फोर आइज न्युज
शुक्रबार, चैत्र २८, २०८१
  • होमपेज
  • वाम गठबन्धनलाई जनताले विश्वास गरेको छैन: चन्द्रबहादुर लामा (सिबी)

वाम गठबन्धनलाई जनताले विश्वास गरेको छैन: चन्द्रबहादुर लामा (सिबी)

वाम गठबन्धनलाई जनताले विश्वास गरेको छैन: चन्द्रबहादुर लामा (सिबी)

काभ्रे, मंसिर १८ ।  यस भेगका पिछडिएका क्षेत्रका विकास अनि यहाँका मतदाताहरुको समृद्ध जीवनस्तर बनाउनकै लागि मेरो उम्मेदवारी हो । जुन कुरा यहाँका मतदाताहरुले बुझिसक्नुभएको छ । आम मतदातासँग भेटघाट तथा छलफल गर्दै चुनावमा आफू र सिंगो नेपाली कांग्रेसलाई विजयी गराउने अभियानमा हिँडिरहेको छु । काभ्रे क्षेत्र नं. १ का मतदाताहरुका समस्याहरुको बारेमा उहाँहरुसँगै समाधानका लागि छलफल चलाइरहेको छु । नेपाली कांग्रेसले नै देशलाई समृद्धितर्फ लम्काउने हुनाले नेपाली कांग्रेसमा आम मतदातालाई समाहित गराउने प्रयास गरिरहेको छु ।
यहाँको दुख पीडा मलाई थाह छ । कतिपय पीडालाई मैले हल गरेको पनि छु । हिजोको दिनमा प्राकृतिक विपत्ति पर्दा यस क्षेत्रमा भूकम्पवाट क्षति भएको बस्तिमा उचित राहतको प्रबन्ध गर्ने काम मैले गरेको छु । हेलिकप्टर चार्टर समेत गरेर काभ्रेका गाउँ गाउँ बस्ती बस्तीमा राहत सामग्री वितरण गर्ने कार्य गरेको छु । जनताको सुख दुखको साथी जनताको सेवा गर्न मैले उम्मेदवारी दिएको छु । काभ्रे क्षेत्र नं १ लाई विकासको नमुना बनाउने मेरो योजना छ । कृषि, पर्यटन, उद्योगको विकास, उर्जाको विकास गरी जिल्लालाई नै आत्मनिर्भर बनाउने कार्य गर्ने अभियानका साथ हामी लागि परेका छौ ।
वाम गठबन्धन पछि कांग्रेसलाई गाह्रो भैरहेको भन्ने जुन हल्ला छ त्यो सब वाहियात कुरा हो । सब हारको मानसिकतामा रहेका वामगठबन्धनको प्रपोगाण्डा मात्र हो । हामी आत्तिनुपर्ने कारणै छैन । कम्युनिष्टका दुई दल मिल्दैमा केहि हुँदैन जनताले विश्वास गर्नुपर्छ । जनता नेपाली कांग्रेसको पक्षमा छ । यो देशको विकास र समृद्धि नेपाली काँग्रेस भन्दा बाहेक अरुले गर्न सक्दैन भन्ने कुरा आम नेपालीले बुझिसकेका छन् । शान्ति संविधानको जन्मदाता नेपाली काँग्रेस हो । जनताको सुख दुखको साथी हो । मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लाग्न राजनैतिक बेतिथीको अन्त्य गर्न सक्ने क्षमता नेपाली काँग्रेस पार्टीमा मात्र छ । एमाले माओवादी सबैलाई नेपाली काँग्रेसले नै टेको दिएर सरकार बनेका छन् । यी बाम गठबन्धनले केहि लछारपाटो लाउन सक्दैनन् । यीनिहरुले जनतालाई झुक्याउने बाहेक अरु केहि गर्दैनन । यीनिहरुको पछि नलाग्न आम जन समुदायहरुलाई आग्रह गर्न चाहान्छु । तीतो सत्य के हो भन्दा वाम गठबन्धन भन्दा आम जनता बलियो छ । जनताको साथ नेपाली कांग्रेसलाई छ ।
जनतालाई मालिक बनाउन उद्योग धन्दाको विकास गर्न जमिन, जंगल र जडिबुटीको सहि उपयोग गरी सम्भाबना भएका क्षेत्रमा प्रशोधन केन्द्रको स्थापना गर्ने मेरो योजना छ । अर्गानिक खेति गर्न प्रोत्साहीत गर्ने । किसानलाई उन्नत जातको विउ विजन उपलब्ध गराउने मलखाद, आाधुनिक खेति प्रणलीका औजार उपलब्ध गराउने, एक घर एक रोजगारको प्रबन्ध मिलाउने छौ । पहिले पनि यस क्षेत्रको विकासमा प्रतिबद्ध भएर लागेको थिएँ । यहाँका मतदाताको साथ र सहयोगमा अझै यस क्षेत्र समृद्ध बनाउन लाग्नेछु ।
नेपाली कांग्रेस बाहेक अरुले यस क्षेत्रको विकास गरेको पनि छैन । हामी कुरा हैन काम गर्छौं । मैले सधैं यस भेगका जनताका सुख दुखमा सँगै रहेर यस क्षेत्रको विकासको लागि आफ्नो तर्फबाट गरेको छु र गर्ने विश्वास पनि दिलाउन चाहन्छु । विनासकारी भूकम्पले धेरै धन जनको क्षति भएको छ यस भेगमा पनि ।  संविधान कार्यान्वयनको लागि हुन गइरहेको यो निर्वाचनमा आफै उम्मेदवार भएर उहाँहरुमा जाँदा मैले जनतामा धेरै नै उत्साह पाएको छु । स्थानिय तहको निर्वाचन सकिसकेको र प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनले संविधानको कार्यान्वयनमा सघाउ पार्ने यो चुनावपछि समृद्धिको काम हुनेछ भनेर हामीले जनतालाई बुझाएका छौं ।
जनताले हामीलाई बढो उत्साहका साथ स्वागत सत्कार गर्नुभएको छ । यस क्षेत्रका मतदातहरु नेपाली काँग्रेस काभ्रेको क्षेत्र नं १ को सबै उम्मेदवारहरुलाई जिताउन उत्सुक हुनुहुन्छ यस भेगका मतदाताहरु । लोकतन्त्रको संरक्षण संम्बर्धन तथा जनताको आबश्यकता अनुसार विकासका लागि खट्ने पार्टी नेपाली काँग्रेस हो भन्ने यथार्थ सबै नेपाली जनतालाई थाहा छ । त्यहि भएर पनि हामीलाई जनतामाझ जान सजिलो भएको छ । भुकम्पमा घर ढलेका यस क्षेत्रका जनताहरु अस्थाई टहरामा बस्न बाध्य छन् । उनिहरुले हामीलाई जसरी हुन्छ पुनःनिर्माणको कामलाई चाडो गर्दिन अनुरोध गर्नुभएको छ । बैंकबाट २ प्रतिशत व्याजमा दिने भनेको रकम प्रदान गर्न बैंकले आनाकानी गरेको पुननिर्माण प्राधिकरणका कर्मचारी इन्जिनियरहरु गाउँमा बोलाउँदा नआएको उहाँहरुले गुनासो छ । यसमा चाँडो चाँडो सम्बोधन गर्न हामी प्रतिबद्ध छौ । मेरो चुनावी मुख्य एजेण्डा काभ्रे जिल्लालाई समृद्ध बनाउन र प्रदेश नं ३ को राजधानी काभ्रे बनाउने कुरामा म लगायत हाम्रो पार्टी प्रतिबद्ध छ ।
यो क्षेत्रमा विभिन्न भौगोलिक जटिलता छ । तर पनि भएका जटिलताहरुलाई चिर्दै सहज बनाउँदै विकास निर्माण गर्ने योजनाका साथ अघि बढेको छु । सडक, खानेपानी, जलश्रोतबाट उर्जा क्षेत्रको विकास गरी आर्थीक उपार्जन गर्ने, तेमाल गाउँपालिकामा सडक स्तर उन्नती गर्दै सडक पिच गर्ने, कोशीपारी क्षेत्रमा कोशीको पानीलाई सहि सदुपयोग गरी ताल निर्माण गर्ने र आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्शित गरी आर्थिक उन्नती गर्ने, कोशीको पानीलाई लिफ्टीङ गरेर तिमाल, कोशीपारी क्षेत्रमा खानेपानी समस्याको समाधान गर्ने, सिंचाई हुने सम्भमबना भएका क्षेत्रमा सिंचाईको प्रबन्ध मिलाई कृषि उपजमा दोब्बर बृद्धि गर्ने युवा जनशक्ति लाई उद्यमशिल बनाउने ।
जनतालाई स्तरिय र गुणस्तरिय खानेपानी उपलब्ध गराउने, शिक्षा तथा स्वास्थ्य क्षेत्रको पँहुच सबैमा समान ढंगबाट पुग्ने व्यवस्था गर्ने, डाँडापारी क्षेत्रमा यातायातको साधन निर्वाध ढंगबाट आवत जावत गर्न सक्ने प्रबन्ध मिलाउन सडक विस्तार गरी जनताले उत्पादन गरेका कृषि तथा दुग्ध जन्य पदार्थको बजारीकरण गर्ने सुविधा उपलब्ध गराउने कार्य गर्ने योजना मैे बुनेको छु । जनताको भरपर्दो पार्टी नेपाली कांग्रेस भएकोले सम्पूर्ण काभ्रेलीहरुलाई रुख चिन्हमा छाप लगाई मतदान गर्नुहुन विनम्र अनुरोध गर्दछु । काभ्रे क्षेत्र नं १ को समग्र विकास गर्ने हाम्रो दृढ अठोट हामीले लिएका छौं भन्ने प्रतिबद्धता समेत व्यक्त गर्न चाहन्छु ।काभ्रे जिल्लामा अब वामपन्थीहरुले हुँकार गर्ने दिन गएको छ । यहाँका आम मतदाता नेपाली कांग्रेसको छत्रछायाँमा आफूलाई जिल्ला र देशको समृद्ध विकासमा सरिक गराउन चाहन्छन् । त्यसैले काभ्रेमा कांग्रेसको जित सुनिश्चत छ ।
-काभ्रे सन्देश साप्ताहिक बाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका