Highlights
काठमाडौँ — त्रिभुवन विश्वविद्यालय उपकुलपतिविहीन भएको डेढ महिना पुग्नै लाग्दासमेत प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले नियुक्ति प्रक्रिया सुरु गरेका छैनन् । कुलपतिले गठन गरेको समितिको सिफारिसका आधारमा उपकुलपति नियुक्त हुने व्यवस्था त्रिवि ऐनमा छ, तर सिफारिस समिति नै गठन गरिएको छैन ।
प्रधानमन्त्री ओलीको असहयोग र हस्तक्षेपको कारण देखाउँदै केशरजंग बरालले १५ चैतमा राजीनामा दिएपछि त्रिवि उपकुलपतिविहीन छ । चार वर्षका लागि उपकुलपतिमा नियुक्त भएको १३ महिनामै बरालले राजीनामा दिएका थिए । उनको राजीनामा ढिला स्वीकृत गरी ओलीले २ वैशाखमा रेक्टर खड्ग केसीलाई तीन महिनाका लागि निमित्त उपकुलपतिको जिम्मेवारी दिएका थिए । त्यसयता रेक्टरको कामकाज मानविकी तथा सामाजिकशास्त्र संकायका डिन दुविनन्द ढकालले गर्दै आएका छन् ।
त्रिवि ऐनमा उपकुलपति रिक्त रहे रेक्टरलाई बढीमा ३ महिनाका लागि निमित्त उपकुलपतिको जिम्मेवारी दिन सकिने व्यवस्था छ । त्यस अवधिमा शिक्षामन्त्रीको संयोजकत्वमा ३ सदस्यीय उपकुलपति छनोट तथा सिफारिस समिति गठन गरी नियुक्ति प्रक्रिया अघि बढाउनुपर्नेछ । प्रधानमन्त्रीको सचिवालयले भने बीचमा शिक्षामन्त्री तथा सहकुलपति परिवर्तन भएका कारण सिफारिस समिति गठन हुन नसकेको जनाएको छ । विद्या भट्टराईले राजीनामा दिएपछि ११ वैशाखमा रघुजी पन्तलाई शिक्षामन्त्री बनाइएको छ ।
पूर्ण जिम्मेवारीको उपकुलपति नहुँदा दैनिक प्रशासनिक कामबाहेक दीर्घकालीन महत्त्वका निर्णय प्रक्रिया रोकिएको त्रिविका प्राध्यापकहरू बताउँछन् । विश्वविद्यालयमा अहिले वार्षिक नीति तथा कार्यक्रम र बजेट बनाउने बेला भएको छ । यी काम पनि प्रभावित हुने गरेको कार्यकारी परिषद्का सदस्यहरूको भनाइ छ । खुला र आन्तरिक प्रतिस्पर्धाबाट नियुक्त हुने अध्यापक, कर्मचारीको सिफारिस पनि सेवा आयोगमा हुन सकेको छैन ।
२०८० फागुनमा बराललाई उपकुलपतिमा नियुक्त गरिएका बेला आवेदन माग गरेर प्रक्रिया अघि बढाइएको थियो । सिफारिस समितिअन्तर्गत विज्ञ समिति गठन गरी आवेदकको व्यक्तिगत योग्यता, सोचपत्र, कार्ययोजना मूल्यांकन गरी उच्च अंक ल्याउने ३ जनाको नाम सिफारिस गरिएको थियो । त्यही प्रक्रियाबाट उपकुलपति चयन प्रक्रिया अघि बढाइए कम्तीमा ३ महिना लाग्ने शिक्षा मन्त्रालयका अधिकारीहरू बताउँछन् ।