Highlights
काठमाडौँ — एक सातायता काठमाडौं उपत्यकाको हावा निकै प्रदूषित बनेको छ । हावामा प्रदूषणको मात्रा बढेसँगै अस्पतालमा छाती, आँखा, नाक, कान र घाँटीका बिरामीको चाप पनि ५० प्रतिशतले बढेको सम्बन्धित चिकित्सकले बताएका छन् ।
चार दिनदेखि काठमाडौं उपत्यकाको वायु प्रदूषण २०१ देखि ३०० एक्यूआई (एयर क्वालिटी इन्डेक्स) को बीचमा छ । यो भनेको वायु प्रदूषणको ‘निकै अस्वस्थ’ तह हो । मंगलबार बिहान १०ः४५ देखि ११ः४५ मा काठमाडौंको वायु गुणस्तर ३०० एक्यूआई पुगेको थियो ।
३०१ देखि माथिलाई खतरनाक तह मानिन्छ । बुधबार पनि काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीमा पहिलो स्थानमा छ । बुधबार राति ८ बजे काठमाडौंको वायु प्रदूषण २८७ एक्यूआई पुग्दा विश्वकै प्रदूषित सहर बनेको हो । चैत १७ (आइतबार) मा काठमाडौंको वायु गुणस्तर २११ र चैत १८ (सोमबार) मा २३२ एक्यूआई पुगेको थियो ।
ह्याम्स अस्पतालका छातीरोग विशेषज्ञ डा. राजु पँगेनीका अनुसार प्रदूषणका कारण वृद्ध, श्वासप्रश्वासको समस्या भएका दीर्घरोगी र बालबालिकामा अहिले छातीको समस्या बढेको छ । ‘छाती घ्यार–घ्यार गर्ने समस्या विशेषगरी बालबालिका, वृद्धसँगै सुगर, प्रेसर, मिर्गौला, मुटुसम्बन्धी दीर्घरोगीमा बढिरहेको छ । रोगसँग लड्ने क्षमता कम हुने बिरामीमा प्रदूषणले निमोनिया, सास फेर्न गाह्रो हुने र दम देखिने गरेको छ,’ उनले भने, ‘हाम्रो ओपीडीमा आउने, वार्डमा भर्ना हुने र आईसीयू तथा भेन्टिलेटरमा भएका बिरामीमा पनि वायु प्रदूषणकै कारणले समस्या बढेको जस्तो देखिएको छ ।’
ह्याम्स अस्पतालको २० आईसीयू बेडमध्ये ५० प्रतिशत बिरामीमा छातीसम्बन्धी समस्या देखिएको उनको भनाइ छ । ‘प्रदूषणले हरेक दिन कम्तीमा पनि १५ देखि २० जना छाती रोगसँग सम्बन्धित समस्या भएर आउने गरेका छन्,’ डा. पँगेनीले भने, ‘यसमा अरू समस्या बल्झेर आउने बिरामी छन् । कसैलाई सुगर हुने र त्यसपछि छातीमा संक्रमण भएर भर्ना भएको देखिन्छ । केही निमोनियाका लक्षण देखिएर भर्ना छन् ।’
वायु प्रदूषणले गरेर बिरामी भएको हो या होइन भन्ने ठोस रूपमा मापन गर्ने कुनै आधार नभए पनि अहिले भाइरल इन्फ्लुएन्जासँगै प्रदूषण मुख्य कारकका रूपमा देखिएको उनको दाबी छ । ‘वायु प्रदूषणले शरीरमा के समस्या भयो भनेर हामीले सुगर जाँच गरेजस्तो गरी मापन गर्न सक्दैनौं । यही कारणले हो भनेर खुट्याउन सक्दैनौं । तर अहिले आएका बिरामीमा वायु प्रदूषणको असर पनि छ भनेर दाबी गर्न भने सकिन्छ,’ उनले भने । गत वर्ष जाडो सकिएपछि फागुन र चैत लाग्दा दम, मुटु र मिर्गौलासम्बन्धी बिरामी कम थिए ।
तर यसपालि प्रदूषण बढेकाले बिरामीमा संक्रमण बढेको र चाप पनि उस्तै रहेको उनको भनाइ छ । ‘जाडो मौसममा भाइरल ज्वरोसँगै रुघाखोकी, निमोनिया र दम समस्या देखिन्थे,’ उनले भने, ‘तर, यसपालि जाडो सकेर भाइरल ज्वरो घट्ने बेलामा पनि अझैसम्म संक्रमणको संख्या घटेको देखिँदैन ।’
प्रदूषणले छातीसँग सम्बन्धित मात्र नभई नाक, कान, घाँटी र आँखाका समेत बिरामी बढेको चिकित्सकले बताएका छन् । ‘रुघाखोकी, नाक बन्द हुने, घाँटी खस–खस गर्ने, नाक पोल्ने, नाक सुक्खा हुने, एलर्जी र पिनासको समस्या भएका बिरामी बढिरहेका छन्,’ नाक, कान, घाँटी रोग विशेषज्ञ डा. तुलिका दुबेले भनिन्, ‘वायु प्रदूषणले यस्तो संक्रमण बढ्ने सम्भावना अझ रहन्छ ।’ उनको भनाइमा अहिले सय जनामा ६०–७० प्रतिशत बिरामीमा प्रदूषणकै कारण नाक, कान र घाँटीको समस्या देखिन थालेको छ । ‘नाकसँग कान पनि जोडिएकाले कान कम सुन्ने, दुख्ने समस्या अहिले बढेको देखिन्छ,’ उनले भनिन्, ‘यसले पहिलेदेखि समस्या भएका बिरामीलाई पनि असर गरिरहेको छ ।’
मातृका आई सेन्टरका आँखारोग विशेषज्ञ डा. शाश्वत ढुंगेलले पनि पछिल्लो एक सातादेखि उपचारका लागि आउने ५० प्रतिशत बिरामीमा प्रदूषणसँग सम्बन्धित समस्या देखिएको दाबी गरे । ‘अहिले आँखा रातो भएर पोल्ने समस्या बढेको छ । आँखा पोल्ने र थाक्यो भन्नेहरूमा प्रदूषणले गरेर झन् गाह्रो बनाएको देखिन्छ,’ उनले भने, ‘अहिले एकदमै छिटो आँखा थाक्ने, आँसु बग्ने, धूलोले गर्दा हेर्न नसक्ने, टाउको दुख्ने भइरहेको छ । यस बेला धूवाँ र धूलोका कणमा नानीमा बस्यो भने आँखा कोतरेर संक्रमण हुन सक्छ । जटिल अवस्थामा आँखाको दृष्टि पनि जान सक्छ ।’
यसरी समस्या लिएर आउनेमा बालबच्चा र वयस्क छन् । यी समस्याबाट बच्न बिहान सफा पानी लिएर आँखालाई हलुकासँग सफा गर्ने र आई ड्रप लगाउन उनी सुझाउँछन् । ‘अहिले सबै जना स्क्रिनमा बसेर काम गर्ने हुन्छन् । बिहानदेखि बेलुकासम्म काम र घरमा स्क्रिन हेरिने भएकाले प्रदूषणका बेला आँखालाई गाह्रो हुन्छ,’ उनले भने । यस्तो बेला आँखालाई जोगाउने, राम्रो हावा भएको ठाउँमा बस्ने, बाहिर निस्कँदा चस्मा लगाउने, धूलो–धूवाँबाट सकेसम्म बच्ने, राम्रो भेन्टिलेसन भएको र एयर प्युरिफायर भएको घरमा बस्न उनको सुझाव छ ।
देशकै राजधानी प्रदूषित बनिरहँदा सरकारसँग यसलाई तत्काल कम गर्ने कुनै उपाय देखिँदैन । वन तथा वातावरण मन्त्रालयका सचिव दीपककुमार खरालले दीर्घकालीन योजना बनाएर आगामी वर्षदेखि कम गर्न सकिने बताए । ‘वन क्षेत्रमा आगलागी, अन्नबाली अवशेषमा लागेको आगलागी, उपत्यकामा केही उद्योग, इँटाभट्टा र यातायात क्षेत्र, बाटो बिग्रेका कारण प्रदूषण बढ्यो,’ उनले भने, ‘आज नै केही गरेर तुरुन्त निकास गर्ने उपाय छैन । यो विगतदेखिकै समस्या हो । हावा राम्रोसँग चलेको छैन र पानी परेको छैन । यसले अझ प्रदूषण बढायो ।’ वायु प्रदूषण कम गर्न नेपाल, भारत र पाकिस्तान तीनै सरकार मिलेर काम गर्नुपर्ने उनको भनाइ छ । हरेक वर्ष दक्षिण एसियामा वायु प्रदूषणको समस्या देखिएकाले तीन देशका सरकार मिलेर दीर्घकालीन समाधान सोच्नुपर्ने खरालले बताए ।
काठमाडौंको वायु लगातार प्रदूषित बनेपछि वातावरण विभागले बुधबार सूचना सार्वजनिक गर्दै घरबाहिर निस्कँदा अनिवार्य मास्क प्रयोग गर्न र प्रदूषण उच्च भएको समयमा घरबाहिर ननिस्कन अनुरोधसमेत गरेको छ । वृद्ध, बालबच्चा, दीर्घरोगी र गर्भवती महिलालाई सुरक्षित रहन सूचित गरेको छ । साथै प्रदूषण बढाउने गतिविधिसमेत नगर्न विभागले सूचनामा उल्लेख गरेको छ ।