Highlights
काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस नेतृत्वमा सरकार बन्ने अवस्थामा समर्थन गर्ने बताएका छन् । प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका दाहालले यसअघि माओवादी सरकारमा नजाने बताउँदै आए पनि बिहीबार एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा उनले कांग्रेसले यो सरकारको विकल्प खोज्नुपर्ने बताए ।
उनले आफू प्रधानमन्त्रीको दौडमा नभएको भने बताए । ‘मचाहिँ प्रधानमन्त्रीको रेसमा ०८४ सम्म छैन । एकदम प्रस्ट हो,’ उनले थपे ।
उनले वर्तमान राजनीतिक कोर्स परिवर्तन गर्ने सपना नभई बिपना भएको जनाए । ‘यो सपना होइन, बिपना हो,’ दाहालले भने, ‘राजनीतिक कोर्स परिवर्तन हुन सक्छ । सरकारको नेतृत्व ठूलो पार्टी र शान्ति सम्झौता हस्ताक्षर हुनुको नाताले भनेको हो । मेरो देउवा (शेरबहादुर) सँग विश्वास छ । देउवाले केपी ओलीजीजस्तो जालझेल गर्नुहुन्न ।’
उनले सरकार परिवर्तनको समय तोक्न नचाहने तर कुनै पनि बेला सरकार परिवर्तन हुने दाबीसहित ओली सरकार एक वर्ष नजाने बताए । ‘मलाई त्यस्तो लाग्दैन,’ उनले ओली सरकार एक वर्ष पनि जाँदैन त ? भन्ने प्रश्नमा दाहालको भनाइ थियो ।
उनले ओली सरकार सहज रुपमा अघि जान नसकने दाबीसमेत गरे । ‘यो सरकारको जग कमजोर भइनै सक्यो,’ उनले भने, ‘गंभीर समीक्षा गरौं । राष्ट्र र जनताको पक्षमा संविधान संशोधनको आधार खोजौं ।’
उनले अर्को गठबन्धन बन्यो भने संविधान संशोधन गर्ने समीकरण बन्ने दाबी गरे ।