फोर आइज न्युज
बिहिबार, साउन २, २०८२

This Week

राजनीतिमा उथलपुथल, अर्थतन्त्रमा आशा

कपिलवस्तुको बुद्धभूमि–१०, गगनी गाउँलाई तौलिहवा–बहादुरगन्ज हुलाकी सडकसँग जोड्ने झोलुंगे पुलमा आइतबार साँझ ज्येष्ठ नागरिकलाई गन्तव्यतर्फ डोर्‍याउँदै एक युवक । तस्बिर : मनोज पौडेल/कान्तिपुर

Highlights

  • पुँजी बजार, सरकारको आम्दानी तथा खर्च र अर्थतन्त्रको बाह्य क्षेत्रमा २०८० चैत मसान्तको तुलनामा २०८१ को अन्त्यमा सुधार

काठमाडौँ — नयाँ वर्ष सुरु भएको तीन महिना नबित्दै दुई ठूला दल कांग्रेस र एमालेले बनाएको गठबन्धन सरकारले नौ महिना पार गर्दा पनि राजनीतिमा अझै आशा देखाउन सकेको छैन । विकास, सुशासन र कानुनी सुधारमा उत्साह जगाउने काम भएको छैन । राजनीतिक व्यवस्था र संघीयता सुदृढ गर्न संविधान संशोधनको उद्घोष गरेका दुई दलले त्यसमा गृहकार्य नै थालेका छैनन् ।

आम जनमानसले दैनिक जीवनमा धेरै अनुभूति गर्न नपाए पनि अर्थतन्त्रका प्रायः सूचकमा भने यहीबीचमा सुधार देखिएको छ ।

विदेशी विनिमय सञ्चिति, रेमिट्यान्स, शोधनान्तर, चालु खातालगायत बाह्य सूचकहरू वर्षभरि नै लगातार बलिया बनिरहे । रेमिट्यान्स र विदेशी विनिमय सञ्चितिमा पटक–पटक रेकर्ड बन्यो । पुँजी बजार, सरकारी वित्त अर्थात् सरकारको आम्दानी (राजस्व) र खर्च तथा अर्थतन्त्रको बाह्य क्षेत्रमा २०८० अन्त्यको तुलनामा सुधार देखिएको छ । समग्र आर्थिक स्थिति जनाउने कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को वृद्धिदर पनि गत वर्षकै हाराहारीमा हुने अनुमान छ ।

रेमिट्यान्स आप्रवाह उत्साहजनक छ । २०८० चैत मसान्तसम्म रेमिट्यान्स आप्रवाह ९ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ रहेकामा २०८१ चैत मसान्तमा १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्यांक छ । यसले गर्दा विदेशी विनिमय सञ्चितिमा रेकर्ड कायम भयो । २०८० चैत मसान्तमा १८ खर्ब ७२ अर्ब ८२ करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति रहेकामा २०८१ चैतसम्ममा २४ खर्ब ८ अर्ब २५ करोड रुपैयाँ पुगेको छ ।

राष्ट्र बैंकका अनुसार मुद्रास्फीतिसमेत सीमाभित्रै कायम भएको छ । एक वर्षअघि ४.८२ प्रतिशत रहेको मुद्रास्फीति यसपालि ३.७५ प्रतिशत मात्रै रह्यो । नेप्से परिसूचक ०८० चैतमा २०२५.७० मा बन्द थियो भने ०८१ चैत मसान्तमा २६६२.०८ मा बन्द भएको छ ।

अर्थतन्त्र सुधारका लागि सुझाव दिन पूर्वअर्थ सचिव रामेश्वर खनालको अध्यक्षतामा गठित उच्चस्तरीय सुझाव आयोगले शुक्रबार उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई बुझाएको प्रतिवेदनमा समेत कतिपय सूचक सकारात्मक देखिएको उल्लेख छ । प्रतिवेदनअनुसार आर्थिक वृद्धिदर सुस्त तर क्रमशः बढ्दै गएको छ ।

Turmoil in politics, hope in the economy

केन्द्रीय तथ्यांक विभागले २०८१ को दोस्रो त्रैमाससम्म मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर ५.१ प्रतिशत रहने प्रक्षेपण गरेको छ । अघिल्लो वर्ष ५.३ प्रतिशत रहेको थियो । तर, अर्कातिर उद्योगहरू आधाभन्दा कम क्षमतामै चले । बजारमा माग बढ्न सकेन । ब्याजदर निरन्तर घटाइरहँदा पनि बैंक तथा वित्तीय संस्थामा कर्जा माग बढ्न सकेन । वर्षभरि नै बैंकहरू ऋण प्रवाहयोग्य ५ देखि ६ खर्ब रकम थुपारेर बसे ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठ २०८१ मा समष्टिगत आर्थिक सूचकहरूमध्ये बाह्य सूचकहरू सकारात्मक रहे पनि त्यसबाट लाभ लिन नसकिएको बताउँछन् । ‘सकारात्मक रहेका सूचकहरू उपयोग गर्न सक्यौं कि सकेनौं ? अब सक्छौं कि सक्दैनौं ? शोधनान्तर बचत भएकै कारण तरलता बढेको, ब्याजदर घटेको हो ।

यसलाई प्रयोग गर्न सकेनौं भने अर्थतन्त्र संकुचन नै मान्नुपर्छ,’ उनी भन्छन्, ‘मूल्य वृद्धि ५ प्रतिशत रहनुपर्नेमा ३ र ४ प्रतिशतको बीचमा छ । यसलाई सामान्यतया नराम्रो भन्न मिल्दैन । हाम्रो अर्थतन्त्रले चाहेजस्तो चलायमान भएको अवस्था हुन्थ्यो भने अहिलेको वृद्धिदरलाई धेरै राम्रो भन्न मिल्थ्यो ।’

श्रेष्ठका अनुसार अहिले उपभोक्ताको क्रयशक्ति कम भएकाले माग घटेको छ । ‘आयआर्जन गर्न नसकेकाले बचतबाट चल्नुपरेको छ । सहकारीमा बचत भएका आमनागरिकले औषधि उपचार पनि गर्न सकेका छैनन् । यस्ता विविध कारणले खपत घटेको छ,’ उनले भने । उद्योगहरूको उत्पादन क्षमता कम हुनु, रोजगारी नपाएर विदेशिनु, विद्यालयको लगानी संकुचन हुनुले पनि राम्रो संकेत नदेखाइरहेको उनको निष्कर्ष छ ।

आर्थिक सूचकांकमा अघिल्लो वर्षको तुलनामा सुधार देखिए पनि अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक पर्ने सरकारको पुँजीगत (विकास) खर्च यसपालि अंकमा बढी भए पनि प्रतिशतमा कम छ । चालु आर्थिक वर्षमा सरकारले पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ विनियोजन गरेकामा अहिलेसम्म सरकारले १ खर्ब १ अर्ब ४९ करोड ५५ लाख रुपैयाँ अर्थात् २८.८ प्रतिशत मात्रै खर्च गरेको छ । गत वर्ष यही अवधिमा ३१.४१ प्रतिशत (९४ अर्ब ८८ करोड रुपैयाँ) पुँजीगत खर्च भएको थियो ।

ठूला दल कांग्रेस र एमालेको सरकार रहेका बेला राजनीतिक स्थिरता हुने भएकाले आर्थिक गतिविधिले तीव्रता पाउने अपेक्षा गरिएको तर त्यस्तो हुन नसकेको अर्थविद्हरू बताउँछन् । उनीहरूका अनुसार सरकारले १ रुपैयाँ खर्च गर्दा निजी क्षेत्रले कम्तीमा पनि ३ रुपैयाँ खर्च गर्छ । तर सरकारको खर्च उल्लेख्य नहुँदा त्यसको प्रभाव निजी क्षेत्रमा समेत देखिएको छ । राष्ट्र बैंकको मासिक प्रतिवेदनअनुसार फागुनसम्म आन्तरिक कर्जा परिचालन १.८ प्रतिशतले बढेको छ । ०८० फागुनसम्म आन्तरिक कर्जा ४ प्रतिशतले बढेको थियो ।

आर्थिक वर्ष ०८०/०८१ चैत मसान्तसम्मको तुलनामा चालु आर्थिक वर्षको चैतसम्म राजस्व आम्दानीमा सुधारिएको देखिएको छ । चालु आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिइएकामा चैतसम्म ८ खर्ब २१ अर्ब ६७ करोड ३५ लाख (५७.८९) रुपैयाँ मात्रै उठेको छ । आर्थिक वर्ष ०८०/०८१ सम्म १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिइएकामा चैतसम्म ७ खर्ब ४८ अर्ब ४ करोड १२ लाख (५२.५८) रुपैयाँ राजस्व उठाइएको थियो । यो वर्ष राजस्व संकलन केही बढेको देखिए पनि वार्षिक लक्ष्यभन्दा धेरै कम हो ।

चालु आर्थिक वर्षका लागि सरकारले चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख रुपैयाँ विनियोजन गरेकामा चैतसम्म ६ खर्ब ७४ अर्ब ४९ करोड १६ लाख (५९.१३) रुपैयाँ खर्च भएको छ । ०८०/०८१ मा चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख विनियोजन गरिएकामा चैत मसान्तसम्म ६ खर्ब ४४ अर्ब २ करोड ५४ लाख (५६.४१) रुपैयाँ खर्च भएको थियो ।

विदेशी अनुदान तथा सहायतामा पनि यसपालि केही सुधार देखिएको छ । चैतसम्म सरकारले १४ अर्ब २६ करोड अथवा लक्ष्यको २७.२७ प्रतिशत विदेशी अनुदान प्राप्त गरेको छ । गत वर्षको चैतसम्म सरकारले वैदेशिक अनुदान २ अर्ब ७५ करोड अथवा लक्ष्यको ५.५२ प्रतिशत मात्र प्राप्त गरेको थियो ।

राष्ट्र बैंकका अनुसार फागुनसम्म शोधनान्तर स्थिति ३ खर्ब १० अर्ब २७ करोड रुपैयाँले बचतमा छ । आर्थिक वर्ष ०८०/०८१ को साउनदेखि फागुनसम्म शोधनान्तर स्थिति ३ खर्ब २७ अर्ब ५५ करोड रुपैयाँले बचत थियो । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म चालु खाता १ खर्ब ८० अर्ब ८ करोड रुपैयाँले बचतमा छ । गत आर्थिक वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ६७ अर्ब ४५ करोड रुपैयाँले बचतमा थियो । ०८० भदौदेखि हरेक महिना चालु खाता बचतमै छ भने शोधनान्तर स्थिति ०७९ कात्तिकदेखि बचतमा छ ।

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनमा आन्तरिक पर्यटन र पर्यटकीय क्षेत्रमा हुने व्यापार, ऊर्जा उत्पादन र निर्यात, सूचना प्रविधिमा आधारित सेवाको निर्यात बढ्दो क्रममा रहे पनि विगत तीन वर्षदेखि औद्योगिक उत्पादन निरन्तर घटेको उल्लेख छ । निर्माण क्षेत्र संकुचित र साना तथा मझौला व्यवसाय सञ्चालन गरेका कतिपय व्यवसायी पलायन भएको समेत प्रतिवेदनले जनाएको छ । प्रतिवेदन अनुसार उद्योगी–व्यवसायीले कठिन परिस्थिति सामना गरिरहेका छन् ।

उच्चस्तरीय आयोगकी सदस्य एवं नीति अनुसन्धान प्रतिष्ठानकी वरिष्ठ अनुसन्धानकर्ता कल्पना खनालले अर्थतन्त्रका सूचकहरूमा पछिल्लो समय राम्रो सुधार देखिएको बताइन् । आयोगको सुझाव, सरकारद्वारा अध्यादेशमार्फत विभिन्न ऐन, कानुनको संशोधन, निर्माण व्यवसायीलाई भुक्तानीलगायत विविध कारणले अर्थतन्त्रमा सुधार देखिएको उनको भनाइ छ । ‘आयोग बन्नासाथ तत्काल गर्नॅपर्ने सुझाव दिएका थियौं, त्यसको कार्यान्वयनले पनि अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्‍यो,’ उनी भन्छिन्, ‘निर्माण व्यवसायीलाई भुक्तानी दिन अझै बाँकी छ, त्यो दिनुपर्छ ।’

बैंक तथा वित्तीय संस्थामा तरलता बढिरहेकाले उत्पादनमुखी उद्योगलाई प्रोत्साहन गरी कर्जा प्रवाह गर्न सके अर्थतन्त्रमा अझै सकारात्मक प्रभाव देखिने खनालले बताइन् । आयोगले भर्खरै बुझाएको प्रतिवेदनमार्फत तत्काल, मध्यमकाल र दीर्घकाल गरी तीन चरणमा कार्यान्वयन गरिने सुझाव दिएको उल्लेख गर्दै त्यसलाई सरकारले कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिइन् ।

चालु आर्थिक वर्षमा सरकारले ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखे पनि त्यो प्राप्तिको सम्भावना छैन । साढे ४ देखि ५ प्रतिशत हाराहारीमा आर्थिक वृद्धि हुने अनुमान विज्ञहरूको छ । विश्व बैंकले ५.१ प्रतिशत र एसियाली विकास बैंकले ४.४ प्रतिशतको आर्थिक वृद्धिको प्रक्षेपण गरेका छन् । आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा मुलुकको आर्थिक वृद्धिदर ५ प्रतिशतभन्दा बढी रहने राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।

यसअघिका तीन त्रैमासमा आर्थिक वृद्धिदर क्रमशः २.६, ३.१ र ४ प्रतिशत मात्र रहेकामा यस वर्षको दोस्रो त्रैमास (कात्तिक–पुस) मा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर ५.१ प्रतिशत रहने प्रक्षेपण कार्यालयले गरेको हो । गत आर्थिक वर्षको यही अवधिमा आर्थिक वृद्धिदर ५.३ प्रतिशत थियो । दोस्रो त्रैमासमा ५ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धि हुनुमा यातायात र निर्माण क्षेत्रमा सुधार, कृषि उत्पादनमा वृद्धि, विद्युत् उत्पादन तथा वितरण र बैंकिङ तथा बिमा क्षेत्रमा सुधारलगायत रहेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

अर्थतन्त्रका १८ वटा क्षेत्रमध्ये यस त्रैमासमा सबैमा सकारात्मक वृद्धि छ । तर अरू क्षेत्रको तुलनामा शिक्षा, आवास तथा भोजन र अन्य सेवा क्षेत्रमा वृद्धिदर सामान्य छ, यही कारण अर्थतन्त्रको वृद्धिदर ५.१ प्रतिशत रहने अनुमान गरिएको हो । यातायात तथा भण्डारण क्षेत्रसँग सम्बन्धित क्षेत्रको वृद्धिदर सबैभन्दा धेरै १४.२ प्रतिशत छ । खानी तथा उत्खनन क्षेत्र ९.५ प्रतिशत वृद्धिदरसहित दोस्रो धेरै वृद्धि हुने औद्योगिक क्षेत्र बनेको छ । औद्योगिक क्षेत्रलाई पछ्याउँदै विद्युत् तथा ग्यास क्षेत्रमा ९.२ प्रतिशत वृद्धिदर छ ।

डढेलो रोक्ने अभियान : पातपतिङ्गर संकलन गर्नेलाई प्रोत्साहन रकम

गोरखा — वनडढेलो लगाउने कार्यलाई निरुत्साहित गर्न मीमसेन थापा गाउँपालिकाले पातपतिङ्गर संकलन गर्नेलाई नगद पुरस्कार दिने भएको छ । प्रतिकिलो दुई रुपैयाँ उपलब्ध गराउने कार्यपालिका बैठकले निर्णय गरेको छ ।

 

गाउँपालिकाभित्रका व्यक्ति, टोल विकास संस्था, युवा क्लब, महिला समूह, सहकारी संस्था, निजी फर्म तथा कम्पनीलाई सम्बन्धित सामुदायिक वनका उपभोक्ता समितिसँग समन्वय गरी पातपतिंगर संकलन गर्न पनि आग्रह गरिएको छ ।

गाउँपालिकाले अनुगमन गरेपश्चात् मात्र संकलनबापतको रकम उपलब्ध गराउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले बताए । ‘संकलित पातपतिङ्गरको प्राङ्गारिक मल बनाउाछौं,’ उनले भने, ‘यसका लागि सामुदायिक वन उपभोक्ता समितिले पालिकासँग समन्वय गर्नुहुन्छ, खाल्डो खन्न पालिकाले सहजीकरण गर्छ, उत्पादित मल बेचेर आम्दानी पनि सामुदायिक वनले नै लिनुहुन्छ ।’

भीमसेन थापा गाउँपालिकामा ४० वटा सामुदायिक वन छन् । ‘डढेलो लाग्ने पातपतिङ्गरबाट नै हो, समयमै संकलन गरिदिए डढेलो लाग्नै पाउँदैन,’ उनले भने, ‘यो वर्ष नमुना कार्यक्रमका रुपमा थालनी गरेका हौं, यो सिकाइ हेरेर आगामी वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिन्छौं ।’

गाउँपालिकाले यस वर्ष डढेलो नियन्त्रणका लागि चार लाख बजेट छुट्याएको छ ।

रग्बी फिप्टिन्समा गोर्खाली क्लबको दाबेदारी

काठमाडौँ — डिफेन्डिङ च्याम्पियन गोर्खाली रग्बी क्लब एक महत्त्वपूर्ण खेलमा त्रिभुवन आर्मी क्लबलाई ३०–१० स्कोरले पराजित गर्दै फिप्टिन्स रग्बी च्याम्पियनसीपको उपाधिमाथि दाबेदार बनेको छ।

 

शनिबार पहिलो खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई एकपक्षीय खेलमा ७८–० ले हराएको थियो । राउन्ड रोविन लिगको यो नतिजासँगै गोर्खालीको ४ अंक बनेको छ । एपीएफ र आर्मीको २–२ अंक भयो । पुलिस अंकविहिन छ।

अब प्रतियोगिताको लिग चरणको अन्तिम खेल मंगलवार हुनेछ । त्यसमा गोर्खालीले नेपाल पुलिससँग तथा एपीएफले आर्मीविरुद्ध प्रतिस्पर्धा गर्नेछ । यसको समग्र नतिजासँगै लिगमा शीर्ष रहने टोली च्याम्पियन हुनेछ ।

च्यासल मैदानमा शनिबार गोर्खाली क्लबले सुरुदेखि नै आर्मीमाथि दबाब बनाएको थियो । दुई पेनाल्टीमार्फत ६ अंक जोडेपछि आर्मी पछि परेको थियो । जसको फाइदा उठाउँदै गोर्खालीले पहिलो हाफमा १८–३ को अग्रता बनायो ।

दोस्रो हाफमा स्कोर बढाएर गोर्खालीले ३० पुर्‍यायो भने आर्मी १० अंकमा रोकियो । गोर्खालीबाट एक्लैले १५ अंक बनाएका विजय खड्का म्यान अफ द म्याच भए ।

पुलिसविरुद्ध भने एपीएफ पूर्णतः हाबी भयो । टोलीले पहिलो हाफमै ४८ स्कोर गरिसकेको थियो । एपीएफले दोस्रो हाफमा स्कोर थप्ने काम भयो । एपीएफ कप्तान विराट श्रेष्ठ म्यान अफ द म्याच बने ।

ट्रम्पको आगमनपछि ६३ नेपाली अमेरिकाबाट निष्कासित

Highlights

  • आधिकारिक कागजात नभएका कारण अमेरिकाबाट ‘डिपोर्ट’ भएर नेपाली स्वदेश आउने क्रम जारी
  • ट्रम्प राष्ट्रपति बने पछि जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३० र अप्रिलमा ७ जना नेपाली अमेरिकाबाट निष्कासित

काठमाडौँ — डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको दोस्रो कार्यकाल सम्हालेयता ६३ नेपाली नागरिक निष्कासन (डिपोर्ट) मा परेका छन् । अमेरिकी सरकारले उनीहरूलाई चरणबद्ध रूपमा फर्काएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको जिम्मा लगाएको हो ।

ट्रम्पको दोस्रो कार्यकाल सुरु भएको पर्सिपल्ट २२ जनवरीदेखि अमेरिकाले आधिकारिक कागजातबिना बसोबास गरिरहेका आप्रवासीलाई निष्कासन गर्ने अभियान चलाएको छ । पहिलो दिन नै एक नेपाली निष्कासनमा परेका थिए । २२ जनवरीयता ७ महिला र ५६ पुरुष गरी ६३ नेपालीलाई अमेरिकाले फर्काएको अध्यागमन कार्यालयले जनाएको छ । अध्यागमनका अनुसार अमेरिकाबाट ‘डिपोर्ट’ भएर नेपाली आउने क्रम जारी छ ।

अमेरिकाले जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३० र अप्रिल (बिहीबारसम्म) ७ नेपालीलाई ‘डिपोर्ट’ गरेको अध्यागमनको तथ्यांक छ । विमानस्थल अध्यागमन प्रमुख तीर्थराज भट्टराईका अनुसार ‘डिपोर्ट’ भएकामध्ये ८ जना एकैपटक गत २१ फागुनमा चार्टर्ड जहाजबाट र अरू ५५ जना नियमित उडानमार्फत नेपाल आइपुगेका हुन् । ‘डिपोर्ट’ भएकालाई विमानस्थल अध्यागमनले कागज गराएर थप सोधपुछका लागि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको जिम्मा लगाउँदै आएको छ ।

विमानस्थल अध्यागमन र नेपाल प्रहरीका अनुसार ‘डिपोर्ट’ मा परेका अधिकांश व्यक्ति ‘मानव तस्कर’ लाई मोटो रकम बुझाएर एसिया, युरोप र अफ्रिकाका विभिन्न मुलुक हुँदै दक्षिण अमेरिकी मुलुक मेक्सिको पुगेर अमेरिका छिरेकाहरू छन् । उनीहरूमा धेरैजसो पश्चिम/पूर्वी रुकुम, रोल्पा, प्यूठान, दाङ, अर्घाखाँचीतिरका छन् । उनीहरू ५० लाखदेखि १ करोड रुपैयाँसम्म दलाललाई बुझाएर अमेरिका पुगेको पाइएको छ ।

मानव तस्करमार्फत अमेरिका पुगेकाहरूले गिरोहको ‘नेटवर्क’ बारे प्रहरीलाई बताउने गरेका छैनन् । ‘उनीहरूमार्फत मानव तस्करीको गिरोहसम्म पुग्न सकिन्छ कि भनेर प्रयास गरिरहेका छौं,’ मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपेन्द्र जीसीले भने, ‘तर उनीहरू खुल्नै चाहँदैनन् । अधिकांशले रुट, खर्च र अमेरिकामा व्यहोरेको सकस मात्रै बताउने गरेका छन् ।’

ट्रम्प प्रशासनले ‘इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट’ (आइस) मार्फत नेपालसहित कागजातविहीन आप्रवासीलाई पक्राउ गरी निष्कासन गर्ने अभियान चलाएको छ । अमेरिकाबाट यसअघि सन् २०२१ देखि २०२४ सम्म १ सय ४० नेपाली निष्कासनमा परेका थिए । अध्यागमन विभागका अनुसार सन् २०२१ मा ३८, २०२२ मा २४, सन् २०२३ मा २५ र सन् २०२४ मा ५३ नेपालीलाई अमेरिकाले निष्कासन गरेको थियो । आइसले गत २४ नोभेम्बरसम्म ‘डिपोर्ट’ का लागि अन्तिम आदेश पाइसकेका तर पक्राउ नपरेकालाई धमाधम नियन्त्रणमा लिई ‘डिपोर्ट’ गरिरहेको छ ।

पहिलो चरणमा २४ जुन २०१५ पछि अमेरिका प्रवेश गरेका र अमेरिका छाड्नुपर्ने आदेश पाइसकेका कागजातविहीन ‘डिपोर्ट’ को जोखिममा छन् । ३ हजार ५ सयभन्दा बढी नेपालीले ‘डिपोर्ट’ को आदेश पाइसकेका छन् । तीमध्ये करिब २ हजार नेपाली ‘टेम्पोररी प्रोटेक्ट स्टाटस’ (टीपीएस) अन्तर्गत अमेरिकामा बस्दै आएको अनुमान छ । ‘डिपोर्ट’ मा पर्नेहरूलाई ‘ट्राभल डकुमेन्ट’ बनाइदिएर नेपालसम्म ल्याउन वासिङ्टन डीसीस्थित नेपाली राजदूतावासले समन्वय गरिरहेको छ ।

आइसले नेपालसहित विभिन्न देशबाट अमेरिका पुगेका १४ लाख ४५ हजार ५ सय ४९ जनालाई निष्कासन गर्ने सूचीमा राखेको छ । अमेरिकामा सबैभन्दा बढी मेक्सिको, एल साल्भाडोर, भारत, ग्वाटेमाला, होन्डुरस, भेनेजुएलाका नागरिक गैरकानुनी रूपमा बसोबास गरिरहेको विवरण सार्वजनिक भएको छ । उनीहरूको बसोबास मुख्य गरी क्यालिफोर्निया, टेक्सास, फ्लोरिडा, न्युयोर्क, न्युजर्सी, इलिनोईलगायत राज्यमा रहेको पाइएको छ ।

कहिले कति निष्कासित ?

  • जनवरी : ६
  • फेब्रुअरी : २०
  • मार्च : ३०
  • अप्रिल : ७

११ दिनदेखि राजधानीको सडकमा छन् शिक्षक

Highlights

  • स्थानीय तह मातहत नबस्ने अडानबाट पछि हटे पनि अन्य मागमा सहमति बनेन
  • एसईईको कपि जाँच प्रभावित, कक्षा १२ को परीक्षा सञ्चालनमा असर पर्ने जोखिम

काठमाडौँ — देशभरका शिक्षकले काठमाडौं केन्द्रित भएर सडक आन्दोलन थालेको ११ दिन भएको छ । यसबीचमा शिक्षकहरू स्थानीय तह मातहत नबस्ने पुरानो अडानबाट पछि हटेका छन् तर उनीहरूका अन्य मागमा अझै सहमति भएको छैन ।

एसईई सकिएको पर्सिपल्ट २० चैतमै शिक्षकहरू आन्दोलनमा उत्रिँदा उत्तरपुस्तिका परीक्षण सुरु हुन सकेको छैन । एसईईको नतिजा असार पहिलो साता प्रकाशन गर्ने राष्ट्रिय परीक्षा बोर्डको कार्यतालिका छ । ११ वैशाखदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षाको तयारीमा पनि शिक्षक आन्दोलनले असर परेको छ । वैशाख पहिलो साता सुरु हुने नयाँ शैक्षिकसत्रको कार्यतालिका पनि प्रभावित हुने भएको छ । शिक्षकहरूले सरकारलाई दबाब दिन गत सोमबारदेखि शैक्षिक हडताल घोषणा गरेका छन् ।

सरकारसँग भएका सहमतिअनुसार विद्यालय शिक्षा ऐन जारी गर्ने सुनिश्चितता नभएसम्म आन्दोलन नरोक्ने अडानमा शिक्षकहरू छन् । शिक्षक महासंघकी सहअध्यक्ष तथा आन्दोलनकी संयोजक नानुमाया पराजुली नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबार शिक्षामन्त्री विद्या भट्टराईलाई बुझाएको २४ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ ।

सरकारको निर्णयबाट र विद्यालय शिक्षा विधेयकमार्फत तत्काल सम्बोधन गरिनुपर्ने मागको सूची शिक्षामन्त्रीलाई बुझाइएको पराजुलीले बताइन् । शिक्षामन्त्री भट्टराईलाई बुझाइएको ध्यानाकर्षणपत्रमा शिक्षकलाई स्थानीय तहअन्तर्गत राख्न नहुने पहिलेको माग उल्लेख छैन ।

यो माग पूरा गराउन संविधान नै संशोधन गर्नुपर्ने भएकाले तत्काललाई थाती राखिएको शिक्षक महासंघले जनाएको छ । ध्यानाकर्षणपत्रमा शिक्षक स्थायित्व, बढुवा, तलबमानसहित ग्रेड, सेवासुविधा, स्थायी हुँदा अस्थायी अवधिको गणना र निवृत्तिभरणलगायत विषय छन् । स्थानीय तह र शिक्षक व्यवस्थापन, प्रधानाध्यापक नियुक्ति र छनोट, सामाजिक सुरक्षा कोषमा आबद्धता, द्वन्द्वपीडित तथा पेसागत आन्दोलनको नेतृत्व गरेका शिक्षकको सवाल पनि समेटिएको छ ।

The teacher has been on the streets of the capital for 11 days

शिक्षकको कार्यसम्पादन मूल्यांकन, सरुवा, विद्यालय व्यवस्थापन समितिको संरचना, शैक्षिक प्रशासनमा शिक्षकको सहभागिता, शिक्षण परिषद्को व्यवस्था, शिक्षकको पद समायोजन, दरबन्दी हस्तान्तरण, संविधान प्रदत्त ट्रेड युनियन जस्ता विषय पनि आन्दोलनरत शिक्षकले उठाएका छन् । शिक्षकलाई हुने विभागीय कारबाही, संस्थागत (निजी) विद्यालयका शिक्षकको सेवासुविधा, शिक्षकको सेवा प्रवेश उमेर, शिक्षक अस्पताल, बिदा र अध्ययन, अनुसन्धानमा आर्थिक सहयोगलगायत विषय पनि ध्यानाकर्षणपत्रमा उल्लेख छन् ।

मागका विषयमा शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच संवाद भइरहेको छ । शिक्षामन्त्री भट्टराई, शिक्षा मन्त्रालयका उच्च अधिकारी र शिक्षक महासंघका प्रतिनिधिबीच बिहीबार भएको छलफल निष्कर्षमा पुग्न सकेको थिएन । त्यसयता महासंघका प्रतिनिधिले शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्री नेतृत्वको सरकारी टोलीसँग संवाद गर्दै आएका छन् । शिक्षा मन्त्रालय, अर्थ मन्त्रालय, मन्त्रिपरिषद् र आगामी बजेटबाट सम्बोधन गर्न सकिने शिक्षकका प्राविधिक खाले मागबारे छलफल भइरहेको काप्रीले जनाए ।

The teacher has been on the streets of the capital for 11 days

विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गतको उपसमितिमा दफाबार छलफलको चरणमा छ । विधेयकमा ५० दफासम्म सहमति जुटिसकेको उपसमितिले जनाएको छ । उपसमितिलाई दफाबार छलफल सकेर प्रतिवेदन समितिमा बुझाउन २३ वैशाखसम्म समयसीमा तोकिएको छ । विधेयक भदौ २०८० मा प्रतिनिधिसभामा दर्ता भएको थियो । त्यसलगत्तै शिक्षकहरूले काठमाडौं केन्द्रित प्रदर्शन गरेका थिए । त्यतिबेला सरकारले माग पूरा गर्ने सहमति गरेको थियो । तर डेढ वर्ष बित्दा पनि विधेयक पारित नगरिएको भन्दै शिक्षकहरूले पुनः काठमाडौं केन्द्रित आन्दोलन घोषणा गरेका हुन् ।

शिक्षक आन्दोलन अघि बढेपछि संसदीय समितिले उपसमिति गठन गरेर दफाबार छलफल अघि बढाएको थियो । आन्दोलन चल्दाचल्दै संसद्को हिउँदे अधिवेशन अन्त्य गरिएपछि शिक्षकले संसद्को बर्खे वा विशेष अधिवेशन डाकेर वा अध्यादेश ल्याएर भए पनि माग सम्बोधन गर्नुपर्ने बताइरहेका छन् । आगामी संसद् अधिवेशनमा विधेयक पेस हुने गरी दफाबार छलफल चलिरहेको शिक्षा मन्त्रालयले जनाएको छ ।

सत्तारूढ र प्रतिपक्षी दलका कतिपय नेताले शिक्षकका केही माग मन्त्रिपरिषद्बाट निर्णय गरेर र विधेयकसम्बन्धी माग चाँडो संसद् अधिवेशन डाकेर पूरा गर्न सरकारलाई आग्रह गरेका छन् । कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले पनि केही माग मन्त्रिपरिषद्को निर्णयबाट पूरा गरेर शिक्षकलाई विश्वासमा लिनुपर्ने बताए । ‘शिक्षकहरू कक्षाकोठामा फर्कने वातावरण भएपछि सरकारले अहिले नै मिति तोकेर संसद् बैठक डाक्न सक्छ,’ उनले भने, ‘बैठक डाकेको कति दिनभित्र विधेयक पारित गर्ने समयसीमा तोकेर जान सकिन्छ ।’ प्रमुख प्रतिपक्षी माओवादी केन्द्रलगायत दलले पनि शिक्षकका माग सम्बोधनका लागि संसद् अधिवेशन बोलाउन सरकारलाई आग्रह गरेका छन् ।

The teacher has been on the streets of the capital for 11 days

उत्तरपुस्तिका परीक्षण र परीक्षा सञ्चालनमा सहयोग गर्न बोर्डको आग्रह

शिक्षक आन्दोलनले एसईईको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा सञ्चालनमा प्रभावित हुने भएपछि राष्ट्रिय परीक्षा बोर्डले सहयोगका लागि शिक्षकहरूलाई अपिल गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले उत्तरपुस्तिका परीक्षण र परीक्षा सञ्चालनका सन्दर्भमा ‘विद्यार्थीको भविष्यलाई दृष्टिगत गरी सदाझैं जिम्मेवारी बहन गरी सहयोग पुर्‍याइदिन’ शिक्षकहरूलाई आग्रह गरेका छन् ।

शिक्षकहरूको पेसागत बढोत्तरी, पेसागत सुरक्षा तथा विद्यार्थीका आवश्यकता र अवसर दुवै प्राथमिक र संवेदनशील पक्ष रहेको जनाउँदै बोर्डले विद्यार्थीको नतिजा प्रकाशनमा ढिलाइ हुँदा उनीहरूको जीवन र भविष्यमा पुग्न सक्ने असरबारे शिक्षक महासंघलाई सचेत गराएको छ ।

उत्तरपुस्तिका परीक्षण, सम्परीक्षण र परीक्षा सञ्चालनमा केन्द्राध्यक्ष, निरीक्षकको काम शिक्षकले गर्दै आएका छन् । ‘उत्तरपुस्तिका परीक्षण जस्ता कार्य विज्ञ शिक्षकबाहेक अरूबाट हुन सक्दैन । यसका लागि बोर्डले शिक्षककै सल्लाह र सुझावमा नतिजा प्रकाशनको कार्यतालिकासहित कार्ययोजना बनाएको छ,’ बोर्ड अध्यक्ष शर्माले जारी गरेको अपिलमा भनिएको छ । बोर्डले एसईईको नतिजा असार पहिलो साता प्रकाशित गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

The teacher has been on the streets of the capital for 11 days

शिक्षक आन्दोलनका लागि देशभरका शिक्षक काठमाडौंमा भेला हुँदा वैशाख पहिलो साता सुरु हुने नयाँ शैक्षिकसत्रको कार्यतालिका पनि प्रभावित हुने भएको छ । अहिले नयाँ शैक्षिकसत्रको कक्षा सञ्चालन गर्न विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण, अभिभावक भेला तथा बैठक गर्नुपर्ने समय हो । तर आन्दोलनका कारण देशभरका विद्यालयमा शैक्षिक गतिविधि ठप्प छ ।

शिक्षकका मुख्य माग

  • सबै अस्थायी शिक्षकको दरबन्दी कायम गरी आन्तरिक प्रतिस्पर्धाबाट स्थायी, स्थायी हुन नसके ‘गोल्डेन ह्यान्डसेक’
  • शिक्षक दरबन्दी पुनर्वितरण तथा मिलान कार्यदलको सुझावअनुसार दरबन्दी थप
  • विद्यालयका कर्मचारीको दरबन्दी कायम गर्दै अधिकृत, नायब सुब्बा र खरिदार पदमा स्थायी
  • तृतीय, द्वितीय, प्रथम र विशिष्ट श्रेणीमा अनुपात वृद्धि गरी शिक्षक बढुवा
  • हरेक १० वर्षमा शिक्षक बढुवाको व्यवस्था
  • शिक्षकको तलब र ग्रेड निजामती कर्मचारीको भन्दा बढी हुनुपर्ने
  • द्वन्द्वपीडित शिक्षकको छुटेको सेवा अवधि गणना गरी उपदान र निवृत्तिभरणको व्यवस्था
  • अधिकारसम्पन्न शिक्षण परिषद् गठन
  • सरकारसँग २०७५, २०७८ र २०८० मा भएका सहमतिअनुसार विद्यालय शिक्षा ऐन जारी

‘छोराले आफ्नै घरमा आगो झोस्यो, हामी त बेघर भयौं’

रुकुम पूर्व — सिस्ने गाउँपालिका-२ स्थित गायगाढ गाउँदेखि केहीमाथि रिजामा थियो चाउरे दमाईको घर । गाह्रो–माटोको बन्नो अनि ढुंगाको छानो भएको दुई तलाको यही घरमा गत सोमबार राति ८ बजेतिर एक्कासि आगो दन्कियो । प्यारालाइसिस भएर उठ्न–बस्न नसक्ने उनले आफ्नी श्रीमती र नातिनीलाई बाहिर हुत्याए अनि छिमेकी गुहारे ।

नायगाढ गाउँबाट हतार–हतार स्थानीय बासिन्दा आएर आगो निभाउने हर कोसिस गरे तर चैतको खडेरीले खंग्रङ्ङ भएको घरको आगो निभेन । झनै दन्कियो ।

स्थानीय तिलक रसाइली भन्छन्, ‘चाउरेकी जहानलाई बोकेर आगोको रापबाट बाहिर ल्यायौं । अनि भुइँतलामा रहेका गाईलाई पनि बाहिर निकाल्यौं । यसबोहक अरु निकाल्न सकिएन । मान्छे जोगिए तर घरसँगै सबै सम्पत्ति खरानी भयो ।’

उमेरले ६० वर्षका भए चाउरे । उनका ५ छोरी २ छोरामध्येका जेठा छोरा हुन्, हिरालाल । चाउरेका अनुसार तिनै छोराले आफ्नै घरमा आगो झोसेका हुन् । ‘आगो लगाएको त्यो दिन सधैंझैं रक्सीले मातिएर घर आयो अनि मेरो नाम लिँदै ‘मार्छु’ भन्यो । म त लुकेर बसेँ । केही बेरमा घरमा दनदनी आगो पो दन्कियो,’ अघिल्लो दिन आफूलाई आगोको भुंग्रोले खुट्टामा पोलेको फोका देखाउँदै उनी भन्छन्, ‘छोराले आफ्नै घरमा आगो झोस्यो, हामी त बेघर भयौं ।’Son set fire to his own house, we became homeless

हतार–हतार गएर श्रीमती र नातिनीलाई बाहिर निकाल्ने कोसिस गरेर गाउँलेलाई गुहारेको उनी सुनाउँछन् । उनले भने, ‘छोराले अघिपछि पनि रक्सी खाएर यसरी नै हामी सबैलाई दुःख दिने गरेको थियो । तर यसरी घरमै आगो झोस्ला भन्ने कहिले सोचेको थिइनँ ।’

Hope IVF
Sunrise bank

उनी जहान ५ वर्षदेखि प्यारालाइसिस भएर एक ठाउँबाट अर्को ठाउँ सर्न नसक्ने अवस्थामा छिन् । ‘उपचार गर्न पैसा छैन हजुर, के गर्ने ? सबै भगवान् भरोसा चलिरहेको छ,’ उनले भने ।

रक्सीले मातेर सताएकै कारण दुई वर्षअघि नै बुहारीले नाति (हिरालालको कान्छो सन्तान) लिएर घर छाडेको पनि उनले सुनाए ।Son set fire to his own house, we became homelessघरमा आगलागी गरेको आरोपमा घटनालगत्तै हिरालाललाई प्रहरीले पक्राउ गरी लगेको थियो । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी प्रमुख डीएसपी माधवराज खरेलले आफ्नै घर आगजनीको आरोप लागेका हिरालाललाई म्याद थप गरेर अनुसन्धान गरिरहेको जानकारी दिए ।

चाउरेको घर आगोले खरानी भएपछि उनको परिवारलाई अहिले वडा कार्यालय र स्थानीयको सहयोगमा नजिकै निर्माणाधीन पालिका अस्पतालको क्यान्टिन भवनमा राखिएको छ । ‘हामीले वडाबाट र स्थानीय समेतको सक्रियतामा केही अत्यावश्यक सरसामानको जोहो गरिदिएका छौं । चाडै नै उनको घर बनाउन आवश्यक पहल हुनेछ,’ सिस्ने गाउँपालिका-२ का अध्यक्ष कृष्णबहादुर खड्काले भने ।

कांग्रेस नेतृत्वको सरकार बने माओवादीले समर्थन गर्छ : अध्यक्ष दाहाल

Highlights

  • ओली सरकार एक वर्ष नजाने दाहालको दाबी

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस नेतृत्वमा सरकार बन्ने अवस्थामा समर्थन गर्ने बताएका छन् । प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका दाहालले यसअघि माओवादी सरकारमा नजाने बताउँदै आए पनि बिहीबार एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा उनले कांग्रेसले यो सरकारको विकल्प खोज्नुपर्ने बताए ।

माओवादीले कांग्रेसले भनेअनुसार सरकारमा गएर वा बाहिर बसेर समर्थन गर्न तयार रहेको भन्दै यसमा आफ्नो स्पष्ट कुरा भएको बताए । ‘अबको कोर्ष भनेको नेपाली कांग्रेस र शान्ति सम्झौताका सहयात्रीहरु एक ठाउँमा आएर सहमति खोज्नु नै सबभन्दा राम्रो विकल्प हो । तत्कालको कुरा नेपाली कांग्रेसले विकल्प दिनुपर्छ । देशको संकटको स्थिति जस्तो देखा परेको छ । यसको निकास दिन सबभन्दा ठूलो दलको नाताले पनि, शान्ति सम्झौताको हस्ताक्षर दलको नाताले पनि, नेपाली कांग्रेसले निकास दिन आँट गर्नुपर्छ भन्ने मेरो’ इमेज टेलिभिजनका जगदीश खरेलको कांग्रेसको नेतृत्वमा सरकार बन्यो भने माओवादी सहयोग गर्छ ? भन्ने प्रश्नमा दाहालले भने, ‘गर्छ । त्यो नेपाली कांग्रेसको जस्तो चाहना हुन्छ, त्यही अनुसार गर्छ । यो कुरा एकदम क्लियर हो । नेपाली कांग्रेसले बाहिरबाट सर्पोट गर्देउ भने पनि हामी तयार । सरकारमा आएर सपोर्ट गर भनेर कांग्रेसले भन्यो भने पनि उहाहरुको भनाइअनुसार हुन्छ ।’

उनले आफू प्रधानमन्त्रीको दौडमा नभएको भने बताए । ‘मचाहिँ प्रधानमन्त्रीको रेसमा ०८४ सम्म छैन । एकदम प्रस्ट हो,’ उनले थपे ।

उनले वर्तमान राजनीतिक कोर्स परिवर्तन गर्ने सपना नभई बिपना भएको जनाए । ‘यो सपना होइन, बिपना हो,’ दाहालले भने, ‘राजनीतिक कोर्स परिवर्तन हुन सक्छ । सरकारको नेतृत्व ठूलो पार्टी र शान्ति सम्झौता हस्ताक्षर हुनुको नाताले भनेको हो । मेरो देउवा (शेरबहादुर) सँग विश्वास छ । देउवाले केपी ओलीजीजस्तो जालझेल गर्नुहुन्न ।’

Hope IVF
Sunrise bank

उनले सरकार परिवर्तनको समय तोक्न नचाहने तर कुनै पनि बेला सरकार परिवर्तन हुने दाबीसहित ओली सरकार एक वर्ष नजाने बताए । ‘मलाई त्यस्तो लाग्दैन,’ उनले ओली सरकार एक वर्ष पनि जाँदैन त ? भन्ने प्रश्नमा दाहालको भनाइ थियो ।

उनले ओली सरकार सहज रुपमा अघि जान नसकने दाबीसमेत गरे । ‘यो सरकारको जग कमजोर भइनै सक्यो,’ उनले भने, ‘गंभीर समीक्षा गरौं । राष्ट्र र जनताको पक्षमा संविधान संशोधनको आधार खोजौं ।’

उनले अर्को गठबन्धन बन्यो भने संविधान संशोधन गर्ने समीकरण बन्ने दाबी गरे ।

बैंकिङ कसुरका प्रतिवादीलाई सफाइ दिने विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

काठमाडौँ — नागरिक लगानी कोषको समेत स्वामित्व रहेको रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडबाट गैरकानुनी रूपमा कर्जा प्रवाह गरी रकम अपचलन गरेको अभियोग लागेका प्रतिवादीलाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ ।

स्थापित नजिर र अनुसन्धानबाट खुलेका तथ्य/प्रमाणलाई अनदेखा गरी कर्जा अपचलनमा संलग्नलाई सफाइ दिने विशेष अदालतको फैसला बदर गरी मागदाबी अनुसार प्रतिवादीहरूलाई सजाय हुनुपर्ने जिकिरसहित अख्तियारले बिहीबार सर्वोच्चमा पुनरावेदन गरेको हो ।

नागरिक लगानी कोषका तत्कालीन सञ्चालक छविरमण अधिकारी र फाइनान्सका तत्कालीन संचालक अध्यक्ष वसन्त मल्लसमेतका प्रतिवादीको मिलेमतोमा कोषको समेत लगानी रहेको फाइनान्सबाट एनबीडीएस सुपरमार्ट प्रालिका सञ्चालक अनोज श्रेष्ठलगायतलाई गैरकानुनी रूपमा कर्जा प्रवाह गरेकामा सजाय हुनुपर्ने भन्दै अख्तियारले केही वर्षअघि नै विशेषमा मुद्दा दायर गरेको थियो ।

गैरकानुनी रूपमा प्रवाह गरिएको कर्जा फाइनान्समा भराई बिगोबमोजिम जरिवाना र कैद सजाय मागदाबी गरिएको मुद्दामा विशेषले भने प्रतिवादीहरूलाई दाबी नपुग्ने भन्दै सफाइ दिएको थियो । विशेषको फैसलालाई अख्तियारले स्थापित नजिरलाई अनदेखा गरिएको, अनुसन्धानबाट खुलेका तथ्य र प्रमाणलाई बेवास्ता गरिएको भन्दै उक्त फैसला बदरभागी रहेको जिकिर गरेको छ ।

प्रतिवादीहरू फाइनान्सका सञ्चालक समिति अध्यक्ष मल्ल, प्रबन्ध सञ्चालक मधुवनलाल श्रेष्ठ, नागरिक लगानी कोषका सञ्चालक एवं फाइनान्सका लागि खटाइएका प्रतिनिधि छविरमण अधिकारी, फाइनान्सकै सञ्चालक भरतकाजी श्रेष्ठ, फाइनान्सका सहायक महाप्रबन्धक प्रदीपबहादुर कर्माचार्य, वरिष्ठ प्रबन्धक विकास श्रेष्ठ र कर्जा प्रवाहका लागि खटिएका इन्जिनियर विकास श्रेष्ठविरुद्ध ३ करोड ८७ लाख ९४ हजार रुपैयाँ बिगो कायम गरी बिगोबमोजिम कैद र जरिवाना मागदाबीसहित अख्तियारले विशेषमा मुद्दा दायर गरेको थियो ।

Hope IVF
Sunrise bank

विशेषका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले भने अख्तियारको मागदाबी नपुग्ने र यो कसुरमा बैंकिङ कसुरसम्बन्धी अनुसन्धान गरी अरु अदालतमै मुद्दा विचाराधीन रहेको एवं नागरिक लगानी कोषको रकम कति हिनामिना भयो भन्ने खुलाउन नसकेको कारण देखाएर प्रतिवादीहरूलाई सफाइ दिएको थियो ।

यसैगरी सफाइ पाएका प्रतिवादीमध्ये कसुर अनुसार थप ११ जनालाई पनि सजाय मागदाबीसहित पुनरावेदन भएको छ । अधिकारी, मल्ल र ऋणी रविन लामालाई ऋणीको हैसियतभन्दा बढी ऋण दिई बैंकिङ प्रक्रिया विपरीत कर्जा हिनामिना गरेको अभियोगमा २ करोड १ लाख ९४ हजार ५ सय ५६ रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना हुनुपर्ने पुनरावेदनमा उल्लेख छ । प्रतिवादीहरू वसन्त मल्ल, मधुवन लाल श्रेष्ठ, मधुरलाल सिन्या, रिता बादे श्रेष्ठ सेवाचार्य, छविरमण अधिकारी, भरतकाजी श्रेष्ठ, लोकेन्द्रमान कर्माचार्यविरुद्ध ११ लाख ५४ हजार ७ सय ८ रुपैयाँ बिगो कायम गरी सजाय हुनुपर्ने जिकिर पुनरावेदनमा गरिएको छ ।

अधिकारी, सेवाचार्य, सुवर्ण राजभण्डारी, विष्णुप्रसाद धिताल, ईच्छाबहादुर गुरुङ र लोकेन्द्रमान कर्माचार्यलाई १ करोड ४५ लाख १ हजार ८३ रुपैयाँ बिगो कायम गरी सजाय हुनुपर्ने पुनरावेदनमा दाबी गरिएको छ ।

बसन्त मल्ल, मधुवनलाल श्रेष्ठ, मधुरलाल सिन्या, रिता बादे श्रेष्ठ सेवाचार्य, छविरमण अधिकारी, भरतकाजी श्रेष्ठ, लोकेन्द्रमान कर्माचार्यसमेतका प्रतिवादीउपर इनोभेटिभ कन्सेप्ट नेपाल प्रालिका सञ्चालक मनोजकुमार भेटवाललाई धितो अयोग्य जग्गालाई धितो मूल्यांकन गरी बैंकिङ प्रक्रिया विपरीत कर्जा स्वीकृत गरेको अभियोगमा ११ करोड ११ लाख ५८ हजार ७ सय ७१ रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना हुनुपर्ने अख्तियारको जिकिर छ ।

त्यस्तै वसन्त मल्लसहितका प्रतिवादीविरुद्ध बादशाह फुडल्याड प्रालिका सञ्चालक ऋषिश्वर थपलियालाई धितोस्वरूप पेस गरेको जग्गाको अधिक मूल्यांकन कायम गरी कर्जा प्रवाह गरिएकामा ५ करोड ८७ लाख ३२ हजार ९ सय १२ रुपैयाँ बिगो कायम हुनुपर्ने पुनरावेदनमा उल्लेख छ ।

फाइनान्स लिमिटेडबाट ऋणी पञ्चकन्या सप्लायर्स प्रालिका सञ्चालक नरेश दाहाललाई बैंकिङ प्रक्रियाविपरीत कर्जा प्रवाह गरेकामा ४ करोड ६३ लाख ३८ हजार २ सय ५४ रुपैयाँ बिगोसहित सजाय हुनुपर्ने उल्लेख छ । अर्का ऋणि घनश्याम घिमिरेलाई जग्गा धितो नलिई व्यक्तिगत जमानीमा २ करोड १५ लाख २५ हजार ५ सय ६४ रुपैयाँ कर्जा दिएकामा पनि संलग्नलाई सजाय हुनुपर्ने जिकिर गरिएको छ । अर्का ऋणी राम शाह बहुमुखी व्यापार कम्पनीका संचालक रामबहादुर शाहलाई कर्जा लगानी निर्देशिकामा उल्लेखित प्रक्रिया विपरीत कर्जा दिएकामा ४ करोड ३५ लाख ९८ हजार ५ सय ६६ रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना हुनुपर्ने जिकिर गरिएको छ ।

फाइनान्सबाट हजुरको हार्डवेयर पसलका संचालक मुकुन्दप्रसाद पराजुलीलाई अधिक मूल्यांकन गरी कर्जा दिएकामा २ करोड ९७ लाख ९१ हजार ८ सय ९७ रुपैयाँ बिगो कायम गराएर सजाय हुनुपर्ने अख्तियारको पुनरावेदनमा भनिएको छ । त्यस्तै अरुणिमा हाउजिङका सञ्चालक रोहित दाहाललाई बैंकिङ प्रक्रियाविपरीत १ करोड ७५ लाख ६७ हजार ८ सय ९४ रुपैयाँ कर्जा दिएकामा उनलाई सजाय हुनुपर्ने अख्तियारको पुनरावेदनमा भनिएको छ ।

दुर्गा प्रसाईं पक्राउ, शुक्रबार सार्वजनिक गर्ने तयारी

Highlights

  • खोज्दै भारतसम्म पुगेका थिए नेपाल प्रहरीका तीन विशेष टोली

काकडभिट्टा — राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईं पक्राउ परेका छन् । १५ चैतको प्रदर्शनका नाममा हिंसा भड्काएर फरार भएका उनलाई नेपाल प्रहरीको विशेष ब्युरोले पूर्वी नेपालको सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको अधिकारीहरूले बताएका छन् ।

यद्यपि, प्रसाईंका सहयोगीहरूले भने उनले भारतको आसाम प्रहरीमा आत्मसमर्पण गरेको दाबी गरेका छन् ।

उत्पात मच्याएर भागेका प्रसाईंलाई खोज्न नेपाल प्रहरीका तीन टोली भारतसम्म पुगेका थिए । ‘उनी उत्तरप्रदेशको प्रयागराजमा रहेको सूचनाका आधारमा प्रहरीको विशेष टोली त्यहाँ पुगेको थियो । तर उनलाई नियन्त्रण लिन सहज नभएपछि त्यो टोली भैरहवा ल्याएर राखिएको थियो । अर्को टोली भने दिल्ली पुगेर वातावरणको प्रतीक्षामा थियो,’ प्रहरीका एक अधिकारीले भने, ‘भारतको उत्तरपूर्वमा रहेको अर्को टोली भने आसाम वरिपरि पुगेका प्रसाईंको नजिक पुग्ने वातावरण बन्यो ।’

प्रसाईंलाई भारतमा पक्राउ गरिएको विषयलाई भने प्रहरीले खण्डन गरेको छ । बरू ‘उनी नेपालभित्रै छिट्टै पक्राउ पर्न सक्ने’ प्रहरी अधिकारीको दाबी छ । नेपाल र भारतबीचमा सुपुर्दगी सन्धि नभएकाले एकअर्काको देशमा पक्राउ परेका आरोपितहरुलाई अनौपचारिक रूपमा लेनदेन गर्ने अभ्यास छ । अर्को देशमा पक्राउ परेमा त्यहाँको प्रहरीले सीमाक्षेत्रमा ल्याएर छोड्ने र लगत्तै सम्बन्धित देशको प्रहरीले जिम्मा लिएर गन्तव्यमा पुर्‍याउने अभ्यास छ ।

उता, बिहीबार राति प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले भनेका छन्, ‘विभिन्न आपराधिक घटनामा संलग्न रही फरार दुर्गा प्रसाईं नेपाल प्रहरीको खोजीको सूचीमा रहेको जानकारी गराउँदै हालसम्म पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन/प्रशारण नगरिदिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछौं ।’ उता, प्रसाईंका समर्थकहरुले सामाजिक सञ्जालमार्फत प्रसाईंले भारतको आसाम प्रहरीमा आत्मसमर्पण गरेको दाबी गरेका छन् ।

राजावादीको हिंसात्मक प्रदर्शनमा प्रसाईंले प्रहरीलाई कुल्चने गरी गाडी कुदाएका थिए भने उनका समर्थहरूले विभिन्न सार्वजनिक तथा निजी भवन, सञ्चारगृह र व्यापारिक केन्द्र गरी कुल ४० संरचनामा ढुंगामुढा, तोडफोड, आगजनी र लुटपाट गरेका थिए । त्यस्तै सार्वजनिक तथा निजी गरी ६९ वटा गाडीमा क्षति पुर्‍याएका थिए । घटनामा पत्रकार सुरेश रजक र प्रदशर्नकारी सविन महर्जनको ज्यान गएको थियो भने १२९ जना घाइते भएका थिए, पाँच जना अझै अस्पतालमा छन् ।

प्रसाईं भागे पनि प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महमन्त्री धवलशमशेर राणासहित ७९ जनालाई पक्राउ गरेको छ । प्रहरीले मिश्र र राणालाई राजद्रोह, संगठित अपराध र सार्वजनिक उपद्रवसहितका मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

सुप्रिम सहकारी ठगी प्रकरणमा कारागार रहेका पूर्वडीआईजी जोशी अस्वस्थ, ३/४ दिन अस्पतालमै राखिने

बुटवल — बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी कसुरमा दुई महिनादेखि पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) एवं गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष छविलाल जोशी अस्वस्थ भएका छन् । उच्च रक्तचाप, शरीरमा चिडचिडाहट लगायतका समस्या देखिएपछि उनलाई कारागार प्रशासनले मंगलबार बेलुका अस्पताल भर्ना गरेको हो ।

 

रूपन्देही जिल्ला अदालतका न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले माघ २८ गते जोशीलाई तत्काल प्राप्त प्रमाणका आधारमा निर्दोष भन्न नमिल्ने भन्दै पुर्पक्षका लागि कारागार पठाएको थियो । त्यसलगत्तै उनले माघ ३० गते नै उच्च अदालत बुटवल इजलासमा जिल्ला अदालतको आदेश बदरको माग गर्दै निवेदन दर्ता गराएका थिए ।

गत शुक्रबार उच्च अदालतले पनि थुनामै राख्ने आदेश सदर गरेको थियो । उच्चले शुक्रबार जोशीको हकमा जिल्ला आदेश सदर गर्दै अर्का प्रतिवादी रवि लामिछानेलाई पनि थुनामै राख्ने आदेश दिएको थियो । उच्च अदालतको आदेशपछि लामिछाने पनि सोही कारागारको ब्लक नं. ४ मा रहेका छन् । जोशी ब्लक नं. २ मा छन् ।

पहिलादेखि नै उच्च रक्तचापको समस्या रहे पनि अहिले जोशीमा थप स्वास्थ्य समस्या देखिएको कारागार प्रमुख सुरेश भण्डारीले बताए । ‘उहाँको स्वास्थ्यमा समस्या देखिएपछि हिजोदेखि युनिभर्सल कलेज अफ मेडिकल साइन्स (यूसिएमएस) भर्ना गरेका छौं,’ उनले भने, ‘अझै केही दिन डाक्टरको निगरानीमै राख्छौं ।’ जोशी र उनको परिवार उच्च अदालतबाट थुनामुक्त हुनेमा धेरै आशावादी थिए । तर, त्यही अनुसार आदेश नआएपछि उनी बिरामी परेको पारिवारिक स्रोतले बतायो ।

भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा जोशीलाई प्राध्यापक एवं डा. सन्दीप सुवेदीसहितको टोलीले हेरिरहेको छ । डा. सुवेदी साइकाट्रिक कन्सल्ट्यान्ट हुन् ।

जोशीको उच्च रक्तचाप र शरीरमा चिडचिडाहट पुन बढिरहेको र अन्य परीक्षणहरू भइरहेको अस्पतालका सूचना अधिकारी सुशील गुरुङले बताए । ‘उहाँलाई अझै ३/४ दिन डाक्टरको निगरानीमै राख्नुपर्ने देखिन्छ,’ उनले भने, ‘अन्य परीक्षणका सबै रिपोर्टहरु आएपछि मात्र थप विषयमा भन्न सकिन्छ ।’

जोशी कारागार प्रशासनको निगरानीमा अस्पतालको क्याबिनमा रहेको सूचना अधिकारी गुरुङले बताए । सुप्रिम सहकारी ठगी प्रकरण मुद्दामा जोशीविरुद्ध २ करोड ५० लाख व्यक्तिगत र १० करोड ९९ लाख ३६ हजार रुपैयाँ संयुक्त बिगो दाबी गरिएको छ ।

बाढीले क्षति गरेको ६ महिनापछि आधा दर्जन सडकको ठेक्का

Highlights

  • सबैभन्दा बढी क्षति भएको बीपी राजमार्गमा चार केज, जसमध्ये तीन वटा ठेक्का आह्वान गरेर प्रक्रिया अघि बढाइसकियो

काठमाडौँ — बाढीले क्षति गरेका सडकको ठेक्का प्रक्रिया ६ महिनापछि अघि बढाइएको छ । सबैभन्दा बढी क्षति गरेको बीपी राजमार्ग, कान्ति राजमार्ग, अरनिको राजमार्ग, मेची राजमार्ग र थानकोट–चित्लाङ सडक खण्डको पुनर्निर्माण गर्ने गरी ३० दिनको समय दिएर ठेक्का आह्वान गरिएको हो । बीपी राजमार्गमा चार प्याकेज बनाइएको छ, जसमध्ये तीन वटा ठेक्का आह्वान गरेर प्रक्रिया अघि बढाइएको हो ।

सिन्धुलीमा एक र काभ्रेतर्फ तीन प्याकेज बनाएर ठेक्का गरिएको हो । गत फागुन २८ मा सिन्धुलीतर्फ नेपालथोक–बर्खेखोलाको पाँच किलोमिटर खण्डमा ठेक्का गरिएको छ । काभ्रे खण्डको डालाबेंसीदेखि चार सयबेंसीसम्मको ८.५ किमि खण्डमा गत चैत ५ मा ठेक्का भइसकेको छ ।

चार सयबेंसीबाट भकुण्डेबेंसीको ११ किमि खण्डको चैत ७ मा ठेक्का आह्वान गरिएको सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशले बताए । डालाबेंसीदेखि बर्खेखोलासम्मको करिब ३.५ किमि खण्डको लागत अनुमान टुंगिइसकेको छ । उक्त खण्डमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले काम गर्ने कुरा सकारात्मक रहेको सडक विभागका महानिर्देशक रामहरि पोखरेलको भनाइ छ ।

Six months after the flood damage, half a dozen road contracts

काभ्रे र सिन्धुली खण्ड गरेर २८ किलोमिटरमा दुई लेनको स्ट्यान्डर्डअनुसार सडक निर्माण गरिनेछ । अहिले बीपी राजमार्गमा आउँदो बर्खालाई दृष्टिगत गरी अस्थायी मर्मतको काम भइरहेको छ । बीपी राजमार्गको स्थायी निर्माण र मर्मत गर्नलाई सडक डिभिजन भक्तपुर र खुर्कोटमार्फत ८ अर्ब ५० करोड रुपैयाँ माग गरिएको थियो । यसअनुसार भक्तपुर खण्डमा ७ अर्ब ५० करोड र खुर्कोट खण्डलाई १ अर्ब रुपैयाँ उपलब्ध गराइएको हो ।

बाढीले बढी क्षति गरेको अर्को सडक हो, कान्ति राजमार्ग । यस राजमार्गमा गत असोजमा आएको बाढीका कारण ठूलो क्षति भयो । ललितपुर–हेटौंडा जोड्ने बगुवाको पुल आधा बग्यो । ललितपुरतर्फ मात्र दुई दर्जनभन्दा बढी स्थानमा पहिरो खसेर सडक ठप्प भयो ।

पहिरोका कारण सडक साँघुरिएको छ । सडकमाथिको पहिरो अझै पन्छाइसकिएको छैन । जसोतसो पहिरो पन्छाएर यातायातका साधन सञ्चालन गरिएको छ । फेरि बर्खा नजिकिँदै छ । आउने बर्खाअघि नै बाढीपहिरोको जोखिम रहेको खण्डमा काम गर्ने गरी ठेक्का आह्वान गरिसकिएको कान्ति राजमार्ग सडक योजना कार्यालयकी प्रमुख रत्नलक्ष्मी बज्राचार्यले बताइन् ।

‘ललितपुरतर्फ दुई र मकवानपुरतर्फ एउटा प्याकेज बनाएका हौं,’ उनले भनिन्, ‘गत चैत ८ गते अघि मकवानपुरतर्फको ३५ किमि र ललितपुरतर्फ तीन वटा पहिरो सुधार गर्न ठेक्का गरिसकिएको छ ।’

ललितपुरतर्फ २८ किमिमध्ये करिब ३ सय ५० मिटर पहिरोको खण्ड पर्छ । ललितपुरको भैंसे, बिर्खेधारा र तीनपाने खण्डको ठूलो पहिरो व्यवस्थापनका लागि ठेक्का गरिएको हो । ‘पहिरोमा ग्याबिन, पर्खाल लगाउँछौं, अझै व्यवस्थित गर्न मेकानिकली स्टेबिलाइज्ड अर्थ (एमएसई) वाल पनि लगाउनेछौं,’ उनले भनिन् । बर्खाअघि यी तीन वटै खण्डमा पहिरो व्यवस्थापनको काम सक्ने योजनामा रहेको उनले बताइन् । पहिरो व्यवस्थापनका लागि एक वर्षभन्दा बढी समय दिइने छैन । अन्य ठेक्काको हकमा दुई वर्षको समय हुने बज्राचार्यको भनाइ छ । यस राजमार्गको स्थायी निर्माणका लागि २ अर्ब ५२ करोड रुपैयाँको स्रोत सहमति प्राप्त भएको बज्राचार्यको भनाइ छ ।

यही सडक खण्डमा बहुवर्षीयअन्तर्गत ६ किमिमा ठेक्का भइसकेको छ । ‘६ किमिबाहेक २२ किमि खण्डको ठेक्का छुट्टै गर्छौं,’ बज्राचार्यले भनिन् । बगुवाको पक्की पुल बाढीले आधा बगाएर बेलिबिज्र जडान गरिएको छ । अहिले बर्खालाई दृष्टिगत गर्दै बेलिब्रिजको ठेक्का गरेर काम अघि बढाइएको र वैशाख मसान्तभित्र यसको काम सकिने दाबी उनको छ । ललितपुरको सातदोबाटोबाट हेटौंडाको बुद्धचोकसम्मको दूरी ९१ किमि छ ।

थानकोट–चित्लाङ सडक खण्डको ३ किमिमा दुई लेन सडक बनाउने गरी गत चैत ११ मा ठेक्का आह्वान गरिएको सडक डिभिजन काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीले बताए । ‘एक खण्डमा करिब डेढ महिनाअघि नै ठेक्का भइसकेको छ, यसको दूरी साढे दुई किमि छ,’ उनले भने, ‘अहिले बर्खाले क्षति गरेको खण्डमा ठेक्का गरिएको छ, जहाँ दुई लेनको कालोपत्र सडक बन्नेछ ।’ थानकोट–चित्लाङ सडकको अप्ठ्यारो खण्डमा ठेक्का गरेर काम अघि बढाइएको उनको भनाइ छ ।

मेची राजमार्गमा गत असोजमा आएको बाढीले क्षति गरेको केही खण्डको गत पुस र माघमा ठेक्का गरी काम नै सुरु भइसकेको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले बताए । ‘मेची राजमार्गको रमिते खण्डमा पुसमै ठेक्का निकाल्यौं, अहिलेसम्म ६० प्रतिशत काम सकिसकेको छ ,’ उनले भने, ‘जुन खण्ड पाँचथरमा पर्छ ।’ यस खण्डमा असोजको बाढीले पूरै डाँडो खसेको थियो । अर्को समस्या भएको खण्ड हो, हेवा खोला ।

‘उक्त खण्डमा पनि गत माघमा ठेक्का निकालेर काम थालिसकिएको छ, २५ प्रतिशत काम नै सकिसकेको छ,’ उनले भने, ‘अर्को हो, इलामको माइखोला खण्ड, यस खण्डलाई समेटेर शुक्रबार ठेक्का गरिसकिएको छ ।’ उनका अनुसार माइखोलाअन्तर्गत जोरकलशदेखि हर्कटे खण्ड धेरै दुर्घटना हुने क्षेत्रमा पर्छ । यस खण्डमा टेवा पर्खाल लगाउने, मोड सुधार गर्ने, सडक चौडा गरिनेछ । यही ठेक्कामा माइखोला खण्डको पहिरो नियन्त्रणको काम पनि राखिएको उनको भनाइ छ ।

बाढीले मेची राजमार्गको तीन खण्डमा क्षति गरेको थियो । माइखोलामा चार दिन, रमिते डाँडामा सात दिन र हेवा खोलाका कारण ११ दिन सडक अवरुद्ध भएको थियो । ‘जोरकलशदेखि हर्कटेसम्म १५ किमिमा कालोपत्र गरिनेछ,’ उनले भने, ‘माइखोला खण्डमा एक किमिमा ग्राभेल मात्र गरिनेछ ।’ बाढीले क्षति गरेको अर्को राजमार्ग हो, अरनिको । यस राजमार्गमा पहिरोले क्षति गरेको क्षेत्रबाहेकको खण्डमा ठेक्का गरिसकिएको सडक डिभिजन चरिकोटका प्रमुख अमितकुमार श्रेष्ठले बताए ।

‘पहिरो व्यवस्थापन गर्ने खण्डमा ठेक्का गर्न बाँकी छ,’ उनले भने, ‘अन्य दुई वटा खण्डको भने ठेक्का निकाली सकिएको छ ।’ श्रेष्ठका अनुसार अरनिको राजमार्ग अन्तर्गत् सिन्धुपाल्चोकको बनदेउ–बाह्रबिसे खण्डको २८ किमि र बाह्रबिसे–लिपिङको २६ किमि खण्डको ठेक्का गरिएको हो । ‘बनदेउ–बाह्रबिसे खण्डको ठेक्का गरेको एक हप्ता हुन लाग्यो ,’ उनले भने, ‘बाह्रबिसे–लिपिङ खण्डको शुक्रबार ठेक्का गरिएको छ ।’ सबै ठेक्काको समयावधि ३० दिनको रहेको छ ।

बाढीले क्षति गरेका राजमार्गहरूको पुनर्निर्माण गर्नेगरी ठेक्का आह्वान भइरहेको सडक विभागका प्रवक्ता एवं उपमहानिर्देशक अर्जुनप्रसाद अर्यालले बताए । ‘अहिले पक्की पुलको ठेक्का प्रक्रिया अघि बढेको छैन, बर्खाअघि पुल नबन्ने र समस्या भएको ठाउँमा बेलिब्रिज जडान गर्न ठेक्का भएर काम अघि बढाइएको छ,’ उनले भने, ‘सडकहरूको भने चैतभित्र ठेक्का गरिसकिनेछ ।’

बर्खाले क्षति गरेको सडकहरूमा अरनिको राजमार्ग, मेची राजमार्ग, बिब्ल्याँटे–माइपोखरी–सन्दकपुर सडक, कान्ति राजमार्ग, चरिकोट–सिंगटी सडक, सिद्धार्थ राजमार्ग, खुर्कोट–मिल्टी र तामाकोशी–मिल्टी सडक छन् । वैकल्पिक सडकतर्फ काभ्रेको भकुन्डेबेंसी–तिमाल–सिन्दुरेटार, दोलखाको किर्नेटार–जाफे र थानकोट–चित्लाङ सडक छन् ।

सडक विभागले सडक र पुलको पुनर्निर्माणका लागि १८ अर्ब ८८ करोड २० लाख रुपैयाँ लाग्ने अनुमानसहित अर्थ मन्त्रालयसँग स्रोत सहमति मागेको थियो । राजमार्गतर्फ १५ अर्ब ८३ करोड १० लाख, पुलतर्फ १ अर्ब ९० करोड १० लाख र वैकल्पिक सडकतर्फ १ अर्ब १५ करोड रुपैयाँ अर्थसँग माग गरिएको थियो । यसमा १० राजमार्ग, १३ पुल र ३ सडकको स्थायी निर्माण र मर्मतसम्भारका लागि रकम माग गरिएको हो । अर्थले स्रोत सहमति दिएपछि ठेक्का व्यवस्थापनको काम सुरु गरिएको हो ।

०००

यी सडकमा लाग्यो ठेक्का

बीपी राजमार्ग नेपालथोक–बर्खेखोला ५ किमि (सिन्धुली खण्ड), डालाबेंसी–चार सयबेंसी ८.५ किमि, चार सयबेंसी–भकुन्डेबेंसीको ११ किमि

कान्ति राजमार्ग मकवानपुरतर्फ ३५ किमि सडक, ललितपुरतर्फ भैंसे, बिर्खेधारा र तीनपानेको पहिरो व्यवस्थापन

अरनिको राजमार्ग बनदेउ–बाह्रबिसे २८ किमि, बाह्रबिसे–लिपिङ २६ किमि

मेची राजमार्ग जोरकलश–हर्कटे १५ किमि

थानकोट–चित्लाङ सडक ३ किमि

गोली लागेका घाइतेको समेत उपचार सरकारले गरेन, विपन्नको बिजोग

Highlights

  • चैत १५ मा २० जनालाई गोली लागेको थियो, ५ जना अझै अस्पतालमा छन्, सरकारका कुनै उच्च पदाधिकारीले घाइतेको सोधखोजसमेत गरेका छैनन्
  • मन्त्रिपरिषद्ले घटना भएकै दिन घाइतेको निःशुल्क उपचार व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको थियो तर अधिकांशले आफ्नै खर्चमा उपचार गराउँदै

काठमाडौँ — राजावादीले १५ चैतमा तीनकुनेमा गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका रामचन्द्र बुढाथोकी सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा छन् । उनको दाहिने हातमा लागेको गोलीको छर्रा चिकित्सकले अपरेसन गरेर निकालिसकेका छन् तर घाउ पाकेपछि थप उपचार हुँदै छ । मालवाहक बोलेरो गाडी चलाएर परिवारको भरथेग गर्ने रामचन्द्र नै अस्पताल भर्ना भएपछि पत्नी सावित्रा अस्पतालको खर्चसमेत कसरी जुटाउने भन्ने पिरलोमा छिन् ।

नियमित पैसा तिरे मात्र अस्पतालमा औषधि र उपचार पाउने गरेको सावित्राले सुनाइन् । ‘सरकारले निःशुल्क उपचार हुन्छ भनेको त छ रे, बिलअनुसार पैसा फिर्ता हुने रे,’ उनले भनिन्, ‘हामी त दिनभरि कमाएर बेलुका खाने मान्छे । अहिले बिल तिर्ने नै पैसा छैन ।’ श्रीमान्लाई खाना/नास्ताका लागि पनि किराना पसलबाट उधारोमा सामान ल्याउने गरेको उनले बताइन् ।

दोलखा कालिञ्चोक गाउँपालिकाबाट आएर रामचन्द्रले १८ वर्षदेखि काठमाडौंमा गाडी चलाउँदै आएका थिए । १५ चैतमा पनि कमल विनायकसम्म सामान लगेबापत १२ सय रुपैयाँ कमाएर फर्केका थिए । गाडी पार्क गरेर कोठा फर्कने क्रममा आफूलाई गोली लागेको उनको भनाइ छ । ‘प्रहरी र प्रदर्शनकारीको भीडका कारण गाडी अलि भित्र राख्दा सुरक्षित हुन्छ भन्ने लागेर एसओएस स्कुलपछाडि राखें,’ रामचन्द्रले भने, ‘४ बज्न लाग्दै थियो । भाटभटेनीतिर ढुंगामुढा हुँदै थियो ।

The government did not even treat the injured, leaving the poor poorरामचन्द्र बुढाथोकी

नजिकै गाडी पनि जलाउँदै थिए । यहाँ बस्नु ठीक छैन जस्तो लागेर कोटेश्वरमै रहेको कोठातर्फ हिँडे । त्यही बेला मलाई गोली लाग्यो ।’ रामचन्द्रलाई कोठा भाडा कसरी तिर्ने, गाडीको किस्ता कसरी बुझाउने अनि छोराछोरीलाई कसरी पढाउने भन्ने चिन्ता छ । उनका तीन छोरी र एक छोरा छन् । ‘मेरो हातले पहिले जसरी काम पनि गर्दैन होला । कति समय गाडी चलाउन नमिल्ने हो ?’ रामचन्द्रले भने, ‘मेरो त परिवारकै बिचल्ली हुने भयो ।’ राज्यले भनेको अहिले पैसा लिए पनि बिरामीको उपचार खर्च पछि फिर्ता हुने व्यवस्था रहेको अस्पताल प्रशासनले जनाएको छ । काठमाडौं मेडिकल कलेजमै उपचार खर्च तिर्न नसकेपछि स्याङ्जाका सुमन गुरुङ अस्पतालबाट भागेका थिए । उनलाई १५ चैतकै प्रदर्शनमा देब्रे गाला र देब्रे कानमा रबरको गोलीको छर्रा लागेको थियो । उनी चौथो दिन अस्पतालबाट भागेका थिए ।

०००

जडीबुटी चोकमा विवश र रामहरि (रिदम) श्रेष्ठ दाजुभाइको नमस्कार इन्टरप्राइजेज नामको मोबाइल पसल छ । त्यही पसल बन्द गरेर १५ चैतमा घर फर्कने क्रममा रामहरिलाई प्रहरीको गोली लाग्यो । अहिले उनी बीएन्डबी अस्पतालमा उपचार गराइरहेका छन् ।

The government did not even treat the injured, leaving the poor poorरामहरि श्रेष्ठ

रामहरिका अनुसार त्यो दिन जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीभित्र गाडी जलिरहेको थियो । ५/७ गाडी जलेपछि प्रहरी आइपुगे । ‘म पसलको सटर तानेर बरन्डामा बसिरहेको थिएँ । चाबी लगाउन बाँकी नै थियो । अश्रुग्यास हान्दै कोटेश्वरतर्फबाट प्रहरी आए,’ उनले सुनाए, ‘हाम्रा तीन वटा सटरमा ६ वटा चाबी लगाउनुपर्ने थियो । दुई वटा मात्र चाबी लगाउन बाँकी रहँदा प्रहरीले हाम्रै पसलअगाडि भाटा हान्न थाले ।’

आफू प्रदर्शनकारी नभएको बताएपछि प्रहरीले जथाभावी बोल्दै बन्द गरेर गइहाल्नू भन्दै झपारेको रामहरिले बताए । त्यसपछि उनी र उनका दाइले पसलमा चाबी लगाए । सटर छेउको बरन्डामा पानीको बोतल थियो । प्रहरीले पानी मागे । ‘दाइले हिँड् भन्दै हुनुहुन्थ्यो । पानी त दिऊँझैं लाग्यो । मैले पानी दिएँ । पानी पाएको प्रहरीले तैंले बक्सिस पाइस्, यताबाट जा भने,’ रामहरिले भने, ‘हेलमेट लगाएर बाइक झिक्न पार्किङस्थल जाँदा बन्द थियो । त्यहींनेर प्रहरीले हानेको अश्रुग्यासले मेरो आँखा पोल्यो । आँखा मिच्दै पेप्सीकोलातर्फ जाँदै गर्दा मलाई पाखुरामा गोली लाग्यो ।’

अश्रुग्यासले नै भीड तितरबितर भइसकेका बेला प्रहरीले गोली चलाएको उनले बताए । ‘गोली चलाउन आवश्यक नै थिएन । मेरो वरिपरि अरू कोही पनि थिएनन्,’ उनले भने, ‘प्रहरीले पानी मागेपछि मैले पानी दिएँ । पानी नदिई भागेको भए बरु गोली लाग्दैन थियो होला ।’

काभ्रेको पनौती–१ का विवशले १५ वर्षअघि काठमाडौं आएर अर्काको मोबाइल पसलमा काम सुरु गरेका थिए । पछि आफैंले पसल सञ्चालन गरे । बुबाको निधनपछि भाइ रामहरिलाई काठमाडौं ल्याएर पढाएका थिए र पछि पसल सञ्चालनको जिम्मा नै भाइलाई दिएका थिए । विवश भने तेक्वान्दोका गुरु हुन् । काभ्रेको घरमा बस्ने आमालाई भने विवश र रामहरिले सडक दुर्घटनामा परेको भनेर ढाँटेका छन् ।

गोली लागेपछि शारीरिक र मानसिक रूपमा आफू कमजोर भएको रामहरिले बताए । भाइलाई गोली लागेपछि विवशले पसल खोल्न पाएका छैनन् । ‘दाजुभाइको कमाइले काठमाडौंमा नै घर बनाउने योजना बनाएर गत साता मात्र जग हालेका थियौं,’ विवशले भने, ‘खोइ के दशा आइलाग्यो !’ भाइको उपचारका लागि साढे दुई लाख रुपैयाँ अस्पताललाई बुझाएको विवशले सुनाएँ । ‘अस्पतालले उपचार सुरु गर्नुपहिले नै डिपोजिट माग्यो,’ उनले भने, ‘त्यसपछि भने पैसा तिरेको छैन ।’

०००

१५ चैतमै गोली लागेर घाइते भएकी उदयपुरको चौदण्डीगढी–६, बेलटार सातधारेकी रेविका खत्रीको उपचारमा परिवारले ३ लाख रुपैयाँ खर्च गरिसकेको छ । सिभिल अस्पतालको सघन उपचार कक्षमा लामो समय राखिएकी रेविकालाई मंगलबार वार्डको क्याबिनमा सारिएको छ । रेविकासँग पैदल हिँड्दै गर्दा गोली लागेका उनका दाइ दिनेश अस्पतालबाट ५ दिनपछि डिस्चार्ज भएका थिए । सोमबार फलोअपमा अस्पताल जाँदा उनले ड्रेसिङ र थप उपचारका लागि पैसा तिर्नुपर्‍यो । दाजुबहिनीको उपचारमा सरकारबाट अहिलेसम्म कुनै सहयोग नपाएको परिवारजनले बताए । उनीहरूका अनुसार घाइतेले बिलसहित निवेदन दिए अस्पतालले मन्त्रालयमार्फत औषधि र उपचार खर्च ‘रिफन्ड’ गरिदिने भनिएको छ । ‘बिल राखे पैसा त फिर्ता आउँछ भन्ने सुनेका छौं तर अब त खर्च गर्ने पैसा नै साथमा छैन,’ रेविकाकी दिदी अनिताले भनिन्, ‘हामीलाई सहयोग गर्न भनेर संघसंस्था र व्यक्ति आएका थिए तर प्रचारप्रसार गर्ने गरी ब्यानर राखेर सहयोग गर्ने भनेपछि हामीले लिएनौं । राज्यले सहयोग गर्छ भन्ने आशामा छौं ।’ रेविकाको कलेजबाट विद्यार्थीले गरेको सहयोगको रकम भने परिवारले चलाइरहेको छ ।

The government did not even treat the injured, leaving the poor poorरेविका खत्री

नरेफाँटस्थित खाद्यान्न पसलमा हिसाबकिताबको काम सकेर फर्कने क्रममा रेविकालाई १५ चैतमा प्रहरीको गोली लागेको थियो । प्रदर्शनका कारण गाडी नचलेपछि रेविका ग्वार्कोस्थित आफ्नो कोठामा नगई ठूलो बुबाको छोरा दिनेशकामा गएकी थिइन् । कोठा पुग्नै लाग्दा साँझ ५ बजेतिर उनीहरूलाई गोली लागेको थियो । अनिताका अनुसार रेविकाको खुट्टाको अपरेसन दुई पटक गर्नुपर्‍यो । ‘दाहिने खुट्टामा लागेको गोलीले तिघ्राको मासु निकाल्दा मुटुदेखि आएको नसामा पनि असर पारेको रहेछ । नसाले काम नगरेपछि पुनः अपरेसन गरेर देब्रे खुट्टाको नसासँग जोडिएको छ,’ अनिताले सुनाइन् ।

खत्री परिवारको आर्थिक अवस्था सामान्य छ । घर खर्च धान्न मुस्किल भएपछि अनिता र रेविकाका दाइ जापान गएका छन् । ‘दुई वर्षअघि बुबाको फोक्सोमा पानी जमेपछि ७ लाख खर्च गरेर उपचार गरेका थियौं, आमा नियमित औषधि प्रयोग गर्नुहुन्छ,’ अनिताले भनिन् । उनी पढ्दै रेस्टुरेन्टमा काम गर्छिन् । ‘जापान जाने भिसाका लागि आवेदन दिएकी थिएँ,’ अनिताले भनिन्, ‘तर बहिनीको यस्तो अवस्था भएपछि केही सोच्नै सकिरहेकी छैन । भिसा र टिकटका लागि बचत गरेको पैसा बहिनीको उपचारमा खर्च गरें । आफन्तले पनि सहयोग गर्नुभएको छ । भिसा लाग्यो भने टिकट खर्च पनि कहाँबाट ल्याउने भन्ने तनाव छ ।’ रेविकाका बुबा तुलसीराम खत्री चौदण्डीगढी नगरपालिकाका एमालेबाट मनोनीत कार्यपालिका सदस्य हुन् । छोरीलाई गोली लागेको खबर सुनेपछि उनी श्रीमतीसँगै काठमाडौं आएका छन् । ‘केही गर्छु भनेर काठमाडौंमा पढाइसँगै संघर्ष गरिरहेकी मेरी छोरीको जीवन नै बिचल्ली भयो । उसको जीवन के होला ? भविष्य के होला ? मेरी छोरीले पाउने सेवा सुविधा, क्षतिपूर्ति र भविष्यको ग्यारेन्टी राज्यले गरिदियोस्,’ तुलसीरामले भने । उनले गाउँमा सञ्चालन गरेको सानो डेरी उद्योग पनि रेविकालाई गोली लागेपछि बन्द छ । यता रेविकाको तेस्रो वर्षको परीक्षा पनि आउँदै छ । परीक्षा दिन सक्छिन् कि सक्दिनन् भन्ने चिन्ता पनि परिवारमा छ ।

०००

भोजपुरको टेम्केमैयुङ–६, लोखर्क घर भएका २७ वर्षीय डिल्लीप्रसाद लुइँटेल काठमाडौंमा बसको टिकट काउन्टरमा काम गर्दै लोक सेवाको तयारी गरिरहेका थिए । १५ चैतमा राजावादीको प्रदर्शनका कारण बस नचलेर फुर्सदिला बनेपछि उनी साथीहरूसँगै प्रदर्शन हेर्न पुगेका थिए । त्यही बेला पेटमा गोली लागेर उनी घाइते भए । यो खबर सुनेपछि भाइ केदार हतारिँदै काठमाडौं आए । ‘घाइतेको उपचार सरकारले नै गर्छ भन्ने सुनेको थिएँ । म पनि खर्च बन्दोबस्त नगरी आएँ । तर यहाँ अस्पतालबाहिर औषधि किन्नुपर्ने रहेछ, परीक्षण रिपोर्टको पैसा पनि तिर्नु परिरहेको छ,’ उनले भने ।

The government did not even treat the injured, leaving the poor poorडिल्लीप्रसाद लुइँटेल

डिल्लीप्रसादको उपचार ट्रमा अस्पतालमा भइरहेको छ । उपचारमा करिब ९० हजार रुपैयाँ खर्च भइसकेको केदारको भनाइ छ । ‘अस्पतालमा त अहिले पैसा तिर्नुपरेको छैन । तर पछि तिर्नुपर्ने हो कि होइन, थाहा छैन । बाहिर औषधि किन्नुपर्‍यो भने त पैसा छैन । बिहान–बेलुकाको खाना कसरी खाने हो ! काठमाडौंमा नजिकका आफन्त पनि छैनन्,’ केदारले भने, ‘पैसा पनि कोसँग माग्ने ! गाउँको जग्गा पनि भनेको बेला बिक्री हुँदैन ।’ केदारका अनुसार घर खर्च चलाउने जिम्मेवारी डिल्लीप्रसादकै थियो । ‘आमा क्यान्सरले बित्नुभयो, त्यसपछि हाम्रो अभिभावक दाजु नै हो,’ केदारले भने ।

०००

गोली नलागेको भए भोजपुरको रामप्रसाद गाउँपालिका–१ खेनाका शम्भु दर्जी अहिले कतारमा हुन्थे । उनी ५० हजार रुपैयाँ तलब हुने सम्झौता गरेर कतार जान घरबाट बिदावारी भईवरी काठमाडौं आएका थिए । भोलिपल्ट शनिबार परेकाले १५ चैतमा उनी म्यानपावर कम्पनीलाई पैसा बुझाउन सिनामंगल जाँदै थिए । राजावादीको प्रदर्शन भड्किएपछि प्रहरीले गोली चलाउँदा उनलाई पनि लाग्यो । अहिले उनी ट्रमा सेन्टरमा उपचाररत छन् ।

The government did not even treat the injured, leaving the poor poorशम्भु दर्जी

शम्भुको कुहिनामा गोली लागेको छ, घाउ सुकेपछि अपरेसन गर्नुपर्ने चिकित्सकले बताएका छन् । ‘अझै कति अस्पताल बस्नुपर्ने हो, थाहा छैन,’ शम्भुले भने, ‘विदेश जाने भनेर ल्याएको पैसा सबै सकियो । अस्पतालको खर्च त तिर्नुपरेको छैन । खाना खर्च र बाहिरबाट ल्याउनुपर्ने औषधिका लागि खर्च जोहो गर्नै मुस्किल भएको छ ।’ शम्भुले ८ वर्षअघि बुबा गुमाएका थिए । त्यसपछि उनले आमाको क्यान्सरको उपचार गर्नुपर्‍यो । उनको उपचारमा अहिले दिदी बिनाले सहयोग गर्दै आएकी छन् । ‘भाइले विदेशमा कमाएर फिर्ता गर्ला भनेर यसअघि नै २ लाख दिएकी थिएँ, अहिले उसलाई नै उपचारमा कुर्नुपरेको छ,’ बिनाले भनिन्, ‘विदेश जान लिएको र आमाको उपचार खर्च गर्दा लागेको ८ लाख ऋण उसले तिर्नुपर्नेछ ।’

देब्रे खुट्टामा गोलीको छर्रा लागेर घाइते भएकी ४० वर्षीया इन्द्रमाया लिम्बूलाई अस्पतालबाट सोमबार डिस्चार्ज गर्न श्रीमान् गंगाबहादुरले पैसा सापटी खोजेर ल्याएका थिए । गंगाबहादुर बिजुलीको काम गर्छन् । यो दम्पतीलाई महिनाभर काम गरेको पैसाले परिवार चलाउन पनि मुस्किल छ । गंगाबहादुरका अनुसार श्रीमतीको उपचारका लागि सबै गरेर करिब २५ हजार रुपैयाँ खर्च भएको छ । १५ चैतमा थेरापी गराएर फर्किंदै गरेकी श्रीमतीलाई गोली लागेको खबर सुनेपछि गंगाबहादुर काम गर्ने साथीसँग ५ हजार रुपैयाँ सापट मागेर अस्पताल आएका थिए । अरू पैसासमेत सापटी मागेर श्रीमतीलाई सिभिल अस्पतालमा उपचार गराएको उनले सुनाए । लिम्बू दम्पती १ छोरा र २ छोरीसहित बस्दै आएका छन् । तीनकुने र आसपास क्षेत्रमा राजावादी हिंसात्मक गतिविधिमा उत्रिएपछि ‘नियन्त्रण गर्न’ प्रहरीले गोली चलाउँदा जो–जो घाइते भए, तिनीहरूको उपचारमा अस्पताल, प्रशासन र सरकारको समन्वय अभाव हुँदा परिवारजनले दुःख पाइरहेका छन् । मन्त्रिपरिषद्ले १५ चैतमै घाइतेको निःशुल्क उपचार व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको थियो । तर कोहीलाई यस विषयमा जानकारी नै छैन भने जानकारी हुनेलाई प्रक्रियाबारे थाहा छैन ।

स्वास्थ्य मन्त्रालयले भने घाइतेहरूको निःशुल्क उपचार भइरहेको दाबी गरेको छ । ‘हामीले सम्बन्धित अस्पतालमा पत्र पठाएका छौं, फोन गरेका छौं । यसको बाँकी सहजीकरण अस्पतालले गर्नुपर्छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने, ‘उपचार गरेर कोही डिस्चार्ज भइसक्नुभएको छ भने पनि हामी बिल र प्रहरीको रिपोर्टसहित आए मन्त्रालयबाट नै भुक्तानी गर्छौं ।’ उनका अनुसार यो दिन, यो समय र यो स्थानमा घाइते भएको भनेर पूरा विवरण बिरामी पक्षले अस्पताललाई बुझाएपछि अस्पतालले प्रमाणीकरण गर्छ र अस्पतालभित्र भएका उपचार र औषधि सबै निःशुल्क हुन्छ । ‘अस्पतालमा औषधि उपलब्ध नभएर बाहिरबाट किन्नुपर्‍यो भने त्यो बिल रिफन्डका लागि सम्बन्धित अस्पताललाई बुझाउनुपर्छ । अस्पतालले स्वास्थ्य मन्त्रालयलाई पठाउँछ र मन्त्रालय आफैं वा मन्त्रिपरिषद्मा पठाएर भुक्तानी गरिन्छ ।’

डा. बुढाथोकीका अनुसार बिरामीले बाहिरबाट औषधि किन्न सक्ने आर्थिक अवस्था नभए परिवारले सामाजिक सुरक्षा इकाइमा विपन्नको निवेदन दिएर सहयोग लिन सक्छन् । घटना भएको दिन मन्त्रिपरिषद्ले निर्णय गर्नुअघिसम्म बिरामीलाई अप्ठ्यारो परेको भए पनि त्यसपछि समस्या नहुनुपर्ने उनले बताए । ‘त्यस्तो समस्या भए मन्त्रालयको टोल फ्रि नम्बरमा समेत सम्पर्क गरेर सहयोग लिन सकिन्छ,’ उनले भने ।

प्रवक्ता बुढाथोकीका अनुसार राष्ट्रिय ट्रमा सेन्टर २, निजामती (सिभिल) अस्पताल १, बीएन्डबी अस्पताल १ र काठमाडौं मेडिकल कलेजमा १ घाइतेको उपचार अहिले पनि भइरहेको छ । मन्त्रालयका अनुसार प्रदर्शनका क्रममा १ सय २९ जना घाइते भएकामा १३ जनाको आकस्मिक शल्यक्रिया गरिएको थियो । कति जनाले के–के उपचार गराए, कति खर्च हुँदै छ भन्ने आधिकारिक विवरण भने मन्त्रालयसँग छैन । तीनकुने घटनामा दुई जनाको ज्यान गएको थियो ।

लोकप्रिय