पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिकाको मौवा खोला नजिक बसको ठक्करबाट सहचालकको मृत्यु भएको छ ।
शुक्रबार बिहान करिब ४ बजेको समयमा काठमाडाैंबाट भारतको सिलगढीतर्फ जाँदै गरेको बा ५ ख ७८४३ नम्बरको (नेपाल भारत मैत्री) बसले सोही बसका सहचालक सुनसरीको झुम्का बस्ने वर्ष २३ को जनक दाहाललाई ठक्कर दिदा दाहालको घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
ईलाका प्रहरी कार्यालय मुग्लिनबाट खटिएको टोलीले घटनास्थल तथा लास जाँच मुचुल्का तयार गरि शव पोष्टमार्टमको लागि भरतपुर सरकारी अस्पताल पठाएको चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।
प्रहरीले बस र बसका चालकलाई नियन्त्रणमा लिएको छ । ‘सवारी आवागमन अझै सहज भएको छैन । गाडी अगाडि सहचालक भएको बेला गाडी अगाडि बढाउँदा घटना भएको हुन सक्छ’, उनले भने ।
बिहीबार राति पृथ्वी राजमार्गको विभिन्न स्थानमा गएको पहिरोका कारण अझै पनि यातायात सेवा सहज भएको छैन । ट्राफिक नियमको पालना नगर्दा आवागमन अस्तव्यस्त बनेको स्थानीय पत्रकार दानबहादुर गुरुङले बताएका छन् ।
आँबुखैरहनीमा सडक भाँसिएपछि पोखरातर्फ जाने गाडीहरु अड्किएको र त्यसले गर्दा समस्या भएको चितवन प्रहरी प्रवक्ता अधिकारीले बताए ।