फोर आइज न्युज
शनिबार, बैशाख २७, २०८२
  • होमपेज
  • भीसी विभूषित घलेका नाममा संग्रहालय

भीसी विभूषित घलेका नाममा संग्रहालय

  • Arjun Rai
  • शनिबार, बैशाख २७, २०८२
भीसी विभूषित घलेका नाममा संग्रहालय

गोरखा — बेलायतको सर्वोच्च सैनिक सम्मान भिक्टोरिया क्रस (भीसी) बाट विभूषित गजे घलेको जन्मगाउँ बारपाकमा उनकै नाममा संग्रहालय स्थापना गरिएको छ । घलेको पुर्ख्यौली जग्गामा स्थापना गरिएको संग्रहालय गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार उद्घाटन गरेका छन् ।

 

संग्रहालयको प्रवेशद्वारमा घलेको अर्धकदको सालिक निर्माण गरिएको छ । संग्रहालयभित्र गजे घलेसँग सम्बन्धित तस्बिर र विभिन्न दस्ताबेज राखिएका छन् । दोस्रो विश्वयुद्धमा देखाएको बहादुरीका कारण घले भिक्टोरिया क्रसबाट विभूषित भएका थिए । घलेको परिवारले आफ्नै लगानीमा संग्रहालय स्थापना गरेको हो ।

संग्रहालय घुम्नेले विश्व प्रख्यात घलेको वीरताबारे बुझ्न सघाउने उनका परिवारका सदस्य चन्द्र घलेले बताए । ‘बारपाक गजे घलेको नामसँग जोडिएको छ, विश्वले चिनेको गजे घलेका बारेमा यहाँ केही नहुँदा पर्यटकलाई खल्लो हुने रहेछ,’ उनले भने, ‘अब यो संग्रहालय र सालिकले गजे घलेका बारेमा धेरै कुरा बुझ्ने अवसर दिएको छ ।’

गजे घले जन्मिएको बारपाकलाई युगौंयुगसम्म विश्वले सम्झने स्थानीय जितबहादुर घलेले बताए । ‘भीसी गजे घले जन्मिएको बारपाकको छुट्टै इतिहास छ, नेपालभर भीसी विजेता १३ जना रहेकामा तीन जना गोरखाका हुनुहुन्थ्यो,’ उनले भने, ‘त्यसैले गोरखा वीर सपूत जन्मिएको ठाउँ हो । संसारले चिनेको बारपाकलाई पर्यटकीय हिसाबमा प्रवर्द्धन गर्न लागिरहेका छौं ।’ संग्रहालय उद्घाटन समारोहमै ‘गजे घले’ पुस्तकको पनि विमोचन गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका