Highlights
लुम्बिनी — सानैदेखि खरायो र कछुवाको दौडमा चलाख खरायोलाई धैर्यवान् कछुवाले जितेको सुन्दै आएका थियौँ। तर त्यही धैर्यताको प्रतीक मानिने कछुवा अव्यवस्थित विकास र मानवीय स्वभावका कारण अहिले संकटमा पर्दै गएको छ। नेपालमा पाइने ९० प्रतिशत बढी कछुवा खतराको सूचीमा छन्।
ढाड भएको जीवमा सबैभन्दा बढी लोप हुने खतराको अवस्थामा कछुवा रहेको अध्ययनले देखाएको छ। नेपालमा प्रायः ठुला वन्यजन्तुलाई प्राथमिकतामा राखेर नीति निर्माण हुँदा कछुवालगायतका जीवको अस्तित्व संकटमा पर्दै गएको हो। कछुवा संकटापन्न हुँदै गएको थाहा पाएर पनि राज्यले संरक्षणमा योजना बनाउन सकेको छैन।
वातावरणीय दृष्टिले महत्त्वपूर्ण जीव कछुवाले जलीय प्रणालीमा भएका सडेगलेका वस्तु खान्छन् । यिनले फोहर, सिनो र मासुका टुक्रा पानीमा मिश्रण हुन नदिएर जलीय कुचीकारका रूपमा भूमिका खेलिरहेका हुन्छन्। सिमसार एवं नदीभित्र पाइने वनस्पति खाइदिएर अन्य जीवका लागि वासस्थान निर्माण गरिदिन्छन् ।
ठुलो कछुवाले समुन्द्र र ठूल्ठूला नदीमा ‘जियोलोजिकल ईञ्जिनयर’को पनि काम गर्ने र अन्य प्रजातिका जीवलाई माटो खनेर बस्ने आश्रयस्थल पनि बनाइदिन्छ । कछुवा अनुसन्धानकर्ता तथा आईयूसीएनका कछुवा र ताजा पानीको कछुवा विशेषज्ञ समूह सदस्य सबिन अधिकारीका अनुसार नेपालमा १७ प्रजाति र दुई उपप्रजातिका गरी १९ खालका कछुवा पाइन्छन् ।
त्यसमा पहेँलो टाउके कछुवा (सुन कछुवा/ठोटरी), तीन धर्के छाने, कालो नरम खबटे र रातो मुकुटे छाने कछुवा विश्वमै अति संकटापन्न अवस्थामा छन् । त्यस्तै, थोप्ले पोखरी, मुकुटे नदी, तीन धर्के पहाडी, भारतीय आँख्ले, भारतीय साँघुरो टाउके नरम खबटे (बहदर), गंगे नरम खबटे र भारतीय मयुर पंखीनरम खबटे कछुवा विश्वमै संकटापन्न अवस्थामा छन् । भारतीय धुरी कछुवा र थोप्ले उत्तरी भारतीय ढकनी खबटे कछुवा विश्वमै संवेदनशील अवस्थामा छन् ।
पहेँलो खबटे धुरी, खैरे धुरी र असम पाते कछुवा विश्वमै लोपोन्मुख अवस्थामा छन् । गुलाबी कण्ठे, पहेँलो भुँडे धुरी र कालो पानी (पदनी) कछुवा विश्वमा कम चासो भएकोमा रहेका छन् । नेपालमा तराईको लोल्याण्डदेखि चुरे शिवालिक क्षेत्रसम्म पाइन्छ । भुईँ कछुवा भनेर पनि चिनिने विश्वकै दुर्लभ ठोटरी कछुवा मध्य पहाडी क्षेत्रमा पाइन्छ । सालको जंगलमा बढी पाइन्छ । असम पाते कछुवा पनि झापा, इलामका पहाडी क्षेत्रमा पाइन्छ ।
नेपालमा कछुवाको ‘बायलोजी’ र ‘डिष्ट्रिब्युसन’बारे खासै अध्ययन नहुँदा धेरै कुरा थाहा हुन सकेको छैन । झापाको कछुवा उद्धार तथा संरक्षण केन्द्रमा एउटा ठोटरी कछुवा अढाई वर्षसम्म केही पनि नखाई बाँचेको एउटा अध्ययन प्रतिवेदन छ । घस्रेर हिँड्ने सरिसृप प्रजातिको यो जीव बाह्य तापक्रममा निर्भर हुन्छ ।
जाडोमा कम सक्रिय, निराहार र लामो समयसम्म लुकेर बस्छन् । गर्मीमा बढी बाहिर निस्कन्छन् । यसको शरीरमा विशिष्ट हड्डीको खोल (खबटो) ले ढाकेको हुन्छ । सामान्यतया खबटो कछुवाको बाहिरी सुरक्षा कबच भनेर बुझिन्छ । कछुवा कडा खपटा र नरम खबटा भएको हुन्छन् । कडा खबटो केराटिन तत्त्वले बनेको हुन्छ । यही तत्त्वले मानिसको नङ र कपाल बन्छ । नरम खबटो मासुले बनेको हुन्छ । खबटामा भएको पिडा महसुस गर्न सक्छ ।
यसले कठोर मौसम र अन्य जनावरबाट हुने खतराबाट जोगाउँछ । खतरा महसुस भएमा कछुवाले आफ्नो टाउको र खुट्टा खबटाभित्र लुकाउने गर्छ । कछुवाले जमिनमा खाडल खनेर अण्डा पार्छन् । प्रजाति अनुसार दुईदेखि एक सय वटासम्म अण्डा पार्छन् । भाले पाथीको निर्धारण तापक्रमले हुन्छ । औसत तापक्रमभन्दा बढी भयो भने पोथी र कम भयो भने भाले हुने आईयूसीएनका कछुवा र ताजा पानीको कछुवा विशेषज्ञ समूह सदस्य अधिकारीले बताए ।
२००८ मा प्रकाशित अनुसन्धानात्मक आलेख अनुसार मानवीय अतिक्रमणका कारण सबैभन्दा पहिले लोप हुने ढाड भएको जीवको सूचीमा कछुवा नै हुने उल्लेख छ । धेरै प्रजातिका कछुवा सिमसारमा आश्रित छन् । सिमसार क्षेत्रको अतिक्रमणले कछुवा प्रजातिलाई निकट भविष्यमा धेरै असर गर्ने उनले उल्लेख गरिएको छ ।
लजालु स्वभावको यो कछुवा अधिकांश समय लुकेर बस्छ । वन फडानी, आगलागी, बढ्दो सहरीकरण, पानीको स्रोतमा ह्रास, वन क्षेत्रमा विषादी प्रयोग गर्ने बढ्दो प्रचलन, सिकार गर्ने तथा घरमा पाल्नेजस्ता क्रियाकलापले यो प्रजाति झन् संकटमा परेको विभिन्न अध्ययनले देखाएको अस्ट्रियामा ‘टर्टल आईल्याण्ड’मा ‘ईन्टन’ गरिरहेकी कछुवा अनुसन्धानकर्ता अस्मिता रणपहेलीले बताइन् । जलप्रदुषण, अवैध चोरी सिकारी, वन डढेलो र जलवायु परिवर्तनले पनि कछुवालाई संकटमा पारिरहेको उनले बताइन् ।
आईयूसीएनको कछुवा र ताजा पानीको कछुवा विशेषज्ञ समूहको प्रतिवेदन २०२१ अनुसार नेपाल कछुवा र ताजा पानीको कछुवा प्रजातिका हिसाबले विश्वको १३ औँ धनी देश भएको वाईल्ड क्याट विशेषज्ञ डा. रमा मिश्रले बताइन् । कतिपय मन्दिरका छेउछाउमा रहेको पोखरी तालमा पनि कछुवा ल्याएर छोड्ने गरिन्छ । कछुवालाई हिन्दु धर्मावलम्बीले विष्णुको दोस्रो अवतारका रूपमा लिन्छन् ।
यही कारण नेपाल र भारतका कयौँ मन्दिरमा विभिन्न प्रजातिका कछुवा राख्ने गरिएको छ । लुम्बिनीस्थित मायादेवी मन्दिरमा पनि प्रशस्त कछुवा राख्ने गरिएको छ । मन्दिरमा कछुवा राख्दा उनीहरूले पाउनु पर्ने प्राकृतिक वातावरण नपाउँदा समस्या भइरहेको वाईल्ड क्याट विशेषज्ञ डा. मिश्रले बताइन् । कछुवालाई घाम चाहिन्छ । घाम नतापे शरीर कमजोर बन्ने र शारीरिक विकास सुस्त हुने गर्छ ।
‘मन्दिरभित्र बालिने धूप धुवा, तेल, घिउ र अबिर–केशरीले पनि कछुवालाई समस्या पारिरहेको छ । त्यसै त कछुवा संकटमा छ । त्यसमाथि धार्मिक क्रियाकलापले नजानिँदो किसिमले कछुवालाई खतरा थपिँदै गएको छ,’ वन्यजन्तु विशेषज्ञ डा. हेमसागर बरालले भने, ‘प्राकृतिक काम गर्न नपाउँदा कछुवा बन्दी जस्तै बस्छन् ।’
लुम्बिनीको मायादेवी मन्दिरमा यस्तै समस्या छ । मन्दिर छेउ दक्षिण पुष्करिणी पोखरी छ । त्यसमाथि चारैतिर तीन तहको कंक्रिट सिँढी छ । ‘घाम ताप्न बाहिर निस्किए पनि अण्डा पार्न जमिनमा जान पर्यो,’ डा. बरालले भने, ‘जमिन खनेर अण्डा पार्न त्यहाँबाट निस्कन निक्कै गाहृौं छ । फेरि त्यहाँको पानी चलायमान छैन । एउटै पानीमा बस्दा रोगब्याधि सङ्क्रमण बढ्छ ।’
सबै प्रजातिका कछुवा एक ठाउँमा राख्दा एकले अर्कालाई टोक्ने, घाइते बनाउने घटना मायादेवीमा बढी छ । ‘यसले कछुवा संरक्षणमा समस्या थापेको छ,’ उनले भने । मायादेवी मन्दिरनजिक रहेको पुष्करिणी पोखरीमा कछुवा छाड्नुको मुख्य कारण पुनः जन्म दिनु रहेको वरिष्ठ पुरातत्त्वविद् वसन्त बिडारीले बताए ।
सडक दुर्घटनामा पनि कछुवालगायतका साना जीवजन्तुको मृत्यु बढेपछि उनीहरूका लागि मुख्य बाटोमा अन्डर पास बनाउन थालिएको चराविद् कृष्णप्रसाद भुसालले बताए । अहिले बन्न लागेको एसियन स्टयान्डर्डको काँकडभट्टिा–लौकाई र बुटवल–चन्द्रौटा सडक खण्डमा ठुला जीवजन्तुबाहेक साना जीवका लागि पनि छुट्टै अण्डरपास बनाउन थालिएको छ ।
पूर्वमा बेतना र पथरी तथा पश्चिममा बुढ्ढी र बरकुलपुरमा कछुवालगायतका साना जीवका लागि फरक अन्डर पास बनाउने योजना अनुसार काम भइरहेको उनले बताए । कछुवाले वन क्षेत्रमा बोटबिरुवाका बिउ फैलाएर वन र बिउ संरक्षणमा योगदान तथा पारिस्थितिकीय सन्तुलन जोगाउन मद्दत गर्ने उनले बताए ।
१९ खालका कछुवामा सबै कछुवाको आनीबानी फरक हुन्छ । सबै वासस्थान र खानपिन फरक हुन्छ । कोही गहिरो पानी र कोही मन्द बग्ने पानीमा बस्छन् । यी प्रजातिमध्ये केही पानीको स्रोतनजिक, कुनै पानीभित्रै र दलदलमा बस्ने हुन्छन् ।
कछुवा बुद्धिमत्ता, सहनशीलता र धेर्यताको प्रतीक मानिने हुँदा मानवले यसबाट धेरै कुरा सिक्न सक्छ । कछुवा र खरायोको कथा त हामी सबैले सुनेकै छौँ । कछुवाको प्राकृतिक परिस्थितिसँग लड्ने अद्भुत क्षमता हुने संरक्षणकर्मी बताउँछन् । सबैजसो कछुवाले प्रायः नदी किनार छेउमा अण्डा पार्छन् । कछुवाको अण्डा केही जीवका लागि आहारा बन्छ । अण्डाले सामुद्रिक क्षेत्रमा उत्पादकत्व बढाउन भूमिका खेलेको संरक्षणकर्मी बताउँछन् ।
कछुवाले समुन्द्र र जमिन बीचको पौष्टिक चक्रमा पनि प्रभाव पारेको अनुसन्धानले देखाएका छन् । कछुवाको शारीरिक वृद्धि ढिलो हुन्छ । सुस्तरी बढ्ने र प्रजनन् योग्य हुन धेरै समय लाग्छ । कछुवाको रहनसहन र खानपिनको विशिष्टीकृत मिश्रणले गर्दा लामो आयु हुने गरेको वैज्ञानिकको दाबी छ। अर्का थरी वैज्ञानिक कछुवाको पाचन प्रक्रिया र कोषको वृद्धि ढिलो हुने भएकाले धेरै वर्षसम्म बाच्ने बताउँछन् ।
कछुवाको अण्डाबाट भाले निस्कन्छ कि पोथी, त्यो तापक्रमले निर्धारण गर्छ । औसत तापक्रमभन्दा केही बढी हुँदा पोथी र कम हुँदा भाले निस्कने गर्छ । एक पटक अण्डाबाट निस्किएपछि कछुवाले बाच्नका लागि आफैँ संघर्ष गर्नुपर्छ । केही बच्चालाई अन्य जीवले खाइदिन्छन् । कछुवा सर्वभक्षी जंगली फलफूल, वनस्पति, किराफटुयांग्रा, गडयौला खान्छन् । बच्चा सर्वाहारी हुन्छन् । केही वयस्क हुँदै गएपछि शाकाहारी हुन्छन् ।
नेपालमा कछुवा संकलन, पाल्न प्रजनन् गराउन, विक्री वितरण वा त्यसकालागि ओसारपसार गर्नु वा कुनै किसिमको हानी नोक्सानी पुर्याउन त अपराध मानिन्छ । प्रचलित कानुनको बर्खिलाप गरे दुई वर्षदेखि १० वर्षसम्म कैद वा १ लाख रुपैयाँदेखि ५ लाखसम्म जरिवाना वा दुवै सजायको व्यवस्था छ ।
हिन्दुहरू धार्मिक आस्थाले पनि कछुवाको पूजा गर्छन् । कतिपयले कछुवा किनेर मन्दिरमा चढाउने गर्छन् । कछुवा घरमा राख्दा शुभ मानिने हुँदा कतिपयले पाल्ने पनि गरेका छन् । कतिपयले शौकका रूपमा कछुवाको खबटा प्रयोग गरी सजावटका सामान बनाउने कारण पनि यसलाई मार्ने गरिन्छ । कछुवाको खबटो घरमा राख्दा चट्याङ पर्दैन मान्यताले कछुवा मार्ने र चोरीशिकारी पनि बढेको छ । मानिसको शौख र अन्धविश्वासका कारण कछुवा विश्वमै सकटमा पर्दै गएको हो ।
नेपालमा पाइने सबै कछुवा खतराकै सूचीमा छन्
प्राध्यापक करनबहादुर शाह, कछुवा तथा सरिसृप विशेषज्ञ, त्रिभुवन विश्वविद्यालय
नेपालमा कति प्रकारको कछुवा पाइन्छ ?
यहाँ १७ प्रजातिका कछुवा पाइन्छन् । तर कतिपयले थप दुई उपप्रजातिको कछुवाको पनि गणना गर्छन् । त्यो भनेको सामान्य मान्छेलाई बुझाउनु पर्दा १७ प्रजाति नै भन्नुपर्छ । कछुवाकै बारेमा वैज्ञानिक अध्ययन अनुसन्धान, शोध गर्दाका बेलामा भने उपप्रजातिका कुरा जोडिन्छन् । त्यही भएर नेपाल पाई मुख्य प्रजाति भनेको १७ नै भन्नुपर्छ ।
नेपालमा पाइने कछुवाको अवस्था के छ ?
नेपालमा पाइने सबै प्रजातिका कछुवा करिब करिब खतराकै सूचीमा छन् । त्यही भएर कछुवाको अध्ययन अनुसन्धान बढाएर संरक्षण अल्पकालीन र दीर्घकालीन नीति, योजना र कार्यक्रम बनाएर लागु गर्न अबेला गर्नुहुन्न ।
पारिस्थितिकीय प्रणाली सन्तुलन गर्न के गर्छ ?
कछुवाले ससाना जीवजन्तु खाने र कछुवालाई अन्य जीवजन्तुले खाने गर्छ । यसले खाद्य चक्र सन्तुलन गरिरहेको हुन्छ । कछुवाले पानीमा रहेको फोहर र सडेगलेका जीवजन्तु खान्छन् । जमिनको कुचीकार गिद्ध भए जस्तै पानीको कुचीकार कछुवा हो ।
पर्यापर्यटनमा कस्तो योगदान गर्छ ?
पर्यापर्यटनका लागि पनि राम्रो योगदान गर्छ । यसको अध्ययन अनुसन्धान बढ्न थालेको छ । यो पनि एउटा पर्यापर्यटन हो । कछुवा हेर्न जान थालेका छन् । यसका लागि कोसी, बर्दिया, जगदीशपुर, बेतना सिमसार र लुम्बिनी प्रमुख छन् । कछुवाले जलीय प्रणालीमा परागसेचनाको पनि भूमिका गर्ने हुँदा उत्पादन बढाउन सहयोग गर्छ ।
नेपालमा कछुवाको अध्ययन अनुसन्धानको अवस्था के छ ?
बिस्तारै हुदैछ । बाघ, अर्ना, गैँडा, हिउँ–चितुवाजस्ता ठुला जीवमा जस्तो नभए पनि अहिले चासो बढ्दै गएको छ । कछुवाका बारेमा सोधखोज बढ्न थालेको छ । अहिलेका युवामा कछुवा संरक्षणप्रति अभिरुचि बढ्दै गएको छ । त्यसैको परिणाम स्वरूप सन् २००० देखि मे २३ तारिखलाई विश्व कछुवा दिवसका रूपमा मनाइँदै आएको छ ।