फोर आइज न्युज
बिहिबार, चैत्र २७, २०८१
  • होमपेज
  • पोखरा महानगरले पनि हटाउन थाल्यो अनधिकृत संरचना

पोखरा महानगरले पनि हटाउन थाल्यो अनधिकृत संरचना

पोखरा महानगरले पनि हटाउन थाल्यो अनधिकृत संरचना

पोखरा महानगरपालिकाभित्रका अनधिकृत संरचना हटाउन थालिएको छ । गत साता पोखरा–९ महेन्द्रपुलस्थित आफ्नै स्वामित्वको भवनमा डोजर चलाएको महानगरले कानुन मिचेर बनाइएका संरचना हटाउने अभियानलाई निरन्तरता दिएको छ । सोमबार ४ र ९ नम्बर वडा कार्यालयले ती क्षेत्रमा रहेका फुटपाथ पसल र अवैध संरचना हटाउन सातदिने सूचना निकालेको छ ।

तोकिएको दिनभित्र त्यस्ता संरचना निर्माणकर्ता स्वयंले हटाई व्यवस्थापन नगरेमा कानुनबमोजिम गरिने वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बताए । ‘फुटपाथ पसल, सडकछेउका पार्किङस्थल र सार्वजनिक जग्गा मासेर बनाइएका संरचना क्रमशः हटाउँदै जान्छौँ। अनधिकृत तरिकारले बनेका सरकारी संरचना पनि अब हट्छन्, यो अभियान निरन्तर चल्छ,’ उनले भने ।

वडाध्यक्ष मर्सानीले सडकको अधिकार क्षेत्र मिचेर बनाइएका क्षेत्रीय हुलाक, टेलिकमलगायत सरकारी कार्यालयका पर्खाल पनि भत्काइने बताए । नयाँ बजारमा रहेको माइक्रोको अव्यवस्थित पार्किङलाई पनि त्यहाँबाट हटाइने भएको छ।

‘सार्वजनिक सूचना निकाल्छौँ, सम्बन्धित कार्यालयहरूलाई पत्र पनि काट्छौँ, वैध रहेको प्रमाण भए सोहीअनुसार हुन्छ, नत्र हटाइन्छ  ।   सूचनाको बेवास्ता गरेर आफैँ नहटाए नगर प्रहरी लगाएर महानगरले हटाउँछ,’ उनले भने ।

नयाँपुलमा रहेको महानगरको भवनमा बाँकी रहेका सटर खाली गराएर मङ्गलबारदेखि पुनः संरचना भत्काउन सुरु गरिएको उनको भनाइ छ  ।  त्यहाँ रहेका दुई भवनलाई भत्काएर उद्यान बनाउने र सार्वजनिक शौचालय बनाउने योजना महानगरले अघि सारेको छ  ।

भवन भत्काउँदा विस्थापित भएका आर्ट ग्यालरी र पुस्तकालयलाई पृथ्वीचोकमा बन्ने नयाँ भवनमा सारिने भएको छ  ।  पृथ्वीचोकमा रहेको ट्राफिक प्रहरी कार्यालयलाई हटाएर महानगरले सूचना केन्द्रसहितको आधुनिक भवन बनाउँदैछ  । वडा नम्बर ९ ले एक महिनाभित्रैमा वडाभित्रका अनधिकृत संरचना हटाइने जनाएको छ  ।

महाननगरभित्रका मुख्य सहरी क्षेत्रमा पुटपाथ, अव्यवस्थित पार्किङजस्ता समस्या बढी छन्  ।   जसले सहरी सौन्दर्यमात्र बिगारेको छैन, पैदलयात्रीलाई कष्ट पनि थपेको छ। वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुलीले अवैध संरचना बनाउने व्यवसायी र घरधनीलाई प्रत्यक्ष भेटेरै त्यस्ता संरचना हटाउन आग्रह गरिएको बताए  ।

‘सूचना निकाल्ने कुरा त भइ नै हाल्यो, घरदैलोमै पुगेर पनि महानगरको अभियानमा सघाउनुस् भनेका छौँ  ।   तोकिएको मितिभित्र नहटाए पत्र काट्छौँ, बोलाएर कुराकानी गर्छौँ, यति गर्दा पनि अटेर गरे हामी आफैले हटाउँछौँ,’ उनले भने  ।

उनकाअनुसार स्थायी संरचना बनाइसकेपछि अनधिकृतरूपमा पछि थप गरिएका संरचना हटाउनुपर्ने स्थिति छ  ।   उक्त वडाका बागलुङ बसपार्क, चिप्लेढङ्गा, महेन्द्रपुललगायत क्षेत्रमा त्यस्ता संरचना बढी छन्।  तिनै ठाउँमा सवारी पार्किङ पनि अस्तव्यस्त छ  ।

वडाध्यक्ष पराजुलीका अनुसार घरअघि ट्रस्ट थप्ने, पेटीमै पसलका सामान राख्ने प्रवृत्ति बढी छ। अबदेखि सडक नै ओगट्ने गरी ठूला होर्डिङ बोर्ड र सटर बाहिर सामान राख्न नदिइने उनको भनाइ छ  ।

‘सार्वजनिक जग्गै मिचेर बनाइएका ठूला भौतिक संरचना हाम्रो वडामा त छैनन्, तर पछि थपिएका स–साना संरचनाले सहरी व्यवस्थापनमा बाधा पुर्‍याइरहेको छ’, उनले भने  ।

घरघरै पुगेर सम्झाइबुझाइ गरिएकाले व्यवसायीबाट सहयोग पाउनेमा वडाका जनप्रतिनिधि विश्वस्त छन्  ।  महानगरको नेतृत्वले अनधिकृत संरचना हटाउने अभियानमा वडा तहलाई नै बढी अग्रसर गराएको छ। अवैध संरचना भत्काउनुपूर्व अपनाउनुपर्ने सबै प्रक्रिया पूरा गर्ने गरिएको जनप्रतिनिधिको भनाइ छ  ।

महानगरका अरु वडामा पनि अवैध संरचना हटाउने अभियानलाई गति दिइने जनाइएको छ ।  पोखरा महानगरलगायत देशका अरु स्थानीय तहमा पनि अनधिकृत संरचना हटाउने अभियानले तीव्रता पाएको छ  ।   कार्यकालको सय दिन भर्खर बिताएका जनप्रतिनिधिले लिएको त्यस्तो पहललाई जनसाधारणले पनि रुचाएका छन्  ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका