फोर आइज न्युज
बिहिबार, साउन २, २०८२

This Week

नेताको आदेश कुर्दा गभर्नर सिफारिस समितिको बैठक नै बस्न सकेन

Highlights

  • गभर्नर सिफारिस प्रक्रिया अघि नबढ्दा २५ चैतदेखि राष्ट्र बैंक कायममुकायम नेतृत्वमा, पद रिक्त हुनुभन्दा एक महिनाअघि नै गभर्नर नियुक्ति गर्नुपर्ने कानुनी व्यवस्था
  • समितिको बैठक बोलाउने जिम्मेवारी अर्थमन्त्रीज्यूको हो, बोलाउनुभएको छैन, छिट्टै बोलाउने भन्नुभएको छ।- विश्व पौडेल, सिफारिस समिति सदस्य
  • सञ्चारमाध्यमबाट पाएको जानकारी भागबन्डा नमिलेर बैठक नबसेको भन्ने छ, संयोजकले बैठक बोलाउने हो तर खबर आएको छैन। – विजयनाथ भट्टराई, सिफारिस समिति सदस्य

काठमाडौँ — नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिमा राजनीतिक सहमति भइसकेको भनिए पनि अर्थमन्त्रीको संयोजकत्वमा गठित सिफारिस समतिको बैठक बस्नै सकेको छैन । मन्त्रिपरिषद् निर्णयबाट ११ चैतमा गठित समितिले एक महिना बित्न लाग्दा एउटा पनि बैठक गर्न नसकेको हो । गभर्नर पद भने २४ चैतपछि रिक्त छ ।

राष्ट्र बैंक ऐनअनुसार गभर्नर पद रिक्त हुनुभन्दा एक महिनाअघि नै नयाँ गभर्नर नियुक्त हुनुपर्छ ।

तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिनुअघि नै सरकारले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेल र राष्ट्र बैंकका पूर्वगभर्नर विजयनाथ भट्टराई सदस्य रहेको सिफारिस समिति गठन गरेको थियो । तर सिफारिस प्रक्रिया नै अघि नबढेपछि सरकारले २५ चैतदेखि डेपुटी गभर्नर नीलम ढुंगानालाई कायममुकायम जिम्मेवारी दिएको छ ।

सत्तारूढ कांग्रेस र एमालेबीचमा भागबन्डा नमिल्दा गभर्नर नियुक्तिमा ढिलाइ हुँदै आएको छ । तर प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले नयाँ गभर्नरको नाममा गत मंगलबार सहमति जुटाइसकेको नेताहरूको भनाइ छ । ‘तर समितिले नाम पाएको छैन । नेताहरूको आदेश पर्खंदा सिफारिस समिति भूमिकाविहीन भएको छ,’ अर्थ मन्त्रालयका एक अधिकारीले भने ।

कार्यकारी निर्देशक गुणाकर भट्टले राष्ट्र बैंककी कायममुकायम गभर्नर ढुंगानासमक्ष गत शुक्रबार राजीनामा दिइसकेका छन् । यद्यपि राजीनामा स्वीकृत भएको छैन । भट्ट गभर्नर नियुक्त हुने चर्चा चलेकै भरमा सर्वोच्च अदालतमा रिट परेको थियो । आइतबार न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा यो रिट राखिए पनि हेर्न नभ्याइने सूचीमा परेको थियो । सोमबारका लागि अर्को पेसी तोकिएको छ ।

सिफारिस समितिको बैठक एक महिनासम्म नबसेर राष्ट्र बैंकको प्रतिष्ठाको धज्जी उडाइएको एक पूर्वगभर्नरले टिप्पणी गरे । ‘सिफारिस समितिले उत्कृष्ट तीन जना छनोट गरी मन्त्रिपरिषद्मा पठाउने हो । यसको अर्थ तीनै जना उत्कृष्ट छन्, तीमध्ये सरकारलाई जुन उपयुक्त लाग्छ, उसैलाई नियुक्त गर भन्ने हो,’ उनले भने, ‘तर यहाँ देखाउनका लागि समिति गठन गरियो । समितिको एउटा पनि बैठक बस्न नसक्नु चरम राजनीति हो । यसले समितिका संयोजक र सदस्यहरूको निर्णय क्षमतामा प्रश्न खडा गर्‍यो ।’

The meeting of the Governor's recommendation committee could not be held while waiting for the leader's orders

बैठक बोलाउने जिम्मेवारी समिति संयोजकको भएको जनाउँदै सिफारिस समितिका विज्ञ सदस्य पौडेलले आफूहरू जतिबेला बोलाए पनि काम गर्न तयार रहेको बताए । ‘समितिको बैठक बोलाउने जिम्मेवारी नेतृत्वको हो । हालसम्म बोलाइएको छैन,’ उनले भने, ‘उपप्रधान एवं अर्थमन्त्रीज्यूले छिट्टै बैठक बोलाउने भन्नुभएको छ ।’

समितिका अर्का सदस्य भट्टराईले समितिको बैठक नबस्नुको कारण आफूलाई थाहा नभएको बताए । ‘सञ्चारमाध्यमबाट पाएको जानकारीमा दुई दलबीच भागबन्डा नमिलेर बैठक नबसेको भन्ने छ,’ उनले भने, ‘हामी सदस्य भएकाले संयोजकले बैठक बोलाए जाने हो । अझैसम्म खबर आएको छैन ।’

नेपालमा नियामक निकायमध्ये राष्ट्र बैंक तुलनात्मक रूपमा बलियो मानिन्छ । वित्त नीति निर्माण तथा कार्यान्वयन गर्ने अर्थ मन्त्रालय र मौद्रिक नीति निर्माण तथा कार्यान्वयन गर्ने राष्ट्र बैंकबीचको समन्वयमा जहिल्यै प्रश्न उठ्ने गरेको छ । त्यसमाथि गभर्नर नियुक्तिमा सरकारले ढिलाइ गरिरहेकाले यहाँ पनि कतै चलखेल हुने त होइन भन्ने आशंका रहेको जानकार बताउँछन् ।

गभर्नर नियुक्तिमा जति ढिलाइ गरिन्छ, अर्थतन्त्रमा त्यति नै नकारात्मक असर पर्ने राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीवी नेपालको भनाइ छ । सिफारिस समितिलाई गभर्नर छान्ने जिम्मा ऐनले दिए पनि त्यसमा सरकारले हस्तक्षेप गरी आफैं छान्ने गरेको उनी बताउँछन् । ‘सरकारले समितिको भूमिकालाई निकम्मा बनाउँदै आएको छ । गभर्नरलाई सार्वजनिक संस्थानकै महानिर्देशक छानेजस्तो बनाइँदै छ,’ उनी भन्छन्, ‘समितिले बनाएको तीन जनाको सूचीबाटै सरकारले गभर्नर नियुक्ति गर्ने हो । तर सिफारिस गर्न नसक्नु अनौठो हो ।’

अर्थतन्त्रका समस्या समाधानमा गभर्नरको भूमिका अहम् भए पनि नियुक्ति प्रक्रियामा सरकार संवेदनशील छैन भन्ने देखिएको अर्थविद्हरू बताउँछन् । उनीहरूका अनुसार सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधि मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था ‘एफएटीएफ’ को ‘ग्रे–लिस्ट’ बाट नेपाललाई बाहिर निकाल्न सबैभन्दा महत्त्वपूर्ण भूमिका गभर्नरको हुन्छ ।

राष्ट्र बैंक ऐनमा गभर्नरका लागि उच्च नैतिक चरित्र भएको, आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानुनमा स्नातकोत्तर उपाधि हासिल गरी कार्यअनुभव भएको हुनुपर्ने व्यवस्था छ ।

संवैधानिक निकायका ५२ नियुक्तिविरुद्धको रिटमा ४ वर्षपछि दिनहुँ सुनुवाइ

Highlights

  • निरन्तर सुनुवाइमा पनि बुधबारअघि टुंगो नलागे प्रधानन्यायाधीश विदेश भ्रमणमा जाने भएकाले दुई साता सुनुवाइ नहुने

काठमाडौँ — अध्यादेशमार्फत ऐन संशोधन गरेर संवैधानिक निकायमा ५२ पदाधिकारी नियुक्त गरिएको विषयमा परेको रिटमा सर्वोच्च अदालतले चार वर्षपछि दैनिक सुनुवाइ सुरु गरेको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा रहेको पाँच सदस्यीय संवैधानिक इजलासले आइतबार सुरु गरेको सुनुवाइ रिटलाई अन्तिम टुंगो नलाग्दासम्म जारी रहने छ ।

अध्यादेशका आधारमा भएको नियुक्तिविरुद्ध परेका १५ वटै रिट एकसाथ राखेर सर्वोच्चले गत ३० माघमा सुनुवाइ सुरु गरेको थियो । २९ फागुन, ६ चैत र ३ वैशाखमा गरिएको सुनुवाइमा निवेदकका पक्षबाट दुई दर्जनभन्दा बढी अधिवक्ताले बहस गरेका थिए ।

आइतबारदेखि सुरु भएको निरन्तर सुनुवाइको पहिलो दिनको पूरै बहस महान्यायाधिवक्ता रमेश बडालले गरे । उनले गत बुधबार संवैधानिक इजलास सकिनु आधा घण्टाअघि थालेको जवाफी बहसलाई आइतबार निरन्तरता दिएका हुन् ।

महान्यायाधिवक्ता बडालले बहसमा क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को अध्यक्षका रूपमा गरेको निर्णय के कति कारणले ठिक थियो भन्ने पक्षमा तर्क प्रस्तुत गरे । ‘तत्कालीन सभामुख अग्नि सापकोटाले संविधान पालना नगरेको, संवैधानिक परिषद्को बैठकमा जानुपर्ने दायित्व निर्वाह नगरेको र निष्पक्ष भूमिका देखाएको कारण आइलागेको संवैधानिक संकट टार्न सरकारले अध्यादेश ल्याएर संवैधानिक नियुक्ति गर्नुपरेको हो,’ उनले जिकिर गरे ।

इजलासमा महान्यायाधिवक्ता बडालले लामो समयदेखि रिक्त रहँदै आएका संवैधानिक निकायलाई सक्रिय बनाउन अध्यादेश नल्याई नियुक्ति गर्न नसकिने अवस्था त्यतिबेला रहेको बताए । अध्यादेश ल्याउनैपर्ने दायित्व सरकारले पालना गरेको हुनाले त्यसविरुद्ध दायर रिट खारेजभागी रहेको उनको दाबी थियो । ‘नियुक्तिपछि अध्यादेश जीवित रहेन, मृत अध्यादेशका बारेमा बहस गर्न आवश्यक नरहेको भनी सर्वोच्चबाटै बारम्बार नजिर प्रतिपादन भएको छ । त्यस्ता दर्जनभन्दा बढी नजिर छन्,’ उनले तर्क गरे ।

स्थानीय स्वायत्त शासन लागू गर्ने अध्यादेशविरुद्ध वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै २०६१ मा सर्वोच्चले अध्यादेश मृत भइसकेकाले थप निर्णय गर्नु नपर्ने भनी व्याख्या गरेको थियो । त्यस्तै, प्रवीणता पोखरेलले राष्ट्रपति कार्यालयविरुद्ध दायर गरेको रिटमा पनि २०७१ मा फैसला दिँदै सर्वोच्चले अध्यादेश जारी गर्ने सरकारको अधिकार भनी व्याख्या गरेको थियो ।

अध्यादेशकै सम्बन्धमा सोमकान्त मैनालीले दायर गरेको रिटमा पनि सर्वोच्चले निष्क्रिय भइसकेको कानुनमा वैधानिकता परीक्षण नहुने भनी २०६३ मा फैसला दिएको थियो । यस्तै नजिर महान्यायाधिवक्ता बडालले प्रस्तुत गरे । सोमबारको बहस पनि बडालकै हुने महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले बताए ।

संवैधानिक नियुक्तिको प्रतिरक्षा गर्न महान्यायाधिवक्ताको कार्यालयबाट बडालसहित ९ जनाको टोली खटिएको छ । यसअघिका चार दिन रिट निवेदकले समय लिएकाले सरकारका तर्फबाट पनि त्यति नै समय लाग्ने देखिएको छ । यद्यपि, प्रधानन्यायाधीश राउतका साथै न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी सम्मिलित संवैधानिक इजलासले आइतबार समय व्यवस्थापन गरी चुस्त बहस गर्न र पहिल्यै भनिएका कुरा नदोहोर्‍याउन दुवै पक्षलाई निर्देश गरेको छ ।

Daily hearing after 4 years on writ against 52 appointments of constitutional bodies

इजलासले महान्यायाधिवक्ताको टोलीलाई एक दिन र संवैधानिक निकायका ५२ पदाधिकारीलाई एक दिन बहस गर्न दिएर बाँकी एक दिन जवाफी बहसमा खर्च गर्ने योजनाका साथ समय व्यवस्थापन गर्न खोजे पनि त्यसअनुसार बहस अघि नबढेको सर्वोच्चका एक अधिकारीले बताए । महान्यायाधिवक्ता एक्लैले तीन दिनसम्म बहस गरेपछि बाँकी आठले पनि थप दुई–तीन दिन लिने रणनीति सरकार पक्षबाट बनेको छ ।

विपक्षी बनाइएका ५२ संवैधानिक पदाधिकारी प्रत्येकले दुईदेखि आठ जनासम्म कानुन व्यवसायीलाई प्रतिरक्षामा उतार्दै छन् । ‘उहाँहरू सबैका तर्फबाट बहस सक्न कम्तीमा अरू चार/पाँच दिन लाग्ला,’ लोक सेवा आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केही पदाधिकारीका तर्फबाट बहसको तयारीमा रहेका वरिष्ठ अधिवक्ता ललित बस्नेतले भने, ‘एक जनाका तर्फबाट एक जनाले मात्र बहस गर्ने हो भने पनि ५२ जनाले बोल्नुपर्ने हुन्छ र त्यति गर्दा नै धेरै दिन जान्छ । एउटैले धेरै कानुन व्यवसायी राखेपछि त समय लाग्ने नै भयो ।’

केही खास मुद्दामध्ये यो पनि एक भएकाले बहसमा ठूलो संख्यामा अधिवक्ता जुटेका र यसले समय लाग्नु स्वाभाविक भएको बस्नेतको भनाइ छ । ‘यसअघि संसद् विघटनको मुद्दामा वकालतनामा धेरैको परेको थियो, त्यसपछि पक्ष–विपक्षमा बोल्ने संख्याका हिसाबले यो नै ठूलो मुद्दा हो,’ उनी भन्छन्, ‘यसमा नियुक्ति भएकाहरू नै ५२ जना छन्, त्यसमाथि सरकारका तर्फबाट हुने बहस छँदै छ, रिट पनि १५ वटा छन् ।’

चार वर्ष ढिलो सुनुवाइ सुरु गरेको सर्वोच्च अदालत अब मुद्दा छिटो सक्ने योजनामा छ । ‘इजलासले भनेझैं बहसमा सबैले समयको पावन्दीलाई स्वीकार गरे यसै साता यो विषय टुंगिन्छ,’ रिट निवेदकमध्ये एक अधिवक्ता ओमप्रकाश अर्याल भन्छन्, ‘मुद्दा लम्बिँदै गयो भने चलखेल र षड्यन्त्र पनि बढ्दै जाने सम्भावना हुन्छ, जुन राम्रो होइन ।’

संवैधानिक इजलासमा निरन्तर सुनुवाइ भए पनि इजलासका कुनै न्यायाधीश कुनै कारणले अदालत नआए सुनुवाइ रोकिन्छ । सर्वोच्च अदालतका अनुसार प्रधानन्यायाधीश राउत बुधबार दुई साता लामो युरोप भ्रमणमा निक्लँदै छन् । सुरुमा उनले टर्कीको सर्वोच्च अदालत भ्रमण गर्नेछन् र त्यसपछि उतैबाट १५ वैशाखमा लन्डन पुग्नेछन् । उनी २३ वैशाखमा स्वदेश फर्कने कार्यक्रम छ । बुधबारअघि यो विषय टुंगो नलागे अर्को सुनुवाइ कम्तीमा २४ वैशाखपछि मात्रै हुनेछ ।

परिषद्का कुल ६ सदस्यमध्ये ५ को उपस्थितिले गणपूरक संख्या पुग्ने र गणपूरकमध्ये ४ को निर्णय बहुमत हुने संवैधानिक व्यवस्था भएकामा तत्कालीन प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटाले बैठक बहिष्कार गरेका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेश ल्याएर ‘अध्यक्षसहित बहुमत सदस्यको उपस्थिति गणपूरक हुने’ प्रावधान राखि सिफारिस गरेको थियो ।

परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली, तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र राष्ट्रिय सभाका तत्कालीन अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक परिषद्मा नियुक्तिको सिफारिस गरेका थिए । यसरी अध्यादेशका आधारमा संवैधानिक नियुक्ति हुन नसक्ने भन्दै सर्वोच्चमा रिट परेका हुन् ।

ओलीको अध्यक्षतामा रहेको संवैधानिक परिषद्ले १३ संवैधानिक निकायका ३२ पदका लागि ३० मंसिर २०७७ मा सिफारिस गरेको थियो, तर ५ पुसमा संसद विघटन भएकाले संसदीय सुनवाइबिना ४५ दिन पुर्‍याएर २१ माघमा नियुक्ति प्रदान गरिएको थियो । त्यस्तै थप २० पदमा २६ वैशाख २०७८ मा नियुक्तिका सिफारिस गरिएको थियो । तर ८ जेठमा संसद विघटन भएकाले यसपालि पनि संसदीय सुनुवाइ नगरी १० असारमा नियुक्त गरिएको थियो ।

सिफारिसको ४५ दिनभित्र संसदीय सुनुवाइ नभए नियुक्तिमा बाधा पर्ने छैन भन्ने संसदीय नियमावलीलाई आधार बनाएर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पदाधिकारी नियुक्ति गरेकी थिइन् । दुवै पटकका सिफारिस र नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा तत्कालीन सभामुख सापकोटाको समेत गरी १५ रिट परेका थिए ।

सहमहामन्त्रीबाट दिएकाे राजीनामा अस्वीकृत हुन्छ जस्तो त लाग्दैन : श्रेष्ठ [अन्तर्वार्ता]

काठमाडौँ — १५ दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले पार्टी सभापतिलाई राजीनामा बुझाउने बेला सायदै सोचेकी थिइन्, उनले दिएको राजीनामाको खबर बिहीबार बसेको केन्द्रीय समितिको बैठक अगावै बाहिर आउँछ भन्ने ।
तर उनले राजीनामा दिएको खबर बाहिरिएलगतै सुमनाले यो घटना सुनियोजित तरिकाले बाहिर ल्याइएको र यसमा कसैले मिडिया ट्रायल नै गरिएको बुझाइ बनाएकी छिन् । उनले दिएको राजीनामाको पृष्ठभूमि र त्यसपछिका उनका योजनाबारे कान्तिपुरले गरेको संक्षिप्त कुराकानी :

 

तपाईंको राजीनामाको प्रक्रिया कसरी अगाडि बढ्छ त ?
खै । आजको केन्द्रीय समिति बैठकले पास गर्छ होला भन्ने लागेको थियो । तर त्यस्तो भएन । छलफलमा मात्रै आयो । मलाई केही सोधिएको छैन । बिहानै को मान्छेले यो खबर बाहिर ल्यायो ? त्यो थाह पाउन पाए रमाइलो हुन्थ्यो ।

तपाईंको राजीनामा किन आएको हो ?
मैले राजीनामाबारे सार्वजनिक चासो बढेपछि पार्टीको भाईबर ग्रुपमा पनि राखिदिएको छु । सबैले पढुन् भनेर । त्यसमा मेरा धारणा स्पष्ट छन् । यसअघिको पार्टीको राष्ट्रिय भेलामा पार्टीको भावी नेतृत्व र सिस्टम हस्तान्तरणको विषयमा मैले धारणा पनि राखेको थिए । त्यति बेला नै मैले भनेको थिएँ, आउ भन्ने तर ठाउँ नछोड्ने परिपाटी हुँदैन । त्यो सिलसिलामा नै मैले यो विषयमा विचारहरु राखेका थिए । रविजी पक्राउ परेपछि त्यो गलत समय बन्न पुग्यो र यसबारे केही गरिएन् । पछि रविजी फर्केपछि यो विषयमा एउटा मुभमेन्ट नै ल्याउनुपर्‍यो भनेर मैले बैठक अध्यक्षता गर्नुअघि भनेको थिए । यसमा महाधिवेशन गर्दै जाँदा पार्टीभित्रबाट क्षमतवान व्यक्तिहरुलाई अघि ल्याउनुपर्‍यो र दोस्रो आफूलाई जे कुरामा चित्त बुझेको छैन, आफूले पनि त्यही कुरा गर्दै हिँडेर त भएन नि ! त्यो त पुरानै दलका नेताको जस्तो भयो नि त भनेर पनि ।

पुरानो नेतृत्व बदलिनुपर्छ, नयाँ नेतृत्व आउनुपर्छ भन्ने तपाईंको सैद्धान्तिक अवधारणा भयो ?
एउटा त्यो भयो । म मन्त्री हुँदा पनि म सहमहामन्त्री थिए । त्यतिबेला मैले सह महामन्त्रीको कामबारे केही सोच्दा पनि सोचिनँ । मन्त्रीको भूमिका मात्रै निर्वाह गरे । त्यतिबेला सहमहामन्त्रीले गर्नुपर्ने काम अरु कसैले पनि त गरेन नि ! भनेपछि यो मैले अनुभवबाट पनि सोचेर यो निर्णय गर्नुपर्ने बेला आयो भन्नेमा पुगेको हो । एउटा मान्छेले धेरै पद लिएर केही हुन्न र केही गर्न सकिन्न भन्ने अनुभवबाट नि मैले यो निर्णय लिएको हुँ ।

तर पार्टी सभापति थुनामा परेको वा पार्टी अप्ठ्यारो समयबाट गुज्रिरहेका बेला तपाईंको राजीनामा आउँदा त्यसलाई तपाईंले भनेजसरी मात्रै सोचिएला त ? यसले पार्टीभित्र थप ध्रुविकरण गर्दैन र ?
हो । यो त मैले शुक्रबार पार्टी सभापति पक्राउ पर्नुभन्दा अघि नै दिएको हो । उहाँ पक्राउ पर्नुअघि कुराकानी हुँदा आइतबार यो पत्रमा स्विकृती पत्र राख्ने भन्नुभएको थियो । पक्राउ परेपछि मैले कार्यवहाक सभापति डीपी अर्याललाई यो विषय होल्ड गरौं । दिस ईज द ब्याड टाईमिङ भनेर विशेष अनुरोध गरेको थिए । तर यो विषय कसरी बाहिर आयो । मैले त फोन गरी गरी यो कुरा बाहिर ल्याएको होइन् । जसले यो कुरा बाहिर ल्याउनुभयो, यो सबैका निम्ति गलत समय हो ।

अब के हुन्छ त प्रक्रिया ?
राजीनामा दियो भनेर केन्द्रीय समिति बैठकमा आज छलफल भयो । कार्यवहाक सभापतिले हामी बसेर कुराकानी गर्छौं । त्यसपछि निर्णयमा पुग्छौं भन्नुभएको छ ।

राजीनामा स्वीकृत भए के हुन्छ, नभए के हुन्छ ?
राजीनामा अस्वीकृत हुन्छ जस्तो त मलाई लाग्दैन । तर मैले धेरै कुरा देखेको छु । स्वीकृत भएको दिनदेखि मेरा पुरानै तीनवटा प्राथमिकताका विषयमा काम गर्नुछ । संसद्‌मा पेस गर्न प्राइभेट बिलहरु तयार गरेको छु । अर्को कुरा कानुन निर्माणमा काम गर्ने र तेस्रो भनेको एनआरएनसहित जोडेर एउटा नेटवर्क बनाएर नेपालका निम्ति केही काम गरौं भन्ने छ । यसमा मैले काम नै गर्न पाएको थिइनँ, अब गर्नेछु

संसदीय उपसमितिको ठहर : ‘पोखरा विमानस्थल निर्माणमा ठेक्का प्रक्रियाको प्रारम्भदेखि नै अनियमितता र भ्रष्टाचार’

काठमाडौँ — पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रारम्भदेनि नै अनियमितता र भ्रष्टाचार भएको सार्वजनिक लेखा समितिको उपसमितिले ठहर गरेको छ । उपसमितिले तयार पारेको प्रतिवेदनमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रारम्भदेखि नै अनियमितता र भ्रष्टाचार भएको उल्लेख छ ।

 

उपसमितिले तयार पारेको प्रतिवेदनको निष्कर्षमा उक्त कुरा उल्लेख गरिएको छ । ‘ठेक्का प्रक्रियाको प्रारम्भमै अनियमितता र भ्रष्टचार भएको, निर्माणका क्रममा आर्थिक र प्राविधिक दृष्टिकोणले पनि व्यापक अनियमितता भएको, सार्वजनिक खरिद ऐन तथा प्रचलित मान्यता विपरीत भ्रष्टाचारलाई वैधता प्रदान गर्ने मनसायले ३ सदस्यीय कार्यदल गठन गरी लागत अंक वृद्धि गर्न नीतिगत निर्णय भएको,’ प्रतिवेदनमा लेखिएको छ ।

नेपालको अन्तर्राष्ट्रिय हवाई सेवा विस्तार, पर्यटकीय, आर्थिक एवं व्यfवसायिक विकासको उद्देश्य लिई २०३२ सालदेखि नै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकf लागि ३१०६ रोपनी जग्गाको अधिग्रहण गरेको उल्लेख गर्दै उपसमितिले ठहर गरेको छ , ‘२०६८ मंसिर ११ मा अर्थ मन्त्रालयले ईपीसी मोडलमा विमानस्थल निर्माण कार्यअघि बढाउन नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृति दिएदेखि यसको निर्माण प्रक्रिया प्रारम्भ भएको देखिन्छ ।

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भइसक्दा पनि पूर्ण तथा व्यवसायिक रुपमा सञ्चालन हुन नसकेको र निर्माण प्रकृयामा नै अनियमितता तथा भ्रष्टाचार भएको जनगुनासोको सम्बन्धमा अध्ययन गर्न सार्वजनिक लेखा समितिबाट गठन भएको यस उपसमितिको भ्रमण टोलीले उक्त विमानस्थलको स्थलगत अवलोकन, सरोकारवाला निकाय तथा व्यक्तिहरूसँग सोधपुछ र सम्बन्धित निकायहरुबाट उपलब्ध भएको कागजातको समेत अध्ययन गरी ठेक्का प्रक्रियाको प्रारम्भमै अनियमितता र भ्रष्टचार भएको ।’

पोखरा विमानस्थल निर्माणमा आर्थिक र प्राविधिक रूपमा अनियमितता गरेको उपसमितिको निष्कर्ष छ । ‘निर्माणका क्रममा आर्थिक र प्राविधिक दृष्टिकोणले पनि व्यापक अनियमितता भएको, सार्वजनिक खरिद ऐन तथा प्रचलित मान्यता विपरीत भ्रष्टाचारलाई वैधता प्रदान गर्ने मनसायले ३ सदस्यीय कार्यदल गठन गरी लागत अंक वृद्धि गर्न नीतिगत निर्णय भएको, मुल सम्झौताको प्रावधानविपरीत कर छुट दिएर आर्थिक अनियमितता गर्ने मनसायबाट नयाँ कार्यान्वयन सम्झौता गरी पटकपटक नेपाल नागरिक उड्डयन प्राधिकरण, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र अर्थ मन्त्रालयले मास्टर लिस्टका आधारमा २ अर्ब २२ करोड ४० लाख आर्थिक अनियमितता गरेको,’ उपसमितिले भनेको छ ।

विमानस्थल निर्माणका समग्र पक्षमा कानुनी तथा प्राविधिक दृष्टिकोणले समेत व्यापक अध्ययन गरी सम्बन्धित निकायहरूबाट भ्रष्टाचार तथा अनियमिततामा संलग्नहरूलाई कारबाही हुनुपर्ने सिफारिस उपसमितिले गरेको छ । ‘विमानस्थल पूर्ण रूपमा सञ्चालनयोग्य बनाएर मात्र व्यावासायिक सञ्चालनका लागि नेपाल सरकारले पहल गर्नुपर्ने यस उपसमितिको ठहर छ ।

सार्वजनिक लेखा समितिबाट गठन भएको यस भ्रमण टोलीले स्थलगत अवलोकन, अध्ययन तथा अनुगमन, अन्तरक्रियाका आधारमा पहिचान गरेको उल्लिखित विषयमा कानुनी, प्राविधिक, आर्थिक, वातावरणीय तथा प्राविधिक अनियमितता तथा भ्रष्टाचार भएको देखिएकोले यस विषयमा तत्काल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन तथा अनुसन्धान गरी निष्कर्षमा पुग्न र अनियमितता वा भ्रष्टाचार गर्ने दोषीउपर कानुनबमोजिम हदैसम्मको कारबाही हुनुपर्ने देखिन्छ,’ उपसमितिको सिफारिस छ ।

यो संसदीय उपसमितिमा ११ सदस्य थिए । राप्रपाका राजेन्द्र लिङ्देन संयोजक रहेको उपसमितिमा कांग्रेसका अर्जुननरसिंह केसी, दीपक गिरी, रामकृष्ण यादव र देवप्रसाद तिमल्सेना सदस्य रहेका थिए । एमालेबाट गोकुलप्रसाद बास्कोटा, तारा लामा तामाङ र रुक्मणी राना बराइली तथा माओवादीबाट जनार्दन शर्मा र अमनलाल मोदी सदस्य थिए । एकीकृत समाजवादीबाट प्रेमबहादुर आले सदस्य थिए ।

के ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई एमालेको जिम्मा देलान् ?

Highlights

  • स्थायी कमिटी सदस्य कर्ण थापा भन्छन् : अब एमालेको नेतृत्वमा भण्डारी नै हो, ओली बाधक बन्ने अवस्था छँदै छैन

धनगढी — अध्यक्ष केपी शर्मा ओलीको रापतापमा चलिरहेको नेकपा एमालेमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आगामी नेतृत्व लिन अग्रसर देखिएसँगै पार्टीभित्र हलचल सुरु भएको छ । आगामी महाधिवेशनपछि नेतृत्वमा ओलीको निरन्तरता या भण्डारीको आगमन भन्नेमा बहस एमाले केन्द्रमा मात्र होइन, तल्लो तहसम्मै पुग्न थालेको देखिन्छ ।

राष्ट्रपतिका रूपमा भण्डारीको कार्यकाल अन्त्यतिर पुग्दा नै एमालेको नेतृत्व लिने मनसुवाको पेरिफेरीमा भण्डारीले भित्रभित्रै आफ्नो समूह सक्रिय बनाउन थालेको संकेत बहिरिएका छन् । जब उनी ०७९ फागुनमा शीतल निवासबाट बिदाइ भइन्, त्यसपछि भने उनले पार्टी राजनीतिमा फर्कने आकांक्षा र योजनाका स्पष्ट संकेत सार्वजनिक गर्न थालेकी हुन् । एमालेका केही नेताले भण्डारीलाई पार्टीको भावी अध्यक्ष बनाउनुपर्ने लबिइङ बढाउनु त्यसै योजनाको महत्त्वपूर्ण हिस्सा थियो । पछिल्लो समयमा भण्डारीले आवश्यकता परे ‘तयार रहेको’ स्पष्ट भनाइ नै सार्वजनिक गरिसकेकी छिन् ।

ओली र भण्डारी पक्षधरताका नाममा एमालेमा विभिन्न जिल्ला अधिवेशनका बेला पनि पनि कार्यकर्ता प्रस्टै विभक्त भएका थिए । पूर्वका कतिपय जिल्लामा त स्थानीय तहसम्मै संस्थापन (अध्यक्ष केपी शर्मा ओली) र इतर (भण्डारी समर्थित) धार निर्माण भइसकेका छन् ।

मोरङको जिल्ला अधिवेशनलाई लक्षित गर्दै भण्डारीले एक हप्ता विराटनगरमा बिताइन् । त्यस क्रममा उनले थुप्रै नेतासँग भेटघाट, छलफल पनि गरिन् । परिणामस्वरूप गत फागुन २३ गते मोरङमा सम्पन्न पार्टीको जिल्ला अधिवेशनमा भण्डारी पक्षधर अम्बर राई समूहले पदाधिकारीमा ‘क्लिन स्विप’ गरेपछि भण्डारीको अग्रसरताको चर्चा बढ्यो । त्यसअघि उनले गण्डकीलाई आफ्नो राजनीतिक मुकाम भेटघाट गरेकी थिइन् । पछिल्लो समय एकातिर उनी पक्षधर समूह निर्माणको क्रम अन्य प्रदेशमा चलेको छ भने अर्कोतिर उनी आफैंले पनि सक्रिय राजनीतिमा फर्किने स्पष्ट संकेत दिइसकेकी छिन् ।

एमालेमा भण्डारीलाई नेतृत्वमा ल्याउनुपर्छ भन्नेमा खुलेर प्रस्तुत भएका एक नेता कर्ण थापा हुन् । हाल स्थायी कमिटी सदस्य रहेका नेता थापा कुनै बेला ओलीका निकै निकटका पात्रका रूपमा चिनिन्थे । जतिबेला ओली सत्ता र शक्तिमा थिएनन् । ओलीको सत्ता र शक्ति यात्राका सुरुका दिनमा पनि सँगै रहेका थापा पछिल्ला एक डेढ वर्षयता ओली वृत्तबाट बाहिर देखिन्छन् । यतिसम्म कि केही समय त ओलीसँग भेटका लागि पनि थापालाई बाटो बन्द भएको अवस्था बन्यो । यिनै थापा डेढ/दुई वर्षयता भण्डारी अध्यक्ष हुनुपर्ने लबिङमा छन् ।

एमालेको छैटौं महाधिवेशनसम्म किनारामा रहेका केपी शर्मा ओली सातौं महाधिवेशनमा आइपुग्दा तत्कालीन माओवादीविरुद्ध कठोर प्रहार गर्ने नीतिको अगुवाइका कारण आफ्नो स्थान बनाउन सफल भएका थिए । त्यसबेला ओली समूह अहिलेजस्तो मजबुत थिएन । तत्कालीन महासचिव माधवकुमार नेपाल समूह एमालेमा सर्वेसर्वा थिए । बहुमत पनि उनकै पछाडि थियो । थापाका अनुसार अहिले ओली समूहका बलिया खम्बाका रूपमा देखिएका धेरैजसो नेताहरू पनि त्यसबेला नेपाल समूहमा थिए । तर त्यसबेला ओलीको पक्षमा खरो उत्रिएर पैरबी गर्ने एमाले नेतामध्ये अग्रस्थानमा भने उनै कर्ण थापा थिए ।

सातौं महाधिवेशनका बेलासम्म जसरी अधिकांश शीर्ष नेता नेपाल पक्षमा हुँदा ओलीको पक्षमा बोल्नेको संख्या नगन्य हुन्थ्यो । सार्वजनिक रूपमा त थापा मात्रै ओलीका पक्षमा बोल्थे । ठीक त्यसैगरी यतिबेला उनै थापा ओलीको विकल्पमा पूर्वराष्ट्रपति भण्डारीले पार्टीको नेतृत्व लिनुपर्ने खुलेआम लबिङ गर्दै मुख खोल्ने पहिलो एमाले नेता मानिन्छन् ।

ओली शक्तिमा पुगिसकेपछि पनि थापा लामै समय उनकै पक्षमा उभिएका थिए । तर ओलीका वरिपरि रहेको घेराले ओलीबाट टाढा गराएपछि भने थापाले पार्टीको आगामी नेतृत्वमा ओलीको विकल्पको लबिङ सुरु गरेका हुन् । लबिङ त छदैछ, थापाको दाबी त अबको नेतृत्वमा भण्डारीको विकल्प नै नभएको भन्नेमा छ । ‘सुरुसुरुमा त मैले बोल्दा एक्लै बोलेजस्तो सुनिन्थ्यो, तर अहिले फरक परिस्थिति बनिसक्यो नि,’ थापाले भने ।

थापाका विचारमा भण्डारी अध्यक्ष हुने केही आधार छन् । पहिलो आधार एमालेको वर्तमान विधानको व्यवस्था हो । उमेर हद र दुई कार्यकालका सन्दर्भको व्यवस्थाले ओलीका लागि फेरि नेतृत्व लिने चाहनालाई साथ दिँदैन । विधानबाट ७० वर्षे उमेरहद कायम रहेको थापाले बताए । ‘७० वर्षे उमेरहद सचिवालयले स्थगन मात्र भनेको हो,’ थापा भन्छन् ‘महाधिवेशनबाट निर्मित व्यवस्था बीचैमा अपव्याख्या गर्ने वा बदल्ने अधिकार कुनै कमिटीलाई छैन । कुनै पनि प्रावधान परिवर्तन गर्नका लागि विधान महाधिवेशन वा राष्ट्रिय महाधिवेशन आवश्यक हुन्छ । त्यसलाई मात्र त्यो अधिकार हुन्छ ।’ नेतृत्वमा नदोहोरिने र पुस्तान्तरण हुनुपर्ने एजेन्डा ओलीकै एजेन्डा भएकाले अहिले त्यो मान्दिन भन्नु स्वयं ओलीका लागि हितकर नहुने थापाको भनाइ छ ।

थापाकै दाबीमा अहिले सबै पार्टीमा चलिरहेको नेतृत्व हस्तान्तरको दबाव र माहोल दोस्रो आधार हो । एमाले पनि नेतृत्व हस्तान्तरणको चर्को मनोवैज्ञानिक दबाबमा छ । ‘त्यस अवस्थामा विद्या नै सबैभन्दा उपयुक्त पात्र हुनुहुन्छ,’ थापाले भने ‘दोस्रो पंक्तिका अन्य नेता त एकले अर्कोलाई कसैले स्वीकार्ने अवस्था नै छैन ।’ बाहिर सार्वजनिक नभइसकेको भए पनि आन्तरिक रूपमा भने पार्टीका शीर्ष नेताहरूको ठूलो पंक्ति त्यसका लागि तयार भइसकेको दाबी थापाको छ ।

थापाले दाबी गरेअनुसार भण्डारी एमालेको नेतृत्वमा आउन सक्ने अर्को आधार भनेको ओलीले नेतृत्व छाड्नुपर्ने अवस्थामा उनका लागि सबैभन्दा सहज र विश्वसनीय पात्र भनेकै भण्डारी हुन् । ओली र विद्याबीच विश्वास र सहकार्यको लामो शृंखला छ । ओलीलाई सर्वाधिक सहयोगी भूमिका उनै विद्याको थियो । ‘ओली बाधक बन्ने अवस्था छँदै छैन,’ थापाले भने । अर्कोतिर विद्यासँग जनताको बहुदलीय जनवादको विरासत पनि छ । मदन भण्डारी पत्नी हुनुका नाताले पनि भण्डारीलाई सहानुभूतिको त्यो सुविधा छ ।

आधार जतिसुकै मजबुत भए पनि भण्डारीले एमाले नेतृत्व लिन अग्रसरता हुने अवस्थामा एउटा खड्को भने मजबुत छ । भण्डारी देशको सर्वोच्च पद राष्ट्रपति भएकी व्यक्ति हुन्, त्यो पनि दुई पटक । पूर्वराष्ट्रपतिजस्तो व्यक्ति फेरि पार्टीको नेतृत्वमा आउँदा आम नागरिकमाझ अलिखित आचारसंहिता र मर्यादा चर्को बहस सिर्जना हुने निश्चित छ । कतिपय एमाले कार्यकर्ता त्यस अवस्थामा राष्ट्रपति पदकै गरिमामाथि आँच पुग्न सक्ने जोखिम उत्पन्न गर्ने जिकिर गर्छन् ।

जाजरकोटको पैंक केन्द्रबिन्दु भएर आज फेरि ४.४ म्याग्निच्युडको भूकम्प

काठमाडौँ — पछिल्ला दिनमा जाजरकोट जिल्लाका विभिन्न स्थानलाई केन्द्रबिन्दु बनाएर लगातार भूकम्प गइरहेको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पैंक केन्द्रबिन्दु भएर मंगलबार बिहान ४ बजेर ५३ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्प गएको छ । सोमबार राति मात्रै ९ बजेर ३१ मिनेट जाँदा पैंक केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

 

कुशे गाउँपालिकाको पैंकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण कुनै क्षति भए– नभएकाबारे कुनै विवरण भने प्राप्त भएको छैन ।

केन्द्रका अनुसार गत चैत २१ गते साँझ (८.०७) र (८.१०) सोही स्थानलाई केन्द्रबिन्दु बनाएर दुई पटक भूकम्प गएको थियो । पहिलो भूकम्प पाँच दशमलव दुई र दोस्रो भूकम्प पाँच दशमलव पाँच म्याग्निच्युडका थिए । सो भूकम्पका कारण केही घरमा सामान्य क्षति पुगेको थियो ।

यस्तै, गत चैत २० गते दार्चुलामा चार म्याग्निच्युडको भूकम्प गएको थियो । गत चैत १२ गते हुम्लालाई केन्द्रबिन्दु बनाएर चार दशमलव पाँच म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ

विकासको प्रमुख आधारशिला पर्यटन क्षेत्र : राष्ट्रपति पौडेल

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले विकासको प्रमुख आधारशिला पर्यटन क्षेत्र भएको बताएका छन् । सोमबार नगरकोट भ्रमण वर्षको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

 

उनले पर्यटन क्षेत्रबाट मुलुकको आर्थिक समृद्धि हुने जिकिर गरे । उनले काठमाडौंको उकुसमुकुसबाट उम्किएर प्रकृतिमय क्षण व्यतित गर्ने चाहना राख्नेहरुका लागि नजिकको रोजाइ स्थल हो नगरकोट भएको बताए ।

‘जनताको चाहनाअनुरुप शान्ति, दिगो विकास, समावेशी समाज, आर्थिक समृद्धि र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणसहित राष्ट्र निर्माणमा जुट्न प्रेरणा दिओस् । विकासको प्रमुख आधारशिला पर्यटन क्षेत्रले यसबाट लाभ लिएर मुलुकको आर्थिक समृद्धिमा योगदान दिने मैले विश्वास लिएको छु । काठमाडौंको उकुसमुकुसबाट उम्किएर प्रकृतिमय क्षण व्यतित गर्ने चाहना राख्नेहरुका लागि नजिकको रोजाइ स्थल हो नगरकोट ।’

पहिलो क्वालिफायरमा ललितपुर र धनगढी

काठमाडौँ — नेपाल सुपर लिग (एनएसएल) को पहिलो क्वालिफायरमा डिफेन्डिङ च्याम्पियन लतिलपुर सिटी एफसी र धनगढी एफसी भिड्ने भएका छन् । तिनै दुई टिमबीच पछिल्लो सिजन फाइनल भएको थियो । धनगढीले सोमबारको खेलमा झापालाई १–० ले हराएपछि यो समीकरण तयार भएको हो ।

 

यो जितसँगै धनगढीको ११ अंक भएको छ । गोल अन्तरका आधारमा टोली शीर्षमा उक्लेको छ । ललितपुरको पनि समान ११ अंक छ । टोली दोस्रोमा छ । लिग चरणका बाँकी खेलमा जस्तै नतिजा आए पनि अरूले शीर्ष दुई स्थानमा उनीहरूलाई उछिन्न सक्ने छैनन् । धनगढीको जित आत्मघाती गोलमा सम्भव भएको थियो । यो गोल दीपेश धिमालको नाममा रह्यो । हारले झापा ४ अंकमै सीमित रह्यो र टोलीको प्लेअफ सम्भावना कमजोर बनेको छ । सोमबारकै अर्को खेलमा काठमाडौं रेजर्सले एफसी चितवनलाई २–० पराजित गर्‍यो । त्यसमा बेकरी मेन र अमाडोउ डिओपले गोल गरे । काठमाडौं ८ अंकसहित तेस्रो स्थानमा रह्यो । चितवन ७ अंक बोकेर चौथो स्थानमा छ ।

काठमाडौंले लिग चरणका सबै ६ खेल टुंग्याएको छ । टोलीको प्लेअफ सम्भावना अरू खेलको नतिजामा भर पर्नेछ । पोखरा थन्डर्स ५ अंकसहित पाँचौं स्थानमा छ । लिग चरणमा तीन खेल बाँकी छ । त्यसमा पोखराले बुटवल–लुम्बिनी, ललितपुरले झापा र धनगढीले चितवनको सामना गर्नेछन् ।

क्रिकेटर पूजा महतो गृहनगरको मानार्थ खेलकुद अधिकृत

महोत्तरी — नेपाली यू–१९ महिला क्रिकेट टिमकी कप्तान पूजा कुमारी महतोलाई नगरपालिकाको मानार्थ खेलकुद अधिकृत पदमा नियुक्त गरिएको छ ।

 

राष्ट्रिय महिला क्रिकेट टोलीकी उदयीमान खेलाडी तथा १९ वर्षमुनिको नेपाली महिला क्रिकेट टिमकी कप्तान महतोलाई महोत्तरीको गौशाला नगरपालिकाले मानार्थ खेलकुद अधिकृत पदमा नियुक्त गरेको हो ।

गौशाला नगरपालिका ११ निवासी महतोलाई नगरपालिकाको शिक्षा तथा खेलकुद शाखामा मानार्थ खेलकुद अधिकृत पद सृजना गरी उनलाई अधिकृतस्तर छैटौं श्रेणी अनुसारको पारिश्रमिक प्रदान गर्ने निर्णय गरिएको गौशाला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव अधिकारीले बताए ।

गौशाला नगरपालिकाको कार्यपालिका र १३ औं हिउदे नगर सभाबाट क्रिकेट खेलाडी महतोलाई सम्मान गर्दै मानार्थ खेलकुद अधिकृतमा नियुक्त गरिएको गौशाला नगरपालिकाका नगर प्रवक्ता रामपृत महतोले बताए ।

पूर्वराष्ट्रपतिलाई पनि विभूषण दिन मिल्ने गरी मापदण्ड संशोधन

Highlights

  • पछिल्लो पटक निर्धारण गरिएका विभूषण बनाउन १५ करोडभन्दा बढी रकम खर्च हुन सक्ने गृह मन्त्रालयको अनुमान

काठमाडौँ — पूर्वराष्ट्रपतिलाई पनि विभूषण दिन मिल्ने गरी सरकारले विभूषण प्रदानसम्बन्धी मापदण्ड संशोधन गरेको छ । पूर्वराष्ट्रपतिसहित पूर्वअतिविशिष्ट पदाधिकारीलाई विभूषण दिन सरकारले मापदण्ड नै हेरफेर गरेको हो ।

पूर्वउपराष्ट्रपतिसम्मलाई मात्र विभूषण दिन मिल्ने यसअघिको मापदण्ड संशोधन गरेर विभूषण पाउनेको सूचीमा पूर्वराष्ट्रपतिलाई पनि समेटिएको हो । योसँगै पूर्वअतिविशिष्ट पदाधिकारीका रूपमा रहेका पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, प्रतिनिधिसभाका पूर्वसभामुख र राष्ट्रिय सभाका पूर्वअध्यक्षमध्येबाट दुई जनालाई महाउज्ज्वल राष्ट्रदीप (प्रथम श्रेणी) प्रदान गर्ने मापदण्ड बनाइएको छ । विभूषण समितिबाट पूर्वअतिविशिष्टमध्येबाट दुई जनालाई विभूषण सिफारिस गर्ने प्रबन्ध राखिएको छ ।

गृह मन्त्रालयका पूर्वसचिव उमेश मैनाली पूर्वराष्ट्रपतिलगायत व्यक्तिको ओहदा नै तोकेर विभूषण दिनेसम्बन्धी प्रावधान गलत भएको बताउँछन् । ‘पूर्वराष्ट्रपतिलाई विभूषण दिनै हुँदैन भन्ने त होइन तर ओहदा तोकेर विभूषणको कोटा निर्धारण गरिनु एक किसिमको सिन्डिकेट हो,’ मैनाली भन्छन्, ‘विभूषण त सर्वस्वीकार्य व्यक्ति, जसले देश र जनताको पक्षमा निर्विवाद ढंगले काम गरेको छ, त्यस्तालाई दिने हो ।’

संशोधित मापदण्डअनुसार संविधान दिवस २०८२ (असोज ३) मा विभूषण प्रदान गर्ने सरकारको तयारी छ । विभूषण समिति स्रोतका अनुसार यो वर्ष सिफारिस भएकाको सूची देशभरबाट आइसकेको र त्यसको ‘स्क्रिनिङ’ भइरहेको छ । सत्तारूढ दलबीच भागबन्डा नमिल्दा २०७९ देखि विभूषण बाँडिएको छैन ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालका पालामा माओवादी–कांग्रेस गठबन्धन सरकारले करिब ६ सय जनालाई विभूषण दिने अन्तिम तयारी गरेको थियो । गृह मन्त्रालय स्रोतका अनुसार त्यसबेला सिफारिस समितिसमक्ष अनुमान गरेभन्दा तीन गुणा बढीको नाम समेट्न दबाब–प्रभाव आएपछि सरकारले विभूषण सिफारिस प्रक्रिया नै स्थगित गरेको थियो । करिब ४ सयलाई त्यो वर्ष विभूषण दिने गरी नाम छनोट भइरहेका बेला सिफारिस समितिमा १ हजार बढीको नाम समेट्न दबाब–प्रभाव आएपछि प्रक्रिया नै अवरुद्ध बन्न पुगेको थियो ।

त्यसको तीन वर्षपछि वर्तमान सरकारले संविधान दिवसका अवसरमा विभूषण बाँड्नका लागि मापदण्ड संशोधन गरेको हो । जसमा ‘महाउज्ज्वल राष्ट्रदीप’ (प्रथम श्रेणी) तहको विभूषण पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, पूर्वसभामुख र राष्ट्रिय सभाका पूर्वअध्यक्षमध्येबाट दुई जनालाई दिइने उल्लेख छ । यो सूचीमा अतिविशिष्ट योगदान पुर्‍याउने अरू व्यक्तिलाई पनि समेट्न सक्ने भनिएको छ ।

सरकारले गत मंसिरमै उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा विभूषण सिफारिस समिति गठन गरेको थियो । उपप्रधानमन्त्री सिंहको अध्यक्षतामा गृहमन्त्री रमेश लेखक र अरू ६ विज्ञका रूपमा लवदेव अवस्थी, गोपीनाथ मैनाली, शर्मिला कार्की, उमेशराज जोशी, सुरेन्द्र झा र योगेन्द्रबहादुर गुरुङ सदस्य तथा गृहसचिव गोकर्णमणि दुवाडी सदस्य सचिव रहेको विभूषण सिफारिस समिति गठन गरेको थियो ।

मन्त्रिपरिषद्ले ६ वर्षअघि जारी ‘विभूषण सिफारिस कार्यविधि एवं प्रदानसम्बन्धी मापदण्ड २०७५’ संशोधन गरी पुसमा नयाँ मापदण्ड २०८१ जारी गरेको थियो । त्यसपछि पुनः मापदण्ड २०८१ मा संशोधन गरेर उच्च तहको विभूषण पाउनेको सूचीमा पूर्वराष्ट्रपतिलाई पनि समावेश गराइएको छ । जसमा विभूषणको कोटा २ सय १ कायम गरिएको छ । गृह मन्त्रालयका एक अधिकारी पछिल्लो पटक निर्धारण गरिएका विभूषण बनाउन १५ करोडभन्दा बढी रकम खर्च हुन सक्ने बताउँछन् ।

संशोधित मापदण्डअनुसार नेपाल रत्न एक पटकमा एक जना र राष्ट्र गौरव एक पटकमा दुई जनासम्मलाई दिन सकिने व्यवस्था छ । त्यस्तै, राष्ट्रदीपतर्फ महाउज्ज्वल राष्ट्रदीप प्रथम दुई जना, उज्ज्वल कीर्तिमय राष्ट्रदीप दुई जना र सुकीर्तिमय राष्ट्रदीप तृतीय बढीमा पाँच जनालाई दिने गरी संशोधन भएको छ । मापदण्ड २०७५ मा प्रथम पाँच जना, उज्ज्वल कीर्तिमय पाँच जना र सुकीर्तिमय १० जनालाई दिने मापदण्ड थियो ।

अरू विभूषणमा पनि कोटा निर्धारण गरिएको छ । प्रमुख जिल्ला अधिकारीबाट मनमौजी सिफारिस गरिँदै आएकामा संशोधित मापदण्डमा प्रजिअका अधिकार कटौती गरेर प्रदेश र स्थानीय सरकारबाट पनि विभूषण सिफारिस गर्न सकिने प्रबन्ध समेटिएको छ । जसअनुसार नेपाली सेनालाई २५, प्रहरीलाई २०, सशस्त्र प्रहरीलाई १२ र राष्ट्रिय अनुसन्धान विभागलाई ४ जना कोटा निर्धारण गरिएको छ । हरेक मन्त्रालय/विभागसहित निजामतीतर्फ तीन सयसम्म कर्मचारी भएकालाई एउटा, पाँच सयसम्म भएमा दुई, हजारसम्म भएमा तीन, पाँच हजारसम्म कर्मचारी भएमा चार र त्यसमाथि भएमा पाँच विभूषण हरेक मन्त्रालयका लागि छुट्याइएको छ । त्यस्तै, ७७ वटै जिल्लाबाट प्रमुख जिल्ला अधिकारीले जिल्ला मातहत कर्मचारीबाट दुई र सर्वसाधारण/पेसा/व्यवसाय/सामाजिक कार्यमा संलग्नमध्येबाट दुई जना गरी ४ जनासम्मको नाम गृह मन्त्रालयमा सिफारिस गर्न सक्ने व्यवस्था मापदण्डमा छ ।

गाउँपालिका प्रमुखले मातहत पालिकाबाट दुई जना, नगरपालिका प्रमुखले तीन जना, उपमहानगरबाट चार र महानगरबाट ६ जनाको नाम विभूषणका लागि सिफारिस गर्न पाउने प्रबन्ध राखिएको छ । त्यस्तै, हरेक प्रदेश सरकारले प्रदेशका विभिन्न संयन्त्रमध्येबाट नाम छानेर २० देखि ३० जनासम्मको नाम सिफारिस गरेर पठाउन सक्ने गरी कोटा तोकिएको छ । यसअघि स्थानीय र प्रदेश सरकारबाट विभूषणका लागि संघ सरकारमा नाम पठाउने प्रबन्ध नभएकोमा यस पटकबाट थपिएको हो ।

विभिन्न क्षेत्रमा रहेर राष्ट्रिय जीवनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने व्यक्तिलाई विभूषण प्रदान गरिने कानुनी प्रबन्ध छ । जसअनुसार राजनीतिक, सामाजिक, आर्थिक, शान्तिसुरक्षा र प्रशासन, शिक्षा तथा स्वास्थ्य, सूचना, सञ्चार, विज्ञान प्रविधि, अन्वेषण एवं अनुसन्धान, भाषा, कला, साहित्य र संस्कृति, खेलकुद र राष्ट्रिय जीवनका अन्य महत्त्वपूर्ण क्षेत्रमध्येबाट विभूषण सिफारिस गरिने मापदण्ड २०७५ मा उल्लेख थियो । संशोधित मापदण्ड २०८१ मा खेलकुद र सूचना सञ्चार, विज्ञान प्रविधि अन्वेषण तथा अनुसन्धान भन्ने क्षेत्रलाई संशोधन गरी स्वास्थ्य एवं चिकित्सा विज्ञान क्षेत्र र भाषा, साहित्य, कला र संस्कृति क्षेत्र पनि समेटिएको छ ।

भर्ना अभियान, पठनपाठन र परीक्षा बहिष्कार गर्ने शिक्षकको घोषणा

Highlights

  • ७० लाख बालबालिकाको भर्ना तथा पढाइ प्रभावित
  • एसईईको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा अनिश्चित
  • सरकारले माग पूरा गर्नेभन्दा पनि शिक्षकलाई थकाउने र विद्यालय फर्काउने हेपाहा प्रवृत्ति देखायो । अब कक्षा १२ को परीक्षामा शिक्षक, कर्मचारी सहभागी हुँदैनन् । एसईईको उत्तरपुस्तिका पनि परीक्षण गर्दैनौं ।– नानुमाया पराजुली, आन्दोलन परिचालन समिति संयोजक

काठमाडौँ — सरकारले शैक्षिक सत्र २०८२ को भर्ना अभियान सञ्चालन गर्न स्थानीय तह र देशभरका विद्यालयलाई परिपत्र गरेको छ । विद्यार्थी भर्ना र पाठ्यपुस्तक वितरणलगायत शैक्षिक गतिविधिमा संलग्न हुनुपर्ने शिक्षकले भने १३ दिनदेखि जारी आन्दोलनलाई अझै कठोर बनाउने भएका छन् । नेपाल शिक्षक महासंघले सोमबार नयाँ वर्षको दिन पनि प्रदर्शन जारी राखेको छ । विद्यालय शिक्षा ऐन ल्याउन माग राख्दै आएका शिक्षकले नयाँ वर्षका दिन पनि काठमाडौंको माइतीघर–बानेश्वर क्षेत्रमा प्रदर्शन गरे । उनीहरूको प्रदर्शनका कारण केही दिनयता उक्त क्षेत्रको सवारी आवागमनसमेत प्रभावित भइरहेको छ ।

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना गर्न देशभरका स्थानीय तह र विद्यालयलाई सरकारले गरेको सर्कुलर बहिष्कार गर्दै शिक्षक महासंघले भने माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने जनाएको छ । महासंघले संसद्को वर्षे अधिवेशन तत्काल बोलाएर, विशेष अधिवेशन आह्वान गरेर वा अध्यादेशबाट शिक्षा ऐन ल्याउनुपर्ने अडान राखेको छ ।

ऐन जारी हुँदा सरकारले विगतमा महासंघसँग गरेको सहमति समावेश गर्नुपर्ने महासंघको माग छ । शैक्षिक हडतालसहितको शिक्षक आन्दोलनले ७० लाख बालबालिका सहभागी हुने विद्यार्थी भर्ना अभियान प्रभावित हुने भएको छ भने एसईईको उत्तरपुस्तिका परीक्षण पनि रोकिएको छ ।

आन्दोलन अझै केही दिन जारी रहे वैशाख ११ देखि हुने कक्षा १२ को परीक्षा पनि प्रभावित हुने छ ।

सोमबार साँझ बसेको महासंघ बैठकले विद्यार्थी भर्ना अभियानबाट शिक्षक अलग रहने, कक्षा १२ को परीक्षामा शिक्षक तथा कर्मचारी सहभागी नहुने र एसईईको उत्तरपुस्तिका परीक्षण पनि नगर्ने निर्णय गरेको आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले बताइन् । ‘१३ दिनसम्म सरकारले हाम्रो मागको सुनुवाइ गरेन । ७७ वटै जिल्ला, ७ प्रदेशको आन्दोलन परिचालन समितिको बैठक पनि बस्यो,’ उनले भनिन्, ‘शैक्षिक हडताललाई थप प्रभावकारी र सशक्त बनाउने निर्णय भएको छ ।’

दुई पटकसम्म शिक्षा मन्त्रालयसँग संवाद छलफलमा बस्दासमेत माग पूरा गराउन गम्भीर नदेखिएकाले आन्दोलन थप चर्काउने निष्कर्षमा पुगेको महासंघले जनाएको छ । ‘शिक्षकहरू माघ २० देखि स्थानीय तह, जिल्ला प्रदेशमा आन्दोलित थिए । सरकारले माग पूरा गर्नेभन्दा पनि शिक्षकलाई थकाउने र विद्यालय फर्काउने हेपाहा प्रवृत्ति देखायो,’ उनले भनिन्, ‘कक्षा १२ को परीक्षामा शिक्षक, कर्मचारी सहभागी हुँदैनन् । एसईईको उत्तरपुस्तिका पनि परीक्षण गर्दैनौं ।’ मन्त्रिपरिषद्बाट निर्णय गरेर माग पूरा गर्न र शिक्षा ऐन ल्याउने विश्वासिलो वातारण बनाउन आग्रह गर्दा पनि सरकार तयार नभएको महासंघकी सहअध्यक्षसमेत रहेकी पराजुलीले बताइन् ।

शिक्षकहरूले भर्ना अभियानमा सहभागी नहुने घोषणा गरिरहँदा प्रधानमन्त्री केपी शर्मा ओली, शिक्षामन्त्री विद्या भट्टराईलगायत शिक्षा मन्त्रालयका अधिकारीले भने भर्ना अभियान सफलताको शुभकामना दिँदै अपिल जारी गरेका छन् । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ यस वर्षको भर्ना अभियानको नारा तय गरिएको शिक्षा मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीले भर्ना अभियान सफल पार्न सरोकारवालालाई आग्रह गरेका छन् । उनले समृद्धिको एक आधारका रूपमा शिक्षा क्षेत्र रहेकाले गुणस्तरीय र रोजगारमूलक शैक्षिक जनशक्ति उत्पादनमा शिक्षाका सबै अभियन्तालाई लाग्न आग्रह गरे । ‘गरिबीलाई न्यूनीकरण नगरी राष्ट्रिय लक्ष्यमा पुग्न सक्दैनौं । गरिबीलाई हटाउने पहिलो सर्त शिक्षा हो,’ उनले शुभकामना सन्देशमा भनेका छन्, ‘हाम्रा बालबालिकालाई अब पनि विद्यालय बाहिर राख्न सक्दैनौं ।’ प्रधानमन्त्री ओलीले विद्यार्थी भर्नादरमा सुधार आएको देखिए पनि विद्यार्थी टिकाउ दर बढाउन अझै मिहिनेत गर्नुपर्ने देखिएको बताए । शिक्षामन्त्री भट्टराईले भर्नासँगै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन अपिल गरेकी छन् । भर्नासँगै विद्यार्थीको टिकाउ दर बढाउनुपर्ने उनको भनाइ छ ।

शिक्षा मन्त्रालयको तथ्यांकअनुसार प्रारम्भिक बालविकासको अनुभवसहित कक्षा १ मा भर्ना हुने बालबालिका ७६ प्रतिशत रहेका छन् । आधारभूत तहको भर्नादर ९४ र माध्यमिक तहको भर्नादर ५६ प्रतिशत रहेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गर्न ७ सय ५३ वटै स्थानीय तहलाई निर्देशन दिएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले शिक्षकहरू विद्यालयमा फर्किएर भर्ना अभियानमा सहभागी हुनुपर्ने बताए । ‘प्रधानमन्त्री, शिक्षामन्त्री तहबाटै शिक्षकको माग पूरा गर्ने प्रतिबद्धता आएको छ । शिक्षकहरूले पनि विद्यालय कार्यतालिकामा असर पार्न हुँदैन । अधिकारको कुरा गर्दा कर्तव्यमा प्रश्न उठाउने ठाउँ पनि राख्नु हुँदैन ।’ ऐन पारित गर्न विधेयकमाथि संसदीय उपसमितिमा दफाबार छलफल भइरहेको, आगामी बजेट र मन्त्रिपरिषद्बाट निर्णय गरेर पूरा गर्न सकिने मागहरूबारे पनि छलफल जारी रहेको उनले बताए । ‘शिक्षा ऐन बन्दै छ । सरकारले शिक्षकहरूको माग सुनेको छ । त्यसको पनि प्रक्रिया हुन्छ,’ प्रवक्ता सापकोटाले भने, ‘सरकारले ऐन ल्याउने प्रतिबद्धतासहित काम गरिरहेको छ । नतिजा आउन मात्र समय लागेको हो ।’

शिक्षकहरूले चैत २० बाट काठमाडौंकेन्द्रित सडक आन्दोलन थालेका हुन् । शिक्षा मन्त्रालयसँग गत साता भएको छलफलमा उनीहरूले माग पूरा गर्न २४ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । स्थानीय तह मातहत नबस्ने मुख्य मागलाई संविधान संशोधनका बेला उठान गर्ने सर्तसहित उनीहरूले ध्यानाकर्षण पत्र बुझाएका हुन् । शिक्षक सेवा सुविधा, स्थायित्व, बढुवा, मर्यादाक्रमलगायतका विषय अहिले मुख्य मागका रूपमा रहेका छन् । सरकारले भने शिक्षकको माग पूरा गर्न अर्बौं आर्थिक दायित्व थप हुने बताउँदै राज्य कोषले धान्न नसक्ने जनाएको छ ।

सरकारको कार्यशैलीप्रति कांग्रेसभित्र असन्तुष्टि चुलिँदै

Highlights

  • सरकारले संविधान संशोधनका लागि प्रक्रिया नै नथालेको, विकास र सुशासनका सवालमा आम नागरिकमा निराशा बढाएको कांग्रेस नेताहरूको गुनासो
  • ९ महिना बिताउनु नै सरकारको उपलब्धि भयो :  शेखर कोइराला, कांग्रेस नेता

काठमाडौँ — संविधान संशोधन, राजनीतिक स्थिरता, विकास र सुशासनको वाचासहित बनेको कांग्रेस–एमाले गठबन्धन सरकारले ९ महिना पूरा गरेको छ । तर संविधान संशोधनको मुख्य एजेन्डामा कुनै प्रगति भएको छैन । विकास र सुशासनका सवालमा असन्तुष्टि कायमै छ । सरकारको कार्यशैलीलाई लिएर सत्तारूढ कांग्रेसकै नेताहरूले आलोचना गरिरहेका छन् ।

कांग्रेस र एमालेले १७ असारमा गरेको ७ बुँदे सहमतिको जगमा ३० असारमा केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए । त्यति बेला संसद्का दुई ठूला दलबीच गठबन्धनको औचित्य स्थापित गर्न संविधान संशोधनलाई मुख्य लक्ष्य भनिएको थियो ।

सातबुँदे सहमतिको दोस्रो बुँदामा ‘राष्ट्रिय सहमतिको सरकारले संविधान लागू भएपश्चात् अभ्यासमा देखा परेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलता समीक्षा गरी राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र तदनुकूलको कानुन निर्माणलाई प्राथमिकता दिने’ उल्लेख थियो ।

कांग्रेस र एमाले सम्मिलित राजनीतिक संयन्त्रको बैठकले गत पुसमा संविधान संशोधनका लागि कार्यदल बनाउने निर्णय गरेको थियो । शृंखलाबद्ध बैठकपछि राष्ट्रिय सभामा कांग्रेस संसदीय दल नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा कार्यदल बनाउने निष्कर्षमा दुई दल पुगेका थिए ।

सिटौला संविधानसभाबाट जारी संविधानको मस्यौदा समितिका संयोजकसमेत हुन् । गठबन्धन बनेको ९ महिना बितिसक्दा कार्यदलसमेत घोषणा गर्न नसकेको भन्दै कांग्रेसभित्र आलोचना सुरु भइरहेको छ । यस बीचमा सरकारले आम नागरिकमा निराशा बढाउने काम गर्नाले पनि कांग्रेसभित्र रहेको असन्तुष्टिमा मलजल पुगेको कांग्रेसका एक पदाधिकारीले बताए ।

कांग्रेस नेता सिटौला सरकारले नयाँ वर्षको प्रारम्भबाटै संविधान संशोधनको बहस सुरु गर्नॅपर्नेमा जोड दिन्छन् । ‘कार्यान्वयनका दृष्टिले संविधानको समीक्षा गर्न आवश्यक छ । राष्ट्रको हितमा काम गर्न संशोधन आवश्यक भए त्यसमा जानुपर्छ । राज्य सञ्चालनमा कतै त्रुटि भएको छ भने सुधार गरेर जानुपर्छ,’ उनी भन्छन् ।

संविधान संशोधनका सवालमा सरकारले काम नगरेको भन्दै कांग्रेसभित्र नेता शेखर कोइरालाले धेरै अघिदेखि असन्तुष्टि पोख्दै आएका छन् । उनी सरकारको कामकारबाहीप्रति पनि असन्तुष्ट छन् । उनले पछिल्लो समय गठबन्धनकै औचित्यमाथि प्रश्न उठाउनसमेत थालेका छन् । कोइरालाले सातबुँदे सहमतिअनुसार एउटा पनि काम नभएको बताए । ‘हामी सरकारमा छौं, किनकि यो गठबन्धन कांग्रेस र एमाले मिलेर बनेको छ । हामी चाहन्छौं यसले राम्रो काम गरोस्, अघि बढोस् । जनतालाई आशा र भरोसा दिन सकोस् । तर सरकारको ध्यान त्यस दिशामा छैन । जनताबाट टाढा हुने काम मात्रै भइरहेको छ । सडकमा आक्रोश बढेको छ ।’

सरकारले सुशासन दिन नसकेको, संविधान संशोधनमा काम अघि नबढाएको, राम्रो काम गर्ने कर्मचारीलाई हटाएर राज्य प्रणालीलाई थप कमजोर बनाउन खोजेको र दण्डहीनता बढाएको कोइरालाको ठम्याइ छ । ‘प्रधानमन्त्री सडकमा गएर बोल्ने होइन । सडकको आवाज सुनेर काम गर्नुपर्‍यो । प्रधानमन्त्रीले सडकमा गएर बोल्दा कसैले पत्याउनेवाला छैन, कामले मात्रै जनताले पत्याउन सक्छन,’ उनले भने, ‘प्रधानमन्त्रीले कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिअनुसार काम गर्ने हो । आयोग बनाएर हुन्छ कि संसदीय समिति बनाएर, संविधान संशोधनका लागि प्रक्रिया अघि बढाउनुपर्‍यो ।’

शनिबार एक सार्वजनिक कार्यक्रममा कोइरालाले कांग्रेस सरकारमा भए पनि सत्तामा नभएको टिप्पणी गरेका थिए । ‘यो सरकारले खासगरी संविधान संशोधनको कुरा गरेको छ, यसमा जति ढिलाइ हुन्छ, त्यति सडकमा असन्तुष्टिको आकार अझ बढ्दै जान्छ,’ बीपी सामुदायिक सहकारी अस्पतालको १७ औं वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै उनले भनेका थिए ।

कांग्रेसभित्रै सरकारको ‘टेको’ मानिएका महामन्त्री गगन थापा पनि पछिल्लो समय सरकारका कामकारबाहीबाट सन्तुष्ट देखिँदैनन् । आफूहरूले दिएको सुझावअनुसार सरकारले काम नगरेपछि थापा बालुवाटारको घेराबाट बाहिर निस्कन खोजेका छन् । सुशासन कायम गर्ने र संविधान संशोधन गर्ने दिशामा सरकार गम्भीर नभएको उनको निष्कर्ष छ ।

विशेषगरी चार महिना मात्र कार्यकाल बाँकी रहेको अवस्थामा नहटाउन सुझाव दिँदादिँदै पनि विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई पदमुक्त गरिएको, नियुक्तिमा आआफ्नो स्वार्थअनुसार अघि बढ्न खोजिएको भन्दै महामन्त्री थापाले सार्वजनिक रूपमा असन्तुष्टि पोख्ने गरेका छन् । तर राजनीतिक संयन्त्रको सदस्य पनि नछाड्ने र सरकारको आलोचना पनि गर्ने दोहोरो भूमिका निर्वाह गरेको भन्दै उनीमाथि पनि प्रश्न उठ्न थालेको छ ।

प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवा आफैंले नेतृत्व गरेको राजनीतिक संयन्त्रमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा सदस्य छन् । एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल सदस्य छन् ।

कांग्रेसका एक पदाधिकारीले सरकार स्थिरता खोज्नभन्दा पनि अरूतिर बरालिएको टिप्पणी गरे । ‘सरकारले स्थिरता नपाएपछि दुई ठूला दलबीच गठबन्धन बन्न पुग्यो । तत्कालका लागि मात्रै नभएर स्थायी स्थिरता खोज्ने दिशामा संविधान संशोधन गरिनुपर्छ भन्ने निष्कर्षका साथ यो गठबन्धन बनेको थियो,’ उनले भने, ‘तर यस बीचमा संविधान संशोधन गरेर प्रणाली सुदृढ बनाउने, सुशासन र सरकारको स्थिरता खोज्नेतर्फ अघि बढेको देखिँदैन ।’ सरकारको कार्यशैलीले प्रणाली र व्यवस्था विरोधीलाई सहयोग पुर्‍याइरहेको तथा आस्थावान कार्यकर्ता र शुभेच्छुकमा निराशा बढाएको उनले बताए । उनले थपे, ‘त्यसैले सरकार गठनको औचित्वमाथि पार्टीभित्र प्रश्न उठ्न थालेको छ ।’

सत्तारूढ एमालेका नेताहरूले पनि संविधान संशोधनको एजेन्डालाई सरकारले प्राथमिकतामा नराखेको गुनासो गर्न थालेका छन् । एमाले नेता पदम गिरी सरकारले चाँडै कार्यदल गठन गरेर संविधान संशोधनका लागि बहस चलाउनुपर्ने बताउँछन् । ‘संविधान संशोधनको मुख्य एजेन्डा सरकारको साझा न्यूनतम कार्यक्रममा पनि उल्लेख छ । राजनीतिक स्थायित्व र प्रणालीको सुदृढीकरणका लागि संविधान संशोधन आवश्यक पनि छ,’ उनी भन्छन् । संविधान संशोधन, सुशासन र आर्थिक सुधार गर्ने दिशामा सरकारको प्राथमिकता रहेको दाबी उनले गरे ।

सरकारको कार्यशैलीलाई लिएर सत्ता साझेदार कांग्रेसभित्रै असन्तुष्टि चुलिइरहेका बेला प्रमुख प्रतिपक्षी माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सरकार गठनका लागि कांग्रेसलाई निःसर्त सहयोग गर्ने सार्वजनिक उद्घोष गरेका छन् । उनले बिहीबार इमेज टेलिभिजनसँगको अन्तर्वार्तामा कांग्रेसको नेतृत्वमा सरकार बन्ने अवस्था आए माओवादीले प्रस्ट सहयोग गर्ने बताएका हुन् ।

‘कांग्रेसको जस्तो चाहना हुन्छ, त्यहीअनुसार गर्छ । यो कुरा एकदम क्लियर हो,’ उनको भनाइ थियो, ‘कांग्रेसले बाहिरबाट सहयोग गरिदेऊ भने पनि हामी तयार । सरकारमा आएर सहयोग गर भन्यो भने पनि त्यहीअनुसार हुन्छ ।’ दाहालको यस्तो भनाइले सरकारकै भविष्यमाथि समेत संशय पैदा गरिदिएको छ ।

‘९ महिना बिताउनु नै सरकारको उपलब्धि भयो’

हामीले कल्पना गरेको बाटोमा सरकार अघि बढ्न सकेन, सुशासन झन् कमजोर बन्न पुग्यो, भ्रष्टाचार बढेको बढ्यै छ, दण्डहीनता छ, आर्थिक अवस्थामा सुधार छैन, संविधान संशोधनको काममा सिन्को भाँचेको छैन

Dissatisfaction is brewing within the Congress towards the working style of the government

केपी शर्मा ओली नेतृत्वमा बनेको कांग्रेस–एमालेको गठबन्धन सरकारले नौ महिना पूरा गरेको छ । यस बीचमा सरकारको काम गर्ने शैलीलाई लिएर एकातिर सडकमा आक्रोश बाक्लिँदै गएको छ भने अर्कातिर सत्तारूढ दलभित्रै खचपचसमेत बढ्न थालेको छ । यस सन्दर्भमा कांग्रेस नेता शेखर कोइरालासँग कान्तिपुरका कुलचन्द्र न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

तपाईंले कांग्रेस–एमाले गठबन्धन सरकारले केही गर्न सकेन भन्दै आउनुभएको छ । साँच्चै त्यस्तै हो ?

कांग्रेस–एमाले गठबन्धन बन्नुअघि सरकारमा अस्थिरताको चरम अवस्था थियो । ०७९ सालमा कांग्रेस र माओवादी गठबन्धन गरेर चुनावमा गए । चुनावपछि एमाले र माओवादीको सरकार बन्यो । त्यसपछि कांग्रेस र माओवादीको सरकार बन्यो । फेरि एमाले र माओवादीको भयो । यस्तो अस्थिरता अन्त्यका लागि कांग्रेस र एमाले मिल्नुपर्छ भन्ने बिन्दुमा हामी आएका हौं । संविधान संशोधन, सुशासन कायम, दण्डहीनता अन्त्य र आर्थिक सुधारको मुद्दा लिएर पनि गठबन्धन भएको हो । तर हामीले कल्पना गरेको बाटोमा सरकार अघि बढ्न सकेन । सुशासन झन् कमजोर बन्न पुग्यो । भ्रष्टाचार बढेको बढ्यै छ । दण्डहीनता बढेको छ । आर्थिक अवस्थामा सुधार छैन । संविधान संशोधनको काममा सिन्को भाँचेको छैन ।

दुई ठूला दल मिलेर बनाएको सरकारप्रति पनि यति चाँडै निराश हुनुपर्ने अवस्था आउनुको मुख्य कारण के हो ?

सरकारको प्राथमिकता नै मूल लक्ष्यतिर देखिएन । प्राथमिकता एउटा कर्मचारी हटाउने दिशामा हुन्छ, कुनैलाई त्यहाँ राख्नका लागि हुन्छ । संसद्को हिउँदे अधिवेशनको अधिकांश समय एउटा कर्मचारी हटाउने विषयले लियो । प्रधानमन्त्री र सम्बन्धित मन्त्री त्यसैलाई मुद्दा बनाएर हिँडे । त्यसबाट पनि सरकारको नेतृत्व र मन्त्रीहरूको मानसिकता के छ भन्ने बुझ्न सकिन्छ । यसरी सरकार चल्दैन ।

कांग्रेस र एमालेबीच १७ असारमा भएको सातबुँदे सहमतिमा सरकारको प्राथमिकता प्रस्ट छ । त्यसअनुसार सरकारले काम गरेन भन्ने तपाईंको तर्क हो ?

हो, सातबुँदे सहमतिअनुसार सरकारले कुनै पनि काम गर्न सकेन । समय लाग्छ तर सुरुवात पनि सरकारले गरेन । केही गर्दै छ भन्ने पनि भएन । १५ चैतमा तीनकुनेमा जुन खालको घटना भयो, त्यो सरकारका कारणले भयो कि प्रदर्शनकारीका कारणले भन्नेमा सबैका आआफ्ना प्रतिक्रिया छन् । तर सरकारले किन त्यसको न्यायिक छानबिनका लागि आयोग बनाउन चाहेन ? न्यायिक छानबिन त गर्नुपर्‍यो नि ? सरकारले जनतालाई हेर्नुपर्छ । हामीसँग टाढा हुने यस्तै कुराले हो । डेढ दशकयता तीन/चार अनुहारले मात्रै सरकारको नेतृत्व गरिरहेका छन् । राम्रो काम भएको छ भनेर कसरी जनताले पत्याउँछन् ?

तपाईंले सरकारमा छौं तर सत्तामा छैनौं भन्दै आउनुभएको छ, यसको अर्थ के हो ?

हामी सरकारमा छौं, किनकि यो गठबन्धन कांग्रेस र एमाले मिलेर बनेको छ । हामी चाहन्छौं, यसले राम्रो काम गरोस्, अघि बढोस् । जनतालाई आशा र भरोसा दिन सकोस् । तर सरकारको ध्यान त्यस दिशामा छैन । जनताबाट टाढा हुने काम मात्रै गरिरहेको छ । सडकमा आक्रोश छ । सहकारी, लघुवित्त, मिटरब्याजका पीडित आन्दोलनमा छन्, शिक्षक सडकमा छन्, रेजिडेन्ट डाक्टरहरू सेतो कोट लगाएर आन्दोलनमा छन् । भोलि अर्को समूह आउला । सडकको आक्रोश हेरेर सरकारले राम्रो काम गर्नुपर्दैन ? बेलैमा सोचेर समाधानको उपाय खोजिएन भने त्यसले झन् दुर्भाग्य ल्याउँछ भन्ने सोचिएन । एउटा कर्मचारीलाई कसरी हटाउने भन्नेमा मात्र सोचियो । कांग्रेस सरकारमा एमालेसँग छ । तर हाम्रो प्रतिस्पर्धा पनि एमालेसँग नै छ । त्यसैले गलत काम गर्दा एमालेको मात्रै होइन, हामीले हाम्रै मन्त्रीहरूको पनि विरोध गर्नुपर्छ, गरेका छौं ।

संविधान संशोधन गरिएन भने सडकमा आक्रोश अझै बढ्छ भन्दै आउनुभएको छ । संविधान संशोधनसँग आम नागरिकलाई त्यस्तो चासो छ र ?

संविधान कार्यान्वयनका क्रममा धेरै त्रुटि देखिएका छन् । त्यसलाई सम्बोधन गर्न संविधान संशोधन आवश्यक छ । अहिले पनि मधेशका केही समुदायले संविधानलाई पूर्ण रूपमा स्वीकार गरेका छैनन् । यो निर्वाचन प्रणालीले काम गर्दैन भन्ने आवाज उठिरहेको छ । न्यायपालिका, संवैधानिक निकायमा सुधारको कुरा उठिरहेको छ । संरचनागत सुधार र अधिकार बाँडफाँटका विषयमा प्रश्न छन् । ती सबैलाई सम्बोधन गर्न संविधान संशोधन आवश्यक छ । त्यसमा काम नगरेर प्रधानमन्त्री आफैं सडकमा गएर बोल्नुहुन्छ । अहिले देशभरका शिक्षक आन्दोलनमा छन्, तिनलाई नदेखेर प्रधानमन्त्री बुटवलतिर जानुभयो । प्रधानमन्त्रीका यस्ता प्रवृत्तिले कांग्रेस र एमाले मिल्नुको औचित्य स्थापित हुन सकेन । दुई दल मिल्नुको औचित्य चाँडै स्थापित होस् भन्ने हामी चाहन्छौं ।

यो सरकारले एउटै उपलब्धि हासिल गरेको छैन त ?

म केही पनि देख्दिनँ । यो सरकारको उपलब्धि भनेकै नौ महिना बिताउनु हो ।

कांग्रेस र एमाले गठबन्धनको सरकार सफल हुन सकेन भनिरहनुभएको छ । सरकार असफल भएपछि विकल्प पक्कै सोच्नुभएको होला । के छ विकल्प ?

अहिल्यै हामीले विकल्प भनिरहेका छैनौं । सच्चिएर काम गर्ने अवसर अझै पनि छ । त्यस दिशामा सरकारले छिट्टै काम गरोस् भन्ने चाहन्छौं । सरकार चाँडै सुध्रियोस् भन्ने कामना छ ।

सरकार सुध्रनका लागि तपाईंहरू कहिलेसम्म धैर्य रहने ?

हामी राजनीतिक प्राणी भएकाले धैर्य गरौंला तर सडकले धैर्य गर्न सक्दैन । यही गतिमा सरकार अघि बढ्यो भने सडकले विकल्प खोज्छ । सडकले जुन दिन विकल्प खोज्छ, त्यो दिन तपाईं हामीले कल्पना गरेभन्दा बाहिर नेपालको राजनीति जान्छ । त्यो दिन आउन दिनु हुन्न ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले एक टेलिभिजन अन्तर्वार्तामा कांग्रेस नेतृत्वमा सरकार गठनका लागि निःसर्त सहयोग गर्ने बचनबद्धता जनाएका छन्, यसलाई कसरी हेर्नुभएको छ ?

कांग्रेसलाई धेरै उत्साहित बनाउने हिसाबले प्रचण्डजीले बोल्नुभएको छ । तर केही दिनपहिले उहाँले ‘हामी कम्युनिस्टहरू फुटेका छौं, जुट्न सक्दैनौं भन्ने नसोच्नुहोस् है, जुट्न पनि सक्छौं’ भन्नुभएको छ । यसले कांग्रेसलाई सशंकित पनि बनाएको छ ।

वामपन्थी एक हुन्छन् कि भन्ने भय पनि तपाईंहरूमा छ ?

त्यस्तो होइन । हामी जसरी प्रजातन्त्रवादी एक ठाउँमा आउनुपर्छ भन्छौं भने वामपन्थीहरूबाट पनि एक हुनुपर्छ भन्ने आवाज आउनुलाई नकारात्मक रूपमा लिनु हुन्न । वामपन्थीहरू मिलेर देश कता लैजान्छन् भन्ने चिन्ता मात्रै हो । यसै पनि ०७९ पुसयता वामपन्थी नेताहरूले नै सरकारको नेतृत्व गरिरहेका छन् । कांग्रेस त सहयोगी मात्रै भइरहेको छ । यसले पनि वामपन्थीको सरकार कसरी अघि बढिरहेको छ भन्ने थाहा भइहाल्यो नि ।

कांग्रेसले सरकारको विकल्प खोज्न थालेको हो ?

राजनीतिमा असम्भव भन्ने हुँदैन । अहिले विश्वव्यापी रूपमा नै ‘ट्रेड वार’ चलेको छ । यसले पनि हामी अप्ठ्यारो परिस्थितिमा छौं । त्यसैले सरकार परिवर्तनका लागि हामीमा हतारो छैन । प्रधानमन्त्रीले सडकमा गएर बोल्ने होइन, सडकका आवाज सुनेर काम गर्नुपर्‍यो । आज प्रधानमन्त्री सडकमा गएर बोल्दा कसैले पत्याउनेवाला छैन, कामले मात्रै जनताले पत्याउन सक्छन् ।

लोकप्रिय