फोर आइज न्युज
बुधबार, जेष्ठ १, २०८२
  • होमपेज
  • सगरमाथा संवादमा १७५ विदेशी पाहुना

सगरमाथा संवादमा १७५ विदेशी पाहुना

  • Arjun Rai
  • बुधबार, जेष्ठ १, २०८२
सगरमाथा संवादमा १७५ विदेशी पाहुना

Highlights

  • शुक्रबारदेखि तीन दिनसम्म काठमाडौंमा हुने सम्मेलनमा विभिन्न राष्ट्र प्रमुख, सरकार  प्रमुखलाई निमन्त्रणा गरिए पनि मन्त्री तहसम्मको मात्र सहभागिता रहने

काठमाडौँ — काठमाडौंमा २ जेठदेखि तीन दिनसम्म हुने सगरमाथा संवादको पहिलो संस्करणमा १७५ विदेशी पाहुना सहभागी हुने भएका छन् । सरकारले सगरमाथा संवादमा विभिन्न राष्ट्र प्रमुख, सरकार प्रमुखलाई समेत निमन्त्रणा गरेकामा मन्त्री तहसम्मको मात्रै प्रतिनिधित्व हुने भएको छ ।

परराष्ट्रमन्त्री आरजु राणा देउवाका अनुसार सगरमाथा संवादमा स्वदेशी र विदेशी गरी ३५० जनाको उपस्थिति रहनेछ । विभिन्न १२ देशबाट सम्बन्धित मन्त्री तथा उच्च प्रतिनिधि संवादमा सहभागी हुने मन्त्रालयले जानकारी दिएको छ ।

संवादमा चीनबाट राष्ट्रिय जनकंग्रेसका स्थायी समिति उपाध्यक्ष सियाओ जिए र भारतबाट वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भूपेन्दर यादवले प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । कोप–२९ का अध्यक्ष एवं अजरबैजानका पारिस्थितिकी तथा प्राकृतिक स्रोतमन्त्री मुख्तार बाबायेभ पनि संवादमा सहभागी हुनेछन् ।

जापानबाट संसदीय उपविदेशमन्त्री इकुइना अकिको, भुटानबाट ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री जेम छिरिङ, माल्दिभ्सबाट पर्यटन तथा वातावरणमन्त्री थोरिक इब्राहिम र बेलायतबाट उपविदेशमन्त्री ब्यारोनेस सुसान हेमन पनि संवादका लागि आउनेछन् ।

कतारबाट राजदूत एवं जलवायु परिवर्तनका लागि विदेश मन्त्रालयका विशेष दूत एवं उपमन्त्री बादर ओमल अल डफा र युनाइटेड अरब इमिरेट्सबाट ऊर्जा तथा दिगोपन मामिलाका सहायक विदेशमन्त्री अब्दुल्ला बलाला संवादमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Hope IVF
Global IME Updated May 12
Sunrise bank

पाकिस्तान र बहराइनबाट एक–एक मन्त्री र बंगलादेशबाट समाज कल्याण र महिला तथा बालबालिका मन्त्रालयका सल्लाहकार संवादमा सहभागी हुनेछन् । किर्गिस्तान, ओमन, ब्राजिल र इजिप्टले पनि प्रतिनिधित्व गराउनेछन् । ‘सार्क, बिमस्टेक, लस एन्ड ड्यामेज फन्ड, विकास साझेदार गरी ६१ संघसंस्थाका प्रतिनिधि पनि संवादमा सहभागी हुनेछन्,’ परराष्ट्रमन्त्री राणाले भनिन् ।

सगरमाथा संवादको पहिलो संस्करण ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ अवधारणामा केन्द्रित छ । यही अवधारणाअनुरूप नै विभिन्न देशका प्रतिनिधिले संवादमा सहभागिता जनाउने परराष्ट्रमन्त्री राणाले जानकारी दिइन् । ‘यो संवाद विश्वव्यापी मञ्च हो । सबैका लागि महत्त्वपूर्ण मञ्च हो,’ उनले भनिन्, ‘यहाँ मानव जगत्का विभिन्न समस्यामा संवाद गर्ने र समाधानका लागि एउटा निष्कर्षमा पुग्ने उद्देश्य राखिएको छ ।’

मन्त्री राणाका अनुसार सगरमाथा संवादका क्रममा साइडलाइन बैठकहरू पनि हुनेछन् । ‘विदेशी पाहुनाका लागि प्रधानमन्त्री र समकक्षी मन्त्रीसँग भेटको समेत व्यवस्था मिलाइएको छ । संवादबाट नेपालले कूटनीतिक नेतृत्वको भूमिका खेल्न सक्छ भन्ने विश्वास छ,’ उनले भनिन् ।

सगरमाथा संवादको पहिलो संस्करणमा ‘पर्वतभन्दा बाहिर : पर्वतलाई महासागरसँग जोड्दै,’ ‘हरित अर्थतन्त्र,’ ‘जलवायु न्याय र मानवताको भविष्य,’ ‘हानि–नोक्सानीबाट बच्ने, न्यूनीकरण गर्ने र सम्बोधन गर्ने उपाय’ र ‘विश्वव्यापी र क्षेत्रीय साझेदारी’ गरी ५ वटा अवधारणाका सत्र सञ्चालन हुनेछन् ।

कार्यक्रमको अन्तिम दिन ‘सगरमाथा संवाद घोषणा’ गरिनेछ । घोषणाअघि आमन्त्रित पाहुनालाई हवाई उडानबाट सगरमाथा अवलोकन गराउने तयारी छ । सरकारले २०७६ मै सगरमाथा संवाद आयोजनाको तयारी गरेको थियो । तर कोभिड–१९ महामारीका कारण अन्तिम समयमा स्थगन गरिएको थियो । त्यति बेला पनि केपी शर्मा ओली नै प्रधानमन्त्री थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका