Highlights
सुडानमा फैलिएको हैजा प्रकोपका कारण पछिल्लो एक सातामा १ सय ७२ जनाको ज्यान गएको छ भने २ हजार ५ सयभन्दा बढी बिरामी परेका छन् । स्वास्थ्य अधिकारीका अनुसार हैजाको प्रकोप राजधानी खार्तुम र यसको नजिकको सहर ओमदुरमानमा सबैभन्दा बढी देखिएको छ । नर्थ कोर्डोफान, सेन्नार, गजिरा, ह्वाइट नाइल र नाइल रिभर प्रान्तमा पनि हैजाका बिरामी देखिएका छन् ।
‘डाक्टर्स विदआउट बोर्डर्स’ (एमएफएस) की सुडान संयोजक जोयस बेकरका अनुसार मध्य मेदेखि हैजाको संक्रमण डरलाग्दो रूपमा बढेको छ । बेकरले गत साता मात्रै करिब दुई हजार हैजाका बिरामीको उपचार गरेको बताइन् । सुडानका स्वास्थ्यमन्त्री हैथम इब्राहिमले खार्तुम क्षेत्रमा मात्र एक महिनायता सातामा औसत ६ सयदेखि ७ सय हैजाका संक्रमित देखिएको बताए ।
बेकरले ओमदुरमानका उपचार केन्द्र बिरामीको चापले थेग्न नसक्ने अवस्थामा पुगेको बताइन् । ‘धेरै बिरामी ढिलो गरी उपचारका लागि आउँदा कतिपयलाई चाहेर पनि बचाउन सकिएको छैन,’ उनले भनिन् । पानी र सरसफाइका साथै थप उपचारका लागि संयुक्त पहलको आवश्यकता रहेको उनले औंल्याइन् ।
गत मार्चमा पनि सुडानको ह्वाइट नाइल प्रान्तमा हैजाका कारण ९२ जनाको मृत्यु भएको थियो भने २ हजार ७ सय जना संक्रमित भएका थिए । गरिबी र सामाजिक रूपमा पछि परेको अफ्रिकी मुलुक सुडानमा युद्ध सुरु भएदेखि हैजा प्रकोप अझ खराब भएको छ । गरिबी र सामाजिक रूपमा पछि परेको अफ्रिकी मुलुक सुडानमा हैजाको प्रकोप यसअघि पनि देखिने गरे पनि युद्ध सुरु भएदेखि प्रकोप अझ खराब भएको छ ।
यहाँ पहिले नै कमजोर रहेको स्वास्थ्य, पानी र सरसफाइसम्बन्धी पूर्वाधारलाई युद्धले ध्वस्त बनाएको छ । एमएसएफका अनुसार द्वन्द्वका कारण बिजुली र पानीको पूर्वाधार ध्वस्त भएपछि सर्वसाधारण असुरक्षित पानी पिउन बाध्य छन् । विश्व स्वास्थ्य संगठनका अनुसार सुडानको पहिलेदेखि नै कमजोर स्वास्थ्य सेवा प्रणाली युद्धका कारण ‘थप अस्तव्यस्त’ बनेको हो ।
चिकित्सक संघका अनुसार देशका स्वास्थ्य संस्थामा पटक–पटक आक्रमण, बमबारी र लुटपाट हुने गरेका कारण ९० प्रतिशतभन्दा बढी अस्पताल बन्द छन् । यी संस्थामा पटक–पटक आक्रमण, बमबारी र लुटपाट हुने गरेको छ । युद्धले हालसम्म दसौं हजारको ज्यान लिइसकेको छ भने १ करोड ३० लाख विस्थापित भएका छन् ।