नेपालमा पाँच तारे र सो स्तर भन्दा माथिको होटल संख्या १८ पुगेको छ । पर्यटन विभागले सार्वजनिक गरेको नयाँ वर्गीकरण अनुसार पाँचतारे डिलक्स होटलको स्तरमा एक र पाँच तारे स्तरको होटल संख्या १७ पुगेको छ ।
पर्यटन विभागका अनुसार झापाको धुलाबारीमा सञ्चालनमा आएको भेगस सिटी इन्टरटेन्मेन्ट प्रालिको होटल मेची क्राउन प्लाजा पाँच तारा डिलक्स होटलको स्तरमा सूचीकृत भएको छ । कुल १०१ कोठा रहेको यो होटलमा १८५ वटा शय्या छन् । होटलले ११० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । पाँचतारे स्तरका १७ वटा होटलमा २ हजार ७७६ वटा कोठा रहेका छन् । यी होटलले एक साथ ४ हजार १६० जना पाहुनालाई सेवा दिन सक्छन् । नेपालमा रहेका कुल पाँचतारे होटलले ३ हजार ८६८ जनालाई प्रत्यक्ष रोजगारी दिएको देखिएको छ । पर्यटन विभागका अनुसार पछिल्लो समय झापाको विर्तामोडमा खुलेको होटल द किङ्सवरी र काठमाडौंको ताहाचलमा खुलेको सिटी होटल लिमिटेड (हायात प्लेस) ले पाँचतारे स्तरको वर्गीकरण पाएका छन् । पाँचतारे होटलमध्ये बढी रोजगारी सिर्जना गर्नेमा सोल्टी होटल र तारागाउँ रिजेन्सी (हायात रिजेन्सी) रहेका छन् । यी दुई होटलले क्रमशः ५५० र ४१० जनालाई रोजगारी दिएको देखिएको छ ।
यी हुन् नेपालका पाँचतारे होटल
होटल | कोठा | शय्या | रोजगारी |
होटल सोल्टी (ताहाचल) | २८२ | ४३४ | ५५० |
होटल डेला अन्नपूर्ण (दरवारमार्ग) | १५३ | २३० | ३४४ |
द होटल एभरेष्ट इन्टरनेशनल (नयाँ बानेश्वर) | १६० | २८० | |
पोखरा ग्राण्ड होटल | १४० | २४७ | १७३ |
होटल द फूलबारी (पोखरा) (बन्द अवस्थामा रहेको) | १६५ | २०० | |
ओरियन्टल होटल्स लिमिटेड (र्याडिसन) लाजिम्पाट | २६० | ३५० | ४०० |
तारागाउँ रिजेन्सी होटल (हायात रिजेन्सी) बौद्ध | २९० | ४२६ | ४१० |
याक एण्ड यति (दरवारमार्ग) | २४७ | ३५० | ३०५ |
द मल्ल होटल (लैनचौर) | १०० | १६३ | १५३ |
होटल सांग्रिला, लाजिम्पाट | १०० | १६९ | २१० |
टाइगरवान प्रालि, रुपन्देही | १०२ | १४६ | २०२ |
सोल्टी वेस्टेण्ड लिमिटेड, नेपालगन्ज | ८० | ९९ | ८० |
होटल सेन्ट्रल प्लाजा, बाँके | ८० | ९९ | ७० |
होटल मेरियट, नक्साल | २१५ | ३४४ | ३०० |
होटल अलफ्, ठमेल | १६७ | २१६ | १८० |
होटल द किङ्सबरी, झापा | ८२ | १०० | १५० |
सिटी होटल लिमिटेड (हायात प्लेस) ताहाचल | १५३ | ३०६ | १८६ |
कुल | २७७६ | ४१६० | ३८६८ |