काठमाडौँ – कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुखको टिकट गठबन्धनबाट कांग्रेसकै भागमा पार्न नेताहरुले सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्। पाँच दलीय गठबन्धनले काठमाडौँमा मिलेर चुनाव लड्ने निर्णय गरेको अवस्थामा आइतबार सभापति देउवालाई भेट्न पुगेका नेताहरुलाई जिल्लाको वस्तुस्थितिबारे जानकारी गराउँदै कागेश्वरीको प्रमुखमा ध्यान दिन आग्रह गरेका हुन्। ११ मध्ये ६ नगरपालिका कांग्रेस र पाँचवटा माओवादी–समाजवादीले पाउने गरी जिल्ला तहका नेताहरुबीच छलफल भइरहेको छ। उनीहरुले गठबन्धन गरेर जाँदा काठमाडौँका ११ मध्ये कुन–कुन नगरपालिका लिँदा उपयुक्त हुन्छ भन्नेबारे भइरहेको छलफलबारे सभापति देउवालाई ब्रिफिङ गरेका छन्। काठमाडौँ महागरपालिकामा प्रमुख कांग्रेसले पाउने निश्चित भएको छ भने उपप्रमुख गठबन्धनबाट एकीकृत समाजवादीले पाउने भएको छ। त्यो जानकारी आफूहरुले सभापति देउवालाई गराएको काठमाडौँ कांग्रेसका नेता उपेन्द्र कार्कीले बताए। भेटका अवसरमा कार्कीले कागेश्वरी मनोहरामा कांग्रेसले नै प्रमुख पद लिनुपर्ने सुझाव दिएका छन्। कार्की आफै मेयरको आकांक्षी भएकाले पनि त्यहाँको बारेमा केन्द्रित भएर बढी कुराकानी भएको छ। कार्कीले सभापति देउवासँगको भेटबारे भने, ‘हामीले समग्र काठमाडौँका बारेमा कुराकानी गर्यौँ। कागेश्वरीका बारेमा पनि स्वभाविक रुपमा छलफल भयो। यहाँ कांग्रेसले प्रमुख पद लिएर गठबन्धन गर्नुपर्छ भन्ने आग्रह गरेका छौँ।’ कार्की २०७४ सालको चुनावमा पनि कांग्रेसका तर्फबाट मेयरका आकांक्षी बनेका थिए। उनले ८ हजार ४ सय ८७ मत ल्याउँदा एमालेबाट उम्मेद्वार बनेका कृष्णहरि थापाले ८ हजार ९ सय ६९ मत ल्याएर निर्वाचित भएका थिए। एमालेबाट निर्वाचित थापा हाल एकीकृत समाजवादीमा लागेका छन्। थापा पनि आउँदो वैशाख ३० गते हुने चुनावमा गठबन्धनका तर्फबाट पुनः प्रमुखको उम्मेद्वार बन्ने तयारीमा छन्। समाजवादीले अघिल्लो पटक जितेको उम्मेद्वार आफूसँग भएकाले स्वभाविक रुपमा टिकट पाउनुपर्ने दाबी गर्दै आएको छ। थापाले भने, ‘अघिल्लो पटक जसले जहाँ जितेको छ, त्यसले त्यहीँ पाउने कुरा गठबन्धनमा भएको छ। एमालेले जितेका उपत्यकाका १४ पालिका प्रमुखमध्ये समाजवादीको पक्षमा मैले मात्रै सनाखत गरेको थिएँ। त्यसो हुँदा कागेश्वरी समाजवादीले पाउनुपर्छ। त्यसपछि मात्रै व्यक्ति को भन्ने कुरा होला।’ तर थापाले अनौपचारिक रुपमा उम्मेद्वारी घोषणा गरेर घरदैलो नै सुरु गरिसकेका छन्। कार्की सभापति देउवाका विश्वासपात्र हुन् भने थापा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका निकट मान्छिन्। गत मंसिरमा भएको १४औँ महाधिवेशनमा कार्की देउवा प्यानलबाट काठमाडौँ कांग्रेसको सभापतिका उम्मेद्वार थिए। नेपालको निर्वाचन क्षेत्र काठमाडौँ–२ मा समेत पर्ने भएकाले कागेश्वरीको टिकट गठबन्धनबाट कार्की र थापामध्ये कसले पाउने भन्ने विषय पेचिलो बनेको छ। जसका कारण त्यहाँको टिकटको निर्णय गर्न देउवा–नेपालसमेत सकसमा पर्ने देखिन्छ।
कार्कीले अध्यक्ष नेपालसँग पनि आगामी निर्वाचनलाई समेत मध्यनजर गरेर अहिले आफूले टिकट पाउनुपर्ने दाबी राखिरहेका छन्।