तर मन्त्री खतिवडाले सय दिने प्रगति विवरण सार्वजनिक गर्ने पूर्ववर्तीकाे चलनलाई मात्र अनुशरण गरेका छैनन्, जथाभावी कर्मचारी सरुवा गर्ने विकृतिलाई पनि निरन्तरता दिएका छन् । सय दिने प्रगति विवरण सार्वजनिकलाई अविछिन्न बनाएकाे घाेषणा गरेकाे चार दिनपछि नै खतिवडाले यसकाे पुष्टि गरे । उनले स्वास्थ्य सेवाका ११औँ तहका कर्मचारीकाे सरुवा गरे ।
पछिल्लाे सरुवा मात्र हाेइन खतिवडाले सय दिनको अवधिमा अधिकांश समय कर्मचारी अदलबदलमै खर्चिए । मन्त्रालयको हलमा उनी प्रगति विवरण सार्वजनिक गर्दै थिए । सोही हलमा रहेका एक कर्मचारी भने ‘स्वास्थ्यमा व्यापक हेरफेर हुँदै छ । फाइल अगाडि बढेको छ’ भन्दै खासखुस गरिरहेका थिए ।
नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ मा कर्मचारी सरुवाकाे तालिका ताेकिएकाे छ । मन्त्रालयले हरेक वर्षकाे असाेजमा, विभागले कात्तिकमा, निर्देशनालयले मंसिरमा र जिल्लास्थित कार्यालयहरूले पुसमा सरुवा गर्न सक्ने प्रावधान छ । तर मन्त्रीले हस्तक्षेप गरी जथाभावी कर्मचारी सरुवा गर्दै आएका छन् ।
मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाको प्रमुखमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखका निर्देशक डा. कृष्णप्रसाद पौडेललाई ल्याइएको छ ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा भने कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. चुमनलाल दासलाई र दासको ठाँउमा सोही अस्पतालका डा. यज्ञ खरेललाई जिम्मेवारी दिइएको छ ।
कान्ति बाल अस्पतालको निर्देशकमा भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा. युवानिधी बसौलालाई जिम्मेवारी दिइएको छ । केन्द्रीय कारागार अस्पतालकी डा. सुधा देवकोटालाई राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रमा, कारागार अस्पतालमा डा. प्रकासप्रसाद साह र राष्ट्रिय क्षयरोग केन्द्रमा राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रका प्रमुख डा. सञ्जय ठाकुरलाई पठाइको छ ।
राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका प्रमुख केशवराज पण्डितलाई कीटजन्य रोग अनुसन्धान केन्द्र हेटौंडामा र तालिम केन्द्रमा डा. यदुचन्द्र घिमिरेलाई ल्याइएको छ । यसअघि गत मंसिरमा खतिवडाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलालाई सार्क क्षयरोग केन्द्रमा सरुवा गरेका थिए ।
कोरोना महामारीमा अब्बल काम गरेका डा. बास्तोलालाई सरुवा गरेको भन्दै मन्त्री खतिवडा आलोचित बनेका थिए । । गत पुसमा खतिवडाले मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीलाई वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिए ।
डा. भुपेन्द्र बस्नेतलाई हटाएकोमा वीरका कर्मचारी आन्दोलनमा उत्रिए । कर्मचारीले डा. लोहनीलाई हाजिर गर्नै दिएनन् । प्रधानमन्त्री शेरबहादुर देउवाको दवावमा मन्त्री खतिवडाले गरेको उक्त निर्णय कार्यान्वयन नै भएन र डा. बस्नेतलाई नै वीरको जिम्मेवारीमा फर्काइयो ।
गत कात्तिकमा जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावललाई कामकाज गर्न मन्त्री खतिवडाले रोक लगाउँदै डा. निरेश थापालाई निमित्त उपकुलपतिको जिम्मा दिए । डा. रावल मन्त्री खतिवडाकाे निर्णयविरुद्ध उच्च अदालत पाटनमा रिट लिएर पुगे । अदालतले सो निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि डा. रावल काममा फर्किए ।
अपरिपक्व निर्णय
चार पटक सांसद बनेका खतिवडा मन्त्रालयमा आएपछि नीतिगत र स्वास्थ्य क्षेत्रमा सुधारको काम गर्ने अपेक्षा कर्मचारीहरूको थियो । ‘परिपक्व मन्त्री पायौँ भन्ने थियो । तर उहाँ पनि कर्मचारी सरुवामै केन्द्रित हुनुभयो,’ मन्त्रालयका एक कर्मचारीले भने ।
एक स्वास्थ्य संस्था एक चिकित्सक कार्यक्रम र स्वास्थ्य बीमा जस्ता मन्त्रालयका कार्यक्रम छायामा परेको छ । तर मन्त्री खतिवडा यसलाई स्वीकार गर्दैनन् । उनले भने, कर्मचारी सरुवा नियमित प्रक्रिया हो ।’ रोचक त के छ भने सरुवा भएका कर्मचारीले खुसी भएर लड्डु बाँडिरहेको मन्त्री खतिवडाले नै बताए । ‘सबै खुसी हुनुहुन्छ । खुसी भएर लड्डु बाँडिरहनुभएको छ,’ मन्त्री खतिवडाले भने ।
आफ्नो प्राथमिकता कोरोनाविरुद्धको खोप रहेकोमा मन्त्री खतिवडाले जोड दिए । ‘मेरो प्राथमिकता खोप हो,’ उनले भने । उनी मन्त्रालयमा आउँदा खोपको सुनिश्चिता भइसकेको थियो । सहज परिस्थितिमा मन्त्रालयमा आएका खतिवडाले राम्रो काम गर्ने अवसरलाई गुमाउँदै गएको मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
स्वास्थ्यमा कर्मचारी सरुवाको रोग
विज्ञहरू स्वास्थ्य मन्त्रालयमा कर्मचारी सरुवाको रोग फैलिएको बताउँछन् । ‘स्वास्थ्यमा कर्मचारी सरुवा गर्ने रोग अहिलेको मन्त्रीले मात्र गरेको होइन । बहुदल आएपछि सुरु भएको हो,’ स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक डा. यशोवर्दन प्रधान भन्छन्, ‘गणतन्त्र आएपछि झन मौलायो ।’
सरुवा हुनुमा मन्त्री मात्र नभएर स्वयं कर्मचारी पनि दोषी रहेको तर्क गर्छन् उनी । ‘कर्मचार कर्मचारी भएनन् । कर्मचारी नै पार्टीको कार्यकर्ता भए । राम्रो ठाउँमा जान कर्मचारी नै हानाथाप गर्न थाले,’ उनी भन्छन्, ‘सुविधा, फाइदा र लाभ कहाँ छ त्यसको लोभमा कर्मचारी परे । कर्मचारी भएर बसेको भए यस्तो स्थिति आउने थिएन ।’