बतास समूहले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ । बतास समूहले मन्त्रीबाट आफू अन्यायमा परेको भन्दै सर्वोच्चमा मुद्दा दायर गर्ने तयारी गरेको हो ।
बतास फाउण्डेशनको नामबाट बुधबार मन्त्री आलेविरुद्ध रिट परेको तर अहिलेसम्म दर्ता भने नभएको बताइएको छ। अहिले उक्त रिटमाथि अध्ययन भइरहेको प्रधानन्यायाधीस चोलेन्द्रशम्सेर जबराका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए।
बतास समूहले नारायणहिटी दरबार संग्रहालयमा क्याफ्टेरिया सञ्चालन गर्ने तयारी गरेको थियो। उक्त कार्यलाई मन्त्री आलेले रोकेका थिए। मन्त्री आलेले बतासले सञ्चालन गर्दै आएको पशुपतिस्थित धर्मशाला पनि सञ्चालनमा रोक लगाउने निर्णय गरेका थिए।
केही दिनअघि मात्र बतास समूहले विज्ञप्ति जारी गरी मन्त्री आलेको निर्णयले आफूलाई करोडौं रुपैयाँ घाटा भएको जनाएको थियो । बतास समूहले त्यसवापत क्षतिपूर्तिको माग समेत गरेको थियो ।