काठमाडौँ — नेपाल सुपर लिग (एनएसएल) को पहिलो क्वालिफायरमा डिफेन्डिङ च्याम्पियन लतिलपुर सिटी एफसी र धनगढी एफसी भिड्ने भएका छन् । तिनै दुई टिमबीच पछिल्लो सिजन फाइनल भएको थियो । धनगढीले सोमबारको खेलमा झापालाई १–० ले हराएपछि यो समीकरण तयार भएको हो ।
यो जितसँगै धनगढीको ११ अंक भएको छ । गोल अन्तरका आधारमा टोली शीर्षमा उक्लेको छ । ललितपुरको पनि समान ११ अंक छ । टोली दोस्रोमा छ । लिग चरणका बाँकी खेलमा जस्तै नतिजा आए पनि अरूले शीर्ष दुई स्थानमा उनीहरूलाई उछिन्न सक्ने छैनन् । धनगढीको जित आत्मघाती गोलमा सम्भव भएको थियो । यो गोल दीपेश धिमालको नाममा रह्यो । हारले झापा ४ अंकमै सीमित रह्यो र टोलीको प्लेअफ सम्भावना कमजोर बनेको छ । सोमबारकै अर्को खेलमा काठमाडौं रेजर्सले एफसी चितवनलाई २–० पराजित गर्यो । त्यसमा बेकरी मेन र अमाडोउ डिओपले गोल गरे । काठमाडौं ८ अंकसहित तेस्रो स्थानमा रह्यो । चितवन ७ अंक बोकेर चौथो स्थानमा छ ।
काठमाडौंले लिग चरणका सबै ६ खेल टुंग्याएको छ । टोलीको प्लेअफ सम्भावना अरू खेलको नतिजामा भर पर्नेछ । पोखरा थन्डर्स ५ अंकसहित पाँचौं स्थानमा छ । लिग चरणमा तीन खेल बाँकी छ । त्यसमा पोखराले बुटवल–लुम्बिनी, ललितपुरले झापा र धनगढीले चितवनको सामना गर्नेछन् ।