रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा अन्तरजातीय प्रेमसम्बन्धको विषयलाई लिएर नवराज विकसहित ६ जनाको हत्या भएको मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको छ ।
साढे तीन वर्षअघि भएको घटनासँग सम्बन्धित कर्तव्य ज्यान र जातीय छुवाछूतको मुद्दामाथि रुकुम पश्चिम जिल्ला अदालतका न्यायाधीश खड्गबहादुर केसीको इजलासमा आइतबारदेखि अन्तिम सुनुवाइ सुरु भएको हो ।
उक्त मुद्दामा अब निरन्तर सुनुवाइ हुने अदालतका सूचना अधिकारी गोविन्द कोइरालाले बताए । उनका अनुसार आइतबार पहिलो दिन पीडित पक्षका तर्फबाट सरकारी वकिल र नौ जना कानुन व्यवसायीले बहस गरेका छन् । ‘वादी र प्रतिवादीका तर्फबाट अहिलेसम्म २४ जना वकिलले बहस गर्ने सूची छ । मुद्दाको फैसला आउन केही दिन लाग्न सक्छ,’ उनले भने ।
अदालतका अनुसार वादीतर्फ जिल्ला न्यायाधीशवक्ता चन्द्रबहादुर सिँजालीको नेतृत्वमा चार जना सरकारी वकिलले बहस गर्दै छन् भने पीडिततर्फ बहस गर्न वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित १२ जनाले नाम टिपाएका छन् । त्यस्तै, प्रतिवादीतर्फ आठ जना वकिलले बहस गर्ने अदालतले जनाएको छ । दुवै पक्षको बहस सुनिसकेपछि मुद्दामा थप जाँचबुझ वा बुझ्नुपर्ने विषय नभए यही सुनुवाइबाट फैसला आउन सक्ने सूचना अधिकारी कोइरालाले बताए ।
अदालतभित्र अन्तिम सुनुवाइ सुरु हुँदा बाहिर भने पीडितहरूले न्याय माग्दै धर्ना थालेका छन् । शनिबार रातिदेखि नै अदालत परिसर पुगेका पीडित परिवार र अधिकारकर्मीले आइतबार बिहानैदेखि अदालतको गेटमा धर्ना दिँदै नाराबाजीसमेत गरेका थिए ।
२०७७ जेठ १० मा जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीहरू लिएर मल्ल थरकी प्रेमिकालाई भगाएर बिहे गर्न सोतीगाउँ पुगेका थिए । त्यहीबेला उनीहरूमाथि सोती गाउँका स्थानीयले योजनाबद्ध आक्रमण गर्दा नवराजसहित ६ जनाको ज्यान गएको थियो भने अरू १२ जना घाइते भएका थिए । उनीहरूको शव दुई सातासम्मको खोजीपछि भेरी नदी किनारबाट संकलन गरिएको थियो । घटनामा नवराजसहित उनका साथीहरू सन्दीप विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार र गोविन्द शाहीको ज्यान गएको थियो ।
नवराजका बुबा मुनलाल नेपालीको जाहेरीका आधारमा उक्त घटनामा चौरजहारी–८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जनाविरुद्ध मुद्दा चलेको थियो । उनीहरूमध्ये १ जना (किशोरीकी आमा) धरौटीमा र अन्य १० जना सामान्य तारिखमा छुटेका थिए भने २३ जना पुर्पक्षका लागि कारागार चलान भएका थिए ।
६ जनाको हत्या गरी भेरी नदीमा फालेको अभियोगमा जिल्ला अदालतमा २०७७ जेठ ३२ मा मुद्दा दायर गरिएको थियो । ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछूत कसुरको अभियोग छ भने एक जनालाई मतियारको अभियोग छ ।