रुकुम पूर्व — सिस्ने गाउँपालिका-२ स्थित गायगाढ गाउँदेखि केहीमाथि रिजामा थियो चाउरे दमाईको घर । गाह्रो–माटोको बन्नो अनि ढुंगाको छानो भएको दुई तलाको यही घरमा गत सोमबार राति ८ बजेतिर एक्कासि आगो दन्कियो । प्यारालाइसिस भएर उठ्न–बस्न नसक्ने उनले आफ्नी श्रीमती र नातिनीलाई बाहिर हुत्याए अनि छिमेकी गुहारे ।
नायगाढ गाउँबाट हतार–हतार स्थानीय बासिन्दा आएर आगो निभाउने हर कोसिस गरे तर चैतको खडेरीले खंग्रङ्ङ भएको घरको आगो निभेन । झनै दन्कियो ।
स्थानीय तिलक रसाइली भन्छन्, ‘चाउरेकी जहानलाई बोकेर आगोको रापबाट बाहिर ल्यायौं । अनि भुइँतलामा रहेका गाईलाई पनि बाहिर निकाल्यौं । यसबोहक अरु निकाल्न सकिएन । मान्छे जोगिए तर घरसँगै सबै सम्पत्ति खरानी भयो ।’
उमेरले ६० वर्षका भए चाउरे । उनका ५ छोरी २ छोरामध्येका जेठा छोरा हुन्, हिरालाल । चाउरेका अनुसार तिनै छोराले आफ्नै घरमा आगो झोसेका हुन् । ‘आगो लगाएको त्यो दिन सधैंझैं रक्सीले मातिएर घर आयो अनि मेरो नाम लिँदै ‘मार्छु’ भन्यो । म त लुकेर बसेँ । केही बेरमा घरमा दनदनी आगो पो दन्कियो,’ अघिल्लो दिन आफूलाई आगोको भुंग्रोले खुट्टामा पोलेको फोका देखाउँदै उनी भन्छन्, ‘छोराले आफ्नै घरमा आगो झोस्यो, हामी त बेघर भयौं ।’
हतार–हतार गएर श्रीमती र नातिनीलाई बाहिर निकाल्ने कोसिस गरेर गाउँलेलाई गुहारेको उनी सुनाउँछन् । उनले भने, ‘छोराले अघिपछि पनि रक्सी खाएर यसरी नै हामी सबैलाई दुःख दिने गरेको थियो । तर यसरी घरमै आगो झोस्ला भन्ने कहिले सोचेको थिइनँ ।’
उनी जहान ५ वर्षदेखि प्यारालाइसिस भएर एक ठाउँबाट अर्को ठाउँ सर्न नसक्ने अवस्थामा छिन् । ‘उपचार गर्न पैसा छैन हजुर, के गर्ने ? सबै भगवान् भरोसा चलिरहेको छ,’ उनले भने ।
रक्सीले मातेर सताएकै कारण दुई वर्षअघि नै बुहारीले नाति (हिरालालको कान्छो सन्तान) लिएर घर छाडेको पनि उनले सुनाए ।घरमा आगलागी गरेको आरोपमा घटनालगत्तै हिरालाललाई प्रहरीले पक्राउ गरी लगेको थियो । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी प्रमुख डीएसपी माधवराज खरेलले आफ्नै घर आगजनीको आरोप लागेका हिरालाललाई म्याद थप गरेर अनुसन्धान गरिरहेको जानकारी दिए ।
चाउरेको घर आगोले खरानी भएपछि उनको परिवारलाई अहिले वडा कार्यालय र स्थानीयको सहयोगमा नजिकै निर्माणाधीन पालिका अस्पतालको क्यान्टिन भवनमा राखिएको छ । ‘हामीले वडाबाट र स्थानीय समेतको सक्रियतामा केही अत्यावश्यक सरसामानको जोहो गरिदिएका छौं । चाडै नै उनको घर बनाउन आवश्यक पहल हुनेछ,’ सिस्ने गाउँपालिका-२ का अध्यक्ष कृष्णबहादुर खड्काले भने ।