फोर आइज न्युज
शनिबार, बैशाख ६, २०८२

धामीको भर पर्दा अशक्त

धामीको भर पर्दा अशक्त

बागलुङ — उमेर १६ वर्ष थियो । खुट्टा सुनिन थालेको केही महिनाभित्रै हिँड्नै नसक्ने भए । धामीलाई देखाउँदा ‘आरो’ हालिदिएपछि निको हुन्छ भने । आरो हाल्दा उनको दुवै खुट्टा सुक्यो । तमानखोला गाउँपालिका–१ का धनीराम सुनार त्यसपछि १० वर्ष ओछ्यान परे । दुवै खुट्टाको नसा र हड्डी सुके पनि कमजोर आर्थिक अवस्थाका कारण परिवारले उनलाई अस्पताल लैजान सकेनन् । धामीको भर पर्दा घस्रेर हिँड्नुपर्ने भयो । अहिले वैशाखीको भरमा जसातसो शौचालयसम्म पुग्न भने सक्छन् ।

अशक्त भए पनि बाबुआमाले उनको बिहे गराइदिएका थिए । बाबुआमाको मृत्युपछि परिवारको दायित्व उनकै काँधमा आइपर्‍यो । हिँड्न नसक्ने भएकाले घरको पिँढीमै सीमित उनले सीप सिकेर स्वरोजगार बन्ने निधो गरे । दुई महिनासम्म सिलाइ र १५ दिनसम्म मुढा बनाउने तालिम लिए । अहिले सीप सिकेर उनले आफ्नो र परिवारको जीवन धानिरहेका छन् ।

नियमित माग आउन थालेपछि अहिले दिनमा २ वटासम्म मुढा बुन्ने गरेको उनले सुनाए । एउटा मुढालाई ६ सय रुपैयाँसम्ममा बिक्री गरेको उनले बताए । ‘मुढाको माग गाउँगाउँमा आउँछ, यसबाहेक हाते मेसिनबाट कपडा पनि सिलाउँछु,’ उनले भने, ‘छोराछोरीको कमाइ छैन । मैले काम नगरे दुई छाक चल्दैन । घरको पिँढी छोड्न सक्दिनँ तर पनि काम गर्ने हिम्मत हारेको छैन ।’ यही उद्यमबाट भएको आम्दानीले उनले २ छोरा र १ छोरी पढाएका छन् । ७ जनाको परिवारलाई खाने जोहो उनकै सीपबाट हुने गरेको छ ।

अस्पताल जाँदा चिकित्सकले शल्यक्रिया गर्नुपर्ने बताएपछि उनी यसै फर्किएका थिए । ‘धेरै खर्च लाग्ने भयो । त्यसमाथि सञ्चो हुन्छ भन्ने पनि यकिन नभएकाले उपचारै नगरी फर्कें,’ उनले भने, ‘अरू सम्पत्ति छैन, उपचारमा ऋण लाग्यो भने मेरो परिवारको बिचल्ली हुन्छ ।’

छिमेकी निर्मला बुढाथोकीले गाउँपालिकामा पनि उनको उपचार खर्चका लागि पहल भएको बताइन् । ‘तर झन् खतरा होला भनेर मान्नुभएन,’ उनले भनिन्, ‘उपचार गर्ने नै भए अन्य क्षेत्रबाट पनि केही सहयोग जुटाउने कुरा भएको थियो ।’ जीवनभर पिँढीमै सीमित हुनुपर्ने अवस्थामा छन् सुनार । त्यही पीडा भुल्न सिकेको सीपको सदुपयोग गर्दै उनले उत्पादन गरेका मुढाको बजार प्रवर्द्धन गर्न साथ दिएको बुढाथोकीले बताइन् ।

ग्रामीण स्वास्थ्य सुधार परियोजना नामक संस्थाले सुनारलाई तालिम र बीउपुँजी दिएर व्यवसाय थाल्न सहयोग गरेको थियो । ‘हामीले केही सहयोग गरेर उपचारमा पठायौं, अब अपरेसनबाट पनि सम्भव नहुने अवस्था देखेपछि व्यवसायमा साथ दियौं,’ परियोजना व्यवस्थापक गणेश बरुवालले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका