स्विस प्रशिक्षक योहान कालिन भित्र्याउँदै औसतको टिम बनाएर पनि मछिन्द्र क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७० मा उपविजेता भएको थियो ।
तर, अखिल नेपाल फुटबल संघ (एन्फा) मा भ्रष्टाचार र आन्तरिक खिचातानीको कारण ठप्प भएको लिग ५ वर्षपछि पुनः सुचारु हुँदा मछिन्द्र १४ क्लबमध्ये पुछारबाट दोस्रोमा रह्यो । त्यसै कारण १ अंक घटुवामा परेको मछिन्द्रले परम्परागत शक्ति मनाङ र थ्रीस्टारका चर्चित र चलेका खेलाडीहरू भित्र्याएर २०७६ सालको उपाधि जित्यो । उस्तै टिमलाई कायम राखेको मछिन्द्र त्यो ऐतिहासिक उपाधि रक्षाको नजिक आइपुगेको छ ।
कोभिड–१९ महामारीका कारण एक वर्ष बिराएर आयोजित उपत्यकाको शीर्ष लिगको डिफेन्डिङ च्याम्पियन हो मछिन्द्र । ‘ए’ डिभिजन लिगको नवप्रवेशी सातदोबाटो युवा क्लब गत वर्षको ‘बी’ डिभिजन लिग च्याम्पियन हो । यी फरक श्रेणीका च्याम्पियन दुई क्लबवीच दशरथ रंगशालामा बुधबार प्रतिस्पर्धा हुँदै छ ।
यसमा जित हात पार्न सके मछिन्द्रले दुई खेल बाँकी छँदै उपाधि सुरक्षित गर्नेछ । तर, मछिन्द्रलाई उपाधि जोगाउन सजिलो भने छैन । उसलाई थ्रीस्टार र मनाङलाई हराएर माथिल्लो लिगको ‘डेब्यु सिजन’ लाई सनसनीपूर्ण बनाइसकेको सातदोबाटोविरुद्ध ३ अंक खोस्न सहज छैन ।
‘सातदोबाटो अन्डरडग टिम हो,’ मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले भने, ‘छैटौं स्थानमा भए पनि उसले मनाङ, थ्रीस्टारविरुद्ध जितेको छ, आर्मीसँग बराबर खेलेको छ, पछिल्लो खेलमा पुलिसलाई हराएको छ । ती खेलहरूलाई विश्लेषण गरेर सातदोबाटोलाई कमजोर होइन, यो लिगको बलियो दाबेदार ठानेर तयारी गरेका छौं ।’
उनी आफैं पनि प्रशिक्षकको रूपमा लगातार दोस्रोपल्ट लिग च्याम्पियन बन्ने संघारमा छन् । उनले थपे, ‘लिगमा हाम्रो अझै तीन खेल बाँकी छ । तर, हामी बुधबार लिग च्याम्पियन हुने खेल खेल्छौं । अन्तिम र निर्णायक खेल भनेर फाइनलको रुपमा सातदोबाटोविरुद्ध खेल्नेछौं ।’
दसौं चरणको समाप्तिसम्म अपराजित मछिन्द्र ८ जित र २ बराबरीसहित २६ अंक बटुल्दै शीर्षस्थानमा छ । उसले दोस्रो स्थानको मनाङमाथि ६ अंकको अग्रता लिएको छ । मनाङविरुद्ध छैटौं चरणमा १–० को जितले मछिन्द्र ‘हेड टु हेड’ मा पनि अगाडि छ ।
त्यसैले मछिन्द्रलाई बाँकी तीन खेलमध्ये कुनै एकमात्र जित हात पारेमा त्यो ३ अंक ट्रफी चुम्न पर्याप्त हुनेछ । मछिन्द्रले तीन हार, दुई वा एक बराबरीसँगै एक वा दुई हारको अविश्वसनीय नतिजा निकाले मात्रै मनाङका लागि उपाधिको बाटो खुल्नेछ । त्यो अवस्थामा मनाङले उपाधि कब्जा गर्न तीनै खेल जित्नैपर्छ ।
आर्मी (१८ अंक) का लागि त पहिलो लिग उपाधि जित्न मनाङसहितका तीन खेल जितेरमात्रै पुग्दैन, मछिन्द्रले पनि तीनै खेल हार्नुपर्छ । तर, यस्ता समीकरण प्रायः हिसाबमै सीमित हुन्छ । सातदोबाटोले ४ जित, ३ बराबर र ३ हारको नतिजासहित १५ अंक जोडेको छ । उसले मछिन्द्रलाई सिकार बनाउन सके थ्रीस्टार (१७ अंक) र संकटा (१५) लाई उछिन्दै आर्मीलाई भेटाउन सक्छ । सातदोबाटोको दाउ यसैमा छ ।
‘हामीलाई राम्रो पोजिसन (माथिल्लो वरीयता) बनाउनु छ, जित्ने गरी खेल्नेछौं,’ ११ औं चरणको खेलबारे सातदोबाटोका प्रशिक्षक मेघराज केसीले भने, ‘मछिन्द्र शीर्षस्थानमा छ । हामीलाई सजिलो हुन्न । तर, मछिन्द्रलाई पनि सजिलो हुने छैन । ए डिभिजनको डिफेन्डिङ च्याम्पियन र बी डिभिजन च्याम्पियनबीचको राम्रो खेल हेर्न पाइनेछ ।’
शीर्ष लिगमा डेढ दशकयता टिम सम्हालेका उनले प्रतिस्पर्धीबारे भने, ‘मछिन्द्रमा राष्ट्रिय टिमबाट खेलेका धेरै खेलाडी छन् । तर, प्रदर्शन जति हुनुपर्ने त्यति छैन । उच्च प्रदर्शन देखिएको छैन । उसलाई धेरै कुराले साथ दिइरहेको छ ।’
प्रशिक्षक केसीले आफ्नो टिमबारे बोले, ‘हाम्रो टिम वर्कसँगै खेलाडी, प्रशिक्षक सबैलाई टिमप्रतिको विश्वास नै बलियो पक्ष हो । नयाँ टिम, जुनियर खेलाडीहरूले बनेको टिम हो, प्रतिस्पर्धी डराएर खेल्न आउँछ । सातदोबाटो पनि फुटबलमा केही हो भनेर सचेत हुनुपर्ने अवस्था बनाउँदै छौं ।’
उनले फरक टिमविरुद्ध अपनाउने फरक रणनीतिबाट मछिन्द्रका प्रशिक्षक कटुवाल पनि सचेत छन्, ‘उहाँलाई सम्मान गर्नुपर्छ । ठूला टिमविरुद्ध पनि नतिजा दिइरहनुभएको छ ।’
यो सिजन एक ह्याट्रिकसहित ५ गोल गरेका अजयी मार्टिनले मछिन्द्रलाई समस्यामा पार्न सक्छन् । सुशील राई, सुदीप गुरुङ, आकाश बुढामगर र दीपकसिंह ठकुरीले पनि मछिन्द्रलाई दुःख दिनसक्छ ।
तर, उनीहरूलाई सेन्टरब्याकद्वय नुरैन करिम र देवेन्द्र तामाङलाई उछिन्दै विशाल श्रेष्ठले सम्हालेको गोलपोस्टमा गोल गर्न सहज हुने छैन । पहिलो खेलमा एनआरटीका एरिक विष्टले ५४ औं मिनेटमा फ्रि–किकमा सिधै गोल गरेपछि ९ खेलमा विशाल र मछिन्द्रविरुद्ध गोल भएको छैन । विशालको कीर्तिमानी यात्राले टिममा आत्मविश्वास वृद्धि गरेको प्रशिक्षक कटुवालले बताए ।
मछिन्द्रको अग्रपंक्तिमा सुनील बलले प्रभावशाली प्रदर्शन गरिरहेका छन् । उनी ६ गोलसहित सर्वाधिक गोलकर्ताको सूचीमा मनाङका ओलावाले आफिजसँगै अगाडि छन् । चोटबाट फर्किएका विमल घर्तीमगरले ४ गोल गरेका छन् । सुजल श्रेष्ठको कप्तानीमा रहेको टिममा सबै सदस्य आक्रमण र गोल गर्न सक्ने क्षमताका छन् ।
त्यसैले मछिन्द्रलाई रोक्न कप्तान मनबहादुर तामाङ, मछिन्द्रकै पूर्वडिफेन्डर पिटर सेगुनसहितको सातदोबाटोलाई मुस्किल पर्न सक्छ । च्यासलविरुद्ध खेल्दा घाइते भएका फरवार्ड मनीष डाँगी, विवाहका लागि घर (झापा) पुगेका मिडफिल्डर विशाल राईको अनुपस्थितिमा पनि नाम र खेलाडीको व्यक्तिगत कौशलको हिसाबले मछिन्द्र निकै बलियो छ ।
पूरा फिट नरहेका फरवार्ड रेजिन सुब्बाको खेल्ने सम्भावना कमै छ । तर, मछिन्द्रको ‘बेन्च’ बलियो छ । त्यसैले सातदोबाटोलाई हराएर दुई खेलअगावै उपाधि जित्ने मछिन्द्रले योजना बनाएको छ । सातदोबाटो पनि कठिन चुनौती दिने धुनमा मछिन्द्रको अपराजित यात्रामा पूर्णविराम लगाउने अभियानमा छ ।