Highlights
बुटवल — भारतको जम्मु–कश्मीरको पहलगाममा मंगलबार उग्रवादीको आक्रमणमा मारिएका २७ वर्षीय नेपाली युवा सुदीप न्यौपाने आमा, बहिनी र ज्वाइँ लिएर घुम्न पुगेका थिए । बुटवल–१४ बेलभरियाका उनी पछिल्लो ४ वर्षदेखि बुटवल–११ कालिकानगरको होराइजन चोकनजिकै बस्दै आएका थिए ।
बाबु ध्रुव (कौशल) र आमा रीमाबीच सम्बन्धविच्छेद भएपछि ४ वर्षदेखि उनी आमा र बहिनी सुष्मासँगै बस्दै आएका थिए ।
बहिनीको २ वर्षअघि पोखरामा विवाह भएपछि घरमा आमा मात्र भएकाले काठमाडौंमा बीडीएच अध्ययनरत भए पनि सुदीप घर आउजाउ गरिरहन्थे । उनले धरानबाट पब्लिक हेल्थमा स्नातक गरेका थिए । अहिले काठमाडौंमा बीपीएच अध्ययन गर्दै थिए ।
बीपीएच अध्ययनकै क्रममा उनले बुटवलको आधुनिक समाज डेन्टलसँगको सहकार्यमा मुख स्वास्थ्य अभियान परियोजनामा काम गरिरहेका थिए । त्यही परियोजनाको कामका साथै बहिनी सुष्मा र ज्वाइँ उज्ज्वल काफ्ले पोखराबाट आएकाले भेट्ने मेलोमेसो मिलाएर उनी बिहीबार बुटवल आएका थिए ।
बुटवलमा आएपछि मात्र शनिबार परिवारका चार जना मिलेर कश्मीर घुम्न जाने योजना बनाएको र त्यहीअनुसार नै उनीहरू गएको सुदीपका काका पर्ने बुटवल उपमहानगरपालिका–१४ का वडाध्यक्ष दधिराम न्यौपाने बताउँछन् ।
‘घरमा आमा एक्लै भएकाले आउजाउ त गरिरहन्थ्यो, यस पटक बिहीबार घरमा आएको रहेछ,’ वडाध्यक्ष न्यौपाने भन्छन्, ‘शनिबार चार जना भएर घुम्न निस्केछन् ।’ फर्केपछि केही दिन आफ्नो परियोजनाको काम गरेर काठमाडौं फर्कने योजना सुदीपले अरूलाई सुनाएको पनि उनको भनाइ छ ।
आधुनिक समाज डेन्टलका सञ्चालक अमृत भुसालका अनुसार सुदीपले मुख स्वास्थ्य अभियान लिएर प्युठान, बुटवल, भैरहवालगायतका ठाउँमा पुगेर काम गर्दै आएका थिए । ‘पछिल्लो ८/९ महिनादेखि हाम्रो परियोजनासँग जोडिएर ग्रामीण क्षेत्रका विपन्न वर्गको मुखको स्वास्थ्यसम्बन्धी अभियान चलाइरहेका थिए,’ उनी भन्छन्, ‘सामान्य नागरिकसँग तत्काल घुलमिल हुने र उनीहरूलाई सजिलै बुझाउन सक्ने क्षमता सुदीपमा थियो ।’ समाज सेवाबाट आफ्नो परिचय बनाउनुपर्छ धारणा सुदीपले व्यक्त गर्दै आएको भुसाले सुनाए ।
सुदीपको मृत्युपछि बुटवल–११ होराइजन चोक नजिकैको मनकामना पथ शोकमा डुबेको छ । छिमेकी राजेन्द्रकुमार आचार्यले सबैसँग घुलमिल हुने र समभाव राख्ने सुदीपको अल्पायुको निधनले सबैलाई शोकमा डुबाएको बताए ।
‘पारिवारिक घुमघाममा गएको सुनेका थियौं,’ उनी भन्छन्, ‘अचानक मृत्युको खबर सुन्नुपर्यो ।’ सुदीपका बाबु ध्रुव (कौशल) पेसाले शिक्षक हुन् । बुटवल–१८ मा रहेको भवानीपुर माविमा आधारभूत तहमा पढाउँछन् । उनी काठमाडौंमा जारी शिक्षक आन्दोलनमा थिए । ध्रुव बेलभरियाकै घरमा अर्की पत्नीसँग बस्ने गरेका थिए । सम्बन्धविच्छेदपछि छोरा सुदीप र छोरी सुष्मा भने आमा रीमासँगै बस्दै आएका थिए ।
नियमित कुराकानी नहुने गरेकाले घटनाबारे आफूले अचानक सामाजिक सञ्जालबाट जानकारी पाएको बाबु ध्रुव बताउँछन् । ‘मंगलबारसम्म काठमाडौंमा आन्दोलमै थिएँ, घरमा अन्य काम परेपछि बुधबार बस चढेर घर फर्केने क्रममा धेरै फोन आए, बसमा छु, घर फर्कंदै गरेको भनेपछि कसैले केही भनेनन्,’ उनी भन्छन्, ‘पछि बसमै मोबाइलको डाटा खोलेर हेर्दा पो झल्याँस्स भएँ । सपनाजस्तै लाग्यो । तर मन कन्ट्रोल गर्दै घरसम्म आइपुगें ।’
कुन अवस्थामा घरमा आइपुगें भन्ने कुरा र पीडा व्यक्त गर्न नसक्ने उनले बताए । ‘मेरो रगतको सम्बन्ध हो, मैले सक्ने जति लगानी गरेको छु, एक छोरा र एक छोरी हुन्, छोरीको बिहे भएको हो,’ उनले भने, ‘९० वर्षको बुबाआमा हुनुहुन्छ, मैले किरिया गर्न मिलेन त्यसैले छोराको शव घरमै ल्याएर बुबालाई क्रिया गर्न अनुरोध गर्छु ।’
शव बुझ्नका लागि बुधबार बुटवलबाट काठमाडौं पुगेका वडाध्यक्ष न्यौपानेले शव आउन ढिलाइ भएकाले आफू बुधबार नै बुटवल फर्किएको बताए । शव कश्मीरबाट दिल्ली, दिल्लीबाट लखनऊ जहाजमार्फत आउने र लखनऊबाट गाडीमार्फत सुनौली नाका हुँदै पठाउने तयारी भएकाले आफू काठमाडौंबाट फर्किएको उनले बताए ।