काठमाडौँ — सानैदेखि खरायो र कछुवाको दौडमा चलाख खरायोलाई धैर्यवान् कछुवाले जितेको सुन्दै आएका थियौँ। तर त्यही धैर्यताको प्रतीक मानिने कछुवा अव्यवस्थित विकास र मानवीय स्वभावका कारण अहिले संकटमा पर्दै गएको छ। नेपालमा पाइने ९० प्रतिशत बढी कछुवा खतराको सूचीमा छन्।
आज विश्व कछुवा दिवस समेत मनाइँदैछ । यही सेरोफेरोमा नेपालमा कछुवाको अवस्थाबारे कछुवा तथा सरिसृप विशेषज्ञ, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक करनबहादुर शाहसँग मनोज पौडेलले गरेको कुराकानी :
नेपालमा कति प्रकारको कछुवा पाइन्छ ?
यहाँ १७ प्रजातिका कछुवा पाइन्छन् । तर कतिपयले थप दुई उपप्रजातिको कछुवाको पनि गणना गर्छन् । त्यो भनेको सामान्य मान्छेलाई बुझाउनु पर्दा १७ प्रजाति नै भन्नुपर्छ । कछुवाकै बारेमा वैज्ञानिक अध्ययन अनुसन्धान, शोध गर्दाका बेलामा भने उपप्रजातिका कुरा जोडिन्छन् । त्यही भएर नेपाल पाई मुख्य प्रजाति भनेको १७ नै भन्नुपर्छ ।
नेपालमा पाइने कछुवाको अवस्था के छ ?
नेपालमा पाइने सबै प्रजातिका कछुवा करिब करिब खतराकै सूचीमा छन् । त्यही भएर कछुवाको अध्ययन अनुसन्धान बढाएर संरक्षण अल्पकालीन र दीर्घकालीन नीति, योजना र कार्यक्रम बनाएर लागु गर्न अबेला गर्नुहुन्न ।
पारिस्थितिकीय प्रणाली सन्तुलन गर्न के गर्छ ?
कछुवाले ससाना जीवजन्तु खाने र कछुवालाई अन्य जीवजन्तुले खाने गर्छ । यसले खाद्य चक्र सन्तुलन गरिरहेको हुन्छ । कछुवाले पानीमा रहेको फोहर र सडेगलेका जीवजन्तु खान्छन् । जमिनको कुचीकार गिद्ध भए जस्तै पानीको कुचीकार कछुवा हो ।
पर्यापर्यटनमा कस्तो योगदान गर्छ ?
पर्यापर्यटनका लागि पनि राम्रो योगदान गर्छ । यसको अध्ययन अनुसन्धान बढ्न थालेको छ । यो पनि एउटा पर्यापर्यटन हो । कछुवा हेर्न जान थालेका छन् । यसका लागि कोसी, बर्दिया, जगदीशपुर, बेतना सिमसार र लुम्बिनी प्रमुख छन् । कछुवाले जलीय प्रणालीमा परागसेचनाको पनि भूमिका गर्ने हुँदा उत्पादन बढाउन सहयोग गर्छ ।
नेपालमा कछुवाको अध्ययन अनुसन्धानको अवस्था के छ ?
बिस्तारै हुदैछ । बाघ, अर्ना, गैँडा, हिउँ–चितुवाजस्ता ठुला जीवमा जस्तो नभए पनि अहिले चासो बढ्दै गएको छ । कछुवाका बारेमा सोधखोज बढ्न थालेको छ । अहिलेका युवामा कछुवा संरक्षणप्रति अभिरुचि बढ्दै गएको छ । त्यसैको परिणाम स्वरूप सन् २००० देखि मे २३ तारिखलाई विश्व कछुवा दिवसका रूपमा मनाइँदै आएको छ ।