Highlights
कास्की — सिक्लेसकी हुमकुमारी गुरुङ गाउँकै अन्नपूर्ण माविमा पढाउँछिन् । यसबाहेक गाउँमा उनको अर्को परिचय छ– ‘म्युजियमकी अध्यक्ष’ । सिक्लेसमा गुरुङ समुदायको रहनसहन, संस्कृति र परम्परागत सामानले संग्रहालय भरिएको छ । हुमकुमारी यही संग्रहालय व्यवस्थापन उपसमितिकी अध्यक्ष हुन् ।
मादी गाउँपालिका–१ स्थित ‘इको म्युजियम सिक्लेस’ का दुई विशेषता छन् । पहिलो, यहाँ गुरुङ समुदायबारे मसिनो गरेर बुझ्न सकिन्छ । दोस्रो, यो म्युजियम व्यवस्थापनको जिम्मा महिलालाई सुम्पिइएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को सहयोगमा ०७१ वैशाख १ मा म्युजियम स्थापना भएको हो । स्थापनायता हुमकुमारीको नेतृत्वमा गाउँका १५ महिलाले यसको व्यवस्थापनको जिम्मेवारी सम्हाल्दै आएका छन् । संग्रहालय एक्यापअन्तर्गतको संरक्षण क्षेत्र व्यवस्थापन समिति सिक्लेस मातहत छ ।
गाउँका अन्य संस्थाको नेतृत्वमा प्रायः पुरुष बाहुल्य भएकाले संग्रहालयको जिम्मा महिलालाई दिइएको समितिका सचिव गेहेन्द्र गुरुङ बताउँछन् । ‘सिक्लेसका सबै संघसंस्था, समितिमा पुरुषको नेतृत्व, बाहुल्य रह्यो । नयाँ ढंगले जाऔं, महिला वा आमा समूहलाई सञ्चालन गर्न दिऊँ भनेर उपसमिति बनायौं,’ उनी भन्छन्, ‘महिलालाई राखेर व्यवस्थापनमा अगाडि सार्यौं ।’
उपसमितिमा हुमकुमारी, अध्यक्ष, जमुना गुरुङ, उपाध्यक्ष, कृष्टि गुरुङ, सचिव र गेसुबा गुरुङ, कोषाध्यक्ष छन् । यस्तै नन्दकला गुरुङ, हेमादेवी गुरुङ, रूपा गुरुङ, औसुबा गुरुङ, कुस्मा गुरुङ, मेनसुबा गुरुङ, सन्तोषी गुरुङ, मुना गुरुङ, इन्द्रकुमारी गुरुङ, सीता परियार र लिलिमा गुरुङ सदस्यमा छन् ।
१५ जनामध्ये अध्यक्ष हुमकुमारी, उपाध्यक्ष जमुना, कोषाध्यक्ष गेसुबा, सदस्य हेमा, औसुबा, रूपा, नन्दकला, मेनसुबा, कुस्मा त्यतिबेला अन्नपूर्ण माविमा पढाउँथे । शिक्षण पेसामा लागेकाहरू जान्ने–बुझ्ने हुन्छन् भनेर त्यतिबेला संरक्षण क्षेत्र विकास समिति अध्यक्ष मनबहादुर गुरुङ (हालका प्रतिनिधिसभा सदस्य) र गाउँका अगुवाले शिक्षकलाई व्यवस्थापनको जिम्मा दिएका थिए ।
‘सुरुमा समितिमा ८/९ जना शिक्षिका थियौं, अहिले कोही गाउँ बाहिर जानुभयो, समितिमा अब ६ जना शिक्षिका नै छौं,’ अध्यक्ष हुमकुमारी भन्छिन् । समितिको बैठक दुई महिनामा एकपल्ट बस्ने गरेको उनले सुनाइन् । १० वर्षदेखि काम गरेकाले नयाँ समिति बनाउन तीन महिनाअघि एक्यापलाई उनले आग्रह गरेकी थिइन् । तर एक्यापले शिक्षिकाहरू नै समितिमा रहँदा राम्रो भएको भनेर नयाँ नेतृत्व ल्याउन नमानेको उनले सुनाइन् ।
समितिमा रहेका सबै ३० देखि ५० वर्ष उमेर समूहका छन् । संग्रहालयमा परम्परागत नापतौलका सामान तामे माना, तामे पाथी, आने आने (डुङ्ग्रो), धार्नी, तराजु, वाद्यवादनका सामग्री मुरली, बाँसुरी, सारङ्गी, नरसिङ्गा, ढोल पनि राखिएका छन् । रेती (औजारलाई धारिलो बनाउन प्रयोग हुने औजार), स्याँइ (ऊन काट्ने औजार), खुर्पिटो, घन, गुरुङ भान्सा, लामा गुरु पच्यु, घ्याब्री, झ्याम्टा, ढोल, ढ्यांग्रो पहिलो तलामा राखिएको छ ।
गुरुङ समुदायसँग सम्बन्धित करिब ३ सय प्रकारका सामान संग्रहालयमा राखिएको उपसमिति सचिवसमेत रहेकी संग्रहालयकी व्यवस्थापक कृष्टि गुरुङले बताइन् । एक्याप र संरक्षण क्षेत्र व्यवस्थापन समिति सिक्लेसको पहलमा सबै सामग्री गाउँलेबाटै संकलन गरिएको उनले सुनाइन् ।
सिक्लेसका संरक्षणकर्मी डा.चन्द्र गुरुङसहित सवार हेलिकोप्टर ०६३ असोज ७ मा ताप्लेजुङको घुन्सामा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा ज्यान गुमाएका गुरुङ र मिङ्मा नोर्बु शेर्पाको स्मृतिमा संग्रहालयको दोस्रो तलामा छुट्टै कक्ष बनाइएको छ ।
त्यहाँ उनीहरूले देशविदेशका मञ्चमा सम्बोधन गर्दाका, घुमफिर, उच्चपदस्थ अधिकारीसँग भेटघाट गर्दाका तस्बिर र राहदानी राखिएका छन् । गुरुङको परिवारसँग समन्वय गरेर उनले प्रयोग गरेका कपडा, क्यामरा, उनका कविता र गीत, पाएका अवार्ड पनि संग्रहालयमा राखिएको छ ।
मादी गाउँपालिकाभर पाइने पुतली पनि संग्रह गरिएका छन् । सिक्लेस भ्रमणमा आउनेमध्ये संग्रहालय अवलोकन गर्न धेरैजसो विद्यार्थी पुग्ने गरेको व्यवस्थापक गुरुङले बताइन् । ‘नयाँ पुस्ताले पुरानो सामान देखेको छैन, म्युजियममा हामीले ती सामान जोगाएर राखेका छौं,’ उनले भनिन् ।
संग्रहालय भएको घर २३ वर्षअघि एक्यापले बनाएको हो । त्यहाँ एक्यापको बैठक, फोटो प्रदर्शनी, वृत्तचित्र र फिल्म प्रदर्शनी हुन्थ्यो । संरक्षण क्षेत्र व्यवस्थापन समितिको योजनाअनुसार त्यही घरलाई ०७१ मा संग्रहालयको स्वरूप दिइएको हो ।
एक्यापले वार्षिक मर्मत सम्भारका लागि बजेट विनियोजन गर्छ । त्यसबाहेक संग्रहालय प्रवेशबापत संकलन हुने शुल्कबाट अन्य खर्च गरिने व्यवस्थापक कृष्टिले सुनाइन् । चालु आर्थिक वर्षमा एक्यापले रङरोगनका लागि १ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ । उक्त बजेटबाट संग्रहालय भवन रङरोगनको काम भइरहेको उनले बताइन् ।
संग्रहालय अवलोकन गर्न विदेशीलाई १५०, नेपालीलाई ५० र विद्यार्थीलाई ३० रुपैयाँ शुल्क लिइन्छ । गुरुङ पोसाक पहिरिएर तस्बिर खिच्न पर्यटक संग्रहालयसम्म पुग्छन् । गुरुङ पहिरन लगाएबापत १५० रुपैयाँ लिइन्छ । चालु आर्थिक वर्षको फागुसम्म २ हजार ३९ जनाले संग्रहालय अवलोकन गरेको गुरुङले जानकारी दिइन् । उनका अनुसार यो संख्या संग्रहालय स्थापना भएदेखि हालसम्मकै धेरै हो ।
‘१० वर्षमा अहिलेसम्म वर्षभर २ हजार जना आएका थिएनन् । यो वर्ष ८ महिनामै २ हजार जना यहाँ आएका छन्,’ उनले सुनाइन् । गत वर्ष १ हजार ७ सय जनाले संग्रहालय अवलोकन गरेका थिए ।