरिफायर भएको घरमा बस्न उनको सुझाव छ ।

देशकै राजधानी प्रदूषित बनिरहँदा सरकारसँग यसलाई तत्काल कम गर्ने कुनै उपाय देखिँदैन । वन तथा वातावरण मन्त्रालयका सचिव दीपककुमार खरालले दीर्घकालीन योजना बनाएर आगामी वर्षदेखि कम गर्न सकिने बताए । ‘वन क्षेत्रमा आगलागी, अन्नबाली अवशेषमा लागेको आगलागी, उपत्यकामा केही उद्योग, इँटाभट्टा र यातायात क्षेत्र, बाटो बिग्रेका कारण प्रदूषण बढ्यो,’ उनले भने, ‘आज नै केही गरेर तुरुन्त निकास गर्ने उपाय छैन । यो विगतदेखिकै समस्या हो । हावा राम्रोसँग चलेको छैन र पानी परेको छैन । यसले अझ प्रदूषण बढायो ।’ वायु प्रदूषण कम गर्न नेपाल, भारत र पाकिस्तान तीनै सरकार मिलेर काम गर्नुपर्ने उनको भनाइ छ । हरेक वर्ष दक्षिण एसियामा वायु प्रदूषणको समस्या देखिएकाले तीन देशका सरकार मिलेर दीर्घकालीन समाधान सोच्नुपर्ने खरालले बताए ।

काठमाडौंको वायु लगातार प्रदूषित बनेपछि वातावरण विभागले बुधबार सूचना सार्वजनिक गर्दै घरबाहिर निस्कँदा अनिवार्य मास्क प्रयोग गर्न र प्रदूषण उच्च भएको समयमा घरबाहिर ननिस्कन अनुरोधसमेत गरेको छ । वृद्ध, बालबच्चा, दीर्घरोगी र गर्भवती महिलालाई सुरक्षित रहन सूचित गरेको छ । साथै प्रदूषण बढाउने गतिविधिसमेत नगर्न विभागले सूचनामा उल्लेख गरेको छ ।

२५ करोड तस्करीमा राजनीतिक ‘कनेक्सन’

Highlights

  • ०७४ मा माओवादीबाट भोटेकोशी गाउँपालिका अध्यक्षमा निर्वाचित राजकुमार पौडेल त्यतिबेला १५ किलो सुन तस्करीका आरोपी थिए, अहिले उनका दाइ तथा माओवादी कार्यकर्ता नारायण पौडेल युरो र अमेरिकी डलर तस्करीमा संलग्न भएको खुलासा
  • २५ करोड तस्करीका मुख्य योजनाकार सिन्धुपाल्चोकका माओवादी कार्यकर्ता नारायण पौडेल, तस्करीमा राजस्वले अनुसन्धान गरिरहेको छ भने उनी फरार छन्

काठमाडौँ — काठमाडौंको टोखाबाट बरामद करिब २५ करोड रुपैयाँ बराबरका विदेशी मुद्रा तस्करीमा राजनीतिक ‘कनेक्सन’ देखिएको छ । युरो र अमेरिकी डलर तस्करीको अनुसन्धानमा सिन्धुपाल्चोकका माओवादी कार्यकर्ता नारायण पौडेल तानिएका छन् ।

उनका भाइ तथा ०७४ मा माओवादीबाट भोटेकोशी गाउँपालिका अध्यक्षमा निर्वाचित राजकुमार पौडेल पनि त्यतिबेला १५ किलो सुन तस्करीका आरोपी थिए ।

पौडेलका चार जना दाजुभाइ रहेकामा सबै कुनै न कुनै काण्डमा जोडिएका छन् । कोही सुन तस्करी, कोही हुन्डी, कोही विदेशी मुद्रा र कोही रक्तचन्दन तस्करीमा मुछिएका छन् । भाइ राजकुमार ०७४ मा भोटेकोशी गाउँपालिका अध्यक्षमा निर्वाचित भएलगत्तै १५ किलो सुन तस्करीमा मुछिएपछि फरार भएका थिए । पछि धरौटीमा छुटेका उनी ०७९ को चुनावमा भने उनी कांग्रेस उम्मेदवारसँग पराजित भए ।

दाजु बच्चु पौडेल हुन्डी कारोबारमा पटक–पटक प्रहरी अनुसन्धानको घेरामा परेका शंकास्पद व्यक्ति हुन् । जेठा दाजु ध्रुव भोटेकोशीकै फुल्पिङकट्टीबाट ०५४ मा गाविस अध्यक्ष निर्वाचित भएका थिए । ०६९ तिर रक्तचन्दन कारोबारमा जोडिएका उनी पक्राउपछि छुटेका थिए ।

ट्रकको ‘फल्स बटम’मा लुकाएर स्थल नाका हुँदै रसुवागढीबाट चीनको केरुङतर्फ तस्करी गर्न लागिएको १३ लाख ६९ हजार १ सय ५० युरो र ३ लाख २० हजार ८ सय ५० अमेरिकी डलरसहित चैत ४ मा कुसाङ लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो । बरामद विदेशी मुद्रा र ना ७ ख १६५२ नम्बरको ट्रकसहित लामालाई प्रहरीले राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको थियो ।

तस्करीका मुख्य योजनाकार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका घर भई हाल काठमाडौं बस्दै आएका माओवादी नेता पौडेल भएको अनुसन्धानका क्रममा खुलेको हो । लामा र पौडेलबीच पटक–पटक भएको फोन सम्पर्कको आधारमा पौडेलको संलग्नता पुष्टि भएको हो । युरो र डलर बरामद भएलगत्तै पौडेल सम्पर्कविहीन भएका छन् । पौडेलविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरे बताउँछन् ।

घिमिरेका अनुसार भोटेकोशी–४ स्थायी घर भई टोखा–१० महादेवटार बस्ने पौडेल उक्त विदेशी मुद्रा चीन पठाउने तयारीमा थिए । ‘अहिलेसम्मको अनुसन्धानमा विदेशी मुद्राका मालिक पौडेल नै भएको खुल्न आएको छ,’ घिमिरेले भने, ‘मोबाइल कल, पैसा बोकेको गाडीको मुभमेन्ट र गोप्य स्रोतबाट आएका विवरणका आधारमा हामीले मुख्य मालिक पहिचान गरेका हौं, उनलाई पक्राउ गर्न अदालतबाट आइतबार पुर्जी जारी भइसकेको छ ।’

अनुसन्धानका क्रममा लामाले बरामद ट्रक भाइले किन्दिएको बताएका थिए । उनले अनुसन्धानमा असहयोग गरेपछि उनको मोबाइल फरेन्सिक जाँचका लागि पठाइएको थियो । त्यसपछि मात्र माओवादी कार्यकर्ता पौडेलसँग तस्करीबारे भएका विवरण फेला परेका हुन् ।

पौडेल र लामा दुवै जनाको घर भोटेकोशी हो । लामा भोटेकोशी गाउँपालिका–१ का निवासी हुन् । लामाको खातामा शंकास्पद रूपमा विभिन्न मितिमा नगद जम्मा गरेको पनि भेटिएको छ । यो रकम तस्करीमा भरिया र चालकका रूपमा प्रयोग भएबापत पाएको हुन सक्ने अनुसन्धानमा संलग्न अधिकारीहरूको भनाइ छ ।

परिवारसहित लामा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२ मा डेरामा बस्दै आएका थिए । खुलासा भएपछि विभागले पौडेलको टोखास्थित घरलगायतका ठाउँमा तलासी गरेको थियो । ‘तर, उनी घरमा एक कामदारलाई राखेर फरार भइसकेछन्,’ घिमिरे भन्छन् ।

पौडेलका अरू तीन दाजुभाइको विगत पनि विवादास्पद र तस्करीको नेटवर्कसँग जाडिएको देखिन्छ । ‘सत्ता र शक्तिका आडमा उनीहरूमाथि सूक्ष्म अनुसन्धान गर्न विगतदेखि नै बारम्बार अवरोध र व्यवधान हुँदै आएको छ,’ एक प्रहरी अधिकृत भन्छन्, ‘यस पटक पनि विगतकै नियति नदोहोरिएला भन्न सकिँदैन ।’

०७४ भदौ १४ मा १५ किलो सुनसहित भरिया पेम्बादोर्जे शेर्पा पक्राउ परेको सीआईबीको अभिलेखमा देखिन्छ । शेर्पाले २ किलो सुन जनकपुर गइसकेको बयान दिएपछि सीआईबीले १ किलो सुनसहित धनुषाबाट दीपक साहलाई पक्राउ गरेको थियो । त्यसबेला सीआईबीका अधिकृतसँग साहले १ किलो भारत पुगेको र बाँकी १ किलो मात्र आफूसँग भएको बयान दिएका थिए । तत्काल फरार भएका राजकुमार आफ्नै घरमा काम गर्न राखेका एक युवालाई देखाएर उनी उम्किएका थिए ।

चीनबाट २२ किलो सुन भित्र्याए पनि टोखाबाट १५ किलो मात्र बरामद भएको, पछि थप १ किलो धनुषाबाट बरामद गरिएको र बाँकी सुन भारत पुर्‍याएको अनुसन्धानबाट खुलेकोमा यो गिरोहका नाइके उनै राजकुमार भएको खुलेको थियो । उक्त घटनाको ७ वर्षपछि टोखाबाटै राजकुमारका दाइ नारायणले रसुवागढी नाका हुँदै २५ करोड रुपैयाँ बराबरका युरो र अमेरिकी डलर चीन तस्करी गर्न लागेको खुलासा भएको हो ।

हाल डलर तस्करीमा फरार रहेका नारायण ०४८/४९ बाटै खासाबाट कपडाको व्यापार गर्थे । त्यसकै आडमा तस्करीको नेटवर्कमा छिरेर अरू धन्दामा उनको सक्रियता बढेको अनुसन्धान स्रोत बताउँछ । ‘आवरणमा व्यापार भए पनि तस्करी धन्दामा सक्रिय रहेकै कारण ठूलो पैसा कमाए, पैसाकै बलमा नेता–कर्मचारी, प्रहरी र अरू राज्यसंयन्त्रलाई प्रभावित बनाएर शक्तिकेन्द्र आफ्नो पकडमा राख्ने गरेको देखिन्छ,’ विगतमा उनको धन्दाबारे जानकार एक प्रहरी अधिकृत भन्छन् ।

धरौटी बुझाउन नसकेर ५ वर्ष जेल बसेका थिए डलर तस्करीका भरिया लामा

‘फुच्चे’ भनिने कुसाङ लामा यसअघि अवैध सुन तस्करीको मुद्दामा धरौटी बुझाउन नसकेर थप चार वर्ष जेल बसेका थिए । ०७३ पुस १३ मा बा ८ च ७४२० नम्बरको टोयोटा हाइलक्स गाडीको एयर फिल्टरभित्र ७ किलो सुनसहित उनी पक्राउ परेका थिए । काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजेन्द्र शर्मा सापकोटाको इजलासले ०७४ असार २६ मा ३ करोड १६ लाख २६ हजार रुपैयाँ जरिवाना र एक वर्ष कैद फैसला सुनाएको थियो ।

तोकेको जरिवाना तिर्न नसकेपछि उनले पाँच वर्ष जेल बस्नुपरेको थियो । लामाले त्यसबेला अदालतमा दिएको बयानमा सुन भेटिएको गाडी आफूले १५ दिनअघि मात्र चलाउन सुरु गरेको बताएका थिए । उनले अदालती बयानमा भनेका थिए, ‘गाडी इन्द्रलाल श्रेष्ठको हो, निज साहुलाई मासिक ७० हजार भाडा दिने गरी चलाएको हुँ । बरामद सुन चाइनाबाट केरुङसम्म भोटेले ल्याई मलाई काठमाडौं लगिदिनु भनी पठाएको थियो ।’

लामाले अदालतमा रसुवाको नाम–थर थाहा नभएको र चाइना जान पाउने ड्राइभरले ल्याएको बताएका थिए । उनले बयानमा भनेका थिए, ‘टिमुरेबाट उक्त सुन निकाली मैले चलाएको बा ८ च ७४२० नं.को गाडीमा राखी काठमाडौं लिएर आएको थिएँ ।’

अदालती बयानमा उक्त सुन काठमाडौं स्वयम्भूमा निजले फोन गरेपछि दिने कुरा भएको र सुन ल्याएबापत एक लाख २० हजार रुपैयाँ पाउने भनिएको बताएका थिए । बयानमा नै लामाले भनेका थिए, ‘उक्त सुन मेरो होइन, सो सुन खरिदको कुनै प्रमाण छैन, म भरिया मात्र हुँ ।’ तर अदालतले गाडीसँगै लामाबाट ७ किलो सुन बरामद भएको तर सुन कसको हो भन्ने खुलाउन नसकेका कारण उसलाई दोषी ठहर गरेको थियो ।

सापकोटाको फैसलामा भोटेले दिएको सामान निजको गाडीको एयर फिल्टरमा लुकाई ओसारपसार गरेको देखिन आएको अवस्थामा कसैको नजर नपर्ने स्थानमा सामान गाडीको एअर फिल्टरमा राख्नुपर्ने उपयुक्त आधार पनि प्रतिवादीले खुलाउन नसकेको उल्लेख छ ।

फैसलामा सामान ल्याएबापत १ लाखभन्दा बढी रकम पाउने भन्ने तथ्यले पनि निजले सुन हो भन्ने थाहा नपाई ल्याएको होला भन्न नसकिने भन्दै दोषी ठहर गरिएको थियो । जेलबाट छुटेपछि पनि लामाले पुनः सुन तस्करीमा भरिया र चालकका रूपमा काम गरिरहेको प्रहरीका अनुसन्धान अधिकृत बताउँछन् ।

तीन क्विन्टल गाँजासहित धनकुटामा एक पक्राउ

धनकुटा — धनकुटाको साँगुरीगढी गाउँपालिका-६, काम्फेकस्थित भेडेटार रवि-राँके सडकखण्डबाट प्रहरीले तीन क्विन्टल गाँजासहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।

मंगलबार राति जाँचका क्रममा को १ च ३४७८ नम्बरको कारबाट उक्त परिमाणको गाँजा बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले जाँच गर्दा कारभित्र कालो प्लास्टिकले बेरेर पोका पारेको १० पोका गाँजा बरामद गरेको जनाइएको छ ।

३० केजीको दरमा दस वटा पोकामा लुकाएर राखिएको अवस्थामा गाँजा फेला परेको इलाका प्रहरी कार्यालय भेडेटारका इन्चार्ज रमेश प्रधानले बताए ।

गाँजासहित कारमा सवार मोरङ जिल्ला विराटनगर महाननगरपालिका १५ का २६ वर्षीय प्रिन्सकुमार साहलाई नियन्त्रणमा लिइएको छ । कार चालक फरार रहेकोले खोजतलास भइरहेको प्रहरीको भनाइ छ।

६१ दिने हिउँदे अधिवेशन : १० विधेयक पारित, १३ अलपत्र

Highlights

  • हिउँदे अधिवेशन २५ दिन चल्दा २७ बैठक
  • संघीयता कार्यान्वयन र जनजीवनसाग जोडिएका विधेयक थाती

काठमाडौँ — संघीय संसद्को ६१ दिने हिउँदे अधिवेशन २५ दिन चल्दा २७ वटा बैठक गरी मंगलबार अन्त्य भएको छ । विधेयक अधिवेशनका रूपमा लिइने यो हिउँदे अधिवेशनमा प्रतिनिधिसभाबाट ११ र राष्ट्रिय सभासहित दुवै सदनबाट १० वटा विधेयक पारित भएका छन् । दुवै सदनबाट पारित ती १० विधेयकमध्ये ९ वटा राष्ट्रपतिबाट प्रमाणीकरण भई कानुन बनेका छन् ।

दुवै सदनबाट पारित भए पनि एउटा विधेयक भने सभामुखबाट प्रमाणीकरणका लागि राष्ट्रपतिलाई पठाउने प्रक्रियामै अल्झेको छ ।

यो अधिवेशनले १३ विधेयकलाई भने अलपत्रै अवस्थामा छाडेको छ । संघीयता कार्यान्वयन र प्रत्यक्ष जनसरोकारमा रहेका महत्त्वपूर्ण विधेयक पनि यो अधिवेशनबाट पारित हुन सकेनन् । अधिवेशन सुरु हुनुभन्दा केही पहिले सरकारले ल्याएका ६ अध्यादेशमध्ये ५ वटालाई संसद्ले कानुनमा परिणत गर्‍यो ।

सत्ता गठबन्धनमा रहेको जसपा नेपालले आपत्ति जनाएपछि भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेश भने स्वतः निष्क्रिय भएको छ । पाँच वटा विधेयक भने अध्यादेश प्रतिस्थापन गर्न ल्याइएका थिए ।

‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह’, ‘सहकारीसम्बन्धी’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व’, ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि’ र ‘निजीकरण’ ऐनहरू संशोधन गर्न ल्याइएका विधेयक पारित भएर कानुन बनेका छन् ।

ती अध्यादेश प्रतिस्थापनबाहेक सरकारले नियमित प्रक्रियाबाट ल्याएका ४ वटा विधेयक पनि पारित भएर कानुन बनेका छन् । जसमा ‘सुरक्षित कारोबार’, ‘विद्युतीय व्यापार (ई–कमर्स)’, ‘विधायनसम्बन्धी व्यवस्था’ र ‘भ्रष्टाचार निवारण’ विधेयक हुन् ।

दुवै सदनबाट पारित भए पनि ‘बैंकिङ कसुर तथा सजाय विधेयक’ राष्ट्रपतिबाट प्रमाणीकरण हुन सकेको छैन । संसद् सचिवालयका अनुसार एक/दुई दिनमै सभामुखले प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाउने तयारी छ । प्रमाणीकरणपछि बन्ने बैंकिङ कसुर तथा सजायसम्बन्धी कानुन पनि यो अधिवेशनकै उपलब्धि हुनेछ ।

एमालेका मुख्य सचेतक महेश बर्तौला हिउँदे अधिवेशन उपलब्धिमूलक रहेको बताउँछन् । ‘लामो समयदेखि संसद् र समितिमा विचाराधीन विधेयकलाई प्रक्रियामा लगेर निर्णायक तहमा पुर्‍याइएको छ,’ उनी भन्छन् । विपक्षी दलबाट असहयोग हुँदा पनि कानुन निर्माणका हिसाबले समीक्षा गर्दा अधिवेशन सफल भएको बर्तौलाको दाबी छ ।

‘संघीय संसद्का पछिल्ला चार अधिवेशनले जम्मा ११ वटा विधेयक पारित गरेको थियो, तर योपल्ट एकै अधिवेशनमा प्रतिनिधिसभाबाट ११ विधेयक पारित भए भने दुवै सदनबाट १० विधेयक पारित भए, जसमा प्रमाणीकरण भएर ९ वटा विधेयकले कानुनको रूप लिएका छन्,’ उनी भन्छन्, ‘थप ४ विधेयकका प्रतिवेदन संसद्मा पुगेका छन्, दुई महिनाको अवधिमा विपक्षीको अवरोधका बीच पनि परिणाम निस्किन सफल भएको छ ।’ विद्यालय शिक्षा र संघीय निजामती विधेयक आगामी बजेट अधिवेशनमा पारित हुने गरी काम भइरहेको पनि बर्तौलाको भनाइ छ ।

कांग्रेस सहमहामन्त्रीसमेत रहेका सांसद जीवन परियार कानुन निर्माणसँगै सरकारलाई जवाफदेही बनाउने मामिलामा पाँचौं अधिवेशन सफल रहेको बताउँछन् । ‘ठूलो संख्यामा लामो समयदेखि विचाराधीन विधेयक थिए, तिनलाई तदारुकताका साथ पारित गर्न मिहिनेत गरेका छौं, धेरै विधेयक पारित भएका छन्, त्यो उपलब्धिमूलक रह्यो,’ उनी भन्छन्, ‘यस अधिवेशनमार्फत हामीले सरकारलाई पनि ध्यानाकर्षण गराउने र विविध विषयमा जवाफदेही बनाउने लगायतका महत्त्वपूर्ण काम गरेका छौं ।’

कानुन निर्माणका सन्दर्भमा विधेयक अधिवेशन उपलब्धिमूलक रहेको प्रमुख प्रतिपक्षी माओवादीका सचिव तथा सांसद देवेन्द्र पौडेलको समेत भनाइ छ । ‘कानुन निर्माणका हिसाबले प्रगति देखिन्छ, तर संसद्मा सरकारको प्रस्तुति र जवाफदेहिता कमजोर महसुस भयो,’ उनी भन्छन्, ‘प्रधानमन्त्रीलाई प्रश्न सोध्ने कार्यक्रम दुई पटक भयो, तर प्रधानमन्त्रीले सांसदलाई नै प्रश्न सोध्नुभयो । सरकारको भूमिका समस्या समाधान गर्ने हो, तर त्यो हुन सकेन । बहुमत छ भनेर कतिपय जायज कुरा पनि स्वीकार गरिएन ।’

सरकारले अर्थतन्त्रसँग जोडिएका कानुन पारित गराउनमा जोड दिए पनि जनतासँग जोडिएका विधेयक पारित गर्न पहल नगरेको आरोप पौडेलको छ । ‘वन, भूमि, निजामती, विद्यालयलगायतका विधेयक पारित गराउन चासो राखिएन, तर बिचौलियाका कुरा सुनेर अर्थतन्त्रसँग सम्बन्धित विधेयक पारित गर्न जोडबल गरियो । जनतासँग जोडिएका, संघीयता कार्यान्वयन र तीन तहको सरकार सबलीकरण गर्ने तथा प्रदेश र स्थानीय तहसँगको क्षेत्राधिकार स्पष्ट गर्ने कानुन निर्माण अझै पनि अल्झिएका छन् ।’

हिउँदे अधिवेशनको सुरुवात नै नियन्त्रणमुखी भएको गुनासो रास्वपा सांसद सोविता गौतमको छ । ‘यो अधिवेशनमा नियन्त्रणमुखी कार्य भए, कार्यपालिकाले सभामुख र सभामुखले विपक्षी साना दललाई नियन्त्रण गर्नुभयो, सांसदको आवाज संकुचित गरियो,’ गौतम भन्छिन्,

‘दुई ठूला दलको गठबन्धनले गर्दा संसद्मा बलियो प्रतिपक्षको अभाव हुँदा र प्रतिपक्षमा रहेका दल पनि एउटै एजेन्डामा आउन सक्ने अवस्था भएन, साना दलले उठाएका कुरा सभामुखले पेलेर अगाडि बढ्नुभयो । अधिवेशनको पहिलो बैठकमा नै रास्वपाले उभिएर विरोध गर्दा सभामुखले पेलेरै अगाडि बढ्नुभयो । सरकार पनि संसद्प्रति जवाफदेही देखिएन । सांसदले मन्त्रीका लागि प्रश्न बुझाएका थियौं, तर जवाफ आएन ।’

पूर्वकानुनमन्त्री एवं नेपाल कानुन आयोगका पूर्वअध्यक्ष माधव पौडेल कानुन निर्माणमा आशाजनक काम हुन नसकेको बताउँछन् । कानुन विज्ञका रूपमा विधेयक निर्माणमा सहभागी हँॅदै आएका उनी विधेयक पारित गर्ने सन्दर्भमा संसद् र सरकार उदासीन रहेको ठान्छन् । २०७९ मा निर्वाचित प्रतिनिधिसभाका पछिल्ला चारवटा अधिवेशनको तुलनामा यो अधिवेशन कानुन निर्माणमा राम्रो रहे पनि अझै आवश्यकता र अपेक्षा पूरा गर्न भने सफल नभएको उनको आरोप छ । ‘अपेक्षा गरिएका निजामती सेवा, विद्यालय शिक्षा, नागरिक उड्डयन प्राधिकरण र प्रहरीसम्बन्धी ऐनमा उपलब्धि हुन सकेन,’ उनी भन्छन् ।

दुवै सदनबाट पारित १० विधेयक

  • सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐन संशोधन
  • सहकारीसम्बन्धी केही नेपाल ऐन संशोधन
  • आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ संशोधन
  • आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐन संशोधन
  • निजीकरण ऐन, २०५० संशोधन
  • सुरक्षित कारोबार ऐन, २०६३ संशोधन
  • विद्युतीय व्यापार (ई–कमर्स)
  • विधायनसम्बन्धी व्यवस्था
  • भ्रष्टाचार निवारण ऐन, २०५९ संशोधन
  • बैंकिङ कसुर तथा सजाय (राष्ट्रपतिबाट प्रमाणीकरण बाँकी)

अलपत्र १३ विधेयक

  • संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०
  • निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८०
  • भन्सार विधेयक, २०८०
  • नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१
  • नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१
  • नेपाल प्रहरी विधेयक, २०८१
  • सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१
  • निकासी पैठारी (नियमन) विधेयक, २०८१
  • विद्यालय शिक्षा विधेयक, २०८०
  • विद्युत् विधेयक, २०८०
  • संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक
  • सामाजिक सञ्जाल विधेयक, २०८१
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६

गुजरातको पटाका उद्योगमा विस्फोट, कम्तीमा १८ जनाको मृत्यु

गान्धीनगर — भारतको गुजरात राज्यस्थित पटा उद्योग र गोदाममा मंगलबार भएको विस्फोटमा कम्तीमा १८ जनाको ज्यान गएको छ । घटनामा ५ जना घाइते भएका भारतीय सञ्चार माध्यहरूले जनाएका छन् ।

 

मृतकमध्ये अधिकांश उद्योगका कामदार छन् । गुजरात राज्यको बनासकाँठा जिल्लाको डिसा नगरको दीपक ट्रेडर्समा भएको घटनामा उद्योगको केही भाग भत्किएको र कैयौं मानिसहरू फसेको बताइएको छ । उद्योगमा विस्फोटलगत्तै आगलागी फैलिएको थियो ।

प्रहरीका अनुसार घटनामा सुरूमा ६ जनाको मृत्यु भएको खबर आएको थियो । तर आगलागी नियन्त्रणमा आएपछि खोजी गर्दा मृतक संख्या बढेको हो । घटनाका बेला उद्योगमा कति मजदुरहरू उपस्थित थिए भन्ने अझै यकिन हुन सकेको छैन ।

प्रहरी, नगरपालिकाका कर्मचारी र जिल्ला प्रशासनका करिब २ सय जना उद्धारका लागि खटिएका छन् । प्रहरीले घटनाको अनुसन्धान सुरू गरिसकेको जनाएको छ । स्थानीय प्रशासनले आगलागीको कारण र क्षतिको मूल्यांकन गरिरहेको छ । गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलले दुर्घटनाका पीडितलाई क्षतिपूर्तीको घोषणा गरेका छन् ।

भारतमा पटाका कारखाना र गोदामहरूमा सुरक्षाका मापदण्डहरू बेवास्ता गरिने भएकाले यस्ता दुर्घटना बारम्बार भइरहेका छन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार त्यस्ता घटनामा वर्सेनी सयौंले ज्यान गुमाउने गरेका छन् ।

म आफूलाई सुधार्न चाहन्छु : दुर्गेश थापा [अन्तर्वार्ता]

Highlights

  • दुस्मन हरेक व्यक्तिको, हरेक व्यापारीको हुन्छ, दुस्मन नभएको मान्छे हुँदैन होला
  • दुस्मनले हेरिरहेका बेला प्रगति गर्न अझ मज्जा आउँछ
  • कहिलेकाहीँ म अरू कसैको गीत गाउन सकिरहेको हुँदिनँ किनकि ममा त्यो खोज्ने होइन, ममा दुर्गेश थापा खोज्नुपर्‍यो

काठमाडौँ — दुर्गेश थापा आफूलाई गायक कम, पर्फमर बढी मान्छन् । पछिल्लो समय उनको गीत ‘दुस्मन हेरेको हेर्‍यै’ ग्लोबलको ट्रेन्डिङमा छ । अहिलेसम्म ५ करोडभन्दा बढी पटक हेरिएको यो गीत सामाजिक सञ्जालमा छोटाछोटा रिल्स र सर्टस्‌मा मात्रै छैन, मान्छेका बोलीचालीमै झुन्डिएको छ । राजनीतिक सभा होस् कि सम्मेलन, कर्न्सट होस् कि चुनावी र्‍याली अथवा संसद्‌मा हुने घोचपेच जहीँतहीँ दुर्गेशकै गीतको कुनै न कुनै अन्तरा गुन्जिएकै छ । देशैभरका कर्न्सटमा भ्याइनभ्याई भएर कुदिरहेका उनै दुर्गेशसँग कान्तिपुरका समर्पण श्रीले गरेको कुराकानीमा सम्पादित अंश :

अहिले तपाईंको व्यस्तता कस्तो छ ?
गीत सँगसँगै व्यस्तता पनि बढिहाल्छ । पहिलाभन्दा धेरै व्यस्त छु । समय व्यवस्थापन गर्न एकदम गाह्रो भइरहेको छ ।

कति समय भयो व्यस्तता बढेको ?
‘दुस्मन हेरेको हेर्‍यै’ पछि महोत्सव, स्टेज कार्यक्रममा निकै निमन्त्रणा आइरहेछ । विवाह पार्टीदेखि अन्तर्राष्ट्रिय कार्यक्रमसम्म । कतिले मलाई विदेशबाट भिडियो पठाउनुहुन्छ ‘मेरो छोरीले नेपाली त्यति बोल्दिन । यो गीतचाहिँ यसरी गाउँछ’ भन्दै । खुसी लागिरहेको छ ।

बीचमा एसईईका परीक्षार्थीलाई लक्षित गर्दै आफ्नो कन्सर्ट स्थगित गर्नुभयो । तपाईंसँग पाइपलाइनमा अहिले कति कार्यक्रम छन् ?
एसईईको समयमा करिब १६ कार्यक्रम थिए । मैले लिइनँ । बालबालिकाहरू फ्यान भएकाले वरिपरि मेला महोत्सव लागेकाले उहाँहरूको ध्यान त्यतै हुन सक्छ भनेर मैले क्यान्सिल गरेँ । अहिले मैले ‘वान डे इभेन्ट’ गरिरहेको छु । अस्ति रंगशालामा गरेँ । अब च्यासलमा गर्दै छु । हायातमा मेरो ब्यान्ड शो हुँदै छ । त्यहाँ मेरो सिंगल शो हुनेछ । अस्ट्रेलिया, यूके, अमेरिकालगायत धेरै ठाउँबाट निम्ता आएको छ । समय व्यवस्थापन गर्दै छु । एकदम गाह्रो भइरहेको छ ।

यसअघि पनि तपाईंका गीत ‘भाइरल’ भए । तपाईंको गीत कसरी हिट हुन्छन् ?
बालबालिका, युवादेखि वृद्धवृद्धासम्मलाई मेरो गीतले समेट्छ । मेला महोत्सवमा युवा मात्र आउँछन् भन्ने हुन्न । सबै किसिमका दर्शक आउँछन् । सबैलाई नचाउनुपर्छ । म सबैले टिप्ने खालका शब्द चयन गर्छु ।

तपाईं गीत कसरी लेख्नुहुन्छ ?
कहिले म गाडीमा गुनगुनाउँछु । कुनै शब्द आए रेकर्ड गर्छु । कहिलेकाहीँ घरमा म्युजिक बनाउँछु । म्युजिक बनाउँदा बनाउँदै त्यसमा यो गीत म्याच हुन्छ कि भनेर त्यही गीतमा काम गर्छु । मेरो मुडअनुसार हुन्छ ।

I want to improve myself: Durgesh Thapa [Interview]

तपाईंले गीत बनाउँदा समाजको मनोविज्ञान कसरी नियाल्नुहुन्छ ?
सबैको जीवनमा के चलिरहेको छ, सबैको जीवनमा के महत्वपूर्ण हो, केले चाहिँ जीवनमा धोका दिइरहेको छ, केले जीवनलाई अवरोध गरिरहेको हुन्छ, केले सबैको जीवनलाई फलिफाप बनाइरहेको हुन्छ, ती कुरालाई मध्यनजर गर्छु । दुस्मन हरेक व्यक्तिको, हरेक व्यापारीको हुन्छ । दुस्मन नभएको मान्छे हुँदैन होला । तपाईंकै सेक्टरमा पनि एउटा न एउटा दुस्मन त छ । सबैको सफलतामा डाहा गर्ने दुस्मन हुन्छन् । मेरो दुस्मन छ धेरै, दुश्मन हेरेको हेर्‍यै… दुस्मनले हेरिरहेको बेला प्रगति गर्न अझ मजा आउँछ । दुस्मन भन्दैमा उसलाई गोली हान्ने र काट्ने होइन होइन । प्रगतिसँग भिड्नु पनि दुस्मनसँग भिड्नुसरह हो । त्यसैलाई नै समावेश गरेर यो गीत बनाएको हुँ ।

तपाईंलाई कस्तो कुरामा प्रशंसा र कस्तो कुरामा आलोचना आउँछ ?
मेरो गीतमा छाडापन भयो भने गाली आउँछ । समाज, घर परिवारलाई हुने खालको गीत हुनुपर्छ भन्ने हुन्छ । अहिले कुनै सन्देशमूलक गीत छ भने प्रशंसा आउँछ । पछिल्लो मेरो गीत स्कुलको बिदाइ कार्यक्रम, स्वागत कार्यक्रम, विवाह जहाँ पनि नबजेको ठाउँ छैन होला । मलाई पछिल्लो समय के लाग्यो भने गीतसंगीत भनेको जहाँ पनि जसले पनि सुन्न मिल्ने बनायो भने माया र हौसला आउँछ ।

अघिल्ला गीतमा तपाईंका शब्द अपाच्य भयो भन्ने आलोचना हुन्थे । अहिले तपाईंले रियलाइज गरेर गीत बनाउनुभएको हो ?
हो, पछिल्लो समय यो मान्छेले राम्रो गर्छ, योसँग ट्यालेन्ट छ भन्ने कुरा फिल्मकर्मीहरूले पनि भन्नुभएको छ । भोलि गएर मेरा छोराछोरीले बाले यस्तो गीत गाएको थियो भन्ने नहोस् । उसको बाउले राम्रो गीत गाएको थियो भन्ने होस् । हरेक कुरा समय, उमेर, घर परिवारको जिम्मेवारीले पाको बनाउँदो रहेछ । पछिल्लो समय राम्रै गरौं भन्ने हिसाबले अगाडि बढिरहेको छु । नराम्रो भन्दा राम्रो गर्दा राम्रै हुन्छ जस्तो लाग्छ ।

तपाईं आफूलाई गायक नभई पर्फमर भन्नुहुन्छ नि । किन ?
म गीत गाउनुभन्दा पनि ‘पर्फर्म’ गर्न जन्मिए जस्तो लाग्छ । दर्शक स्रोताले पनि स्वीकार गर्नुहुन्छ । मेला महोत्सवमा आउनेहरूलाई मैले भरपुर मनोरन्जन दिएर पठाउने गर्छु । मलाई त्यही ठाउँमा दोस्रो डिमान्ड पनि भइरहेको हुन्छ । कहिलेकाहीँ मैले कसैको गीत गाउन सकिरहेको हुँदिनँ । किनकि ममा त्यो खोज्ने होइन । ममा दुर्गेश थापा खोज्नुपर्‍यो ।I want to improve myself: Durgesh Thapa [Interview]

कला, सिर्जनाको आयुबारे कुरा गरौं । तपाईंको आफ्नै सिर्जनाको आयु कति हो ? तपाईंका सुरुवाती गीतहरू अहिले रिलेट हुन्छन् कि हुन्नन् ?
सुरुका गीत पनि नराम्रो होइनन् । अहिलेको जेनेरेसनको गीत मेलै पहिल्यै गाएको हो । तर दुस्मनले त्यो गीतलाई पनि रिलेट गरिरहेको छ । दुर्गेश थापाले पहिल्यैदेखि यस्तो खत्रा गीत बनाउँदो रहेछ भन्ने कुरा दर्शकश्रोताले बुझ्दै हुनुहुन्छ । म पहिल्यैदेखि आफ्नो प्याटर्न बनाएर हिँड्थे । आज आएर दुस्मनले मेरो प्याटर्नलाई न्याय दियो जस्तो लाग्छ ।

तपाईंले आफूलाई कठोर आत्मसमीक्षा गर्दा पर्फमर दुर्गेशलाई सुधार्नुपर्‍यो भने के कुरामा सुधार गर्न चाहनुहुन्छ ?
पहिला पहिलाका गीतभन्दा अबका सिर्जना पाच्य खालका हुन् भन्ने चाहन्छु । जहाँ पनि जस्तो अवस्थामा पनि गाउन सकियोस् । सबैका लागि मन पर्ने खालको होस् । म यही कुरालाई सुधार्न चाहन्छु, सुधार्दै पनि आएको छु । अब सायद त्यस्तो हुन्न होला । यो हाइपमा पुगेको मान्छेले पछाडि फर्किनु राम्रो लाग्दैन । हामीलाई हेरेर पहिलेको त्यस्तो मान्छे पनि यस्तो हुँदो रहेछ भनेर अरुले प्रेरणा पाउन् । अब म पछाडि फर्कन चाहन्नँ । कसरी सिर्जना राम्रो गर्ने र सिर्जना राम्रो बनाउने भन्ने मेरो सिद्धान्त हो ।

प्रदूषित सहरको सूचीमा काठमाडौं पहिलो स्थानमा, एक्यूआई २०४ पुग्यो

काठमाडौँ — देशको राजधानी काठमाडौं सहर विश्वकै प्रदूषित सहरको पहिलो स्थानमा उक्लिएको छ । मंगलबार साँझ ७ बजे मापन गरिएको काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) २०४ पुगेको हो ।

 

विश्वको वायु गुण्स्तर मापन गर्ने साइट एयर क्वालिटी एयरको अनुसार दोस्रोमा बंगलादेशको राजधानी ढाका र तेस्रोमा भियतनामको राजधानी हनोई रहेको छ । ढाका र हनोईको एक्यूआई १५१ रहेको छ ।

केही दिनयता काठमाडौंको वायुमण्डल खराब भएसँगै हावा प्रदूषित भएको हो । यसैगरी सोमबार पनि काठमाडौं विश्वको सबैभन्दा प्रदूषित सहरको पहिलो नम्बरमा आएको थियो ।

पर्याप्त वर्षा नहुँदा हिउँदमा काठमाडौं उपत्यकाको आकाश प्रदूषित हुने गर्दछ । ५० सम्मको एक्यूआईलाई सन्तोषजनक र १५० देखि २ सयसम्मलाई अस्वस्थ मानिन्छ ।

स्वस्थ वातावरणका लागि हावामा २.५ माइक्रोनभन्दा सानो व्यास भएका कण (पीएम २.५) को मात्रा प्रतिघनमिटरमा ५ माइक्रोग्राम वा त्यसभन्दा कम हुनुपर्छ । तर, काठमाडौंमा यसको मात्रा अधिकतम १२०.५७ रहेको पाइने गरेको छ । यस्ता कणमा नाइट्रेट्स, सल्फेट, ब्ल्याक कार्बन, एमोनियम र धूलोका कण हुन्छन् जुन स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छन् ।

फिल्ममा कुपोषित पात्रको भूमिकामा रहेका बालकको कुपोषणकै कारण मृत्यु

काठमाडौँ — फिल्म ‘लाज शरणम्’मा कुपोषित बालकको पात्रका रुपमा चित्रण गरिएका १६ वर्षीय बालक विकास केसी वास्तविक जीवनमै कुपोषणको सिकार थिए । फिल्ममा कुपोषणको कारण उक्त पात्रको मृत्यु हुन्छ ।

फिल्ममा उक्त दृश्य सबैभन्दा हृदय विदारक हुन्छ । कुपोषणकै कारण उनको मंगलबार मृत्यु भएको छ । फिल्म निर्माण टिमले उनको मृत्यु भएको सामाजिक सन्जालमार्फत जानकारी दिएको छ । ‘मानवीय संवेदना, व्यक्ति र परिवारको इच्छा तथा यसबाट पर्न सक्ने नकारात्मक असरको विश्लेषणपछि हामीले उहाँलाई चलचित्रमा चित्रण गरेका थियौँ । हामीले उहाँहरुसँग उपचार र परिवारलाई सहयोगको प्रतिबद्धता गरेका थियौँ,’ निर्देशक कुमार कट्टेलले फेसबुकमा लेखेका छन्, ‘जसअनुसार सुटिङपछि तत्काल उहाँको उपचारका लागि ग्रीन सिटी अस्पताल ल्याइयो । ग्रीन सिटी अस्पतालले कान्ति बाल अस्पताल रिफर गर्‍यो । कान्ति बाल अस्पतालले जटिल खालको कुपोषणको उपचार सम्भव नभएको जनाउँदै फिर्ता गरेको थियो ।’

उनले आफूहरूले बालकलाई केही सहयोग गरेको पनि जनाएका छन् ।

भूकम्पपीडितका लागि राहत बोकेर नेपाली सेनाको विमान म्यानमार जाँदै

काठमाडौँ — शुक्रबार गएको शक्तिशालि भूकम्पमा व्यापक जनधनको क्षति पुगेको दक्षिणपूर्वी मुलुक म्यानमारमा नेपालका तर्फबाट मेडिकल राहतसहित नेपाली सेनाको जहाज बुधबार बिहान बंगलादेश हुँदै त्यसतर्फ जाने भएको छ ।

म्यानमारको मध्यक्षेत्रमा ७.७ म्याग्निच्यूडको विनाशकारी भूकम्प गएको थियो । जसमा सोमबारसम्म कम्तीमा २७ सय मानिसको ज्यान गएको र ४५ सय बढी घाइते भएको तथ्यांक सार्वजनिक भएको छ ।

सैनिक प्रवक्ता गौरवकुमार केसीका अनुसार, टर्बोप्रोप इन्जिन भएको सेनाको सीएन–२३५ विमान राहत बोकेर म्यानमार जाने अन्तिम तयारीमा छ । ‘म्यानमानर जाने हवाई रुटअन्तर्गत पर्ने केही मुलुकका आकाशको उडान अनुमति तथा भिसा प्राप्तिको केही काम बाँकी छ । अरु तयारी पूरा भइसकेको छ ।’ उनले म्यानमारमा नेपाली सेनाको जहाज पहिलोपटक जान लागेको बताए । ‘छिमेकी मुलुकहरुमा आइपर्ने प्राकृतिक विपतमा सेनाको जहाज परिचालन भएको सम्भवत: पहिलोपटक हो । त्यसमाथि म्यानमार त पहिलो उडान हुन लागेको हो,’ सहायक रथीसमेत रहेका सैनिक प्रवक्ता केसीले कान्तिपुरसँग भने,‘यो हाम्रो देशका तर्फबाट सोलिडारीटी पनि हो । अर्को कुरा त्यहाँ केही नेपाली भाषी समुदाय पनि रहेकाले पनि हामी सैनिक उडानबाट मेडिकल टिम र सेनाका उद्धारविज्ञहरुसहित १६ जना हाराहारी पठाउँदै छौं ।’

कूटनैतिक उडानका रुपमा सेनाको जहाजलाई मंगलबार नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि अनुमति जारी गरिसकेको स्रोतले बतायो । यो उडानमा सेनाका पाइलट सहायक रथी रामसुन्दर बोहोरासहित ५ जना चालकदलको टोली म्यानमार जाँदै छ । जहाजमा १६ जनामध्ये १२ जना सेनाकै मेडिकल टोली रहेका छन् । यो विमान बिहीबार नेपाल फर्किने छ । तर सैनिक मेडिकल र अरु उद्धारकर्मीहरु त्यही रहने छन् ।

सैनिक प्रवक्ता केसीले उक्त टोली कम्तीमा ६ दिन म्यानमारमा उद्धार तथा घाइतेहरुको उपचारमा खटिने बताए । सैनिक विमान उनीहरुलाई चैत २६ गते पुन काठमाडौंबाट बंगलादेश हुँदै म्यानमार जाने भनिएको छ ।

लोकप्रिय