Highlights
काठमाडौँ — डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिका रूपमा दोस्रो कार्यकाल सम्हालेयता १ सय ७७ जना नेपाली निष्कासन (डिपोर्ट) मा परेका छन् । अमेरिकी कानुन उल्लंघन गरेको आरोपमा शनिबारसम्म १ सय ४० नेपाली निष्कासनमा परेकामा आइतबार थप ३७ जनालाई अमेरिकाले चार्टर्ड विमानबाट काठमाडौं पठाएको हो ।
अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार अमेरिकाले ओम्नी एयर इन्टरनेसनलको कल–साइन एन–४८६ एएक्स जहाजबाट ३२ पुरुष र ५ महिलालाई नेपाल फर्काएको हो । चार्टर्ड विमानबाट अमेरिकाले भारत र बंगलादेशका नागरिकलाई पनि फिर्ता ल्याएको हो । त्यसरी फिर्ता भएका भारतीय र बंगलादेशीलाई उनीहरूकै देशमा पुर्याएर आइतबार साँझ ३७ नेपालीसहित चार्टर्ड विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको थियो ।
दोस्रो कार्यकालका लागि ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएर २० जनवरी २०२५ पदभार सम्हालेसँगै अमेरिकाले गैरकानुनी रूपमा बसोबास गर्दै आएका नेपालसहितका आप्रवासीहरूलाई निष्कासन गर्ने नीति लिएको हो । त्यसयता अमेरिकाबाट एकै पटक चार्टर्ड विमान गरेर नेपाल फिर्ता पठाइएकामध्ये आइतबारको संख्या हालसम्मकै धेरै हो ।
यसअघि ८ जनालाई एकै पटक गत २१ फागुनमा चार्टर्ड जहाजबाट र बाँकीलाई नियमित उडानबाट नेपाल ल्याइएको थियो ।
विमानस्थल अध्यागमन कार्यालयका अनुसार अमेरिकाबाट निष्कासनमा परेका अधिकांश नेपाली मानव तस्करीमा संलग्न संगठित गिरोहलाई मोटो रकम बुझाएर एसिया, युरोप र अफ्रिकाका विभिन्न देश हुँदै अमेरिका छिर्नेहरू बढी छन् । केही व्यक्ति भने विभिन्न कार्यक्रममा अमेरिका गएर उतै गैरकानुनी रूपमा बसोबास गर्दै आएका पनि छन् ।
गिरोहलाई रकम बुझाएर जानेहरूमा रुकुम, रोल्पा, सल्यान, प्यूठान, दाङ, अर्घाखाँचीलगायत जिल्लाका बढी छन् ।
यसरी तल्लो बाटो (डंकी रुट) बाट महिनौं लगाएर अमेरिका छिर्नेहरूले गिरोहलाई १ करोड रुपैयाँसम्म बुझाउने गरेका तथ्यहरू नेपाल प्रहरीको अनुसन्धानबाट खुलिसकेको छ ।
ट्रम्प प्रशासनले त्यहाँको ‘इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट’ (आइस) मार्फत नेपालसहित विभिन्न मुलुकमा गैरकानुनी बसोबास गर्ने आप्रवासीलाई पक्राउ गरी निष्कासनको अभियान नै चलाएको छ । आइसले नेपालसहित विभिन्न देशबाट अमेरिका पुगेका १४ लाख ४५ हजार ५ सय ४९ जनालाई निष्कासन गर्ने सूचीमा राखेकामा सबैभन्दा बढी मेक्सिको, एल साल्भाडोर, भारत, ग्वाटेमाला, होन्डुरस, भेनेजुएलाका नागरिक गैरकानुनी रूपमा बसोबास गरिरहेको विवरण यसअघि नै सार्वजनिक भएको थियो ।
आइसले गत २४ नोभेम्बरसम्म ‘डिपोर्ट’ का लागि अन्तिम आदेश पाइसकेका तर पक्राउ नपरेकालाई पछिल्लो समय धरपकड गरी नियन्त्रणमा लिई सम्बन्धित देशमा फिर्ता गरिरहेको छ । पहिलो चरणमा २४ जुन २०१५ पछि अमेरिका प्रवेश गरेका र अमेरिका छाड्नुपर्ने आदेश पाइसकेका कागजातविहीन आप्रवासीहरू ‘डिपोर्ट’ मा परिरहेका छन् । उक्त सूचीमा ३ हजार ५ सयभन्दा बढी नेपाली रहेको बताइन्छ । त्यसमध्ये करिब २ हजार नेपाली ‘टेम्पोररी प्रोटेक्ट स्टाटस’ (टीपीएस) अन्तर्गत अमेरिकामा बसोबास गर्दै आएका छन् । टीपीएस सुविधाअन्तर्गत करिब ८ हजार नेपाली अमेरिकामा छन् ।
अमेरिकाबाट यसअघि पनि विभिन्न मितिमा नेपालीहरू निष्कासनमा पर्दै आएका भए पनि ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता (२० जनवरी २०२५) भने फिर्ता हुनेको संख्या ह्वात्तै बढेको हो । सन् २०२१ देखि २०२४ सम्म १ सय ४० नेपाली निष्कासनमा परेकामा सन् २०२१ मा ३८, २०२२ मा २४, सन् २०२३ मा २५ र सन् २०२४ मा ५३ नेपालीले अमेरिका छाड्नुपरेको थियो । वासिङ्टन डीसीस्थित नेपाली दूतावासले ‘डिपोर्ट’ मा पर्ने नेपालीका लागि ‘ट्राभल डकुमेन्ट’ जारी गर्दै आएको छ ।