केहीदिन यता रुसले पूर्वी युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाही शुरु गरेसँगै त्यसको प्रत्यक्ष असर अन्तर्राष्ट्रिय स्तरमा परेको छ। यी दुई राष्ट्रबीचको द्वन्द बढेपछि अहिले विश्वभर नै वस्तुको सप्लाई चेनमा ठूलो असर पर्न थालेको छ।
रुसले युक्रेन विरुद्ध युद्ध घोषणा गरेपछि कच्चा तेल (ब्रेन्ट क्रुड) को मूल्य प्रति ब्यारेल १०० डलर नाघेको छ। यो ८ वर्ष यताकै उच्च मूल्य हो। विज्ञहरुले केहीदिन भित्रै कच्चा तेलको मूल्य प्रति ब्यारल १२० डलरसम्म पुग्न सक्छ। जसका कारण नेपालमा समेत पेट्रोल तथा डिजेलको मूल्य ३० रुपैयाँसम्म महंगो हुन सक्छ।
रुसले युक्रेनमाथि सैन्य कारबाही गर्ने घोषणा गरेपछि तेलको भाउ एकै दिन ५.६ प्रतिशत अर्थात ४ डलर ९० सेन्ट बढेको हो। बिहीबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर १०२ डलर प्रतिब्यारल पुगेको थियो भने शुक्रबार यो समाचार तयार पार्दसम्म तेलको मूल्य १०१ डलर १० सेन्ट रहेको छ।
रुसमाथिको प्रतिबन्ध र रुसी ग्यास पाइपलाइन अवरुद्ध भएपछि तेलको मूल्य यस हप्ताको सुरुदेखि नै बढेको थियो। साउदी अरेबिया पछि रुस दोस्रो ठूलो कच्चा तेल निर्यातक हो। साथै प्राकृतिक ग्यासको विश्वको सबैभन्दा ठूलो निर्यातक पनि रुस नै हो।
रुसले मुख्यगरी यूरोपेली रिफाइनरीलाई कच्चा तेल बिक्री गर्दछ । यूरोपेली राष्ट्रहरुमा प्रयोग हुने ३५ प्रतिशत तेल रुसले नै प्रदान गर्ने गरेको छ। यसरी विश्वव्यापी रुपमा तेलको मूल्य बढेपछि यूरोप लगात अन्य सबै मुलुकलाई यसले प्रत्यक्ष रुपमा असर पर्ने निश्चित छ।
रुसले युक्रेनसँग युद्धको घोषणा गरेपछि अमेरिका, बेलायत लगायत अन्य केही सहयोगी राष्ट्रहरुले रुसमाथि प्रतिबन्ध लगाउन थालेका छन्। बेलायतले रुसका पाँच बैंक र तीन रुसी अर्बपतिको सम्पत्ति रोक्का गरी उनीहरुमाथि यात्राको समेत प्रतिबन्ध लगाएको अनतर्राष्ट्रिय समाचार एजेन्सीहरुमा उल्लेख छन्। गत मंगलबार मात्रै बेलायती प्रधानमन्त्री बोरिस जोनसनले भने, ‘यी प्रतिबन्धहरु प्रारम्भिक छन् र यसलाई थप विस्तार गर्न सकिन्छ।’
नेपालमा पनि इन्धन आपूर्तिमा समस्या हुने
विश्वभर वितरण हुने कच्चा तेलको अधिकांश हिस्सा भने रुसको नै छ। भरतले समेत रुससँग कच्चा तेल आयात गर्दै आएको छ। रुसविरुद्ध आर्थिक प्रतिबन्धहरु लागेमा भारतले रुसबाट आयात गर्ने कच्चा तेल आपूर्तिमा पनि असर पर्न सक्छ। अहिले आयातकर्ताहरुले आयातमा ढिलाई गर्न थालेको बुझिएको छ। यसको असर इन्धन आपूर्तिमा पर्ने देखिन्छ भने त्यसबाट नेपाल पनि प्रत्यक्ष रुपमा प्रभावित बन्न जान्छ। नेपालले भारतको इन्डियन आयल कर्पोरेशनबाट तेल खरिद गर्छ। भारतले पनि मध्यपूर्वका देशहरुका अलावा रुसबाट तेल खरिद गर्छ।
सुनको भाउ बढेर ९ महीनायताकै उच्च
बिहीबार अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातु सुनको मूल्य ९ महिना यताकै उच्च स्तरमा पुगेको थियो। यसदिन अन्तर्राष्ट्रिय बजारमा प्रति औंसत स्पट गोल्डको मूल्य १ हजार ९३५ डलर ७३ सेन्ट पुगेको हो। रुसले युक्रेनमा हमला गर्ने आशंकमा सेफ हेभन एसेटको माग बढेपछि सुनको भाउले टेवा पाएको हो । त्यसैगरी शुक्रबार यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंसत सुनको मूल्य १ हजार ९१६ डलर ७३ सेन्ट रहेको छ।
अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ उकालो लाग्दा त्यसको असर नेपालमा पनि पर्न गएको छ। बिहीबार नेपालमा सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ पुग्यो। जुन हालसम्मकै उच्च मूल्य हो।
केहीदिन अघिबाट कोमेक्समा निरन्तर रुपमा सुनको मूल्य उकालो लागेको छ। सुनमात्रै नभएर, चाँदी, प्लाटिनम, पालाडियम लगायत अन्य बहुमूल्य धातुको मूल्यपनि बढेको छ। विश्वव्यापी तनावको असर पछिल्लो समय बजारमा परेको यसले स्पष्ट पारेको छ।
अन्तर्राष्ट्रिय बजारको राजनीति तनाव बढ्दा सुनचाँदी जस्ता बहुमूल्य धातुमा लगानी गर्दा सुरक्षित हुने भएकाले लगानी बढ्ने हुँदा यसको असर सुनको मूल्यमा पर्ने गएको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाई छ। महासंघका अनुसार, नेपालमा अन्तर्राष्ट्रिय डलरको मूल्यको आधारमा सुनचाँदीको मूल्य निर्धारण गरेर बजारमा कारोबार हुने गरेको छ। साथै विश्व अर्थतन्त्रमा नयाँ नयाँ चुनौती थपिँदै गएकाले सुनको माग बढी आउने तथा युद्ध चर्किँदै गएको अवस्थामा सुनको मूल्य घट्नेभन्दा बढी अझ बढ्दै जाने सम्भावना रहेको महासंघको ठम्याई छ।
विश्व सेयर बजारमा पनि भारी गिरावट
बिहीबार विश्वभरका सेयर बजार पनि राताम्मे भएका छन्। एशिया प्रशान्त क्षेत्रमा जापान बाहेकका सेयर बजारको बृहत परिसूचक एमएससीआई ३.२ प्रतिशतले घटेको छ।
चीनमा साङ्हाई कम्पोजिट ०.८९ प्रतिशतले घटेको छ। हङकङमा हाङशेङ ३.११ प्रतिशतले तल झरेको छ। त्यस्तै सिंगापुरमा एसजीएक्स निफ्टीमा २.८ प्रतिशतको कमी आएको छ। दक्षिण कोरियामा कोस्पी परिसचूक पनि २.४९ प्रतिशतले घटेको छ । इन्डोनेशिया, भारत, थाइल्यान्ड लगायत यस क्षेत्रका अन्य अधिकांश सेयर बजार पनि रातोमा आएको छ। अष्ट्रेलियामा एएसएक्स २०० २.२२ प्रतिशतले घटेको छ भने अमेरिकामा पनि सेयर फयूचरहरु तल नै छन्।
यता नेपालमा पनि बिहीबार सेयर बजारमा ठूलै गिरावट आएको छ। यसदिन नेपालको सेयर बजार मापन सूचक नेप्सेमा ५८.९९ अंकको गिरावट आएको छ। नेप्से ओरालो लाग्नुमा हाल नेपालको अस्थिर राजनैतिक अवस्थालाई ठम्याईएका पनि अन्तर्राष्ट्रि बजारमा परेको असरका कारण पनि रहेको देखिन्छ। अन्तर्राष्ट्रिय बजारमा निर्भर रहेको हुँदा उता घट्दा नेपालको पनि सेयर बजार घट्ने गरेको छ।
बजारले सधैं रुसी सेनालाई डोनबासमा रोक्न सकिन्छ कि सकिदैंन भनेर हेरिरहेका थिए अहिले सेना किभ तर्फ बढिरहेको स्पष्ट देखिएको पेपर स्टोनमा अनुसन्धान प्रमुख क्रिस वेटन बताउँछन्। अहिले भने अवस्था कतिसम्म खराब बन्न सक्छ भन्नेतिर अड्कल अनुमान बढिरहेको छ। अवस्था खराब भयो भने सेयर बजार बियरिश बन्ने उनी बताउँछन्।
खाने तेलको आपूर्तिमा अवरोध
विश्वको खाद्य आपूर्तिमा रुस र युक्रेनको मुख्य भूमिका रहेको छ। विश्व बजारमा यी दुई राष्ट्रबाट करिब ८० प्रतिशत तोरीको दाना, सूर्यमुखीको दाना र गहुँ निर्यात हुने गरेको छ। यद्यपी यिनी दुई राष्ट्रबीच केही दिन यता उत्पन्न भएको द्धन्दका कारण आपूर्ति प्रणालीमा समस्या आउन थालिसकेको छ। ज्सका कारण आगामी दिनमा खाद्य संकटको समस्या निम्तीन सक्ने संकेत देखिएको छ।
युक्रेनबाट तोरीको दाना, सूर्यमुखीको कच्चा पदार्थ र गहुँ ल्याएर प्रशोधन गरी नेपाल र भारतीय बजारमा पठाउँदै आएका नेपालका उद्योगहरु सम्भावित युद्धका कारण एलसी खोलिसकिएको सामान नआउने हो कि भन्ने त्रासमा छन्। युक्रेनका कम्पनीहरुलाई चाँडो माल पठाइदिन अनुरोध गर्दा त्यहाँका जहाज कम्पनीहरुले विलम्ब गरिरहेको व्यवसायीको भनाई छ।
दुई देशबीच बढ्दो तनावले तोरीको मूल्य प्रतिटन ३० डलर बढेको छ। नेपालले युक्रेनसँग तोरी आयात गर्दै आउँदा पछिल्लो समय अनतर्राष्ट्रि बजारम नै मूल्य बढ्दा त्यसको असर नेपालमा समेत पर्ने निश्चित रहेको छ। इसैपनि एक वर्ष यता नेपालमा खाने तेलको मूल्य १ सय रुपैयाँ प्रतिलिटरसम्म वृद्धि भएको छ।
रुस र युक्रेन वनस्पति तेल निर्यातकर्ता पनि हुन्। यी दुई बीचको युद्धले सूर्यमुखी तेलको आपूर्तिमा अनिश्चिय पैदा भएको छ। विश्वभर ढुवानी हुने सूर्यमुखी तेलमा युक्रेन र रुसको अनुपात झन्डै ८० प्रतिशत छ।
युक्रेनी संकटले पछिल्लो समय पाम तेल र भट्मासको तेलको माग समेत बढाएको छ। तेलको बजारमा मूल्य वृद्धिको फोका उत्पन्न हुने हो कि भन्ने भय पनि बढाएको छ। निकट भविष्यमा सूर्यमुखी तेलको भाउ मात्रै नभएर पाम तेल र भट्मासको तेलले पनि नयाँ उचाई छुने विश्लेषक तथा व्यापारीहरुले बताइरहेका छन्।
गहुँ र मकै बिक्रेताको विकल्प खोज्न आवश्यक
विश्वको कुल गहुँ कारोबारमा रुस र युक्रेनी गहुँको अनुपात २९ प्रतिशत छ। १९ प्रतिशत मकैको आपूर्ति पनि यी दुई देशबाट हुने गरेको छ। तर यी दुई देशबीच सुरु भएको युद्धका कारण आगामी दिनमा गहुँ र मकै नेपालसहित विश्व बजारमा हुने आयातमा समस्या उत्पन्न हुने निश्चित छ। तसर्थ, गहुँ, मकै र सूर्यमुखी तेल क्रेताहरु वैकल्पिक आपूर्तिकर्ता खोज्न बाध्य हुने विश्लेषण विश्वभर बढेको छ।
पछिल्लो केही दिनमा सिकागो ह्विट फयूचर्स धमाधम उकालो लागिरहेको छ। रुस–युक्रेन संकट चुँलिदै गएपछि गएको शुक्रवारयता प्रति सय बुशेल गँहुको भाउ डेढ सय डलर भन्दा धेरैले बढिसकेको छ।
रुसी गहुँको सबैभन्दा ठूला क्रेता इजिप्ट र टर्की हुन् । तर ढुवानीमा ढिलाई भयो वा प्रतिबन्धले रुसी निर्यात अवरुद्ध भयो भने यी दुई मात्रै प्रभावित हुने छैनन्। विश्वभर यसको प्रभाव पोखिने छ अनि मूल्य झनै बढ्नेछ।
मकैं र भट्मासको भाउ पनि बढेका छन्। फेब्रुअरी १५ यता मकैको फयूचर्स प्रति सय बशेल (करीब २ हजार ७२१ केजी) को ६३८ डलरबाट बढेर बिहीवार ६९५ डलर पुगेको थियो। सोही अवधिमा भट्मासको फयूचर्स पनि प्रति सय बशेल (करीब २ हजार ७२१ केजी) को सवा १ सय डलरभन्दा धेरैले बढेको छ। यसबाट आगामी दिनमा नेपालसमेत प्रभावित बन्ने निश्चित नै छ।
विश्वभरी कस्तो असर पर्ला ?
पूर्वी युक्रेनस्थित पृथक्तावादीहरूको पकड रहेका दुईओटा क्षेत्रलाई रुसले राज्यका रुपमा मान्यता दिएसँगै त्यहाँको सङ्कट थप गहिरिएको हो। ती क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना सेनालाई युक्रेनी भूमिमा प्रवेश गर्न आदेश दिएका छन्। नेपाल सरकारले युक्रेनमा रहेका नेपालीहरुको विषयमा चासो दिएर उनीहरुको लगत संकलन थालेको छ । यूरोपेली मुलुक र अमेरिकाले रुसी कदमको आलोचना गरेका छन्।
आडमै रहेको युरोप होस् वा हजारौँ माइल टाढा रहेको अमेरिका, युक्रेनमा जारी तनाव सबै देशका लागि टाउको दुखाइको विषय बनेको छ। रुसले युक्रेनमा हमला गरे युक्रेनका ४ करोड ४० लाख मानिस त प्रभावित हुनेछ्न्, साथै युरोप र अमेरिकालाई पनि असर पर्नेछ। रुसले युक्रेनविरुद्ध कदम चाले, विगतमा सोभियत संघमा आबद्ध पूर्वी युरोपियन मुलुकहरुको सुरक्षामा चुनौती थपिने अनुमान छ। यसले सन् १९८९ पछि विश्वव्यवस्थालाई पुनः परिभाषित गर्दै अमेरिकी दबदबालाई परिवर्तन गर्न सक्ने आकलन भइरहेको छ। रुसको कदमले विश्वभर इन्धनको मूल्य बढाउने पक्का छ।