Highlights
मुस्ताङ — मुस्ताङमा औसतभन्दा अधिक वर्षा तथा लगातार दुई–तीन दिनसम्म झरी पर्न थालेपछि माटोले बनाइने परम्परागत ‘मुन्डे घर’का छत पानीले भिजेर चुहिन थालेका छन् । मुस्ताङका परम्परागत घर र गुम्बाहरू काँचो माटोको इँट्टाले बनाइएका हुन्छन् ।
माटोको छाना भएका मुन्डे घर हिमपात र चिसो सिरेटोको असरबाट अनुकूलित हुन्छन् । मुन्डे घरका छानाको डिलमा माटो बग्न नदिन भनी राखिने दाउराको चौघेरा मुस्ताङवासीको पहिचान पनि हो । तर मौसममा आएको परिवर्तनले गर्दा पुर्खाले हस्तान्तरण गरेको रैथाने सीप, ज्ञान र वास्तुकलायुक्त माटोका घरहरू वर्तमान पुस्तालाई जोगाउन हम्मे परेको छ । अर्कातर्फ बालुवाको खातखात परेको मुस्ताङको भूगोलमा वर्षाको पानी जमिनमा भिज्नुको सट्टा बग्न थालेकाले बाढी, पहिरो आउन थालेको छ ।
रैथाने सीप, ज्ञान र प्रविधिमा माटो जमाएर बनाइने काँचो माटोको इँट्टाबाट निर्माण गरिएका लोमन्थाङ र मुस्ताङका घरहरू स्थानीय जलवायु र वातावरणसँग गहिरो सम्बन्ध राख्छन् । बाक्लो गारो भएको माटोको घरभित्र बस्दा जाडोमा न्यानो र गर्मीमा शीतल महसुस हुन्छ ।
त्यस्ता घरमा जाडोयाममा चिसोजन्य रोगले छुँदैन थियो । विज्ञका अनुसार माटो आफैं तापको कुचालक वस्तु (इन्सुलेटिङ मेटिरियल) नभए पनि यसमा रहेको तापीय पिण्ड (थर्मल मास) ले गर्दा माटोले तातो, चिसो सोसेर राख्छ, सञ्चार गर्दैन, त्यसैले माटोको गारोबाट बनेका घरहरू आधुनिक आरसीसी घरहरूभन्दा बढी जाडोमा न्यानो र गर्मीमा शीतल महसुस हुन्छ । ढुंगा र सिमेन्टले चिसो र तातो सोसेर राख्न सक्दैनन्, सञ्चार गर्ने भएकाले बढी चिसो हुन्छ ।
वस्तुहरूको विशिष्ट तापधारण क्षमताको कारण छिटो तात्ने वस्तु छिटै सेलाउने र ढिलो तात्ने वस्तु ढिलो सेलाउने भएकाले आरसीसी घरहरू गर्मीमा धेरै तातो र चिसोमा अति चिसो हुने पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख इन्जिनियर विष्णु पौडेल बताउँछन् । उनका अनुसार ढुंगामाटोका घर गर्मीमा शीतल र जाडोमा न्यानो हुने गर्छ । ‘आरसीसी घरहरूमा बाक्लो वाल, घरको भित्ता प्लास्टर गर्दा बालुवाको सट्टा भुस वा काठको धूलोको मिश्रणबाट गर्न सके घरलाई न्यानो राख्न सकिन्छ,’ उनले भने ।
यस्तै पुरातत्त्वविद् देवेन्द्र भट्टराईका अनुसार मुस्ताङीले मौसम परिवर्तनको मारबाट जोगिन महँगो मूल्य तिरेरै कंक्रिटको घरमा प्रश्रय लिन प्रयास गरिरहे पनि त्यसबाट आफैं सन्तुष्ट नरहेको गुनासो गर्छन् । ‘भौगोलिक विविधतासँगै संसारभरका मानिसहरू बस्ने घरका पनि स्वरूप र संरचनागत विविधता छन्,’ उनले भने, ‘प्रकृतिले दिएको हावापानी अनुसार हिमाल, पहाड र तराईमा बनेका घरहरूको स्वरूप, संरचना र शैली फरक–फरक छन् ।’
मुस्ताङका सबै बस्तीका परम्परागत घरहरू माटोले बनेका छन् । तर ती सम्पदाहरू जलवायु परिवर्तनको चेपुवामा पर्न थालेका छन् । वर्तमान तथा भावी सन्ततिका लागि पूर्वजले बनाएका ऐतिहासिक सम्पदा, स्मारक र देवस्थलको अस्तित्व नासिँदै जान थालेका छन् ।
पर्यावरणीय प्रभावका कारण जीवनयापन, वातावरणीय अवस्था, आर्थिक–सामाजिक–सांस्कृतिक अवस्थामा फेरबदल हुन थालेको छ । जलवायु परिर्वतनको प्रभावले घट्दो हिमपात, बढ्दो तापक्रम र वर्षाले मानिस तथा पशुचौपायाको स्वास्थ्य, सामाजिक, सांस्कृतिक धरोहर नष्ट हुने, रैथाने सीप र ज्ञान तथा पहिचान नासिने तथा जैविक विविधता र पारिस्थितिकीय प्रणालीमा हानि पुग्न थालेको छ । हिउँ र पानी पर्ने चक्र/शैली फेरिएपछि हिमाली जीवनशैली र संस्कृतिमा पनि असर पर्न थालेको छ ।
‘जलवायु परिवर्तन तथा ग्लोबल वार्मिङका कारणले हिउँ मात्र पर्ने ठाउँमा हिउँदमा हिउँ पर्न छोडेर मनसुनमा भारी वर्षा हुन थालेपछि सृष्टिको संरचनामै उल्टोपना देखिन थालेको छ, जसले गर्दा माटोका दरबार, घर, गुम्बा, छोर्तेन र गुफाहरू पानीले भिजेर भत्कन थालेका छन्,’ थासाङ गाउँपालिका–४ कोवाङका वडाध्यक्ष गौतम शेरचनले भने, ‘मुस्ताङको बस्ती बस्ने प्याटर्न आफ्नै मौलिकता भएको माटोको मुन्डे हो, अति सामान्य वर्षा हुने ठाउँमा ठूलो वर्षा हुन थालेपछि माटोले गलेर गिलो हुँदै बिस्तारै चुहिन थाले, घरको मौलिकता पनि नासिन थाल्यो । गर्मी बढेपछि बख्खु जस्ता पहिरन हराए ।’
मुस्ताङ कोवाङमा जन्मेहुर्केकी प्रकृति रिसोर्स सेन्टरकी जलवायु अध्यता प्राज्ञ शेरचनले उपल्लो मुस्ताङको धे गाउँमा जलवायु परिवर्तनको असर र प्रभाव अध्ययन गर्दा मुस्ताङमा पानी पर्ने क्रम बढेसँगै काँचो माटोले बनेका घरहरू, गुम्बा, प्राचीन दरबारका छानो (छत) चुहिएर दलिन, खम्बा र निदाल कुहिएका र मक्केका बताइन् ।
उनले आफू हुर्केको माटोको छाना भएको घर पनि चुहिन थालेसँगै छानामा जस्तापाता वा प्लास्टिक बिछ्याएर जोगाउने प्रयास गरेको उल्लेख गरिन् । ‘प्रयोगहीन प्राचीन दरबार र गुम्बाहरू भने संरक्षण अभावमा केही वर्षमै भत्कने अवस्थामा छन्, अस्तित्व संकटमा छन्,’ उनले भनिन्, ‘मुस्ताङमा ग्लेसियर पग्लने, बाढी आउने र पहिरो चल्ने बहुविपद्को जोखिममा छ ।’
युनेस्कोले गरेको व्याख्याअनुसार पुर्खाहरूबाट परम्परागत रूपमा हस्तान्तरण हुँदै आएको मौखिक परम्परा, कला, सामाजिक अभ्यास, ज्ञान, सीप, शिल्पी, धर्म जसले मानिसलाई पहिचान र आफ्नोपना अनुभूति गराउँछ । सांस्कृतिक सम्पदाले विगत, वर्तमान र भविष्यसँग जोड्छ, आफ्नो पहिचान गराउँछ र अपनत्वको बोध गराउँछ ।
सम्पदालाई प्राकृतिक र सांस्कृतिक गरी दुई भागमा बाँडिएको छ । अभौतिक सांस्कृतिक सम्पदालाई मूर्त र भौतिक सम्पदालाई अमूर्त सम्पदा भन्ने गरिन्छ । सांस्कृतिक सम्पदा कुनै वस्तु मात्र हैन, एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्त्रण हुँदै आएका स्थानीय समुदायको भाषा, ज्ञान र पहिचानका विषय हुन् ।
सांस्कृतिक सम्पदाले मानिसलाई एकताको महसुस गराउँछ । प्राचीन स्मारक संरक्षण कार्यविधि ०६४ का अनुसार स्मार थप नष्ट, भ्रष्ट हुन नदिन भावी सन्ततिका लागि हस्तान्त्रण गर्न पुरातात्त्विक महत्त्वका वस्तु संरक्षण गर्न मुख्यतया तीन वटा विधि अपनाउनुपर्छ । पुनः प्रयोगमा ल्याउनका लागि त्यस्ता पुरातात्त्विक वस्तुको जीर्णोद्धार गर्ने, वातावरणीय प्रभावबाट जोगाउन पुरातात्त्विक वस्तुको संरक्षण गर्ने र प्राकृतिक वा कृत्रिम वातावरणबाट बिग्रन सक्ने खतराबाट जोगाउन रोकथामको विधि अपनाउने हो ।
जल तथा मौसम विज्ञान विभागको एक तथ्यांकअनुसार नेपालमा वार्षिक औसत अधिकतम तापक्रम ०.०५६ डिग्रीले वृद्धि भइरहेको छ । हेर्दा, सुन्दा थोरै जस्तो लागे पनि यो स्तरको तापमान वृद्धिले ठूलो असर गर्न थालिसकेको छ । इसिमोडको अध्ययनअनुसार अहिले विश्वको तापक्रम १.१ डिग्री बढ्दा पनि हिमाली क्षेत्रको हिउँ पग्लने क्रम तीव्र भएको छ । यो तापक्रम वृद्धिलाई १.५ डिग्रीमा सीमित पार्न सकेमात्र पनि हिमाली क्षेत्रको एक तिहाइ हिउँ पग्लेर सकिने सम्भावना छ ।
प्राकृतिक रूपमै मुस्ताङको भूगोल पानी सहन क्षमताले बनेकै हैन । पोखरा र उपल्लो मस्ताङको भूगोल पानी सहन क्षमताले एकै हुँदै हुँदैन । पोखरामा प्रतिघण्टा ५० मिमी वर्षा सामान्य हो, लोमन्थाङमा प्रतिघण्टा ५० मिमी वर्षा हुँदा अकल्पनीय क्षति पुर्याउँछ । त्यसैले मुस्ताङमा वर्षाको मात्रा बढ्ने खतराको संकेत भएको प्रकृति रिसर्च सेन्टरका निर्देशक जलवायु विज्ञ प्रविनमान सिंह बताउँछन् ।