फोर आइज न्युज
मङ्लबार, पुस १, २०८२

This Week

पशुपति मन्दिर परिसर र आसपासका क्षेत्रमा मासु तथा जाँड रक्सीमा प्रतिबन्ध

पशुपतिनाथ मन्दिर परिसर र आसपासका क्षेत्रमा आजदेखि एक हप्तासम्म मासु तथा जाँड रक्सी उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र खान नपाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना निकालेर गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुहृयेश्वरीदेखि दक्षिणभित्रका सबै क्षेत्रमा यो नियम लागु भएको जनाएको छ ।

बालाचतुर्दशी पर्वलाई मध्यनजर गर्दै यी क्षेत्रमा आउँदो २७ गतेसम्मका लागि यो नियम लागू भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कोही कसैले यो सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ ।

गोकर्णेश्वरमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सम्मानित

गोकर्णेश्वर नगरपालिकाले २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस २०८०को अवसरमा आयोजना गरेको सम्मान एवं बिदाई कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार गोकर्णेश्वर–९ स्थित सुनगाभा पार्टी प्यालेसमा भएको कार्यक्रममा ४ जनालाई सम्मानजनक बिदाई गरिएको थियो । वडाको सिफारिसको आधारमा १३ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको थियो ।

यसैगरी, गोकर्णेश्वर नगरपालिका वडा नं. ३ का शान्ति लामा गोलेलाई मरणोपरान्त सम्मान गरिएको थियो । उहाँका श्रीमान लक्ष्मण गोलेलाई दोसल्ला ओडाएर सम्मानपत्र हस्तान्तरण गरिएको थियो ।

सम्मानजनक बिदाई पाउनुहुने स्वास्थ्य स्वयंसेविकाहरुमा वडा नं. १ बाट शोभा खत्री र कृष्ण कुमारी तामाङ, वडा नं. ५ बाट दुर्गा रानामगर (लक्ष्मी पुडासैनी) र वडा नं. ८ बाट विद्या रिसाल रहेका थिए । सम्मानजनक बिदाई पाउनुहुनेहरुलाई दोसल्ला ओडाएर जनही ३० हजार नगदका साथ सम्मानपत्र प्रदान गरिएको थियो ।

यसैगरी, सम्मानित हुने १३ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई १० जना सम्मको लागि २ जना र ९ जनासम्म मात्र भएको वडाबाट १ जना सिफारिसको आधारमा सम्मान गरिएको थियो । उहाँहरुलाई जनही २५ सयका दरले नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

सम्मानित हुने १३ जना स्वास्थ्य स्वयंसेविकाहरुमा गोनपा १ बाट शर्मिला गुरुङ र भवानी खनाल, वडा नं. २ बाट शारदा श्रेष्ठ, सरस्वती पण्डित, वडा नं. ३ बाट गौरी कुमारी खत्री र दुर्गा विष्ट, वडा नं. ४ बाट सिन्धु पोखरेल र गीता आचार्य, गोनपा ५ बाट उमा ढुंगेल, वडा नं. ६ बाट जानुका खनाल, वडा नं. ७ बाट अनिता सापकोटा, वडा नं. ८ बाट रमा पोखरेल र वडा नं. ९ बाट सरस्वती मल्ल ठकुरी रहेका छन् ।

आज उपप्रमुख सान्नानी लामाको सभापतित्वमा भएको कार्यक्रम नगर प्रमुख दीपक रिसालको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा वडा अध्यक्षहरु जयराम महत, नन्दलाल श्रेष्ठ, गोनपा ३ का वडा सदस्य लक्ष्मी भण्डारी, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीको विशेष आतिथ्यता तथा आर्थिक प्रशासन शाखा प्रमुख रामजी रायमाझी, स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्याय लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै नगर प्रमुख रिसालले महिला स्वास्थ्य स्वयंसेविकाहरुको मेहनतकै कारण गोकर्णेश्वर नगरपालिका ७५१ पालिकाहरु मध्ये स्वास्थ्य सेवाको क्षेत्रमा उत्कृष्ठ भएको बताएका छन् । उनले नगरपालिकाले प्रदान गरेका स्वास्थ्य सेवा सुविधा लिन नगरवासीहरुलाई आग्रह गरेका छन् ।

उपप्रमुख लामाले स्वास्थ्य क्षेत्रको विकासमा सबैको हातेमालो आवश्यक रहेकोमा जोड दिनु हुँदै नेपालमा स्वास्थ्य स्वयंसेविकाको भूमिका अतुलनीय रहेको बताउकी छन्।

प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले महिला स्वास्थ्य स्वयंसेविकाको योगदानको चर्चा गर्नु हुँदै नगरपालिकाले स्वयंसेविकाको पक्षमा नयाँ योजना कार्यक्रम ल्याएर प्रोत्साहन दिने बताएका छन्।

वडा अध्यक्ष नन्दलाल श्रेष्ठले महिला स्वाथ्य स्वयंसेविकाको भूमिकालाई जति प्रशंसा गरे पनि कम हुने बताए । कार्यक्रम सञ्चालन जनस्वास्थ्य प्रवद्धर्न उपशाखाका अधिकृत पूर्ण बहादुर बस्नेतले गरेका थिए।

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा एक लाख १८ हजार ६ सय रुपैयाँ तोकिएको छ । हिजो एक लाख १८ हजार चार सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ भने २० रुपैयाँले घटेको छ । हिजो तोलाको एक हजार चार सय ८० रुपैयाँ रहेको चाँदीको भाउ आज एक हजार चार सय ६० रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ । विवाहको सिजन भए पनि सुनचाँदीको भाउमा आएको उतारचढावका कारण कारोबार खासै नभएको व्यापारीले बताएका छन् ।

इंग्लिस प्रिमियर लिगमा फुलहम, लिभरपुल, एस्टोन भिल्ला, बर्नमाउथ र म्यानचेस्टर युनाइटेड विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा फुलहम, लिभरपुल, एस्टोन भिल्ला, बर्नमाउथ र म्यानचेस्टर युनाइटेड विजयी भएका छन् । गएराति भएको खेलमा नटिंघम फरेस्टसँगको खेलमा फुलहमले सानदार जित निकाल्यो । फुलहमले नटिंघमलाई ५–० गोल अन्तरले पराजित गर्‍यो।

यस्तै, अर्को खेलमा लिभरपुलले सेफिल्ड युनाइटेडलाई र बर्नमाउथले क्रिस्टल प्यालेसलाई समान २–० गोल अन्तरले हराए । यस्तै, एस्टोन भिल्लाले म्यानचेस्टर सिटीलाई १–० गोल अन्तरले हराउँदा चेल्सी म्यानचेस्टर युनाइटेडसँग २ –१ गोलले पराजित भयो ।

प्रिमियर लिगमा आर्सनल ३६ अङ्कका साथ शीर्ष स्थानमा छ । ३४ अङ्क रहेको लिभरपुल दोस्रो र एस्टोन भिल्ला ३२ अङ्कसहित तेस्रो स्थानमा छ ।

काठमाडौं उपत्यकासहित धेरै ठाउँको मौसम धुम्म

काठमाडौं उपत्यकासहित धेरै ठाउँको मौसम धुम्म छ । तर, तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुसँगै भारतको छत्तिसगढमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण मौसम धुम्म भएको मौसमविद् राजु प्रधानांगले जानकारी दिएका छन् ।

उनका अनुसार छत्तिसगढमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव धेरैजसो कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनीका पूर्वी क्षेत्रमा परेको छ । यही प्रणालीका कारण कोशी प्रदेशका एक दुई ठाउँमा आज हल्का पानी पर्ने अनुमान छ । अन्य क्षेत्रमा भने मौसम धुम्मिए पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद् प्रधानांगले बताएका छन् ।

आज दिउँसो पनि मौसम पुरै खुल्ने सम्भावना छैन । केहीबेर घाम लागे पनि फेरि बादल लाग्ने उनले बताएका छन् । उनका अनुसार अझै केही दिन मौसम यस्तै रहने अनुमान छ ।

मौसम धुम्म भएकाले तापक्रम भने खासै घटेको छैन । बिहान काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको छ । आज अधिकतम तापक्रम भने २० देखि २१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।

सुनको भाउ आज पनि घट्यो, तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँ

सुनको भाउ आज बुधवार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा ८ सयले घटेर आज १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको भाउ हिजो मङ्गलवार पनि तोलामा २ हजार ४ सयले घटेर १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । अस्ति सोमवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको १ लाख २१ हजार ६ सय रुपैयाँ पुगेको थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलामा ४५ ले घटेर १ हजार ५ सयमा झरेको चाँदी आज २० रुपैयाँले घटेर १ हजार चार सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

विवाहको सिजन भए पनि सुनचाँदीको कारोबार खासै नभएको व्यापारीले बताएका छन् । सिजनका बेला सुनको दैनिक माग ५० किलोसम्म हुने गरेकोमा अहिले कारोबार घटेको हो । पहिला हुने कारोबारको तुलनामा अहिले दैनिक १५/२० किलो मात्रै सुनको कारोबार हुँदै आएको छ ।

सुनको भाउमा उतारचढाव र आर्थिक मन्दीजस्ता कारणले कारोबारमा असर पारेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताएका छन् । उनका अनुसार भाउ महँगो हुँदा ग्राहकले आवश्यकताअनुसार नयाँ किन्ने भन्दा पनि आफूसँग भएको पुरानो गरगहनाबाट काम चलाउने गरेका छन् ।

कक्षा ११ मा भर्ना भएका विद्यार्थीको रजिस्ट्रेशन आवेदन फारम खुला

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ मा भर्ना भएका विद्यार्थीको रजिस्ट्रेशन आवेदन फारम खुला गरेको छ ।

शैक्षिक वर्ष २०८०/८१ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीले आउँदो पुस १५ गतेभित्र आवेदन फारम भर्न सक्ने र विलम्ब शुल्कसहित पुस मसान्तभित्र भर्न पाउने बोर्डले जनाएको छ । पुस १५ भित्र आवेदन बुझाउँदा ४ सय रुपैयाँ शुल्क लाग्नेछ । त्यसपछि पुस मसान्तभित्र बुझाउँदा दोब्बर शुल्क ८ सय रुपैयाँ लाग्ने बोर्डले जनाएको छ ।

पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित सूचनाअनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) मा न्यूनमत १ दशमलव ६ जीपीए प्राप्त गर्ने विद्यार्थीले कक्षा ११ मा अध्ययन गर्न पाउने र त्यसैका आधारमा रजिस्ट्रेशन फारम भर्नुपर्नेछ । त्यसका लागि आवेदन फारमसँगै प्रधानाध्यापकबाट प्रमाणित गरिएको एसईई कक्षा १० को ग्रेडशिटको प्रतिलिपिसमेत पेस गर्नुपर्नेछ ।

सोती घटना प्रकरणमा २४ जनालाई जन्मकैद

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा अन्तरजातीय प्रेम सम्बन्धको विषयलाई लिएर नवराज विकसहित छ जनाको हत्यामा संलग्न रहेका २४ जनालाई जिल्ला अदालत रुकुम पश्चिमले जन्मकैदको फैसला सजाय सुनाएको छ ।

आज मङ्गलवार न्यायाधीश खड्कबहादुर केसीको इजलासले थुनामा रहेका २३ र तारेखमा रिहा भएका १ गरी २४ जनालाई जन्मकैदको फैसला सुनाएको हो । यस्तै अदालतले आठ जनालाई सफाइ दिएको छ । हत्या गरिएका नवराज विककी प्रेमिका, प्रेमिकाकी आमालाई अदालतले जातीय छुवाछुतमा दोषी ठहर गरेको छ । उनीहरूलाई दुई वर्ष कैद फैसला गरेको छ ।

२०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा आफूभन्दा माथिल्लो जातकी युवतीसँग प्रेम गरेका भन्दै जाजरकोटका नवराज विक र उहाँका साथीहरू सन्दीप विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार र गोविन्द शाहीको ज्यान गएको थियो । उनीहरूको शव दुई हप्तासम्मको खोजीपछि भेरी नदी किनारबाट सङ्कलन गरिएको थियो । त्यस घटनामा १२ जना घाइते भएका थिए ।

यो घटनाको मुद्दामा गएको आइतवारदेखि अन्तिम सुनुवाइ शुरु भएकोमा आज अन्तिम आदेश आएको हो । दोषीहरूलाई जातीय छुवाछुतको कसुरमा थप दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिबानाको पनि फैसला भएको छ ।

नवराजका बुबा मुनलालको जाहेरीका आधारमा चौरजहारी–८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जनाविरुद्ध मुद्दा चलेको थियो । उनीहरूमध्ये किशोरीकी आमा धरौटीमा र अरू १० जना सामान्य तारिखमा छुटेका थिए भने २३ जना पुर्पक्षका लागि कारागार चलान भएका थिए ।

शेयर बजार दोहोरो अङ्कले घट्यो, १ अर्ब ५४ करोड रुपैयाँको कारोबार

शेयर बजार आज मङ्गलवार पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव १० अङ्कले घटेर १ हजार ८ सय ३७ दशमलव ७१ विन्दुमा झरेको छ ।

आज जीवन बीमाबाहेक सबै समूहको शेयर घटेको छ । आज उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, निर्जीवन बीमा, व्यापार र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज सबैभन्दा धेरै विशाल बजार कम्पनीको शेयर साढे ९ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन सिङ्गटी हाइड्रो इनर्जीको शेयर १० प्रतिशतले बढेको छ ।

आज बजार घटे पनि कारोबार रकम बढेको छ । हिजो सोमवार १ अर्ब १९ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज ४६ लाख ९८ हजार कित्ता शेयर १ अर्ब ५४ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै माउन्टेन इनर्जी नेपालको ३६ करोड २९ लाख रुपैयाँको शेयर किनबेच भयो ।

लगातार बढेको सुनको भाउ आज भने गिरावट

भाउ बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख २१ हजार ६ सय रुपैयाँ पुगेको सुनको भाउ आज घटेको छ । तोलामा दुई हजार ४ सय रुपैयाँले घटेर आज तोलाको एक लाख १९ हजार २ सय रुपैयामा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रवार सुनको भाउ तोलाको एक लाख १९ हजार रहेकोमा आइतवार एक हजार ८ सय रुपैयाँले बढेको थियो । त्यस्तै हिजो पनि ८ सय रुपैयाँले बढेर रेकर्ड बनाएको थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ४५ रुपैयाँले घटेर चाँदी आज एक हजार ५ सय रुपैयाँ झरेको महासंघले जनाएको छ ।

नवराज विकसहित ६ जनाको हत्या भएको मुद्दामा अन्तिम सुनुवाइ सुरु:रुकुम पश्चिम

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा अन्तरजातीय प्रेमसम्बन्धको विषयलाई लिएर नवराज विकसहित ६ जनाको हत्या भएको मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको छ ।
साढे तीन वर्षअघि भएको घटनासँग सम्बन्धित कर्तव्य ज्यान र जातीय छुवाछूतको मुद्दामाथि रुकुम पश्चिम जिल्ला अदालतका न्यायाधीश खड्गबहादुर केसीको इजलासमा आइतबारदेखि अन्तिम सुनुवाइ सुरु भएको हो ।
उक्त मुद्दामा अब निरन्तर सुनुवाइ हुने अदालतका सूचना अधिकारी गोविन्द कोइरालाले बताए । उनका अनुसार आइतबार पहिलो दिन पीडित पक्षका तर्फबाट सरकारी वकिल र नौ जना कानुन व्यवसायीले बहस गरेका छन् । ‘वादी र प्रतिवादीका तर्फबाट अहिलेसम्म २४ जना वकिलले बहस गर्ने सूची छ । मुद्दाको फैसला आउन केही दिन लाग्न सक्छ,’ उनले भने ।

अदालतका अनुसार वादीतर्फ जिल्ला न्यायाधीशवक्ता चन्द्रबहादुर सिँजालीको नेतृत्वमा चार जना सरकारी वकिलले बहस गर्दै छन् भने पीडिततर्फ बहस गर्न वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित १२ जनाले नाम टिपाएका छन् । त्यस्तै, प्रतिवादीतर्फ आठ जना वकिलले बहस गर्ने अदालतले जनाएको छ । दुवै पक्षको बहस सुनिसकेपछि मुद्दामा थप जाँचबुझ वा बुझ्नुपर्ने विषय नभए यही सुनुवाइबाट फैसला आउन सक्ने सूचना अधिकारी कोइरालाले बताए ।

अदालतभित्र अन्तिम सुनुवाइ सुरु हुँदा बाहिर भने पीडितहरूले न्याय माग्दै धर्ना थालेका छन् । शनिबार रातिदेखि नै अदालत परिसर पुगेका पीडित परिवार र अधिकारकर्मीले आइतबार बिहानैदेखि अदालतको गेटमा धर्ना दिँदै नाराबाजीसमेत गरेका थिए ।

२०७७ जेठ १० मा जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीहरू लिएर मल्ल थरकी प्रेमिकालाई भगाएर बिहे गर्न सोतीगाउँ पुगेका थिए । त्यहीबेला उनीहरूमाथि सोती गाउँका स्थानीयले योजनाबद्ध आक्रमण गर्दा नवराजसहित ६ जनाको ज्यान गएको थियो भने अरू १२ जना घाइते भएका थिए । उनीहरूको शव दुई सातासम्मको खोजीपछि भेरी नदी किनारबाट संकलन गरिएको थियो । घटनामा नवराजसहित उनका साथीहरू सन्दीप विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार र गोविन्द शाहीको ज्यान गएको थियो ।

नवराजका बुबा मुनलाल नेपालीको जाहेरीका आधारमा उक्त घटनामा चौरजहारी–८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जनाविरुद्ध मुद्दा चलेको थियो । उनीहरूमध्ये १ जना (किशोरीकी आमा) धरौटीमा र अन्य १० जना सामान्य तारिखमा छुटेका थिए भने २३ जना पुर्पक्षका लागि कारागार चलान भएका थिए ।

६ जनाको हत्या गरी भेरी नदीमा फालेको अभियोगमा जिल्ला अदालतमा २०७७ जेठ ३२ मा मुद्दा दायर गरिएको थियो । ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछूत कसुरको अभियोग छ भने एक जनालाई मतियारको अभियोग छ ।

सुनको भाउ आज तोलाको १ लाख २१ हजार ६ सय रुपैयाँ

सुनको भाउले फेरि नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको भाउ तोलाको १ लाख २१ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा एक लाख २० हजार ८ सय रुपैयाँ थियो । हिजोको तुलनामा तोलामा ८ सय रुपैयाँ बढेर सुनको भाउले फेरि नयाँ रेकर्ड कायम राखेको हो । शुक्रवार सुनको भाउ तोलाको एक लाख १९ हजारमा झरेको थियो ।

शुक्रवारको तुलनामा हिजो एक हजार ८ सय रुपैयाँले बढेको सुन आज फेरि हिजोको तुलनामा ८ सय रुपैयाँले बढेको हो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि भाउ बढेको महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताएका छन् । चाँदीको भाउ भने आज पनि हिजो जस्तै तोलाको एक हजार ५ सय ४५ रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।

यसअघि सोमवार सुन प्रतितोला एक लाख १७ हजार ४ सय तथा मंगलवार प्रतितोला एक लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा असर परेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बुधवार प्रतिऔंस २०४७ डलर हाराहारीमा पुगेको छ ।

लोकप्रिय