“झूटको पग होइन, पखेटा हुन्छ।” यो भनाइले झूटको चञ्चल स्वभाव र यसको तीव्र प्रसारलाई संकेत गर्छ। सत्य स्थिर हुन्छ, तर झूट सजिलै फैलिन्छ, विशेष गरी जब सत्ता र शक्तिका खेलाडीहरूले यसलाई आफ्नो अस्त्र बनाउँछन्।
लोककथामा सत्य र झूटको जम्काभेट हुन्छ। झूटले सत्यलाई लुगा खोस्छ, आफूलाई सत्यका रूपमा प्रस्तुत गर्छ, र दुनियाँमा स्वीकृति पाउँछ। सत्य भने नांगो भएकाले अस्वीकार गरिन्छ। आजको समाजमा पनि सत्य भन्दा झूट, प्रचार र अफवाह बढी प्रभावशाली देखिन्छन्।
लोकतन्त्रमा पारदर्शिता र जवाफदेहिता अनिवार्य हुन्छ। तर जब सत्ता र शक्तिले झूटलाई उपयोग गर्छन्, तब लोकतान्त्रिक मूल्यहरू धमिलिन्छन्। प्रश्न गर्ने, सत्य उजागर गर्नेहरूलाई दबाइन्छ। संघीय गणतन्त्र भनेको सहभागिता, समानता, र समृद्धिको विचार हो। तर जब समाजमा झूटकै भरमा निर्णय लिइन्छ, तब शोषणको नयाँ रूप जन्मन्छ।
वर्तमान समयमा आम नागरिक राजनीतिप्रति निराश छन्। झूटलाई सत्यको खोल ओढाएर प्रस्तुत गर्नेहरू हावी भइरहेका छन्। तर लोकतन्त्रलाई जीवित राख्न सत्यको मन्द गतिलाई गतिशील बनाउनुपर्छ। झूटको पखेटालाई सामना गर्न सत्यलाई पनि पग मात्र होइन, पखेटा आवश्यक छ।