फोर आइज न्युज
शनिबार, बैशाख ६, २०८२
  • होमपेज
  • नेपालको हवाई उड्डयनमा लगाइएको प्रतिबन्ध हटाउन इयुसँग आग्रह

नेपालको हवाई उड्डयनमा लगाइएको प्रतिबन्ध हटाउन इयुसँग आग्रह

नेपालको हवाई उड्डयनमा लगाइएको प्रतिबन्ध हटाउन इयुसँग आग्रह

बेल्जियममा रहनुभएका परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालको हवाई उड्डयनमा युरोपियन युनियनले लगाएको प्रतिबन्ध हटाउन युनियनका उच्च अधिकारीसँग आग्रह गर्नुभएको छ ।
युरोपियन युनियनको विदेश तथा सुरक्षा नीतिसम्बन्धी उच्च प्रतिनिधि फेडरिका मोगरिनीसँग बुधबार भएको भेटवार्तामा मन्त्री डा महतले सो आग्रह गर्नुभएको परराष्ट्रमन्त्रीका प्रेस संयोजक एकराज पाठकले जानकारी दिनुभयो । युनियनले नेपाली उडानहरुमा हवाई सुरक्षा मापदण्ड पूरा नभएको भन्दै विगत केही समययतादेखि नेपाली हवाई उड्डयनमा प्रतिबन्ध लगाउँदै आएको छ ।
यस्तो मापदण्ड नेपाली उडानमा अब पूरा भएकाले उक्त प्रतिबन्ध फुकुवा गर्न मन्त्री डा महतले गरेको अनुरोधको जवाफमा मोगरिनीले यस प्रावधानको पुनरावलोकन गरी हेर्ने र आवश्यक कारबाही अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सो भेटका क्रममा मन्त्री डा महतले नेपालको पछिल्लो राजनीतिक अवस्थाका साथै संविधानको कार्यान्वयनको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । त्यस अवसरमा मोगरिनीले संविधान सभामार्फत निर्मित संविधानप्रति युरोपियन युनियनको समर्थन रहेको भन्दै कार्यान्वयनका लागि पनि शुभकामना दिनुभयो ।
उहाँले नेपालले आगामी केही समयभित्रै सम्पन्न गर्न लागेको निर्वाचनका लागि सफलताको कामना गर्दै निर्वाचनका लागि आवश्यक कुनै सहयोगका लागि नेपाल सरकारबाट अनुरोध भएमा त्यसमा सघाउन युनियन तत्पर छ भन्नुभयो । त्यसैगरी सो भेटका क्रममा मन्त्री डा महतले नेपालको विविध क्षेत्रको विकासमा युरोपियन युनियनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिनुभयो । साथै नेपालमा भूकम्पपछिको पुननिर्माणका साथै पूर्वाधार निर्माणका क्षेत्रमा थप सहयोगको आग्रह गर्नुभयो । त्यस्तै उहाँले युरोपियन लगानी बैँकमार्फत नेपालमा ठूला आयोजनाहरुका साथै पूर्वाधारका क्षेत्रमा लगानीका लागि युरोपियन युनियनलाई आग्रह गर्नुभयो ।
त्यस अवसरमा युरोपमा नेपालको निर्यात प्रोत्साहन हुनेगरी बजारको पहूँच लगायत थप सहुलियतका लागि पनि उहाँले आग्रह गर्नुभएको थियो । मन्त्री डा महतले युरोपियन युनियनको विदेशमन्त्रीको रुपमा कार्यरत मोगरिनीलाई नेपाल भ्रमणका लागि पनि आग्रह गर्नुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका