फोर आइज न्युज
शुक्रबार, चैत्र २८, २०८१
  • होमपेज
  • बाढीले क्षति गरेको ६ महिनापछि आधा दर्जन सडकको ठेक्का

बाढीले क्षति गरेको ६ महिनापछि आधा दर्जन सडकको ठेक्का

  • Arjun Rai
  • बुधबार, चैत्र २६, २०८१
बाढीले क्षति गरेको ६ महिनापछि आधा दर्जन सडकको ठेक्का

Highlights

  • सबैभन्दा बढी क्षति भएको बीपी राजमार्गमा चार केज, जसमध्ये तीन वटा ठेक्का आह्वान गरेर प्रक्रिया अघि बढाइसकियो

काठमाडौँ — बाढीले क्षति गरेका सडकको ठेक्का प्रक्रिया ६ महिनापछि अघि बढाइएको छ । सबैभन्दा बढी क्षति गरेको बीपी राजमार्ग, कान्ति राजमार्ग, अरनिको राजमार्ग, मेची राजमार्ग र थानकोट–चित्लाङ सडक खण्डको पुनर्निर्माण गर्ने गरी ३० दिनको समय दिएर ठेक्का आह्वान गरिएको हो । बीपी राजमार्गमा चार प्याकेज बनाइएको छ, जसमध्ये तीन वटा ठेक्का आह्वान गरेर प्रक्रिया अघि बढाइएको हो ।

सिन्धुलीमा एक र काभ्रेतर्फ तीन प्याकेज बनाएर ठेक्का गरिएको हो । गत फागुन २८ मा सिन्धुलीतर्फ नेपालथोक–बर्खेखोलाको पाँच किलोमिटर खण्डमा ठेक्का गरिएको छ । काभ्रे खण्डको डालाबेंसीदेखि चार सयबेंसीसम्मको ८.५ किमि खण्डमा गत चैत ५ मा ठेक्का भइसकेको छ ।

चार सयबेंसीबाट भकुण्डेबेंसीको ११ किमि खण्डको चैत ७ मा ठेक्का आह्वान गरिएको सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशले बताए । डालाबेंसीदेखि बर्खेखोलासम्मको करिब ३.५ किमि खण्डको लागत अनुमान टुंगिइसकेको छ । उक्त खण्डमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले काम गर्ने कुरा सकारात्मक रहेको सडक विभागका महानिर्देशक रामहरि पोखरेलको भनाइ छ ।

Six months after the flood damage, half a dozen road contracts

काभ्रे र सिन्धुली खण्ड गरेर २८ किलोमिटरमा दुई लेनको स्ट्यान्डर्डअनुसार सडक निर्माण गरिनेछ । अहिले बीपी राजमार्गमा आउँदो बर्खालाई दृष्टिगत गरी अस्थायी मर्मतको काम भइरहेको छ । बीपी राजमार्गको स्थायी निर्माण र मर्मत गर्नलाई सडक डिभिजन भक्तपुर र खुर्कोटमार्फत ८ अर्ब ५० करोड रुपैयाँ माग गरिएको थियो । यसअनुसार भक्तपुर खण्डमा ७ अर्ब ५० करोड र खुर्कोट खण्डलाई १ अर्ब रुपैयाँ उपलब्ध गराइएको हो ।

बाढीले बढी क्षति गरेको अर्को सडक हो, कान्ति राजमार्ग । यस राजमार्गमा गत असोजमा आएको बाढीका कारण ठूलो क्षति भयो । ललितपुर–हेटौंडा जोड्ने बगुवाको पुल आधा बग्यो । ललितपुरतर्फ मात्र दुई दर्जनभन्दा बढी स्थानमा पहिरो खसेर सडक ठप्प भयो ।

पहिरोका कारण सडक साँघुरिएको छ । सडकमाथिको पहिरो अझै पन्छाइसकिएको छैन । जसोतसो पहिरो पन्छाएर यातायातका साधन सञ्चालन गरिएको छ । फेरि बर्खा नजिकिँदै छ । आउने बर्खाअघि नै बाढीपहिरोको जोखिम रहेको खण्डमा काम गर्ने गरी ठेक्का आह्वान गरिसकिएको कान्ति राजमार्ग सडक योजना कार्यालयकी प्रमुख रत्नलक्ष्मी बज्राचार्यले बताइन् ।

‘ललितपुरतर्फ दुई र मकवानपुरतर्फ एउटा प्याकेज बनाएका हौं,’ उनले भनिन्, ‘गत चैत ८ गते अघि मकवानपुरतर्फको ३५ किमि र ललितपुरतर्फ तीन वटा पहिरो सुधार गर्न ठेक्का गरिसकिएको छ ।’

ललितपुरतर्फ २८ किमिमध्ये करिब ३ सय ५० मिटर पहिरोको खण्ड पर्छ । ललितपुरको भैंसे, बिर्खेधारा र तीनपाने खण्डको ठूलो पहिरो व्यवस्थापनका लागि ठेक्का गरिएको हो । ‘पहिरोमा ग्याबिन, पर्खाल लगाउँछौं, अझै व्यवस्थित गर्न मेकानिकली स्टेबिलाइज्ड अर्थ (एमएसई) वाल पनि लगाउनेछौं,’ उनले भनिन् । बर्खाअघि यी तीन वटै खण्डमा पहिरो व्यवस्थापनको काम सक्ने योजनामा रहेको उनले बताइन् । पहिरो व्यवस्थापनका लागि एक वर्षभन्दा बढी समय दिइने छैन । अन्य ठेक्काको हकमा दुई वर्षको समय हुने बज्राचार्यको भनाइ छ । यस राजमार्गको स्थायी निर्माणका लागि २ अर्ब ५२ करोड रुपैयाँको स्रोत सहमति प्राप्त भएको बज्राचार्यको भनाइ छ ।

यही सडक खण्डमा बहुवर्षीयअन्तर्गत ६ किमिमा ठेक्का भइसकेको छ । ‘६ किमिबाहेक २२ किमि खण्डको ठेक्का छुट्टै गर्छौं,’ बज्राचार्यले भनिन् । बगुवाको पक्की पुल बाढीले आधा बगाएर बेलिबिज्र जडान गरिएको छ । अहिले बर्खालाई दृष्टिगत गर्दै बेलिब्रिजको ठेक्का गरेर काम अघि बढाइएको र वैशाख मसान्तभित्र यसको काम सकिने दाबी उनको छ । ललितपुरको सातदोबाटोबाट हेटौंडाको बुद्धचोकसम्मको दूरी ९१ किमि छ ।

थानकोट–चित्लाङ सडक खण्डको ३ किमिमा दुई लेन सडक बनाउने गरी गत चैत ११ मा ठेक्का आह्वान गरिएको सडक डिभिजन काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीले बताए । ‘एक खण्डमा करिब डेढ महिनाअघि नै ठेक्का भइसकेको छ, यसको दूरी साढे दुई किमि छ,’ उनले भने, ‘अहिले बर्खाले क्षति गरेको खण्डमा ठेक्का गरिएको छ, जहाँ दुई लेनको कालोपत्र सडक बन्नेछ ।’ थानकोट–चित्लाङ सडकको अप्ठ्यारो खण्डमा ठेक्का गरेर काम अघि बढाइएको उनको भनाइ छ ।

मेची राजमार्गमा गत असोजमा आएको बाढीले क्षति गरेको केही खण्डको गत पुस र माघमा ठेक्का गरी काम नै सुरु भइसकेको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले बताए । ‘मेची राजमार्गको रमिते खण्डमा पुसमै ठेक्का निकाल्यौं, अहिलेसम्म ६० प्रतिशत काम सकिसकेको छ ,’ उनले भने, ‘जुन खण्ड पाँचथरमा पर्छ ।’ यस खण्डमा असोजको बाढीले पूरै डाँडो खसेको थियो । अर्को समस्या भएको खण्ड हो, हेवा खोला ।

‘उक्त खण्डमा पनि गत माघमा ठेक्का निकालेर काम थालिसकिएको छ, २५ प्रतिशत काम नै सकिसकेको छ,’ उनले भने, ‘अर्को हो, इलामको माइखोला खण्ड, यस खण्डलाई समेटेर शुक्रबार ठेक्का गरिसकिएको छ ।’ उनका अनुसार माइखोलाअन्तर्गत जोरकलशदेखि हर्कटे खण्ड धेरै दुर्घटना हुने क्षेत्रमा पर्छ । यस खण्डमा टेवा पर्खाल लगाउने, मोड सुधार गर्ने, सडक चौडा गरिनेछ । यही ठेक्कामा माइखोला खण्डको पहिरो नियन्त्रणको काम पनि राखिएको उनको भनाइ छ ।

बाढीले मेची राजमार्गको तीन खण्डमा क्षति गरेको थियो । माइखोलामा चार दिन, रमिते डाँडामा सात दिन र हेवा खोलाका कारण ११ दिन सडक अवरुद्ध भएको थियो । ‘जोरकलशदेखि हर्कटेसम्म १५ किमिमा कालोपत्र गरिनेछ,’ उनले भने, ‘माइखोला खण्डमा एक किमिमा ग्राभेल मात्र गरिनेछ ।’ बाढीले क्षति गरेको अर्को राजमार्ग हो, अरनिको । यस राजमार्गमा पहिरोले क्षति गरेको क्षेत्रबाहेकको खण्डमा ठेक्का गरिसकिएको सडक डिभिजन चरिकोटका प्रमुख अमितकुमार श्रेष्ठले बताए ।

‘पहिरो व्यवस्थापन गर्ने खण्डमा ठेक्का गर्न बाँकी छ,’ उनले भने, ‘अन्य दुई वटा खण्डको भने ठेक्का निकाली सकिएको छ ।’ श्रेष्ठका अनुसार अरनिको राजमार्ग अन्तर्गत् सिन्धुपाल्चोकको बनदेउ–बाह्रबिसे खण्डको २८ किमि र बाह्रबिसे–लिपिङको २६ किमि खण्डको ठेक्का गरिएको हो । ‘बनदेउ–बाह्रबिसे खण्डको ठेक्का गरेको एक हप्ता हुन लाग्यो ,’ उनले भने, ‘बाह्रबिसे–लिपिङ खण्डको शुक्रबार ठेक्का गरिएको छ ।’ सबै ठेक्काको समयावधि ३० दिनको रहेको छ ।

बाढीले क्षति गरेका राजमार्गहरूको पुनर्निर्माण गर्नेगरी ठेक्का आह्वान भइरहेको सडक विभागका प्रवक्ता एवं उपमहानिर्देशक अर्जुनप्रसाद अर्यालले बताए । ‘अहिले पक्की पुलको ठेक्का प्रक्रिया अघि बढेको छैन, बर्खाअघि पुल नबन्ने र समस्या भएको ठाउँमा बेलिब्रिज जडान गर्न ठेक्का भएर काम अघि बढाइएको छ,’ उनले भने, ‘सडकहरूको भने चैतभित्र ठेक्का गरिसकिनेछ ।’

बर्खाले क्षति गरेको सडकहरूमा अरनिको राजमार्ग, मेची राजमार्ग, बिब्ल्याँटे–माइपोखरी–सन्दकपुर सडक, कान्ति राजमार्ग, चरिकोट–सिंगटी सडक, सिद्धार्थ राजमार्ग, खुर्कोट–मिल्टी र तामाकोशी–मिल्टी सडक छन् । वैकल्पिक सडकतर्फ काभ्रेको भकुन्डेबेंसी–तिमाल–सिन्दुरेटार, दोलखाको किर्नेटार–जाफे र थानकोट–चित्लाङ सडक छन् ।

सडक विभागले सडक र पुलको पुनर्निर्माणका लागि १८ अर्ब ८८ करोड २० लाख रुपैयाँ लाग्ने अनुमानसहित अर्थ मन्त्रालयसँग स्रोत सहमति मागेको थियो । राजमार्गतर्फ १५ अर्ब ८३ करोड १० लाख, पुलतर्फ १ अर्ब ९० करोड १० लाख र वैकल्पिक सडकतर्फ १ अर्ब १५ करोड रुपैयाँ अर्थसँग माग गरिएको थियो । यसमा १० राजमार्ग, १३ पुल र ३ सडकको स्थायी निर्माण र मर्मतसम्भारका लागि रकम माग गरिएको हो । अर्थले स्रोत सहमति दिएपछि ठेक्का व्यवस्थापनको काम सुरु गरिएको हो ।

०००

यी सडकमा लाग्यो ठेक्का

बीपी राजमार्ग नेपालथोक–बर्खेखोला ५ किमि (सिन्धुली खण्ड), डालाबेंसी–चार सयबेंसी ८.५ किमि, चार सयबेंसी–भकुन्डेबेंसीको ११ किमि

कान्ति राजमार्ग मकवानपुरतर्फ ३५ किमि सडक, ललितपुरतर्फ भैंसे, बिर्खेधारा र तीनपानेको पहिरो व्यवस्थापन

अरनिको राजमार्ग बनदेउ–बाह्रबिसे २८ किमि, बाह्रबिसे–लिपिङ २६ किमि

मेची राजमार्ग जोरकलश–हर्कटे १५ किमि

थानकोट–चित्लाङ सडक ३ किमि

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका